Friday, June 7, 2013

ट्राफिक समस्या र पुलिस प्रशासन
राज्यमा अहिले सबैभन्दा ठूलो समस्या भनेको नै ट्राफिक समस्या भएको छ। यही समस्या धेरैको निम्ति ढाँट्ने बहाना पनि बनेको प्रायः सबैलाई ज्ञात भएकै विषय हो। साना-सानाहरूदेखि ठूला अधिकारीहरू सम्मका लागि यो एउटा राम्रो उपाय बनेको छ र सजिलै भनिदिने गर्छन् ‘ट्राफिक जाममा फँसेको छु’। हो पनि। राज्यमा अहिले विशेष गान्तोकमा ट्राफिक समस्या वास्तवमै ठूलो समस्या बनेको छ। चाहेर पनि कति समय हामी समयमा आफ्नो गन्तव्य पुग्न सकिरहेका छैनौं। समाधान कसरी गर्ने? सोंच्नुपर्ने विषय छ। यो कोही एकलो व्यक्तिको होइन तर सामुहिक समस्या बनेर प्रतिदिन बढिरहेको छ अनि कुनै पनि सामाजिक समस्या समाधानर्थ सामुहिक पहलको खाँचो पर्दछ।
अब हामीले हेर्नु छ, समस्या कसरी बढदै गइरहेको छ त? समस्याको कारण नबुझी समाधान खोज्न मूर्खता हुन्छ कि सायद! हो, यहाँ समस्याका कारणहरू धेरै छन्। जस्तै बसैलाई थाहा भएको कुरा हाम्रो ठाउँ त्यसैपनि सानो छ। विशेष राजधानी तथा राजधानी वरिपरिका सडकहरूलाई चौडादार गर्ने कुनै उपाय छैन, न त वैकल्पिक मार्ग निर्माण नै गर्न सकिने उपाय देखिन्छ।
यो त राम्रो कुरो मान्न सकिन्छ कि हामी जीवनमा आवश्यक हरेक कुरामा सुसम्पन्न हुन सकौं। तर हाम्रो निम्ति यही एउटा अर्को समस्य बनिरहेको देखिन्छ प्रतिदिन। राज्य सरकारले जसरी सिक्किमलाई गरिबीरेखाबाट माथि उठाउने वा राज्यलाई गरिबीमुक्त बनाउने पहल गरिरहेको छ त्यसरी नै राज्यमा प्रतिदिन वाहनको सङ्ख्यामा वृद्धि भइरहेको छ। यो पनि हाम्रो सुसम्पन्नताको उदाहरण भएपनि एहिले यो नै एउटा समस्या भइरहेको स्वीकार्य छ।
वाहनको आवश्यक्ता सबैलाई हुन्छ। तर प्रतिव्यक्ति एक-एकवटा निजी वाहन लिएर हिँड्नुले साँगुरो सडकमा ट्राफिक समस्यामा अर्को थप समस्या हुनगइरहेको छ। राजधनीमा विशेष 31-ए राष्ट्रिय राजमार्गमा जतिवटा ट्याक्सी गुड्छन् लगभग उतिनै सरकारी वाहन गुड्छन् भने त्योभन्दा अधिक अथवा ट्याक्सी वाहनभन्दा अधिक संख्यामा निजी वाहन गुड्ने गर्छन्। त्यसमा पनि प्रायःले आफू स्वयंकै निम्ति मात्र आफ्नो वाहन प्रयोगमा ल्याएका हुन्छन्। यदि प्रतिदिन निजी वाहनको संख्या बढ्ने हो भने  अनि निजी वाहन कोही एकलो व्यक्तिकै निम्ति सवार हुन्छ भने निश्‍चय यो हामी सबैको निम्ति अझ ठूलो समस्या हुन्छ, भइरहेको पनि छ।
अतः माथिका तीनै कुरालाई ध्यानमा राखे यहाँ वाहन संख्या नियन्त्रण आउन जरुरी हुन्छ। विशेष निजी वाहनको बढ्दो संख्यामा यसको खाँचो देखिन्छ। यसमा कुनै प्रकारको नियम राख्न अथवा कुनै प्रकारको नियन्त्रन गर्न सम्बन्धित निकायले विचार पुर्याए भविष्यको निम्ति उचित होला कि! तर कुनै प्रकारको नियम या कानुन बनिए पनि हामी सबैको सबैको सहयोग भने खाँचो पर्छ।
यी सबै कुरा छोडेर यहाँ अर्को समस्या देखिन थालेको छ कानुनी नियमको उचित प्रयोग नहुनु अनि विशेष ट्याक्सी वाहन चालक र पुलिस कर्मीमाझ आपसी बुझाबुझको कमी अनि आम मानिसहरूले जताततै आफ्नो सुविधाअनुसार वाहन रोक्नु। यस्ता कुराहरूले हाम्रो नियम-कानुनलाई भंग गराउँछ भने यसैबाट कतिपय स्थितिमा अशान्ति सिर्जना पनि हुने सम्भावना रहन्छ।
कतिपय ठाउँमा ट्याक्सी चालकवर्गले दुइ-चार रुपियाँको लालचमा प्यासेन्जर उठाउने हुनाले ट्राफिक नियम भंग गरिरहेका हुन्छन् भने कतिपय स्थितिमा पुलिस कर्मीहरूबाट चालकहरूमाथि अन्याय भइरहेको पनि प्रत्यक्ष देखिन्छन्। सरकारी वाहन तथा ठूला व्यक्तित्वहरूका वाहनहरूले विशेष पार्किङ नियम उल्लङ्घन गरेको भेटिँदा पनि छुट् दिने तर ट्याक्सी चालकहरूलाई भने कतिपयले गल्ति गरेकै नहुँदा पनि चलन काटिनु अन्याय मान्न सकिन्छ। 5 जून, 2013-को बिहान पानी हाउसको सानो घटनालाई उदाहरण लिन सकिन्छ। कानुन सबैको निम्ति बराबरी हुनुपर्छ। यो कुरा सबैलाई ज्ञात नभएको होइन। तर चाहे कुनै पनि पक्षबाट होस्, यदि कानुन उल्लङ्घन हुन्छ वा सदुपयोग हुँदैन अथवा भेदभाव हुन्छ वा गरिन्छ भने त्यसले समाजमा अशान्ति सिर्जना गराउँछ। यसबाट आम मानिसहरूमा सरकार र प्रशासनको गलत संदेश जानसक्छ। त्यसैले यी कुराहरूलाई हाम्रो सामुहिक समस्या हो भन्ने बुझेर सबैतिरबाट सामुहिक जिम्मेवारीकै रूपमा लिएर समाधानको सामुहिक पहल नै गरे कसो होला?
7 Jun 2013

No comments:

Post a Comment