सहायक केन्द्र निर्देशक कालूसिंह रनपहेंलीसितको कुराकानी
एएसडी कालूसिंह रनपहेंलीः वर्ष 1984-देखि आकाशवाणीसित संलग्न रहेर सेवारत आकाशवाणी गान्तोकका कार्यक्रम निष्पाद कालूसिं रनपहेंलीले भारतीय र्कायक्रम प्रसारण सेवा (इण्डियन ब्रोडकास्टिङ प्रोग्राम सर्विस) अन्तरगत आकाशवाणी गान्तोकको सहायक केन्द्र निर्देशक (एएसडी) को पदभार ग्रहण गरेका छान्। आफ्नो पदोन्नतिपछि एएसडी रनपहेंली भन्छन् -‘‘मान्छेले लगनशील, कर्मशील र समर्पित भएर आफ्नो कर्ममा निरन्तर लागि पर्नसके त्यसको फाल पाइँदो रहेछ। कामको मूल्याङ्कन हुँदो रहेछ।’’
वर्ष 1976 देखि आठ वर्षसम्म कुलैनबारी, सिमकोना कमानमा कार्यरत रनपहेंली 1984-मा आकाशवाणी गान्तोकमा नेपाली उद्घोषकका रूपमा नियुक्त भएका थिए। चार वर्षपछि 1988-मा उनले केन्द्रिय लोक सेवा आयोग (यूपीएससी) परीक्षा उत्तीर्ण गरेपश्चात कार्यक्रम निस्पादक (पीईएक्स)-को पदभार सम्हाल्दै आइरहेका थिए। आकाशवाणी गान्तोकमा कार्यरत रहँदारहँदै उनी वर्ष 1999-मा आकाशवाणी करसाङमा सरुवा भई वर्ष 2005-सम्म कार्यक्रम निष्पादककै पदभार सम्हालेका थिए भने वर्ष 2005-मा फेरि फर्केर आकाशवाणी गान्तोक नै आइपुगेका रनपहेंली 30 जून, 2013-सम्म कार्यक्रम निस्पादक तथा विगत डेड वर्षदेखि केन्द्र अध्यक्ष प्रभारीका रूपमा कार्यरत थिए। आफ्नो लगनशीलता, कर्म निरन्तरता र कार्यमा समर्पित रहनुपछिको कार्यक्षेत्रको सबैभन्दा महत्वपूर्ण उपलब्धीस्वरूप उनलाई 1 जुलाई 2013-देखि भारतीय र्कायक्रम प्रसारण सेवा अन्तरगत आकाशवाणी गान्तोकको सहायक केन्द्र निर्देशकका रूपमा पदोन्नति प्राप्त भएको छ।
आकाशवाणीका कार्यक्रमहरूमा रनपहेंलीः वर्ष 1984-देखि 1988 सम्मा आकाशवाणीका नेपाली उद्घोषक रहेका रनपहेंलीले 1988 पछि कार्यक्रम निस्पादकको पदभार सम्हाल्दै आएपछि विभिन्न रेडिया कार्यक्रमहरूमार्फत श्रोतासम्म पुग्न थालेका हुन्। श्रोताहरूका पत्रमा आधारित कार्यक्रमको थालनी उनैबाट भयो, जसमा स्वयंलाई श्रोतावर्गले साइँला दाइ भनेर चिन्दथे भने उनलाई पछि सहयोग पुर्याउँदै आउने धेरै भएपनि मुख्यरूपमा पूर्णिमा बहिनी (श्रीमती उषा शर्मा) लाई सबैले जान्दछन्। यो पछिबाट ‘कार्यक्रम पत्र मञ्जरी’ भयो जो हालमा माइली दिदी (श्रीमती कल्पना बराइली) द्वारा सञ्चालित छ। उनैद्वारा सञ्चालित अर्को महत्वपूर्ण कार्यक्रम हो ‘कल्पकुञ्ज’। सिक्किमेली साहित्य जगतलाई विकसित गराउनमा ठूलो टेवा पुर्याउन योगदान दिइरहेको कार्यक्रम कल्पकुञ्जको श्रीगणेषमा पनि उनैको योगदान रहेको छ, जो साप्ताहिकरूपमा प्रशारित हुँदै आइरहेको थियो भने हाल पाक्षिकरूपमा प्रशारण हुँदै आइरहेको छ।
