सन्दर्भः युवा जागरण अभियान
जुलाई महिनामा सत्तारूढ एसडीएफ पार्टीद्वारा राज्यव्यापि रूपमा सञ्चालन भइरहेको युवा जागरण कार्यक्रम खुबै महत्वपूर्ण प्रमाणित भइरहेको छ। राज्यका युवावर्गलाई समाज विकासमा निर्वाह गर्न सकिने कुराहरूमाथि सचेत र जागरूक गराउने मुख्य उद्देश्य राखेर शुरू गरिएको कार्यक्रमले युवाहरूलाई जागरूक मात्र नगराएर गाउँ-घरका समस्या-कष्ट र जनगुनासोहरूलाई पनि प्रकाशमा ल्याउने काम गरिरहेको छ। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङको निर्देशमा युवाहरूलाई जागरूक गराउन राज्यभरि थालिएको यस अभियानले राज्यमा प्रजातन्त्र कतिसम्म छ? भन्ने कुराको पनि प्रमाण दिएको छ। राज्यभरि चलिरहेको यस कार्यक्रममा विशेष त युवा जमातलाई नै केन्द्रित गरिएको छ अनि उनीहरूलाई आफ्नो गाउँ-समाजका कुराहरू खुल्ला रूपमा राख्ने स्वतन्त्रता दिइएको छ। यहाँ कसैले पनि कुनै पनि प्रकारका कुराहरू राख्न पाउनु युवा जागरण अभियानको विशेषता रहेको छ। फलतः युवावर्गले पनि निशंकोच आफ्ना कुराहरू राखिरहेका छन्।
राज्यमा आम नागरिकको अधिकार कतिसम्म प्राप्त भइरहेको छ, के-कति कुराहरू भाषणमै मात्र सीमित रहेका छन्, विकासका योजनाहरू कागजमै मात्र कतिसम्म रहेका छन् अथवा मौखिक रूपमा मात्र कतिसम्म प्राप्त छन् आदि कुराहरू यहाँ युवावर्गले खुलस्त गरी राख्न सकिरहेका छन्। यहाँ को साना र को ठूला हुन् भन्ने कुरा भन्दा सत्य र न्याय के-कतिसम्म भइरहेका छन् भन्ने कुराहरू मानिसहरूले निर्धक्क पोखिरहेका छन्।
‘मैले बोल्दा यहाँ विधायक रिसाउनेछन्, पञ्चायत रिसाउने छन्’ जस्ता कुराहरूलाई पर सारेर अहिले कसले? कसलाई? कहिले? कस्ता? आश्वासनका वचनहरू राखेर आश्वासन मै मात्र सीमित राखेका छन् अनि आम नागरिकले पाउनु पर्ने अधिकार वा सहुलियत र विकासका कुराहरूबाट को र कहाँबा कसरी वञ्चित छन् भन्ने सिधा प्रश्नहरू पनि राखिरहेका छन्। गाउँ-घरमा रहेका कमी-कमजोरीका कुराहरू मात्र होइन भइरहेका विकासका कुराहरू त छँदैछन्। तर यसरी राम्रा कुराहरूका साथै युवाजमात तथा आम जनताले आफ्ना कुराहरू खुलस्त राख्न सक्नु वर्तमान सरकारले दिएको स्वतन्त्रता मान्न सकिन्छ, यहाँको प्रजातान्त्रिक प्रणालीको परिणाम मान्न सकिन्छ।
यसबाट अर्को महत्वपूर्ण कुरा के देखिएको छ भने, सँधै आम नागरिक र समाजको निम्ति समर्पित छु भनेर जसले आफैमा ठोकुवा गरिरहेका छन् उनीहरूमध्ये पनि को-कति पानीमाथिको ओभानो हुने काम गरिरहेका छन् भन्ने पनि प्रष्ट भइरहेको छ। अर्को कुरा दुइ किनारामाझको साँघु भएर विस्वासको पात्र बन्न चाहने र आफ्नै सजाउनमा रम्नेहरूको कमी-कमजोरीहरू पनि खोतलिन थालेको देखिन्छ भने आम नागरिकलाई कसरी भ्रममा राखिन्छ भन्ने पोल पनि खोलिन थालेको छ।
यस अभियानबाट राज्यका आम नागरिक पनि धेरै सचेत भइसकेका छन्, मञ्चमा उभिएर बोल्न सक्ने भइसकेका छन्, ज्यू-नमस्कार गर्न जान्दछन् तर अन्यायमा आवाज पनि खुलस्त राख्न सक्ने भएका छन् भन्ने पनि बुझ्न सकिन्छ। आफ्नै अघि आफ्नै पोल कसैले निर्धक्क खोलिदिँदा ‘हो..! होइन...!’ केही नभनी सुनेको नसुने झैं बस्ने बनाइरहेछन् युवाहरूले।
समग्रमा के भन्न सकिन्छ भने, राज्यमा सबैनै धेरै बाठा भइसकेका छन्। सबै बोल्न सक्ने भइसकेका छन्। जागरूक भइरहेका छन् सबै। यसले पनि प्रष्ट पार्छ यहाँको स्वतन्त्रता र यहाँका प्रजातन्त्र। अतः समाजका नेतृत्ववर्गले अबउसो कसरी काम गर्नुपर्ने हो, त्यो पनि खुलस्त भइसकेको छ। अबको समय पानीमाथिको ओबानो हुनसकिने समय छैन भन्ने कुराको अनुमान पनि लगाउन सकिन्छ। तर युवा जागरण अभियान अन्तरगत खोलिएका पोल वा पोखाइएका गुनासोहरूलाई कसैले पनि नकारात्मक रूपमा लिनेछैनन् वा प्रतिशोधका भावना मनमा लिनेछैनन् भन्ने विश्वास छ। नभए यसले फेरि समाजमा एउटा ठूलो भ्वाङ् पार्न सक्छ। समाज सुधार्न चाहँदा चाहँदै पनि उल्टै अझ बिग्रन सक्छ। समाज भनेको हामी बाग्रन सक्छौं।
26.07.2013
No comments:
Post a Comment