Friday, July 26, 2013

सन्दर्भः युवा जागरण अभियान

जुलाई महिनामा सत्तारूढ एसडीएफ पार्टीद्वारा राज्यव्यापि रूपमा सञ्चालन भइरहेको युवा जागरण कार्यक्रम खुबै महत्वपूर्ण प्रमाणित भइरहेको छ। राज्यका युवावर्गलाई समाज विकासमा निर्वाह गर्न सकिने कुराहरूमाथि सचेत र जागरूक गराउने मुख्य उद्देश्य राखेर शुरू गरिएको कार्यक्रमले युवाहरूलाई जागरूक मात्र नगराएर गाउँ-घरका समस्या-कष्ट र जनगुनासोहरूलाई पनि प्रकाशमा ल्याउने काम गरिरहेको छ। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङको निर्देशमा युवाहरूलाई जागरूक गराउन राज्यभरि थालिएको यस अभियानले राज्यमा प्रजातन्त्र कतिसम्म छ? भन्ने कुराको पनि प्रमाण दिएको छ। राज्यभरि चलिरहेको यस कार्यक्रममा विशेष त युवा जमातलाई नै केन्द्रित गरिएको छ अनि उनीहरूलाई आफ्नो गाउँ-समाजका कुराहरू खुल्ला रूपमा राख्ने स्वतन्त्रता दिइएको छ। यहाँ कसैले पनि कुनै पनि प्रकारका कुराहरू राख्न पाउनु युवा जागरण अभियानको विशेषता रहेको छ। फलतः युवावर्गले पनि निशंकोच आफ्ना कुराहरू राखिरहेका छन्।
राज्यमा आम नागरिकको अधिकार कतिसम्म प्राप्त भइरहेको छ, के-कति कुराहरू भाषणमै मात्र सीमित रहेका छन्, विकासका योजनाहरू कागजमै मात्र कतिसम्म रहेका छन् अथवा मौखिक रूपमा मात्र कतिसम्म प्राप्त छन् आदि कुराहरू यहाँ युवावर्गले खुलस्त गरी राख्न सकिरहेका छन्। यहाँ को साना र को ठूला हुन् भन्ने कुरा भन्दा सत्य र न्याय के-कतिसम्म भइरहेका छन् भन्ने कुराहरू मानिसहरूले निर्धक्क पोखिरहेका छन्।
‘मैले बोल्दा यहाँ विधायक रिसाउनेछन्, पञ्चायत रिसाउने छन्’ जस्ता कुराहरूलाई पर सारेर अहिले कसले? कसलाई? कहिले? कस्ता? आश्‍वासनका वचनहरू राखेर आश्‍वासन मै मात्र सीमित राखेका छन् अनि आम नागरिकले पाउनु पर्ने अधिकार वा सहुलियत र विकासका कुराहरूबाट को र कहाँबा कसरी वञ्चित छन् भन्ने सिधा प्रश्‍नहरू पनि राखिरहेका छन्। गाउँ-घरमा रहेका कमी-कमजोरीका कुराहरू मात्र होइन भइरहेका विकासका कुराहरू त छँदैछन्। तर यसरी राम्रा कुराहरूका साथै युवाजमात तथा आम जनताले आफ्ना कुराहरू खुलस्त राख्न सक्नु वर्तमान सरकारले दिएको स्वतन्त्रता मान्न सकिन्छ, यहाँको प्रजातान्त्रिक प्रणालीको परिणाम मान्न सकिन्छ।
यसबाट अर्को महत्वपूर्ण कुरा के देखिएको छ भने, सँधै आम नागरिक र समाजको निम्ति समर्पित छु भनेर जसले आफैमा ठोकुवा गरिरहेका छन् उनीहरूमध्ये पनि को-कति पानीमाथिको ओभानो हुने काम गरिरहेका छन् भन्ने पनि प्रष्ट भइरहेको छ। अर्को कुरा दुइ किनारामाझको साँघु भएर विस्वासको पात्र बन्न चाहने र आफ्नै सजाउनमा रम्नेहरूको कमी-कमजोरीहरू पनि खोतलिन थालेको देखिन्छ भने आम नागरिकलाई कसरी भ्रममा राखिन्छ भन्ने पोल पनि खोलिन थालेको छ।
यस अभियानबाट राज्यका आम नागरिक पनि धेरै सचेत भइसकेका छन्, मञ्चमा उभिएर बोल्न सक्ने भइसकेका छन्, ज्यू-नमस्कार गर्न जान्दछन् तर अन्यायमा आवाज पनि खुलस्त राख्न सक्ने भएका छन् भन्ने पनि बुझ्न सकिन्छ। आफ्नै अघि आफ्नै पोल कसैले निर्धक्क खोलिदिँदा ‘हो..! होइन...!’ केही नभनी सुनेको नसुने झैं बस्ने बनाइरहेछन् युवाहरूले।
समग्रमा के भन्न सकिन्छ भने, राज्यमा सबैनै धेरै बाठा भइसकेका छन्। सबै बोल्न सक्ने भइसकेका छन्। जागरूक भइरहेका छन् सबै। यसले पनि प्रष्ट पार्छ यहाँको स्वतन्त्रता र यहाँका प्रजातन्त्र। अतः समाजका नेतृत्ववर्गले अबउसो कसरी काम गर्नुपर्ने हो, त्यो पनि खुलस्त भइसकेको छ। अबको समय पानीमाथिको ओबानो हुनसकिने समय छैन भन्ने कुराको अनुमान पनि लगाउन सकिन्छ। तर युवा जागरण अभियान अन्तरगत खोलिएका पोल वा पोखाइएका गुनासोहरूलाई कसैले पनि नकारात्मक रूपमा लिनेछैनन् वा प्रतिशोधका भावना मनमा लिनेछैनन् भन्ने विश्‍वास छ। नभए यसले फेरि समाजमा एउटा ठूलो भ्वाङ् पार्न सक्छ। समाज सुधार्न चाहँदा चाहँदै पनि उल्टै अझ बिग्रन सक्छ। समाज भनेको हामी बाग्रन सक्छौं।
26.07.2013

Sunday, July 21, 2013

सारिका राई '‘याद’   
रमा हिजो राती नै भागिछ

रात निकै छिप्पिसकेको छ, सून्य कोठामा रमा निदाउन सकेकी थिइन। छेउमा पाँच वर्षकी छोरी अघिनै निद्रा देवीको काखमा लुडपुटिसकेकी छ। दिनभरि उफ्रिएकीले सायद थकाई लागेको छ स्मृतिलाई। रमाको घरलाई उज्यालो स्मृतिले नै बनाएकी छ। उही स्मृति नै त बाँच्ने एउटै सहारा हो रमाको।  तर अहिले उसलाई यस्ता केही कुराको पनि ध्यान छैन, स्मृतिको पनि। उ त बस आफ्नो अतीतमा डुबेकी छ।
कति रमाइलो थियो त्यही कोठा, जतिबेला प्रकाश र म सँगै हाँसखेल गथ्यौं, रमाउथ्यौं अनि भविष्यका सुनौला-सुनौला  सपनाहरू सजाउँथ्यौं। हामी दुवैको हातमा सरकारी नोकरी थियो। नपुग्दो थिएन केही। त्यस समय हामीहरूलाई चिन्ता थियो त स्मृतिको भविष्यको, उसको पढाईको। बस जीवनलाई सही गोरेटोमा दोहोर्याउनु मात्रै त थियो। हाम्रो जीवन सुखमय थियो, वर्षदिनपछि स्मृतिले संसारमा पाइला टेक्दा जीवनमा अझ थप खुशी थपिदिएको थियो।’
तर जीवनमा स्थीर भन्ने के रहेछ र? जीवन स्वंय त यहाँ क्षणिक छ भन्ने त्यही जीवनमा आउने परिवर्तनशील दुःख र सुख के नै स्थीर रहदो रहेछ र? रमाको जीवनमा पनि त्यस्तै भयो। रमालाई के थाहा उसको त्यस सुखमय क्षणिक हुन्छ भनेर। के थाहा उसलाई उसको सानो र सुखी संसारमा अचानाक अन्धकार छाउन सक्छ भनेर। सुखको अनुभव गर्दागर्दै सुखमय भविष्यको सपना बुन्दा-बुन्दै यत्रो ठूलो संसारमा प्रकाशले उसलाई एक्लो बनाई गयो स्मृतिको भार सुम्पिएर। त्यसपछि भने रमाले स्मृतिको आमा र बाबा दुवैको भूमिका निर्वाह गरिरहेकी छ।
---