यसबाहेक पनि डेड वर्षदेखि केन्द्र अध्यक्ष प्रभारी रहेका उनले आकाशवाणी गान्तोकद्वारा प्रायोजित संगीत सम्मेलन (म्युजिक कर्नसर्ट)-हरूको आयोजन गरेका छन् भने आकाशवाणी गान्तोकमा पहिलो संगीत परीक्षण (म्युजिक अडिशन) कालूसिंह रनपेंलीले नै गराएका थिए। यसबाहेक आकाशवाणी गान्तोकद्वारा प्रशारित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका साथै प्रस्तोताका रूपमा पनि कार्यरत छन् उनी। आकाशवाणी गान्तोकबाहेक आकाशवाणी खरसाङमा पनि उनले श्रोताहरूको मत्रमा आधारित कार्यक्रम ‘डाक पुतली’ प्रशारण शुरू गरेका थिए।
शैक्षिक यात्रामा रनपहेंलीः पश्चिम बङ्गालको दार्जीलिङ जिल्ला, खरसाङ महकुमाअन्तरगत लाटपञ्चर कुलैनबारीमा 2 मई 1954-मा स्व. माता लीलावती रनपहेंली र स्व. पिता बीरमानसिंह रनपहेंलीको कोखमा कालूसिंह रनपहेंलीको जन्म भएको हो। उनले आफ्नै गाउँबाट बुनियादी, प्राथमिक र माध्यमिक तहसम्म शिक्षार्जन गरेका थिएभने त्यसपछि स्नातक तहसम्म सन्त जोशेफ कलेजबाट अ नि उत्तर बङ्गाल विश्वविद्यालयबाट स्नातकोत्तरको डिग्री प्राप्तद गरेका हुन्।
साहित्यमा कालूसिंह रनपेंहीः एएसडी कालूसिंह रनपहेंलीले आफ्नो सेवाकाल शुरु गर्नअघि नै लेखन कार्य शुरु गरेका हुन्। फलस्वरूप आकाशवाणी गान्तोकमा आफ्नो सेवा दिनसँगसँगै साहित्यमा पनि उनी उत्तिकै लगनशील रहेको प्रमाण अहिलेसम्म प्रकाशित उनका आठवटा कृतिले दिँदछ। यी कृतिहरू हुन् मूल्यन अवमूल्यन (खण्डकाव्य)-1994, युग्मक (युग्मक सङ्ग्रह)-1998, बाँच्नुको क्रम (कविता सङ्ग्रह)-2004, कथा कुटीर (कथा कुटीर सङ्ग्रह)- 2004, यथार्थबोध (कथा सङ्ग्रह)- 2005, फेरि अर्को मेघदूत (लघु काव्य)- 2007, समयको गलबन्दी (कविता सङ्ग्रह)- 2011 अनि प्रश्न चिन्ह (कथा सङ्ग्रह)-2011।
यीमध्ये उनको ‘अविस्मृत यात्रा’ कथासहित अन्य रचनाहरू अन्य भाषामा अनुदित छन् भने उनले नाटकमा पनि उत्तिकै कलम चलाएका छन्। उनका एकदर्जन भन्दा अधिक नाटक उनकै प्रस्तुतिमा आकाशवाणी गान्तोक रेडियोद्वारा प्रशारण भइसकेका छन्। नाटक कै सन्दर्भमा कुरा गर्दा उनले 1976-77 मा कुलैनबारीमा कार्यरत रहँदादेखि नै आफैं नाटक लेख्ने र मञ्चन एवं स्वयं अभिनय गर्न थालेका हुन्। यसबाहेक मनबहादुर मुखियाद्वारा लिखित लोकप्रीय नाटक ‘अनि देउराली रुन्छ’, ‘फेरि इचिहास दोहोरिन्छ’, नन्द हाङ्खिमको ‘युद्धहरू’, जस योञ्जन ‘प्यासी’-को ‘मूर्ति फुटेको मन्दिर’ आदि नाटकहरूमा सफल अभिनय दिएर नाट्य जगतमा लोकप्रियता कमाउन सफल नाटककारका रूपमा पनि उनलाई चिन्न सकिन्छ।
