Wednesday, November 26, 2014

स्वच्छ भारत अभियान र सिक्किम

प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले स्वतन्त्रदा दिवस 2014-को अवसरमा घोषणा गरेअनुसार 2 अक्टोबर 2014 देखि देखभरि ‘स्वच्छ भारत अभिानलाई एउटा आन्दोलनकै रूपमा अहिले सञ्चालन गरिँदैछ। महात्मा गान्धीको जन्मदिनको अवसर पारेर यो अभियान शुरू गरिएको छ। प्रधानमन्त्री मोदीले अस्वस्थ प्रथाहरू निर्मूल पार्नु यस अभियानको मुख्य उद्देश्य रहेको पनि बताइसकेका छन्। किनभने राष्ट्रपिता महात्मा गान्धीले पनि स्वच्छ भारतको सपना राखेका थिए अनि भनेका थिए- ‘स्वच्छता स्वतन्त्रताभन्दा अधिक महत्वपूर्ण हुन्छ।’ उनले ‘एक स्वस्थ जीवनका लागि स्वच्छ परिवेश राख्नु पर्दछ।’ भन्दै मानिस स्वस्थ रहेमात्र देशको उन्नति-विकास हुनसक्ने बताएका छन्। त्यसैले प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राष्ट्रपिता महात्मा गान्धीको त्यो सपना जस्तै देश र देशवासीलाई स्वच्छ र स्वस्थ बनाउने पहल शुरू गरेका हुन्।
देशभरि जस्तै सिक्किमले पनि स्वच्छ र स्वस्थ सिक्किमको निम्ति जोडदार पहल गरिरहेको छ। राज्य सरकार पनि यस अभियानलाई सफल पार्ने लक्ष्यमा रहेको छ भने राज्यका हरेक संघ-संस्था तथा गैरसरकारी संगठनहरूले पनि अभियानलाई सफल बनाउने दिशामा काम गरिहेको छ। एउटा राज्यलाई स्वच्छ बनाउनु भनेको देशकै स्वच्छ अभियान सफल हुनु हो। स्वच्छ मात्र होइन, निसन्देह महात्मा गान्धीको सपना जस्तै स्वस्थ समाजसँगै सुन्दर समाजको निर्माण पनि हो। स्वच्छ समाज र परिवेशपछि मात्रै एउटा सुन्दर र निर्मल समाज बनाउन सक्छौं हामी।
ध्यान राख्नुपर्ने कुरा के छ भने, अहिले जसरी, जुन गतिमा ‘स्वच्छ भारत अभियान’-लाई राज्य र देशका हरेक तप्काले सफल पार्ने उद्देश्य लिएका छन् के यो वास्तवमा मनभित्रबाट गरिरहेका छन् के मानिसहरूले? कतै आपस्तमा होड मात्रै चलेको छैन के? यदि त्यसो हो भने अभियानको सफलतामा आशंका उब्जन सक्छ। देखाउनलाई गरिएका कुनै पनि कार्य भविष्यका लागि भन्दा वर्तमानकै लागि मात्र हुन्छ। स्वस्छ र स्वस्थ समाज वा देशको जुन अभियान छ, अझवा राष्ट्रपिता महात्मा गान्धीले स्वच्छ र स्वस्थ भारतप्रति सजाएका सपना  क्षणभरका लागि थिएन।
राज्यको सन्दर्भमा कुरा गर्नु हो भने भर्खरै मात्र प्रकाशमा आएको विषय ‘अहिले गान्तोकमा मात्रै प्रत्येक वर्ष 55 लाख प्लास्टिक बोटल थुप्रिँदै छ।’ उसो भए सिक्किमभरिको यो संख्या कति होला? अब ख्याल राख्नुपर्ने विषय त के छ भने ‘प्लास्टिक’-को प्रयोग सिक्किममा निषेध अघिबाटै गरिसकिएको छ। ‘प्लास्टिक’-का ‘ब्याग’ वा कुनै पनि वस्तु विक्री-वितरणमा पनि निषेधमात्र होइन यस्तो बेच्ने दोकानको लाइसेन्स रद्द गरिने अनि जरिमाना तिराइने पनि बताइएको थियो।
स्वच्छताको सन्दर्भमा यहाँ अर्को एउटा प्रसङ्ग पनि उठ्दछ। त्यो हो वर्ष 2010-11 मा तत्कालीन राज्य सरकारको वन-पर्यटन मन्त्री भीम ढुङ्गेलले ‘प्रत्येक ट्याक्सी वाहन, निजी वाहन र प्रत्येक भीआइपी वाहनमा गार्वेज ब्याग लगाइनु पर्छ।’ भन्दै यसलाई अनिवार्य गराइने पनि बताएका थिए। यतिमात्र होइन ‘राज्यबाहिरबाट आउने हरेक पर्यटकलाई सिक्किममा जताततै फोहोर-मैला फ्याक्न पाइँदै भन्ने बुझाउनु पर्छ।’ भन्दै वाहन चालकहरूलाई ‘क्लिन एन्ड ग्रिन सिक्किम’-को गार्वेज व्यागसितै टी-सर्ट वितरण पनि गरेका थिए। आज राज्यका कतिवटा ट्याक्सी, कतिवटा निजी र कतिवटा भीआइपी वाहनमा ‘गार्वेज व्याग’ लगाइएका छन्?
नियम-कानुन बनाउनु वा नयाँ सोच, नयाँ विचार ल्याउनु ठूलो कुरा होइन। त्यसलाई कसरी कार्यवयनमा उतार्न सकिन्छ, महत्वपूर्ण विषय त्यो हुन्छ। सिक्किमलाई स्वच्छ राख्ने राज्य सरकारले बनाएको सोच नयाँ होइन। अहिले देशभरि सञ्चालनमा रहेको ‘स्वच्छ भारत अभियान’-मा सिक्किम पनि उत्तकै इमान्दारितापूर्वक लागि परेको तथ्य सत्य छ। यति हो, त्यसलाई सफल पार्ने मात्रै होइन तर निरन्तरता दिनुपनि उत्तिकै महत्वपूर्ण हुन्छ। नभए स्वच्छता अभियानमा सहभागी बनेका कुराहरू प्रचार-प्रसारमा ल्याएरै मात्र स्वच्छ र स्वस्थ समाज बन्दैन।

No comments:

Post a Comment