आज भन्दै र भोली भन्दै स्मृति पाँच वर्षकी भइसकी, तर उसलाई आफ्नो पिताको केही ज्ञान छैन। एकदिन स्कूलमा भर्खर आएकी नयाँ गुरुमावे स्मृति तिम्रो बाबाको नाम के हो?’ भनेेर प्रश्‍न गर्दा थाहा छैन’ भनि दिन्छे। बेललुकी त्यही प्रश्‍न घरमा आमालाई गर्छे उसले।  रमाले जवाबमा भनिदिन्छे नानु तिम्रो बाबा भगवानको घरमा जानु भएको छ।’ सायद आमाको जवाबले उसको चित्त बुझ्यो या केही  पनि बुझिन उसले। तर आफ्नै धुनमा खेल्न थाल्छे स्मृति। कुनै दोहोरो प्रश्‍न गरिन उसलाई जस्तो की उसलाई थाहा छ, भगवानको घर कहाँ छ। उसले यो पनि सोधिन कि उसका पिता कहिले फर्किएर आउने हो भगवानको घरबाट। बेलुकीको खाना खाएपछि ओछ्यानमा पसेकी स्मृति अहिले निन्द्रामा छे।
रमालाई छोरीको त्यही प्रश्‍नले कता-कता मनको एक कुनामा काँडाले झैं च्वास्स घोचेको अनुभव भयो। उसको मन त्यसै छियाः छियाः भएर आयो। आज प्रकाशको आवश्यकता बालख छोरीलाई छ। छोरीलाई मात्र कहाँ हो र रमालाई पनि एक पतिको साथ चाहिएकै छ नि। पतिको साहारा छुटेपछि उ कति एकली भएकी छ यो संसारमा? उसैले मात्र अनुभव गरेकी छ। सायद उसले यो कुराको अनुभव धेरै पल्ट गरेकी छ उसले।
---
स्मृतिलाई उसको पिता र उसलाई पतिको साथ चाहिएको छ। दुइतीनपल्ट उसले देखेकी छ साथीहरूसँग स्मृति खेल्दाखेल्दै झगडा गर्दा साथीहरूलाई- तेरो बाउ’ भनिदिएको। त्यतीबेका उसले आफ्नी छोरीलाई -तेरो त झन बाउ पनि छैन’ भनेको सुन्दा रमाको मनमा नरमाइलो लागेको थियो सायद। दुइ-तीन दिनपछि मात्रै त हो, म उसको घरमा अचानक पुगे। टीभी खोलेर हेर्दै थिई। हतार साथ बन्द गरी र अत्तालिएको जस्तो ए...म...त को पो रहेछ भनेको आउन भित्रै’ भनिन्। मैले केही बुझिनँ, किन यसरी अत्तालिएकी थिइन् ऊ, या फेरि किन त्यस्तो लाग्यो मलाई। तर उसले झट्ट कानेखुशी गरिहाली होइन कि! एउटा क्यासेट हेर्दै थिएँ नि त ड़ीभीटीमा।’
ए...!’ मात्रै भने मैले पनि। तर सोधिन कस्तो क्यासेट भनेर। सायद चलचित्र हेरिरहेकी थिई।
रमाले भनेकी थिई हिजै मात्रै- बैनी हेरन यो संसारमा एक्लो बाँच्नु धेरै कठिन रहेछ। समाजको डर लाग्छ तर समाज हेरेर पनि त जीवन त्यतिकै पूरा नहुँदो रहेछ। छोरीलाई पनि उसको बाबा चाहिएको छ र मलाई पनि पति। सोंच्छु फेरि विवाह गरौं कि भनेर।’ मैले उसलाई केही जवाब दिनु सकिन। चिया बनाउँछु ल, नून कि चिनी?’ भन्दै सिलिण्डर ग्याँसचुला बाली।
चिनी...!’ छोटो उत्तर दिएँ मैले। पानीमा तीन चम्चीजति चिनी लगाएर उमाल्न थाली उ। म उसको टीभीको छेउमा राखेको क्यासेटहरू हेर्न थालें देउता, भाइभाइ, वाण्टेड, जुली, शिखा, रेश थुप्रै हिन्दी र नेपाली चलचित्रका क्यासेटहरू रहेछन्। सबैभन्दा मुनिपटि खोलमात्र रहेछ। क्यासेट सायद डीभीडी प्लेयरभित्रै हुनुपर्छ। अलि अप्ठ्यारो लाग्यो हेरेर। हतार-हतार राखिदिएँ। म आउँदा हतार गरी टीभी बन्द गरिनुको कारण र ए...म..त..को रहेछ भनेर नि’ भन्नुको अर्थ लगाएँ। सायद मैले क्यासेटहरू हेरेको थाहा पाई उसले। लेउ चियासित बिस्कुट पनि खाउ है’ भन्दै टेबलमा राखिदिइ। उसले अनि भन्न थाली - के गर्नु र मन भुलाउनै पर्छ। रातभरि पनि कोही -कोही बेला त पिक्चरहरू हेर्यो, आधिरात जान्छ अनि मात्र सुत्छु।’
हो नि।’ मैले छोटो उत्तर दिएँ। उमेरले म अलिक कान्छो हुँ। तर हाम्रो सम्बन्धको साइनो थिएन। उ अझै भन्दै थिई- हुन त खानु-लगाउनु केही खाँचो छैन। तर साँच्चै एउटा सहाराको खाँचो पर्दोरहेछ। यस्तै अनुभव गर्न थालेकी छु म।’ उ अझ भन्दैथिइ- फेरि अझै त जवानै छु, उमेर ढलेको छैन। इच्छाहरू मनभरि छन्, रूपरङ छँदैछ। सबै कुरालाई मनमा नै किन मार्नु जस्तो लाग्छ।’ मनमा धेरै कुरा धेरै अघिदेखि कसैलाई भन्न नपाएर गुम्सिरहेको थियो सायद उसको। उ अझ बोलिरहेकी थिई- मान्छेहरू तिम्रो पढाईअनुसार यति राम्रो नोकरी छ, फूलजस्तै छोरी छे। उसको भविश्य सोंच, छोरीको मुख हेरेर बस्नु भन्छन्। तर यति मात्र त होइन नी हाम्रो जीवन होइन र?  खानु-लाउनुदेखि पर केही छैन र संसारमा?’ मलाइ पुलुक्कै हेर्दै प्रश्‍न गरेकी थिइ। तर मैले जवाब दिनअघि नै फेरि उसैले भनी- तर अर्को मनले सोंच्छु मैले अर्को विवाह गरेंभने स्मृतिको भविष्य मैले सोंचेजस्तो होला के त? अनि प्रकाशको आत्माले पनि त मलाई धिक्कार्छ होला, उसँग विवाह गर्नअघि जीवनभरि र जीवनपछि पनि यो शरीर, यो मन जन्म-जन्मलाई एकार्काकै हुनेछ, अरुको हुनेछैनौं भनी कसम खाएका थियौं।’
यसरी लामो कुराकानीपछि चिया पिइसकेर म फर्किएँ। म सोच्छु नारी र पुरुष दुवैले यो समाज सजिएको छ। तर किन दुवैलाई बराबरीको अधिकार छैन। एकजना पुरुषले पत्नीशोकमा परेको महिनादिन नबित्दै अर्को भित्रयाउदा समाज रमितामात्र हेर्छ, तर एउटी नारीले शतित्वमा बाँच्नुपर्ने, किन यस्तो अन्याय हे भगवान!  नारी जातिलाई किन यस्तो अन्याय? तर मेरो प्रश्‍नको जवाब भगवानले कहाँ दिन्छ त यहाँ आएर। यो समाज त हामीले बनाएका हौं र समाजको रीति-रिवाज, परम्परा, प्रथा, धर्म-कर्म, जाती सबै त हामीले नै बनाएका हौं। फेरि हामी भन्छौं जहाँ नारीको पूजा हुन्छ त्यहाँ, सुख शान्ति हुन्छ। तर जब नारी स्वयं दुखी छ भने? यो प्रश्‍न हामी सबैको मनमा खटकिएकै छ। म सोंच्छु -रमाले यो समाजको पर्वाह नगरी विवाह गर्नुपर्छ। आफ्नो इच्छा आकांक्षालाई मार्नु हुँदैन त्यसै। प्रकाशको सम्झना गरेरै मात्र हुँदैन रमा तिमीले। तिमीले ठिकै भनेकी थियौ यो समाजले के भन्ला? तर समाज हाम्रो हो र हामीले यहाँ आवश्यक ढाँचालाई परिवर्तन गर्नु सक्नुपर्छ।’
---
यो सून्य रातमा स्मृतिलाई छेउमा राखेर कल्पनाको सागरमा डुबेकी रमासरह आज उसको कुरा र उसको ययार्थले मलाई पनि सुत्नु दिएको छैन। सायद यतिबेला रमा मेरो विपरीत सोच्दी हुन् - म प्रकाशलाई दिएको बाचा-कसम तोडदिन, तिमीसितको माया-प्रेम सँधैं अमर-अजर राख्नेछु।  हामीबीच कोही आउन सक्दैन। तिम्रो सम्झनामा नै यो जीवन म बिताई दिनेछु। हो प्रकाश हामी दुइको प्रेमको स्मृति हाम्री छोरीलाई हेरेर म बाँकी जीवन बिताउने छु।’ यस्तै-यस्तै के-के सोच्दी हुन्। मेरो र उसको सोचाई नमिल्न पनि त सक्छ। मान्छे सबै एकै कहाँ हुन्छन् र? अब भने निन्द्राले छोप्न थाल्यो मलाई।  झ्यालको पर्दा तानेर चियाई हेरें। अहिले रमाको कोठाको बत्ति निभेछ। सायद सुतिसकी ऊ। म पनि निदाउने प्रयास गर्दै थिएँ, कता-कता भाले बासेको सुनें।
