Friday, April 29, 2016

अनुहार

-अर्जुन राई ‘यावा’

बिहानै डाँड़ागाउँ निस्केँ। गुडबुक्स् पुगेँ। दुई-तीनजनाले समाचार-पत्रहरू हेरिरहेका थिए। भीमदाजु समाचार-पत्रहरू मिलाइरहनु भएको थियो। बिहान प्रायः भीमदाजुलाई व्यस्त नै पाइन्छ। चासो दिएर बिहानै त्यत्ति पत्र-पत्रिका हेर्ने गरेको छुइन। तरै पनि यहाँ आइपुगेपछि एकपल्ट कुनै-कुनै पत्रिका हेरिहाल्छु। आफ्नै पत्रिका कस्तो आएछ? चासोको पहिलो विषय हुन्छ। अहिले पनि त्यस्तै भयो। अनि टेबलमा मिलाएर राखिएका समाचार-पत्रहरूबाट निकालेँ ‘समय दैनिक’।
अरुहरूले हेरिरहेका थिए, लिड न्यूज के छ? सेकेण्ड लिडमा के छ? सत्तारुढ़पक्षले के भनिरहेका छन्? विपक्षकाहरूले के भन्दैछन्? राज्यमा नयाँ घटना के हुँदैछ? यस्तै-यस्तै। मैले पनि त्यसै गरेँ। हामीले बिहानै समाचार पत्रिकामा हेर्नुपर्ने भनेको पहिलो पाता नै हो। पहिलो पाता अर्थात स्थानीय गतिविधि। आफू स्वयं पत्रकारिता पेशामा भएकाले होला ती समाचारहरूले मलाई त्यति ध्यानाकर्षण गर्दैन। ‘हेडलाइन’-हरू सर्सर्ति हेरेपछि भित्री पृष्ठका राष्ट्रिय समाचारहरूमा मेरा आँखा पुग्छन्।
भ्रष्टाचारको विरोधमा भोक हड़ताल, देशमा भ्रष्टाचार रोकिनुपर्छ -अन्ना हजारे, केजरीवालले दिल्लीलाई भ्रष्टाचारमुक्त गर्ने, गैरकानूनी ढङ्गमा विदेशमा निवेश गर्न नपाइने, विदेशी ब्याङ्कहरूमा पुँजी राख्नु अवैध, विदेशी ब्याङ्कहरूमा पुँजी राख्नेहरूको सूची जारी...। प्रायः समाचार पत्रहरूमा दोहोरिरहने राष्ट्रिय  समाचारहरूका हेडलाइनहरू नै रहेछन् आज पनि।
“ए...! ‘यावा’ पनि रहेछ। कतिबेला...?’’
प्रश्‍न मेरैलागि थियो। टाउको फर्काएँ दाहिनेतिर। ‘रावत’ दाजु हुनुहुन्थ्यो। प्रतिउत्तरमा ‘भर्खर-भर्खरै। तपाईं नि..?’ सोधेँ।
“इ..., जस्ट पेपर टिप्दैछु।’’ भन्नुभयो। ‘हिमाली बेला’ रहेछ उहाँको हातमा। हिमाली बेला अथवा रावत दाजुले भन्नुभएको ‘पेपर’। दैनिक नेपाली समाचार पत्र।
“के छ हौ नयाँ-नौलो?’’ सोध्नुभयो मलाई। आँखा तर मतिर होइन, समाचार-पत्रमै थियो यतिबेला।
‘छैन हौ त्यस्तो केहि...।’’ हेरेर उत्तर दिएँ उहाँलाई।
मेरो हातमा भएको समय दैनिक अघि टिपेकै ठाउँमा मिलाएर राखिदिएँ। सबैले टिपेर हेर्दै नमिलाई फ्यात्त फ्याँकिदिएर जाँदा भीम दाजुलाई कहिलेकाहिँ त रिस उठ्दो हो! सम्झन्छु। त्यसैले जहिल्यै पनि समाचार पत्रहरू हेरेको समय मिलाएरै राखिदिन्छु, जस्ताको जस्तै। पत्रिका राखिदिएँ अनि रावत दाजुतिर हेर्दै भनेँ, “गएँ है दाजु।’’
रावत दाजुले दुईहातले दुई छेउ समाएर हेर्दै गरेको समाचार-पत्रका दुवै पाता देब्रे हातमा अड्याउँदै दाहिने हात मतिर बड़ाउनुभयो। त्यसपछि “ल..’’ भन्दै फेरि प्रश्‍न गर्नुभयो “कता? घरतिरै कि?’’
“हजूर।’’ भनेर म आफ्नो बाटो लागेँ।
---
रेडियो स्टेशन पुग्नु थियो। त्यसैर फेरि डाँड़ा गाउँ पुग्नैपर्ने। पुगेर ट्याक्सी पर्खिरहेको थिएँ। सोमबार प्रायः ट्राफिक जाम हुनेगर्छ। अझ महिनाको पहिलो साता सोचेको समयमा पुग्नुपर्ने ठाउँ पुग्नु गाह्रो पर्छ। यो नयाँ कुरा होइन। गान्तोकको यो समस्यासित कोही अनभिज्ञ छैनन्। समाधान तर कहिले हुनसकेको छैन। सायद हुँदैन पनि। किनभने समाधानको लागि विकल्प पनि त चाहियो। यसको फाइदा उठाउनेहरू तर खुशी हुन्छन् ट्राफिक जामसित। ट्राफिक जाम नहुँदा नै पनि ‘सर जाममा परेको छु, अलिक ढिलो हुन्छहोला...।’ भनिरहेका हुन्छन्। तर अहिले म साँच्चै ट्राफिक जामको चपेटमा छु। वाहनहरू घस्रिरहेका छन् सडकमा। म सडक छेउ उभिएको छु ट्याक्सी पर्खेर। सबै प्याक।
झण्डै 15 मिनटपछि एउटा प्राइवेट कार मेरो छेउमै रोकियो। झट्ट ध्यान गइहालेन त्यसमा। ‘टिट्..टिट्...’ हर्न बज्यो। ‘आफूलाई अबेर हुनलागेको बेला...’ मनमनै सोच्दै झर्को माने झैं हेरेँ। ‘आइ-20’ थियो मेरो अघि रोकिएको। “बजारतिर हो?’’ प्रश्‍न र हातको इशारा एकैसाथ मेरै निम्ति थियो। “जाउँ’’ भनेर अघिल्लोपटिको दैलो खोलिदियो उसले। ‘उ’ अथवा ‘विवेक’। 
विवेक उही थियो, जोसित म सँगै कलेज पढ़ेको थिएँ। कलेजको पहिलो भेटमै हाम्रो मित्रता भएको थियो। गाउँको स्कूल पढ़ेर आएका एक सोझा ठिटो थिए उनी त्यस समय। म जस्तै एक गरीब बाबुका छोरा। कलेसम्मको पढ़ाइपछि कहाँ हराएको थियो, थाहा भएन। वर्षौंपछिको भेटमा पनि चिनिहालेछ मलाई। र त रोकिदिए गाड़ी मेरै निम्ति। चढ़ेँ। साँच्चै हो, ‘आइ20’-मै चाहिँ पहिलोपल्ट चड़िरहेको थिएँ।
---
“साथी के छ हौ खबर?’’ उसको प्रश्‍न थियो गाडीमा चढिसकेपछि।
“सबै ठिकठाकै छ।’’ सिधा जवाब दिएँ।
“कविता लेखिँदैछ?’’ मतिर फर्किँदै सोध्यो। ‘थुक्क लोदर।’ मैले केही भन्न नभ्याई ‘ट्राफिक जाम’-सित झोक्किँदै थियो उ।
“बेला-बेला लेख्दैछु नि’’ भनेँ। फेरि सोधेँ मैले “के गर्दैछौ नि कामकुरो?’’ अनि मनमनै सोचेँ “आइ20 त्यसै त कुदाइरहेका पक्कै होइनन्।’’
