Wednesday, March 1, 2017

जिल्ला गठनको फाइदा

पहाडले कालेबुङ जिल्लाको आधिकारिक मान्यता प्राप्त भइसकेको छ। तीनदिने पहाड भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले गत 14 फरवरीको दिन कालेबुङलाई राज्यको 21औं जिल्लाको घोषणा गरिसकेपछि 16 फरवरीको दिन कोलकाता पुगिसकिन्। त्यसअघि कालेबुङ जिल्ला कति सम्भव कति असम्भव भन्ने विषय चलिरहेको विदाद र जिल्लाको माग कसले पहिला उठाएको भन्ने दावीलाई लिएरसमेत श्रेय लिने होडबाजी पनि नचलेको होइन। जसले जसरी शुरू गरोस् जिल्लाको माग, त्योभन्दा महत्वपूर्ण कुरा जिल्ला पाएका छन् कालेबुङवासीले। जिल्ला गठनको श्रेय लिनसम्म पछि नहट्ने तृणमूल कङ्ग्रेसले त आज धन्यवाद जुलुससम्म निकाल्यो।
कालेबुङ जिल्ला पहिले त समग्र कालेबुङवासीको निम्ति उपलब्धी मान्न सकिन्छ, त्यसपछि समग्र पहाडको निम्ति पनि उपलब्धी स्वीकार्नुपर्ने विषय हो। कालेबुङ जिल्ला गठनलाई एउटा ऐतिहासिक उपलब्धि मान्नुपर्छ किनभने जिल्लाको गठनपछि पहाडमा पहिलोचोटि उपलब्धिको राजनैतिक संस्कार शुरू भएको मानिएको छ। तर, राजनैतिक संस्कारको अर्थ त्यतिबेला सार्थक बन्नसक्छ, जतिबेला कालेबुङवासीहरूको समग्र विकास हुनसक्छ। त्यसैले अहिले जनसाधारणको सुविधाका निम्ति पञ्चायत बाइङ्गर्केसनमाथि यथाशीघ्र पहल हुनुपर्ने माग पनि पहाडमा उठ्न थालिसकेको छ अहिले।
अर्कोतिर, कालेबुङ जिल्ला गठनको मुद्दालाई प्रशासनिक विकेन्द्रीकरणको रूपमा उठान गरेर सरकारसम्म पुर्याउने जापको दावी अनुसार आज पनि धेरैवटा क्षेत्रका मानिसहरूले पञ्चायत कार्यालय पुग्नका निम्ति दिनभरि हिँड्नुपर्ने अवस्था छ। यस्तोमा पञ्चायत र खण्डको विभाजनहरूमाथि ठोस प्रशासनिक कार्य शुरू भइदिए आम मान्छेले सुविधा पाउने छन्। यही विषयलाई केन्द्र गर्दै जापले पहिले पञ्चायत, खण्ड विकास र महकुमा शासकमार्ङ्गत जिल्ला प्रशासकलाई पत्राचार गरेको थियो भने अब पञ्चायत बाइङ्गर्केसनका निम्ति जिल्ला प्रशासकलाई स्मारक पत्र दिने भएको छ।
कालेबुङ जिल्लाको मागलाई मुद्दा बनाउँदै तत्कालीन विधायक हर्कबहादुर छेत्रीले 18 सितम्बर 2015 को दिन गोजमुमो छोडेका थिए। 10 अक्टोबर 2015 मा डिस्ट्रिक्ट डिमाण्ड कमिटी गठन गरेर अघि आउने छेत्रीकै अगुवाईमा जन आन्दोलन पार्टी बनेको थियो। जनताको आवाजलाई सुनेर कालेबुङ जिल्ला गठन गरिदिइन् मुख्यमन्त्री ममता ब्यानर्जीले। यद्यपि, शुरूमा जिल्लाको मुद्दा उठान हुँदा धेरैले जाति विभाजनको आरोपसम्म नलगाएका पनि होइनन्। तर जनताको सुविधाका निम्ति उठाइएको प्रशासनिक विकेन्द्रीकरणको मुद्दा थियो कालेबुङ जिल्ला। त्यसैले कालेबुङका जनताले जिल्ला प्राप्त गरेका छन्। तर, जिल्ला पाउनुमात्र अन्तिम लक्ष्य होइन भन्नेकुरा कालेबुङवासीले बुझेर यसलाई विकसित जिल्ला बनाउने जिम्मेवारी पनि अब कालेबुङवासीले नै उठाउनुपर्नेहुन्छ। कालेबुङवासीले नयाँ कालेबुङको निर्माणमा एकजुट बन्नसक्नुपर्छ।
