Saturday, June 22, 2013

निर्मल राज्य निर्माणको निम्ति
असल राजनीति र कुशल प्रशासन
कुनैपनि कार्य फत्ते गर्न हामीलाई एकताको खाँचो पर्छ। एकलैले कहिल्यै केही गर्न सक्दैनन्। कसै न कसैको साथ चाहिएकै हुन्छ, चाह उ कति नै सुसम्पन्न किन नहोस्। अझ एउटा सिङ्गो समाज, सिङ्गो राज्य वा देश विकासको कुरा गर्नु हो भने त कोही एकलो व्यक्तिको पहलले मात्र केही हुनेवाला छैन। यति भने पक्का हो कि, सकारात्मक विचार कोही एकजनाबाटै आउन सक्छ। तर, त्यहाँ सामुहिकताको खाँचो पर्छ नै। सामुहिक दायित्वबोद, जिम्मेवारी, इमान्दारिता सबै कुराको खाँचो पर्छ। तबमात्र हामी सफल बन्नसक्छौं।
सन्दर्भः सिक्किम राज्यको विकासमा पनि निश्‍चय यही कुरा लागु हुन्छ। यहाँका राजनैतिक नेतृत्ववर्ग, प्रशासनिक पक्ष र आम नागरिक सबैको उत्तिकै सहभागिता हुनु आवश्यक हुन्छ। वर्तमान राज्यसरकारको विचार पनि यस्तै छ। सत्तारुढ एसडीएफ सरकारले राज्यको समग्र विकासलाई ध्यानमा राखेर काम गरिरहेको छ। सरकारको उद्देश्य पनि यही छ, जो मुख्यमन्त्री पवन चामलिङले घरिघरि बताइरहेका छन्। सत्तारुढ एसडीएफ सरकार कालवाधिमा सरकारले हरेक मुद्दालाई अतिनै गम्भीरतापूर्वक लिएको र राज्यको सर्वाङ्गीन विकाससितै दोस्रो पुस्ताको विकास कार्यलाई अघि सारिरहेको छ। सरकारले अब 35 वर्षपछिको सिक्किमलाई सोंचेर वूर्वाधार विकासका योजनाहरूसम्म तयार गरिरहेको छ।
अब यहाँ फेरि कुरा आउँछ उही ‘सामुहिकता’-को। विशेष गरी प्रशासनिक क्षेत्रमा अझै पनि कतिपय कमी-कजोरीहरू देखा परिरहेका छन्। खास गरी सरकारी कार्यालयहरूमा यस्ता कतिपय समस्याहरू देखापरिरहेका छन् जसको कारण आम नागरिकले घरिघरि समस्या भोगिपरिरहेका छन्। यसैको कारण कतिपय मानिसले सत्तारूप पार्टीलाई ‘असल राजनैतिक पार्टी भएपनि कुशल प्रशासनिक सरकार बन्न सकिरहेको छैन’ भन्ने गरेका छन्।
मुख्यमन्त्री पवन चामलिङले पनि यही कुरालाई उद्धृत गर्दै 5 मई, 2012-को दिन चार्य सरकारको चौथो दर्जाका कर्मचारिहरूको कार्यशालामा उपस्थित कर्मचारीहरूलाई जनप्रिय भएर काम गरिदिने आग्रह पनि गरेका थिए। सामुहिक रूपमा काम गर्दै जनतालाई गुणात्मक उत्पादन र सेवा दिन सक्नुपर्ने र सरकारका सबै कार्यमा पारदर्शीता र जवाबदेहितामा रहेर काम गर्नु पर्ने  मुख्यमन्त्रीले बताएका थिए। यसका साथै सरकारद्वारा परिचालित सबै कार्य तथा योजनाहरू सठिक रूपमा कार्यनवयनको दिशामा अधिकारीवर्गले पहल गर्नुपर्ने बताएका छन्। यद्यपि, जब कार्यालयहरूमा अधिकारीहरूलाई नै भेट्न गाह्रो पर्छ भने हामी जनप्रिय भएर नै काम हुनसक्छ भन्न सकिन्न।
आम मानिसहरूले घरिघरि भोग्न परिरहेको समस्याको रूपमा यी कुराहरू नै देखा परिरहेको छ। यस्को अर्थ, सरकारी कर्मचारीवर्ग कार्यालय नै जाँदैनन्, काम गर्दैनन् भन्ने होइन। तर प्रायःजसो उच्चअहोदाका अधिकारीहरू ‘‘अफिसियल टूर वा मिटिङ वा कार्यक्रममा जानुभाको छ’’ को जवाबले मानिसहरू सबैकुरा कार्यालयको काम लिएर आएको भएपनि घर फर्किनै पर्ने समस्या चुनौति बनिरहेको छ।
यो सत्य हो, उच्चाअधिकारीहरू सरकारी कार्यक्रममै गएका हुन्छन्। तर आम मानिसहरूको भनाइ के छ भने, यस्ता कार्यक्रमहरूमा मुख्य गरी कुनैपनि कार्यक्रममा सम्बन्धित विभाग छोडेर अन्य विभागका मन्त्री, चेयरम्यान, सचिवगण, निर्देशकगण तथा उच्चाधिकारीहरू सबै किन जानु पर्यो? अझ विशेषगरी ‘मुख्यमन्त्रीको कार्यक्रम छ भने त यता कार्यालयहरू खाली हुन्छन्’ भन्ने जनगुणासो पाइन्छ। यसरी उच्चाधिकारीवर्ग हिँडिसकेपछि अरूको खासै काम पनि के रह्यो र! यसैले ठूला अधिकारीवर्ग नै कार्यालयमा नरहेपछि कार्यालयमा ट्राफिक समस्याका कारण अबेर गरी पुगेका अन्य अधिकारीवर्ग पनि साह्रै पर्खिरहने गरेको नपाइनुले आम नागरिकले अझ समस्या झेल्नु परिरहेको देखिन्छ।
अतः सरकारले राज्यको चौतर्फी विकासतर्फ अग्रसर रहेर काम गरिरहेको र राज्यको पूर्वाधार विकासलाई ध्यानमा राखेर काम गरिरहेको भएपनि यहाँ आम नागरिकका यस्ता समस्याहरूलाई पनि उत्तिकै ध्यानदिनुपर्ने हुन्छ। राजनैतिक समीक्षकहरूले सत्तारूढ एसडीएफ पार्टीलाई असल मानिरहेका भएपनि सायद माथि उल्लेख गरिएका बुँडाहरूलाई अघि सारेर यहाँ कुशल प्रशासकको कमी रहेको कुरा नदोहोर्याउन्, सरकारले ध्यानदिनु पर्ने देखिन्छ यहाँ। राज्यको सुख, शान्ति र समृद्धि अनि सैद्धान्तिक पक्ष आफ्नो ठाउँमा छँदैछन्, यी कुराहरूलाई व्यावहारिक रूपमा उतारिनुले नैै निर्मल राज्यको सपना साकार बनाउला।
21.06.2013

1 comment: