21औं शताब्दीका हामी
‘पढी-लेखी शिक्षित भए कसैले ठग्न सक्दैन’ भन्ने बाउ-बाजेको विश्वास वर्तमान समाजमा पनि चरितार्थ हुन नसकेको अवस्था छ। पहिले अक्षर ज्ञानसून्यताका कारण बाउ-बाजेहरूले तिजोरीमा राखेको रुपियाँ अथवा आमा-बोजुहरूले थैलीमै राखेको रुपियाँ लुटाइपठाउने गरेको कुरा हामीलाई दन्त्य कथा झैं लाग्न सक्छ। दुःख गरी पसिना चुहाएर कमाएको वा निधारबाट तुरतुरी चुहाएको पसिनासरिको कमाई गुमाउँथे। खाई-नखाई गरेर जोहो गरेको रुपियाँ घरैबाट चोरेर लगिदिन्थे। उसो त, नचोरिने आज पनि होइन। प्रतिदिन त्यस्ता घटनाहरू छापामा आइरहेका छन्। विदित भएको कुरा हो। त्यसैले आफ्नो धन-सम्पत्ती, पैसा-रुपियाँ सुरक्षित ढङ्गले जोहो गर्ने उपाय निकालियो ब्याङ्क व्यवस्था। ब्याङ्कमा आफ्नो रुपियाँ-सम्पत्ती सुरक्षित जोहो गर्नसितै त्यस रुपियाँबाट ब्याज पनि पाउने हुनाले सबै निर्धक्क आफ्नो रुपियाँ ब्याङ्कमा राख्न थाले। बाउ-बाजेहरू ढुक्क हुनथाले।
आज पनि तर हामी सुरक्षित छैनौं। सुरक्षित भनिएको हाम्रो रुपियाँ-सम्पत्ती सुरक्षित छैन रहेछ। ‘बार्टर सिस्टम’-बाट विकसित बन्दै आएको मानव सभ्यताले विकासको यत्तिधेरै खुड्किलो चड्दैगयो, जहाँ स्वयं मानव समाज पछि पर्दै गएको छ। त्यसैको एउटा उदाहरणका रूपमा लिन सकिन्छ विज्ञानलाई। विज्ञानको विकासले मानव जीवन जति सहज बनाइदिएको छ, त्यति नै कठिनाइहरू वा चुनौतिहरू पनि हाम्रा अघि राखिदिएको छ। हाम्रो सानो गल्तिले हामी रित्तिन सक्ने भएका छौं, एउटै भूलले खालि हुन सक्ने भएको छ हाम्रो खल्ती। खल्तीमात्रै होइन हामीले सुरक्षित सम्झिरहेको ब्याङ्क-खाता रित्तिन थालेको छ। घरिघरि प्रत्यक्ष देखिँदै आएको त्यसैको उदाहरणहरू बोकेर एउटा घटना प्रकाशित छ समाचार पत्रहरूमा।
विज्ञानले संसार सागुँरो बनाइदिएको सत्य सर्वस्वीकृत छ। त्यसैले बाउ-बाजेको समयमा जस्तो हामी धेरै परिश्रम गरिरहन चाहँदैनौं। सुविधाभोगी छौं हामी। तर सुविधा जीवन र जगतका लागि भन्दा क्षणिक रमझम र व्यक्तिगत धेरै भइदिएकाले हामी प्रतिदिन निरर्थक पनि बन्दैछौं कि? सोच्नु पर्ने भएको छ। हामी समाजमा पहिले पनि तीनवर्गमा थियौं र अहिले पनि तीनैवर्गमा विभाजित छौं, भन्ने लाग्छ। पहिलो- समाजको एकपक्षबाट ठगिने-लुटिने, दोस्रो समाजको पहिलो पक्षलाई लुट्ने-ठग्ने अनि तेस्रो समूह यी दुईभन्दा अलग्गै भनौं माझको, जसले लुटिने-ठगिनेहरूलाई लुट्ने-ठग्नेहरूबाट सचेत गराइरहन चाहने, बँचाइरहन चाहने, जोगाइरहन चाहने। सँधै आफूमा भ्रम पालेर बाँचेको छ तेस्रो समूह यसरी। तेसैको उदाहरण 20 मार्च 2015-को दिन प्रकाशित समाचार जहाँ पहिलो समूह लुटिएको छ दोस्रो समूहसित अनि तेस्रो समूह आज लाचार छ।
हामी 21औं शताब्दीका मान्छे। शिक्षित समाजका मान्छे। अनि मानव समाजलाई सिक्किमेली सीमाभित्र राखेर हेरिनु हो भने हामी देशलाई हरेक छेत्रमा नेतृत्व गर्न लागेको मान्छे। तर हामीलाई अझै पनि कुन गतिमा छौं? त्यो खुलस्त पार्दछ यस्तै घटनाहरूले। हामी विज्ञानको उपभोग गर्छौं। त्यसबाट हुने नकारात्मक प्रभावहरूको हामीलाई ज्ञान छ। त्यसबाट सुरक्षित रहने चेतना पनि छ, उपायहरूको ज्ञान पनि छ। तर पनि हामी आज ठगिँदै छौं। आज पनि हामी लुटिँदै छौं।
मोबाइल, कम्प्युटर, इन्टरनेट, फेसबुक-वेबसाइट आदि आजको हुँदै नहुने साधन। विशेषगरि युवा पिँढीलाई बाँच्नै गाह्रो। तर यीनै साधनहरू कहिले ‘मुडो ताक्ने’ अनि कहिले ‘घुँडो ताक्ने’ बञ्चरो भइरहेको छ। एकातिर, फेसबुक-इन्टरनेटको माध्यमद्वारा हाम्मरा युवतीहरू प्रेमजालमा फस्ने अनि बलात्कृत हुने, कहिले अस्लिल भिडियोकी पात्रा भएर सञ्जालभरि छाउने, कहिले देश-विदेशमा बेचिने घटनाहरू नयाँ समस्या होइन। त्यस्तै कहिले ब्याङक तथा एटीएमको विस्तृत जानकारीहरू दिएर धेरैजना लुटिँदै गरेको समाचारहरू पनि पुरानो भइसकेको विषय हो। कुनै कम्पनी, वीमा अथवा साथी बनाएर सिधै उपहार पठाइदिने प्रलोभन देखाएर पनि लाखौं रुपियाँ लुट्नेहरूले हामीलाई लाटो बनाइरहेको छ। यी सबै घटनाहरूमा प्रायः युवावर्गनै परेका छन्।
आफ्नो गोजिमा भएको, ब्याङ्कमा भएको रुपियाँ लुटिँदै छौं भने अथवा कोही अपरिचितसित फेसबुक र इन्टरपनेटको माध्यमद्वारा प्रेमजालमा परेर आज हामी पीडित बन्दैछौं भने हामी कति शिक्षित भएछौं, कति सचेत बनेछौं, कति जागरुक भएछौं? हामीले नै सोच्नुपर्छ। आफै नमरी स्वर्ग देखिन्न भनेजस्तै यहाँ हामी विकसित समाजमा शिक्षित छौं, तर जबसम्म हामी स्वयं सचेत बन्दैनौं, जागरुक बन्दैनौं, होशियारी हुँदैनौं तबसम्म यस्ता घटनाहरूबाट पीडित भइरहने छौं, लुटिँरहने छौं, ठगिनैरहने छौं।
No comments:
Post a Comment