भभभ
एक झप्को निधाएर मात्रै उठेकी थिएँ सायद, छ्याङ्ङ उज्यालो भइसकेछ। हतार-हतार बिहानको कामतिर लागें चिया-खाजा बनाउन। नभए फेरि रोहितलाई डिउटी जान अबेर हुन्छ, म पनि बजारमा जानु छ।
---
रोहितसित दुइ-तीनपल्ट यहाँ आएको थियो उसको साथी दीपक। बेलुका रोहितले खबर ल्याएछ, रमा स्मृतिलाई लिएर दीपकसित हिजो राती नै भागिछ।
सारिका राई '‘याद’   
गोपाल

बल्लबल्ल स्नातक उत्तीर्ण गरेर गोपाल नोकरीको पछि लागेको चार वर्ष बितिसक्दा पनि कुनै नोकरी हात पार्नसकेको छैन। दुइजना बहिनी र तीनजना भाइ पढ्दैछन्। खेताला-पात गरेरै भए पनि काइँला काकाले धन्न अहिलेसम्म छजनाको परिवारलाई भोकै बनाएका छैनन्। क’ सम्म लेख्न नजान्ने बूढाले छोरा-छोरीलाई त पढाउँदैछन्। ठूली छोरीले पनि यसपालि त बीए’ पास गर्छे भनेर गाउँमा धाक पिटेर हिँड्छन् उनी। कान्छो छोरो भर्खरै तीनमा पढ्दैछ।
---
ए...गोपाल, भोलि माथि बडाको दाउरा काट्ने भन्दै थियो, सघाइ दे है...। एकजना पठाइ दे है काइँला भन्दै थियो।’
बेलुकीपख कहाँबाट हो थाकेर लखतरान भएको गोपाल घरमा पसेको मात्रै थियो। पस्नै नपाई पिताको आदेश भयो। उसले केही भनेन। चुपचाप कोठामा पसेर चौकीमा थ्याच्च बस्यो।
---
बिहान अबेर उठेको गोपाल आमाले बनाइदिएको चिया र खाजा खाएपछि उकालो लाग्यो बिक्रम बडाकोतिर। माथि पुग्दा गाउँका अरू युवाहरू अघि नै थुप्रिएका रहेछन्। दिनभरि लगाएर युवाहरूले बिक्रम बडाको बर्खे दाउरा काटेर थुपारेपछि बडाले बेलुका सबैले खाना खाएर मात्र जाने है केटा हो...! भनेपछि हतार गर्नेहरूले पनि उम्कनै पाएनन्।
बिक्रम बडा भनेपछि सबैले इज्जत गछन्। गाउँ-घरको दु:ख-सुखमा सधैं अघि बड्ने बडा गाउँको मुखिया भने पनि हुन्छ, मण्डल भने पनि हुन्छ। मुखिया, मण्डल जसै भने पनि साह्रो-गाह्रोमा चलाउन दिएको रुपियाँ-पैसाको एकै पैसा ब्याज कहिल्यै लिँदैनन्। धर्म-कर्ममा ध्यान दिने मान्छे अरूको एकै पैसा पनि तलमाथि नहोस् नै भन्छन्। पूर्व पञ्चायत भएकोले सायद गाउँ-घरमा कसलाई के समस्या छ उनलाई राम्ररी थाहा छ। गाउँका प्रत्येक घरको अवस्था थाहा छ बडालाई।
सबैले खाना खाइसकेपछि आ- आफ्नो घरतिर लागे।  गोपाल र विनोद विक्रम बडाको गफमा भुलिए।
ए गोपाल..!’ बडा बोल्दै थिए, अस्तिदेखि तँलाई एउटा सल्लाह दिउँ भन्छु मौकै मिल्दैन। म पनि बिनाबित्थामा व्यस्त हुन्छु, तँ पनि घरि कता घरि कता दगुरिरहन्छस्।’
कस्तो सल्लाह बडा भन्नुहोस् न’ गोपाल बोल्छ।
बडा बोल्दै थिए, विनोद पनि सुन है मेरो कुरा। तिमीहरू यत्रो पढेको मान्छे, मेरो कुरा मान्छौ भने यसो आफ्नो खुट्टामा उभिने चेष्टा गर।’
त्यही त बडा...!’ बोल्यो बीचैमा विनोद, खै यत्रो भइसक्यो नोकरीको पछि लागेको। कहिले कसको पछाडि, कहिले कसको पछाडि गर्दा-गर्दा अब त दिक्क पनि लाग्न थालिसक्यो। एमएले साबले पनि पोहोरदेखि नै एउटा काममा लगाइदिउँला भन्नुभएको थियो, कुरै मात्र...। बाह्रपल्ट भन्दा धेरै भइसक्यो धाएको।’
होइन नि केटा हो, अब कुरा एसो नि..,’ बडा बोल्दै थिए। अब समय कहाँदेखि कहाँ पुगिसक्यो। हाम्रो समयमा गाउँमा पाँच पढेर बसेको थाहा पायो भने सरकारले जबर्जस्ती लान्थ्यो। मान्छे नोकरीको पछि होइन नोकरी उल्टै मान्छेको पछि लागेर आउँथ्यो। नोकरी गर्दिनँ भन्दासम्म धर नपाइने। अब त्यो समय कहाँ रह्यो र? हुन पनि त गाउँमा जताततै पढे-लेखेकाहरू छन्। तिमीहरू जस्तै पढेकाहरू वर्षैपछि हजार-हजार निस्कन्छन्, होइन र?’
बडाले दुवैलाई प्रश्‍नसूचक नजरले हेरे। बडाले अझ भन्दै थिए अनि सरकारले पनि कसरी काम देवोस् त! यसो सोच्दा पनि त ठीकै हो, सबैलाई सरकारले काम दिएर सक्दैन। त्यसैले एमएले साबलाई पनि दोष्याउने ठाउँ चाहिँ मैले त देखिनँ। बरू हामीले अब स्वरोजगारी बन्ने उपायहरू खोज्नुपर्छ।’
त्यही त बडा..!’ गोपाल बोल्यो, अब दुइ-चार पैसा कमाएर यसो व्यापारतिर पो लागौं कि भन्दैछु। फेरि केको पो व्यापार गर्नु होला र?’
गोपालले सुझाउको अपेक्षा राखेको बडाले बुझेपछि भने, म त्यही त भन्न खोजिरहेछु अघिदेखि। तिमीहरू पढे-लेखेकएका छौ। बाउ-आमाले बिस्तारै कमाइ गर्न छाड्दै गइरहेछन्, दिनदिनै बल-तागत घट्दै गइरहेछ। तिमीहरू भने सरकारी नोकरीको पछि लागेर नै बूढो हुने छाँट म देख्दैछु...। यता बारी भने बाँझै छ।’
त्यही  त बडा...!’ गोपालले सहमति दियो। बडाले बिस्तारै भन्दै थिए, मेरो सल्लाह मान्छौ भने गाउँमा पैसा कमाउने प्रशस्तै उपायहरू छन्। अनि मैले देखेको सबैभन्दा सजिलो उपाय हो जैविक साग-सब्जी र पुष्प खेती।’
बडा यसको लागि त सरकारले पनि त सहयोग दिन्छ नि, होइन?’ विनोदले प्रश्‍न राख्यो।
काम गर्नचाहनेको लागि सरकारले सहयोगै-सहयोग दिन्छ नि, आफू अगाडि बढ्नु त पर्यो’, बडा बोल्दै थिए- खेतीपाती गर्न चाहनेहरूलाई सरकारले बीउ-बिजन दिन्छ, मल दिन्छ, साग-सब्जी कसरी रोप्नुपर्ने त्यो पनि सिकाउँछ। त्यतिमात्र कहाँ हो र, अहिले त तिमीहरूले नै देखिरहेको छौ ग्रीन हाउस’ सम्म बनाइदिँदैछ सरकारले नै। अझै भएन शिक्षित बेरोजगार युवाहरूलाई लाख रुपियाँसम्मको ऋण पनि दिन्छ।’
विनोद र गोपालले बडाको कुरा ध्यान दिएर सुनिरहेका थिए। बडा अझै बोल्दै थिए- अब साग-सब्जी उमार्न, फलाउन कुनै मौसम पर्खिनु पर्दैन। बेमौसमी साग सब्जी निकाल्न सकिन्छ। फेरि त्यो सबै बजारै पुर्याउनुपर्ने समस्या पनि छैन सिम्फेडद्वारा सरकारले नै किनिहाल्छ। अब के खोज्नु र, लु भन त..!’
