Tuesday, January 31, 2017

भारतीय मुद्रण पत्रकारिताको 237 वर्ष

समाजको विकासमा समाचार-पत्रको ठूलो भूमिका रहन्छ। समाजमा के राम्रो र के नराम्रो कार्य भइरहेका छन् भन्ने कुराको त्यही समाजसित सिधा सम्पर्कमा रहेर सम्प्रेषण गर्ने माध्यम अहिले अनेक छन्, जस्तै समाचार-पत्र, रेडियो, टेलिभिजन, इण्टरनेट वा सामाजिक सञ्जालका अनेक माध्यमहरू। एकअर्थमा समाचार सम्प्रेषणलाई समाजको ऐनासरह हेर्न सकिन्छ। माथि उल्लेखित समाचार सम्प्रेषणका अनेक माध्यम भए तापनि समाचार-पत्र वा मुद्रण पत्रकारिताको छुट्टै महत्त्व छ। त्यसैले लगभग अढाईसय वर्ष इतिहाससितै अघि बढिरहेको भारतीय समाचार-पत्रको अस्तित्व संकटमा परेको छैन।
समाचार-पत्रको ऐतिहासिक पक्षलाई हेरिनु हो भने विश्‍वमा पत्रकारिताका आरम्भ ईस्वीपूर्व 131-मा रोमबाट भएको पाइन्छ, जहाँबाट पहिलो दैनिक समाचार-पत्र निस्किन थालेको थियो। यता भारतमा भने विश्‍वमा पहिलो दैनिक पत्रिका शुरू भएको 1645 वर्षको प्रतीक्षा गर्नुपर्ने हुन्छ। अथवा भारतमा पहिलो समाचार-पत्र 1774-मा आएर मात्रै प्रकाशित भएको थियो। यद्यपि, त्यसको 100 वर्षअघि 1674-मा छापाको पहिलो मशिन आइपुगेको हो।
माथि भनिएझैं समाचार वा समाचार-पत्रलाई समाजको ऐनाको रूपमा हेरिनु हो भने त्यहाँ स्वायत्ततासितै विचार सम्प्रेषणमा स्वतन्त्रताको पनि आवश्यकता पर्दछ। यद्यपि, भारतमा यतिबेलासम्म यस्तो परिवेश आएकै थिएन, किनभने 1774-मा पहिलोपल्ट प्रकाशित समाचार-पत्र ईस्ट इण्डिया कम्पनीका भूतपूर्व अधिकारी विलेम बाल्टसले प्रकाशन गर्दथे। त्यसबेला अंग्रेजी भाषामा निस्किने समाचार-पत्रपछि 29 जनवरी 1780-देखि कोलकाताबाट ‘बंगाल गजेट’ निस्कन थाल्यो, जसलाई ‘हिकीज गजट’ पनि भन्ने गरिएको थियो। 237 वर्षअघि 1780-देखि निस्किएको जेम्स ओगस्टस हिकीको यही समाचार-पत्रलाई स्वतन्त्ररूपले विचार व्यक्त गरिएको पहिलो पत्रिका स्वीकार गरिएको छ।
हिकीलाई भारतका प्रथम पत्रकार मानिन्छ, जसले प्रेस स्वतन्त्रताको लागि ब्रिटिश सरकारसित लडेका थिए। हिकीले कुनै डर-त्रासबिना समाचार-पत्रको माध्यमद्वारा भ्रष्टाचार र ब्रिटिश शासनको आलोचना गर्दथे, जसका कारण हिकीलाई देश छोड्ने फरमानसम्म जारी गरिएको थियो। 23 मार्च 1782-देखि भने उक्त समाचार-पत्रको प्रकाशन बन्द भएको थियो। यसरी भारतमा मुद्रित पत्रकारितासितै स्वतन्त्र समाचार सम्प्रेषण शुरू गर्ने श्रेय पनि हिकीलाई नै जाँदछ भने वर्तमानमा भारतीय पत्रकारितालाई पूर्ण स्वतन्त्र पाउनसकिने कुरा सर्वविदित छ, चाहे मुद्रण पत्रकारिता होस्, चाहे टीभी समाचार या फेरि सामाजिक सञ्जालकै कुरा किन नहोस्।
सिक्किमको सन्दर्भमा हेरिनु हो भने मुद्रण समाचारको स्वतन्त्ररूप पुरानो भएको छैन। भर्खरै चार दशक पूरा गर्दै गरेको सिक्किमले अहिले सुख, शान्ति, सुरक्षित परिवेशमा प्रवेश गरिसकेको छ। यसको निम्ति वर्तमान एसडीएफ सरकारलाई श्रेय जाँदछ। किनकि, एसडीएफ सरकार आउनअघि राज्यमा त्यस्तो परिवेश नै थिएन जहाँ कुनै पनि पत्र-पत्रिकाले  स्वतन्त्ररूपमा लेख्नसक्ने अवस्था होस्। अघि भनियो कि समाजको विकासमा समाचार-पत्रहरूको ठूलो भूमिका रहन्छ। यद्यपि, त्यही समाजले पत्रकारिताको निम्ति स्वतन्त्र परिवेशको स्थापना गर्नुपर्ने हुन्छ। जबसम्म समाचार तथा सञ्चार माध्यमलाई स्वतन्त्र राखिन्न तबसम्म समाजको विकासमा पनि आँच आउने हुन्छ। यस कुरालाई राम्ररी मनन गरिसकेका मुख्यमन्त्री पवन चामलिङले अढाई दशकभन्दा अघि नै राज्यमा एउटा क्रान्ति शुरू गरेका थिए। फलस्वरूप, सिक्किममा वर्तमान परिवेशको स्थापना भएको हो, जसको चर्चा-परिचर्चा देश र विदेशसम्म भइरहेको छ।
उसो त देशका अन्य राज्यहरूसित सिक्किमलाई तुलना गर्न सकिन्न। यद्यपि, एसडीएफ सरकार आउनअघि केही साप्ताहिक समाचार-पत्रहरू मात्रै प्रकाशित हुने राज्यमा अहिले हिन्दी, नेपाली, अंग्रेजी आदि 80 अधिक साप्ताहिकसितै लगभग बाह्रवटा दैनिक समाचार-पत्रहरू प्रकाशनमा आइरहेका छन्। राज्यमा रोजगारको राम्रो माध्यम बन्ने दिशातिर अग्रसर सिक्किमको मुद्रण पत्रकारिताले जुन परिवेशसितै उडान भरिरहेको अवस्था छ, त्यसले राज्यको विकासमा पनि टेवा पुर्‍याइरहेको कुरामा दुईमत नहोला। यसको श्रेय एसडीएफ सरकारलाई जाँदछ। सिक्किमेली पत्रकारिताको क्षेत्रलाई अझै फराकिलो बनाउन हामीले अझ धेरै कसरत गर्नुपर्ने देखिएको छ।-27.01.2017

फेरि विकास अर्को बोर्ड!