‘टिट्...टिट्...।’ जाम खोलिएछ, पछाडिको गाडीलाई हतार लाग्यो। “सबैलाई हतारै छ त हौ...। दुई सेकेण्ड ढिलो गर्नु हुँदैन, हर्न बजाउनै पर्ने...।’’ गनगनिदै बढायो गाडी उसले। “ए...! के पो सोद्धै थियौ?’’ सोध्यो उल्टै मलाई।
प्रश्‍न दोहोर्‍याइदिएँ, “अहिले के गर्दैछौ?’’
“ए... अँ...’’ भनेर “केही छैन हौ।’’ भन्यो अनि त्यही प्रश्‍न मलाई फर्कायो।
“म त पत्रकारितामा छु।’’ सिधा जवाब थियो मेरो।
“विवाह गर्‍यौ त नि...़?’’ मलाई सध्यो।
“निकै भइसक्यो नि।’’ भनेँ मैले।
“मैले लास्ट इयर जयलाई भेटेको थिएँ। उसैले भनेको। नानी छ?’’
“एउटी छोरी छे।’’ फेरि भनें।
“कति वर्षकी?’’ सोध्छहोला सम्झेको थिएँ, “साँची जय त टिचिङ गर्दैथियो एडहकमा। गर्दैछ?’’ सोध्यो।
“छोडेर पुरानै विजनेस गर्दैछ।’’ उसको जवाब दिएँ। “तिमी पनि तेसै त बसेको छैनौ नि...!’’ फेरि जान्न खोजेँ।
“के भन्नु यार! गर्दैछु। कन्सोलिडेटेडमा छु नि।’’ थोरै निरुत्साह पढेँ यतिबेला उसको मुहारमा। फेरि सोचेँ, ‘कन्सोलिडेटेड’..., अनि ड्युटी जानु आइ20-मा चढेर।
“ठिकै छ। अनि... बिवाह गर्‍यौ?’’ प्रश्‍न गर्दै नजानिँदो उसको शीर-पाउ दगुराएँ दुई नयन अनि आफैलाई खुट्टादेखि घाँटीसम्म निर्क्योलेँ। फेरि हेरेँ स्ट्रिङअगाडी राखेको उसको ‘सामसुङ गेलेक्सी ग्राण्ड-2’ र ‘एप्पल आइ फोन-6’। मोबाइलको हिसाब लगाएँ, लगभग पैंसठ-सत्तरी हजार।
“गरेँ नि। क्या त मैले प्रपोज गर्दा भागिहिँड्थी नि...!’’ मैले बिर्सिएछु। सम्झने प्रयास गर्दैथिएँ, उसैले भन्यो “सुनिताले फाइनल इयरमा त एक्सेप्ट गर्‍यो नि।’’ यतिबेला थोरै खुशी दौडिएको प्रष्टै देखिन्थ्यो उसको मुहारमा।
“नानीहरू?’’ छोटो प्रश्‍न थियो मेरो।
“छोरा र छोरी एक-एकजना।’’
“कम्प्लिट फ्यामिली रहेछ।’’ मेरो यो वाक्यले उ खिसिक्क हास्यो। सायद खुशीमा।
---
“मलाई यतै रोकिदेउ है’’ आइडीबीआइअघि पुग्दा हङ्ग्रीज्याकतिर देखाउँदै भने।
‘हङ्ग्री ज्याक’ भनेर होटललाई भन्दा धेरै ट्याक्सी स्टपेज भन्ने बुझिन्छ। अझै धेरैले ‘पेट्रोल पम्प’ भनिदिन्छन्। त्यहाँबाट ‘पम्प’ हटाइएको धेरै भइसकेको छ। तर यो ठाउँको नामै भइसकेको छ ‘पेट्रोल पम्प’। हामी पुग्यौं। म ओर्लिएँ।
“सी यू अगेन ब्र...।’’ भनेर उ अघि बढ्यो। म टाइटनिकतिर लागेँ। साथीहरू हेरेँ। कोही थिएनन्। रेडियोमा रेकर्डिङ पनि अझै आधी घण्टापछि मात्रै थियो। “आ जाँदैगर्छु...’’ सम्झें अनि हिँडे। एसबीआइको अगाडी हुँदै रुची क्लिनिकको छेउबाट एसटीएनएम निस्किएँ। कसैसित केही बोल्नु थिएन। एसटीएनएमअगाडि राखिएका वाहनहरूले बाटोसम्म छोडेको हुँदैन कहिलेकाहिँ। आज पनि त्यस्तै रहेछ। मनमनै गनगनाउँदै इमरजेन्सी वार्डअगाडिबाट छिरेँ। “बेस्सी नै सर्टकट खोज्नेहरूको लाइफ पनि सर्टकट नै हुन्छ’’ भनेको सुनेको थिएँ, कति सत्य हो? थाह छैन। मैले तर सर्टकट नै रोजेँ। त्यसैले एसटीएनएमदेखि पनि ‘हाइकोर्ट’ हुँदै फूटपाथ निस्किएँर पुगेँ आकाशवाणी गान्तोक स्टुडियो।
---
काम सकियो।
झट्ट सम्झना भयो कुन्नि केको र्‍याली निकाल्ने कुरा थियो..। लागेँ एमजी मार्गतिर।
“ओए...! कहाँ छस्?’’ फोन गरेँ झरनालाई।
“टाइटनिकमा।’’ छोटो जवाब आयो। फेरि सोधिन्, “तपाईं कहाँ हुनुहुन्छ?’’ अनि भनिन्, “आउनु न, कोनि के को र्‍याली निकालेको रहेछ। आइपुग्नु आँट्यो।’’
“ल... ल...! आउँदैछु।’’ भनेपछि मोबाइल गोजीमा हालेँ।
“भ्रष्टाचार रोक्नुपर्छ...।’’ तिक्खो नारी स्वर सुनेँ एसटीएनएमको इमरजेन्सी वार्ड क्रस गर्दा-नगर्दै। पछिपछि “रोक्नुपर्छ..., रोक्नुपर्छ...।’’ थपिरहेका थिए एक हूल स्वरहरूले। मेरा दुई पाइला स्वतः हतारिरहेका थिए। दुई नयन त्यतैतिर अघि नै दगुरीसकेछन्। ‘कुरा के रहेछ?’ जान्ने मनभन्दा दुई नयन छिट्यो पुग्यो भीडमा मिसिन। राजमार्ग उकालो आइरहेको त्यो हूलसितै घुमेर मेरा दुई नयन पनि टाइटनिक मै थुप्रिन पुगे।
---
बल्ल पुगेँ। खोजेँ झरनालाई। फोटो खिचिरहेकी थिई। राष्ट्रिय टेलिविजनहरूमा हेरिँदै गरेको कुराले राज्यमा पनि प्रवेश गरेछ। यति बुझेँ। देश र राज्यको इश्युलाई कम्पायर गरेँ। फेरि निर्क्योल्न मन लाग्यो भीडभित्रका अनुहारहरू। थोरै चिनेकाहरू। थोरै कतै चिनेकाहरू जस्ता लाग्ने। धेरै नदेखिएकाहरू। हुनसक्छ, कतै, कहिँ, कुनै समय यस्तै भीडहरूमा देखिएका होलान्। अपरिचित तर। अनुहारहरू सबै टुङ्गिएका थिए टाइटनिकमा आएर। अघिको तीखो स्वर अहिले त्यत्ति उत्साहित थिएन। शान्त भइहालेको पनि थिएन।
“घुसखोरी र भ्रष्टाचारी होसियार...।’’ अचानक अर्को ठूलो स्वर चर्कियो।
“होसिया..., होसियार...।’’ पछ्याएको थियो भीडले।
“को रहेछ फेरि..?’’ हेरेँ। देखेँ, हातमा प्ला-कार्ड। झट्ट चिन्न सकिन। भीड़ थियो। चिन्न खोजेँ। चिने। निधारमा चिटचिट पसिना। आँखामा एकप्रकारको क्रोध। मैले राम्ररी ठिम्याएँ। हो उ मेरै साथी थियो। मेरो साथी विवेक। भीड अझै शान्त भएको थिएन। गुञ्जी रहेका थिए स्वरहरू अझै। सोचेँ, ‘भीडभित्र मैले देखेको त्यो अनुहार सत्य हो!’
---000---