अर्कोकुरा, कालेबुङ जिल्ला मात्रै कालेबुङवासीको निम्ति नरहेर समग्र पहाडवासीको निम्ति उपलब्धी बन्नसक्छ, यदि पहाडका सबै राजनैतिक दलहरू र नेताहरू एउटै मञ्चमा आउनसक्छन् भने। किनभने पहाडवासीको अन्तिम लक्ष्य भनेको छुट्टै राज्य नै हो। कालेबुङवासीकै निम्ति पनि अलग जिल्ला अन्तिम लक्ष्य होइन। त्यसैले छुट्टै राज्यको आन्दोलनलाई पहाडमा थप जिल्ला भनेको थप तागत हो। मुख्यमन्त्रीले कालेबुङ जिल्लाको आधिकारिक घोषणा गरेकैमञ्चबाट राज्यका प्रधान सचिव बासुदेव ब्यानर्जीले थप दुईवटा जिल्ला हुनसक्ने बताएका छन्। सम्भवतः सिलगढी र डुवर्सलाई थप दुईवटा जिल्ला बनाउनसक्ने मानिसहरूले अनुमान लगाइरहेका छन्। यदि यसो भइदिए गोर्खाल्याण्डको आवाजलाई प्रभावकारी बनाउने थप बल प्राप्त हुनेछ।-17.2.17

सन्दर्भमा : छुट्टै जिल्ला र राज्य

आगामी 14 फरवरी 2017-को दिन पश्‍चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुङ जिल्लाको घोषणा गर्ने लगभग तय भइसकेको छ। त्यसै दिन यता गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले एउटा गोप्य सभा गर्ने निर्णय लिएको छ। मोर्चाको सभालाई गोप्य यसो र पनि भनिएको छ कि सभामा चर्चा कुन विषयमाथि हुने, त्यो सार्वजनिक गरिएको छैन। 
मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ पहाडमा हुने आगामी नगरपालिका र पञ्चायत चुनाउलाई केन्द्र गरेर नै पहाडमा आफ्नो राजनैतिक गतिविधि तीव्र पारिरहेकी छन्। यसबाहेक पहाडमा विभिन्न जात-जातिको विकास बोर्ड गठन भइरहेको छ। विकास बोर्डले जाति-जातिमा फाटो ल्याइरहेको कुरा पनि चलिरहेकै छ। यसका साथै घरिघरि ममता ब्यानर्जीले दार्जीलिङ भ्रमण गर्नुको मूल उद्देश्य पनि पहाडमा तृणमूल कंग्रेसलाई सक्रिय बनाउनु, जीटीएलाई विफल बनाउनका साथै गोर्खाल्याण्डको मुद्दालाई कमजोर तुल्याउनु हो भन्ने धेरैको आरोप पनि छ। यही दृष्टिले हेरिनु हो भने आगामी 14 फरवरीको दिन कालेबुङ जिल्ला घोषणा गर्नुलाई पनि यसैको उदाहरण रहेको स्वीकार्नुपर्ने हुन्छ। यद्यपि, कालेबुङ जिल्लाको घोषणालाई एउटै दृष्टिले हेर्नु लगत हुनसक्छ, किनभने कालेबुङ जिल्ला हुनु भनेको गोर्खाहरूको अस्तित्व र अस्मितासित सरोकार राख्ने विषय पनि हो। अहिले गोर्खाहरूको अस्तित्व र अस्मिताको सन्दर्भ भनेको छुट्टै राज्य गोर्खाल्याण्ड हो, जसको निम्ति अलग जिल्लाले बल प्राप्त हुनसक्छ।
मुख्यमन्त्री ममता ब्यानर्जीले जुनदिन कालेबुङलाई अलग जिल्ला घोषणा गर्नेभएकी छन्, त्यहीदिन गोजमुमोले गोप्य सभा राख्नुलाई कतै न कतै ममताको योजनालाई दखल दिने पनि हुनसक्छ। यस्तै अनुमान धेरैले लगाइरहेका छन्। यदि यो सत्य हो भने त्यसले कसलाई कति फाइदा पुग्छ? त्यो पनि सोच्नुपर्ने हुन्छ। यदि गोजमुमोको गोप्य सभाले ममताको पहाड भ्रमणसितै अलग जिल्लाको घोषणामा प्रभाव पार्ने हो भने त्यसले गोर्खाल्याण्डको मागको निम्ति कस्तो प्रभाव पार्नसक्ला? किनभने पहाडको लक्ष्य भनेको छुट्टै राज्य नै हो, विकास भनेको आवश्यक्ता मात्रै। फेरि, मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ भ्रमणपछि गोजमुमो अध्यक्ष विमल गुरूङ पनि कालेबुङको भ्रमणमा जाने कुरा अघिबाटै प्रकाशमा आइसकेको छ। यद्यपि, यस विषयको पनि अहिले नै खुलासा हुनसकेको छैन।