पहाडमा विकास बोर्डको राजनीतिले पहाडबासीलाई सधैँ अल्मलाउने क्रम जारी छ। वास्तवमा अल्मलाउने कि अल्मलिने कार्य भइरहेको छ? बुझ्नुपर्ने हो, किनभने पाहडबासीहरूमा मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडको विकासलाई केन्द्र गरेर विभिन्न जात-जातिको विकास बोर्ड दिएर पहाडको ध्यानाकर्षण गराउने काम गर्दै आइरहेकी छन्। यद्यपि, विकास बोर्ड थाप्ने र नथाप्ने भन्ने विषयलाई लिएर प्रत्येक जात-जातिमाझ विवाद शुरूदेखि नै भइरहेको हो। विकास बोर्डलाई लिएर जसले बोर्डको समर्थन गर्दैछ उनीहरू तृणमूल समर्थक भन्ने आरोप-प्रत्यारोप चलिरहेको छ।
अर्कोतिर, अहिले माकपाले नगरपालिकाले जनतालाई वचन दिएर पनि कुनै काम गरेको छैन भन्ने आरोप लगाउँदै आरोप झुटो भए मुद्दा लगाउँदा हुने बताइरहेको छ। फोहोर-मैला प्रबन्धनलाई लिएर एकातिर लापाही भएको र महकुमा अधिकारीले पनि गैरजिम्मेवारीपूर्ण वयान दिइरहेको आरोप लगाइरहेको छ भने अर्कोतिर गोर्खा जनमुक्ति मोर्चाले घरिघरि गोर्खाल्याण्ड आन्दोलनको कुरामा पहाडलाई भुलाउन बिर्सिएको छैन। आज शुक्रबार पनि यहि कुरा लिएर युवा मोर्चाले चर्को आवाजमा गोर्खाल्याण्ड अभियान अझै जारी रहेको बताएको छ। यस सन्दर्भमा देशका विभिन्न संसदीय क्षेत्रबाट निर्वाचित बनेका सांसदहरूलाई गोर्खाल्याण्ड राज्य गठनको लागि सहयोग प्रदान गरिदिने अनि गोर्खाल्याण्डको औचित्य के हो भन्नेबारे बुझाउन युवा मोर्चा सफल बनिरहेको दाबी गरिरहेको छ, जब कि गोजमुमो केन्द्रिय समितिलगायत विमल गुरुङ स्वयंले केन्द्रिय मन्त्रीहरूलाई अघिबाटै भेट्न घरिघरि दिल्ली नगएका होइनन्।
अर्कोतिर, पहाडमा घरिघरि समस्या बनेर देखा पर्ने चिटफण्डले राजनैतिकरूपधारण गर्नेगरेको देखिन्छ। यसमा राज्यका ठूला नेताहरूसम्म मुछिएको घटना विदितै छ। शुक्रबार पुनः चिटफण्डको विरोधमा आवाज उठेको छ। अघिबाटै पीडितहरूले आफ्नो अघिकारको निम्ति कलकत्ता, दिल्ली नजाने बताउँदै चिटफण्ड कम्पनीहरू जुन माध्यामद्वारा पहाडमा भित्रियो त्यहीँबाट पीडित जनताको जिम्मेवारी लिइनुपर्ने हिल इनभेस्टर्स एण्ड एजेण्ट सेक्यूरिटी वेल्फेयर एसोसिएशनको भनाइ छ।
ठीक यहिबेला युवा मोर्चाले गोर्खाल्याण्डको कुरा गरिरहेको भए पनि जीटीएको सहयोगमा देशको रेलवे मन्त्रालयले शीघ्रै सिक्किमसम्म रेल पुर्‍याउने कुरा गरिरहेको छ। यसको निम्ति जीटीए क्षेत्रका केही भाग भएर रेल लाइन बिछ्याउनुपर्ने भएकोले रेलमन्त्री सुरेश प्रभाकर प्रभुले यसको लागि जीटीएसमक्ष सहयोग गर्ने अपील गरेका छन्। यस अवसरमा जीटीएका मुख्य कार्यपाल एवं गोजमुमो प्रमुख विमल गुरूङ स्वयं प्रत्यक्षदर्शी थिए।
कहिले विकास बोर्ड, कहिले छुट्टै राज्य गोर्खाल्याण्ड, कहिले छैटौं अनुसूचिको मुद्दाहरूमाझ अल्मलिएको पहाडबासीमाझ केहीदिनअघि मात्रै ख्रिष्टीय समुदायमाझ पनि विकास बोर्डलाई लिएर फाटो आएको थियो। ख्रिष्टीय समुदायको समस्या समाधान हुन नपाई फेरि आज शुक्रबार खस विकास बोर्ड गठन भएको दावी गरिँदैछ। धेरैवटा जातीय बोर्डहरूको गठनपछि खस विकास बोर्डलाई पनि राज्य सरकारले स्वीकृति दिएको खस हितकारी सम्मेलनले दावी छ। मुख्यमन्त्री कार्यालयबाट खस विकास बोर्ड गठन भएको कुरा तृणमूल कङ्ग्रेत नेता बिन्नी शर्मामार्फत थाहा लागेको प्रस्तावित अध्यक्ष राजान भेटवालले सार्वजनिक गरिसकेका छन्। वर्ष 2015 देखि नै बोर्ड गठनको पहल भइरहेको भए पनि के यसलाई पहाडका सम्पूर्ण खसजातिले स्वीकार गर्ला? यो पनि चाँडै खुलस्त भइहाल्नेछ।  जे भए पनि पहाड सधैँ आशैआशामाझ अल्झिरहेको अवस्थामा छ। पहाडमा सधैँ नेता अघिअघि जनता पछिपछि रहेको अवस्थामा दोष कसको हो? खुट्याउनुपर्ने विषय बनिरहेको छ-20.01.2017

माघे संक्रान्तिको महत्व

परिवर्तनशील प्रकृतिमा न्यानो-जाडो र घाम-पानीजस्ता परिवर्तनहरू दिन र रातजस्तै निरन्तर भइरहन्छन्। कुनै पनि परिवर्तनले नराम्रो प्रभाव तथा खराब परिणाम नल्याओस्, राम्रो गरोस भनी सनातन धर्मले यो शरीरलाई हृष्टपुष्ट र क्रियाशील राख्ने अनेक प्रकारका खाद्यान्नहरू खानै पर्ने हाम्रो संस्कार नै बनाएको छ। यस्ता चार्डपर्व र संस्कृतिले हामी निक्कै धनी छौं। त्यसैले त भौतिक जगतका धनीहरू, आविष्कारक, वैज्ञानिकहरू हाम्रो देश-समाजमा आई कठिन बाटोमा समेत सकी-नसकी हिँडेर विश्‍वकै आदिम मानव सभ्यताका अवशेषका रूपमा यहाँ बाँची रहेका हाम्रा मौलिक संस्कारहरू हेर्ने गर्छन् र सधैँ सिक्न अत्यन्त लालायित हुन्छन्। वर्षा ऋतुमा क्वाँति खानु, शरद ऋतुको दशैंमा मासुका अनेकन् परिकार खानु, तिहारमा रोटी, फलफूल खानु र शिशिर ऋतुमा घ्यू-चाकु-तरुल खानु सनातन हिन्दू संस्कारको अति उच्च प्रविधि हो, वैज्ञानिक विशेषता हो। शिशिर ऋतुमा प्रवेश गरिने घ्यू-चाकु पर्वलाई माघ 01 गते वा मकर/माघे संक्रान्ति भनिन्छ। यो दिन आगो ताप्ने दिन पनि हो। माघे संक्रान्तिको दिन नयाँ मकलमा आगो सल्काएर दान गर्ने परम्परा छ।
चान्द्र मासको माघशुक्ल प्रतिपदाको राति नै नित्यपूजा ग्रहण गरी भोलिपल्ट बिहानै घाम ताप्नु वा शिव भगवानको स्मरण गरी पूजा गर्ने परम्परा छ। साथै माघे संक्रान्तिले र बैशाख 01 गतेले हाम्रो समाजमा मान्यता प्राप्त संवदको सम्बन्ध पनि स्पष्ट गरिरहेको छ।
हाम्रो समाजमा माघ-मकर संक्रान्तिमा प्रायःजसो घर-वन तरूल खाने, नजिकैको नदीमा गई त्यसलाई गङ्गा स्मरण गरी मकर स्नान गर्ने र दिनभरि रमाईलो गर्ने परम्परा चली आएको छ। नेपाली समाजकै कतिपय उप-समाजमा यस दिनदेखी नयाँ खेतीको अन्न खान शुरू गर्ने परम्परा पनि व्याप्त छ। यस दिन मेला घुम्न जाने परम्परा पनि हाम्रो समाजमा प्रचलित छ। वर्षका 12 संक्रान्ति मध्ये माघे र वैशाखे संक्रान्तिको ठूलो महत्व रहिआएको हुनाले यसरी  संक्रान्ति पर्वहरू मान्नुको अर्थ पनि यही संस्कृति जोगाउनु हो।
यद्यपि, हिजो-आज संक्रान्तिको नाममा मेला आयोजन गरी कतिपय अचाहिँदो क्रियाकलाप गरिने, मद-मदिरा सेवन गर्ने, जुवा-तास खेल्ने जस्ता कार्यले कयौं विकृतिलाई जन्म दिने काम गरिरहेको छ। विशेषतः युवा पुस्ताले माघे संक्रान्तिको आडमा अप्नाउने विकृतिले आजका दिनमा माघे मेलाको स्वरूप नै बदलीदिएको छ। यो परम्परागत चाढको नाममा गरिने मदपान र जुवातास खेलिनुने निरन्तर यो पवित्र पर्वमा विकृतिले प्रवेश गरिरहेको महसुस गर्न सकिन्छ। 
माघे संक्रान्तिको अवसरमा हाम्रै राज्य सिक्किममा पनि थुप्रै स्थानमा मेला आयोजन गरिन्छन्। सिक्किमको सन्दर्भमा कुरा गर्नु हो भने माघे मेलालाई माघे संक्रान्तिको पर्यायका रूपमा पनि लिने गरिन्छ। आफ्नो संस्कृति-परम्परादेखि निरन्तर टाडिँदै गएको आजको युवा पुस्तालाई आफ्नै परम्परासँग चिन्हित गराउनका निम्ति माघे  मेलाको भव्य आयोजन् आवश्यक पनि छन्। तर मेलाको नाममा संस्कृतिलाई धमिल्याउने कार्य भने गरिनु हुन्न।
यस्ता कयौं रिति-रिवाज छन्, जसले हाम्रो समाजलाई विश्‍वमै धनि बनाइदिएको छ। तर तक्निकी र आधुनिकताको शिखर चडिरहेको आजको परिवर्तनशील समाजबाट यस्ता रिति-रिवाज निरन्तर लोपोन्मुख हुँदै गइरहेका छन्। अतः आजैदेखि यसको संरक्षणमा लाग्नु, अध्ययनमा लाग्नु, यसको सम्बर्धनतिर प्रयासरत रहनु आजको आवश्यकता हो। अझ युवा पुस्ताको ठूलो जिम्मेवारी हुन्छ।

