भारतीय स्वतन्त्रता इतिहासका पन्नाहरू यदि पल्टाएर हेर्नु हो भने महात्मा गान्धीबाहेक सायद अर्को व्यक्ति बिरलै होलान्, जसले विश्व समुदायलाई प्रभावित गरेका छन्। अफ्रिका होस् वा अमेरिका, गान्धीको प्रभाव सार्थक परिणाममा देख्न पाइन्छ। माटीर्न लूथर किङ हुन् वा नेल्सन मण्डेला अथवा वर्तमान अमेरिकी राष्ट्रपति बराक ओबामा नै किन नहुन्, यी सबैको सङ्घर्षमा महात्मा गान्धीको आदर्श अनि उनको चिन्तनशीलता देखापर्दछ।
आज महात्मा गान्धी छैनन् तर गान्धी आज पनि उत्तिकै सान्दर्भिक अनि एक विशेष चर्चाका विषय बनेका छन्। आज गान्धी एक चिन्तनका विषय बनेका छन्। आज पनि प्रश्न उठ्छ, गान्धीलाई के भन्ने? के गान्धी एक व्यक्ति विशेष हुन् वा एक चरित्र विशेष अथवा गान्धी के एक अर्थ विशेष हुन्? यदि हामीले यी प्रश्नहरूको जवाफ खोजे सायद उनीबारे अनेक तथ्य प्रकट होलान्। गान्धीका आन्तरिक चिन्तन वास्तवमा राष्ट्रवादले ओतप्रोत थियो। गान्धीलाई यदि कट्टर राष्ट्रवादी भन्नु हो भने पनि अत्योक्ति नहोला। गान्धीको विचारमा राष्ट्रको अखण्डताको निम्ति सबैभन्दा बाधक तत्व जातिवाद, धर्मवाद र भाषा जस्ता विषयहरू थिए। अतः उनले जातिवाद, धर्मवाद एवं भाषा आदिमा विभाजनको विरोध सायद यस कारण गरेका थिए, किनभने उनी राष्ट्रवादका समर्थक थिए। राष्ट्रिय एकतामा उनको अगाध विश्वास थियो।
गान्धीको निम्ति राष्ट्र सर्वोपरि थियो। कति विद्वान्ले त उनलाई अन्तर्राष्ट्रवादको विरोधी पनि ठान्थे भन्ने थाहा पाइन्छ। तर गान्धी राष्ट्रवादसित सम्झौता गरेर अन्तर्राष्ट्रिय मञ्च स्वीकार गर्न चहाँदैनथे। त्यसैले गान्धीको राष्ट्रवादलाई भारतीय संविधानमा सायद सम्प्रभूताको नाम दिइएको छ। किनभने, गान्धीको राष्ट्रवादसित राष्ट्रको सम्प्रभुताको पर्याप्त समानता पाइन्छ। गान्धी हिन्दीका समर्थक थिए तर अंग्रेजीका विरोधी भने थिएनन्। गान्धी हिन्दी भाषालाई आम जनताको भाषाको रूपमा, देशको सार्वभौमिक भाषाको रूपमा देख्न चहान्थे। गान्धीको सत्यवादिता एवं अहिंसावादले उनलाई महात्मा बनाएको थियो। गान्धी एक महात्मा भए पनि एक प्रखर राष्ट्रवादी सोचका प्रतीक पनि थिए। चारैतिर अराजकता फैलिएको आजको युगमा जातिवादले चरम छोएको, धर्मको ठेकेदारी खुलेको युगमा आज गान्धी भारतीय समाजमात्र नभएर सर्वव्यापी प्रसाङ्गिक बनिसकेका छन्। आज गान्धी प्रेम र सद्भावका पयार्य एवं प्रतिमूर्ति बनेका छन्।
राष्ट्रवादको इतिहासमा प्रायः एक्लो व्यक्तिलाई राष्ट्र निर्माणसित जोडेर हेरिन्छ। उदाहरणको निम्ति इटली निर्माणका निम्ति गेरीबाल्डी, अमेरिकाको स्वतन्त्रताको युद्धसित जर्ज वाशिङटन अनि भियतनामलाई औपनिवेशिक शासनबाट मुक्त गराउने सङ्घर्षमा हो ची मिन्हलाई जोडेर हेरिन्छ। त्यसैले महात्मा गान्धीलाई भारतले राष्ट्रपिता मानेको छ। गान्धीजीले भारतलाई भोगभूमि नभएर कर्मभूमि मानेका थिए। स्वयंको जीवन अहिंसा धर्मको पालनद्वारा भारतको सेवामा समर्पित गरेका थिए। उनले साम्प्रदायिक एकता अनि धार्मिक सहिष्णुतामाथि विशेष बल दिएका थिए। सर्वकल्याणकारी नयाँ जीवन पद्धतिको विकासको निम्ति उनी उपनिषद्को ‘तेन त्यक्तेन भुञ्जीथा’ मन्त्र आत्मसात गर्दै नयाँ भारतको सपना देख्दथे।
महात्मा गान्धीले देखेको सपना आज कतिसम्म पूर्ण भयो त अथवा कतिसम्म साकार भयो त? त्यो प्रत्येक भारतीय नागरिकले सोच्नुपर्ने विषय बनेको छ। किनभने राष्ट्रपिता महात्मा गान्धीले देखेको भारतको सपना उनको निम्ति थिएन। अर्कोकुरा, महात्मा गान्धी अहिंसा र राष्ट्रिय एकता विश्वास राख्ने कुरा अघि भनियो। देशमा घरिघरि विभिन्न प्रकारका विवादले हामीबीचको एकता तोडने काम गरिरहेको प्रत्यक्ष छ। भनिन्छ ‘भाई फुटे गवार लुटे।’ देश अहिले झण्डै त्यस्तै अवस्थामा बाँचिरहेको छ। देशलाई वर्तमान अवस्थाबाट माथि उठाउन पनि महात्मा गान्धीले देखेको सपनालाई साकाररूप प्रदान गर्दै साम्प्रदायिक एकताको सूत्रमा बाँधिनु आवश्यक छ।-30.09.2016
No comments:
Post a Comment