Saturday, April 16, 2016

देशको विकासमा वैचारिक विकासको खाँचो

मान्छे सधैँ समाजको समग्र विकास चाहिरहेका हुन्छन्। समृद्ध समाज निर्माणको कुरा गरिरहेका हुन्छन्। मान्छे एक सामाजिक प्राणी हुनुले पनि समाजको समृद्धि र समग्र विकास हुनुपर्ने चाह राख्नु कुनै आश्‍चर्यको विषय होइन। आश्‍चर्यको विषय भनेको यहाँ चाहेको त्यही कुराबाट स्वयंलाई वञ्चित राखिनु भन्ने हुन्छ। हामी अथवा मानव समाज ठीक त्यस्तै-त्यस्तै देखिन्छ अहिले।
‘समाजको विकास कतिबेला हुन्छ?’ हामी स्वयंले स्वयंलाई यो प्रश्‍न गरे ‘जतिबेला हामी आफैले आफैलाई सहयोग गर्नसक्छौं,  चिन्नसक्छौं, जतिबेला हामी सिङ्गो समाज बन्नसक्छौं, जतिबेला समाज एउटा हुन्छ, जतिबेला हामी-हामीमा भेदभाव हुँदैन...’ यस्तै जवाब पाउन सकिएला। हामी जान्दछौं, जबसम्म समाजमा रहेका विभिन्न जात-जाति, साना-ठूला, धनी-गरीब, विभिन्न भाषा-भाषी सबै एक हुुँदैनौं तबसम्म समाजको उत्थान हुनसक्दैन, समाजको विकास हुनसक्दैन। जबसम्म हामी भावनात्मकरूपमा, वैचारिकरूपमा र व्यावहारिकरूपमा एकार्काको नजीक बन्नसक्दैनौं तबसम्म समाज समृद्ध बन्न सक्दैन। यतिकुराको ज्ञान भएरै पनि हामी तर त्यही कुुराबाट वञ्चित छौं। आश्‍चर्यको यो अर्को द्वार हो, जहाँबाट हामी बाहिर छिर्न सकिरहेका छैनौं। अथवा समाज त्यो द्वार छिरेर एउटा पर्खाललाई पछि छोड्न नसक्ने, खुम्चिरहेको अवस्थामा छ अझै पनि हाम्रो समाज।
राष्ट्रपिता महात्मा गान्धीले ‘देशको संस्कृति देशका मानिसहरूको हृदय र आत्मामा बसेको हुन्छ’ भनेका छन्। जबसम्म हामी संस्कार-संस्कृतिले एक हुनसक्दैनौं, तब के हामीले हाम्रो समृद्ध र विकसित समाजको कल्पना गर्नसकौंला? राष्ट्रपिता महात्मा गान्धी देशमा एकता चाहन्थे, शान्ति चाहन्थे, अहिंसा चाहन्थे, स्वाधिनतामा बाँचेको हेर्न चाहन्थे। त्यसैको निम्ति लडिरहे। अर्कोतिर, देशको संविधान निर्माता डा. भीमराव अम्बेडकर पनि देशमा शान्ति चाहन्थे, भाइचारा चाहन्थे, समानता चाहन्थे। देशमा जब एकता, अहिंसा, शान्ति, भाइचारा, समानता छाउँछ, जब देश र देशवासी स्वाधिन रहन्छ तब विकास आफैआफ हुँदै जान्छ, आफै-आफ समृद्धि छाउँछ। महात्मा गान्धी र डा. भीमराव अम्बेडकरले देखेको सपना अथवा देशप्रतिको लक्ष्य-उद्देश्य पनि अन्ततः त्यहि नै हो। दुवैको उद्देश्य, दुवैको लक्ष्य वा दुवैको सपना अहिले कतिसम्म साकार हुँदैछ? सधैँ ‘अनेकतामा एकता’-को नारा गुञ्जिने धर्मनिरपेक्ष देशमा अहिले विभिन्न जात-जाति, विभिन्न धर्म-संस्कारका हामी साँच्चै ‘हामी’ हुन सकिरहेका छौं?
देशको संविधानले देशका प्रत्येक नागरिकलाई आफ्नो भाषा, साहित्य, संस्कार, संस्कृति, परम्परासितै जातिको जगेडा गर्ने अधिकार दिएको छ। हाम्रो अधिकार नै तर हाम्रो बाधक बनिरहेको छैन? अधिकारको दूरुपयोग भइरहेको छैन? हामी प्रत्येकले आफ्नो जातिको संस्कार-संस्कृतिको सुरक्षा गर्ने अधिकार प्राप्त छ र सुरक्षा हुनु पनि पर्छ। हामीलाई आफ्नो भाषाको संरक्षण गर्ने अधिकार संविधानले नै दिएको छ, संरक्षण गर्नु पनि पर्छ। तर, जब कुरा समाज सुधारको अनि देश विकासको हुन्छ अनि कुरा जब देशको एकता र अखण्डताको आउँछ त्यतिबेला हामी आफ्नो जाति, आफ्नो भाषा र आफ्नो संस्कृति-परम्परादेखि माथि उठ्नसक्नु पर्छ। समाज र देशको विकास र समृद्धिको सन्दर्भमा हामीले आफ्नो जाति र संस्कार दुवैलाई बिर्सनुपर्ने हुन्छ। त्यतिबेला सानो र ठूलो, धनी र गरीब भुुलेर एउटै मुट्ठी बन्नसक्नुपर्छ। किनभने संकुचित विचार-भाव र व्यवहार हाम्रो निम्ति बाधक बन्नसक्छ। उदाहरणस्वरूप अहिले पहाडमा चलिरहेको बोर्ड गठनकै विषयलाई हेर्नसकिन्छ।
भर्खरै हामीले देशभरि संविधान निर्माता डा. भीमराव अम्बेडकरको जन्मजयन्ती पालन गर्यौं, हामी कति सफल भयौं हाम्रो एकतामा यहाँ? सम्पूर्ण देशवासी चाहे उ तृणमूलस्तरका नागरिक होस चाहे माथिल्लो तहका, देशको संविधानले सबैसित उत्तिकै सरोकार राख्दछ। के प्रत्येक 14 अप्रेलको दिन हामी प्रत्येक देशवासीको मनमा यो भावना उजागर भइरहेको छ? अथवा हामी सधैँ यतिबेला एक हुनसकिरहेका छौं के? किनभने देशको समग्र विकास अनि समृद्दिमा यस कुरोले पनि सरोकार राख्दछ। त्यसैले बुझ्नुपर्ने कुरा के छ भने देशको समग्र विकास र समृद्धिका लागि हाम्रो सोचमा परिवर्तन आउनुपर्छ, वैचारिक विकास हुन पनि जरुरी हुन्छ।-15.04.2016

