सन्दर्भ विदेशीको लाञ्छना
सिक्किममा अहिले राजनैतिक तापको उतार-चढाउ केही साम्य रहेको समय सम्पूर्ण सिक्किमे जातिलाई विदेशीको लाञ्छनासहित सम्पर्ण सिक्किमेको हक आयकर माफीलाई चुनौती दिइएकोले स्थिति निकै चिन्तायुक्त बनेको छ। पहिलेबाट सिक्किमेली नेपालीहरूमाथि लगाएको भनिएको विदेशीको लाञ्छना पछिबाट गएर सम्पूर्ण सिक्किमेली जातिलाई नै विदेशी भनिएको र आयकर माफी खारेज गर्नु भन्ने कुरा प्रकाशमा आयो। यहाँदेखि यो ‘याचिका विवाद’ अझ चर्किएर गयो।
आयकर छुट पाउनुपर्ने सन्दर्भमा एसोसिएसन अव् ओल्ड सेटलर्स अव् सिक्किमले सिक्किमेलीहरू विरूद्ध सर्वोच्च न्यायालयमा गरेको सोही मुद्दाको विरोधमा 11 जुलाईको दिन डेञ्जोङ वेलफेयर एसोसिएसनले राजधानी गान्तोकमा मौन जुलुसको पनि आयोजना गर्यो।
12 जुलाईको दिन उच्चत्तम न्यायालयमा उक्त मामिला सम्बन्धी सुनुवाई र यहाँ याचिकाकर्ताहरूले मामिला फिर्ता नलिए आगामी दिनमा स्थिति तनाउपूर्ण रहने आजको र्यालीपछि वक्ताहरूको कुराबाट प्रष्ट भइसकेको छ। यद्यपि, यहाँ कस्तो पाइला चालिने हो भन्ने कुराको अहिले नै प्रष्ट छैन।
एसोसिएसन अव् ओल्ड सेटलर्स अव् सिक्किमले सर्वोच्च न्यायालयमा जुन मुद्दाको दर्ता गरेको छ, त्यसको विरोधमा 11 जुलाईको दिन डेञ्जोङ वेलफेयर एसोसिएसनद्वारा राजधानीमा निकालिएको मौन जुलुसमा कति सिक्किमेहरूको सहभागिता थियो? यो कुराले यहाँ धेरै महत्व बोकेको हुन्छ। दार्जीलिङमा समग्र नेपाली भाषी गोर्खालीको जातीय अस्तित्व र अस्मिताको लडाईंमा कहाँ, के-के र कस्ता कमजोरीहरू थिए वा छ, जसको कारण ‘सम्पूर्ण गोर्खालीहरूको’ भनिएको आन्दोलन कहाँसम्म पुगिरहेको छ त्यो कसैको अघि लुकेको छैन। अहिले ‘समग्र सिक्किमेलीहरूको’ भनिएको 11 जुलाईको र्यालीले समग्र सिक्किमेलीको शक्ति प्रदर्शन गर्न कति सक्षम भएको छ, त्यो पनि सबैले देखेको विषय हो।
अतः यहाँ वास्तवमै समग्र सिक्किमेलीको पक्षमा बोल्नु र आवाज बुलन्द गर्नु हो भने अनि आफूमाथि लागेको लाञ्छना गलत हो भन्ने प्रमाणित गर्नै हो भने यहाँ दुइवटा कुराको खाँचो देखिन्छ।
पहिलो कुराः कुनै पनि काम गर्नलाई हामी सँधैं भन्छौं, एकलो प्रयासले केही हुँदैन। कम्तिमा अहिले थोपिएको लाञ्छनाले जतिलाई दुखेको छ ती सबैको सहभागिता हुन जरुरी देखिन्छ। नभए 11 जुलाईका दिन आफ्नैहरू शान्ति जुलुसमा उत्रिएको रमिता हेर्नेहरू जुन सङ्ख्यामा थिए, त्यो घटेन भने हामी साँच्चै रमिता मात्रै बन्दैनौं होला र? यहाँ अस्तित्वको पनि कुरा आउँछ। त्यसैले एकता सबैको बल हो, बुझेर रमिते नभएर रमिता देखाउन सक्ने हुनु समूहमा आउनुपर्छ।
दोस्रो कुरा, भर्खरै मात्र विदेशीको लाञ्छनाकै कारण एसोसिएसन अव् ओल्ड सेटलर्स अव् सिक्किमविरूद्ध निकालिएको जुलुसावधि केही अप्रिय घटना भयो। यसले अर्को समस्या सृजना गरिरहेको छ। अतः यहाँ किन बुझिँदैन कि कुनै पनि पाइला टेक्नअघि कहाँ र कसरी टेकिनुपर्ने भनेर? सबैले अनुभव गरिरहेकै कुरा हो जातीय अस्मिता र अस्तित्व अथवा अहिले चलिरहेको विदेशीको लाञ्छना जस्तो जटील समस्याको समाधान सजिलै हुँदैन। यहाँ बौद्धिकको खाँचो पर्छ, बौद्धिक समूहको आवश्यक्ता पर्छ। विधीपूर्वक र न्यायिक ढङ्गमा तर्क राख्नसक्नु नै यहाँ बुद्धिमता हुन्छ।
अब एसोसिएसन अव् ओल्ड सेटलर्स अव् सिक्किमले सिक्किमेलीहरू विरूद्ध सर्वोच्च न्यायालयमा गरेको मुद्दाको विरोधमा डेञ्जोङ वेलफेयर एसोसिएसनले थालेको आन्दोलनलाई सिक्किमेलीहरूले कसरी लिने? त्यो समग्र सिक्किमेलीहरूमाथि नै निर्भर छ। नभए ‘ए! यति त रैछ’ भनिएका कुराहरूमा अझ अरू पनि कुराहरू थपिन्दै जान्छ। सिक्किमेलीहरू आफ्नैहरूको रमिता मात्र हेरी बसे यहाँ केही हुनेवाला छैन।
12.07.2012
No comments:
Post a Comment