बेलुका धेरै बेरसम्म बडासँग कुरा गरेपछि गोपाल र विनोद आ-आफ्नो घरतिर लागे।
---
भोलिपल्ट बिहानै उठेर निकैबेर घोरियो गोपाल।
आज यसलाई के भयो बिहानै, किन घोरिएको यसरी? कता के काम होला जस्तो छ भनेको होइन, जाने कि नजाने?’ एक्कासी आमाको प्रश्‍नले गोपाललाई तन्द्राबाट फर्कायो।
आ...जति गरे पनि त्यति नै रहेछ, आशै मात्र! जाँदिन हौ।’ अल्छी गर्दै बोल्यो गोपाल।
अब नगएर के चाहिँ गर्छस् त? कतै भइहाल्छ कि!’ आमाले फेरि प्रश्‍न गरिन्।
तपाईं गएर पञ्चायतसित यसो बुझ्नुहोस् न, बरू जैविक साग-सब्जीको खेती पो गर्नुपर्यो भन्दैछु...।’ गोपालले भन्यो।
उसको कुरा सुनेर आमा छक्क परिन्। हुन पनि गोपालको मुखबाट यस्तो कुरा पहिलोपल्ट निस्किएको हो। गोपालका  कुराले आमालाई खुशी बनायो। भोलिपल्टै आमा-छोरा दुवै पञ्चायतकोमा गएर जैविक खेती अनि ग्रीनहाउसलगायत सम्पूर्ण सरकारी सुविधाहरूको जानकारी लिए। पञ्चायतले पनि खुशी हुँदै आफूले सुझाउका साथै सक्दो सहयोग पनि दिने आश्‍वासन दिए।
एक हप्तापछि नै पञ्चायतले खबर पठाएछ, गोपालको नाममा आफै गएर ग्रीन हाउस’ मिलाइदिएको रहेछ। काइला काकाले गोपाललाई सुनाए- ए गोपाल, पञ्चायतले बोलाइपठाएको छ है तँलाई! ग्रीन हाउस’ कि केको कुरा गर्दै थियो।
नोकरीको पछि लागेर इण्टर-भ्यूमा बस्दा-बस्दा दिक्क भएको गोपालले यसपालि भने आफू सफल भएको अनुभव गर्यो। उ तुरून्तै पञ्चायतकोतिर दगुर्यो।
---
अब भने गोपाल कुनै पनि नोकरीको लागि इण्टर-भ्यूमा बस्न छोडेको छ। कृषि उत्पादनमा नै लगनशील भएर काम गर्नथाल्यो। साथीहरूले नयाँ-नयाँ भ्याकेन्सी खोलिएको खबर पनि दिएकै हो। तर उसले चासो देखाएन। साथीहरू यत्रो पढेर पनि अब तँ चाहिँ कटा-कोदालोमै भुलिरहने होला’ भनेर कराए पनि, तर उसले कसैको कुरामा ध्यान दिएन।
एक वर्षभित्रमै गोपालले प्रशस्तै साग-सब्जी फलाएर बेच्न थाल्यो। यो  वर्ष दिनमा उसले झण्डै पचास हजार रुपियाँ जतिको त बिक्री गरिसकेको थियो। भर्खर सिकिँदैछ, अबको एक-दुइ वर्षमा चाहिँ राम्रो हुनेरहेछ।’ गोपालले भन्ने गरेको छ।
गाउँमा भर्खरै मात्र खण्ड प्रशासनिक केन्द्र बनिएको छ। त्यसैको छेउमा ग्रामीण बिक्री केन्द्र बनाइदिएको छ सरकारले। गोपालले पनि एउटा कोठा लिएको छ। कहिले आफै बस्छ, कहिले भाइ-बहिनीलाई राख्छ त कहिले आमाले पालो दिन्छिन्। धेरथोर गाउँमै बिक्री भइहाल्छ, नभए सिम्फेडका मानिसहरूले बारीबाटै उठाइदिन्छन्। कुनै सुर्ता नै छैन।
गाउँकाहरू पहिले हरियो साग-सब्जीको लागि बजार पुग्थे, अहिले सबै गाउँमै पाइहाल्छ। जाँगर चलाए हुँदोरहेछ त भन्न थालेका छन् गाउँकाहरू।
गाउँमा पेवाको चलन अझै गइहालेको छैन। गोपालले पैसा कमाएको देखेर  भाइ-बहिनीहरू पनि खुब चासो देखाएर पेवा गर्नसिकेका छन्। आफ्नो पढाइको खर्चबाहेक साथीहरूसित कहिलेकहीं घुम्नजाने खर्च पनि पेवा साग-सब्जीबाट निकाल्न थालेका छन्। छोरा-छोरीको यस्तो व्यवहारले काइँला काका-काकी पनि खुशी देखिन्छन् हिजोआज।
गोपालकै दोकान छेउको कोठामा विनोदले पनि विभिन्न प्रजातिका अर्किड, लिलियम, गुलाब, जरबेरा आदि फूलहरू राखेका छन्। उसले उत्पादन गरेको फूल आज राज्य बाहिरसम्म माग हुनथालेको छ।
गोपाल र विनोदलाई आज कुनै नोकरीको खाँचो परेको छैन। दुवैले सरकारी सहयोगमा खेती विषय धेरै तालिम प्राप्त गरिसकेका छन्। राज्य बाहिरका कृषि अनुसन्धान केन्द्रहरूको अध्ययन-भ्रमण गरेर धेरै कृषि ज्ञान पनि पाएका छन्। पहिला उनीहरूलाई यत्रो पढेर पनि अब तँ चाहिँ कटा-कोदालोमै भुलिरहने होला’ भन्नेहरू आजभोलि गोपाल र विनोदलाई भेट्दा खिस्स हाँस्छन् मात्रै। गाउँका भाइ-बहिनीहरूले पनि गोपाल र विनोदको सिको गर्नथालेका छन्।
बेला-मौकामा विक्रम बडा आफै सब्जी किन्न भनेर आउँछन्। गोपालले पैसा थाप्न नमान्दा पनि थाप्नैपर्छ। अन्त्यमा सिँबी, मूला केही न केही थपिदिन्छ गोपालले।
अब त गोपालले साग-सब्जीको खेतीमात्र होइन चार माउ गाई पनि पालेको छ। बारीको कामदेखि गाई-वस्तु स्याहार्न नभ्याएकोले तीनजना मान्छे पनि राखेको छ। दूध, घीउ, छुर्पीबाट पनि आयस्रोत उत्तिकै राम्रो हुन्छ।
कुरा काट्नेहरू अझै पनि खेती नै गर्नु हो भने त किन पो पढ्नु पर्यो र, बाउ-बाजेको पालादेखि गरिआएकै हो...!’ भन्ने गर्छन्। तर गोपालले सुनेर पनि नसुनेझैं गरिदिन्छ। कोही हितैषीहरूले तिमीलाई त यसो पो भन्दै थियो फलानाले...’ भनेर सुनाइहाले उ भन्थ्यो- भन्नेहरू भन्दै गर्छन्। नराम्रो कुरापट्टि ध्यानै दिनुहुँदैन। बाउ-बाजेको पालादेखि नै खेती गरिआएको पक्का हो, तर कतिको  सफलता पाइरहेका थिए भन्ने कुरामा पनि विचार पुर्याउनुपर्छ हामीले। खेती गर्नु  भनेर मात्र हुँदैन। नयाँ-नयाँ वैज्ञानिक तथा तक्निकीय ढङ्गमा उब्जनी लगाउन सक्नुपर्छ अनि त्यसका लागि हामीलाई शिक्षाको आवश्यक पर्छ। शिक्षाले मात्र मान्छे ठूलो भइँदैन, शिक्षित व्यक्तिले खेती गर्नुहुँदैन भन्ने कहीं छैन। देश-विदेशमा आज खेती गर्नलाई पनि के-कस्ता पद्धतिहरू अप्नाइरहेका छन् भन्ने कुराको जानकारी लिनु र त्यसलाई हामीले पनि व्यवहारमा उतार्न सक्नुपर्छ। उ भन्छ, कामले मान्छेलाई कहिल्यै पनि सानो बनाउँदैन। संसारमा परिश्रम गर्ने व्यक्ति मात्र सफल बनेका छन्।
साँच्चै आज गोपाल पनि आफ्नो जाँगर र परिश्रमकै कारण एक सफल कृषक बनेको छ। गोपाल एक कृषकभन्दा माथि केही होइन तर कुनै सरकारी नोकरी गर्नेभन्दा पछि परेको छैन। सायद उसको स्तर अलिकति माथि नै छ। गाउँमा उसको छुट्टै परिचय छ।
