Wednesday, November 26, 2014

जनताको काम गरेको खोइ?

गाउँ-समाजको विकास हुनेछ, समस्याहरूको समाधान हुनेछ अनि जनताले सुख पाउनेछन् भन्ने विश्‍वासमै जनताले आफ्नो प्रतिनिधि चुनेर पठाउने गर्छन् पञ्चायत र विधायक बनाएर सरकारमा। चुनाउका बेला जनतालाई आफू उम्मेदवार भएर घरदैलो गरेका समय यस्तै विकास र उन्नतिको कुरा गरेर जनप्रतिनिधि चुनिएका जो-कोहीको जिम्मेवारी पनि यही हुन्छ। उसो त राजनीतिलाई हेरिने दृष्टि सबैको भिन्नाभिन्नै होलान्, सकारात्मक-नकारात्मक दुवै। अनि त्यसका कारण पनि। फेरि असल र सफल समाज सेवक बन्न चाहनेहरूका लागि फराकिलो मैदान पनि हुन्छ त्यही राजनीति। भनिएको छ ‘पोलिटिक्स इज ए डर्टी गेम।’ वास्तवमा यो कुरा ‘पोलिटिक्स’-मा नभएर ‘पोलिटिसियन’-मा निर्भर गर्दछ। ‘वञ्चरो’, ‘मुँडा’ र ‘घुँडा’-कै कुरा जस्तो। कस्ले कसरी प्रयोग गर्छ राजनीतिलाई निर्भर त्यसैमा हुन्छ राजनैतिक उद्देश्यको। जनहित र समाज विकासमा राजनीतिज्ञहरूको एउटै लक्ष्य हुन जरुरी हुन्छ, चाहे उ सत्तापक्ष हुन् चाहे विपक्षी। गलत फाइदा उठाउनेहरूले फेरि राजनीतिज्ञ मात्रै होइन राजनीतिलाई पनि बदनाम गराइरहेका हुन्छन्।
अहिले सिक्किमको सन्दर्भमा पनि यी दुवै प्रकारको राजनीति चलिरहेको जनताले देखिरहेका छन्। एउटा जनताको हित र समाज विकासको, अर्को स्वार्थपूर्तिको। स्वार्थपूर्तिको भावले समाजको उन्नति हुनसक्दैन। राज्यमा सत्तारुढ एसडीएफ पार्टीले 21 वर्षअघिदेखि कस्तो काम गर्दै आइरहेको छ? त्यो भनिरहनु पर्ने विषय होइन। एउटै पार्टीले निरन्तररूपमा पाँचौंपल्ट सरकार बनाएको कुराले प्रष्ट पारिहाल्छ। तर नराम्रो कामको विरोध जस्तै राम्रोको पनि डाह गर्नेहरू विरोधकै आवाज कराईरहन्छन्।  वास्तवमा त्यो उनीहरूको कमजोरी कराइरहेको हुन्छ। यहाँ त्यस्तै भइरहेको देखिन्छ। एसडीएफको सरकारले आज जुन काम गरिरहेको छ,  त्यसको महत्व आज संसारले बुझिरहेको छ। त्यसको मूल्याङ्कन राष्ट्रव्यापिरूपमा भइरहेको छ, अन्तरराष्ट्रिय मञ्चहरूमा भइरहेको छ। स्वयंले केही गर्न नसक्ने विपक्षीहरू त्यसको विरोध गरिरहेका छन्। त्यस्तै विरोधको उदाहरण हो राज्यको जैविक अभियानको विरोध।
काग कराउँदा त्यसकै पछि नलागेर पहिला आफ्नो कान छाम्नुपर्ने उक्ति पुरानो हो। तर सँधै उपयोगी छ। मानवहितमा छ। सत्तापक्षले आज के गर्दैछ? जनताले हेर्नुपर्छ। हेरेर त्यसमाथि मनन-चिन्तन पनि गर्नुपर्छ। अनि विपक्षीहरूले के भन्दैछन्? त्यो पनि जनताले सुन्नुपर्छ। सुनेर त्यसमाथि छानविन गर्नुपर्छ, आपस्तमा वहस गर्नुपर्छ र ठीक हो-होइन बुझ्नु पर्छ। एसडीएफले सँधैं भनिरहेको छ, ‘जनता राजमा जनतै राजा।’ उसो भए जनताले सत्य तथ्य बुझ्ने क्षमता राखे ठीक कुरालाई समर्थन दिनु र गलत कुराको विरोध गर्नु पनि उत्तिकै अधिकार जनतामा छ। चाहे त्यो सत्तापक्षले गरेको होस्, या विपक्षले। कति सही, कति गलत हो? छुटाउन नसके नबोलेकै बेश।
अब, प्रश्‍न उठ्छ चुनाउका बेला विपक्षीहरूले जनतालाई के भनेर भोट फकाएका थिए? ‘फ्ल्यासब्याक’-मा गएर जनताले यतिकुरा बुझ्न जरुरी छ। गएको चुनाउमा एउटा दह्रिलो विपक्षी पार्टीको ट्याग झुण्डाएको डङ्का पिट्दै एसकेएमले ‘अब जनताको काम हुनेछ’ नभनेको होइन। भनाइ र व्यवहारमा एकरूपता खोइ त? विपक्षीको कर्तब्य-धर्म के हो? यसको खोजी कसैले गर्दैछ कि छैन? किनभने विधायक बनेर ‘हामीले पनि विदेश भ्रमणको अवसर पाउनु पर्छ’ भनेर जनताको काम हुँदैन। ‘हामीलाई त जनताले जिताएको हो, रातो बत्ती बाल्न पाउनुपर्छ’ भन्नु उनीहरूको अधिकारले भेट्ला। त्यतिले तर समाजको विकास हुँदैन। सरकारले गर्नुपर्ने काम कहाँ के हुन सकेको छैन? जनताले कहाँ कसरी कष्ट भोगिरहेका छन्? त्यसको जिम्मेवारी सत्तापक्षको मात्रै हुँदैन। जनताले जिताएर विधानसभा पुर्‍याइएका प्रत्येक विधायकको उत्तिकै जिम्मेवारी हुन्छ। विपक्षीमा बसेर मात्रै विरोध गर्नु उसको दायित्व होइन। त्यसैले जनताले पनि आफ्नो र आफ्नै समाजको हित र विकासको निम्ति जिताएर पठाएको विधायकलाई ‘जनताको काम गरेको खोइ?’ भनेर प्रश्‍न गर्न सक्नुपर्छ। 10.10.2014

No comments:

Post a Comment