Wednesday, November 26, 2014

हाम्रो समाजमा बलात्कारको घटना

राज्यलाई देशकै शान्तिप्रिय राज्य भनेर जानिँदै आइरहेका भए पनि देशका विभिन्न राज्य, विभिन्न स्थान जस्तै सिक्किम घरिघरि विभिन्न घटनाहरूले अशान्त बनिरहेको छ। कहिले राजनीतिक विशमताले राज्य अशान्त बनाउँछ। कहिले राजनीतिको नाममा असामाजिक तत्वहरूले यहाँले शान्ति शृङ्खला भताभुङ्ग पारिदिन्छ त कहिले राज्य विकास र उन्नतिकै विरोधमा पनि झुटा आरोप-प्रत्यारोपहरू लगाइरहेका हुन्छन्। जसै भए पनि अशान्त बनिदिन्छ राज्य। त्यसको प्रतिफल भोग्नु पर्ने भनेको राज्यवासीले नै हो। तर, यो भन्दा पनि बलात्कार जस्ता घटनाहरूले देशका अन्य राज्यहरू सरह सिक्किम पनि टाडा रहन सकेको छैन। राज्य र राज्यवासी भयभित छ।
राज्य होस या देशका अन्य कुनै भाग, बलात्कारको घटना कुनै नयाँ विषय होइन। कोही महिला वा युवती मात्र नभएर बालिकाहरूसम्म बलात्कृत भएको कुराले मानिसहरूलाई उत्ति अचम्भित नपार्न सक्छ। आफन्तबीच या शिक्षक-छात्राबीचका यस्ता घटनाहरू पनि मानिसहरूमाझ धेरै आइसकेका छन्। प्रत्येक दिन समाचार पत्रका पानाहरूमा आउने गरेको पाइन्छ।
विकृत र पश्‍चिमीपनाको अनुकरण हुँदै गइरहेको समाज, विकसित बन्दै गइरहेको विज्ञान तथा प्रौद्योगिकीको प्रयोग, इन्टरनेट, बहुसुविधायुक्त मोबाइल फोन, अभिभावकद्वारा उपलब्ध गराइने सबै सुविधा र विद्यार्थी वा युवाहरूद्वारा ती सबैको गतल प्रयोगले समाज विकृतितिर अग्रसर रहेको कुरा सबैलाई अवगत भएको विषय हो। यस्ता कुराहरूबाट युवाहरूलाई जोगाउनु पर्छ, उनीहरूलाई मार्ग दर्शन प्रदान गर्नु र सही दिशामा अग्रसर गराइनु पर्छ भन्ने कुरामा समाज सचेत नभएको पनि होइन।
हामी हरेक कुरामा हाम्रै संस्कृति, हाम्रै परम्परा र हाम्रैपनामा बाँच्न र बँचाउन चाहन्छौं। यस्ता सबै हाम्रोपना हामी हाम्रै बुजुर्गहरूबाट सिक्छौं। भाडिँदै गइरहेको समाजलाई सही दिशामा डोहोर्‍याउने जिम्मेवारी आजका शिक्षित जमातमा जति योगदान हुन्छ हाम्रो संस्कृति, हाम्रो परम्परा र समाजको उत्तिकै अभिभारा हुन्छ। हाम्रो संस्कृति, परम्परा र समाजले सिकाउने भनेको त्यही नै हो जो हाम्रा पूर्खाहरूले सिकाउँदै आएका छन्, हाम्रा पूर्वज, हाम्रा बुजुर्गहरूले सिकाउँदै आएका छन्। त्यसैले उनीहरू हाम्रा अभिभावक हुन्, हाम्रो जीवनका आधार पनि हुन्। यसैले त हामी कस्तै परिस्थितिमा पनि आफ्ना अभिभावकलाई जति कसैलाई विश्‍वास गर्न सक्दैनौं।
तर, यहाँ एउटी शिशु, एउटी नाबालिका आफ्नै मामा, आफ्नै पिता, आफ्नै शिक्षकसित मात्र होइन तर आफ्नै बाजेसित पनि बलात्कृत हुन थालेका छन्। यसो भएपछि अब कसले कसलाई विश्‍वास गर्नु? राज्य र राज्यबाहिर यसअघि बलात्कारका घटनाहरू नभए नभएका होइनन्। यस्तै घटनाहरूलाई आफ्ना छोरा-छोरीहरू कसरी सुरक्षित राख्ने भन्ने प्रश्‍नले चिन्तित पारिरहेको समय घरैभित्र चिचिला नाबालिकाहरू बलात्कृत हुनथालेपछि ती बालिकाहरूले सुरक्षाको पर्खाल कहाँ भेटाउलान्?
समाजको सबैभन्दा विवेकशील प्राणी हुन् मान्छे। तर त्यही विवेकशील प्राणीले विवेक गुमाइसकेपछि यस्ता हिंस्रक घटना हुँदछ समाजमा। यस्ता कुकृत्यहरू किन बढिरहेछ? यसको विरुद्धमा कानूनी पहलहरू पनि नहुने होइन। तर घटनाले अझ धेरै परिणाम दिइरहेको पाइन्छ। किन? समाधान कसरी, कहाँबाट, कसले निकाल्ने? 09.11.2014

सन्दर्भः बाल दिवस

आज देशभरि बाल दिवस पालन गरियो। देशका प्रथम प्रधानमन्त्री प. जवाहरलाल नेहरूको जन्मदिनको अवसरमा पालन गरिने बाल दिवस सिक्किममा पनि विभिन्न स्थानमा पालन गरियो। बाल दिवसको अवसरमा विशेषगरि उठ्ने विषयहरू बालक-बालिकाहरूको शिक्षा-दिक्षा, स्वास्थ्य, सुरक्षा र अधिकारका कुराहरू नै हुन्। प्रत्येक वर्ष प्रत्येक बाल दिवसको अवसरमा उठ्ने यी विषयहरूमाथि तर हामी कतिसम्म सचेत छौं, कतिसम्म वास्तवमै जागरुक छौं र कतिसम्म क्रियाशील छौं? यो एउटा गहण प्रश्‍न बन्न सक्ला।
भारतीय संविधानले बाल श्रम, बाल बिवाव आदिको विरोध गर्छ। बाल श्रम तथा बाल विहाव गराइएको भेटाइएमा कानूनी कार्वाही गरिन्छ, जेल र जरिमानासम्म गराइन्छ। यसको साटो बालक-बालिकाहरूलाई अनिवार्य शिक्षा प्रदान गरिनुपर्ने कानूनी प्रवाधान रहनाका साथै 14 वर्षसम्मका ननीहरूलाई शिक्षा अनिवार्य गराइनुका साथै निशुल्क शिक्षाको प्रावधानमा रहेको छ।
सिक्किम एउटा यस्तो राज्य हो जहाँ भारतीय संविधानलाई इमान्दारितापूर्वक पालन गरिँदै आइरहेको छ। बालक-बालिकाहरूको अधिकार, उनीहरूको शिक्षि-दिक्षा, उनीहरूको स्वास्थ्यमा ध्यान दिएर बालश्रम तथा बाल विवाहको सँधै विरोदकै आवाज उठाउने काम भइरहेको छ। यस पहलमा राज्य सरकारले जति पहल गरिरहेको छ, उत्ति नै विभिन्न गैरसरकारी संघ-संस्थाहरूले पनि काम गरिरहेकै छ। राज्यमा अहिले पनि 100 भन्दा अधिक बाल अधिकार, बाल सुरक्षादेखि महिलाहरूको अधिकार र सुरक्षादेखि उद्धारको काम गरिरहेका छन्। ती सबै संघ-संस्था पूर्ण सक्रिय नरहेपनि 30 प्रतिशत त सक्रिय नै होलान्। यसको अर्थ के हुन्छ भने राज्यमा बाल अधिकार तथा बाल सुरक्षाका क्षेत्रमा राम्रो काम भइरहेको छ।
बाल अधिकार तथा बाल सुरक्षाको चसतन्दर्भमा मुलतः बालश्रम, बालक-बालिकाको अवैध वेचविखन, शिक्षाको अधिकार, उनीहरूको स्वास्थ्य तथा पोषण, बाल विवाह, बाल यौम शोषण, बालक-बालिकाहरूप्रतिको अत्याचार तथा शोषण जस्ता कुराहरू मुख्य हुन्छन्। राज्य सरकारले यी सबै कुराहरूलाई अति उच्च प्राथमिकता दिएर नै काम गरिरहेको छ। जवाहरलाल नेहरूले आधुनिक भारतको सपना सजाउनसितै देशका बालक-बालिकाहरू पनि शिक्षित, सुरक्षित र स्वस्थ हुनुपर्छ भन्ने कल्पना गरेका थिए। उनको सपना र कल्पनालाई राज्य सरकारले सँधै पूरा गर्दै काम गरिरहेको छ।
अब प्रश्‍न उठ्नसक्छ यहाँ कि राज्यमा सरकारसितै यतिधेरै गैरसरकारी संघ-संस्थाहरू सक्रिय छन् तर पनि बाल यौन शोषणकएा घटनाहरू किन भइरहेका छन्? राज्यमा बालश्रम हुन नदिने भनिँदै आइरहेको छ, तर जताततै किन देखिन्छन्? कतै चिया पसलमा त कतै होटलहुँदी काले केटाहरू किन किन ब्यस्त छन्? कसैको घरमा सानी कालीकेटीहरू किन देखिन्छन्? कि उनीहरू ‘बालश्रम’-भित्र पर्दैनन्? अनि यसो हो भने बालश्रमको परिभाषा के हुन्छ? नभए यी कुराहरूलाई रोकथाम गर्ने कुनै उपाय छैन? यी सबैमाथि सम्बन्धित निकायहरूले चिन्तन गर्नुपर्ला। राज्यलाई साँच्चै बालश्रममुक्त राख्ने हो भने यी कुराहरूमा छलफल हुनुपर्ला कि! देशका अन्यस्थानमा झै राज्यमा बाल यौन शोषण किन बढिरहेछ?  हामीले सोंच्नुपर्ने विषय जस्तो लाग्छ।

स्वच्छ भारत अभियान र सिक्किम

प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले स्वतन्त्रदा दिवस 2014-को अवसरमा घोषणा गरेअनुसार 2 अक्टोबर 2014 देखि देखभरि ‘स्वच्छ भारत अभिानलाई एउटा आन्दोलनकै रूपमा अहिले सञ्चालन गरिँदैछ। महात्मा गान्धीको जन्मदिनको अवसर पारेर यो अभियान शुरू गरिएको छ। प्रधानमन्त्री मोदीले अस्वस्थ प्रथाहरू निर्मूल पार्नु यस अभियानको मुख्य उद्देश्य रहेको पनि बताइसकेका छन्। किनभने राष्ट्रपिता महात्मा गान्धीले पनि स्वच्छ भारतको सपना राखेका थिए अनि भनेका थिए- ‘स्वच्छता स्वतन्त्रताभन्दा अधिक महत्वपूर्ण हुन्छ।’ उनले ‘एक स्वस्थ जीवनका लागि स्वच्छ परिवेश राख्नु पर्दछ।’ भन्दै मानिस स्वस्थ रहेमात्र देशको उन्नति-विकास हुनसक्ने बताएका छन्। त्यसैले प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राष्ट्रपिता महात्मा गान्धीको त्यो सपना जस्तै देश र देशवासीलाई स्वच्छ र स्वस्थ बनाउने पहल शुरू गरेका हुन्।
देशभरि जस्तै सिक्किमले पनि स्वच्छ र स्वस्थ सिक्किमको निम्ति जोडदार पहल गरिरहेको छ। राज्य सरकार पनि यस अभियानलाई सफल पार्ने लक्ष्यमा रहेको छ भने राज्यका हरेक संघ-संस्था तथा गैरसरकारी संगठनहरूले पनि अभियानलाई सफल बनाउने दिशामा काम गरिहेको छ। एउटा राज्यलाई स्वच्छ बनाउनु भनेको देशकै स्वच्छ अभियान सफल हुनु हो। स्वच्छ मात्र होइन, निसन्देह महात्मा गान्धीको सपना जस्तै स्वस्थ समाजसँगै सुन्दर समाजको निर्माण पनि हो। स्वच्छ समाज र परिवेशपछि मात्रै एउटा सुन्दर र निर्मल समाज बनाउन सक्छौं हामी।
ध्यान राख्नुपर्ने कुरा के छ भने, अहिले जसरी, जुन गतिमा ‘स्वच्छ भारत अभियान’-लाई राज्य र देशका हरेक तप्काले सफल पार्ने उद्देश्य लिएका छन् के यो वास्तवमा मनभित्रबाट गरिरहेका छन् के मानिसहरूले? कतै आपस्तमा होड मात्रै चलेको छैन के? यदि त्यसो हो भने अभियानको सफलतामा आशंका उब्जन सक्छ। देखाउनलाई गरिएका कुनै पनि कार्य भविष्यका लागि भन्दा वर्तमानकै लागि मात्र हुन्छ। स्वस्छ र स्वस्थ समाज वा देशको जुन अभियान छ, अझवा राष्ट्रपिता महात्मा गान्धीले स्वच्छ र स्वस्थ भारतप्रति सजाएका सपना  क्षणभरका लागि थिएन।
राज्यको सन्दर्भमा कुरा गर्नु हो भने भर्खरै मात्र प्रकाशमा आएको विषय ‘अहिले गान्तोकमा मात्रै प्रत्येक वर्ष 55 लाख प्लास्टिक बोटल थुप्रिँदै छ।’ उसो भए सिक्किमभरिको यो संख्या कति होला? अब ख्याल राख्नुपर्ने विषय त के छ भने ‘प्लास्टिक’-को प्रयोग सिक्किममा निषेध अघिबाटै गरिसकिएको छ। ‘प्लास्टिक’-का ‘ब्याग’ वा कुनै पनि वस्तु विक्री-वितरणमा पनि निषेधमात्र होइन यस्तो बेच्ने दोकानको लाइसेन्स रद्द गरिने अनि जरिमाना तिराइने पनि बताइएको थियो।
स्वच्छताको सन्दर्भमा यहाँ अर्को एउटा प्रसङ्ग पनि उठ्दछ। त्यो हो वर्ष 2010-11 मा तत्कालीन राज्य सरकारको वन-पर्यटन मन्त्री भीम ढुङ्गेलले ‘प्रत्येक ट्याक्सी वाहन, निजी वाहन र प्रत्येक भीआइपी वाहनमा गार्वेज ब्याग लगाइनु पर्छ।’ भन्दै यसलाई अनिवार्य गराइने पनि बताएका थिए। यतिमात्र होइन ‘राज्यबाहिरबाट आउने हरेक पर्यटकलाई सिक्किममा जताततै फोहोर-मैला फ्याक्न पाइँदै भन्ने बुझाउनु पर्छ।’ भन्दै वाहन चालकहरूलाई ‘क्लिन एन्ड ग्रिन सिक्किम’-को गार्वेज व्यागसितै टी-सर्ट वितरण पनि गरेका थिए। आज राज्यका कतिवटा ट्याक्सी, कतिवटा निजी र कतिवटा भीआइपी वाहनमा ‘गार्वेज व्याग’ लगाइएका छन्?
नियम-कानुन बनाउनु वा नयाँ सोच, नयाँ विचार ल्याउनु ठूलो कुरा होइन। त्यसलाई कसरी कार्यवयनमा उतार्न सकिन्छ, महत्वपूर्ण विषय त्यो हुन्छ। सिक्किमलाई स्वच्छ राख्ने राज्य सरकारले बनाएको सोच नयाँ होइन। अहिले देशभरि सञ्चालनमा रहेको ‘स्वच्छ भारत अभियान’-मा सिक्किम पनि उत्तकै इमान्दारितापूर्वक लागि परेको तथ्य सत्य छ। यति हो, त्यसलाई सफल पार्ने मात्रै होइन तर निरन्तरता दिनुपनि उत्तिकै महत्वपूर्ण हुन्छ। नभए स्वच्छता अभियानमा सहभागी बनेका कुराहरू प्रचार-प्रसारमा ल्याएरै मात्र स्वच्छ र स्वस्थ समाज बन्दैन।