आजभोलि उ गाउँमा पढेर बसेका युवाहरूलाई पनि भन्ने गरेको छ नोकरीको पछाडि लागेर समय फाल्नुभन्दा समयमै कृषि उत्पादतिरै लागिहाल। नोकरीमा पनि त आखिर पछि पेन्शन त पाउने होइन नै। बरू अहिलेदेखि नै एक-दुइ पैसा कमाउनुतिर लागेकै राम्रो। नोकरी नै गर्ने मन भएर पाइहाले ठीकै छ।’ गोपाल अझ भन्छ, तर मलाई चाहिँ सरकारी नोकरीभन्दा कृषि उत्पाद नै ठीक छ। यहाँ कसैको डर पनि छैन, न त कुनै हतारै छ! कसैको गाली खानु  पनि परेन, अफिस ढिलो भयो भनेर ट्राफिक जाम’ को बहना बनाउनु पनि परेन। फेरि न कहिले चार बज्छ भन्ने हतार, न त कहिले एक तारिक आउँछ भन्ने नै सुर्ता? काम गर्यो आफ्नै खुशीले, गरेन आफ्नै। त्यसैले म त बरू खेती नै गर्छु’ भन्छ गोपाल सबैलाई।
गोपालले ठीकै गरेछ, मलाई पनि आजभोलि यस्तै लाग्न थालेको छ अनि युवाहरूलाई कृषि उत्पादनमै लाग्ने सुझाउ दिनथालेको छु।’
-----***-----
राङ्का, पूर्व सिक्किम

Friday, July 19, 2013

पहाडमा फेरि भनिन्दैछ जीटीए गो व्याक
फेरि एकपल्ट पहाडभरि नै गोर्खाल्याण्डको आवाज चर्किन थालेको छ, जीटीए (गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिस्ट्रेशन)-को विरोध हुन थालेको छ। विद्यार्थी र युवावर्ग सडकमा उत्रिन थालेका छन्। वजट र विकासमा भुलिन थालेको पहाडलाई फेरि आफ्नो अस्तित्व र अस्मिताको लडाईमा उठ्न लगाइरहेको छ युवामोर्चाले, माटोको लडाईमा एकवद्ध हुने आव्हान गरिरहेको छ। 
भारतीय गोर्खाहरूको जातीय अस्मिता र अस्तितसितै छुट्टै राज्य गोर्ख्याल्याण्ड मात्रै हाम्रो हाम्रो उद्देश्य हो भनेर अस्तित्वमा आएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) धेरै सङ्घर्ष गरिसकेको छ। 1986-को गोर्खाल्याण्ड आन्दोलनको रेकर्ड आफैमा एक इतिहाँस नमेटिने भएपनि गोजमुमोले लडेको गोर्खाल्याण्ड आन्दोलनमा पनि मोर्चाले धेरै योद्धा गुमाउनु परेको इतिहासले बिर्सिने छैन। रगतले माटो भिजेपछि यति सजिलै ओबानो हुँदैन पनि।
यति हुँदाँहुँदै गोजमुमोले ‘गोर्खाल्याणसम्म पुग्ने सिँढी’ भनेर जीटीएमा त्रिपक्षीय सम्झौता गर्यो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले डमरूको उपमा दिएर छैटौं अनुसूची थापे पनि त्यो बाघ (गोर्खाल्याण्ड) हुन नसकेको कथा जस्तै यथार्थ सबैलाई थाहा नभएको होइन। तरै पनि पहाडवासीले एकपल्ट गोजमुमोको ‘गोर्खाल्याणसम्म पुग्ने सिँढी’-लाई विश्‍वास गरेका थिए। खोइ त त्यो जनमानसले गरेको विश्‍वासको त्यान्द्रो? खोइ त बीर गोर्खालीको आफ्नो माटो? खोइ त गोर्खालीको अस्तित्व र अस्मिता? सबै विकाससितै साटियो? उसो भए किन बगाइयो त रगत, माटो भिजाउनलाई? सायद यस्तै प्रश्‍नहरू बोकेर पहाडमा फेरि गोजमुमोकै निर्देशमा रहेको गोजविमो (गोर्खा जनमुक्ति विद्यार्थी) र गोजयुमो (गोर्खा जनमुक्ति युवा मोर्चा) सडकमा उत्रिन शुरू गरेको छ।
जीटीए रद्द गर्नुपर्ने माग गर्दै युवा अनि विद्यार्थी मोर्चाले जीटीए र विकास होइन, गोर्खाल्याण्ड चाहिन्छ भनेर स्पष्ट रूपमा बताइसकेको छ। छुट्टै राज्यले मात्र सबै समस्याको समाधान हुन्छ जीटीए अथवा पहाडको विकासले हाम्रो समस्या समाधान हुँदैन भन्ने उनीहरूको अडान छ। उनीहरूको यस अडानलाई गोटाफो (गोर्खाल्याण्ड टास्क फोर्स)-ले पनि स्वागत जनाइसकेको छ। यतिमात्रै होइन अघिबाटै एकोहोरो गोर्खाल्याण्ड-गोर्खाल्याण्ड भन्दै देशका विभिन्न प्रान्तमा दौडाहा गरिरहेको गोटाफोले ययरी अचानक मोर्चाकै भातृ सङ्गठनहरूले जीटीएको विरोध गोर्खाल्याण्डको मागमा आवाज उठाउन थालेपछि अब यहाँ कुनै राजनैतिक वैमनष्यता नरहेको बताइरहेको छ। अब हामी एकसाथ काम गर्न सक्छौं भन्ने गोटाफोको भनाइ छ।
युवा तथा विद्यार्थी मोर्चाको बुलन्द आवाज एकातिर जुञ्जन थालेको छ भने यस्तै बैला अलग राज्य गोर्खाल्याण्ड गठनको मागमाथि केन्द्र सरकारलाई चाप दिने उद्देश्यले आजै मात्र गोर्खा जनमुक्ति मोर्चाका 6 सदस्यीय शीर्ष टोली दिल्ली प्रस्थान गरिसकेको छ। यता, गोरामुमोले भने एकातिर गोजमुमोको शीर्ष नेतृत्वले मुख्यमन्त्री ममता ब्यानर्जीलाई दार्जीलिङमा भव्य स्वागत जनाउँदै जीटीएको निम्ति द्विपक्षीय वार्ता गर्ने, अर्कोतर्फ यसै व्यवस्थाको विरोधमा विमो र युमोले सडकमा ओरालेर नाराबाजी गर्ने दोधारे नीतिबाट जोगिन पर्ने अपील गरिरहेको छ। उता ‘जीटीए मरिकाट्टे छोड्दिनँ’ भनेर अघिबाटै मोर्चाप्रमुख विमलले भनिसकेका छन् भने महासचिव रोशन गिरीको नेतृत्वमा गएको यस टोलीले जीटीए होइन गोर्खाल्याण्डको मागलाई चाप दिनलाई नै केन्द्रिय गृहमन्त्री सुशिलकुमार शिन्देसित भेट्ने भएको छ। के यसबाजी मोर्चाको टोलीले सफलताको संकेतमात्रै पनि बोकेर ल्याउला? पर्खनु छ। जीटीए सम्झौता भएको ठीक दुइवर्ष पुग्दा अचानक मोर्चाकै भातृ सङ्गठन विद्यार्थी र युवा मोर्चाले केन्द्रिय सङ्गठनले स्वीकार गरिरहेको जीटीए र विकासको आलोचना गर्नु वास्तवमै कुनै अभिनय त होइन होला नि! मानिसहरूले आशा पनि साँचैकै छन्। मोर्चाको इमान्दारिता र गोटाफोले भनेझैं एकसाथ काम गर्नुपर्ने देखिन्छ।
19.07.2013
सन्दर्भ विदेशीको लाञ्छना
सिक्किममा अहिले राजनैतिक तापको उतार-चढाउ केही साम्य रहेको समय सम्पूर्ण सिक्किमे जातिलाई विदेशीको लाञ्छनासहित सम्पर्ण सिक्किमेको हक आयकर माफीलाई चुनौती दिइएकोले स्थिति निकै चिन्तायुक्त बनेको छ। पहिलेबाट सिक्किमेली नेपालीहरूमाथि लगाएको भनिएको विदेशीको लाञ्छना पछिबाट गएर सम्पूर्ण सिक्किमेली जातिलाई नै विदेशी भनिएको र आयकर माफी खारेज गर्नु भन्ने कुरा प्रकाशमा आयो। यहाँदेखि यो ‘याचिका विवाद’ अझ चर्किएर गयो।