भिखारी : राज्यको निम्ति चुनौती

दुई दशकभन्दा लामो समयदेखि सिक्किमले जुन उद्देश्य लिएर अघि बढिरहेको थियो, त्यो अहिले विस्तारै एकपछि एक पूरा हुँदै आइरहेको छ। सधैं सिक्किमको सुख, शान्ति र सुरक्षासितै विकास र समृद्धि प्राप्तिको दिशामा अग्रसर सिक्किमको यश अहिले देश-विदेशसम्म छ।  सिक्किमको सुख र शान्ति सिक्किम मै बसेर बुझ्न गाह्रो पर्छ। यसको ज्ञान अहिले धेरैलाई भइरहेको विषय पनि हो। विकासको दृष्टिले पनि सिक्किम धेरै अघि बढिरहेको दुईदशकअघिको सिक्किम देख्नेहरूका लागि प्रत्यक्ष छ। पछिकाहरूले यदि देखिरहेका छैनन् अथवा बुझिरहेका छैनन् भने अघिकाहरूले उनीहरूलाई बुझाउन नसक्नु यसको मुल कारण बुझ्नसकिन्छ।
शिक्षा, स्वास्थ्य, अर्थ तीनै कुरामा सिक्किम प्रतिदिन सम्पन्न हुँदै आइरहेको सत्य पनि हामीसामु छँदैछ। भौतिक विकासको सिखर चुमिरहेको सिक्किम र सिक्किमवासीका लागि घर, गाडी, सडक, बिजुली,  जस्ता सुविधाहरू सामान्य भइसकेका छन्, जबकि देशका कतिपय राज्यहरूमा अझै पनि यी सबै आकाशको फल नै लाग्नसक्छ। शरीर राम्रोसित ढाक्न नसक्ने देशको अवस्था अझै पनि देखिनसक्छ, छानोबिनाको रात देशवासीहरू धेरैले अझै विताइरहेका छन्, गाँसको अभावमा बाँच्ने रहर अधुरै छोड्नेहरू छँदैछन्। यी सबै सपनाजस्तै लाग्ने सिक्किमको भने विश्‍वमा चर्चा बढ्दो छ।
सिक्किम विश्‍वप्रसिद्ध बन्दै अघि बढ्नु भनेको यहाँको सुख-शान्ति, यहाँको समृद्धि, यहाँको सुरक्षा, यहाँको विचार-व्यवहार, यहाँको विकास र यहाँको प्राकृतिक सुन्दरता सबैलाई स्वीकार्न सकिन्छ। यति हुनका लागि तर सिक्किम सरकारले जुन अतुलनीय पहल गर्दै आएको छ अनि गरिरहेछ, जुन दुरदर्शी सोच राखेर काम गर्दै आइरहेको छ त्यसैको परिणाम हो भन्ने कुरालाई आत्मसात गर्नैपर्ने हुन्छ।
सरकारले सिक्किमलाई यहाँसम्म ल्याइपुर्याउन जुन सङ्घर्षहरू गरेको छ, त्यसको आज देश-विदेशले नकल गरिरहेको छ। देश-विदेशका विभिन्न स्थान, विभिन्न संस्थानहरू शोध-अध्ययन गर्न आउनुलाई त्यसैको उदाहरणस्वरूप लिन सकिन्छ। अतः सिक्किम पर्यटकीय दृष्टिले पनि उत्तिकै विकसित बन्दै गइरहेको छ, जसको परिणाम पनि बढ्दो पर्यटकको सङ्ख्याले पुष्टि गरिरहेकै छ। यसै वर्षमात्रै देशकै पहिलो जैविक राज्य घषित भइसकेपछि लोकप्रियताको अर्को ताज पहिरिएको राज्यले प्रत्येक वर्ष प्राप्त गरिरहेको विभिन्न पुरस्कारहरूले यहाँको सुन्तरता, यहाँको सुख-शान्ति, सुरक्षा र समृद्धिको मात्रै पुष्टि नगरेर सिक्किम सरकारसितै सिक्किम र सिक्किमवासी आफैमा कतिसम्म समर्पित छ भन्ने कुरालाई पनि प्रस्ट्याउँदछ। 
सिक्किमलाई झोपडपट्टीमुक्त बनाउनु, गरिबीमुक्त बनाउनु, स्वच्छ राख्नु जस्ता धेरै निर्णयहरू लिएर काम गरिरहेको छ। सिक्किमले प्राप्त गर्दै आइरहेको उपलब्धी र यसको गरिमालाई कायम राख्न सिक्किम सरकारले गरिरहेको यस्ता पहलहरू आफैमा उल्लेखनीय छन्। माथि उल्लेखित राज्य सरकारको पहलहरूजस्तै अर्को महत्वपूर्ण पहल गरेको छ सरकारले ‘भिखारीमुक्त राज्य’ बनाउने। अहिले यो विषय भने प्रतिदिन चुनौति बन्दै गइरहेको प्रतीत हुँदछ।
राज्यका धेरै साना-ठूला शहरसितै मुख्यगरि राजधानी गान्तोकमा अहिले भिखारीहरूको सङ्ख्या बड्दो देखिन्छ। राज्यको भौतिक विकाससितै सुख-शान्ति र समृद्धिको दृष्टिले सिखर चढिरहेको सिक्किमका कोही भिखारी बनिरहेका छन् भन्ने कुरामा तपाईं विश्‍वास गर्नुहुन्न। यो हुनसक्ने कुरा होइन पनि। अहिले राज्यमा देखिँदै गरेका यी भिखारीहरूलाई हेरेर पनि तपाईं-हामी सहजै भन्नसक्छौं यिनीहरू सिक्किमका होइननन्। तर के विश्‍वमा प्रसिद्ध बन्दै गएको सिक्किम हेर्न आउनेहरूले सिक्किमलाई भिखारीमुक्त राज्यका रूपमा हेर्नसक्ला? सिक्किमले शिक्षा, स्वास्थ्य, अर्थ तीनैकुरामा जुन उपलब्धी हासिल गरिसकेको त्यो उनीहरूले देख्नसक्ला? के उनीहरूले यो सत्य बुझ्नसक्ला? एउटा प्रश्‍न उठ्नसक्छ। अर्को ध्यानदिनुपर्ने कुरा के हुन्छ भने, विश्‍वकै दृष्टिमा सिक्किमलाई भिखारीमुक्त बनाउनु हो भने यो समस्यालाई आजैदेखि रोक लगाउँदै जरुरी हुन्छ। नभए, जब यो संख्यामा वृद्धि आउँछ तब यो आफै-आफ अनिन्त्रित बन्नसक्छ।-02.04.2016

