सारिका राई '‘याद’
रमा हिजो राती नै भागिछ
रात निकै छिप्पिसकेको छ, सून्य कोठामा रमा निदाउन सकेकी थिइन। छेउमा पाँच वर्षकी छोरी अघिनै निद्रा देवीको काखमा लुडपुटिसकेकी छ। दिनभरि उफ्रिएकीले सायद थकाई लागेको छ स्मृतिलाई। रमाको घरलाई उज्यालो स्मृतिले नै बनाएकी छ। उही स्मृति नै त बाँच्ने एउटै सहारा हो रमाको। तर अहिले उसलाई यस्ता केही कुराको पनि ध्यान छैन, स्मृतिको पनि। उ त बस आफ्नो अतीतमा डुबेकी छ।
कति रमाइलो थियो त्यही कोठा, जतिबेला प्रकाश र म सँगै हाँसखेल गथ्यौं, रमाउथ्यौं अनि भविष्यका सुनौला-सुनौला सपनाहरू सजाउँथ्यौं। हामी दुवैको हातमा सरकारी नोकरी थियो। नपुग्दो थिएन केही। त्यस समय हामीहरूलाई चिन्ता थियो त स्मृतिको भविष्यको, उसको पढाईको। बस जीवनलाई सही गोरेटोमा दोहोर्याउनु मात्रै त थियो। हाम्रो जीवन सुखमय थियो, वर्षदिनपछि स्मृतिले संसारमा पाइला टेक्दा जीवनमा अझ थप खुशी थपिदिएको थियो।’
तर जीवनमा स्थीर भन्ने के रहेछ र? जीवन स्वंय त यहाँ क्षणिक छ भन्ने त्यही जीवनमा आउने परिवर्तनशील दुःख र सुख के नै स्थीर रहदो रहेछ र? रमाको जीवनमा पनि त्यस्तै भयो। रमालाई के थाहा उसको त्यस सुखमय क्षणिक हुन्छ भनेर। के थाहा उसलाई उसको सानो र सुखी संसारमा अचानाक अन्धकार छाउन सक्छ भनेर। सुखको अनुभव गर्दागर्दै सुखमय भविष्यको सपना बुन्दा-बुन्दै यत्रो ठूलो संसारमा प्रकाशले उसलाई एक्लो बनाई गयो स्मृतिको भार सुम्पिएर। त्यसपछि भने रमाले स्मृतिको आमा र बाबा दुवैको भूमिका निर्वाह गरिरहेकी छ।
---
आज भन्दै र भोली भन्दै स्मृति पाँच वर्षकी भइसकी, तर उसलाई आफ्नो पिताको केही ज्ञान छैन। एकदिन स्कूलमा भर्खर आएकी नयाँ गुरुमावे स्मृति तिम्रो बाबाको नाम के हो?’ भनेेर प्रश्न गर्दा थाहा छैन’ भनि दिन्छे। बेललुकी त्यही प्रश्न घरमा आमालाई गर्छे उसले। रमाले जवाबमा भनिदिन्छे नानु तिम्रो बाबा भगवानको घरमा जानु भएको छ।’ सायद आमाको जवाबले उसको चित्त बुझ्यो या केही पनि बुझिन उसले। तर आफ्नै धुनमा खेल्न थाल्छे स्मृति। कुनै दोहोरो प्रश्न गरिन उसलाई जस्तो की उसलाई थाहा छ, भगवानको घर कहाँ छ। उसले यो पनि सोधिन कि उसका पिता कहिले फर्किएर आउने हो भगवानको घरबाट। बेलुकीको खाना खाएपछि ओछ्यानमा पसेकी स्मृति अहिले निन्द्रामा छे।
रमालाई छोरीको त्यही प्रश्नले कता-कता मनको एक कुनामा काँडाले झैं च्वास्स घोचेको अनुभव भयो। उसको मन त्यसै छियाः छियाः भएर आयो। आज प्रकाशको आवश्यकता बालख छोरीलाई छ। छोरीलाई मात्र कहाँ हो र रमालाई पनि एक पतिको साथ चाहिएकै छ नि। पतिको साहारा छुटेपछि उ कति एकली भएकी छ यो संसारमा? उसैले मात्र अनुभव गरेकी छ। सायद उसले यो कुराको अनुभव धेरै पल्ट गरेकी छ उसले।
---
