Tuesday, June 24, 2014

पूर्वोत्तर राज्यहरूमा कृषि सम्भावनाको खोजी

पूर्वोत्तर राज्यहरूमा कृषि सम्भावनाको खोजी

पूर्वोत्तरका राज्यहरू देशकै प्रमुख अङ्ग हुन्। मुख्यगरी जैवविविधताको दृष्टिले धनी पूर्वोत्तर राज्यहरू प्राकृतिक सुन्दरताका कारण पर्यकीय दृष्टिकोणले जति महत्वपूर्ण छन् कृषि उद्योगको क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण हुनसक्छन् भन्ने भारतीय कृषि मन्त्रालयको विश्‍वास छ। सिक्किम वर्ष 2015-मा पूर्ण जैविक राज्य बन्ने छ। जैविक राज्यको रूपमा अग्रपंक्तिमा रहेको कुरा केहीसमय अघिमात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उल्लेख गरिसकेका छन्। यसबाट सिक्किमप्रतिको विश्‍वास देशभरिनै व्यापक बनेको छ। त्यसैले पूर्वोत्तर राज्यहरूमा कृषि विकासका कामहरू अझ जोडतोडले गरिनुपर्ने वा हुनुपर्ने कुरामा केन्द्र सरकार ध्यानकेन्द्रित छ।
यसै समय अहिले कृषि मन्त्रालयले पूर्वोत्तर राज्यहरूमा कृषि शिक्षा एवं शोधको विशेष आवश्यकताहरूमा ध्यान दिने बताएको छ। कृषि मन्त्री राधामोहन सिंहले आजै मात्र यसकुरोमाथि प्रकाश पार्दै मन्त्रालयले पूर्वोत्तर राज्यहरूमा कृषि शोध कार्य एवं कृषि शिक्षामाथिको आवश्यकतालाई ध्यान दिने बताएका छन्। गृह मन्त्रालयमा राज्यमन्त्री किरण रिजिजूसितको एउटा भेटमा कृषि मन्त्री राधामोहन सिंहले उक्त विषयमाथि आश्‍वासन दिएका छन्।
यी कुराहरूलाई व्यावहारिक रूपमा उतार्नलाई हरेक राज्यमै विश्‍वविद्यालय हुन जरुरी हुन्छ। इम्फालमा अघिबाटै केन्द्रिय कृषि विश्‍वविद्यालय  सञ्चालित छ। सिक्किमको सन्दर्भमा कतिपय विवादहरूसित जुझ्दै भएपनि अघिबाटै कृषि विश्‍वविद्यालयको महाविद्यालय सञ्चालित छ। यसबाहेक अन्य पूर्वोत्तर राज्यहरू सबैमा कृषि विश्‍वविद्यालय स्थापनाको सम्भावना कतिसम्म छ? यो पछिको कुरा हुनसक्छ। यद्यपि, कृषि मन्त्रीले आइसीएआरलाई पूर्वोत्तर क्षेत्रका आठैवटा राज्यहरूमा कृषि तथा पशु चिकित्सा महाविद्यालय तथा विश्‍वविद्यालय खोल्ने विषयमा व्यावहारिक पक्षलाई लिएर विचार-विमर्श गर्ने निर्देश दिएका छन्। यसका साथै नयाँ संस्थान खोल्दा स्थानीय कृषकहरूको आवश्यकता तथा क्षेत्रको उच्च सम्भावनाहरूलाई पनि ध्यान दिइने बताइएको छ।
यदि मन्त्रायलले यस क्षेत्रमा नयाँ सोंचअनुसार कार्य-व्यवहारमा सफल बन्नसके देशको कृषिउद्योगसितै राज्यलाई पनि धेरै पक्षले फाइदा हुने निश्‍चित छ। तर प्रश्‍न छ, मन्त्रालयको आश्‍वासन कतिसम्म व्यावहारमा उतार्न सकिएला त। यदि पूर्वोत्तर राज्यहरूमा कृषि शिक्षा एवं शोधको आवश्यकताहरूमा ध्यान दिने मन्त्रालयको योजना वा आश्‍वासन सफल बनोस्, सबैको आशा रहनेछ अनि स्वीकार्य पनि। यसो गरिएमा पूर्वोत्तरका कृषकहरूलाई ठूलो सहयोग पनि हुनेछ। शिक्षा र शोधको आफ्नै स्थान, विशेषता र आवश्यकता होला तर कृषकहरूका निम्ति पनि नवीनतम प्रौद्यौगिकीको उपयोग, क्षमता विकास तथा कृषिसम्बन्धी तकनिकीय जानकारी जसरी गराइँदैछ, जसलाई अझ बडावा मिल्नेछ भन्ने विश्‍वास गर्नसकिन्छ।
19.06.2014

No comments:

Post a Comment