पालो पञ्चायत र नगरपालिकाको

कहिले गोर्खाल्याण्ड अनि कहिले विकास, कहिले जीटीए त कहिले जिल्लाको मुद्दा वरिपरि घुमिरहने दार्जीलिङ पहाडको राजनीति फेरि अहिले तात्तिरहेको छ। राजनीति सधैँ समाजमुखी हुनुपर्छ, जनताको निम्ति विकासकै लागि हुनुपर्छ भन्ने धेरैको मत रहेपनि दार्जीलिङको सन्दर्भमा भने विकास र चिन्हारीको लडाईं आ-आफ्नै स्थानमा यथावत छ। यति भएरै पनि कहिलेकाहिँ पहाडको राजनीति मूल मुद्धादेखि भावभङ्गी भएको पाइन्छ। यस्तो अहिले पहाडमा पञ्चायत र नगरपालिका चुनाउको चहल-पहल भइरहेको छ। तर, पहाडमा अहिले चाहे गोजमुमो (गोर्खा जनमुक्ति मोर्चा) होस या जाप (जन आन्दोलन पार्टी) अथवा तृणमुल कांग्रेस नै होस अथवा गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा) कसैले पनि छुट्टै राज्य गोर्खाल्याण्ड अथवा राज्यको विकासको मुद्दा उठाउने काम गरेको छैन। अहिले मुद्धा बनिरहेको छ- नगरपालिकाको पुरानो बोर्डको असफलता, शहरको मैला व्यवस्थापन, नगरपालिकामा शिक्षकहरूको स्थायीकरण।
नगरपालिका बोर्डको मियाद भर्खरै सकिएको छ। मियाद सकिनेबित्तिकै जीटीएले नगरपालिका चुनाउ यथाशीघ्र गराउने माग गर्दै राज्य चुनाउ आयोगलाई पत्राचार गरिसकेको छ। अर्कोतिर राज्य सरकारले पहाडमा दुईस्तरीय ग्राम पञ्चायत चुनाउ गराउने दिशामा पहल गरिरहेको छ।  पहिले तीनस्तरीय हुनुपर्छ भन्ने गोजमुमो पनि दुइस्तरीय चुनाउ लड्न तयार भइसकेको छ। पहाडमा राजनैतिक माहोल तात्तिनुको अर्को मुख्य कारण अहिले यसलाई पनि देखिएको छ।
सँधै गोर्खाल्याण्ड वा विकासको मुद्दा लिएर अग्रसर रहने गोजमुमो यसघडी ग्राम पञ्चायत चुनाउलाई भन्दा धेर नगरपालिकालाई प्राथमिकता दिइरहेको छ। जीटीएका उप-प्रमुख कर्णल रमेश आलेले पहाडमा नगरपालिका चुनाउको माग गर्दै राज्य चुनाउ आयोगलाई पत्राचार गरिसकेका छन्। त्यसैले गोजमुमो पञ्चायत चुनाउमा भन्दा धेरै नगरपालिका चुनाउकेन्द्रित रहेको स्पष्ट हुन्छ।
चुनावी प्रक्रिया शुरू नभई राजनैतिक पार्टीहरूमाझ आरोप-प्रत्यारोप शुरू भइसकेको छ। यस्तोमा जाप प्रमुखले नगरपालिकाको पुरानो बोर्ड जनताको काम गर्न असफल रहेको बताइरहेको छ भने नगरपालिकाको पुरानो बोर्डले मैलाको समस्या समाधान गरेको दावी गरे पनि बोर्डको मियाद सकिएको हप्तादिनभित्रै भालुखोपका युवाहरूले मैलाको मुद्दा उठान गरेर नगरपालिकाको दावीलाई विफल रहेको खुलस्त पारिसकेका छन्। अर्कोतिर, कालेबुङ नगरपालिकामा 28 जना शिक्षकहरूलाई 14 वर्षभन्दा अघिदेखि स्थायी गर्न नसकेको अर्को आरोप छ। विपक्षीहरूको भनाई छ, नगरपालिकाले जबसम्म सरकारको पैसा बाँडेर खाने काम मात्र गर्छ तबसम्म नगरवासीको विकास गर्न सक्दैन। यदि त्यसो हो भने पहाडको विकासलाई नै मूल मुद्दा बनाउँदै आइरहेको तृणमुल कांग्रेसको अघिल्लो कदम के हुने हो अनि आगामी चुनाउमा उसको मुद्दा पनि के हुने हो भन्ने प्रस्न उठ्नसक्छ। यता जीटीए उपप्रमुख कर्णल रमेश आलेले नगरपालिका चुनाउका निम्ति चुनाउ आयोगलाई पत्राचार गरिनुका कारणबारे प्रस्ट्यशाउँदै लामो समयसम्म चुनाउ नगराउँदा जनता आफ्नो अधिकारदेखि वञ्चित हुने बताएका छन्। यद्यपि, नगरपालिका चुनाउलाई लिएर सरकारले के चाहन्छ त्यसबारे भने अझै प्रष्ट हुनसकेको छैन।
अर्कोतिर, पुरानो बोर्डले विभिन्न बाधाहरू हुँदाहुँदै पनि सफलतापूर्वक काम गरेको दावी गर्दै आज पनि मोर्चासँग जनताको साथ रहेको मोर्चाको दावी छ भने जीटीएमाथि राज्य सरकारको हस्तक्षेप रहेको आरोप अहिले पहाडको अर्को मुद्दा बनिरहेको छ। यद्यपि, अहिलेसम्म यो स्पष्ट छैन कि जनताले चुनाउमा मतदान के को लागि गर्नुपर्ने हो, छुट्टै राज्यको निम्ति, विकासको निम्ति कि मताधिकार कै प्रयोगको लागि मात्र? कि त बोर्ड, विकास, फोहोर-मैला प्रबन्धनको लडाईं कै लागि मात्रै?-06.01.2017