विधानसभा चुनाउ : समस्याहरूको चपेटमा मोर्चा

पश्‍चिम बङ्गाल विधानसभा चुनाउ जतिजति नजिकिँदैछ त्यतिनै दार्जीलिङ पहाडको राजनैतिक अवस्था विथोलिँदो छ। पहाडको सत्तारुढ गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले आफ्नो जित निश्‍चित रहेको दावी गर्दै आइरहेको भए पनि अहिले उसलाई एकपछि अर्को समस्याहरूले घेरिरहेको स्पष्टै छ। गोजमुमोको निम्ति अहिलेको राजनैतिक अवस्था भनेको एकदृष्टिले पल्ला भारी देखिन्छ भने अर्को दृष्टिले खस्किँदो देखिन्छ। यस्तोमा आगामी चुनाउमा जनताले सत्तामा कसलाई हेर्न चाहने हो त? त्यो अहिले नै भनिहाल्न सकिँदैन।
गोजमुमोले गत 18 मार्चकै दिन आफ्ना उम्मेदवारहरू मैदानमा उतारिसकेको छ, जो अहिले प्रचार अभियानमा लागिसकेका छन्।  त्यसअघि नै तराई-डुवर्सका क्षेत्रहरूलाई जीटीएमा सामेल गराउन नसके आफै शूट गर्छु भनिसकेका मोर्चा प्रमुख विमल गुरुङले 24 मार्चकै दिनमात्र तराई-डुवर्समा नै चुनाउमा गतिलै चुनौतीको सामना गर्नुपर्ने बताएका छन्। भाजपासित मिलेर चुनाउ लडिरहेको गोजमुमोको निम्ति जन आन्दोलन पार्टी (जाप)-लाई मुख्यरूपमा प्रतिस्पर्द्धी देखिन्छ। यद्यपि, गोर्खालीग, क्रामाकपा, गोरामुमो अनि दार्जीलिङ-सिक्किम एकीकरण मञ्चद्वारा गठित ‘डेमोक्रेटिक फ्रन्ट’-ले केहीदिन अघिसम्म साझा उम्मेद्वार दिने पहल गरिरहेको थियो। मोर्चाको निम्ति यो अर्को एउटा ठूलो चुनौती हुने देखिएको भए पनि त्यो अहिले समाप्त भइसकेको छ। किनभने डेमोक्रेटिक फ्रन्टका घटक दलहरूमाझ मत्यैक हुन नसकेपछि सबैले आ-आफ्नै निर्णय लिने भएको थियो। अतः क्रामाकपाले दार्जीलिङ पहाडका तीनवटा आसनमा आफ्नै उम्मेद्वार दिने घोषणा गरिसकेको छ भने गोर्खालीगले पनि आफ्नै उम्मेद्वारको घोषणा गरिसकेको छ। यति भएपछि फ्रन्टको अस्तित्व संकटको सम्भावनासितै मोर्चाको निम्ति चुनौती बन्नसक्ने साँझा उम्मेदवारको प्रश्‍न पनि समाप्त भएको छ। त्यसैले पहाडमा मोर्चाको जित हुने कुरामा विमल गुरुङले लगभग ठोकुवा नै गर्नु मुनासिव लाग्छ।
अर्कोतिर, गोजमुमोले माकपाको समर्थन नलिने भनेर स्पष्ट भनिसकेको समय यता गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अध्यक्ष मन घिसिङसमक्ष तृणमूल कंग्रेस नेताहरूमा शारदा सुब्बा, शान्ता छेत्री, एनबी खवास, राजेन मुखिया आदिले भेटेर समर्थन मागिरहेका छन्। यस विषयमा अहिले नै गोरामुमोले आइतबार मात्रै आफ्नो अडान स्पष्ट पार्ने निर्णय लिएको भए पनि मोर्चाको निम्ति यो अर्को चिन्ताको विषय बन्नसक्ने देखिन्छ।
अर्को मुख्य समस्या भनेको चुनाउ बहिस्कार पनि हो। मोर्चाले राज्य सरकारसित छुट्टैरूपमा भिड्नु परिरहेको छ भने अन्य क्षेत्रीय पार्टीहरूसितको आरोप-प्रत्यारोपबीच आफूलाई उभ्याउनुपर्ने अवस्था छ। जीटीए र विकासको प्रसङ्गसितै अर्कोतिर छुट्टैराज्यको मुद्दा आफ्नै ठाउमा छँदैछ। यस्तोमा चुनाउ बहिस्कारको समस्या अर्को चुनौती बनेर अघि आइरहेको छ। 18 मार्चकै दिन गोजमुमोले आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरिरहेकै समय पहाडका चियाश्रमिकहरूले चुनाउ वहिष्कार गर्ने भनिरहेका थिए। चियाश्रमिक र कर्मचारीहरूको वेतन अनि रोजी लगभग 5 महीनादेखि नदिइएको साथै अन्य सहुलियतहरू पनि प्रदान नगरिएकोमा विरोध गर्दै धोत्रे बालासन चियाबगानमा हजारौं जनताले आगामी चुनाउलाई वहिष्कार गर्ने निर्णय लिएका हुन्। यस विषयमा 17 मार्चको दिन धोत्रे बालासन चियाबगानका 4 वटा विभागका श्रमिक-कर्मचारीहरूमाझ सभा पनि राखिएको थियो। सभामा चियाश्रमिकहरूले विविध समस्या भोग्न परिरहेको र उनीहरूले पाउनुपर्ने रोजी-वेतन तथा अन्य सुविधाहरू शीघ्र भुक्तान नगरिए यो विधानसभा चुनाउलाई वहिष्कार गर्ने स्पष्ट पारिसकेको छ।
चुनाउ बहिष्कारको अर्को चुनौती अहिले पेशोकबाट पनि आइरहेको छ। 25 मार्चकै दिनमात्र अलकेमिष्ट ग्रुपको सञ्चालनमा रहेको पेशोक चियाबगानका श्रमिक एवं कर्मचारीवर्गले पाँच महीनाको वेतन, श्रमिकहरूको चार महीनाको दैनिक हाजिरालगायत 7 महीनाको राशिनको रकमसँगै अन्य सहुलियत नपाएकाले चियाश्रमिकहरू अन्यौलमा परेको बताउँदै चुनाउ वहिस्कार गर्ने भनिरहेको छ। अहिले चियाबगान चालु अवस्थामा रहे पनि अघोषित बन्दझै अवस्थामा छ। यद्यपि, अहिलेसम्म सरकार वा मालिकपक्ष कसैले पनि सोधीखोजीसम्म नगरेको चियाश्रमिकहरूको आरोप छ। यी समस्याहरूबारे आगामी 30 मार्चमा जलपाइगढीको श्रमायुक्त कार्यालयमा हुने सभामा आवाज उठाउने बगान अनि श्रमिक संगठनको पक्षमा दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू) पेशोक शाखाको आश्‍वासन छ।
यदि 30 मार्चको सभामा पनि सकारात्मक परिणाम आउन नसके सम्पूर्ण पेशोक चियाबारीवासीले आगामी विधानसभा चुनाउ बहिष्कार गर्ने चेताउनी दिएका छन्। यस विषयमा अब जीटीए र राज्य सरकारले कस्तो पदक्षेप उठाउने हो? त्यो अहिले नै भन्न सकिन्न। पहाडका चियाश्रमिक र चियाबगानहरूको भविष्य सम्बन्धमा सही नीति तयार पार्नुपर्ने अनि प्लान्टेशन लेबर एक्ट पूर्णरूपले लागू गर्न सरकारले ठोस पहल गर्नुपर्ने विषयमा अघिबाटै चर्चा चलिरहेको भए पनि अहिले यसले चुनैवी मुद्दाको रूप लिइरहेको देखिन्छ। अनि यो मुद्दाले विशेष पहाडीभेगबाट मोर्चालाई गतिलै प्रभाव पार्ने देखिन्छ।
यस्तोमा फेरि जात-टोष्टिको अर्को छुट्टै समस्या अघि आइरहेको छ। यसलाई पनि चुनाउसितै खम्बु राइट्स मुभमेण्टले समस्या खडा गरिरहेको छ। खम्बु राइट्स मुभमेण्टले विकास बोर्डको माग गर्दै 12 मार्चको दिन जुलुस निकालेको थियो। ‘यदि मुभमेण्टको कुरा सुने भोट दिने नभए उम्मेदवार खडा गर्ने’ उनीहरूको चेताउनी छ। यसरी समस्यै समस्याहरूबीच आगामी चुनाउमा आफ्नो जितको निम्ति मोर्चाले कस्तो रणनीति अप्नाउने हो?-25.04.2016

