Sunday, November 20, 2016

बडा दशैं : एकताको पर्व


भारतीय सांस्कृति-पर्वहरूमध्ये हिन्धु धर्मावलम्बीहरूको महान पर्व दशैंको छुट्टै विशेषता छ। बडा दशैंलाई हिन्दुहरूको महान पर्वको रूपमा जानिने भए पनि अहिले आएर यसले समाजका हरेक समुदायलाई एकताको शूत्रमा बाँध्ने काम गरिरहेको पनि पाउन सकिन्छ। त्यसैले दशैंको विशेषता बढ्दो छ।
दशैं र दिवाली जस्तो हाम्रो संस्कार-संस्कृतिहरूसित बाँचिआएको हाम्रो पर्वहरूले एकातिर हामीलाई एकताको शूत्रमा बाँच्ने काम गरिरहेको पाउन सकिन्छ, जसको हिन्दु धर्मावलम्बीहरू मात्र नभएर बौद्ध धर्मावलम्बीहरूमा गहिरो छाप बसेको देखिन्छ। हिन्दू धर्मावलम्बीहरूसँगै बौद्ध धर्मालवम्बीहरूले पनि बडा दशैं र दिवालीलाई हर्षोल्लासका साथ मान्ने प्रचलन हाम्रो समाजमा बसिसकेको छ। यसलाई साम्प्रदायिक एकताको दृष्टिले हेर्न सकिन्छ, जो सामाजिक सद्भावना, सुख-शान्ति र विकासका लागि पनि लाभदायक हुन्छ। अर्कातिर, युवा पुस्तामा हाम्रो संस्कार-संस्कृति तथा चाड-पर्वहरूप्रति मोहभङ्ग हुँदै गइरहेको पनि पाइन्छ। यसका कारणहरू अनेकौं हुनसक्छन्, तर युवा समूहलाई मात्र यसको सीधा लाञ्छना लगाउनु उनीहरूप्रतिको अन्याय पनि हुनजान्छ।
दशैंलाई सरल अर्थमा ‘असत्यमाथि सत्यको जित’-को प्रतीकका रूपमा पनि हेरिएको छ। युवावर्गमा भने अहिले दशैंलाई असत्यमाथि सत्यको जितभन्दा पनि हाम्रो संस्कार-संस्कृति, धर्म-परम्परासितै हामीलाई हाम्रोपनको आभाष गराउने पर्व हो, जोसित हाम्रो अस्तित्व बाँचेको छ भन्ने बुझाउन आवश्यक देखिन्छ। दशैं मात्र हाम्रो एउटा त्यस्तो पर्व हो जहाँ हामी जस्तै परिस्थिति-समस्या, जस्तै आपद-विपदमा पनि रम्ने-रमाउने गर्छौं। आपस्तमा कुनै प्रकारको मन-मुटाव भए त्यसलाई पखालेर पुनःमिलनमा बाँधिन्छौं। अरुबेला हामी जतिकै व्यस्त रहेपनि, जति नै टाडा रहेपनि दशैंमा आपस्तमा भेटघाट गर्न र ठूला-बडाबाट आशीर्वाद थाप्न आइपुग्छौं। बडा दशैंको यो अर्को विशेशता पनि हो। यति भएरै पनि यी कुराहरू विस्तारै लोप हुँदैछैन के? भन्ने प्रश्‍न उठ्नसक्छ तपाईं-हाम्रो मनमा।
दशैंको महत्व, यसको सांस्कृतिक पक्ष अनि हाम्रो जीवनसितै यसको सम्बन्ध के छ भन्ने कुराको युवावर्गले यदि बुझेका छैनन् भने त्यसको भागिदारी हाम्रा अग्रजहरू पनि हुनजान्छन्। त्यसैले यसको चेत हाम्रा अग्रजहरूलाई पनि हुनुपर्छ। आफूहरूले सिकेको संस्कार-संस्कृतिको पालना गर्नाले मात्र त्यसतो जोगाड हुन्छ भन्न सकिन्न। एक पुस्तादेखि अर्को पुस्ताले यसलाई अप्नाउँदै लानु अनि हाम्रो संस्कार-संस्कृति तथा चाड-पर्वहरूलाई बचाउनु हो भने हाम्रा अग्रजहरूले यसको जिम्मेवारी उठाउनु पर्छ अनि युवावर्गलाई पनि बाटो डोहोर्‍याउनु पर्ने हुन्छ। आफ्ना छोरा-छोरी, नयाँ पुस्तालाई वैश्‍विक प्रतिस्पर्द्धामा अघि लगाउनुपर्छ, तर आफ्नो धरातल पनि भुल्न दिनुहुन्न। हामी गाउँदेखि शहर, शहरदेखि विश्‍वका कुनै पनि ठाउँमा पुग्नसक्छौं, तर हामीले हाम्रो संस्कार-संस्कृति नै हाम्रो पहिचान हो भन्ने भुल्नु हुन्न। त्यसैले आजको शिक्षित समाजमा पनि हाम्रो ‘संस्कार-संस्कृति त बाउँ-बाजेले जोगाए कै छन् नि’ भन्ने विचार बाँच्नुहुन्न। जिम्मेवारी बोधन हुनुपर्छ युवावर्गमा पनि।
अहिले बडा दशैंको संघार टेकिसकेका छौं हामी। बडा दशैंले गाउँ-शहर सबैतिर हर्षको माहोल लिएर आवोस। यो समय हामी अति नै उत्साहित बन्नेगर्छौं जसले केहीक्षणपछि नै पश्‍चतापको घेरोमा पर्न सकिन्छ। मद-मदिरा, झाइ-झगडा, आपसी मतभेद जस्ता कुराहरूदेखि टाडा रहेकै असल हुने हामीलाई थाहा हुँदैहुँदै पनि कहिलेकाहिँ हामी त्यसैमा फस्नेगर्छौं। यसैले अघिबाटै यस्ता कुराहरूबाट टाडा रहने चेत राखे यस्ता घटनाहरूबाट हामी बाँच्नसक्छौं। नव दुर्गा भवानीले हामी सबैको जीवनमा सुख-शान्ति, खुशियाली, सदभावना जागृत गरावोस। सबैलाई बडा दशैं 2016-को शुभकामना।-07.10.2016

No comments:

Post a Comment