चुनाउ र चपेटमा गोजमुमो

गोर्खाल्याण्डको मुख्य मुद्दा लिएर 2007-मा स्थापित गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले अक्टोबर 2017-मा पार्टी स्थापनाको 10 वर्ष पूरा गर्नेछ। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई नै मुख्य मुद्दा बनाएर अस्तित्वमा आएको गोजमुमोले आफ्नो अन्तिम लक्ष्य भनेको नै गोर्ख्याल्याण्ड भन्दै आएको हो। अहिले पनि भनिरहेकै छ। यद्यपि, आफ्नो लक्ष्यसम्म पुग्ने सिँडी भनेर 2011-मा गोजमुमोले केन्द्र र राज्यसरकारसित त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्दै गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिस्ट्रेशन (जीटीए) थापेको थियो। आफ्नो लक्ष्यसम्म पुग्नलाई पहिले स्वयं दह्रो बन्नुपर्छ, त्यसको निम्ति पहाडको विकास आवश्यक छ भन्ने गोजमुमोक मान्यता थियो।
आफ्नो लक्ष्य र उद्देश्यमा गोजमुमो कति स्पष्ट छ अनि कतिसम्म इमान्दार छ भन्ने विषयलाई लिएर गोजमुमोले घरिघरि संघर्ष गरिरहेको छ। गोजमुमो साथै जीटीए चीफ विमल गुरुङको टोलीले गोर्खाल्याण्डको मुद्दालाई लिएर घरिघरि केन्द्रिय मन्त्रीहरूसित भेट गरिरहेकै भए पनि जीटीए अध्यक्ष प्रदीप प्रधान राज्यको सत्तारुढ तृणमूल कांग्रेसमा सामेल भएपछि अहिले पहाडको राजनीतिमा निकै हलचल मच्चिरहेको छ। खासगरी 29 दिसम्बरको दिन जीटीएसभाको अपरझट सभा डाकिएको थियो, जुन सभाले जीटीएसभाका उपाध्यक्ष लोप्साङ योल्मोलाई अध्यक्ष र रवीन्द्र लामालाई उपाध्यक्ष बनाएपछि पहाडको राजनैतिक चलखेल चलमलाएको हो। अहिले जीटीएसभाको यस निर्णयलाई प्रदीप प्रधानले हाँस्यस्पद मात्रै नबताएर यसको कुनै महत्व नरहेको दावीसम्म गरिरहेका छन्।
अर्कोतिर, गोर्खाल्याण्डको मुद्दालाई संसदमा यदि कुनै पनि केन्द्रिय पार्टीले उठाउन सक्छ र गोर्खाहरूको भावनालाई बुझ्नसक्छ भने भाजपाले मात्र बुझ्नेछ भनेर गोजमुमोले अहिलेसम्म भाजपालाई समर्थन जनाउँदै आएको छ। यहाँसम्म कि दार्जीलिङ संसदीय क्षेत्रलाई प्रतिनिधित्व गर्दै भाजपा नेतालाई सांसद पनि बनाएकै हो। चुनाउँका समय प्रधानमन्त्रीले ‘गोर्खाहरूको दुःख मेरो पनि दुःख’ भनिदिएपछि पहाडवासीलाई भाजपामाथि जुन विश्‍वास थियो त्यो दोब्बर भएको संसदमा भाजपा नेता एसएस अहालुवालिया पुग्नुबाट पनि स्पष्टै हुन्छ। विगतवर्ष मात्रै संसदसभामा अहालुवालियाले पनि चुनाउमा उनले दिएको वचन पूरा नगरेका होइनन्। यद्यपि, सयवर्ष पुरानो गोर्खाल्याण्डको मुद्दा त्यति सहजै पार नलाग्ने पहाडले पनि नबुझेको भने पक्कै होइन।
अहिले पहाडमा चर्चा चलिरहेको छ पञ्चायत चुनाउको कुरा। एकातिर दागोपापपछि जीटीए सञ्चालनमा छ। त्यसैले पहाडमा दुईस्तरीय होइन तीनस्तरीय चुनाउ हुनुपर्छ भन्ने माग गरिरहेको भए पनि गोजमुमोले  संविधान संशोधन नगरि यो सम्भव नरहने भएकाले अहिले दुईस्तरीय नै भए पनि चुनाउ लड्न तयार रहेको गोजमुमोले स्पष्ट पारिसकेको छ। यतिबेला आएर राज्य भाजपाले फेरि ‘भाजपाको अजेण्डामा गोर्खाल्याण्डको मुद्दा छँदैछैन’ भनेर गोर्खालाई रणभुल्लमा पारिदिएको छ। यद्यपि, उसले आगामी चुनाउ भने गोजमुमोकै आडमा लड्ने सपना साँचेकै छ। यस्तोमा अब गोजमुमोले के गर्ने हो?
एकातिर जीटीएसभाका अध्यक्षलाई लिएर पहाडमा माहोल चर्काउने काम भइरहेको छ भने अर्कोतिर गोर्खाल्याण्डको मुद्दा, भाजपाको अजेण्डा अनि आगामी पञ्चायत चुनाउको मुद्दा छँदैछ। गोर्खाल्याण्ड राज्य भाजपाको एजेण्डामा छैन भने अहिलेसम्म गोजमुमोलाई विश्‍वास गरेर भाजपालाई जिताउँदै आएका पहाडवासी जनताको निर्णय के हुनसक्छ? त्यो आगामी दिनले नै स्पष्ट पार्नेछ। अहिलेभने यत्ति स्पष्ट छ कि जतिजति चुनाउ नजिकिँदैछ, त्यति नै गोजमुमो कठिनाइहरूको सामना गर्दै अघि बढिरहनुपर्नेछ। गोजमुमोले गोर्खाल्याण्ड हाम्रो अन्तिम लक्ष्य हो भनिरहेकै छ। यद्यपि, ‘बङ्ग भङ्ग होबेना’ भन्ने राज्यको सत्तारुढ तृणमूल कांग्रेसले विकासलाई प्राथमिकता दिइरहेको छ, ठीक त्यस्तै भाजपाले भनिहालेको नभए पनि भाजपाले विकासलाई नै प्राथमिकता दिएर कार्य गर्ने प्रदेश भाजपाका अध्यक्ष दिलीप घोषले स्पष्ट पारिसकेका छन्। यस्तोमा गोजमुमोले गोर्खाल्याण्डको औचित्य बुझाउँदै आगामी मार्च महीनादेखि दिल्लीका सम्पूर्ण राजनैतिक पार्टीहरूका सांसदहरूसित भेट गर्ने बनाएको योजनाको परिणाम के होला त? चुनाउसितै अहिले यस्तै चपेटमा छ गोजमुमो।-30 दिसम्बर 2016

Friday, January 27, 2017

श्रोताहरूको मन-मनमा बस्न सफल सोताङद्वयसँग केहीक्षण

सिक्किम सफलताको सिँढीतर्फ अग्रसर - उदय-मनिला

अर्जुन ‘यावा’

