Monday, September 26, 2011


नेपाली भाषा र भाषिक एकरूपता
मान्छेले आफ्नो मनको कुरालाई ब्यक्त गर्न भाषाको प्रयोग गर्नुपर्ने हुन्छ, चाहे त्यो भाषा संसारका कुनै पनि भाषा किन नहोस। एक ठाउँबाट अर्को ठाउँ कुनै सामान पुऱ्याएजस्तो एक ब्यक्तिबाट अर्को ब्यक्तिसम्म कुनै कुरा पुऱ्याउँदैमा हुँदैन। त्यहॉं अर्थ लाग्नु पर्छ। भाषा मिल्नु पनि पर्छ। त्यसैले दक्षिण भारतीयले बोलेका भाषा हामी बुझ्‌दैनौं, हामीले बोलेको भाषा उनीहरूले। अथवा एकै भाषा हुन जरुरी हुन्छ।
नेपाली भाषाले देशको संविधानमा मान्यता पाएको आज 19 वर्ष पूरा भएको छ। सारा भारतीय नेपालीले आजै 20औं नेपाली भाषा मान्यता दिवस पालन गरिरहेको छ। नेपाली भाषा भारतीय संविधानको 18औं अनुशूचिमा अन्तरभूक्त छ। नेपाली भाषाले यहॉंसम्मको यात्रा तय गर्न जुन कठिनाइ तथा स्थितिको सामना गर्नु पऱ्यो, त्यो अर्कै कुरा हो। तर नेपाली भाषालाई यहॉंसम्म पुऱ्याउन भाषा आन्लनकर्ताहरूले जुन सङ्‌घर्ष गरे, त्यो कसैले भुल्ने छैनन्‌।
हाम्रो भाषाले अहिलेसम्म जति विकास गरेको छ, त्यो सराहनीय रहेको छ। नेपाली साहित्यका महारथी देवकोटालाई मात्र हेर्नुपर्दा पनि उनले नेपाली साहित्यलाई जुन उँचाइमा पुऱ्याएका छन्‌, त्यो लरतरो प्रयासले सफलता पाउँने कुरो होइन। पारिजात, राम्कृष्ण शर्मा, शिवकुमार राई, इन्द्रबहाजुर राईजस्ता साहित्यित महारथीहरूले नेपाली साहित्यलाई विकासको जुन शिखरमा पुऱ्याएका छन्‌, त्यसलाई हामीले नमन गर्नु पर्छ। तर आज त्यसको अवस्था दिनोदिन खस्किँदो देखिन्छ। सन्‌ 981-बाटै लिखित रूप पाइसकेको नेपाली भाषाको कुरा गर्नु पर्दा पनि आज 1030 वर्षको लामो फड्‌को पार गरिकेको छ। तर यतिका वर्षपछि अझै नेपाली भाषाको विकास चाहेजति भएको जस्तो लाग्दैन।
कुनैपनि कुराको पूर्णतः विकास हुनलाई एकरूपताको खॉंचो पर्छ। यही नै सबैभन्दा महत्वपूर्ण विषय पनि हुन्छ। यदि हामीमा एकरूपता छ, समानता छ र हाम्रो ब्यवहार मिल्छ भने हामी कुनै कुराको शिखर चड्‌न सक्छौं। होइन भने गङ्‌गटे प्रवृत्तिले मात्र न आफु चढ्‌न सकिन्छ न अरूनै चड्‌न पाउँछन्‌। त्यसैले हामी कहिलै विकासको त्यो शिखरमा पुग्न सक्ने छैनौं। नेपाली भाषामा पनि आज एकरूपताको खॉंचो परेको देखिन्छ। एकरूपता भन्नाले यहॉं विशेषतः दुइ कुरालाई ध्यान दिइनुपर्छ। पहिलो विचार अनि दोस्रो ब्यवहार।
हाम्रो समाज, हाम्रो साहित्य यहॉंसम्म जसरी आइपुगेको छ, आइपुगिसक्यो। तर यसलाई अझ अघि कसरी लैजने, त्यो सोंच्न जरुरी हुन्छ। अनि त्यसको निम्ति हामी एकसमान भई अघि बढ्‌नु पर्ने हुन्छ। भाषिक एकरूपताका कुरा 1980-कै दशकदेखि उठेको अथवा उठाइएको थाहा पाइन्छ। त्यतिखेरदेखि नै भाषा शैली, व्याकरणका कुराहरू लिएर सम्पूर्ण नेपाली भाषी एक हुनु पर्ने, हाम्रो भाषा-साहित्यमा एकता ल्याउनु पर्ने (महानन्द सापकोटा आदिले...?) प्रयास नगरेका होइनन्‌, भाषिक एकरूपताको आनदोलन नचलाएका होइनन्‌। यसै विषयमाथि राज्य तथा राष्ट्रिय- अन्तरराष्ट्रिय स्तरमा विभिन्न गोष्टी-सङ्‌गोष्टी पनि नराखिएको भने होइन। तर कुनै निचोढ निस्किन सकेन। भारतीय स्तरमा थुप्रै प्रयास भए। "इण्डियन नेपाली ल्याङ्‌ग्वेज युनिटी एन्ड आइडेन्डिटी' जस्ता अन्तररा्रिय स्तरका सङ्‌गोष्टीहरूले पनि हामीमा एकताको घडेरी खन्न सकेको छैन। उता नेपालले पनि भाषिक एकताको पहल नगरेको होइन। जहॉं पनि, नेपालीहरूमा विद्वतको कमी पाइन्न, तर दुःखको कुरा भाषा-साहित्य मात्रै किन, कुनै पनि कुरामा एकमत भने पाउन गाह्रो परेको छ अझै। म र मेरो-को भावले हामीलाई अझै पनि छोडेको छैन। फलस्वरूप 1992-मै नेपाली भाषाले मान्यता पाएर यतिका वर्ष बितिसक्दासम्म हामी भाषिक एकताको सिढी चड्‌न सकेका छैनौं। मैले भनेकै ठीक, मेरै कुरा उचित-को विचारधाराबाट हामी कहिले माथि उठ्‌नुपर्ने, यो गहन प्रश्न छ। एकता कै सन्दर्भमा कुरागर्नु पर्दा माथिल्लो तहकाले तल्लो तहकालाई अथवा स्थापितहरूले नवोदितहरूलाई मान्यता नदिनु पनि एउटा समस्या नै बनेर उभिएको छ। यहॉं पनि समानता ल्याउन सके हाम्रो साहित्यको बिरुवा अझ झ्यॉंगिएर जाला।
त्यसैले भाषा-साहित्यका विद्वजन, वैयाकरण तथा बौद्धिक जमातले आपस्तमा मिलेर छलफल गरी ठोस निर्णय लिन र एउटा निश्कर्षसम्म पुग्न जरुरी देखिन्छ। नभए भाषा मान्यता, भाषा दिवस र भाषिक एकताको कुरा मात्रैले हाम्रो भाषालाई माथि नपुऱ्याउला। भाषा दिवस पालन गरेर मात्र कोही माथी नपुग्ला।
19.08.2011

No comments:

Post a Comment