साझा जिम्मेवारीको आवश्यक्ता

देशका अन्य राज्यहरूको तुलनामा सिक्किम एक विकसित राज्यको माथिल्लो सूचिमा पर्दछ। आर्थिक, सामाजित, राजनैतिक तथा शैक्षिक सबै तहबाट सिक्किमलाई एक विकसित राज्यको रूपमा उदाहरण मान्न सकिन्छ। यो सबैको श्रेय वर्तमान सरकारलाई नै जाँदछ। किनभने 1994-पछि सत्ता सम्हाल्दै आइरहेको एसडीएफ सरकारले सिक्किमलाई विकासको जुन सिडी चडाएको छ, त्यो वास्तवमै अतुलनीय छ, प्रशंसनीय छ, उदाहरणीय छ। देशकै नमुनाको राज्य भएको छ सिक्किम।
सिक्किम अहिले देशकै लागि मात्र नमुना बनेको छैन, तर आज विश्‍वले पनि सिक्किमको उदाहरण लिन थालेको पाउँछौं हामी। यो सत्य पनि हो। विश्‍वको ‘ड्रपआउट’-विहीन एकमात्र राष्ट्र फिलिपिन्सपछि शिक्षाको क्षेत्रमा विकासको मार्ग पछ्याइरहेको देशको कुनै राज्य भए सिक्किमलाई स्वीकार्न सकिन्छ। किनभने शिक्षा क्षेत्रमा पहिलो स्थानमा आउने केरल राज्यलाई पनि शैक्षिक विकास गतिमा सिक्किमले उछिनेको उदाहरण छँदैछ।
क्युवा जस्तो राष्ट्रले विश्‍वमै पहिले जैविक राज्य बन्ने उद्देश्यको धेरै नजीक पुगरहेको सिक्किमसित सामुहिक पहल चलाउने चाहेको छ, सहकार्यको हात बढाइसकेको छ। यसबाट प्रष्ट हुन्छ, सिक्किमले कस्ता योजनाहरूको साछमा अग्रसर छ? उसो त सिक्किमको जैविक अभियानलाई धेरैले स्वीकार्न नसकेको तथ्य पनि प्रकाशमा घरिघरि आइनै रहेको छ। त्यसका धेरै कारणहरू हुनसक्छन्। कतिले पूर्वाधार योजनालाई गहनरूपमा नलिएका होलान्, कतिले सत्य स्वीकार्न नचाहेका होलान् वा खोट देखाउने आदत् होला। त्यसैले अनेकन आरोपहरू थुपार्ने गरिरहेका छन्। तर विश्‍वले आज सिक्किमलाई उन्नतिको दिशामा अग्रसर प्रगतिशील राज्य भनेर जान्न थालिसकेको छ।
अब यति कुरा गरिसकेपछि चिन्ताको एउटा कुरा डोहोर्‍याउनै पर्छ कि, सिक्किमलाई यो स्तरसम्म पुर्‍याउने कुरा अघि नै भनिसकियो वर्तमान सरकारलाई नै श्रेय जाँदछ। यहाँबाट प्रष्ट हुन्छ सिक्किमको विकास चाहने, सिक्किमलाई विश्‍वको दाँजोमा पुर्‍याउने दायित्व सरकारले नै उठाइरहेको छ। यसको अभिभारा सरकारकै काँधमा परेको छ। यही कुरा 18 सितम्बर 2014-को दिन मुख्यमन्त्री पवन चामलिङले पनि उठाएका थिए। 
सरकारले सम्भावित नीति निर्धारण गर्दछ। निर्णयहरू लिँदछ। प्रजातान्त्रिक प्रणालीमा सरकारले गर्नुपर्ने कर्तव्य पनि हुन् यी कुराहरू। तर त्यसलाई सफलीभूत पार्ने दायित्य सरकारको मात्र होइन। ती कुराहरूमा मनन-चिन्तन गरेर त्यसलाई कार्यवयनमा ल्याउने माथिल्लो तहदेखि तृणमूलस्तरसम्मका मानिसहरूको जिम्मेवारी हुँदछ। यो एउटा चुनौति नै भएको छ सिक्किम र सिक्किमेका लागि। किनभने सिक्किम अहिले जुन सिखरमा पुगेको छ, त्यसलाई कामय राख्न सबैको पहल हुन जरुरी छ। नभए आज सिक्किमलाई एक उन्नतशील राज्यको रूपमा जान्दछ विश्‍वले, भने त्यही पक्षले भोलि सिक्किम अवनतितिर बगिरहेको नदेख्ला भन्न सकिन्न। त्यसैले सरकारको पूर्वाधार योजनाहरूलाई सफल बनाउन विशेषगरी सरकारको प्रत्येक विभागीय अधिकारीहरूको जिम्मेवारी हुन्छ भने जनप्रतिनिधिहरूको पनि उत्तिकै जिम्मेवार हुन्छ।
अर्कोकुरा, अहिले राज्यका धेरैतिरबाट धेरैवटा कार्यहरू अधुरै छोडिरहेको वा राखिएको जनगुणासोहरू घरिघरि प्रकाशमा आइरहेका छन्। यस्ता कार्यहरूलाई कतिपयले राजनैतिक रङ्ग पोत्ने दुष्कार्यहरू पनि भइरहेका छन्। सम्बन्धित पक्षले यस्ता कार्यहरूको उचिन छानविन गर्न नसके, दोषिहरूलाई कार्वाही गर्न नसके ती व्यक्ति वा पक्ष पनि उत्तिकै दोषि ठहर्दछन् जनताको नजरमा, जोसित यसको सम्पूर्ण जिम्मेवारी हुन्छ। त्यसको परिणमा पनि अन्तम गएर सिक्किम विकाससितै ठोक्किन पुग्ला, सिक्किम विकासोक अवनतिमै टुङ्गिएला। किनभने सिक्किमको विकास भनेको सिक्किमेको प्रतिव्यक्ति वार्षिक आयको विकास हुनुमात्रै पक्कै होइन। त्यसैले यहाँ साजा जिम्मेवारीको खाँचो छ सिक्किम र सिक्किमेको विकासको पहलका लागि।

जनताको काम गरेको खोइ?

गाउँ-समाजको विकास हुनेछ, समस्याहरूको समाधान हुनेछ अनि जनताले सुख पाउनेछन् भन्ने विश्‍वासमै जनताले आफ्नो प्रतिनिधि चुनेर पठाउने गर्छन् पञ्चायत र विधायक बनाएर सरकारमा। चुनाउका बेला जनतालाई आफू उम्मेदवार भएर घरदैलो गरेका समय यस्तै विकास र उन्नतिको कुरा गरेर जनप्रतिनिधि चुनिएका जो-कोहीको जिम्मेवारी पनि यही हुन्छ। उसो त राजनीतिलाई हेरिने दृष्टि सबैको भिन्नाभिन्नै होलान्, सकारात्मक-नकारात्मक दुवै। अनि त्यसका कारण पनि। फेरि असल र सफल समाज सेवक बन्न चाहनेहरूका लागि फराकिलो मैदान पनि हुन्छ त्यही राजनीति। भनिएको छ ‘पोलिटिक्स इज ए डर्टी गेम।’ वास्तवमा यो कुरा ‘पोलिटिक्स’-मा नभएर ‘पोलिटिसियन’-मा निर्भर गर्दछ। ‘वञ्चरो’, ‘मुँडा’ र ‘घुँडा’-कै कुरा जस्तो। कस्ले कसरी प्रयोग गर्छ राजनीतिलाई निर्भर त्यसैमा हुन्छ राजनैतिक उद्देश्यको। जनहित र समाज विकासमा राजनीतिज्ञहरूको एउटै लक्ष्य हुन जरुरी हुन्छ, चाहे उ सत्तापक्ष हुन् चाहे विपक्षी। गलत फाइदा उठाउनेहरूले फेरि राजनीतिज्ञ मात्रै होइन राजनीतिलाई पनि बदनाम गराइरहेका हुन्छन्।
अहिले सिक्किमको सन्दर्भमा पनि यी दुवै प्रकारको राजनीति चलिरहेको जनताले देखिरहेका छन्। एउटा जनताको हित र समाज विकासको, अर्को स्वार्थपूर्तिको। स्वार्थपूर्तिको भावले समाजको उन्नति हुनसक्दैन। राज्यमा सत्तारुढ एसडीएफ पार्टीले 21 वर्षअघिदेखि कस्तो काम गर्दै आइरहेको छ? त्यो भनिरहनु पर्ने विषय होइन। एउटै पार्टीले निरन्तररूपमा पाँचौंपल्ट सरकार बनाएको कुराले प्रष्ट पारिहाल्छ। तर नराम्रो कामको विरोध जस्तै राम्रोको पनि डाह गर्नेहरू विरोधकै आवाज कराईरहन्छन्।  वास्तवमा त्यो उनीहरूको कमजोरी कराइरहेको हुन्छ। यहाँ त्यस्तै भइरहेको देखिन्छ। एसडीएफको सरकारले आज जुन काम गरिरहेको छ,  त्यसको महत्व आज संसारले बुझिरहेको छ। त्यसको मूल्याङ्कन राष्ट्रव्यापिरूपमा भइरहेको छ, अन्तरराष्ट्रिय मञ्चहरूमा भइरहेको छ। स्वयंले केही गर्न नसक्ने विपक्षीहरू त्यसको विरोध गरिरहेका छन्। त्यस्तै विरोधको उदाहरण हो राज्यको जैविक अभियानको विरोध।
काग कराउँदा त्यसकै पछि नलागेर पहिला आफ्नो कान छाम्नुपर्ने उक्ति पुरानो हो। तर सँधै उपयोगी छ। मानवहितमा छ। सत्तापक्षले आज के गर्दैछ? जनताले हेर्नुपर्छ। हेरेर त्यसमाथि मनन-चिन्तन पनि गर्नुपर्छ। अनि विपक्षीहरूले के भन्दैछन्? त्यो पनि जनताले सुन्नुपर्छ। सुनेर त्यसमाथि छानविन गर्नुपर्छ, आपस्तमा वहस गर्नुपर्छ र ठीक हो-होइन बुझ्नु पर्छ। एसडीएफले सँधैं भनिरहेको छ, ‘जनता राजमा जनतै राजा।’ उसो भए जनताले सत्य तथ्य बुझ्ने क्षमता राखे ठीक कुरालाई समर्थन दिनु र गलत कुराको विरोध गर्नु पनि उत्तिकै अधिकार जनतामा छ। चाहे त्यो सत्तापक्षले गरेको होस्, या विपक्षले। कति सही, कति गलत हो? छुटाउन नसके नबोलेकै बेश।
अब, प्रश्‍न उठ्छ चुनाउका बेला विपक्षीहरूले जनतालाई के भनेर भोट फकाएका थिए? ‘फ्ल्यासब्याक’-मा गएर जनताले यतिकुरा बुझ्न जरुरी छ। गएको चुनाउमा एउटा दह्रिलो विपक्षी पार्टीको ट्याग झुण्डाएको डङ्का पिट्दै एसकेएमले ‘अब जनताको काम हुनेछ’ नभनेको होइन। भनाइ र व्यवहारमा एकरूपता खोइ त? विपक्षीको कर्तब्य-धर्म के हो? यसको खोजी कसैले गर्दैछ कि छैन? किनभने विधायक बनेर ‘हामीले पनि विदेश भ्रमणको अवसर पाउनु पर्छ’ भनेर जनताको काम हुँदैन। ‘हामीलाई त जनताले जिताएको हो, रातो बत्ती बाल्न पाउनुपर्छ’ भन्नु उनीहरूको अधिकारले भेट्ला। त्यतिले तर समाजको विकास हुँदैन। सरकारले गर्नुपर्ने काम कहाँ के हुन सकेको छैन? जनताले कहाँ कसरी कष्ट भोगिरहेका छन्? त्यसको जिम्मेवारी सत्तापक्षको मात्रै हुँदैन। जनताले जिताएर विधानसभा पुर्‍याइएका प्रत्येक विधायकको उत्तिकै जिम्मेवारी हुन्छ। विपक्षीमा बसेर मात्रै विरोध गर्नु उसको दायित्व होइन। त्यसैले जनताले पनि आफ्नो र आफ्नै समाजको हित र विकासको निम्ति जिताएर पठाएको विधायकलाई ‘जनताको काम गरेको खोइ?’ भनेर प्रश्‍न गर्न सक्नुपर्छ। 10.10.2014