चुनाउ र पहाडको चुनौती

नजिकिँदो चुनाउसितै दार्जीलिङ पहाडको राजनैतिक माहोल बिस्तारै तात्तिँदै गइरहेको छ। अर्कोतिर, राजनैतिक माहोल तात्तिँदै गइरहेको भए पनि भौगोलिकरूपसितै जात-गोष्ठिको आधारमा पनि पहाड टुक्रिँदो नै छ। यद्यपि, पहाडको वर्तमान अवस्थाले आफ्नो मूल उद्देश्यसम्म पुग्न कस्तो भूमिका निर्वाह गर्ला त? चिन्ताको विषय छ। गोजमुमो, तृणमूल कांग्रेस, जाप, डेमोक्रेटिक फ्रण्ट आदि पार्टीहरू अहिले आ-आफ्नो अडान लिएर जनताअघि आइरहेका छन्। मुख्यगरि अहिले गोजमुमो, जाप र तृणमूलमाझ आरोप-प्रत्यारोप चलिरहेको छ। जसो भए पनि पहाडको मूल उद्देश्य भनेको त गोर्खाल्याण्ड नै हो। त्यही लक्ष्यसम्म पुर्याउन अब हामीले कुन पार्टीलाई विश्‍वास गर्नुपर्ने र आगामी चुनाउमा कसलाई जिताउनुपर्ने हो भन्ने प्रश्‍न मतदाताहरूमा उठिरहेको छ।
गोर्खाल्याण्डलाई नै मूल मुद्दा बनाएर जन्मिएको गोजमुमो प्रमुखले अघिबाटै गोर्खाल्याण्ड प्राप्तिको मिति तोक्दै ‘शूट गर्छु’ भन्ने बयान दिएका थिए। अहिले फेरि तराई-डुवर्सको मुद्दामा फेरि ‘शूट गर्छु’ नै भनिरहेका छन्। यद्यपि, 18 मार्चको दिन मात्रै आगामी विधानसभा चुनाउका लागि आफ्ना उम्मेदवारहरूको सूचि जारी गर्दै पार्टीको घोषणा-पत्र पनि जारी गरिसकेको छ, जसमा गोर्खाल्याण्ड र पर्जा-पट्टालाई प्राथमिकतामा राखिएको छ। यहाँ प्रश्‍न आउँछ गोजमुमोले जनताको मन जित्न सक्ला? किनभने गोजमुमोले जिताएर पठाएको भाजपा सांसद अहालुवालियालाई पब्लिक एकाउन्ट कमिटीबाट पनि बर्खास्त गरिएको कुरा चर्चाको विषय बनिरहेको छ।
विधायक डा. हर्कबहादुर छेत्रीको नेतृत्वमा बिस्तारै जनसमर्थनमा आइरहेको छ जन आन्दोलन पार्टी (जाप)। गोजमुमोको निम्ति जाप ठूलै चुनौती बन्नसक्ने भए पनि तृणमूलसित साँठगाँठ रहेको आम जनताको धारणा छ। गोजमुमोमाथि ‘आफ्नो चौकी बचाउने राजनीति मात्रै गरिरहेको छ’ भन्ने आरोप लगाइरहेको जापले अब कुन आधारमा जनसमर्थन जुटाउला त? अथवा के जापले जनताको विश्‍वास प्राप्त गर्नसक्ला?
अर्कोतिर, डेमोक्रेटिक फ्रण्टले दार्जीलिङ पहाडका तीनवटा आसनमा तृणमूल कंग्रेस उम्मेदवारहरूलाई समर्थन जनाउने कुरा अर्को चर्चाको विषय बनिरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीसित फ्रण्टका नेतृत्ववर्गको भेटपछि अहिले यो प्रश्‍नले उठिरहेको छ। यद्यपि, तृणमूल कंग्रेस उम्मेदवारहरूले भने यस विषयमा कुनै वयान दिइरहेका छैनन्। मुख्यमन्त्रीसितको भेटलाई डेमोक्रेटिक फ्रण्टका प्रवक्ता शंकरहाङ सुब्बाले ‘अनौपचारिक भेट’ भनिरहेका छन्। यसले डेमोक्रेटिक फ्रण्टले पनि तृणमूल कंग्रेसलाईनै यस चुनाउमा सहयोग दिने सम्भावना प्रबल बनेको राजनैतिक पर्यवेक्षकहरूको भनाई छ।
दार्जीलिङ पहाडमा विगत 1980-को दशकदेखिनै जातीय भावनामा राजनीति भइरहेको छ। अहिले सत्तारुड तृणमूल त्यही जातीय भावनालाई तोडनसक्नुपर्छ भन्ने अडानमा रहेको पहाडमा विभिन्न जात-गोष्ठिको बोर्ड गठनबाट प्रष्ट हुन्छ। गोजमुमोले अघिबाटै ‘छुट्टै राज्यको लडाइका लागि पहिला स्वयं सशक्त बन्न आवश्यक छ, त्यसको लागि विकास हुन जरुरी छ’ भनिसकेको हो। त्यसैको लागि गोजमुमो जीटीए थाप्न बाध्य भएको अघिबाटै स्पष्ट छ। अहिले पहाड त्यही विकास र बोर्डमै भुलिरहेको छ। राज्यले चाहेको पनि त्यही हो।
पहाडमा पार्टीगतरूपमा कहाँ गल्ति हुँदैछ? नेताहरू कहाँ चुक खाँदैछन्? जनताले भूल के गर्दैछन्? विमर्श गर्नुपर्ला। गोर्खाल्याण्डको मुद्दामा पहाड ‘माछा-माछा भ्यागुता’ मात्रै भइरहेको छैन? अथवा स्वार्थले दिशाभ्रममा पारिरहेको छैन के? पहाडले भाजपालाई समर्थन दिइरहेको छ। राज्यमा तृणमूलको सरकार छ। गोजमुमो समर्थक सांसद अहालुवालियाले दह्रिलोसित गोर्खाल्याण्डको मुद्दालाई उठाउन नसक्नुको कारण पछि पनि त्यही हो। भाजपाले राज्यमा सरकार गठन गर्न चाहन्छ। पहाडको मुद्दामा खुलेर बोल्नु भन्दा पहिला समग्र बङ्गाललाई सोच्नुपर्छ किनभने, राज्यमा सरकार गठन गर्नलाई मेन फ्याक्टर भनेको नै बहूमत हो। त्यसैको फाइदा उठाउँदै डमरु बजाइरहेछ तृणमूलले। फुकिँदै गइरहेको मुट्ठी कसिँदै आउला के? अहिले भने आगामी विधानसभा चुनाउमा पहाडको रूप हेर्नु छ।

सन्दर्भ : एसडीएफको स्थापना दिवस

सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ)-को निम्ति अहिले 4 मार्चले धेरै महत्व बोकेको छ। सिक्किम र सिक्किमवासीको समग्र विकासमा प्रजातान्त्रिक ढङ्गले अघि बड्ने उद्देश्य राखेर यसै दिन 1993-मा स्थापना भएको थियो सिक्किम प्रजातान्त्रिक मोर्चा। पवन चामलिङको दूरदर्शी विचार र जनपक्षीय सङ्कल्पहरूको साथमा स्थापित यो पार्टीले आफ्नो स्थापनाको एकवर्षपछि नै सरकार गठन गरेको थियो। पार्टीको जुन उद्देश्य, सङ्कल्प र उद्देश्य थिए, त्यसैको अवधारणामा रहेर सिक्किम र सिक्किमे नागरिकहरूको पक्षमा काम गर्दै आइरहेकोले नै अहिलेसम्म पार्टीले आफ्नो सरकारलाई निरन्तरता दिनसकिरहेको छ।
अहिले 4 मार्च अथवा पार्टी स्थापना दिवस पालनको निम्ति सम्पूर्ण पार्टी कार्यकर्ताहरू लागि परिरहेका छन्। राज्यका चारै जिल्लमा अहिले पार्टी स्थापना दिवस आयोजनको तयारीका लागि व्यापकरूपमा प्रचार-प्रसार भइरहेको छ। पार्टी स्थापना दिवसलाई कसरी पालन गरिनुपर्ने, के-के काम गर्नुपर्ने जस्ता विषयहरूमा चर्चा-परिचर्चा चलिरहेको छ। पार्टी स्थापना दिवसलाई कसरी सफल आयोदन गर्न सकिन्छ भन्ने विषयका साथै सदस्यता नवीकरण, पूर्ण जिम्मेवारी वहन र नयाँ सदस्यता ग्रहणलाई पनि प्रमुखता दिइरहेको पाउन सकिन्छ। ‘पार्टीप्रति समर्पित  कार्यकर्ता’ अनि ‘जनसेवाको निम्ति पार्टी’ दुवैका लागि यी कुराहरू अति आवश्यक पनि हुन्।
माथि उल्लेख विषयहरूसितै अब जनताका लागि के-के काम गर्न आवश्यक छ? गरिरहेका कार्यहरू व्यावहारमा कतिसम्म परिणत छ कि छैन? जुन काम गरिँदैछ ती सबैबाट तृणमूलस्तरसम्मका जनताले लाभ उठाइरहेका छन् कि छैनन्? भन्ने कुराहरूमाथि पनि खुल्ला वहश वा छलफल हुनसके अझ असल हुने देखिन्छ।
कुनै पनि पार्टीले तृणमूलस्तरसम्म गएर जनताको सेवामा कतिसम्म इमान्दार छ, त्यसमा त्यसले पार्टीको स्थायित्वसित पनि सम्बन्ध राखेको हुन्छ। त्यसैले कार्यकर्ताहरूले तल्लोतहसम्म पुगेर कहाँ-कहाँ के-के काम भइरहेको छ र के-के हुन बाँकी छ? हुनपर्ने कुनै काम भइरहेको छैन भने त्यसका कारणहरू के-के हुन्? ती कुराहरू बुझेर समाधान गर्नुपर्ने अथवा आम नागरिकको आवाज भइदिएर काम गर्न सक्नुपर्ने कुरामा पनि चर्चा हुन जरुरी हुन्छ। यसका साथै तल्लोतहदेखि माथिल्लो तहसम्मका पार्टी कार्यकर्ताहरूमा पनि ‘चेन सिस्टम’ रहनसके ग्रामस्तरदेखि नै राज्यको समान्तर विकासको आशा राख्न सकिन्छ।
यसका साथै पार्टीले सरकारसित कसरी तालमेल राखेर काम गर्न सक्छ अनि जनताको कुनै पनि काम वा समस्या भए त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा पनि चर्चा हुन जरुरी हुन्छ। किनभने पार्टी कार्यकर्ता भनेको समाजका हरेक तप्कासित सिधा सम्पर्कमा रहेर काम गर्न सकिने सजिलो माध्यम पनि हो। सत्तारुढ एसडीएफले आगामी दिनहरूमा यस्ता कुनै विषय छुटेका भए ती कुराहरूमा पनि केन्द्रित रहने जनविश्‍वास बलियो बसोस।-26.02.2016

