गोर्खाल्याण्ड हुँदैन भन्नै परेन
मोर्चाले जसो भनेपनि फेरि एकपल्ट बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले छुट्टै राज्य दिइने छैन भन्ने प्रष्ट पारेकी छन्। पहिला ‘बंग भंग होबेना’ भन्ने ममताले पछि दार्जीलिङलाई ‘पार्ट अफ बंगाल’ मात्रै भनेकी थिइन्। अहिले फेरि ‘हार्ट अव बंगाल’ भनेर पहाड बंगालबाट छुटाउन नसकिने कुरा उनले प्रष्टै बताइसकेकी छन्। किनभने आफ्नो मुटु कसैले पनि यति सजिले अलग गर्न सक्दैन। आफ्नै आफैबाट कस्ले अलग गर्न चाहन्छ? चाहँदैन। यसपाली उनले ‘बंग भंग होबेना’ भनिनन् अनि कुनै ‘पार्ट’ अथवा छुटाउन सकिने ‘भाग’ भनिनन्, तर यसपाली पहाडलाई बंगालको ‘हार्ट’ भनिदिँदा कसैले विरोध जनाएकै कुरा पनि प्रकाशमा अहिलेसम्म आइहालेको जस्तो लागेको छैन। ममताले किन पहाडलाई बंगालको ‘हार्ट’ वा ‘मुटु’ भनिन्? भनेर टाउको दुखाइराख्नु आवश्यक नसम्झेको बुझियो। ‘ममताले यसपाली पहाडमा सम्हालिएर बोल्नेछिन्’, यसपाली पाहडवासीको मन दुखाने कुरा बोल्ने छैनन् ममताले’ भनिसकिएको थियो अघिबाटै। साँच्चै ममताले सम्हालिएरै बोलेकी हुन् भन्नेतिर कसैको ध्यानै पुगेन। ममतालाई थाहा थियो फेरि ‘बंग भंग होबेना’ भन्ने बित्तिकै पहाड गर्जिने छ। ‘पार्ट अफ बंगाल’ मात्रै भन्नु कुनै औचित्य नरहने थियो। त्यसैले भनिन् ‘हार्ट अफ बंगाल’। ‘हार्ट’ अथवा शरीरको त्यो अंग जसलाई अलग गर्न सकिन्न अथवा मिल्दैन।
यसबाट भारतीय गोर्खालीहरूको अस्तित्व, अस्मिता र चिनारी, गोर्खाहरूको छुट्टै राजद्य हुनुपर्छ भन्ने मुल मद्दा लिएर 2007-मा विमल गुरुङको नेतृत्वमा स्थापित गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) अहिले धरमराइरहेको कुरो प्रष्टै छ। ‘गोर्खाल्याण्ड’-को मुद्दा लिएर जनसमर्थन बटुलिरहेको समय अचानक ‘गोर्खाल्याण्डसम्म पुग्ने बाटो’ भनेर जतिबेला गोर्खा टेरिटोरियल एड्मिनिष्ट्रेशन (जीटीए)-मा केन्द्र र राज्य सरकारसित गोजमुमोले त्रिपक्षीय सम्झौता गर्यो, त्यही समय मुख्यमन्त्री ममता ब्यानर्जीले ‘बंग भंग होबेना’ भन्दा गोर्खाहरूले नै ताली बजाएको कुराले पछि गोजमुमोलाई निकै दोधारमा नपारेको होइन। तर विकासको नाममा सम्झौता गरिएपनि मूलमुद्दाबाट गोजमुमो पछि नहटेको कुरा मोर्चाले बतायो। तर विभाग हस्तान्तरणमा ढिलाईपन र जीटीए क्षेत्रमा सानो कुरामै पनि मुख्यमन्त्रीकै हस्तक्षपले जुर्मुरिएको गोजमुमोलाई जसोतसो अलमल्याइराख्यो राज्यले। तर राज्यसितको सम्बन्धमा धमिलोपनले फेरि पहाड आर्थिक खडेरीमा परेपछि मोर्चाले भनिदियो ‘राज्य सरकारसित मिलेर काम नगरी हुँदैन।’ यसपछि फेरि विपक्षीहरू ‘गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको मुद्दा थन्काएर अर्को दागोपाप ग्रहण गरेको कारण विकास नै हो’ भनेर चिच्याउन शुरु गर्यो। अहिले गोजमुमोले ‘गोर्ख्याल्याणको मुद्दा छोडिएको छैन’ भने पनि विकास आवश्यक रहेको कुरामा जोड दिइरहेको छ। मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले त ‘अहिलेलाई आन्दोलन स्थगित’ भनेर घोषणै गरेका छन्।
यसैले अहिले जब ममताले दार्जीलिङलाई ‘हार्ट अफ बंगाल’ भनिन् तब ‘मोर्चा गोर्खाल्याण्डदेखि पछि हट्यो’ ‘अलग राज्यको मागलाई मोर्चाले नै अघि बढाउनेछ भन्ने जनतामा व्याप्त भ्रम तोडियो’ भनेर विपक्षीहरू कराउन थालिसकेका छन्। यता मोर्चा र राज्यको मैत्रिक सम्बन्ध बनेको कुरा प्रकाशमा आइसकेको छ भने मोर्चाले राज्यसित मिलेर पहाडलाई विकासको सिखर चढाउने कुरा पनि मोर्चाले बताइसकेको छ। अर्को महत्वपूर्ण कुरा के छ भने, ममता ब्यानर्जीको तीनदिने पहाड भ्रमणपछि पहिले ‘गोर्खाल्याण्डसम्म पुग्ने सिँडी’ भनिएको ‘जीटीए’-लाई अहिले ‘विकासको एजेन्सी’ भनिन थालिएको छ।
अर्कोतिर, पहिले ‘पहाडलाई स्वीजरल्याण्ड बनाइदिन्छु’ भन्ने ममताले अहिले फेरि ‘पहाड स्वीजरल्याण्ड भन्दा पनि राम्रो छ’ भनेकी छन्। कुन आशयमा! यो प्रष्ट छैन। कतै यहाँ विकासको पनि खाँचो छैन भनेकी त होइन? किनभने जतिपल्ट मुख्मन्त्री ममता ब्यानर्जी पहाड पसेकी छन्, त्यतिपल्टै उनले पहाडको विकासका कुरा गरेकी छन्। तर उनको मौखिक घोषणाहरू अहिलेसम्म कतिवटा कार्यन्वयनमिा उतारिएका छन्, पहाडले औंला भाँचिरहेकै छ। गोजमुमोलाई पनि अवगत छ। यसैले जीटीएको माध्यम भएर छुट्टै राज्य पुग्नअघि पहाडको विकास गरिहालौं भन्ने मोर्चाले अब कुन नीति अप्नाउने हो, भविष्यले बताउला। मताले पहाडलाई ‘हार्ट अफ बंगाल’ भनिसकेपछि ‘बंग भंग होबेन’, ‘तिमीहरूले गोर्खाल्याण्ड पाउने छैनौ’ वा ‘गोर्खाल्याण्ड हुँदैन’ भनिरहन परेन। यसैले अब ‘मुटु’ लाई ‘शरीर’-बाट अलग गर्न मोर्चाले ठूलै ‘अपरेशन’ गर्नुपर्ने प्रष्ट देखिएको छ।
may 2013
No comments:
Post a Comment