सरकारको शिक्षा नीति
74.04 प्रतिशत शिक्षित भारतको जनसङ्ख्याको आधारमा सबैभन्दा सानो राज्य सिक्किम आगामी वर्ष पूर्ण साक्षर राज्य बन्ने लक्ष्य लिएर अग्रसर रहेको छ। 6.32 लाख जनसङ्ख्या रहेको राज्य वर्तमानमा 86.2 प्रतिशत शिक्षित राज्य घोषित छ, जुन आँकडा वर्ष 2001-मा 68.81 प्रतिशत रहेको थियो। 2011-को जनगणनामा 13.40 प्रतिशत साक्षरता वृद्धिदर प्राप्त गरेको छ।
सिक्किममा केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई)-को बाह्रौं श्रेणीको वार्षिक रिपोर्ट हेर्दा पनि सिक्किमले शैक्षिक क्षेत्रमा प्रगति गरेकै छ। ‘समय दैनिक’-ले वार्षिक परीक्षा परिणाम वर्ष 2007 देखिनै निरन्तर प्रकाशित गर्दै आइरहेको छ। समय दैनिकले दिएको आँकडाअनुसार पनि वर्ष 2007-मा सिक्किमले बाह्रौं क्षेणीको परीक्षा परिणाममा 75.87 प्रतिशत सफलता प्राप्त गरेको थियो। 2007-देखिको परिणामअनुसार सीबीएसी परीक्षा परिणाममा सिक्किमको आँकडा घटेको छैन। यो वर्ष अहिलेसम्मको सर्वोत्कृष्ट परिणाम 82.99 प्रतिशत प्राप्त गरेको छ। अझ चाखलाग्दो कुरा के छ भने सँधैं सबैको मनमा बसेको ‘सरकारी स्कूलभन्दा नीजि स्कूलको परिणाम राम्रो हुन्छ वा नीजि पाठशालाहरूले उत्कृष्ट परिणाम निकाल्छ’ भन्ने धारणालाई पनि गलत ठहर गरिदिएको छ। यसपालीको परीक्षा परिणाममा बाह्रौं श्रेणी उत्तीर्ण गर्ने विद्यार्थीहरूका लागि यो उपलब्धी मान्नुपर्छ।
यसो भएपछि के भन्न सकिन्छ भने सिक्किम सरकारले राज्यका विद्यार्थीहरूप्रति शैक्षिक विकासमा जुन आशा गरेको छ, त्यसमा धेरै हदसम्म साथ दिइरहेको छ। तर बुझ्नु के पर्छ भने यदि सिक्किमलाई पूर्ण शिक्षित राज्य वा शिक्षित राज्यका रूपमा अब्बल र पूर्ण साक्षर राज्यका रूपमा घोषिण गर्नुपर्ने हो भने विद्यार्थीहरूलाई मात्र आधार लिन सकिन्न। त्यसैले सरकारले यसको लागि पनि प्रौढ शिक्षा, सर्वशिक्षा अभियान आदि केन्द्रिय योजनाहरूलाई लागु गरिदिएको अवगत भएकै विषय हो। यद्यपि, त्यस्ता योजनाहरू कतिसम्म सफलतापूर्वक कार्यन्वयनमा छ वा व्यवहारमा उतारिँदै छ त?
अर्को ध्यानयोग्य कुरा, सरकारले अहिले राज्यको हरेक विकास योजनामा गुणस्तरीयताको कुरा उठाइसकेको छ। शिक्षाको क्षेत्रमा पनि गुणस्तरीय शिक्षा (क्वालिटी एजुकेसन)-को कुरा नयाँ होइन। त्यसैले यहाँ समस्या के देखिँदैछ भने घरिघरि सरकारी कतिपय स्कूलहरू प्रधानाध्यापक वा प्राचार्यहरूबिना नै सञ्चालित रहेको, उच्च शिक्षाका विषयगत शिक्षक-शिक्षिकाको कमी रहेको, विभागले एडहक शिक्षक-शिक्षिकाहरू विलम्म गरेर लगभग आधीवर्षपछि मात्रै स्कूलमा पठाउने आदि-आदि समस्या रहेको कुरा पनि प्रकाशमा आइनै रहेका छन्।
अब गम्नुपर्ने विषय के छ भने, वर्ष 2001-को 68.81 प्रतिशतको आँकडा 2011-मा आइपुग्दा 13.40 प्रतिशतको वृद्धिदर प्राप्त गर्दै 86.2 प्रतिशतमा आइपुगेको छ। सिक्किमलाई पूर्ण साक्षर बनाउने लक्ष्य हो 2015-को। साथमा गुणस्तर शिक्षाको प्रश्न पनि छ। त्यसैले अबको लगभग डेडवर्षको अवधिमा लक्ष्य प्राप्त गर्न राज्य सरकारले शिक्षाको क्षेत्रमा खुबै संघर्षित रहनुपर्ने देखिएको छ। कति सम्भव या कति असम्भव छ? अहिले नै भन्न नसकिएला कि!
-30.05.2014
No comments:
Post a Comment