सिक्किम, स्वच्छता र हामी

नयाँ नयाँ कार्य योजनाहरूका साथमा सिक्किमले प्रतिदिन विकासीय कार्यहरू गर्दै अघि बढिरहेको छ। विगत दुई दशकदेखि राज्यको विकासका लागि सरकारले विभिन्न योजना, विभिन्न अभियानहरू शुरू गर्दै देशमा मात्रै होइन अहिले विश्‍वमै पनि उदाहरण बनिरहेको छ। परिणामस्वरूप राष्ट्रियस्तरमा विभिन्न पुरस्कारहरू पनि प्राप्त गरिरहेको छ। यी सबै कुराहरूबाट समग्र सिक्किममे नागरिक अनभिज्ञ छैनन्। यस क्रममा सिक्किमले प्राप्त गरिरहेका विभिन्न पुरस्कारहरू आफै पनि एउटा उदाहरण बनिरहेको छ।
स्वच्छताको क्षेत्रमा गान्तोक शहरले ‘वेस्ट हिल सिटी’ पुरस्कार पाएको केही महिना नबित्दै राजधानी गान्तोकलाई फेरि स्वच्छता सर्वेक्षण 2016-अन्तर्गत पूर्वोत्तरको उत्कृष्ट प्रदर्शन गर्ने शहर तथा उत्कृष्ट प्रदर्शन गर्ने राजधानीको पुरस्कार प्राप्त गरेको छ। गान्तोक लगायत देशका 15 शहरहरूलाई स्वच्छताको विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत सम्मानस्वरूप यो पुरस्कार प्राप्त भएको थियो। केन्द्रिय शहरी विकास मन्त्री एम बैङ्केया नायडुले यो पुरस्कार प्रदान गरेको दुइदिन नबित्दै सिक्किमको पर्यावरण सूचना प्रणाली (इनभिस) केन्द्रलाई देशको उत्कृष्ट केन्द्रको राष्ट्रिय पुरस्कार प्राप्त भएको छ। देशका उत्कृष्ट पर्यावरण सूचना केन्द्रहरूमध्ये एउटा सिक्किम केन्द्र छनौंट हुनु भनेको सिक्किम र सिक्किमवासीको निम्ति खुशीको कुरा हो भने यो एउटा गर्वको विषय पनि हो। 17 फरवरीको दिन नयाँ दिल्लीमा आयोजित इनभिस केन्द्रहरूको मूल्याङ्कन तथा राष्ट्रिय कार्याशालाको अवसरमा सिक्किमलाई प्राप्त यो पुरस्कारले तर सिक्किमलाई थप जिम्मेवारी पनि बढाएको छ।
सिक्किमले स्वास्थ्य, स्वच्छता, हरियाली जस्ता महत्वपूर्ण विषयहरूमा अघिदेखि नै काम गर्दा आइरहेको छ। विशेषतः राज्य सरकारको पहलमा विभिन्न सङ्घ-संस्था लगायत विभागीय पहलमा सिक्किमले माथि उल्लेख विषयहरूमा अभियान नै चलाइरहेका छन्। फलस्वरूपमा त्यसको सकारात्मक परिणामहरू पनि अघिबाटै प्राप्त गरिरहेको छ। वर्ष 2008-मा देशकै ‘निर्मल राज्य’-को पुरस्कार प्राप्त गर्नु एउटा उदाहरण लिनसकिन्छ। वन-पर्यावरण तथा हरियालीको क्षेत्रमा पनि विभिन्न अभियान नै चलाएर सरकार, संघ-संस्था र हरेक व्यक्तिको सहभागिता रहेको हामीले प्रत्यक्ष पाइरहेका छौं। त्यसैको परिणामस्वरूप सिक्किमको वन्य क्षेत्र चार प्रतिशत बढेर गएको आँकडा पाउन सकिन्छ। पर्यावरण र वन्य क्षेत्रमा विश्‍वले समस्या झेल्दै आइरहेको समय सिक्किमको वन्य क्षेत्रमा बढोत्तरी हुनु भनेको वास्तव मै सबैको निम्ति खुशीको विषय हो।
वन, पर्यावरण र स्वच्छताको क्षेत्रमा विकास गर्नुका साथै अहिले पर्यावरण सूचना प्रणालीका लागि प्राप्त पुरस्कारले सिक्किमले गरिरहेका कार्यहरूको मूल्याङ्कन त भएकै छ तर यसका साथै जिम्मेवारी पनि उत्तिकै बोध गराइरहेको छ। किनभने भर्खरै मात्र ‘राष्ट्रिय स्वच्छता पुरस्कार’ प्राप्त गरेको सिक्किमले सम्पूर्ण राज्यलाई स्वच्छ बनाइराख्न सक्नुपर्नेछ। यसका लागि सरकार र विभागीय पक्षबाट हरेकप्रकारका पहल पनि गरिँदैछ। अब यहाँ प्रश्‍न आउँछ, सधैंभरि विभाग वा सरकारको पहलमात्रै कतिसम्म सफल बन्नसक्ला? त्यसैले कुनै पनि कार्यलाई पूर्ण सफलता प्राप्त हुनु हो भने त्यसका लागि आम नागरिको सहभागिताको पनि उत्तिकै खाँचो पर्दछ। जबसम्म आम नागरिकको पूर्ण तन-मनका साथ सहभागिता रहँदैन तबसम्म त्यो कार्यले पूर्णता प्राप्त गर्न सक्दैन।
सिक्किमको सन्दर्भमा यदि हेरिनु हो भने राज्यले अघिदेखि नै पुरस्कारहरू प्राप्त गरिरहेकै छ। तर, गाउँ-गाउँको कुरा नगरेर शहर-बजारहुँदी विभागीय अधिकारीहरू र विधायक-मन्त्रीहरूले समय-समयमा स्वच्छतालाई लिएर निरीक्षण गर्नुपर्ने अवस्था अहिले पनि निर्मूल भइहालेको छैन। त्यसो नहुनु भनेको सरकारले शुरू गरेको योजनालाई विभागले कार्यनवयनमा उतार्ने पहल गरिरहेको भए पनि राज्यका आम नागरिकले सहभागिता जनाउन सकेका छैनन्। किन? यसकुरामा सबैले मनन गर्नुपर्ने हुन्छ। राज्यलाई पुरस्कार प्राप्त भइरहन्छ, तर हामी आफ्नै घर-आँगन र वातावरण स्वच्छ राख्न सक्दैनौं भने  राज्य पुरस्कृत हुँदा हामीले कसरी गर्व महशुस गर्न सक्छौं?-19.02.2016