साहित्यका विभिन्न विधाहरूममा सफल कलम चलाइरहेका रनपहंलीले ‘कथुटीर’ छोटी-मीठा र ज्ञानवर्दक कथा लेखन शुरू गरेर कथा लेखनको एउटा नयाँ परिपाटी नै तयार गरिदिएका छन् भने कवितामा पनि समयानुकुल छोटा कविता लेख्ने नयाँ आयाम बसाल्ने क्रममा उनले दुइ हरफे कविता भनेर ‘युग्मक’-को थालनी गर्ने श्रेय उनैलाई जान्छ। युग्मक लेखन अहिले नेपाली साहित्य जगतमा लोकप्रीय बन्दै गइरहेको छ। अतः साहित्यकार रनपहेंलीलाई कथा कुटीर युग्मकका प्रणेता भनेर पनि भारतीय नेपाली साहित्य जगतमा चिन्न सकिन्छ। साहित्यिक पत्रिकाहरूको सम्पादनमा पनि उनको योगदान रहेको पाइन्छ। उनले लिस्नु, स्मारक, नर्थपोइण्ट, स्पर्श आदि पत्रिकाको सम्पादन गरिसकेका छन्।
साङ्गीतिक यात्रामा रनपहेंलीः साहित्य जगतमा आठवटासम्म कृति दिइसकेका कालूसिंह रनपहेंलीको साङ्गीतियक यात्रा सङ्गीत जगतमा पनि उत्तिकै मैलाएको पाइन्छ। उसो त कुरै गर्दा उनको गीत-सङ्गीतको क्षेत्रलाई साहित्यसित तुलना गर्न नमिल्ला, तर योगदान कम छैन। आकाशवाणी गान्तोकमा पहिलो संगीत परीक्षण गराउने कालूसिंह रनपेंलीले धेरै गीतहरू लेखेर ख्याति कमाएका छन्। उनी आकाशवाणीद्वारा मान्यता प्राप्त गीतकार हुन् भने उनका गीतहरूमा रामकृष्ण ढकाल, कुन्ति मोक्तान, देउकुमार दुमी, सुकमित अधिकारी, शान्ति ठटाल, महेश सेवा, प्रसाद रनपहेंली, रीना रनपहेंली, सुनिता गजमेर, बिमला प्रधान, सुनिल मोहरा, राकेश परियार, पेमाल्हमु सेंगा, प्रेमचन्द्र गुरुङ आदिले स्वर दिएका छन्। यीमध्ये शान्ति ठटालको स्वरमा रहेको ‘आधि हुरी...’ अनि देउकुमार दुमी र सुकमित अधिकारीको स्वरमा रहेको ‘घाम देखे घाम राम्रो, जुन देखे जुन...’ प्रचलित रहेका छन्।
पुरस्कारहरूमा रनपहेंलीः वर्ष 1973-मा बुद्धसिंह पुस्तकालय, दार्जीलिङद्वारा आयोजित विराट नेपाली साहित्यिक प्रतियोगितामा ‘कहिल्यै वसन्तमा सिद्धिएको वगैंचा’ कथामा दोस्रो पुरस्कार प्राप्त गरेपछि साहित्यमा उनको कलमले अझि तिखारिने प्रेरणा पाएको थियो। साहित्य क्षेत्रमा उनलाई 1985-मै पहिलो ‘स्रष्टा पुरस्कार’ कथा विधामा प्राप्त भएको थियो भने आकाशवाणीद्वारा ‘टिस्टा रङ्गीत’ सङ्गीतमय रूपकको लागि वर्ष 1990-मा प्रशस्ती-पत्र प्राप्त भएको थियो। यसरी नै आकाशवाणी वार्षिक पुरस्कार प्रतियोगिता अन्तरगत उनैद्वारा लिखित-निर्देशित रेडियो रूपक ‘पर्यावरण परिवार’ 1994 पुरस्कृत भएको थियो।
यसरी नै वर्ष 2003-मा उनलाई सिलगढीद्वारा ‘उत्तर बंगाल नाट्य पुरस्कार’ प्राप्त भयो भने वर्ष 2005-मा आफैद्वारा लिखित, निर्देशित तथा आफ्नै प्रस्तुतिमा रहेको रेडियो रूपक ‘फेरि अर्को मेघदूत’-लाई राष्ट्रिय स्तरमै द्वितीय पुरस्कार आकाशवाणीद्वारा प्राप्त भयो।
यस बाहेक पनि उनलाई विभिन्न सङ्घ-संस्थाहरूद्वारा अभिनन्दन-पत्र, प्रशस्ती पत्र तथा सम्मान-पत्रहरू प्राप्त भएका छन्। अतः बहूप्रतिभाका धनी कालूसिंह रनपहेंलीसितको कुराकानी युवा भाइबहिनीहरूका लागि अवश्यै प्रेरणादायक रहने आशाका साथमा उनको अझ प्रगतिको कामना राख्दै भर्खरै प्राप्त पदोन्नतिका लागि बधाई दिन चाहन्छु।-(गान्तोक, 6 जुलाई)
No comments:
Post a Comment