‘सङ्गीत सुन्नलाई सजिलो हुन्छ तर बुझ्नु गाह्रो हुन्छ। सङ्गीतको गहिराइमा पस्नु साह्रो हुन्छ तर पनि सङ्गीत एउटा नभइ नहुने चीज हो। यो त्यस्तो चीज हो, जसद्वारा आफैलाई व्यस्त राख्न सकिन्छ।’ यो भनाइ हो नेपाली सङ्गीतका प्रसिद्ध गायक उदय सोताङको। 21 मई, 2010 को दिन गान्तोकस्थित एक होटलमा युगल गायक-गायिका अथवा दुइ दम्पती उदय अनि मनिला सोताङसितको कुराकानीको अवसरमा उनले उक्त मन्तव्य व्यक्त गरेका हुन्।
‘कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन’ जस्ता धेरै प्रसिद्ध गीतहरूद्वारा गायक दीप श्रेष्ठले 19 अप्रेलको साँझ तादोङ कलेजको प्रेक्षा गृहमा उपस्थित नेपाली सङ्गीतप्रेमी सम्पूर्ण दर्शक महानुभावको मन जितेको एक महिना नबित्दै त्यही मञ्चबाट श्रोताहरूलाई नाच्नसम्म बाध्य गराए युगल गायक-गायिका उदय अनि मनिला सोताङले। अखिल किराँत राई संघ गान्तोक, पूर्व सिक्किमद्वारा आयोजित ‘उदय अनि मनिला सोताङको साङ्गीतिक यात्रा’ साङ्गीतिक साँझ कार्यक्रममा उपस्थित मानिसको भीडले नेपाली सङ्गीतप्रति मानिसहरूको मोह कतिको रहेछ भन्ने कुरा पनि प्रष्ट पारिदिएको छ। 
तादोङ सरकारी महाविद्यालयको प्रेक्षागृहमा गत 20 र 21 मई 2010-को साँझ आयोजित उक्त साङ्गीतिक कार्यक्रममा सङ्गीत प्रेमीहरूको खचाखच रहेको थियो। सो भीडले गायकद्वयलाई मञ्चमा गाउने जोश बढाइदिएको थियो भने सङ्गीतप्रेमी दर्शकले पनि उत्तिकै मनोरञ्जन उठाएका थिए। सुमधुर स्वरभरि प्रायः हल्का तथा सहज गीतहरू गाएर श्रोता तथा दर्शकको मन जित्न सफल बन्दै आएका युगल उदय अनि मनिलाले यसपटक दर्शकको मनमात्र जितेनन् तर युवा-तन्नेरीलाई मञ्चमै नाच्नसम्म बाध्य गराएको देखियो। आज तिम्रो कुरा चल्यो, छातीभित्र छुरा चल्यो बल्ल बल्ल लाएको पिरती... गीतमा मानिसहरूले मनोरञ्जन लिइरहेका थिए भने दर्शकको तालीको गडगडाहटले अझै उत्साहित गायक उदय मञ्चसम्म पुगेका थिए। त्यसले दर्शकमा अझ अर्कै रौनकता छाएको देखियो।
आफ्नो साङ्गीतिक यात्रामा धेरैको सङ्घर्षपछि सफल्ता पाएका गायकद्वयले विद्यार्थी कालदेखि नै यस क्षेत्रमा प्रवेश गरेको बताउँछन्। सानै उमेरदेखि नै सङ्गीतमा रुचि राखे पनि 1980 को दशकदेखि विशेष रूपले गाउन थालेको उनीहरू बताउँछन्। उदयले गाएका ‘भावनाले मन भरिँदैन...’ तथा अन्य गीतहरू सुनेर पहिलेबाटै मनिला प्रभावित बनिसकेकी थिइन् अनि सङ्गीतद्वारा नै दुवैको भेट पनि भएको थियो। त्यसपछि उदय मनिलाले कालेबुङ, दार्जीलिङ तथा खरसाङका मञ्चहरूमा धेरैपटक सँगै गीतहरू गाउने अवसर पाएका थिए। यही साङ्गीतिक यात्राको अवधिमा दुवैबीच कतिबेला माया बस्यो थाहै पाइएन, माया भन्ने त्यस्तै हुँदोरहेछ भन्छन् उदय-मनिला। गायकद्वयले आफ्नो अस्पष्ट माया-प्रेमलाई 1986-मा वैवाहिक वन्धनमा परिणत गर्दै एकार्कालाई जीवन साथीका रूपमा स्वीकारेको पनि उनीहरू बताउँछन्। त्यस समय हामीबीच जस्तो माया थियो, जस्तो प्रेम थियो त्यस्तै माया, प्रेम अथवा त्यस्तै सम्बन्ध हामीमा छ अहिले पनि, सोताङद्वय भन्छन्। सायद त्यसैले गीतहरूमा पनि यस्तै सन्देश दिनचाहन्छन् उनीहरू। यस्तै सन्देशका साथै गायकद्वयले गीतमार्फत नै दाम्पत्य जीवन कस्तो हुनुपर्छ भन्ने सुझाउ पनि यसरी दिएको पाइन्छ नयाँ गीति एलबम मन्तव्य न्तव्यमा। हेरौं गीतैमा हामी, तिमी मेरो मनको राजा म त तिम्री रानी... दुनियाँले डाहा गर्ने बनाउँ जिन्दगानी। सुखमय घर संसारको हामी कामना गर्छौं, सपना देख्छौं अनि सुझाउ र उपदेशहरू पनि दिन पछि सर्दैनौं। त्यही कुरालाई व्यवहारमा उतार्न हामीलाई नै गाह्रो पर्छ। 
गायक सोताङद्वय यहाँ अरूलाई सुझाउ नदिएर आपस्तमा सल्लाह गर्छन् यसरी, एकै रथका दुइ पाङ्रा हाम्रो जिन्दगानी... तिमी आगो बन्यौ भने म बनुला पानी...। सायद सुझाउ-उपदेशभन्दा यी कुराहरू व्यवहारमा उतार्नु अधिक आवश्यक हुन्छ। गायक उदय जहाँ जान्छन्, मनिलालाईफ साथैमा लिएर जान्छन्। कारणवश एक्लै गएको समय पनि अरूले एक्लै आएकोमा प्रश्‍न गरिहाल्ने अर्थमा मनिला आइन? भनेर सोधी-खोजी गर्नेगरेको उदय बताउँछन्। अतः दुवैले प्रायः काम मिलेर गर्नेगरेको बताउँदै उदय भन्छन्- ‘उसले खाना पकाएर पस्केर दिन्छे, म सङ्गीत पस्केर दिन्छु। यसरी हामी मिलेर अनि बाँडेर काम गर्छौं।’ शुरुका दिनहरूमा दुइ दम्पत्तिले सङ्घर्षका दिनहरू बिताएको बताउँछन्। वैवाहिक जीवनपछि दुवै सङ्गीतकै पछि लगेर काठमाडौंतिर लाग्छन् 1988 तिर। त्यसबेला नेपालको एउटैमात्र रेडियो स्टेशन थियो रेडियो नेपाल नेपाल। अनि त्यहींबाट अडिसन पास गरेर पहिला-पहिला गीतहरू गाउन थालेका दुइ दम्पतिले रेस्टुराँतिर पनि गाउन थालेको उदय-मनिला स्वयं बताउँछन्। उनीहरू भन्छन्- कुनै पनि व्यक्तिले सङ्घर्ष नगरी सफल्ता पाउन सक्दैन। हामी पहिले-पहिले साइकल चलाएर पनि हिँड्यौं। म साइकल चलाउँथे मनिला पछाडि बस्थिन् अनि हामी गाउन जान्थ्यौं, उदय भन्छन्। यतिबेला मनिला सोताङ आफूभित्रबाटै हाँसेको उनको मुहारमा प्रष्टै देखिन्थ्यो। सायद उदयका कुराले मनिलालाई त्यसबेलाको तस्वीर आँखामा ल्याइदिएको हुनुपर्छ।
काठमाडौंमा बिस्तारै प्रतिष्ठित गीत-सङ्गीतकारसित सम्पर्क बढ्दै गयो। त्यसपछि 1989 मा आफ्नो पहिलो युगल गीति एल्बम ‘झझल्को’ निकाल्न सफल बनेका थिए सोताङद्वय। उदयलाई सङ्गीतको क्षेत्रमा पहिलोपल्ट दार्जीलिङमा पेमा लामाले गाउने अवसर दिएका थिए भने नेपालमा पुगेपछि सम्भुजित बास्कोटाले चलचित्रमा पहिलोपल्ट गाउने मौका दिएका थिए। यद्यपि, चलचित्रमा भन्दा एलबममै गाउन अधिक रुचाउँछन् दुवै। यस विषयमा उनीहरू भन्छन्- चलचित्रमा अरूका लागि गाइन्छ अनि एल्बममा आफ्नो लागि। त्यसैले हामी एलबममा गाउँन नै रुचाउँछौं।
1989 मा पहिलो एल्बम ‘झझल्को’ निकाल्न सफल बनेका सोताङ दम्पतिको हातमा अहिलेघरी दर्पण, मुस्कान, कथा, भीडदेखि बाहिर, उपमा, आत्मकथा, मर्म, मन्तव्य र संवाद गरी 10 वटा एल्बम छन् भने दुवैले मन पराएका अथवा छनोट गीतहरूको सँगालो ‘गोल्डन कलेक्शन’ पनि श्रोताहरूमाझ पुर्‍याइसकेका छन्। जम्मा 11 वटा एलबममध्ये ‘मर्म’ सबैभन्दा मन पर्ने एलबम हो दुवैको। मर्म-भित्रका गीतहरू- छिनछिनमै हाँस्न मन लाग्छ.., वारि खोला पारिमा खोला बिचैमा पापी दोभान.., मेरो हाल नसोध्नु म सधैंझैं बेहाल छु, जस्ता लोकप्रिय गीतहरूका साथमा उकाली चढौंला ओराली झरौंला, तिम्रैलागि हो भने ज्यानै दिउँला... गीतले धेरै प्रसिद्धि दिएको छ सोताङद्वयलाई। यद्यपि, मुस्कान एलबमको गीत- ‘माया नमार है माया नमार, जाँदैछौ माया मलाई एक्लो पारेर’ले उदय अनि मनिला सोताङलाई युगल गायकका रूपमा परिचित गराएको उनीहरू बताउँछन्।