पूर्वोत्तरमा जैविक खेती विकास

प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमलाई ‘जैविक राज्य’ घोषित गर्ने बित्तिकै गुवाहटी असममा एउटा जनसभालाई सम्बोधन गर्ने क्रममा यसलाई ‘दोस्रो हरित क्रान्ति’ भनेका थिए। ठीक त्यही दिन प्रधानमन्त्रीले देशभरि नै यो क्रान्तिलाई अङ्गीकार गर्दै अघि बढ्नुपर्ने आह्वान पनि गरेका थिए। त्यसको केहीदिन नबित्दै आज पूरा देशमा जैविक खेतीको विकासको निम्ति परम्परागत कृषि विकास योजना चलाइएको बताउँदै पूर्वोत्तरका निम्ति मोदी सरकारले छुट्टै विशेष राशि उपलब्ध गराएको केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री राधा मोहन सिहंले जानकारी गराएका छन्। यसबाट के प्रष्ट हुन्छ भने, सिक्किम साँच्चै देशको निम्ति प्रेरणाको स्रोत बनेको छ। यदि सिक्किमले जस्तै देशका सबै राज्यहरूले जैविक खेतीलाई अप्नाए पूरा देश नै ‘जैविक राष्ट्र’ बन्नसक्ने स्पष्ट छ।
यतिमात्र होइन, केन्द्र सरकार पूर्वोत्तर राज्यहरूमा कृषि विकासको निम्ति समर्पित रहेको छ भने, सम्पूर्ण पूर्वोत्तर राज्यहरूमा कृषि विकासलाई बढावा दिनको निम्ति कृषि एवं किसान कल्याण मन्त्रालयले विशेष पहल गरेको छ। राधा मोहन सिंहअनुसार असममा कृषि एवं बागवानीलाई बढावा दिने उद्देश्यलले ‘रोङ्गली’ कार्यक्रम आयोजन पनि गरेको थियो, जसले केन्द्र सरकारको संकल्पलाई पनि दर्शाइदिएको छ। अहिले पूरा देशमा जैविक खेतीको विकासको निम्ति परम्परागत कृषि विकास योजना चलाइरहेको छ। विशेष पूर्वोत्तरका निम्ति मोदी सरकारले छुट्टै राशि नै उपलब्ध गराएको छ। पूर्वोत्तर कृषि विकास केन्द्रको लागि राज्य सरकारसित जमीन उपलब्ध गराउनका लागि पनि प्रयासरत छ। पूर्वोत्तर राज्यहरूका कृषि विज्ञान केन्द्रहरूको लागि गुवाहटीमा क्षेत्रीय कार्यालय यही महिनामा स्थापित गरिने बताइएको छ। असमको दीमा हसायो जिल्लामा नयाँ कृषि विकास केन्द्रको निम्ति राज्य सरकारसित भूमिको पनि माग गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले रेडियोमा आफ्नो ‘मनका कुरा’ कार्यक्रममा पनि कृषि र कृषकहरूको विकासका विषयलाई सम्बोधन गरिरहेका छन्। वर्ष 2016-को पहिलो रेडियो सम्बोधनमा प्रधानमन्त्रीले कृषकको ङ्गसल बीमा योजनाबारे पनि जागरूकता ल्याउने कुरामा जोड दिएका छन्। यसका साथै आगामी केही वर्षमा देशका 50 पतिशत कृषकलाई यस योजनासित जोड्ने प्रधानमन्त्री मोदीले संकल्प लिएका छन्।
समग्रमा, सिक्किमले देश र विश्‍वमा जसरी चिनाउने काम गर्दै विकासको पथमा अघि बढिरहेको छ, त्यो साँच्चै सराहनीय छ। त्यसैले देशले पनि आज सिक्किम जस्तो सानो राज्यले अप्नाइरहेको मार्गलाई पछ्याउने काम गरिरहेको छ। विश्‍वकै निम्ति एक उदाहरण बन्दै अघि बढिरहेको सिक्किम निश्‍चय  जैविक खेतीको पहिलो चरणमा छ। यद्यपि, सिक्किमसितै देशका अन्य राज्यहरूले पनि यस अवधारणालाई तन-मनले आत्मसात गर्दै अघि बढिरहे पूरा देशले नै यस पहलमा चाँढै सफलता प्राप्त गर्ने कुरामा विश्‍वास राख्नसकिन्छ।-30.01.2016

दोस्रो हरित क्रान्ति र चुनौती

एकैजनाको सकारात्मक विचारले पनि समाज र राष्ट्रलाई सकारात्मक गोरेटोतिर डोहोर्याउन सक्छ भन्ने उदाहरण सिक्किमले भर्खरै मात्र देशकै पहिलो जैविक राज्यका रूपमा दिइसकेको छ। त्यसैले प्रधानमन्त्री नरेन्द्र मोदीले पनि 18 जनवरीकै दिनमात्र ‘पवन लहर देशभरि फैलिनुपर्छ’ भनेका थिए। जनसङ्ख्या र भौगोलिक दुवैरूपमा देशको एक सानो राज्य सिक्किम आज देशकै निम्ति उदाहरण बन्नु एउटा उदाहरण मात्र नभएर आफैमा इतिहास पनि कोरिनु हो। 
विश्‍वमा पहिलोपल्ट 1968-मा विलियम गार्डले ‘ग्रिन रिभोल्युसन’ अर्थात ‘हरित क्रान्ति’ शब्दको प्रयोग गरेका थिए, जसले कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउने सोच राखेका थिए। ठीक त्यस्तै अवधारणालाई अप्नाउँदै राज्यका मुख्यमन्त्री पवन चामलिङको दिशानिर्देशमा शुरू गरिएको थियो हरियालीपूर्ण सिक्किम बनाउने अभियान ‘हरित क्रान्ति अभियान।’ देशमै हरित क्रान्ति शुरू गर्ने पहिलो राज्य सिक्किमले विश्‍वलाई अध्ययन गरेर नयाँ सोच, नयाँ विचारहरूलाई अङ्गीकार गर्दै अघि बढिरह्यो। त्यसैले अप्नायो सिक्किमले ‘जैविक कृषि पद्धति’-अनि बन्यो देशकै पहिलो जैविक राज्य। यसलाई प्रधानमन्त्री स्वयंले गुवाहटीमा एउटा जनसभालाई सम्बोधन गर्दै ‘दोस्रो हरित क्रान्ति’ शुरू भएको बताइसकेका छन्। सिक्किमबाट शुरू भएको यो जैविक अभियानसितै सिक्किमको नेतृत्वलाई पनि देशले सिको गर्नुपर्ने आज प्रधानमन्त्रीलगायत केन्द्रिय मन्त्रीहरूबाट प्रसङ्ग उठिरहेका छन्।
जैविक कृषिको अवधारणालाई अल्वर्ड होवार्डले विकसित रूप दिएको लगभग 75 वर्षपछि सिक्किम जैविक राज्य बनेको छ। मुख्यमन्त्री पवन चामलिङको पहलमा प्राप्त सफलतालाई आज देश-विदेशले उदाहरण मानिरहेका छन् भने कृषिक्षेत्रमा लागिपर्नेहरूका लागि भने यो सबैभन्दा ठूलो प्रेरणा बनिरहेको छ। कृषि क्षेत्रलाई भारतका 70 प्रतिशतभन्दा अधिक मानिसले मुख्य पेशाका रूपमा अप्नाएका छन्। सिक्किमकै सन्दर्भमा पनि कृषिलाई मुख्य पेशाको रूपमा जान्न सकिन्छ।
सिक्किमका कृषकहरूले अघिबाटै एकदेखि पाँचलाख रूपियाँभन्दा अधिक आयआर्जन गरिरहेका छन्। अब सिक्किमबाट शुरू भएको यो दोस्रो हरित क्रान्ति अथवा जैविक कृषिको अभियानलाई अप्नाए यहाँ विश्‍वले सामना गरिरहेका धेरै समस्याका समाधानहरू पनि यसबाट हुने प्रस्ट छ। माथि उल्लेख गरिएअनुसार सिक्किमका कतिपय कृषकहरूले एकदेखि पाँच लाखसम्मको आयआर्जन गर्न सकिरहेका छन्। यदि हामी जैविक कृषि पद्धतिलाई अप्नाएर खेती गर्नु हो भने यहाँ प्रशस्तै सम्भावनाहरू देखापर्दछ। पारम्परिक कृषि प्रणालीदेखि अलिकति माथि उठेर वैज्ञानिक तौर-तरिकामा खेती गर्ने अनि पूर्ण जैविक खेती गर्नेहरूका लागि यहाँ प्रशस्तै सम्भावनाहरू पनि देखिएका छन् भने सिक्किमले देशकै उदाहरण बन्दै जसरी पहिलो जैविक राज्यको उपमा पाएको छ त्यसलाई कायम राख्न राज्यसित चुनौती पनि थपिएको छ। कुनै पनि कुरा प्राप्त गर्नु कठिन होइन, तर प्राप्त कुरालाई जीवन्त राख्नसक्नु महत्वपूर्ण हुन्छ। त्यसैले हामी सजग-सचेत बन्नुपर्ने हुन्छ यस कुराका लागि। एकजनाको सकारात्मक सोचलाई विश्‍वको हितमा विस्तार गर्ने दिशामा गम्भीर बन्नुपर्छ। -30.01.2016