स्मृतिलाई उसको पिता र उसलाई पतिको साथ चाहिएको छ। दुइतीनपल्ट उसले देखेकी छ साथीहरूसँग स्मृति खेल्दाखेल्दै झगडा गर्दा साथीहरूलाई- तेरो बाउ’ भनिदिएको। त्यतीबेका उसले आफ्नी छोरीलाई -तेरो त झन बाउ पनि छैन’ भनेको सुन्दा रमाको मनमा नरमाइलो लागेको थियो सायद। दुइ-तीन दिनपछि मात्रै त हो, म उसको घरमा अचानक पुगे। टीभी खोलेर हेर्दै थिई। हतार साथ बन्द गरी र अत्तालिएको जस्तो ए...म...त को पो रहेछ भनेको आउन भित्रै’ भनिन्। मैले केही बुझिनँ, किन यसरी अत्तालिएकी थिइन् ऊ, या फेरि किन त्यस्तो लाग्यो मलाई। तर उसले झट्ट कानेखुशी गरिहाली होइन कि! एउटा क्यासेट हेर्दै थिएँ नि त ड़ीभीटीमा।’
ए...!’ मात्रै भने मैले पनि। तर सोधिन कस्तो क्यासेट भनेर। सायद चलचित्र हेरिरहेकी थिई।
रमाले भनेकी थिई हिजै मात्रै- बैनी हेरन यो संसारमा एक्लो बाँच्नु धेरै कठिन रहेछ। समाजको डर लाग्छ तर समाज हेरेर पनि त जीवन त्यतिकै पूरा नहुँदो रहेछ। छोरीलाई पनि उसको बाबा चाहिएको छ र मलाई पनि पति। सोंच्छु फेरि विवाह गरौं कि भनेर।’ मैले उसलाई केही जवाब दिनु सकिन। चिया बनाउँछु ल, नून कि चिनी?’ भन्दै सिलिण्डर ग्याँसचुला बाली।
चिनी...!’ छोटो उत्तर दिएँ मैले। पानीमा तीन चम्चीजति चिनी लगाएर उमाल्न थाली उ। म उसको टीभीको छेउमा राखेको क्यासेटहरू हेर्न थालें देउता, भाइभाइ, वाण्टेड, जुली, शिखा, रेश थुप्रै हिन्दी र नेपाली चलचित्रका क्यासेटहरू रहेछन्। सबैभन्दा मुनिपटि खोलमात्र रहेछ। क्यासेट सायद डीभीडी प्लेयरभित्रै हुनुपर्छ। अलि अप्ठ्यारो लाग्यो हेरेर। हतार-हतार राखिदिएँ। म आउँदा हतार गरी टीभी बन्द गरिनुको कारण र ए...म..त..को रहेछ भनेर नि’ भन्नुको अर्थ लगाएँ। सायद मैले क्यासेटहरू हेरेको थाहा पाई उसले। लेउ चियासित बिस्कुट पनि खाउ है’ भन्दै टेबलमा राखिदिइ। उसले अनि भन्न थाली - के गर्नु र मन भुलाउनै पर्छ। रातभरि पनि कोही -कोही बेला त पिक्चरहरू हेर्यो, आधिरात जान्छ अनि मात्र सुत्छु।’
हो नि।’ मैले छोटो उत्तर दिएँ। उमेरले म अलिक कान्छो हुँ। तर हाम्रो सम्बन्धको साइनो थिएन। उ अझै भन्दै थिई- हुन त खानु-लगाउनु केही खाँचो छैन। तर साँच्चै एउटा सहाराको खाँचो पर्दोरहेछ। यस्तै अनुभव गर्न थालेकी छु म।’ उ अझ भन्दैथिइ- फेरि अझै त जवानै छु, उमेर ढलेको छैन। इच्छाहरू मनभरि छन्, रूपरङ छँदैछ। सबै कुरालाई मनमा नै किन मार्नु जस्तो लाग्छ।’ मनमा धेरै कुरा धेरै अघिदेखि कसैलाई भन्न नपाएर गुम्सिरहेको थियो सायद उसको। उ अझ बोलिरहेकी थिई- मान्छेहरू तिम्रो पढाईअनुसार यति राम्रो नोकरी छ, फूलजस्तै छोरी छे। उसको भविश्य सोंच, छोरीको मुख हेरेर बस्नु भन्छन्। तर यति मात्र त होइन नी हाम्रो जीवन होइन र? खानु-लाउनुदेखि पर केही छैन र संसारमा?’ मलाइ पुलुक्कै हेर्दै प्रश्न गरेकी थिइ। तर मैले जवाब दिनअघि नै फेरि उसैले भनी- तर अर्को मनले सोंच्छु मैले अर्को विवाह गरेंभने स्मृतिको भविष्य मैले सोंचेजस्तो होला के त? अनि प्रकाशको आत्माले पनि त मलाई धिक्कार्छ होला, उसँग विवाह गर्नअघि जीवनभरि र जीवनपछि पनि यो शरीर, यो मन जन्म-जन्मलाई एकार्काकै हुनेछ, अरुको हुनेछैनौं भनी कसम खाएका थियौं।’
यसरी लामो कुराकानीपछि चिया पिइसकेर म फर्किएँ। म सोच्छु नारी र पुरुष दुवैले यो समाज सजिएको छ। तर किन दुवैलाई बराबरीको अधिकार छैन। एकजना पुरुषले पत्नीशोकमा परेको महिनादिन नबित्दै अर्को भित्रयाउदा समाज रमितामात्र हेर्छ, तर एउटी नारीले शतित्वमा बाँच्नुपर्ने, किन यस्तो अन्याय हे भगवान! नारी जातिलाई किन यस्तो अन्याय? तर मेरो प्रश्नको जवाब भगवानले कहाँ दिन्छ त यहाँ आएर। यो समाज त हामीले बनाएका हौं र समाजको रीति-रिवाज, परम्परा, प्रथा, धर्म-कर्म, जाती सबै त हामीले नै बनाएका हौं। फेरि हामी भन्छौं जहाँ नारीको पूजा हुन्छ त्यहाँ, सुख शान्ति हुन्छ। तर जब नारी स्वयं दुखी छ भने? यो प्रश्न हामी सबैको मनमा खटकिएकै छ। म सोंच्छु -रमाले यो समाजको पर्वाह नगरी विवाह गर्नुपर्छ। आफ्नो इच्छा आकांक्षालाई मार्नु हुँदैन त्यसै। प्रकाशको सम्झना गरेरै मात्र हुँदैन रमा तिमीले। तिमीले ठिकै भनेकी थियौ यो समाजले के भन्ला? तर समाज हाम्रो हो र हामीले यहाँ आवश्यक ढाँचालाई परिवर्तन गर्नु सक्नुपर्छ।’
---
यो सून्य रातमा स्मृतिलाई छेउमा राखेर कल्पनाको सागरमा डुबेकी रमासरह आज उसको कुरा र उसको ययार्थले मलाई पनि सुत्नु दिएको छैन। सायद यतिबेला रमा मेरो विपरीत सोच्दी हुन् - म प्रकाशलाई दिएको बाचा-कसम तोडदिन, तिमीसितको माया-प्रेम सँधैं अमर-अजर राख्नेछु। हामीबीच कोही आउन सक्दैन। तिम्रो सम्झनामा नै यो जीवन म बिताई दिनेछु। हो प्रकाश हामी दुइको प्रेमको स्मृति हाम्री छोरीलाई हेरेर म बाँकी जीवन बिताउने छु।’ यस्तै-यस्तै के-के सोच्दी हुन्। मेरो र उसको सोचाई नमिल्न पनि त सक्छ। मान्छे सबै एकै कहाँ हुन्छन् र? अब भने निन्द्राले छोप्न थाल्यो मलाई। झ्यालको पर्दा तानेर चियाई हेरें। अहिले रमाको कोठाको बत्ति निभेछ। सायद सुतिसकी ऊ। म पनि निदाउने प्रयास गर्दै थिएँ, कता-कता भाले बासेको सुनें।
भभभ
एक झप्को निधाएर मात्रै उठेकी थिएँ सायद, छ्याङ्ङ उज्यालो भइसकेछ। हतार-हतार बिहानको कामतिर लागें चिया-खाजा बनाउन। नभए फेरि रोहितलाई डिउटी जान अबेर हुन्छ, म पनि बजारमा जानु छ।
---
रोहितसित दुइ-तीनपल्ट यहाँ आएको थियो उसको साथी दीपक। बेलुका रोहितले खबर ल्याएछ, रमा स्मृतिलाई लिएर दीपकसित हिजो राती नै भागिछ।
No comments:
Post a Comment