पहाडमा फेरि भनिन्दैछ जीटीए गो व्याक
फेरि एकपल्ट पहाडभरि नै गोर्खाल्याण्डको आवाज चर्किन थालेको छ, जीटीए (गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिस्ट्रेशन)-को विरोध हुन थालेको छ। विद्यार्थी र युवावर्ग सडकमा उत्रिन थालेका छन्। वजट र विकासमा भुलिन थालेको पहाडलाई फेरि आफ्नो अस्तित्व र अस्मिताको लडाईमा उठ्न लगाइरहेको छ युवामोर्चाले, माटोको लडाईमा एकवद्ध हुने आव्हान गरिरहेको छ।
भारतीय गोर्खाहरूको जातीय अस्मिता र अस्तितसितै छुट्टै राज्य गोर्ख्याल्याण्ड मात्रै हाम्रो हाम्रो उद्देश्य हो भनेर अस्तित्वमा आएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) धेरै सङ्घर्ष गरिसकेको छ। 1986-को गोर्खाल्याण्ड आन्दोलनको रेकर्ड आफैमा एक इतिहाँस नमेटिने भएपनि गोजमुमोले लडेको गोर्खाल्याण्ड आन्दोलनमा पनि मोर्चाले धेरै योद्धा गुमाउनु परेको इतिहासले बिर्सिने छैन। रगतले माटो भिजेपछि यति सजिलै ओबानो हुँदैन पनि।
यति हुँदाँहुँदै गोजमुमोले ‘गोर्खाल्याणसम्म पुग्ने सिँढी’ भनेर जीटीएमा त्रिपक्षीय सम्झौता गर्यो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले डमरूको उपमा दिएर छैटौं अनुसूची थापे पनि त्यो बाघ (गोर्खाल्याण्ड) हुन नसकेको कथा जस्तै यथार्थ सबैलाई थाहा नभएको होइन। तरै पनि पहाडवासीले एकपल्ट गोजमुमोको ‘गोर्खाल्याणसम्म पुग्ने सिँढी’-लाई विश्वास गरेका थिए। खोइ त त्यो जनमानसले गरेको विश्वासको त्यान्द्रो? खोइ त बीर गोर्खालीको आफ्नो माटो? खोइ त गोर्खालीको अस्तित्व र अस्मिता? सबै विकाससितै साटियो? उसो भए किन बगाइयो त रगत, माटो भिजाउनलाई? सायद यस्तै प्रश्नहरू बोकेर पहाडमा फेरि गोजमुमोकै निर्देशमा रहेको गोजविमो (गोर्खा जनमुक्ति विद्यार्थी) र गोजयुमो (गोर्खा जनमुक्ति युवा मोर्चा) सडकमा उत्रिन शुरू गरेको छ।
जीटीए रद्द गर्नुपर्ने माग गर्दै युवा अनि विद्यार्थी मोर्चाले जीटीए र विकास होइन, गोर्खाल्याण्ड चाहिन्छ भनेर स्पष्ट रूपमा बताइसकेको छ। छुट्टै राज्यले मात्र सबै समस्याको समाधान हुन्छ जीटीए अथवा पहाडको विकासले हाम्रो समस्या समाधान हुँदैन भन्ने उनीहरूको अडान छ। उनीहरूको यस अडानलाई गोटाफो (गोर्खाल्याण्ड टास्क फोर्स)-ले पनि स्वागत जनाइसकेको छ। यतिमात्रै होइन अघिबाटै एकोहोरो गोर्खाल्याण्ड-गोर्खाल्याण्ड भन्दै देशका विभिन्न प्रान्तमा दौडाहा गरिरहेको गोटाफोले ययरी अचानक मोर्चाकै भातृ सङ्गठनहरूले जीटीएको विरोध गोर्खाल्याण्डको मागमा आवाज उठाउन थालेपछि अब यहाँ कुनै राजनैतिक वैमनष्यता नरहेको बताइरहेको छ। अब हामी एकसाथ काम गर्न सक्छौं भन्ने गोटाफोको भनाइ छ।
युवा तथा विद्यार्थी मोर्चाको बुलन्द आवाज एकातिर जुञ्जन थालेको छ भने यस्तै बैला अलग राज्य गोर्खाल्याण्ड गठनको मागमाथि केन्द्र सरकारलाई चाप दिने उद्देश्यले आजै मात्र गोर्खा जनमुक्ति मोर्चाका 6 सदस्यीय शीर्ष टोली दिल्ली प्रस्थान गरिसकेको छ। यता, गोरामुमोले भने एकातिर गोजमुमोको शीर्ष नेतृत्वले मुख्यमन्त्री ममता ब्यानर्जीलाई दार्जीलिङमा भव्य स्वागत जनाउँदै जीटीएको निम्ति द्विपक्षीय वार्ता गर्ने, अर्कोतर्फ यसै व्यवस्थाको विरोधमा विमो र युमोले सडकमा ओरालेर नाराबाजी गर्ने दोधारे नीतिबाट जोगिन पर्ने अपील गरिरहेको छ। उता ‘जीटीए मरिकाट्टे छोड्दिनँ’ भनेर अघिबाटै मोर्चाप्रमुख विमलले भनिसकेका छन् भने महासचिव रोशन गिरीको नेतृत्वमा गएको यस टोलीले जीटीए होइन गोर्खाल्याण्डको मागलाई चाप दिनलाई नै केन्द्रिय गृहमन्त्री सुशिलकुमार शिन्देसित भेट्ने भएको छ। के यसबाजी मोर्चाको टोलीले सफलताको संकेतमात्रै पनि बोकेर ल्याउला? पर्खनु छ। जीटीए सम्झौता भएको ठीक दुइवर्ष पुग्दा अचानक मोर्चाकै भातृ सङ्गठन विद्यार्थी र युवा मोर्चाले केन्द्रिय सङ्गठनले स्वीकार गरिरहेको जीटीए र विकासको आलोचना गर्नु वास्तवमै कुनै अभिनय त होइन होला नि! मानिसहरूले आशा पनि साँचैकै छन्। मोर्चाको इमान्दारिता र गोटाफोले भनेझैं एकसाथ काम गर्नुपर्ने देखिन्छ।
19.07.2013
No comments:
Post a Comment