फूटबलको क्रेज

राज्यले विगत केही वर्षयता खेलकुद जगतमा धेरै विकास गरिरहेको सिक्किमेली खेलाडीहरूको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा दिइरहेको सहभागिताले प्रष्ट पारिरहेको छ। विशेषगरि अहिले फूटबलको जताततै चर्चा छ। देशमा एकातिर इन्डियन सुपर लीग (आइएसएल)-ले फूटबलप्रेमीहरूको ध्यानाकर्षण गराइरहेको छ भने यता राज्यमा गवर्नर्स गोल्डकपले। देशमै आफ्नो छुट्टै प्रतिष्ठा कायम राख्न सफल गवर्नर्स गोल्डकपले निश्‍चय राज्यमा खेलप्रेमीहरूको मन जित्न सफल रहेको मान्न सकिन्छ। वर्ष 1976-मा स्थापित सिक्किम फूटबल एसोसिएसनद्वारा प्रत्येक वर्ष आयोजन गरिने यस गवर्नर्स गोल्डकपले धेरै फूटबल खेलाडीहरूको जन्म गराएको छ।
एकसमय गवर्नर्स गोल्डकप भन्ने वित्तिकै सारा गाउँ-घर उर्लिएर पाल्टजर स्टेडियमको गौरव बढाइदिने भीड अहिले कम भएको छ। भन्नै हो भने राज्यवासीमा फूटबल खेलप्रतिको जुन क्रेज थियो त्यो अहिले न्यून भएर गएको छ। कुनै समय फूटबल हेर्नेहरूको भीडले ग्यालेरीमा खुट्टै मात्र टेक्ने ठाउँसम्म पाउन गाह्रो पर्थ्यो भने अहिले ग्यालेरी प्रायः खाली-खाली देखिन्छ।
गएको अगस्त महिनामै मात्र स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर राज्यका विभिन्न गाउँ-गाउँमा आयोजित फूटबल तथा भलिबल दुवै खेल हेर्नेहरूको भीड लागेको देखिएको थियो। सानाहरूदेखि युवा तथा तरुणावस्था मात्रै होइनन् तर बुढापाकाहरूसम्म खुब उत्साहित देखिन्थे खेल हेर्नलाई। यद्यपि, त्यसैको तुलनामा अहिले स्थानीय पाल्जर स्टेडियमा चलिरहेको 35औं गवर्नर्स गोल्डकपमा स्थानीय र राष्ट्रियदेखि अन्तरराष्ट्रियस्तरका टीमहरूको खेल हेर्नहरूको सङ्ख्या न्यून भएर गएको छ।
आयोजक पक्ष सिक्किम फूटबल एसोसिएसनले के आशा गरिरहेको थियो भने, गवर्नर्स गोल्डकपमा राष्ट्रियस्तरका टोलीहरूसितै नेपालका टोलीहरूलाई ल्याउन सके फूटबलप्रेमीहरूको भीड उर्लिएर आउनेछ। त्यसैले वर्ष 2013-को गवर्नर्स गोल्डकपको विजेता थ्री स्टार नेपालसित अर्को लोकप्रिय टोली मनाङ मर्साङदी नेपाललाई ल्याउन सफल रहेको छ भने ओएनजीसी मुम्बइ, आर्मी-11 जस्ता टुर्नामेन्टकै प्रबल दाबेदारी टोलीहरू पनि ल्याउन सफल रहेको थियो। यतिमात्रै नभएर आफ्नै मैदानमा स्थानीय दुइवटा टोलीलाई पनि टुर्नामेन्टमा प्रवेश गराएको थियो एसएफएले। तर, दर्शकहरूको जुन आशा साँचेको थियो अथवा साँचेको छ आयोजक पक्षले त्यो सफल देखिएन।
यहाँ ध्यानयोग्य कुरा के छ भने, राज्य सरकारले स्थानीय युवाहरूलाई खेलकुदप्रति जुनप्रकारले प्रमोट गरेर लाने, राज्यको खेल जगतलाई विकसित गरेर लाने योजनाअनुरूप काम गर्दै आइरहेको छ, त्यसैको प्रतिफल मान्न सकिन्छ गवर्नर्स गोल्डकपमा राज्यका दुइदुइवटा फूटबल टोली एसएफए वाइट र सिक्किम हिमालयन स्पोर्टिङ क्लबको सहभागिता। यति हुँदाहुँदै पनि खेलप्रेमी दर्शकहरूको भने झण्डैझण्डै अनिकालै जस्तो देखिएको छ। मैदानमात्रै होइन तर पारीपारीसम्म थर्काउने दर्शकहरूको जोशपूर्ण र प्रेरणामयी चियरप खेलाडीहरूले पाउन सकिरहेका छैनन्।
पहिले फूटबलको समय हुनसाथै सारा काम छोडेर पनि  मानिसहरू उर्लिन्थे फूटबल हेर्न। कर्मचारीहरूदेखि विद्यार्थीहरूको उस्तै भीड जमेको हुन्थ्यो ग्यालेरीमा। खोइ त फूटबलको त्यो क्रेज? एउटा प्रश्‍नचिन्ह बनिरहेको छ। जहाँ फूटबलप्रेमी दर्शकहरूले ग्यालेरिमा खुट्टा टेक्नेसम्म ठाउँ पाउन गाह्रो पर्थ्यो, त्यहीँ अहिले दर्शकहरूको कमी रहनुको पछि कारण के हो? के खेलकुदप्रति मानिसहरूको चासो घटेकै हो कि आयोजक पक्षमा केही कमजोरी छ? रनोरञ्जनका बढ्दो साधनहरूले भुलाइरहेछन् खेलप्रेमी दर्शकहरूलाई?