1986-मा वैवाहिक वन्धनमा बाँधिएका उदय-मनिलाले आपस्तमा एकार्कालाई जतिको जीवन साथीको रूपमा पाएका छन् त्यतिकै आफ्नो साङ्गीतिक यात्रमा पनि साथ पाएको आभाष गरेकाछन् दुवैले। यसअघि पनि उनीहरूले धेरै गीत नगाएका होइनन् जो दुवैले अघि नै बताइसकेका छन्। सायद त्यसैले हो कि गीतमा पनि दुवै भन्छन्- आधी बाटो हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको लामो यात्रा त्यहींबाट शुरु भयो सानो मोडैमा, सानो सानो मोडैमा... आधी बाटोमा भेटेपछि जिन्दगीको यात्रा शुरु भए पनि एकार्का बिना दुवैको जीवन सायद अधुरै हुन्छअथवा दुवैले आपस्तमा एकार्कालाई त्यति धेरै माया गरेका छन् कि जीवनको हरेक खुशी एकार्काबाटै शुरु हुने बताउँछन्। गीतमा नै दुवैले यहाँ नयाँ एलबम ‘मन्तव्य’ बाट दिनेश अधिकारीका शब्दमा- तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी... तिमीबाट शुरु हुन्छ मेरो खुशी उन्नति... चुङथाङ दार्जीलिङमा जन्मेर नेपाललाई आफ्नो कर्मभूमि बनाउने गायक उदय सोताङले मनिलासित सिक्किमका गीतकारद्वारा रचिएका गीतहरू पनि गाएका छन्। सिक्किममा सङ्गीतको गोरेटो त्यति फराकिलो भइसकेको स्वीकार्न नसकिएला, तर त्यति पछि पनि छैन भन्ने कुरामा कुनै आपत्ति नहोला। उदय-मनिलाले गाएका सिक्किमेली गीतहरूले पनि यहाँको साङ्गीतिक परिचय दिन सक्छ पक्कै। सिक्किमकै सन्दर्भमा उदय भन्छन्, सिक्किममा पनि सङ्गीतको राम्रो भविष्य राम्रो छ। धेरै युवाहरूले रुचि देखाएर अगाडि बढिरहेका छन्। यहाँको वातावरण पनि राम्रो छ, जसले गर्दा सङ्गीतको क्षेत्र फराकिलो बन्नसक्ने देखिन्छ।
यसै सन्दर्भमा कुरा गर्नुपर्दा गीतकार पवन चामलिङ किरणका शब्दहरूमा धेरै गीत गाइसकेका छन् उदय मनिलाले। किरणका शब्द र योगेन्द्र घतानीको सङ्गीत अनि उदय-मनिलाको स्वरमा रहेका गीतहरूमध्ये यो गीत हामी धेरैले सुनेकै हौं- हजार जुनीसम्म खोजिबसें तिमीलाई माया मेरो युग युगसम्म तिमीलाई दिएँ तिमीलाई मिलन कहिले नहुने भो कस्तो माया हो सम्झनासँग बाँच्नुपर्ने कस्तो यो वेदना हो। ‘पवन चामलिङ किरणका गीतहरू सबै मन पर्छन्। मलाई मनपर्ने गीतहरूमा एउटा यो पनि हो’उदय भन्छन्। उनका गीतहरू सबै उस्तै राम्रा-राम्रा छन्, मर्मस्पर्शी छन्। त्यसैको एक उदाहरण मान्न सकिन्छ माथि उद्घृत गीतलाई। गीति एल्बम उपमा भित्र परेको किरणको यस गीतबाहेक गीतकार विनोद प्रधान ‘सोरकी’ का शब्दमा रहेको गीत पनि उस्तै मर्म स्पर्शी छ। हेरौं उनैको शब्दमा गीतकार सोरकीलाई एक पंक्तिमा यहाँ- कहाँ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊँ... छाती खोली देखाऊँ कि मुटुभित्रै लुकाऊँ... दुखाइको सीमा हुँदैन जहाँ मिचेनी सञ्चो हुँदैन। यो गीत सुन्दा जति मीठो लाग्छ गीतकारको जीवन व्यथाले गीतको अर्थ अझै खोलिदिन्छ अनि गीत अझ मीठो लाग्छ, मर्माहित लाग्छ। ‘दुखाइको सीमा हुँदैन जहाँ मिचेनी सञ्चो हुँदैन।’अर्थ त्यसपछि मात्रै बुझिन्छ सायद।
20 मई, 2010-को कार्यक्रममा उदय सोताङले भनेका कुरा यहाँ राख्न चाहन्छु, पहिला गीतको शब्द मैले पाएको थिएँ, मन पनि परेको थियो। अनि त्यलाई कम्पोज गरिरहेको थिएँ। तर पछि जब उहाँको अवस्थाबारे थाहा पाएँ म साह्रै मर्माहित बनेको थिएँ। त्यसबेला उहाँ क्यान्सरले पीडित हुनुहुन्थ्यो रहेछ। त्यतिबेला मात्र मलाई थाहा भयो यो गीत उहाँले हृदयको अन्तर तहबाट लेख्नुभएको रहेछ। यो गीत त्यसै लेखिएको होइन। तर मलाई एउटै दुःख छ, उहाँले लेख्नु भएको गीत आफैले सुन्न पाउनु भएन। जतिबेला सिक्किमेली शब्दकारद्वारा लेखिएका गीतहरूको सङ्गालो गीति एल्बम ‘उपमा ा’ को विमोचन भइरहेको थियो अनि त्यही एल्बमभित्र परेको गीतकार विनोद प्रधानको गीत कहाँ-कहाँ दुख्छ प्रिय तिमीलाई के बताउँ गीत ठूलो-ठूलो आवाजमा डङ्डङ् बजिरहेको थियो, ठीक त्यही समय सोरकीको घरबाट ‘लाश’ निस्किरहेको थियो।
त्यतिबेला उदयलाई पनि कहाँ-कहाँ दुखेको थियो त्यो त स्वयंलाई थाहा होला तर यस कुराले हामीलाई पनि अलिकति त पक्कै दुखेको हुनुपर्छ। तर उदयले भने मुटुभित्रै लुकाएर नराखी हामीसित साँझा गरेका थिए 20 मईको दिन। राजनीतिदेखि अलग्गै बस्न रुचाउने सोताङद्वय कुनै ‘चेरिटी शो’ अथवा कसैको सहयोगको लागि गाउन परे अनि शान्तिको लागि गाउन परे कुनै पनि समय तत्पर रहेको उदयले बताएका थिए। ‘रियोलिटी शो’ विषय राखिएको प्रश्‍नमा उनी भन्छन्- यसबाट लुकेर बसेका कलाकारले निस्कने अवसर पाउँछन्, उनीहरूले एउटा मञ्चको अवसर पाउँछन्। त्यसैले राम्रो लाग्छ।
सङ्गीत क्षेत्रमा रहेका नवोदित कलाकारलाई सन्देश दिँदै उनी भन्छन्, सङ्गीतलाई अप्नाएर युवा भाइ बहिनीले आफूलाई व्यस्त राख्न सक्छन्। सङ्गीतलाई अप्नाएर नराम्रा कुराहरूलाई त्याग्न सकिन्छतर सङ्गीतलाई अप्नाउनेहरूले सफलताका लागि अल्छी गर्नुभएन। नेपाली गीत-सङ्गीतकारहरूले अझै पनि नेपालतिर फर्केर हेर्नुपर्ने बताउँदै यहाँ मीडियाको अथवा प्रचार प्रसारको कमी रहेको बताउँछन्। उदय भन्छन्-पहिलेभन्दा सिक्किम मीडियामा धेरै विकसित भएको छ, यहाँ आफ्ना समाचार पत्रपि त्रकाहरू छन्। 2005 मा आउँदा यहाँ मीडियाको जस्तो स्थिति थियो आज त्यसभन्दा धेरै विकसित भएको छ। तर अझै पनि इलेक्ट्रोनिक मीडियाको कुरा गर्नुपर्दा एउटैमात्र च्यानल छ भने दार्जीलिङमा त्यति पनि छैन। तर काठमाडौंमा व्यापक प्रचार प्रसार हुन्छ अनि सङ्गीतको क्षेत्र पनि त्यहाँ फराकिलो छ।
2001-मा पहिलोपल्ट दक्षिण सिक्किम नाम्चीमा आफ्नो साङ्गीतिक प्रस्तुतिका लागि आएका सोताङद्वय अखिल किरात संघ सिक्किमको कलेज एकाइद्वारा तादोङ कलेजको प्रेक्षागृहमा आयोजित साङ्गीतिक कार्यक्रममा आफ्ना दर्शक तथा श्रोताहरूको मन जित्न सफल रहेका थिए। त्यही मञ्चमा त्यतिकै धेरै श्रोता तथा दर्शकको माया र साथ पाएकोमा खुशी व्यक्त गर्दै सिक्किमको वातावरण, यहाँको शान्ति, सुरक्षा र प्राकृतिक सुन्दरताको खुलेर प्रशंसा गर्छिन् मनिला सोताङ। विद्यार्थीकालदेखि नै सङ्गीतमा रुचि राखेर यसै क्षेत्रलाई आफ्नो व्यवसाय बनाएका सोताङद्वयका एक छोरा र एक छोरीमध्ये छोरी श्रेया सोताङको पनि सङ्गीतप्रति उस्तै झुकाउ रहेको छ। 20-21 मई, 2010 को दिन आफ्ना माता पितासित एउटै मञ्चमा श्रोताहरूको मन जित्न सफल 22 वर्षीया श्रेयाले आफ्नो एकल गीति एल्बम निकालिसकेकी छन् भने चारवटा जति पुरस्कार पनि प्राप्त गरिसकेकी छन्।
(चक्रब्यूह, वर्ष 11, अङ्क 16, 31 मई-5 जून 2010-मा प्रकाशित)

