Thursday, July 11, 2013

पहाडको पर्यटकीय परिवेश

राजनैतिक परिवेशको कारण दार्जीलिङ पर्यटकीय दृष्टिले कहिलेकाँही धरमराउने भएपनि अहिले पहाडको पर्यटनले निकै ठूलो आशा स्वास फेरिरहेको सबैले अनुभव गरिरहेको छ। उसो त पहाडको राजनैतिक परिवेशलाई हेरिनु हो भने एकातिर पञ्चायत चुनाउलाई केन्द्र गरी सत्तारुड पार्टी गोजमुमो तपाई-डुवर्सवासीलाई फकाउनतिर लागिरहेको छ भने यता गोरामुमो यसैको फाइदा उठाई पहाड चडिरहेको छ। गोजमुमोले पहाडको विकास र मुख्यगरी पर्यटकीय क्षेत्रहरूको विकासमा पहल गरिरहेको सर्वविदित रहेको भएपनि यसले अथ लामो स्वास फरिरहेको प्रष्टै हुन्छ बीबीसी वर्ल्ड र राज्यबीच भएको सम्झौता अनि दार्जीलिङमा पनि पर्यटकहरूलाई नै ध्यानमा राखेर पवन हन्स सेवा शुरू गरिने कुराले। अतः मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडलाई ‘स्वीट्जरल्याण्ड’ बनाउने जुन संकल्प लिएकी थिइन्, त्यो पूरा हुने आम मानिसले आशा गर्न थालेका छन्।
पश्‍चिम बंगाल सरकारले राज्यको पर्यटन क्षेत्रलाई अझै विकासको मार्गमा अघि बढाउन अन्तर्राष्ट्रिय प्रसार माध्यम बीबीसी वर्ल्डसँग एउटा सम्झौता गरेको छ। यस सम्झौताअनुसार, बीबीसी वर्ल्डले पश्‍चिम बंगालको पर्यटन क्षेत्रका विभिन्न आकर्षणहरूलाई दैनिक 4 देखि 5 पल्ट 30 मिनटसम्म प्रसारण गर्ने समाचार केही दिनअघि मात्रै प्रकाशमा आएको थियो। यसमा पश्‍चिम बंगालमाथि 15 मिनटको वृत्तचित्र, उत्तर बंगालको पार्वत्य क्षेत्रको विशाल पर्वत श्रृंखलाको प्रदर्शनी, सुन्दर वन-जङ्गलको सुन्दरता, कलकत्ताको मिश्रित संस्कृति र ग्रामीण जीवनशैलीका साथै दुर्गापूजा उत्सव आदि मुख्यरूपले संलग्न रहने पनि उक्त सम्झौतामा उल्लेख गरिएका छन्। जुलाई 2013 देखि नै यसको छायांकन पनि शुरू गरिने भएको थियो। प्राथमिक चरणमा यस कार्यक्रमलाई बीबीसी वर्ल्डले अमेरिका, पश्‍चिम युरोप, मिडल इष्ट र साउथइष्ट एशियाका आदि स्थानमा प्रसारण गर्ने भएको छ। यस कार्यक्रमको सफलतापछिनै यसलाई विश्‍वका अन्य स्थानहरूमा पनि प्रसारण गरिने बताइएको छ। बीबीसी वर्ल्डबाट यस कार्यक्रमको प्रसारण शुरू भएपछि पश्‍चिम बंगालसँगै दार्जीलिङ पहाडी इलाका पनि विश्‍वमै आकर्षणको केन्द्र बन्नसक्ने अनुमान लगाउन थालिएको छ। निश्‍चय यसले यहाँको पर्यटन क्षेत्र अझै मौलिएर जाने राज्य सरकारले आशा गरेको छ।
अर्कोतिर, सिक्किमसँगै दार्जीलिङ पहाडमा पनि अब ‘हेली टुरिज्म’ शुरू गरिने भएको छ। उत्तर बङ्गालको बाघडुग्रा, कुछबिहार, मालदा अनि सिलगढीमा पवन हंसको सेवा शुरू गर्नलाई सर्वेक्षण भइसकेको र नागरिक उड्डयनका महानिर्देशकबाट अनुमति आउन मात्रै बाँकी रहेको बताइएको छ भने पवन हंस हेलिकप्टर सेवा दार्जीलिङमा पनि शुरू हुने जानकारीमा आएको छ। यसको साथै एसोशिएसन फर कञ्जरभेशन अव् टुरिज्म (एक्ट) का निर्देशक राज बसुले सिक्किम र उत्तर बङ्गालमाझ हेलि-पर्यटन शुरू गर्ने सुझाउ-पत्र बङ्गालका पर्यटन सचिवालयमा दिएको पनि बताइएको छ। यतिमात्र होइन सिक्किम-दार्जीलिङका मनमोहक पहाडहरू र सुन्दर दृश्यलाई हेरेर सिक्किम टुरिज्म अनि बङ्गाल टुरिज्ममाझ सम्झौता गर्ने सुझाव पनि राखिएको छ।
सिक्किम र दार्जीलिङ पहाड त्यसैपनि प्राकृतिक रूपले सुन्दर भएकाले पर्यटकहरूको मन लोभिने गर्छ। अझ माथि उल्लेख पहाडको पर्यटन विकासका पहलहरू सफल भए निश्‍चय देशी-विदेशी पर्यटकहरूको संख्यमा बढेर जाने देखिन्छ। अतः दार्जीलिङ पहाडको पर्यटकीय विकास भनेर अप्रत्यक्ष रूपमा सिक्किमको पर्यटन जगतलाई पनि फाइदा पुग्नु हो। किनभने दार्जीलिङसम्म आइसकेका पर्यटकहरूले दार्जीलिङबाटै कञ्टनजङ्घको मनोरम दृश्यावलोकन त गर्छन् नै, त्यही कञ्चनजङ्घा उभिएको ठाउँसम्म पुग्ने मन कसको नहोला र?
त्यसैले पर्यटनको विकाससितै उनीहरूको सेवा र सुरक्षाको जिम्मेवारी पनि हाम्रो कर्तव्य बन्दछ। सुशिल आचरण, शिष्ट व्यवहार, आतिथ्य सत्कारको पनि खाँचो पर्छ। यसैले जसरी 2010-को विदेशी पर्यटकमाथि भएको घटनालाई ध्यानमा राखेर गोवाले ‘विशेष पर्यटक सुरक्षा बल’ अथवा स्पेशियल टुरिस्ट सेक्युरिटी फोर्स’ सञ्चालन गरिरहेको छ, त्यसको अनुकरण सिक्किम तथा दार्जीलिङले पनि समयमै गरे कसो होला? किनभने घटना कुनै पनि समय हुनसक्छ। आज यहाँ सुख, शन्ति र सुरक्षा छ, तर यसैको फाइदा उठाएर भोलि कुनै अप्रीय घटना हुनसज्ञक्ेदैन भन्न सकिन्न। यसका उदाहरणहरू अघिबाट यी पहाडी भेकहरूमा देख्न थाली सकिएको छ।- 05.07.2013

No comments:

Post a Comment