कालजयी कर्महरूमा बद्रीनारायण प्रधानमाथि रूपेश शर्मासितको अन्तरवार्ता


भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधान एक स्थापित र प्रतिष्ठित नाम हो। खासगरी उहाँलई एक प्रगतिवादी साहित्यका ज्ञाता तथा अध्येताका रूपमा चिनिन्छ। भारतीय नेपाली साहित्यमा डुवर्सको पहिचान र परिचय बढाउन बद्रीनारायण प्रधानले अतुलनीय योगदान दिनुभएको छ। ‘डुवर्सका भीष्मपितामह’ भनेर चिनिने प्रधान नेपाली साहित्यमा सक्रिय योगदान दिँदादिँदै हामीबीचबाट भौतिक रूपमा विदा हुनुभयो। 8 मई, 2010 मा पश्‍चिम डुवर्सको बाग्राकोटस्थित निजी निवासमा हृदयघातका कारण 83 वर्षको उमेरमा उहाँको निधन भयो।


बद्रीनारायण प्रधानको देहवासन भएको केही महिनाभित्रै बाग्राकोटका सचेत युवाहरूले ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’ गठन गरे। प्रतिष्ठानले बितेका चार वर्षभित्रमा अतुलनीय र अभूतपूर्व कार्य सम्पादन गरिसकेको छ। बाग्राकोटमा बद्रीनारायण प्रधानको सालिक स्थापना गरिएको छ; वर्षेनी बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्रदान गरिन्छ भने हालै प्रतिष्ठानले पत्रकार तथा समालोचक रूपेश शर्माको सम्पादनमा ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ नामक स्मृति ग्रन्थ प्रकाशित गरेको छ। यो पुस्तक बद्रीनारायण प्रधानबारे आधिकारिक दस्तावेज बनेको छ र नेपाली साहित्यका दिग्गजहरूबाट यसले निकै सराहना र प्रशंसा पाएको छ। स्तरीयता, गुणस्तर र सम्पादनकलामै यसले एउटा माइलखुट्टी निर्माण गरेको साहित्यका अध्येताहरूको मूल्याङ्कन छ। यसका सम्पादक रूपेश शर्मा ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’-का मूल खाबो र मेरूदण्ड हुन्। सम्पादक रूपेश शर्मासँग अहिलेको चर्चित ग्रन्थ ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ र बद्रीनारायण प्रधानबारे गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिन्छ।



>> ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ नामक स्मृति ग्रन्थ प्रकाशन भइसकेको छ। बद्रीनारायण प्रधानलाई चिनाउन परे तपाईं के भन्नुहुन्छ?
-बद्रीनारायण प्रधान भारतीय साहित्यमा एक अग्रणी नाम हो। उहाँले नेपाली साहित्यलाई अहिलेसम्म एघाह्रवटा कृति दिएर जानुभएको छ। उहाँ जीवित हुँदै 10 वटा कृति प्रकाशन भइसकेका थिए। उहाँको देहवासनपछि एउटा कृति प्रकाशन भयो र अझै नौवटा कृति प्रकाशित हुन बाँकी छन्। समग्रमा एक कुशल अनुवादक, सफल स्रष्टा र एक सिर्जनात्मक लेखकको रूपमा हामी उहाँको परिचय पाउँछौं। उहाँले साहित्यबाहेक पनि राजनैतिक र शैक्षिक क्षेत्रमा धेरै काम गर्नुभएको छ। उहाँ सीपीआई (एम) पार्टीबाट राज्यसभा सांसदसम्म भइसक्नुभएको हो। डुवर्सवासीले उहाँलाई एकजना अग्रणी समाजसचेतकका रूपमा सम्मानित दृष्टिले हेर्ने गरेका छन्। उहाँ डुवर्सका भीष्मपितामह हुनुहुन्थ्यो। उहाँको निधन भएको दुई महिनाभित्रै हामीले डुवर्समा ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’ गठन गर्‍यौं। प्रतिष्ठान गठन गरेपछि हामीले बाग्राकोट उच्चतर माध्यमिक विद्यालय परिसरमा उहाँको एउटा सालिक स्थापना गर्‍यौं। त्यसपछि उहाँकै स्मरणमा, उहाँकै नाममा वर्षेनी ‘बद्रीनारायण प्रधान स्मृति पुरस्कार’ प्रदान गर्दै आएका छौं। पहिलो पुरस्कार वरिष्ठ साहित्यकार राजनारायण प्रधान (2012)-लाई प्रदान गरिएको थियो भने दोस्रो पुरस्कार मूर्धन्य साहित्यकार हाइमनदास राई किरात (2013) र तेस्रो पुरस्कार 19 जनवरी, 2014-को दिन आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई प्रदान गरिएको छ। समग्रमा, डुवर्समा बद्रीनारायण प्रधानलाई हामी एक अग्रणी साहित्यकार, अग्रणी समाजसचेतक र डुवर्सका पर्यायका रूपमा उभ्याउन सक्छौं।



>> तपाईंले आफ्नो सम्पादकीयमा ‘बद्रीनारायण प्रधान स्वयं एक संस्था हुन्’ भनेर उल्लेख गर्नुभएको छ। यसलाई कसरी ‘जस्टीफाइ’ गर्नुहुन्छ?
-बद्रीनारायण प्रधान यसकारण पनि संस्था हुनुहुन्छ कि उहाँले डुवर्समात्रै होइन समग्र नेपाली जागरणकाल, नेपाली समाजको उषाकालमा, खासगरी 1940-को दशकमा साहित्य र शिक्षाको ज्योति छर्नुभयो। सामाजिक चेतनाको जागरणकालमा बद्रीनारायण प्रधानको उपस्थिति नै एउटा सक्रिय भूमिकाका साथ भएको थियो। उहाँले गणेशलाल सुब्बासँगै राजनैतिक कार्यहरू गर्नुभयो। कम्युनिस्ट विचारलाई, वामपन्थी चिन्तनलाई दार्जीलिङ पहाडमा फैल्याउन महत्त्वपूर्ण योगदान दिनुभयो। गणेशलाल सुब्बाजस्ता बौद्धिक व्यक्तित्व उहाँका अभिन्न मित्र थिए। गणेशलाल सुब्बा र रतनलाल ब्राह्मणका सहयात्री भएर उहाँले दार्जीलिङमा कम्युनिस्ट विचारलाई स्थापित गर्नुभयो। पश्‍चिम डुवर्सको बाग्राकोटमा गएर उहाँले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउनुभयो। बङ्गला माध्यमको विद्यालयलाई उहाँले नेपालीमा रूपान्तरण गर्नुभयो। डुवर्समा त्यसताक जति पनि स्कूलहरू खोलिएका थिए, ती स्कूलहरूलाई सरकारी मान्यता दिलाउन उहाँले अथक परिश्रम गर्नुभयो। उहाँ दार्जीलिङ जिल्ला प्राइमेरी स्कूल बोर्डका अध्यक्ष हुँदा पाँचसय भन्दा बढी नेपाली प्राथमिक शिक्षकहरूलाई नियुक्ति दिनुभयो। भारतीय नेपाली समाजको जागरणकालमा शिक्षा, साहित्य, राजनीति र सामाजिक क्षेत्रमा उहाँले अभूतपूर्व र ऐतिहासिक योगदान दिएकाले पनि हामी उहाँलाई एक संस्थाको रूपमा हेर्दछौं।