आयकर छुट पाउनुपर्ने सन्दर्भमा एसोसिएसन अव् ओल्ड सेटलर्स अव् सिक्किमले सिक्किमेलीहरू विरूद्ध सर्वोच्च न्यायालयमा गरेको सोही मुद्दाको विरोधमा 11 जुलाईको दिन डेञ्जोङ वेलफेयर एसोसिएसनले राजधानी गान्तोकमा मौन जुलुसको पनि आयोजना गर्यो।
12 जुलाईको दिन उच्चत्तम न्यायालयमा उक्त मामिला सम्बन्धी सुनुवाई र यहाँ याचिकाकर्ताहरूले मामिला फिर्ता नलिए आगामी दिनमा स्थिति तनाउपूर्ण रहने आजको र्यालीपछि वक्ताहरूको कुराबाट प्रष्ट भइसकेको छ। यद्यपि, यहाँ कस्तो पाइला चालिने हो भन्ने कुराको अहिले नै प्रष्ट छैन।
एसोसिएसन अव् ओल्ड सेटलर्स अव् सिक्किमले सर्वोच्च न्यायालयमा जुन मुद्दाको दर्ता गरेको छ, त्यसको विरोधमा 11 जुलाईको दिन डेञ्जोङ वेलफेयर एसोसिएसनद्वारा राजधानीमा निकालिएको मौन जुलुसमा कति सिक्किमेहरूको सहभागिता थियो? यो कुराले यहाँ धेरै महत्व बोकेको हुन्छ। दार्जीलिङमा समग्र नेपाली भाषी गोर्खालीको जातीय अस्तित्व र अस्मिताको लडाईंमा कहाँ, के-के र कस्ता कमजोरीहरू थिए वा छ, जसको कारण ‘सम्पूर्ण गोर्खालीहरूको’ भनिएको आन्दोलन कहाँसम्म पुगिरहेको छ त्यो कसैको अघि लुकेको छैन। अहिले ‘समग्र सिक्किमेलीहरूको’ भनिएको 11 जुलाईको र्यालीले समग्र सिक्किमेलीको शक्ति प्रदर्शन गर्न कति सक्षम भएको छ, त्यो पनि सबैले देखेको विषय हो।
अतः यहाँ वास्तवमै समग्र सिक्किमेलीको पक्षमा बोल्नु र आवाज बुलन्द गर्नु हो भने अनि आफूमाथि लागेको लाञ्छना गलत हो भन्ने प्रमाणित गर्नै हो भने यहाँ दुइवटा कुराको खाँचो देखिन्छ।
पहिलो कुराः कुनै पनि काम गर्नलाई हामी सँधैं भन्छौं, एकलो प्रयासले केही हुँदैन। कम्तिमा अहिले थोपिएको लाञ्छनाले जतिलाई दुखेको छ ती सबैको सहभागिता हुन जरुरी देखिन्छ। नभए 11 जुलाईका दिन आफ्नैहरू शान्ति जुलुसमा उत्रिएको रमिता हेर्नेहरू जुन सङ्ख्यामा थिए, त्यो घटेन भने हामी साँच्चै रमिता मात्रै बन्दैनौं होला र? यहाँ अस्तित्वको पनि कुरा आउँछ। त्यसैले एकता सबैको बल हो, बुझेर रमिते नभएर रमिता देखाउन सक्ने हुनु समूहमा आउनुपर्छ।
दोस्रो कुरा, भर्खरै मात्र विदेशीको लाञ्छनाकै कारण एसोसिएसन अव् ओल्ड सेटलर्स अव् सिक्किमविरूद्ध निकालिएको जुलुसावधि केही अप्रिय घटना भयो। यसले अर्को समस्या सृजना गरिरहेको छ। अतः यहाँ किन बुझिँदैन कि कुनै पनि पाइला टेक्नअघि कहाँ र कसरी टेकिनुपर्ने भनेर? सबैले अनुभव गरिरहेकै कुरा हो जातीय अस्मिता र अस्तित्व अथवा अहिले चलिरहेको विदेशीको लाञ्छना जस्तो जटील समस्याको समाधान सजिलै हुँदैन। यहाँ बौद्धिकको खाँचो पर्छ, बौद्धिक समूहको आवश्यक्ता पर्छ। विधीपूर्वक र न्यायिक ढङ्गमा तर्क राख्नसक्नु नै यहाँ बुद्धिमता हुन्छ।
अब एसोसिएसन अव् ओल्ड सेटलर्स अव् सिक्किमले सिक्किमेलीहरू विरूद्ध सर्वोच्च न्यायालयमा गरेको मुद्दाको विरोधमा डेञ्जोङ वेलफेयर एसोसिएसनले थालेको आन्दोलनलाई सिक्किमेलीहरूले कसरी लिने? त्यो समग्र सिक्किमेलीहरूमाथि नै निर्भर छ। नभए ‘ए! यति त रैछ’ भनिएका कुराहरूमा अझ अरू पनि कुराहरू थपिन्दै जान्छ। सिक्किमेलीहरू आफ्नैहरूको रमिता मात्र हेरी बसे यहाँ केही हुनेवाला छैन। 
12.07.2012

Thursday, July 11, 2013

पहाडको पर्यटकीय परिवेश

राजनैतिक परिवेशको कारण दार्जीलिङ पर्यटकीय दृष्टिले कहिलेकाँही धरमराउने भएपनि अहिले पहाडको पर्यटनले निकै ठूलो आशा स्वास फेरिरहेको सबैले अनुभव गरिरहेको छ। उसो त पहाडको राजनैतिक परिवेशलाई हेरिनु हो भने एकातिर पञ्चायत चुनाउलाई केन्द्र गरी सत्तारुड पार्टी गोजमुमो तपाई-डुवर्सवासीलाई फकाउनतिर लागिरहेको छ भने यता गोरामुमो यसैको फाइदा उठाई पहाड चडिरहेको छ। गोजमुमोले पहाडको विकास र मुख्यगरी पर्यटकीय क्षेत्रहरूको विकासमा पहल गरिरहेको सर्वविदित रहेको भएपनि यसले अथ लामो स्वास फरिरहेको प्रष्टै हुन्छ बीबीसी वर्ल्ड र राज्यबीच भएको सम्झौता अनि दार्जीलिङमा पनि पर्यटकहरूलाई नै ध्यानमा राखेर पवन हन्स सेवा शुरू गरिने कुराले। अतः मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडलाई ‘स्वीट्जरल्याण्ड’ बनाउने जुन संकल्प लिएकी थिइन्, त्यो पूरा हुने आम मानिसले आशा गर्न थालेका छन्।
पश्‍चिम बंगाल सरकारले राज्यको पर्यटन क्षेत्रलाई अझै विकासको मार्गमा अघि बढाउन अन्तर्राष्ट्रिय प्रसार माध्यम बीबीसी वर्ल्डसँग एउटा सम्झौता गरेको छ। यस सम्झौताअनुसार, बीबीसी वर्ल्डले पश्‍चिम बंगालको पर्यटन क्षेत्रका विभिन्न आकर्षणहरूलाई दैनिक 4 देखि 5 पल्ट 30 मिनटसम्म प्रसारण गर्ने समाचार केही दिनअघि मात्रै प्रकाशमा आएको थियो। यसमा पश्‍चिम बंगालमाथि 15 मिनटको वृत्तचित्र, उत्तर बंगालको पार्वत्य क्षेत्रको विशाल पर्वत श्रृंखलाको प्रदर्शनी, सुन्दर वन-जङ्गलको सुन्दरता, कलकत्ताको मिश्रित संस्कृति र ग्रामीण जीवनशैलीका साथै दुर्गापूजा उत्सव आदि मुख्यरूपले संलग्न रहने पनि उक्त सम्झौतामा उल्लेख गरिएका छन्। जुलाई 2013 देखि नै यसको छायांकन पनि शुरू गरिने भएको थियो। प्राथमिक चरणमा यस कार्यक्रमलाई बीबीसी वर्ल्डले अमेरिका, पश्‍चिम युरोप, मिडल इष्ट र साउथइष्ट एशियाका आदि स्थानमा प्रसारण गर्ने भएको छ। यस कार्यक्रमको सफलतापछिनै यसलाई विश्‍वका अन्य स्थानहरूमा पनि प्रसारण गरिने बताइएको छ। बीबीसी वर्ल्डबाट यस कार्यक्रमको प्रसारण शुरू भएपछि पश्‍चिम बंगालसँगै दार्जीलिङ पहाडी इलाका पनि विश्‍वमै आकर्षणको केन्द्र बन्नसक्ने अनुमान लगाउन थालिएको छ। निश्‍चय यसले यहाँको पर्यटन क्षेत्र अझै मौलिएर जाने राज्य सरकारले आशा गरेको छ।
