Monday, May 4, 2015

पर्यटन विकासको पहल

बिस्तारै विकसित बनिरहेको राज्य सिक्किम, प्रतिदिन समृद्धिको सिखरतिर अग्रसर राज्यको रूपमा विश्‍वमै प्रसिद्ध बन्दै गइरहेको छ। समृद्ध सिक्किमको अर्थ मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा स्वस्थ राज्य। एउटा त्यस्तो राज्य जहाँ सुख, सुविधा, शान्ति र सुरक्षा छ। सबैप्रकारले स्वस्थरूपमा विकसित बन्दै गएको राज्य सिक्किम, जसलाई आज देशले मात्र होइन विश्‍वका धेरै राष्ट्रले उदाहरणका रूपमा लिने गरेको छ। जब एउटा समाजको, एउटा स्थानको अथवा त्यो राज्यको समग्र विकास हुँदछ तबमात्र पूर्ण स्वस्थ र समृद्ध कहलाइन सकिने हुन्छ। तर, यसको निम्ति सबैभन्दा पहिला त्यहाँको राजनैतिक परिवेश र प्रशासनिक व्यवस्थापन असल हुन जरुरी हुन्छ। स्वस्थ राजनैतिक परिवेश अथवा स्वस्थ राजनीतिको चेतनाले त्यो समाज वा देशकै असल प्रशासनको स्थापना हुनसक्छ। तर त्यसका लागि पनि पहिला समाज र देशकै निम्ति समर्पित असल राजनैतिज्ञ वा नेतृत्वकर्ताको खाँचो पर्दछ। यसो हुनसके समाज, राज्य वा राष्ट्रलाई विश्‍वसामु उदाहरण बनाएर उभ्याउन सकिने हुन्छ। सिक्किमलाई अहिले त्यही दृष्टिले हेर्न सकिन्छ भन्दा भुल हुँदैन।
विश्‍वका धेरैजसो भू-भागमा अझै पनि आयस्रोतको भरपर्दो माध्यम वा असल र सहज रोजगारी भनेको सरकारी नोकरी नै हो भन्ने धारणा रहेको पाउन सकिन्छ। प्रतिदिन बढ्दो जनसङ्ख्याको समस्यालाईसम्म केहीहद निवारण गर्न सफल छ विश्‍वसमुदाय। यद्यपि, विश्‍वसामु रहेको सबैभन्दा ठूलो समस्या वा विश्‍वले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति वेरोजगारी नै हो। दुई मत छैन यहाँ। जब एउटा परिवारमा असल आयस्रोतको उपाय हुँदैन, तब त्यहाँ सुख हुँदैन, शान्ति छाउँदैन, शारीरिक र मानसिक दुवैरूपमा पूर्णसन्तुलित रहन सक्दैन। एउटा देशकै निम्ति यो ठूलो समस्या हुनजान्छ, जसले देशको विकासमा बाधा पुर्याउने हुन्छ। यस्तो अवस्थामा यदि त्यहाँको प्रशासनिक व्यवस्था असल भए समाजलाई यस्ता समस्याबाट उकास्ने अनेकौं उपाय निकाल्न सक्दछ। सिक्किमलाई विगत दुई दशकयता यसैको उदाहरण भइरहेको पाउन सकिन्छ।
माथि भनिए झैं असल आयस्रोतमा माध्यम हो सरकारी नोकरी, तर यसको आफ्नो सीमितता छ। यही सीमितता एउटा प्रमुख कारण हो विश्‍वले बढ्दो वेरोजगारी समस्या झेल्नु परिरहेका कारणहरूमध्ये। त्यही समस्याको समाधान खोज्दै पश्‍चिमी देशहरूले 19औं शताब्दीदेखि नै औद्योगिक विकासतर्फ स्वयंलाई अग्रसर गराउँदै लगेको पाइन्छ। फलस्वरूप मानिसहरू वेरोजगारी समस्याबाट मुक्त हुँदै राष्ट्रविकासमा पनि योगदान दिन सफल बनेको पाइन्छ। यही सन्दर्भमा सिक्किमलाई हेरिनु हो भने देशको औद्योगिक विकासमा अहिले सिक्किमले पनि ठूलो योगदान पुर्याउन थालिसकेको छ। उसो त, सिक्किम भौगोलिकरूपमा देशको दोस्रो सानो राज्य हो। सिक्किमलाई समग्रमा पहाडी राज्यको रूपमा चिन्न सकिन्छ, जसलाई एउटा समस्या, एउटा कठिनाइ वा कमजोरीकै रूपमा हेर्न सकिएला यहाँ। यसैले पनि यहाँ ठूला कल-कारखानाहरू स्थापना गर्न सकिने सम्भावनाहरूको व्यापकता देखिँदैन। यद्यपि, समस्या, कठिनाई र कमजोरीहरूबाटै उठाएर राज्यलाई एउटा विकसित अनि समृद्ध राज्यको पहिचान गराउने पहलमा सँधै कटिवद्ध रहेको छ सिक्किम।
विभिन्न समस्याहरूको सामना गर्दै भएपनि अहिले विस्तारै विभिन्न कलकारखानाहरूको स्थापना हुँदै गइरहेको छ। भविष्यमा यसलाई सिक्किमको मुख्य आयस्रोत मान्न सकिएला। यसबाहेक सिक्किमले आफैलाई स्वरोजगारी र स्वनिर्भर बनाउने पहलमा उत्तिकै अग्रसर छ। जसको उदाहरण हो प्रतिदिन फस्टाउँदो पर्यटन व्यावसाय। सिक्किमको प्राकृतिक सुन्दरता, प्राकृतिक संसाधन आदिलाई प्रयोगमा ल्याएर सिक्किमलाई पर्यटनको क्षेत्रमा कसरी विकसित गराउन सकिन्छ भन्ने दिशामा सिक्किम लागि परेको छ। यसमा सिक्किमका युवावर्गलाई स्वरोजगारी र स्वनिर्भर बनाउने सरकारको पहल हो। यसैको निम्ति सरकारले राज्यबाहिरमात्र होइन तर देश-विदेशसम्ममा प्रचार-प्रसार गरिरहेको छ। राज्यका हरेक क्षेत्रमा रहेका सम्भावनाहरूलाई साकाररूप दिँदै त्यस स्थानको विकाससितै स्थानीयहरूलाई स्वरोजगार बनाउने अनेकौं उपायहरूको खोजीमा छ सिक्किम सरकार। विभिन्न मेला, उत्सवहरूको आयोजनसितै यस दिशामा सिक्किमले सफलताहरू पनि प्राप्त गरिरहेको छ। त्यसैको एक उदाहरण लिन सकिन्छ भर्खरै सम्पन्न ‘देन्ताम गुँरास पर्यटन उत्सव’-लाई। सिक्किमको पर्यटन विकासमा यो एउटा ऐतिहासिक सफलता मान्न सकिन्छ। राज्यको यस पहलमा प्रत्येक नागरिकको उत्तिकै साथ चाहिन्छ, जो-जोसित यसको सरोकार हुँदछ। पर्यटन विकासमा अहिले सरकारपक्षबाट जुन पहल भइरहेको छ, त्यसमा हाम्रो पनि उत्तिकै साजेदारी हुन जरुरी हुन्छ। तबमात्रै असल प्रशासन, असल राजनीति र व्यवस्थाले आशा गरेको सुख, सुविधा, शान्ति र सुरक्षा सम्पन्न विकसित र समृद्ध सिक्किमको सपना सफल बन्नेछ।

No comments:

Post a Comment