>> बद्रीनारायण प्रधानलाई तपाईंले ‘इतिहासपुरुष’ पनि भन्नुभएको छ नि!
-वास्तवमा उहाँको सङ्गत पनि त्यस्तै ऐतिहासिक पुरुषहरूसँग भएको थियो। उहाँले धेरै ऐतिहासिक कामहरू गर्नुभयो। उहाँ गणेशलाल सुब्बासँग जेल पर्नुभयो; 17 वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर काम गर्नुभयो। दार्जीलिङमा वामपन्थी आन्दोलनलाई संस्थागत गर्न रतनलाल ब्राह्मण, गणेशलाल सुब्बाजस्ता दिग्गज राजनीतिज्ञहरूसित मिलेर काम गर्नुभयो। त्यसपछि नेपालका पुष्पलाल श्रेष्ठ जो नेपालको कम्युनिस्ट पार्टीका संस्थापक हुन्, उनीसमेत बद्रीनारायण प्रधानबाट अभिप्रेरित भएको र बद्रीनारायण प्रधानसँग दुई महिना सिलगढीमा अर्धभूमिगत अवस्थामा सँगै बसेको कुरा हामी पाउँछौं। नेपालका चर्चित नेता प्रचण्डसँग एक समय उहाँको पारिवारिक नाता (सम्धी) नै थियो। उहाँ ऐतिहासिक पात्रहरूसँग जोडिनुमात्र भएन, तर इतिहास पनि निर्माण गर्नुभयो। भारतीय नेपाली साहित्यमा पहिलोपल्ट प्रगतिवादी विचार र साहित्यलाई स्थापित गर्ने उहाँ नै हुनुहुन्थ्यो। विश्‍व नेपाली साहित्यमै उहाँले पहिलोपल्ट महर्षि कार्ल मार्क्सको जीवनी लेख्नुभयो 1947 सालमा। 1952-मा म्याक्सिम गोर्कीको विश्‍वप्रसिद्ध उपन्यास ‘आमा’ अनुवाद गर्नुभयो। त्यो अनुवादको केही अंश पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’-मा प्रकाशित भएको थियो।
नेपाली साहित्य एकदमै मिर्मिरे अवस्थामा रहेको अनि विकासको खुड्किलो उक्लिँदै गरेको अवस्थामा बद्रीनारायण प्रधानले विश्‍वसाहित्य, खासगरी म्याक्सिम गोर्कीका रचनाहरू, अन्य प्रगतिवादी विश्‍वसाहित्य, प्रगतिशील चिन्तनधारालाई नेपाली समाजमा स्थापित गर्न कलम चलाउनुभयो। त्यसलाई विभिन्न फुटकर रचनाहरूका रूपमा पत्र-पत्रिकाहरूमार्फत प्रकाशमा ल्याउनुभयो। पछि निकै लामो समयपछि ती कृतिका रूपमा प्रकाशित भए। एउटा उषाकालमा, एउटा मिर्मिरेकालमा, नेपाली जागरणको प्रथम चरणमा उहाँले यस्ता कामहरू गर्नुभयो, जुन कामले नेपाली समाजलाई विश्‍वसाहित्यले अभिप्रेरित गर्‍यो। विश्‍वसाहित्यलाई चिनाउन उहाँले अमूल्य योगदान दिनुभयो। राजनीतिको क्षेत्रमा पनि उहाँको त्यस्तै अवदान छ। उहाँले नेपाल कम्युनिस्ट पार्टीका प्रतिष्ठाता पुष्पलालसमेतलाई प्रभावित गर्नुभयो। गणेशलाल सुब्बा र रतनलाल ब्राह्मण उहाँका राजनैतिक सहयोद्धा थिए। सुशील च्याटर्जीजस्ता दिग्गज कम्युनिस्ट नेताहरूसित उहाँको सान्निध्य थियो। ज्योति बसु उहाँलाई राम्ररी चिन्दथे। उहाँ 1982 देखि 1984-सम्म दुई वर्षका लागि सीपीआई (एम) पार्टीबाट दार्जीलिङ जिल्लाबाट राज्यसभाको सांसद मनोनित हुनुभयो। बाग्राकोट ग्राम पञ्चायत अन्तर्गत सुन्दरी बस्ती जस्तो एउटा दुर्गम ठाउँबाट उहाँ देशको सर्वोच्च निकाय संसदसम्म पुग्नुभयो र उहाँले एउटा नयाँ कीर्तिमान बनाउनुभयो। डुवर्समा शैक्षिक जागरणको उषाकालमा उहाँले नेपाली स्कूलहरू खोल्न प्रेरितमात्र गर्नुभएन, अपितु तिनलाई सरकारी मान्यता पनि दिलाउनुभयो। डुवर्समा अहिले आधा दर्जनभन्दा धेरै मान्यताप्राप्त नेपाली स्कूलहरू छन्। यी सबै ऐतिहासिक अवदानले गर्दा हामी बद्रीनारायण प्रधानलाई ‘इतिहासपुरुष’ भन्न किञ्चित हिच्किचाउँदैनौं।



>> ‘डुवर्सका लागि बद्रीनारायण प्रधान शुरू र अन्त्य दुवै हुन्’ भन्नुभएको छ नि! यसको अर्थ खुलाइदिनुहोस् न।
-यसको एउटा सन्दर्भ छ। ‘अन्त्य’ भनेको जुन किसिमले डुवर्सको साहित्यलाई, डुवर्सको सामाजित जागरणलाई, त्यहाँको राजनैतिक चेतनालाई उहाँले जुन उँचाइमा लानुभयो त्यो उँचाइमा पुर्‍याउने अर्को विकल्प हामीसित छैन। डुवर्समा अहिलेसम्म बद्रीनारायण प्रधानको हाराहारीमा आउने, उहाँपछि उहाँको उत्तराधिकारीका रूपमा काम गरेर लाने अर्को प्रतिनिधि पात्र कमसेकम अहिले हामीसँग छैनन्। यसैले हामीले बद्रीनारायण प्रधान युगको अन्त्य भएको महसुस गरेका छौं। अब हामीले कुनै कुराको शुरू गर्नुछ भने बद्रीनारायण प्रधानले खड़ा गरेको जगमा टेकेर नयाँ ढङ्गले अगाड़ि बढ्नुपर्ने हुन्छ। त्यसैले हामीलाई यो महसुस भइरहेको छ कि डुवर्सको साँच्चै एउटा युग सकिएको छ। बद्रीनारायण प्रधानले स्थापित गरेको ऐतिहासिक विरासतबाट अघि बढ्नु नै डुवर्सेली साहित्यको निम्ति श्रेयस्कर हुनेछ। उहाँलाई भुलेर वा उहाँको परिचयलाई लुकाएर डुवर्सेली साहित्य अघि बढ्न सक्दैन।



>>अहिलेसम्मका कुराकानीमा हामी डुवर्ससम्म मात्र सीमित रहेका छौं। भारतीय नेपाली साहित्यको कुरा गर्दा बद्रीनारायण प्रधानलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ?
- भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधानको उपस्थिति लगभग इन्द्रबहादुर राई, हायमनदास राई किरात, इन्द्र सुन्दास, कृष्णचन्द्रसिंह मोक्तान, शिवकुमार राई, समीरण छेत्री ‘प्रियदर्शी’-लगायतका साहित्यकारहरूको हाराहारीमा छ। पचासको दशकमा अगमसिंह गिरी, लक्खीदेवी सुन्दास, नरबहादुर दाहालहरूले दिएको योगदानकै पृष्ठभूमिमा बद्रीनारायण प्रधानको पनि साहित्यिक योगदानको चर्चा गर्नु उचित हुन्छ। यद्यपि त्यसताक उहाँका फुटकर रचनाहरू मात्र प्रकाशित भएको पाइन्छ। तर पनि चालीसदेखि साठीको दशकसम्म बद्रीनारायण प्रधानको साहित्यिक उपस्थिति सक्रिय नै मान्नुपर्छ। उहाँ इन्द्रबहादुर राईभन्दा डेढ महिना मात्रै जेठो हुनुहुन्छ। अहिले इन्द्रबहादुर राई हामीमाझ हुनुहुन्छ। उहाँले 2012-मा बाग्राकोटमा बद्रीनारायण प्रधानको सालिक अनावरण गरेर आफ्नो मित्रताको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँहरू साहित्य लेखनमा पनि समकालीन हुनुहुन्छ र सम्पूर्ण भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधान एकजना उर्वर र अग्रणी लेखकका रूपमा स्थापित हुनुहुन्छ। वास्तवमा म्याक्सिम गोर्कीको ‘आमा’ अनुवाद गरेपछि र त्यसको केही अंश 1952-मा ‘भारती’-मा प्रकाशित भइसकेपछि धेरैले बद्रीनारायण प्रधानलाई अनुवादकका रूपमा परिचित गराउने गरेका छन् अनि त्यही पगरी गुथाउँदै आइरहेका छन्। तर बद्रीनारायण प्रधान एक अनुवादक मात्र नभएर एक सिर्जनशील, उर्वर र वैचारिक प्रतिबद्धता भएका लेखक पनि हुनुहुन्छ। म यहाँ के कुरामा जोड दिन चाहन्छु भने प्रधानका मौलिक कृतिहरूमध्ये ‘संगत’ कथासङ्ग्रह सिक्किमको निर्माण प्रकाशनले प्रकाशित गरेको छ, जो धेरै लोकप्रिय छ। त्यसपछि उहाँको ‘मौली’ उपन्यास छ जो कम्युनिस्ट सिद्धान्तलाई केन्द्रमा राखेर वैचारिकरूपमा मजदूरहरूको आन्दोलनलाई सही आन्दोलन हो भन्ने प्रगतिवादी विचारलाई संस्थागत गरिएको छ। त्यसपछि ‘भुमरी’ गोर्खाल्याण्ड आन्दोलनसम्बन्धी लेखिएको उपन्यास छ। त्यसबाहेक पनि उहाँका अन्य त्यस्ता संस्मरणहरू छन् जुन संस्मरणले सयौं वर्षदेखि यस क्षेत्रमा हाम्रो बसोबासोको ऐतिहासिक दसी र प्रमाण दिन्छन्। उहाँ इतिहासका भोक्ता र प्रयोक्ता दुवै हुनुहुन्थ्यो। त्यसले गर्दा उहाँले प्रस्तुत गर्नुभएको तथ्यले हामीलाई हाम्रो इतिहासको पुनर्लेखनतर्फ प्रेरित गर्न सक्छ। बद्रीनारायण प्रधानमा प्रशस्त मौलिकता थियो। उहाँका अप्रकाशित कृतिहरूमा पचासवटा जति ता बालकथा मात्र छन्, जो विभिन्न पत्र-पत्रिकामा प्रकाशित भइसकेका छन्। त्यसको एकमुष्ठ प्रकाशन हुन बाँकी छ। उहाँको ‘सन्तान’ कथासङ्ग्रह प्रकाशित भएकै छैन। त्यसैले गर्दा मौलिक कृति सर्जकका रूपमा पनि बद्रीनारायण प्रधान भारतीय नेपाली साहित्यमा इन्द्रबहादुर राईलगायत अन्य वरिष्ठ र दिग्गज साहित्यकारहरूको हाराहारीमा उभ्याउन सकिने एकजना अब्बल स्रष्टा हुनुहुन्छ। उहाँलाई डुवर्समा मात्रै खुम्चाउन उचित हुन्न भन्ने मलाई लाग्दछ।