अर्कोतिर, सिक्किमसँगै दार्जीलिङ पहाडमा पनि अब ‘हेली टुरिज्म’ शुरू गरिने भएको छ। उत्तर बङ्गालको बाघडुग्रा, कुछबिहार, मालदा अनि सिलगढीमा पवन हंसको सेवा शुरू गर्नलाई सर्वेक्षण भइसकेको र नागरिक उड्डयनका महानिर्देशकबाट अनुमति आउन मात्रै बाँकी रहेको बताइएको छ भने पवन हंस हेलिकप्टर सेवा दार्जीलिङमा पनि शुरू हुने जानकारीमा आएको छ। यसको साथै एसोशिएसन फर कञ्जरभेशन अव् टुरिज्म (एक्ट) का निर्देशक राज बसुले सिक्किम र उत्तर बङ्गालमाझ हेलि-पर्यटन शुरू गर्ने सुझाउ-पत्र बङ्गालका पर्यटन सचिवालयमा दिएको पनि बताइएको छ। यतिमात्र होइन सिक्किम-दार्जीलिङका मनमोहक पहाडहरू र सुन्दर दृश्यलाई हेरेर सिक्किम टुरिज्म अनि बङ्गाल टुरिज्ममाझ सम्झौता गर्ने सुझाव पनि राखिएको छ।
सिक्किम र दार्जीलिङ पहाड त्यसैपनि प्राकृतिक रूपले सुन्दर भएकाले पर्यटकहरूको मन लोभिने गर्छ। अझ माथि उल्लेख पहाडको पर्यटन विकासका पहलहरू सफल भए निश्‍चय देशी-विदेशी पर्यटकहरूको संख्यमा बढेर जाने देखिन्छ। अतः दार्जीलिङ पहाडको पर्यटकीय विकास भनेर अप्रत्यक्ष रूपमा सिक्किमको पर्यटन जगतलाई पनि फाइदा पुग्नु हो। किनभने दार्जीलिङसम्म आइसकेका पर्यटकहरूले दार्जीलिङबाटै कञ्टनजङ्घको मनोरम दृश्यावलोकन त गर्छन् नै, त्यही कञ्चनजङ्घा उभिएको ठाउँसम्म पुग्ने मन कसको नहोला र?
त्यसैले पर्यटनको विकाससितै उनीहरूको सेवा र सुरक्षाको जिम्मेवारी पनि हाम्रो कर्तव्य बन्दछ। सुशिल आचरण, शिष्ट व्यवहार, आतिथ्य सत्कारको पनि खाँचो पर्छ। यसैले जसरी 2010-को विदेशी पर्यटकमाथि भएको घटनालाई ध्यानमा राखेर गोवाले ‘विशेष पर्यटक सुरक्षा बल’ अथवा स्पेशियल टुरिस्ट सेक्युरिटी फोर्स’ सञ्चालन गरिरहेको छ, त्यसको अनुकरण सिक्किम तथा दार्जीलिङले पनि समयमै गरे कसो होला? किनभने घटना कुनै पनि समय हुनसक्छ। आज यहाँ सुख, शन्ति र सुरक्षा छ, तर यसैको फाइदा उठाएर भोलि कुनै अप्रीय घटना हुनसज्ञक्ेदैन भन्न सकिन्न। यसका उदाहरणहरू अघिबाट यी पहाडी भेकहरूमा देख्न थाली सकिएको छ।- 05.07.2013
सहायक केन्द्र निर्देशक कालूसिंह रनपहेंलीसितको कुराकानी

एएसडी कालूसिंह रनपहेंलीः वर्ष 1984-देखि आकाशवाणीसित संलग्न रहेर सेवारत आकाशवाणी गान्तोकका कार्यक्रम निष्पाद कालूसिं रनपहेंलीले भारतीय र्कायक्रम प्रसारण सेवा (इण्डियन ब्रोडकास्टिङ प्रोग्राम सर्विस) अन्तरगत आकाशवाणी गान्तोकको सहायक केन्द्र निर्देशक (एएसडी) को पदभार ग्रहण गरेका छान्। आफ्नो पदोन्नतिपछि एएसडी रनपहेंली भन्छन् -‘‘मान्छेले लगनशील, कर्मशील र समर्पित भएर आफ्नो कर्ममा निरन्तर लागि पर्नसके त्यसको फाल पाइँदो रहेछ। कामको मूल्याङ्कन हुँदो रहेछ।’’
वर्ष 1976 देखि आठ वर्षसम्म कुलैनबारी, सिमकोना कमानमा कार्यरत रनपहेंली 1984-मा आकाशवाणी गान्तोकमा नेपाली उद्घोषकका रूपमा नियुक्त भएका थिए। चार वर्षपछि 1988-मा उनले केन्द्रिय लोक सेवा आयोग (यूपीएससी) परीक्षा उत्तीर्ण गरेपश्‍चात  कार्यक्रम निस्पादक (पीईएक्स)-को पदभार सम्हाल्दै आइरहेका थिए। आकाशवाणी गान्तोकमा कार्यरत रहँदारहँदै उनी वर्ष 1999-मा आकाशवाणी करसाङमा सरुवा भई वर्ष 2005-सम्म कार्यक्रम निष्पादककै पदभार सम्हालेका थिए भने वर्ष 2005-मा फेरि फर्केर आकाशवाणी गान्तोक नै आइपुगेका रनपहेंली 30 जून, 2013-सम्म कार्यक्रम निस्पादक तथा विगत डेड वर्षदेखि केन्द्र अध्यक्ष प्रभारीका रूपमा कार्यरत थिए। आफ्नो लगनशीलता, कर्म निरन्तरता र कार्यमा समर्पित रहनुपछिको कार्यक्षेत्रको सबैभन्दा महत्वपूर्ण उपलब्धीस्वरूप उनलाई 1 जुलाई 2013-देखि भारतीय र्कायक्रम प्रसारण सेवा अन्तरगत आकाशवाणी गान्तोकको सहायक केन्द्र निर्देशकका रूपमा पदोन्नति प्राप्त भएको छ।
आकाशवाणीका कार्यक्रमहरूमा रनपहेंलीः वर्ष 1984-देखि 1988 सम्मा आकाशवाणीका नेपाली उद्घोषक रहेका रनपहेंलीले 1988 पछि कार्यक्रम निस्पादकको पदभार सम्हाल्दै आएपछि विभिन्न रेडिया कार्यक्रमहरूमार्फत श्रोतासम्म पुग्न थालेका हुन्। श्रोताहरूका पत्रमा आधारित कार्यक्रमको थालनी उनैबाट भयो, जसमा स्वयंलाई श्रोतावर्गले साइँला दाइ भनेर चिन्दथे भने उनलाई पछि सहयोग पुर्याउँदै आउने धेरै भएपनि मुख्यरूपमा पूर्णिमा बहिनी (श्रीमती उषा शर्मा) लाई सबैले जान्दछन्। यो पछिबाट ‘कार्यक्रम पत्र मञ्जरी’ भयो जो हालमा माइली दिदी (श्रीमती कल्पना बराइली) द्वारा सञ्चालित छ। उनैद्वारा सञ्चालित अर्को महत्वपूर्ण कार्यक्रम हो ‘कल्पकुञ्ज’। सिक्किमेली साहित्य जगतलाई विकसित गराउनमा ठूलो टेवा पुर्याउन योगदान दिइरहेको कार्यक्रम कल्पकुञ्जको श्रीगणेषमा पनि उनैको योगदान रहेको छ, जो साप्ताहिकरूपमा प्रशारित हुँदै आइरहेको थियो भने हाल पाक्षिकरूपमा प्रशारण हुँदै आइरहेको छ।
