Friday, June 7, 2013

राज्यमा सुन्तोला खेती
राज्यको कृषि जगतलाई बढावा दिन अनि राज्यलाई 2015 सम्म जैविक राज्य बनाउने अघिदेखिनै राज्य सरकारको पहल रहेको छ। यसबाट राज्यलाई बेरोजगारमुक्त तथा स्वालम्बी बनाउने पनि अर्को उद्देश्य रहेको प्रष्टै छ। विश्‍वकै प्रथम उद्योगको रूपमा स्वीकारिएको कृषि क्षेत्रलाई हामी सबैले प्राथमिकता दिएर सचेत भई काम गर्न पनि उत्तिकै जरुरी छ।
राज्य सरकारले अहिले राज्यका आम नागरिकलाई विशेष कृषकवर्गलाई यसतर्फ ध्यानाकर्षण गराउँदै वागवाणी तथा नगदेवाली खेतीलाई प्रोत्साहित गराइरहेको छ। अदुवा, अलैंची, सुन्तोला जस्तो खेतीलाई उच्च प्राथमिक्ता दिँदै सरकारले कृषकवर्गलाई यसतर्फ आकर्षित गराउने पहल गरिरहेको छ, जसको माध्यमद्वारा कृषकवर्गपनि सरकारी नोकरी गर्नेसरह वार्षिक लाखौं रुपियाँ आर्जन गर्न सक्नेछन्। राज्यमा यसका धेरै उदाहरण पनि छँदैछन्। 30 मई को दिन स्थानीय चिन्तन भवनमा सम्पन्न नगदेवालीअन्तरगत सुन्तोला खेती विषय सचेतना कार्यक्रममा आठजना कृषकलाई सम्मान जनाएको थियो।
राज्यमा साँच्चै सुन्तोला खेतीको भविष्य उज्ज्वल देखिएको छ। अघिबाटै यसतर्फ केही कृषकले स्वप्रयासमा खेती गरिरहेको भएपनि सरकारको सहयोग र प्रोत्साहनमा वार्षिक तीनलाख रुपियाँसम्म आर्जन गरिरहेका छन्। अतः यसलाई सबैले ध्यान दिएर काम गर्नसके कृषिउद्योगमा राज्य तथा राज्यवासी धेरै अघि बडनेछ। यसको निम्ति कृषकवर्गलाई सरकारले बिउ-विजन, ग्रीन हाउस्, आवश्यक तालिम सबैप्रकारको सहयोग पुर्याइरहेको छ। राज्यमा नगतेबाली खेतीमा रुची राखेर उद्यमशील बन्ने चाहने कृषकवर्गले यसको निम्ति कृषि तथा वागवाणी विभागबाट सिधै जानकारी लिन सक्छन् भने गैरसरकारी संगठन (एनडीओ) तथा पञ्चायतको माध्यमबाट पनि जानकारी लिन सक्नेछन्। यसको निम्ति शिक्षित बेरोजगार युवावर्गलाई सरकारले ‘अनइम्प्लोइड लोन’ पनि उपलब्ध गराउने प्रावधान रहेको छ।
भविष्यमा सिक्किमलाई सुन्तोला खेतीको माध्यमबाट पनि छुट्टै रूपमा चिन्न सकिने मानिसहरूले बताइरहेका छन् भने अहिले राज्यका चारै जिल्लामा यसको खेती गरिँदै छ। यद्यपि, उत्तर जिल्लाअन्तरगत जङ्गुमा मुख्य रूपले सुन्तोला खेती भइरहेको छ। सही ढङ्गमा यसलाई बढावा दिन सके अथवा प्रोत्साहित गर्न सके वास्तवमै सिक्किमलाई सुन्तोला खेतीले पनि चिनिनेछ भने यसबाट राज्यमा पर्यटकहरूलाई पनि अझ आकर्षित गराउन सकिने विश्‍वास गर्न सकिन्छ।
यद्यपि, कुनैपनि कार्यलाई सफल तुल्याउन सबैतिरबाट उत्तिकै सहभागिता चाहिन्छ, योजना तयार पारेरमात्रै होइन त्यसको सही ढङ्गमा कार्यनवयनमा उतार्न सक्नुपर्छ। दुइहातले मात्र ताली बजेजस्तै राज्यसरकारले जसरी अहिले राज्यमा नगदेवालीलाई प्रोत्साहित गर्ने काम गरिरहेको छ, यसलाई सफल बनाउँन विभागीय पक्षले पनि इमान्दारिपूर्वक सहयोग पुर्याउन आवश्यक हुन्छ भने कृषकवर्गले पनि उत्तिकै लगनशील रहनु पर्ने हुन्छ। नभए वर्षदिन लगनशील रहेर अनि आममानिसको भीडमा एकदिन सम्मान थापेरै मात्र केही हुनेवाला छैन। 
31 May 2013

No comments:

Post a Comment