>> बद्रीनारायण प्रधानका एघारवटा कृति प्रकाशित छन्। धेरै कृति प्रकाशित हुन बाँकी छन्। ‘बद्रीनाराण प्रधानका कृतिहरूले पचास वर्षपछि पनि उस्तै नियति भोग्न परिरहेको छ’ भन्ने कुरा यहाँले स्मृति ग्रन्थमा उठाउनु भएको छ। अब यसको कारण के हुन सक्छ त?
- आश्‍चर्यको कुरो के छ भने आजभन्दा लगभग साठी वर्षअघि 1952-मा बद्रीनारायण प्रधानले ‘आमा’ उपन्यास अनुवाद गर्नुभयो र अनुवादका केही अंश त्यतिबेलाको ‘भारती’-मा छापिए, तर त्यसपछि यो कृति छापिनु लगभग 24 वर्ष लाग्यो। 1976-मा दार्जीलिङको श्याम ब्रदर्श प्रकाशनले यो कृति प्रकाशित गर्‍यो। ‘आमा’-को प्रकाशनपछि बद्रीनारायण प्रधानको अनुवादकलाको सबैले सराहना गरे। 1947 मा लेखेको महर्षि कार्ल मार्क्सको जीवन एकैचोटि 1981 मा प्रकाशित भयो। यसले पनि पुस्तकको रूप पाउन 34 वर्ष कुर्नु पर्‍यो। उहाँका अन्य कृतिहरूका हकमा पनि यस्तै भएको छ। आजभन्दा 50 वर्षअघि प्रकाशनको जुन अवस्था थियो, त्यो आज छैन। त्यतिबेला सूचना प्रविधिको अभाव थियो र अहिलेको जस्तो सुविधा पनि थिएन। यसकारण त्यतिबेलाको अवस्थालाई केही हदसम्म स्वाभाविक मान्न सकिएला, तर अहिले त्यस्तो अवस्था छैन। यद्यपि अहिले पनि बद्रीनारायण प्रधानका कृतिहरूले उस्तै नियति भोग्नु विडम्बनाको कुरा हो।
गणेशलाल सुब्बामाथि लेखिएको बद्रीनारायण प्रधानको एउटा ‘मोनोग्राफ’ साहित्य अकादमी नयाँ दिल्लीले लगेको आज 16 वर्ष हुँदैछ। त्यसबारे कुनै खोजखबर छैन। सिलगढीका एकजना प्रकाशकले उहाँको ‘सन्तान’ नामक कथासङ्ग्रहको पाण्डुलिपि उहाँ जीवित हुँदै प्रकाशित गरिदिन्छु भनेर लगेको आज आठ वर्ष लाग्दैछ, त्यसको पनि खबर छैन। आज पनि बद्रीनारायण प्रधानका कृतिहरू प्रकाशित हुन यति ढिलाई हुनुमा कतै उहाँले बोकेको राजनैतिक विचार अथवा कम्युनिस्टलाई हेर्ने दृष्टिकोणको पूर्वाग्रह त कारण बनेको छैन भन्ने शङ्का जाग्दछ। आज 50 वर्ष अघिको अवस्था छैन। अहिले नेपाली साहित्य धेरै माथि पुगिसकेको छ। नेपाली साहित्यमा सङ्कीर्णता छैन अब। एउटा विचारलाई प्रोत्साहित गर्ने अर्को विचारलाई दमित गर्ने अवस्था पनि छैन आज। नेपालमा त प्रगतिवादी साहित्यलाई बाइपास गरेर अथवा बाहिर राखेर नेपाली साहित्यको इतिहास पूरा हुनै सक्दैन। भारतीय नेपाली साहित्यमा भने आज पनि प्रगतिवादी साहित्यलाई हेर्ने दृष्टिकोण पूर्वाग्रहयुक्त नै छ। वास्तवमा साँचो भन्नु हो भने साहित्यमा विचारको निषेध वा साहित्य राजनीतिदेखि अलग हुनुपर्छ भन्ने सोच पनि स्वयंमा एउटा राजनीति हो। प्रगतिवादी साहित्यलाई ‘नारावादी’ भन्नेहरू स्वयंले भने कस्तो विचार वा नारालाई आत्मसात गरिरहेका छन् भन्ने कुरा उनीहरूका कृतिहरू गहन रूपले अध्ययन गर्दा स्पष्ट हुँदछ। यसैले साहित्यमा आफ्नो ‘वाद’ सही तर प्रगतिवाद ‘नारा’ भन्ने धारणाको अन्त्य हुन जरूरी छ।



>>  बद्रीनारायण प्रधानले सधैँ समाजलाई उज्यालोतिर डोहोर्‍याउने काम गर्नुभयो। यो कुरा उहाँका कर्महरूले, उहाँका कृतिहरूले प्रमाणित गरिसकेका छन्। भारतीय नेपाली साहित्यका निर्माताका रूपमा पनि उहाँको परिचय स्थापित छ। के साहित्य अकादमी, नयाँ दिल्लीले उहाँलाई ‘भारतीय नेपाली साहित्यका निर्माता’ श्रृङ्खलामा समावेश गर्ला?
- हामीले आजभन्दा 50 वर्ष पहिलाको स्थितिको कुरा गर्‍यौं। त्यो स्थिति अहिले छैन। आज कम्युनिस्ट भनेको भारतको एक स्थापित राजनैतिक पार्टी हो। यो विचार पनि संसारभरि स्थापित राजनैतिक विचार हो, सिद्धान्त हो। त्यसैले यसमा कुनै भेदभाव अथवा कुनै पूर्वाग्रह राख्नु पर्ने देखिँदैन। तर यदि सम्बन्धित कुनै पक्षबाट त्यसप्रकारको पूर्वाग्रह राखियो भने निश्‍चितरूपमा बद्रीनारायण प्रधान यसमा पनि ओझेल पर्लान्। तर यदि बद्रीनारायण प्रधानका सबै पक्षहरूलाई मूल्याङ्कन गर्ने र उहाँलाई एक अग्रणी समाजसचेतक, अग्रणी साहित्यकार तथा अग्रणी शिक्षाविद्का रूपमा मान्यता दिने हो भने भारतीय नेपाली साहित्य निर्माता श्रृङ्खलामा बद्रीनारायण प्रधानको एउटा मोनोग्राफ अथवा उहाँको छुट्टै कृति अथवा उहाँबारेमा एउटा विश्‍लेषण गरिएको कृति साहित्य अकादमीले प्रकाशन गर्नु जरुरी देखिन्छ।



