Wednesday, November 26, 2014

फूटबलको क्रेज

राज्यले विगत केही वर्षयता खेलकुद जगतमा धेरै विकास गरिरहेको सिक्किमेली खेलाडीहरूको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा दिइरहेको सहभागिताले प्रष्ट पारिरहेको छ। विशेषगरि अहिले फूटबलको जताततै चर्चा छ। देशमा एकातिर इन्डियन सुपर लीग (आइएसएल)-ले फूटबलप्रेमीहरूको ध्यानाकर्षण गराइरहेको छ भने यता राज्यमा गवर्नर्स गोल्डकपले। देशमै आफ्नो छुट्टै प्रतिष्ठा कायम राख्न सफल गवर्नर्स गोल्डकपले निश्‍चय राज्यमा खेलप्रेमीहरूको मन जित्न सफल रहेको मान्न सकिन्छ। वर्ष 1976-मा स्थापित सिक्किम फूटबल एसोसिएसनद्वारा प्रत्येक वर्ष आयोजन गरिने यस गवर्नर्स गोल्डकपले धेरै फूटबल खेलाडीहरूको जन्म गराएको छ।
एकसमय गवर्नर्स गोल्डकप भन्ने वित्तिकै सारा गाउँ-घर उर्लिएर पाल्टजर स्टेडियमको गौरव बढाइदिने भीड अहिले कम भएको छ। भन्नै हो भने राज्यवासीमा फूटबल खेलप्रतिको जुन क्रेज थियो त्यो अहिले न्यून भएर गएको छ। कुनै समय फूटबल हेर्नेहरूको भीडले ग्यालेरीमा खुट्टै मात्र टेक्ने ठाउँसम्म पाउन गाह्रो पर्थ्यो भने अहिले ग्यालेरी प्रायः खाली-खाली देखिन्छ।
गएको अगस्त महिनामै मात्र स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर राज्यका विभिन्न गाउँ-गाउँमा आयोजित फूटबल तथा भलिबल दुवै खेल हेर्नेहरूको भीड लागेको देखिएको थियो। सानाहरूदेखि युवा तथा तरुणावस्था मात्रै होइनन् तर बुढापाकाहरूसम्म खुब उत्साहित देखिन्थे खेल हेर्नलाई। यद्यपि, त्यसैको तुलनामा अहिले स्थानीय पाल्जर स्टेडियमा चलिरहेको 35औं गवर्नर्स गोल्डकपमा स्थानीय र राष्ट्रियदेखि अन्तरराष्ट्रियस्तरका टीमहरूको खेल हेर्नहरूको सङ्ख्या न्यून भएर गएको छ।
आयोजक पक्ष सिक्किम फूटबल एसोसिएसनले के आशा गरिरहेको थियो भने, गवर्नर्स गोल्डकपमा राष्ट्रियस्तरका टोलीहरूसितै नेपालका टोलीहरूलाई ल्याउन सके फूटबलप्रेमीहरूको भीड उर्लिएर आउनेछ। त्यसैले वर्ष 2013-को गवर्नर्स गोल्डकपको विजेता थ्री स्टार नेपालसित अर्को लोकप्रिय टोली मनाङ मर्साङदी नेपाललाई ल्याउन सफल रहेको छ भने ओएनजीसी मुम्बइ, आर्मी-11 जस्ता टुर्नामेन्टकै प्रबल दाबेदारी टोलीहरू पनि ल्याउन सफल रहेको थियो। यतिमात्रै नभएर आफ्नै मैदानमा स्थानीय दुइवटा टोलीलाई पनि टुर्नामेन्टमा प्रवेश गराएको थियो एसएफएले। तर, दर्शकहरूको जुन आशा साँचेको थियो अथवा साँचेको छ आयोजक पक्षले त्यो सफल देखिएन।
यहाँ ध्यानयोग्य कुरा के छ भने, राज्य सरकारले स्थानीय युवाहरूलाई खेलकुदप्रति जुनप्रकारले प्रमोट गरेर लाने, राज्यको खेल जगतलाई विकसित गरेर लाने योजनाअनुरूप काम गर्दै आइरहेको छ, त्यसैको प्रतिफल मान्न सकिन्छ गवर्नर्स गोल्डकपमा राज्यका दुइदुइवटा फूटबल टोली एसएफए वाइट र सिक्किम हिमालयन स्पोर्टिङ क्लबको सहभागिता। यति हुँदाहुँदै पनि खेलप्रेमी दर्शकहरूको भने झण्डैझण्डै अनिकालै जस्तो देखिएको छ। मैदानमात्रै होइन तर पारीपारीसम्म थर्काउने दर्शकहरूको जोशपूर्ण र प्रेरणामयी चियरप खेलाडीहरूले पाउन सकिरहेका छैनन्।
पहिले फूटबलको समय हुनसाथै सारा काम छोडेर पनि  मानिसहरू उर्लिन्थे फूटबल हेर्न। कर्मचारीहरूदेखि विद्यार्थीहरूको उस्तै भीड जमेको हुन्थ्यो ग्यालेरीमा। खोइ त फूटबलको त्यो क्रेज? एउटा प्रश्‍नचिन्ह बनिरहेको छ। जहाँ फूटबलप्रेमी दर्शकहरूले ग्यालेरिमा खुट्टा टेक्नेसम्म ठाउँ पाउन गाह्रो पर्थ्यो, त्यहीँ अहिले दर्शकहरूको कमी रहनुको पछि कारण के हो? के खेलकुदप्रति मानिसहरूको चासो घटेकै हो कि आयोजक पक्षमा केही कमजोरी छ? रनोरञ्जनका बढ्दो साधनहरूले भुलाइरहेछन् खेलप्रेमी दर्शकहरूलाई?

No comments:

Post a Comment