Monday, September 26, 2011


विश्वकर्मा पूजाः
हामीले ध्यान राख्नुपर्ने कुरा
हाम्रो देश भारतलाई धर्म तथा चाड-पर्वहरूको देश भनेर पनि चिनिन्छ। अर्थ प्रश्टै छ, हाम्रो देशमा हिन्दु, मुश्लिम, बौद्ध, इसाई सबै धर्मका मानिस बसोबासो गर्छन्। बिभिन्न जातिका मानिस बस्छन्। यी बिभिन्न जाति-धर्मका मानिसहरूको आ-आफ्नै धर्म-कर्म, परम्परा छन्, चाड-पर्व छन्। यद्यपि, कुनै पनि धर्म अथवा कुनै पनि जाति विशेषको चाड-पर्व, परम्परा सबैले मनाउने गर्छन्। विशेष सिक्किम राज्यमा यसको राम्रो उदाहरण हेर्न सकिन्छ। सोनाम ल्होसार, ल्होसार, होली, रामनवमी, सागा-दावा, गुड-फ्राइडे, साकेवा, टेण्डोङ-ह्लो-रूम-फात, जन्मामी, इद-उल-फितर, पाङ्ल्हाब्सोल, दूर्गा पूदा, लक्ष्मी पूजा, क्रिसमस, लोसुङ आदि पूजा-पर्वहरू सबैले समग्र रूपमा पालन गर्छन्, मनाउछन्। यसलाई यहॉंका मानिसहरूमा भएको एकता र भाइचाराको भावनाको उदाहरणको रूपमा लिन सकिन्छ।
यसरी नै राज्यमा प्रत्येक वर्ष विश्वकर्म पूजा पनि सबैले मनाउने गर्छन्। विशेष कार्यलय, कल-कारखाना, वाहन आदिलाई लिएर गरिने यो पूजाको छुट्टै महत्व रहिआएको छ। पौराणिक आस्था अनुसार गरिने यो पूजा प्रायः नै 17 सितम्बरको दिन गरिने भए पनि यो वर्ष 18 सितम्बरको दिन पूजा गरिने भएको छ अनि अहिले यसको प्रायः तम-तयारी पूरा भइसकेको छ।
हिन्दु धर्मग्रन्थअनुसार विश्वकर्मालाई पौराणिक कालका परमेश्वरको वास्तुकारका रूपमा चिनिन्छ। भगवान विश्वकर्माले ब्रह्माण्डभरिकै भगवानहरूको हात-हतियार बनाएको भनाइ छ। यतिमात्र होइन तर पौराणिक कथाहरूअनुसार पृथ्वी तथा ब्रह्माण्डनै भगवान विश्वकर्माले सिर्जना गरेका हुन। भगवान विश्वकर्माका सिर्जनाहरूमध्ये सुनको लङ्का सर्वोत्तम मानिएको छ। पौराणिक कालमा एउटा मिजाइलको रूपमा प्रयोग गरिएको इन्द्रको वज्र बनाउने श्रेय पनि भगवान विश्वकर्मलाई नै दिइएको छ। यसैले भगवान विश्वकर्मालाई सर्वोच्च कार्यकर्ता अनि शिल्प कौशलमा उत्कृ रहेका मानिएको छ। अत भदवान विश्वकर्मालाई ब्रह्माण्डकै वास्तुकार भनिएको छ।
सिक्किम राज्यमा विश्वकर्मा पूजा खुबै हर्सोल्लासको साथ एउटा पर्वको रूपमा मनाइन्छ। ठाउँ-ठाउँमा समूह-समूहले खुब मेहेनतसित पण्डाल बनाएर त्यसलाई सुन्दर ढङ्गले सजाएर भगवान विश्वकर्माको प्रतिमा राखिन्छ। पूजापछि आउने-जाने श्रद्धालु-भक्तजनलाई प्रसाद दिइने चलन छ। पूजाको भोलिपल्ट पूजा सेलाउन अथवा मूर्ति सेलाउन कुनै खोला अथवा टिस्टामा पुऱ्याइन्छ। यसरी खुबै श्रद्धा र भक्तिका साथमा पूजा-अर्चना गरिनुको एउटै उद्धेश्य हो, आफ्नो कारोवार, व्यापार-ब्यवशाय राम्रो होस।
अब हामीले यहॉं ध्यान दिनुपर्ने कुरा के छ भने, विश्वकर्मा पूजा मात्र होइन तर कुनै पूजा गरिन्जेली भगवानको आराधना, आरती, मन्त्र, भजन सुन्ने गर्छौं। पूजाको मुख्य भाग सकिन्छ अथवा पूजाकार्य सकिन्छ। पूजा सकेर पछिको समय अथवा बेलुकीदेखि रातभरि नै अन्य गीत बजाउने र नाच-गान गरिन्छ। सके उज्यालो नै बनाइन्छ नाचगानसितै। नाच-गान गर्नु नराम्रो भन्ने होइन, यो त मनोरञ्जनको निम्ति गरिएको हुन्छ। तर पूजाको अघिल्लो एक-दुइदिनदेखिको ब्यस्तता, पूजाको दिन दिनभरि पूजा-पाठ अनि रातभरिको नाचगानले शारीरिक थकान र आँखामा निन्द्रा त पक्कै हुन्छ नै। यस्तो स्थितिमा फेरि पूजा सेलाउन जानुपर्नेहुन्छ। यतिबेला मनमा भगवान र पूजाप्रतिको श्रद्धा अनि भक्तिभन्दा नाच-गान र मनोरञ्जनको जोशले हाम्रो होश उडाइरहेको हुन्छ। त्यसैले यो समय अति नै सचेत हुने समय हो। वाहनको तीव्र गरि, स-सानो मोड, अघिपछिबाट अन्य वाहनको आगमन, पूजा सेलाउन जानेहरू एक सूरमा वाहनमै नाचिरहने  थकान र निन्द्रले समाएको समय केही पनि हुनसक्छ। यसो भए आफ्नो ब्यापार-व्यवशाय, कारोबार अथवा जुन कुराको उद्धेश्य राखेर पूजा गरिएको हुन्छ, त्यसको अर्थ के नै रहला र! एउटा सानो गल्तिले ठूलो घटना हुनसक्छ। 18 सितम्बर, 2011 सबैको निम्ति सङ्गल रहोस, विश्वकर्मा पूजाको सबैलाई शुभकामना।
16.09.2011

No comments:

Post a Comment