Monday, January 23, 2017

कुराकानी गायक गणेश राणासित

संगीत नै मेरो संसार हो : गायक गणेष राणा

भारतीय नेपाली गीत-संगीतको जब पनि सन्दर्भ उठ्छ तब पश्‍चिम बंगालको दार्जीलिङको नाम लिइएन भने अधुरो-अपुरो रहनसक्छ। नेपाली गीत-संगीतलाई दार्जीलिङ पहाडले धेरै योगदान पुर्‍याएको छ। जसरी भारतीय नेपाली साहित्यमा दार्जीलिङको योगदान छ, संगीत जगतमा पनि उस्तै योगदान पाउन सकिन्छ। गायिका एवं संगीतकारहरू शान्ति ठटाल, अम्बर गुरुङ, सुरेश कुमार,अजनीश राई, उदय सोताङ, गायिका मनिला सोताङ, गायिका कुन्ति मोक्तान, संगीतकार शिलाबहादुर मोक्तान, गीतकार जश योञ्जन प्यासी, लोकगायिका हिरादेवी वाइबा, गीतकार कालुसिंह रनपहेंली जस्ता लब्धप्रतिष्ठित नामहरू धेरै छन्। वर्तमानमा जार्दीलिङ जिल्लाअन्तर्गत मिरिक सौरेनीबाट गीत-संगीतमा डुब्न चाहँदै मौलाउँदै गरेको यस्तै एउटा नाम हो गणेश राणा। मिरिक सौरेनीमा पिता रंगलाल राणा अनि माता नर्माया राणाको कोखमा जन्म लिएका हुन् गणेश राणाले। दुई दाजु र 6 जना दिदीहरूपछि कान्छो गणेश राणाका दुई दिदीहरू भने बितिसकेका छन्। गायक राणा हाल देशको राजधानी नयाँ दिल्लीमा रक्षा मन्त्रालयमा कार्यरत छन्।
गणेश राणासित मेरो धेरैअघि फेसबुकमार्फत भेट भएको थियो। म साहित्यमा रुची राख्ने, उनी गीत-संगीतमा गुनगुनाइरहने। साहित्य र संगीत दुई भिन्नाभिन्नै विषय-क्षेत्र भए पनि कहिँ-कतै अन्तरसम्बन्ध हुनुपर्छ। त्यसैले त उहाँको फ्रेन रिक्वेस्टलाई मैले स्वीकार गरेपछि उनले मलाई भनेका थिए, ‘तपाईं साहित्यमा रुची राक्नुहुँदो रहेछ, म संगीतमा। कतै न कतै हाम्रो विचार मिल्नसक्छ भन्ने सम्झेर रिक्वेस्ट पठाएको थिएँ। एक्सेप करिदिनुभयो, धन्यवाद। हामी उमेरले साना-ठूला हौंला, तर तपाईंलाई ‘साथी’ सम्बोधन नै गर्छु म।’ त्यसपछिदेखि हामीमाझ सधैँ हामीले बुझेको, हामीले जानेको साहित्य र संगीत कै कुराहरू हुने गरेको छ। कहिले उनी आफ्नै शब्दमा संगीत भरेर गुनगुनाएर सुनाउँछन्, कहिले मलाई गीत लेख्ने प्रेरणा दिन्छन् अनि त्यसलाई संगीतवद्ध गरेर सुनाउठन्। फेरि ‘कस्तो भयो?’ भनेर सुझाउ माग्छन्। 
मानिसहरू अल्सी लागेको समय, काम नभएको समयमा कतै घुमेर, साथीहरूसँग रमाइलो गर्नेगर्छन्। तर उनी एकलै कोठामा गिटारका स्ट्रिङहरूसितै मस्त बन्न रुचाउँछन्। भन्नेगर्छन्, ‘साथी, मलाई घुम्नु, मुभी हेर्नुभन्दा गीतहरू गुनगुनाउनु मै रमाइलो लाग्छ। मेरो निम्ति संगीत नै मेरो संसार हो।’
सौरेनी मेची प्राइमेरी स्कूलबाट आफ्नो शैक्षिक यात्रा शुरू गर्ने उनले विद्यार्थी कालमै 1980-81 तिर संगीत जगतमा प्रवेश गरेका हुन्। ‘तपाईंलाई सुरेशकुमारबाट धेरै प्रभावित लाग्छ, गीत-संगीतमा प्रेरणा को-कोबाट पाउनुभएको हो?’ भन्ने प्रश्‍नमा उनी भन्छन्, ‘तपाईंले राम्रो अनुमान लगाउनु भयो। नेपाली संगीत जगतका चर्चित गायत सुरेशकुमार मेरा गुरुवर हुनुहुन्छ। मैले उहाँबाट नै प्रेरणा पाएको हुँ। उहाँका गीतहरूबाट धेरै प्रभावित छु। म उहाँलाई गुरुवर भनेर नै सम्बोधन गर्नेगर्छु।’
उनको पुर्ख्यौली थलो मिरिक, दार्जीलिङ। व्यवसायिकरूपले दिल्लीमा रहेका उनलाई ‘दिल्ली कसरी पुग्नुभयो?’ भन्ने मेरो प्रश्‍नमा भन्छन्, ‘म दिल्ली कसरी आएँ, यो एउटा पीडादायक कहानी छ। 1986-मा पहाडमा गोर्खाल्याण्ड डरलाग्दो आन्दोलन चल्दैथियो। त्यसबेला मेरी आमा खुब डराउनु भएको थियो। किनभने त्यो समय सीआरपीको धेरै अत्यचार थियो गाउँमा। त्यसैले आमाले मलाई दिल्लीमा माइला दाजुकोमा पठाउनु भएको थियो। त्यसपछि दिल्लीमै डिफेन्स मिनिस्ट्री (रक्षा मन्त्रालय)-मा प्रवेश गरे। झण्डै 22 वर्षदेखि अहिलेसम्म यसैमा कार्यरत छु।’