>> छः दशकअघि नै बद्रीनारायण प्रधानले विश्‍व साहित्यलाई नेपाली समाजमा चिनाउने काम गर्नुभएको थियो। अघिदेखि हामी प्रगतिवादी विचारधाराका कुरा गरिरहेका छौं। बद्रीनारायण प्रधानलाई प्रगतिवादी भनिनुका आधारहरू के-के हुन्? प्रगतिशील र प्रगतिवादी भन्नाले के बुझिन्छ?
- वास्तवमा प्रगतिशील र प्रगतिवादी दुई अलग-अलग कुरा हुन्। प्रगतिशील भनेको समाजका यथास्थितिवाद, विसङ्गति, कुसंस्कार, रूढिवाद, भ्रष्टाचार, दुराचार, अन्याय र अत्याचारको विरोध गरेर समाजलई सचेत र अग्रगतितिर अग्रसरित गर्ने चिन्तन हो। यसले सामाजिक रूपान्तरणको पनि कुरा गर्दछ। समाजलाई प्रगतिको पथमा अग्रसरित गर्न आइपर्ने बाधाहरूलाई चिर्दै यो चिन्तनले आफ्नो सिर्जनालाई समाजमुखी बनाउँदछ। साहित्यमा यही विचारधारालाई हामी प्रगतिशील साहित्य भन्छौं। तर प्रगतिवादी साहित्य मार्क्सवादी साहित्यको एउटा अभिन्न पाटो हो। यसले द्वन्द्वात्मक भौतिकवादको नियमअनुसार संसारको व्याख्या र विश्‍लेषण गर्दछ। प्रगतिवादी साहित्यलाई समाजवादी साहित्य पनि भनिन्छ अनि धेरै ठाउँ यसलाई मार्क्सवादी साहित्य पनि भन्ने गरिन्छ। नेपाली साहित्यमै पनि यस्तो चलन छ। मार्क्सवादी विचारधारालाई आत्मसात गर्दै सर्वहारावर्गको मुक्ति र राजनैतिक अधिकारको सङ्घर्षलाई यसले आफ्नो साहित्यमा समेट्दछ। प्रगतिवादी हुनको निम्ति मार्क्सीय दर्शनको आत्मसातीकरण अनिवार्य शर्त हो भने प्रगतिशीलहरू मार्क्सवादी हुनैपर्छ भन्ने जरूरी छैन। 
बद्रीनारायण प्रधानले सन् 1947-मै ‘गोर्खा’ पत्रिकामा पहिलोपल्ट रचना प्रकाशित गर्नुभयो ‘महर्षि कार्ल मार्क्स’ भनेर। सबैलाई थाहा छ, महर्षि कार्ल मार्क्स विश्‍वप्रसिद्ध दार्शनिक हुन् जो कम्युनिस्ट सिद्धान्तका प्रतिष्ठापक हुन्। कार्ल मार्क्सको बारेमा पहिलोपल्ट उहाँले नेपाली समाजलाई जानकारी दिनुभयो। यो लेख नेपाललगायत भारत र विश्‍वमा नै कार्ल मार्क्समाथि लेखिएको पहिलो नेपाली रचना हो। बद्रीनारायण प्रधानले पहिलोपल्ट नेपाली समाजमा कार्ल मार्क्स चिनाउनु भयो। त्यसपछि उहाँले 1952-मा म्याक्सिम गोर्कीको विश्‍वप्रसिद्ध उपन्यास ‘आमा’ नेपालीमा अनुवाद गर्नुभयो। त्यसका केही अंश ‘भारती’-मा प्रकाशित भए। त्यसपछि उहाँले विश्‍वका प्रगतिवादी साहित्यकारहरूका रचनालाई फुटकररूपमा अनुवाद गर्दै जानुभयो। अनुवादकै क्रममा उहाँले म्याक्सिम गोर्कीको जीवनी ‘भोल्गाको गडतीरबाट’ भनेर ‘फ्रम द ब्यांक्स अफ् भोल्गा’ भन्ने अलेक्जेन्डर रस्किनको अङ्ग्रेजी पुस्तक नेपालीमा अनुवाद गर्नुभयो। यसरी उहाँले म्याक्सिम गोर्कीलाई नेपाली पाठकमा चिनाउनु भयो। उहाँले जुन अनुवाद साहित्यको चयन गर्नुभयो, ती मूलतः प्रगतिवादी साहित्य नै थिए। प्रगतिवादी चेत, कम्युनिस्ट सिद्धान्त, वामपन्थी विचारधारा र सर्वहारा जनताको आवाजलाई मुखरित गर्ने लेखक-कलाकारले मात्रै यस किसिमको अनुवादको चयन गर्न सक्दछ। त्यसैले पनि बद्रीनारायण प्रधान एकजना प्रगतिवादी स्रष्टा हुनुहुन्छ।



>> स्मृति ग्रन्थ प्रकाशित गर्नुभयो, तर यसको बिक्री वितरण कसरी गरिरहनुभएको छ? नेपाली साहित्यका पाठकहरूबाट कस्तो रेस्पोन्स पाइराख्नुभएको छ?
- ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ हामीले बद्रीनारायण प्रधान जीवित हुँदै मेरै सक्रियतामा अभिनन्दन ग्रन्थको रूपमा निकाल्ने भनेर प्रयास शुरू गरेका थियौं 2009-मै। यो प्रयास थाल्दा-नथाल्दै 2010-को 8 मईको दिन उहाँको निधन भयो। उहाँ जीवित हुँदै सम्मान जनाउन पाएको भए राम्रो हुन्थ्यो भन्ने हाम्रो चाहना थियो। त्यो पूरा हुन नसक्दा हामी बढी भावुक भयौं र हामीले अभिनन्दन ग्रन्थलाई स्मृति ग्रन्थमा रूपान्तरण गर्‍यौं। अहिले 456 पृष्ठको एउटा गतिलो पुस्तक निस्केको छ। यो साइजको हिसाबले मात्र होइन तर कन्टेन्ट वा सामग्रीको हिसाबले पनि एउटा गतिलो पुस्तक भएको छ भन्ने हामीले प्रतिक्रियाहरू पाइरहेका छौं। पाठकहरूबाट सकारात्मक प्रतिक्रिया छ। एक हजार प्रति पुस्तकमा अहिले हामीसँग थोरै पुस्तक मात्र बाँकी छन्। यसको बिक्री पनि छिटो भएको छ। हाम्रो मेहनत कतिसम्म सफल भएको छ, त्यो आलोचकहरूले खुट्याउने कुरा हो। तर हामीले एउटा इमानदार प्रयास गर्‍यौं। यो प्रयासमा पुस्तकलाई प्रकाशन गरी पाठकहरूसम्म पुर्‍याउन सक्यौं। स्रोत-संसाधनहरू हामीसँग सीमित छन्, तर पनि हामीले यसलाई डुवर्स, दार्जीलिङ, सिलगढी, सिक्किम, नेपाल आदि ठाउँहरूमा पुर्‍याइरहेका छौं। विश्‍वविद्यालयदेखि ग्रामीण पुस्तकालयसम्म पठाइरहेका छौं। सिक्किम विश्‍वविद्यालयले यसलाई आफ्नो पाठ्यक्रममा सन्दर्भ ग्रन्थको रूपमा हालेको छ। उत्तर बङ्गाल विश्‍वविद्यालयबाट बद्रीनारायण प्रधानका कृतिहरूमाथि पीएचडी हुँदैछ।
यो हाम्रो निम्ति खुशीको कुरा हो। यो ग्रन्थ 19 जनवरीको दिन विमोचन भएको थियो। विमोचनको 10 दिनभित्र लगभग तीनसय पुस्तक बिक्री भयो। पाठकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले हामीलाई अत्यन्त उत्साहित बनाएको छ। बद्रीनारायण प्रधानलाई जान्न र बुझ्न यो एक आधिकारिक ग्रन्थ भएको छ भन्ने हाम्रा वरिष्ठ साहित्यकारहरू मोहन पी. दाहाल, डा. जीवन नामदुङ, नरबहादुर दाहालहरूको मन्तव्य छ। म पाठक, शोधार्थी र साहित्यका विद्यार्थीहरूलाई आग्रह गर्न चाहन्छु- तपाईंहरूले यस्ता ग्रन्थहरू खोजेर, किनिदिएर, यसप्रति सोध गरेर बद्रीनारायण प्रधानबारेको अध्ययनको क्रमलाई अझ विकसित तुल्याउन सहयोग गरिदिनुहोस्। बद्रीनारायण प्रधान नेपाली साहित्यका एक विरलाकोटिका प्रतिभा हुन् भन्ने कुरा नेपाली पाठकहरूलाई जनाइरहनु परोइन।
                                                                                                                           - अन्तरवार्ताकार : अर्जुन यावा