एकैजनाको सकारात्मक विचारले पनि समाज र राष्ट्रलाई सकारात्मक गोरेटोतिर डोहोर्याउन सक्छ भन्ने उदाहरण सिक्किमले भर्खरै मात्र देशकै पहिलो जैविक राज्यका रूपमा दिइसकेको छ। त्यसैले प्रधानमन्त्री नरेन्द्र मोदीले पनि 18 जनवरीकै दिनमात्र पवन लहर देशभरि फैलिनुपर्छ’ भनेका थिए। जनसङ्ख्या र भौगोलिक दुवैरूपमा देशको एक सानो राज्य सिक्किम आज देशकै निम्ति उदाहरण बन्नु एउटा उदाहरण मात्र नभएर आफैमा इतिहास पनि कोरिनु हो।
विश्वमा पहिलोपल्ट 1968-मा विलियम गार्डले ग्रिन रिभोल्युसन’ अर्थात हरित क्रान्ति’ शब्दको प्रयोग गरेका थिए, जसले कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउने सोच राखेका थिए। ठीक त्यस्तै अवधारणालाई अप्नाउँदै राज्यका मुख्यमन्त्री पवन चामलिङको दिशानिर्देशमा शुरू गरिएको थियो हरियालीपूर्ण सिक्किम बनाउने अभियान हरित क्रान्ति अभियान।’ देशमै हरित क्रान्ति शुरू गर्ने पहिलो राज्य सिक्किमले विश्वलाई अध्ययन गरेर नयाँ सोच, नयाँ विचारहरूलाई अङ्गीकार गर्दै अघि बढिरह्यो। त्यसैले अप्नायो सिक्किमले जैविक कृषि पद्धति’-अनि बन्यो देशकै पहिलो जैविक राज्य। यसलाई प्रधानमन्त्री स्वयंले गुवाहटीमा एउटा जनसभालाई सम्बोधन गर्दै दोस्रो हरित क्रान्ति’ शुरू भएको बताइसकेका छन्। सिक्किमबाट शुरू भएको यो जैविक अभियानसितै सिक्किमको नेतृत्वलाई पनि देशले सिको गर्नुपर्ने आज प्रधानमन्त्रीलगायत केन्द्रिय मन्त्रीहरूबाट प्रसङ्ग उठिरहेका छन्।
जैविक कृषिको अवधारणालाई अल्वर्ड होवार्डले विकसित रूप दिएको लगभग 75 वर्षपछि सिक्किम जैविक राज्य बनेको छ। मुख्यमन्त्री पवन चामलिङको पहलमा प्राप्त सफलतालाई आज देश-विदेशले उदाहरण मानिरहेका छन् भने कृषिक्षेत्रमा लागिपर्नेहरूका लागि भने यो सबैभन्दा ठूलो प्रेरणा बनिरहेको छ। कृषि क्षेत्रलाई भारतका 70 प्रतिशतभन्दा अधिक मानिसले मुख्य पेशाका रूपमा अप्नाएका छन्। सिक्किमकै सन्दर्भमा पनि कृषिलाई मुख्य पेशाको रूपमा जान्न सकिन्छ।
सिक्किमका कृषकहरूले अघिबाटै एकदेखि पाँचलाख रूपियाँभन्दा अधिक आयआर्जन गरिरहेका छन्। अब सिक्किमबाट शुरू भएको यो दोस्रो हरित क्रान्ति अथवा जैविक कृषिको अभियानलाई अप्नाए यहाँ विश्वले सामना गरिरहेका धेरै समस्याका समाधानहरू पनि यसबाट हुने प्रस्ट छ। माथि उल्लेख गरिएअनुसार सिक्किमका कतिपय कृषकहरूले एकदेखि पाँच लाखसम्मको आयआर्जन गर्न सकिरहेका छन्। यदि हामी जैविक कृषि पद्धतिलाई अप्नाएर खेती गर्नु हो भने यहाँ प्रशस्तै सम्भावनाहरू देखापर्दछ। पारम्परिक कृषि प्रणालीदेखि अलिकति माथि उठेर वैज्ञानिक तौर-तरिकामा खेती गर्ने अनि पूर्ण जैविक खेती गर्नेहरूका लागि यहाँ प्रशस्तै सम्भावनाहरू पनि देखिएका छन् भने सिक्किमले देशकै उदाहरण बन्दै जसरी पहिलो जैविक राज्यको उपमा पाएको छ त्यसलाई कायम राख्न राज्यसित चुनौती पनि थपिएको छ। कुनै पनि कुरा प्राप्त गर्नु कठिन होइन, तर प्राप्त कुरालाई जीवन्त राख्नसक्नु महत्वपूर्ण हुन्छ। त्यसैले हामी सजग-सचेत बन्नुपर्ने हुन्छ यस कुराका लागि। एकजनाको सकारात्मक सोचलाई विश्वको हितमा विस्तार गर्ने दिशामा गम्भीर बन्नुपर्छ। -30.01.2016
No comments:
Post a Comment