नोकरीबाट निकालेको फुर्सदको क्षणलाई गायकीमा खर्चिने उनले विद्यार्थीकालदेखि नै संगीतमा लागि परेका भए पनि गीत रेकर्ड गराउन भने निक्कै लामो समय लगाएको पाइन्छ। कुनै एल्बम निकाल्नुभन्दा धेरै स्टेज प्रोग्रामहरूमै आफूलाई व्यस्त राखे उनले। लोकप्रिय गायक एवं उनको श्रद्धा, गुरुवर सुरेशकुमारको शब्द-संगीतमा पहिलो गीत रेकर्ड गराएका थिए, जसको म्युजिक एरेञ्जर हुन् विनय सेवा। ‘गीति एल्बम निकाल्नुभएको छैन। सोच्दै नसोच्नु भएको कि अरु नै केही?’ भन्ने मेरो जिज्ञासा उनी यसो भन्छन्, ‘एल्बम निकालेको छुइन, कारण म बेसीजस्तो स्टेज प्रोग्रामहरूमै ब्यस्त रहन्छु। भनौं नै भने एल्बम निकाल्न मोटै रकम लाग्नेहुन्छ। त्यही भएर पनि अहिलेसम्म निकालिएन। त्यसैले पनि स्टेज कार्यक्रमहरूमै सीमित बनियो। अहिले जमर्को गरिरहेको छु।’
कुराकानीको क्रममा ‘मलाई स्टेज कार्यक्रमहरू गर्नु धेरै मनपर्छ’ उनी भन्छन्, ‘कारण म स्टेजमा दर्शकहरूलाई मनोरञ्जन गराउने मनोसायले नै आफ्नो गीतको चयन गर्नेगर्छु।’ स्टेज पर्फमेन्सको कुरा गर्दा उनलाई प्रफुल्लित पाउन सकिन्छ भन्ने उनको कुराले पनि बुझाउँछ। उनी भन्छन्, ‘स्टेज प्रोग्राम गर्दा मलाई भित्रैबाट आनन्द आउँँछ।’ स्टेज प्रोग्रामहरूको सम्झना गर्दा उनी 1987 सम्म पुग्छन् र भन्छन्, ‘1987-मा आसाममा कार्यक्रम गरेका थियौं। त्यो कार्यक्रम आसामका बाड् पीडितहरूका निम्ति आसामकै कलाकारहरूसित मिलेर कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रममा आफ्ना गीतहरू प्रस्तुत गर्ने अवसर प्राप्त भएको थियो। त्यो कार्यक्रम मेरो निम्ति सँधै स्मरणीय छ, किनभने त्यहाँ मैले गजल सम्राट गुलाम अलीले गाउनुभएको ‘गाजलु ती ठूला ठूला आँखा, तीर बनी बसे यो दिलैमा...’ प्रस्तुत गरेको थिएँ।’
यसरी नै उनी गएको वर्ष मात्रै दिल्लीमा सम्पन्न कार्यक्रमलाई पनि सम्झना गर्छन्। उनी भन्छन्, ‘दिल्लीमा सम्पन्न सो कार्यक्रम योग गुरु रामदेवजीले आयोजन गर्नुभएको थियो। सिक्किमका दुई गायिका रेमन्ती राई र निकिता सिञ्चुरीसँगै सांगीतिक प्रस्तुति दिएको सो कार्यक्रम मेरो निम्ति यादगार बनेको छ’ उनी भन्छन्, ‘मैले नाम बिर्सिएँ तर कार्यक्रममा सिक्किमका मुख्यमन्त्री पवन चामलिङका छोरा मुख्य अतिथि हुनुहुन्थ्यो।’
गीत-संगीतमा रहेको उनको रुचीलाई उनलाई पारिवारिक पक्षबाट भने विशेष उनकी काइली दिदीले धेरै सहयोग गरेकी उनी बताउँछन्। ‘एल्बमको जमर्कोको कुरा गर्नुहुँदैथियो, संगीत क्षेत्रमा आगामी योजना के छ त?’ भन्ने मेरो प्रश्‍नको जवाबमा उनी भन्छन्, ‘अहिले एउटा भिडियो एल्बमको तयारीमा छु। मेरा श्रोता तथा दर्शकहरूले चाँडै नै ‘निर्मोही’ भिडियो एल्बम पाउनुहुनेछ। आगामी योजना भने पनि जो भने पनि अहिले त्यसैको तयारीमा छु। आगामी योजनाभन्दा पनि अहिले यही काममा लागिपरेको छु।’
आफ्नो सिर्जना, आफ्नो रचना सबैलाई उत्तिकै प्यारो लाग्नेहुन्छ। तरैपनि कुनै एउटालाई सम्झनुपरे उनी भन्छन्, ‘मलाई मन पर्ने गीतहरूमध्ये एउटा हो गएको वर्ष मात्रै रेकर्डिङ भएको तिम्रो माया नपाउने ठाउँमा म अब बस्दिन, जान्छु कतै अन्तैतिर यो गाउँमा म अब बस्दिन...। उनको मनको तहबाटै छुने यो गीतका शब्दकार हुन उनकै आदरणीय गुरुवर सुरेशकुमार। गायक सुरेशकुमारबाहेक थुप्देन भोटिया, महेश सेवा, सोनु राई, डोमा शेर्पा, कर्ण दास उनका मनपर्दा गायकहरू हुन्। यद्यपि, ‘अहिलेका गीतहरू पहिलेका झैं हुँदैनन् जो बजारमा आउँछ, हिट हुन्छ र फेरि हराइहाल्छ’ भन्ने कुरामा उनी कुनै प्रकारको टिप्पणी गर्न नचाहे पनि ‘सबैको आफ्नो-आफ्नै विचार, आफ्नो-आफ्नै कला हुन्छ’ भन्छन्।
आफ्ना श्रोताहरूका लागि उनी भन्छन्, ‘म यति भन्न चाहन्छु कि हामी गीताङ्गेहरूलाई तपाईंहरूको माया, उत्साहको धेरै खाँचो हुन्छ। सानो होस या ठूलो, स्पूर्ण गोर्खे कलाकारहरूलाई हिम्मत अनि सहायता  दिने काम गरिदिनुहोला। आजसम्म मैले कतिपय कारण आफ्नो एउटा नीजि एल्बम निकाल्न अथवा आफ्नो कलालाई पूर्ण रूप दिन पाएको छुइन। तर म चाहन्छु हाम्रा आउने साना-साना भाइ-बहिनीहरूले तपाईंहरूको माया, सहाता, साथ, उत्साह, प्रेरणा सबै पाउन्।-अर्जुन यावा
-(21 जनवरी 2017-को समय दैनिकमा प्रकाशित)