समाजको विकासमा समाचार-पत्रको ठूलो भूमिका रहन्छ। समाजमा के राम्रो र के नराम्रो कार्य भइरहेका छन् भन्ने कुराको त्यही समाजसित सिधा सम्पर्कमा रहेर सम्प्रेषण गर्ने माध्यम अहिले अनेक छन्, जस्तै समाचार-पत्र, रेडियो, टेलिभिजन, इण्टरनेट वा सामाजिक सञ्जालका अनेक माध्यमहरू। एकअर्थमा समाचार सम्प्रेषणलाई समाजको ऐनासरह हेर्न सकिन्छ। माथि उल्लेखित समाचार सम्प्रेषणका अनेक माध्यम भए तापनि समाचार-पत्र वा मुद्रण पत्रकारिताको छुट्टै महत्त्व छ। त्यसैले लगभग अढाईसय वर्ष इतिहाससितै अघि बढिरहेको भारतीय समाचार-पत्रको अस्तित्व संकटमा परेको छैन।
समाचार-पत्रको ऐतिहासिक पक्षलाई हेरिनु हो भने विश्वमा पत्रकारिताका आरम्भ ईस्वीपूर्व 131-मा रोमबाट भएको पाइन्छ, जहाँबाट पहिलो दैनिक समाचार-पत्र निस्किन थालेको थियो। यता भारतमा भने विश्वमा पहिलो दैनिक पत्रिका शुरू भएको 1645 वर्षको प्रतीक्षा गर्नुपर्ने हुन्छ। अथवा भारतमा पहिलो समाचार-पत्र 1774-मा आएर मात्रै प्रकाशित भएको थियो। यद्यपि, त्यसको 100 वर्षअघि 1674-मा छापाको पहिलो मशिन आइपुगेको हो।
माथि भनिएझैं समाचार वा समाचार-पत्रलाई समाजको ऐनाको रूपमा हेरिनु हो भने त्यहाँ स्वायत्ततासितै विचार सम्प्रेषणमा स्वतन्त्रताको पनि आवश्यकता पर्दछ। यद्यपि, भारतमा यतिबेलासम्म यस्तो परिवेश आएकै थिएन, किनभने 1774-मा पहिलोपल्ट प्रकाशित समाचार-पत्र ईस्ट इण्डिया कम्पनीका भूतपूर्व अधिकारी विलेम बाल्टसले प्रकाशन गर्दथे। त्यसबेला अंग्रेजी भाषामा निस्किने समाचार-पत्रपछि 29 जनवरी 1780-देखि कोलकाताबाट ‘बंगाल गजेट’ निस्कन थाल्यो, जसलाई ‘हिकीज गजट’ पनि भन्ने गरिएको थियो। 237 वर्षअघि 1780-देखि निस्किएको जेम्स ओगस्टस हिकीको यही समाचार-पत्रलाई स्वतन्त्ररूपले विचार व्यक्त गरिएको पहिलो पत्रिका स्वीकार गरिएको छ।
हिकीलाई भारतका प्रथम पत्रकार मानिन्छ, जसले प्रेस स्वतन्त्रताको लागि ब्रिटिश सरकारसित लडेका थिए। हिकीले कुनै डर-त्रासबिना समाचार-पत्रको माध्यमद्वारा भ्रष्टाचार र ब्रिटिश शासनको आलोचना गर्दथे, जसका कारण हिकीलाई देश छोड्ने फरमानसम्म जारी गरिएको थियो। 23 मार्च 1782-देखि भने उक्त समाचार-पत्रको प्रकाशन बन्द भएको थियो। यसरी भारतमा मुद्रित पत्रकारितासितै स्वतन्त्र समाचार सम्प्रेषण शुरू गर्ने श्रेय पनि हिकीलाई नै जाँदछ भने वर्तमानमा भारतीय पत्रकारितालाई पूर्ण स्वतन्त्र पाउनसकिने कुरा सर्वविदित छ, चाहे मुद्रण पत्रकारिता होस्, चाहे टीभी समाचार या फेरि सामाजिक सञ्जालकै कुरा किन नहोस्।
सिक्किमको सन्दर्भमा हेरिनु हो भने मुद्रण समाचारको स्वतन्त्ररूप पुरानो भएको छैन। भर्खरै चार दशक पूरा गर्दै गरेको सिक्किमले अहिले सुख, शान्ति, सुरक्षित परिवेशमा प्रवेश गरिसकेको छ। यसको निम्ति वर्तमान एसडीएफ सरकारलाई श्रेय जाँदछ। किनकि, एसडीएफ सरकार आउनअघि राज्यमा त्यस्तो परिवेश नै थिएन जहाँ कुनै पनि पत्र-पत्रिकाले स्वतन्त्ररूपमा लेख्नसक्ने अवस्था होस्। अघि भनियो कि समाजको विकासमा समाचार-पत्रहरूको ठूलो भूमिका रहन्छ। यद्यपि, त्यही समाजले पत्रकारिताको निम्ति स्वतन्त्र परिवेशको स्थापना गर्नुपर्ने हुन्छ। जबसम्म समाचार तथा सञ्चार माध्यमलाई स्वतन्त्र राखिन्न तबसम्म समाजको विकासमा पनि आँच आउने हुन्छ। यस कुरालाई राम्ररी मनन गरिसकेका मुख्यमन्त्री पवन चामलिङले अढाई दशकभन्दा अघि नै राज्यमा एउटा क्रान्ति शुरू गरेका थिए। फलस्वरूप, सिक्किममा वर्तमान परिवेशको स्थापना भएको हो, जसको चर्चा-परिचर्चा देश र विदेशसम्म भइरहेको छ।
उसो त देशका अन्य राज्यहरूसित सिक्किमलाई तुलना गर्न सकिन्न। यद्यपि, एसडीएफ सरकार आउनअघि केही साप्ताहिक समाचार-पत्रहरू मात्रै प्रकाशित हुने राज्यमा अहिले हिन्दी, नेपाली, अंग्रेजी आदि 80 अधिक साप्ताहिकसितै लगभग बाह्रवटा दैनिक समाचार-पत्रहरू प्रकाशनमा आइरहेका छन्। राज्यमा रोजगारको राम्रो माध्यम बन्ने दिशातिर अग्रसर सिक्किमको मुद्रण पत्रकारिताले जुन परिवेशसितै उडान भरिरहेको अवस्था छ, त्यसले राज्यको विकासमा पनि टेवा पुर्याइरहेको कुरामा दुईमत नहोला। यसको श्रेय एसडीएफ सरकारलाई जाँदछ। सिक्किमेली पत्रकारिताको क्षेत्रलाई अझै फराकिलो बनाउन हामीले अझ धेरै कसरत गर्नुपर्ने देखिएको छ।-27.01.2017
No comments:
Post a Comment