परिवर्तनशील प्रकृतिमा न्यानो-जाडो र घाम-पानीजस्ता परिवर्तनहरू दिन र रातजस्तै निरन्तर भइरहन्छन्। कुनै पनि परिवर्तनले नराम्रो प्रभाव तथा खराब परिणाम नल्याओस्, राम्रो गरोस भनी सनातन धर्मले यो शरीरलाई हृष्टपुष्ट र क्रियाशील राख्ने अनेक प्रकारका खाद्यान्नहरू खानै पर्ने हाम्रो संस्कार नै बनाएको छ। यस्ता चार्डपर्व र संस्कृतिले हामी निक्कै धनी छौं। त्यसैले त भौतिक जगतका धनीहरू, आविष्कारक, वैज्ञानिकहरू हाम्रो देश-समाजमा आई कठिन बाटोमा समेत सकी-नसकी हिँडेर विश्वकै आदिम मानव सभ्यताका अवशेषका रूपमा यहाँ बाँची रहेका हाम्रा मौलिक संस्कारहरू हेर्ने गर्छन् र सधैँ सिक्न अत्यन्त लालायित हुन्छन्। वर्षा ऋतुमा क्वाँति खानु, शरद ऋतुको दशैंमा मासुका अनेकन् परिकार खानु, तिहारमा रोटी, फलफूल खानु र शिशिर ऋतुमा घ्यू-चाकु-तरुल खानु सनातन हिन्दू संस्कारको अति उच्च प्रविधि हो, वैज्ञानिक विशेषता हो। शिशिर ऋतुमा प्रवेश गरिने घ्यू-चाकु पर्वलाई माघ 01 गते वा मकर/माघे संक्रान्ति भनिन्छ। यो दिन आगो ताप्ने दिन पनि हो। माघे संक्रान्तिको दिन नयाँ मकलमा आगो सल्काएर दान गर्ने परम्परा छ।
चान्द्र मासको माघशुक्ल प्रतिपदाको राति नै नित्यपूजा ग्रहण गरी भोलिपल्ट बिहानै घाम ताप्नु वा शिव भगवानको स्मरण गरी पूजा गर्ने परम्परा छ। साथै माघे संक्रान्तिले र बैशाख 01 गतेले हाम्रो समाजमा मान्यता प्राप्त संवदको सम्बन्ध पनि स्पष्ट गरिरहेको छ।
हाम्रो समाजमा माघ-मकर संक्रान्तिमा प्रायःजसो घर-वन तरूल खाने, नजिकैको नदीमा गई त्यसलाई गङ्गा स्मरण गरी मकर स्नान गर्ने र दिनभरि रमाईलो गर्ने परम्परा चली आएको छ। नेपाली समाजकै कतिपय उप-समाजमा यस दिनदेखी नयाँ खेतीको अन्न खान शुरू गर्ने परम्परा पनि व्याप्त छ। यस दिन मेला घुम्न जाने परम्परा पनि हाम्रो समाजमा प्रचलित छ। वर्षका 12 संक्रान्ति मध्ये माघे र वैशाखे संक्रान्तिको ठूलो महत्व रहिआएको हुनाले यसरी संक्रान्ति पर्वहरू मान्नुको अर्थ पनि यही संस्कृति जोगाउनु हो।
यद्यपि, हिजो-आज संक्रान्तिको नाममा मेला आयोजन गरी कतिपय अचाहिँदो क्रियाकलाप गरिने, मद-मदिरा सेवन गर्ने, जुवा-तास खेल्ने जस्ता कार्यले कयौं विकृतिलाई जन्म दिने काम गरिरहेको छ। विशेषतः युवा पुस्ताले माघे संक्रान्तिको आडमा अप्नाउने विकृतिले आजका दिनमा माघे मेलाको स्वरूप नै बदलीदिएको छ। यो परम्परागत चाढको नाममा गरिने मदपान र जुवातास खेलिनुने निरन्तर यो पवित्र पर्वमा विकृतिले प्रवेश गरिरहेको महसुस गर्न सकिन्छ।
माघे संक्रान्तिको अवसरमा हाम्रै राज्य सिक्किममा पनि थुप्रै स्थानमा मेला आयोजन गरिन्छन्। सिक्किमको सन्दर्भमा कुरा गर्नु हो भने माघे मेलालाई माघे संक्रान्तिको पर्यायका रूपमा पनि लिने गरिन्छ। आफ्नो संस्कृति-परम्परादेखि निरन्तर टाडिँदै गएको आजको युवा पुस्तालाई आफ्नै परम्परासँग चिन्हित गराउनका निम्ति माघे मेलाको भव्य आयोजन् आवश्यक पनि छन्। तर मेलाको नाममा संस्कृतिलाई धमिल्याउने कार्य भने गरिनु हुन्न।
यस्ता कयौं रिति-रिवाज छन्, जसले हाम्रो समाजलाई विश्वमै धनि बनाइदिएको छ। तर तक्निकी र आधुनिकताको शिखर चडिरहेको आजको परिवर्तनशील समाजबाट यस्ता रिति-रिवाज निरन्तर लोपोन्मुख हुँदै गइरहेका छन्। अतः आजैदेखि यसको संरक्षणमा लाग्नु, अध्ययनमा लाग्नु, यसको सम्बर्धनतिर प्रयासरत रहनु आजको आवश्यकता हो। अझ युवा पुस्ताको ठूलो जिम्मेवारी हुन्छ।
No comments:
Post a Comment