नजिकिँदो चुनाउसितै दार्जीलिङ पहाडको राजनैतिक माहोल बिस्तारै तात्तिँदै गइरहेको छ। अर्कोतिर, राजनैतिक माहोल तात्तिँदै गइरहेको भए पनि भौगोलिकरूपसितै जात-गोष्ठिको आधारमा पनि पहाड टुक्रिँदो नै छ। यद्यपि, पहाडको वर्तमान अवस्थाले आफ्नो मूल उद्देश्यसम्म पुग्न कस्तो भूमिका निर्वाह गर्ला त? चिन्ताको विषय छ। गोजमुमो, तृणमूल कांग्रेस, जाप, डेमोक्रेटिक फ्रण्ट आदि पार्टीहरू अहिले आ-आफ्नो अडान लिएर जनताअघि आइरहेका छन्। मुख्यगरि अहिले गोजमुमो, जाप र तृणमूलमाझ आरोप-प्रत्यारोप चलिरहेको छ। जसो भए पनि पहाडको मूल उद्देश्य भनेको त गोर्खाल्याण्ड नै हो। त्यही लक्ष्यसम्म पुर्याउन अब हामीले कुन पार्टीलाई विश्वास गर्नुपर्ने र आगामी चुनाउमा कसलाई जिताउनुपर्ने हो भन्ने प्रश्न मतदाताहरूमा उठिरहेको छ।
गोर्खाल्याण्डलाई नै मूल मुद्दा बनाएर जन्मिएको गोजमुमो प्रमुखले अघिबाटै गोर्खाल्याण्ड प्राप्तिको मिति तोक्दै शूट गर्छु’ भन्ने बयान दिएका थिए। अहिले फेरि तराई-डुवर्सको मुद्दामा फेरि शूट गर्छु’ नै भनिरहेका छन्। यद्यपि, 18 मार्चको दिन मात्रै आगामी विधानसभा चुनाउका लागि आफ्ना उम्मेदवारहरूको सूचि जारी गर्दै पार्टीको घोषणा-पत्र पनि जारी गरिसकेको छ, जसमा गोर्खाल्याण्ड र पर्जा-पट्टालाई प्राथमिकतामा राखिएको छ। यहाँ प्रश्न आउँछ गोजमुमोले जनताको मन जित्न सक्ला? किनभने गोजमुमोले जिताएर पठाएको भाजपा सांसद अहालुवालियालाई पब्लिक एकाउन्ट कमिटीबाट पनि बर्खास्त गरिएको कुरा चर्चाको विषय बनिरहेको छ।
विधायक डा. हर्कबहादुर छेत्रीको नेतृत्वमा बिस्तारै जनसमर्थनमा आइरहेको छ जन आन्दोलन पार्टी (जाप)। गोजमुमोको निम्ति जाप ठूलै चुनौती बन्नसक्ने भए पनि तृणमूलसित साँठगाँठ रहेको आम जनताको धारणा छ। गोजमुमोमाथि आफ्नो चौकी बचाउने राजनीति मात्रै गरिरहेको छ’ भन्ने आरोप लगाइरहेको जापले अब कुन आधारमा जनसमर्थन जुटाउला त? अथवा के जापले जनताको विश्वास प्राप्त गर्नसक्ला?
अर्कोतिर, डेमोक्रेटिक फ्रण्टले दार्जीलिङ पहाडका तीनवटा आसनमा तृणमूल कंग्रेस उम्मेदवारहरूलाई समर्थन जनाउने कुरा अर्को चर्चाको विषय बनिरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीसित फ्रण्टका नेतृत्ववर्गको भेटपछि अहिले यो प्रश्नले उठिरहेको छ। यद्यपि, तृणमूल कंग्रेस उम्मेदवारहरूले भने यस विषयमा कुनै वयान दिइरहेका छैनन्। मुख्यमन्त्रीसितको भेटलाई डेमोक्रेटिक फ्रण्टका प्रवक्ता शंकरहाङ सुब्बाले अनौपचारिक भेट’ भनिरहेका छन्। यसले डेमोक्रेटिक फ्रण्टले पनि तृणमूल कंग्रेसलाईनै यस चुनाउमा सहयोग दिने सम्भावना प्रबल बनेको राजनैतिक पर्यवेक्षकहरूको भनाई छ।
दार्जीलिङ पहाडमा विगत 1980-को दशकदेखिनै जातीय भावनामा राजनीति भइरहेको छ। अहिले सत्तारुड तृणमूल त्यही जातीय भावनालाई तोडनसक्नुपर्छ भन्ने अडानमा रहेको पहाडमा विभिन्न जात-गोष्ठिको बोर्ड गठनबाट प्रष्ट हुन्छ। गोजमुमोले अघिबाटै छुट्टै राज्यको लडाइका लागि पहिला स्वयं सशक्त बन्न आवश्यक छ, त्यसको लागि विकास हुन जरुरी छ’ भनिसकेको हो। त्यसैको लागि गोजमुमो जीटीए थाप्न बाध्य भएको अघिबाटै स्पष्ट छ। अहिले पहाड त्यही विकास र बोर्डमै भुलिरहेको छ। राज्यले चाहेको पनि त्यही हो।
पहाडमा पार्टीगतरूपमा कहाँ गल्ति हुँदैछ? नेताहरू कहाँ चुक खाँदैछन्? जनताले भूल के गर्दैछन्? विमर्श गर्नुपर्ला। गोर्खाल्याण्डको मुद्दामा पहाड माछा-माछा भ्यागुता’ मात्रै भइरहेको छैन? अथवा स्वार्थले दिशाभ्रममा पारिरहेको छैन के? पहाडले भाजपालाई समर्थन दिइरहेको छ। राज्यमा तृणमूलको सरकार छ। गोजमुमो समर्थक सांसद अहालुवालियाले दह्रिलोसित गोर्खाल्याण्डको मुद्दालाई उठाउन नसक्नुको कारण पछि पनि त्यही हो। भाजपाले राज्यमा सरकार गठन गर्न चाहन्छ। पहाडको मुद्दामा खुलेर बोल्नु भन्दा पहिला समग्र बङ्गाललाई सोच्नुपर्छ किनभने, राज्यमा सरकार गठन गर्नलाई मेन फ्याक्टर भनेको नै बहूमत हो। त्यसैको फाइदा उठाउँदै डमरु बजाइरहेछ तृणमूलले। फुकिँदै गइरहेको मुट्ठी कसिँदै आउला के? अहिले भने आगामी विधानसभा चुनाउमा पहाडको रूप हेर्नु छ।
No comments:
Post a Comment