यसबाहेक पनि डेड वर्षदेखि केन्द्र अध्यक्ष प्रभारी रहेका उनले आकाशवाणी गान्तोकद्वारा प्रायोजित संगीत सम्मेलन (म्युजिक कर्नसर्ट)-हरूको आयोजन गरेका छन् भने आकाशवाणी गान्तोकमा पहिलो संगीत परीक्षण (म्युजिक अडिशन) कालूसिंह रनपेंलीले नै गराएका थिए। यसबाहेक आकाशवाणी गान्तोकद्वारा प्रशारित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका साथै प्रस्तोताका रूपमा पनि कार्यरत छन् उनी। आकाशवाणी गान्तोकबाहेक आकाशवाणी खरसाङमा पनि उनले श्रोताहरूको मत्रमा आधारित कार्यक्रम ‘डाक पुतली’ प्रशारण शुरू गरेका थिए।
शैक्षिक यात्रामा रनपहेंलीः पश्‍चिम बङ्गालको दार्जीलिङ जिल्ला, खरसाङ महकुमाअन्तरगत लाटपञ्चर कुलैनबारीमा 2 मई 1954-मा स्व. माता लीलावती रनपहेंली र स्व. पिता बीरमानसिंह रनपहेंलीको कोखमा कालूसिंह रनपहेंलीको जन्म भएको हो। उनले आफ्नै गाउँबाट बुनियादी, प्राथमिक र माध्यमिक तहसम्म शिक्षार्जन गरेका थिएभने त्यसपछि स्नातक तहसम्म सन्त जोशेफ कलेजबाट अ नि उत्तर बङ्गाल विश्‍वविद्यालयबाट स्नातकोत्तरको डिग्री प्राप्तद गरेका हुन्।
साहित्यमा कालूसिंह रनपेंहीः एएसडी कालूसिंह रनपहेंलीले आफ्नो सेवाकाल शुरु गर्नअघि नै लेखन कार्य शुरु गरेका हुन्। फलस्वरूप आकाशवाणी गान्तोकमा आफ्नो सेवा दिनसँगसँगै साहित्यमा पनि उनी उत्तिकै लगनशील रहेको प्रमाण अहिलेसम्म प्रकाशित उनका आठवटा कृतिले दिँदछ। यी कृतिहरू हुन् मूल्यन अवमूल्यन (खण्डकाव्य)-1994, युग्मक (युग्मक सङ्ग्रह)-1998, बाँच्नुको क्रम (कविता सङ्ग्रह)-2004, कथा कुटीर (कथा कुटीर सङ्ग्रह)- 2004, यथार्थबोध (कथा सङ्ग्रह)- 2005, फेरि अर्को मेघदूत (लघु काव्य)- 2007, समयको गलबन्दी (कविता सङ्ग्रह)- 2011 अनि प्रश्‍न चिन्ह (कथा सङ्ग्रह)-2011।
यीमध्ये उनको ‘अविस्मृत यात्रा’ कथासहित अन्य रचनाहरू अन्य भाषामा अनुदित छन् भने उनले नाटकमा पनि उत्तिकै कलम चलाएका छन्। उनका एकदर्जन भन्दा अधिक नाटक उनकै प्रस्तुतिमा आकाशवाणी गान्तोक रेडियोद्वारा प्रशारण भइसकेका छन्। नाटक कै सन्दर्भमा कुरा गर्दा उनले 1976-77 मा कुलैनबारीमा कार्यरत रहँदादेखि नै आफैं नाटक लेख्ने र मञ्चन एवं स्वयं अभिनय गर्न थालेका हुन्। यसबाहेक मनबहादुर मुखियाद्वारा लिखित लोकप्रीय नाटक ‘अनि देउराली रुन्छ’, ‘फेरि इचिहास दोहोरिन्छ’, नन्द हाङ्खिमको ‘युद्धहरू’, जस योञ्जन ‘प्यासी’-को  ‘मूर्ति फुटेको मन्दिर’ आदि नाटकहरूमा सफल अभिनय दिएर नाट्य जगतमा लोकप्रियता कमाउन सफल नाटककारका रूपमा पनि उनलाई चिन्न सकिन्छ।
साहित्यका विभिन्न विधाहरूममा सफल कलम चलाइरहेका रनपहंलीले ‘कथुटीर’ छोटी-मीठा र ज्ञानवर्दक कथा लेखन शुरू गरेर कथा लेखनको एउटा नयाँ परिपाटी नै तयार गरिदिएका छन् भने कवितामा पनि समयानुकुल छोटा कविता लेख्ने नयाँ आयाम बसाल्ने क्रममा उनले दुइ हरफे कविता भनेर ‘युग्मक’-को थालनी गर्ने श्रेय उनैलाई जान्छ। युग्मक लेखन अहिले नेपाली साहित्य जगतमा लोकप्रीय बन्दै गइरहेको छ। अतः साहित्यकार रनपहेंलीलाई कथा कुटीर युग्मकका प्रणेता भनेर पनि भारतीय नेपाली साहित्य जगतमा चिन्न सकिन्छ। साहित्यिक पत्रिकाहरूको सम्पादनमा पनि उनको योगदान रहेको पाइन्छ। उनले लिस्नु, स्मारक, नर्थपोइण्ट, स्पर्श आदि पत्रिकाको सम्पादन गरिसकेका छन्।
साङ्गीतिक यात्रामा रनपहेंलीः साहित्य जगतमा आठवटासम्म कृति दिइसकेका कालूसिंह रनपहेंलीको साङ्गीतियक यात्रा सङ्गीत जगतमा पनि उत्तिकै मैलाएको पाइन्छ। उसो त कुरै गर्दा उनको गीत-सङ्गीतको क्षेत्रलाई साहित्यसित तुलना गर्न नमिल्ला, तर योगदान कम छैन। आकाशवाणी गान्तोकमा पहिलो संगीत परीक्षण गराउने कालूसिंह रनपेंलीले धेरै गीतहरू लेखेर ख्याति कमाएका छन्। उनी आकाशवाणीद्वारा मान्यता प्राप्त गीतकार हुन् भने उनका गीतहरूमा रामकृष्ण ढकाल, कुन्ति मोक्तान, देउकुमार दुमी, सुकमित अधिकारी, शान्ति ठटाल, महेश सेवा, प्रसाद रनपहेंली, रीना रनपहेंली, सुनिता गजमेर, बिमला प्रधान, सुनिल मोहरा, राकेश परियार, पेमाल्हमु सेंगा, प्रेमचन्द्र गुरुङ आदिले स्वर दिएका छन्। यीमध्ये शान्ति ठटालको स्वरमा रहेको ‘आधि हुरी...’ अनि देउकुमार दुमी र सुकमित अधिकारीको स्वरमा रहेको ‘घाम देखे घाम राम्रो, जुन देखे जुन...’ प्रचलित रहेका छन्।
पुरस्कारहरूमा रनपहेंलीः वर्ष 1973-मा बुद्धसिंह पुस्तकालय, दार्जीलिङद्वारा आयोजित विराट नेपाली साहित्यिक प्रतियोगितामा ‘कहिल्यै वसन्तमा सिद्धिएको वगैंचा’ कथामा दोस्रो पुरस्कार प्राप्त गरेपछि साहित्यमा उनको कलमले अझि तिखारिने प्रेरणा पाएको थियो। साहित्य क्षेत्रमा उनलाई 1985-मै पहिलो ‘स्रष्टा पुरस्कार’ कथा विधामा प्राप्त भएको थियो भने आकाशवाणीद्वारा ‘टिस्टा रङ्गीत’ सङ्गीतमय रूपकको लागि वर्ष 1990-मा प्रशस्ती-पत्र प्राप्त भएको थियो।  यसरी नै आकाशवाणी वार्षिक पुरस्कार प्रतियोगिता अन्तरगत उनैद्वारा लिखित-निर्देशित रेडियो रूपक ‘पर्यावरण परिवार’ 1994 पुरस्कृत भएको थियो।
यसरी नै वर्ष 2003-मा उनलाई सिलगढीद्वारा ‘उत्तर बंगाल नाट्य पुरस्कार’ प्राप्त भयो भने वर्ष 2005-मा आफैद्वारा लिखित, निर्देशित तथा आफ्नै प्रस्तुतिमा रहेको रेडियो रूपक ‘फेरि अर्को मेघदूत’-लाई राष्ट्रिय स्तरमै द्वितीय पुरस्कार आकाशवाणीद्वारा प्राप्त भयो।
यस बाहेक पनि उनलाई विभिन्न सङ्घ-संस्थाहरूद्वारा अभिनन्दन-पत्र, प्रशस्ती पत्र तथा सम्मान-पत्रहरू प्राप्त भएका छन्। अतः बहूप्रतिभाका धनी कालूसिंह रनपहेंलीसितको कुराकानी युवा भाइबहिनीहरूका लागि अवश्यै प्रेरणादायक रहने आशाका साथमा उनको अझ प्रगतिको कामना राख्दै भर्खरै प्राप्त पदोन्नतिका लागि बधाई दिन चाहन्छु।-(गान्तोक, 6 जुलाई)