चुनाउपछिको समाजमा हामी
चुनाउ आउँछ अनि जान्छ। चुनाउ भनेको प्रतिनिधि चुन्नुपर्ने भनेर सबैले बुझिरहेको विषय हो। आफ्नो गाउँ-समाज, राज्य वा राष्ट्र प्रतिनिधि चुन्न प्रत्येक नागरिकलाई संवैधानिक अधिकार प्राप्त छ। अधिकार दिइएको छ, चुनिएका आफ्ना प्रतिनिधिले आफ्नो समाज, राज्य, देश वा राष्ट्रलाई विकासको गोरेटो डोहोर्याओस्। राष्ट्रको विकास हुनु भनेको पहिला समाजका प्रत्येक व्यक्ति सुखसम्पन्न रहोस्, खुशीसाथ रहनसकोस्। यो त्यतिबेला मात्र सम्भव होला जतिबेला कुनैपनि समाज एकताको सूत्रमा बाधियोस्, जस्तो कि पाँचै औंला एक नभएसम्म मुट्ठी बन्न सक्दैन। तर चुनाउले सबै उम्मेदवारलाई समान अधिकारप्राप्त प्रतिनिधि चयन गर्न सक्दैन। त्यसैले चुनाउमा चुनिएका एकैजना प्रतिनिधि नै सबैका प्रतिनिधि समाजले स्वीकार्नसक्नुपर्छ। चुनिएका प्रतिनिधिले पनि समग्र समाजलाई, राज्यको सन्दर्भमा समग्र राज्य र यदि राष्ट्रको सन्दर्भमा भए समग्र देशलाई मैले प्रतिनिधित्व दिनुपर्छ भन्ने सत्य बुझ्न जरुरी हुन्छ। ‘हाम्रो’ र ‘उसको’ विचार त्याग्न सक्नुपर्छ। प्रतिनिधित्व कसलाई गराउने त? चुनाउको उद्देश्य भनेको नै त्यति हो। त्यही अधिकार दिएइको छ हरेक नागरिकलाई। त्यसको कारण हो समाजलाई सही ढङ्गले, सही मार्गमा, सुचारुरूपले डोहोर्याउन सकोस्।
देशसितै सिक्किमले पनि प्रतिनिधि पाइसकेको छ गएको चुनाउसितै। राज्यका जनताले फेरि पनि 20 वर्षदेखि सत्तासिन एसडीएफलाई पुनः पाँचौपल्ट विधानसभामा पुर्याएको छ, सत्तामा उभ्याएको छ। सिधा अर्थ छ, सिक्किम र सिक्किमवासीको हित, सुख-शान्ति, सुरक्षा र विकास गर्न योग्य अर्को विकल्प तयार भएको छैन। तर, अहिले चुनाउ परिणाम घोषणा भएको तीन सातापछि पनि चुनाउको छायाँले छोडेको देखिन्न। चुनाउअघिसम्म एउटै जुवा भिरेर हिँडेजस्तै समाजोन्नतिका कामहरू गरिरहेकाहरू अहिले छत्तीसको आँकडा राखेर हिँडिरहेका छन्। एउटै परिवार, एउटै आगन, एउटै समाज छ। धेरैमा वल्लो घर र पल्लो घरको दुरुत्व छ। वल्लो समाज र पल्लो समाज मात्रै छ। सजिलोमा ‘मर्दाको मलामी, जिउदोको जन्ती’ पुग्नैपर्छ। उसोभए यो छत्तीसको साइनो किन? कसले सोझ्याउने त यसलाई?
चुनाउले आ-आफ्ना प्रतिनिधिलाई चुन्ने अधिकारसित मतदानको अधिकार दिएको भएपनि चयन हुने एकैजना हो। अनि चुनिएका प्रतिनिधिको कर्तव्य हुन्छ आफ्नो अधिकारमा रहेर सबैको प्रतिनिधित्व गर्नु, सबैलाई समानअधिकार दिएर समाजको विकास गर्नु, समाजमा समानता ल्याउनु। समाजको सुख-शान्ति, उन्नति-विकास गराउनु उसको जिम्मेवारी हुन्छ। यो सबै त्यतिबेला मात्र सम्भव हुन्छ जतिबेला समाज एकताको सूत्रमा बाँधिनसक्छ। यही सबैभन्दा ठूलो चुनौति हुनसक्छ पञ्चायत, विधायक, मन्त्री वा कोही पनि प्रतिनिधिको जसले प्रतिनिधित्वको आङभार लिएका छन् अथवा आम नागरिकले विश्वास गरेर प्रतिनिधि चयन गरेका छन्। अहिले राज्यमा यस्तै कुराको आवश्यकता देखिन थालेको छ। नभए चुनाउअघि दिइएको विश्वासलाई कार्यरूपमा अथवा व्यवहारमा उतार्न गाह्रै पर्ला। फेरि, वचन र व्यवहारमा मेल नखाए समाजको विकास कसरी गर्ने? त्यसैले चुनाउ हरेकपटक आउँछ, जान्छ। समाज त्यही हो। समाजमा रहने हामी उही हौं। हामीमा पनि एकता आउन जरुरी हुन्छ।
06.06.2014
No comments:
Post a Comment