14 फरवरीको दिन कालेबुङमा हुने मुख्यमन्त्रीको सभाकै दिन गोजमुमोले कुन उद्देश्यमा गोप्य सभा आयोजन गर्दैछ, त्यो स्पष्ट नभए पनि त्यसपछि हुने विमलको कालेबुङ भ्रमणले भने ठूलो महत्व राख्दछ। गोजमुमोले अघिबाटै ‘जिल्लाको माग हामीले पहिल्यै उठाएका हौं’ भन्ने दावी गर्दै आइरहेकै छ। जन आन्दोलन पार्टी (जाप) प्रमुख डा. हर्कबहादुर क्षेत्री अलग जिल्लाको मुद्दालाई नै मूल मुद्दाको रूपमा समाएर गोमुमोबाट अलग्गिएका हुन्। 14 फरवरीको दिन मुख्यमन्त्रीले अलग जिल्लाको घोषणा गरिसकेपछि निश्‍चित छ, गोजमुमो र जाप दुवैले श्रेय लिन चाहन्छन्। किनभने अघिबाटै जिल्लाको मुद्दा कसले उठाएको भन्ने विषयमा यो देखिसकिएको हो। मुख्यमन्त्रीले 14 फरवरीको दिन कालेबुङमै आएर अलग जिल्लाको घोषणा गर्ने चर्चा शुरू हुनेबित्तिकै फेरि गोजमुमो र जाप दुवैले स्वागत पनि जनाइसकेको छ।
यहाँ, कुनै पनि राजनैतिक पार्टी अर्थात राजनेताहरूले बुझ्नुपर्ने के छ भने श्रेय लिने वा दिनेभन्दा अबको पहल के हुनुपर्ने हो भन्नेतिर ध्यानदिनु आवश्यक हुन्छ। अर्को कुरा कसैको पनि एकलो पहलले कुनै ठूलो सफलता हात लाग्दैन। तर, एकैजनाको पनि स्वार्थले भने हात लागिसकेको सफलता उम्कनसक्छ भन्ने कुरामा सबै स्पष्ट हुन उत्तिकै जरुरी हुन्छ जति एकतामा बल हुन्छ भन्ने सबैले बुझेका छन्। इतिहासले यसको प्रमाण पनि दिइसकेको छ। अँ, यही बुझेका कुरालाई व्यवहारमा उतार्नसक्नु अर्को चुनौतिको विषय हो।
त्यसैले, अर्काको घर भत्काउनेभन्दा एउटै भए पनि आफ्नो घर निर्माणको ईंटा जोड्नेतिरै सबैको बल भए यहाँ अस्तित्व-अस्मितासितै विकास पनि स्वतः भएर जाने हुन्छ। त्यसैले गोर्खाल्याण्डको आवाजको निम्ति पनि कालेबुङलाई अलग जिल्ला बनाइनु सकारात्मक पक्ष नै हुनुपर्ने हो। देशका कतिपय राज्यको तुलनमा भौगोलिक संरचना साथै जनसंख्याकै आधारमा पनि कालेबुङ जिल्ला हुनसक्ने कुरा सबैसामु प्रष्ट छ। यही कुरा अलग राज्यको निम्ति आवश्यक पनि देखिन्छ। किनभने, एउटैमात्र जिल्लाले छुट्टै राज्यको आवाज उठाउँदाभन्दा धेरैवटा जिल्लाले उठाएको आवाज प्रभावकारी बन्नसक्ला। त्यसैले कालेबुङलाई जिल्ला घोषाणा गर्नेकुरालाई जन आन्दोलन पार्टीले अनि मोर्चाले सँगै स्वागत जनाउने कुरा आफैमा सराहनी छ। यद्यपि, कालेबुङ जिल्ला अस्तिवमा आएपछि खुशी प्रकट गर्नु र हर्ष मनाउनुभन्दा यहाँदेखि उताको पहलबारे सामुहिक विचारको निष्कर्ष आउनसके असल होला। यसको निम्ति जिल्लाको श्रेय हत्याउने होडमा लाग्नुभन्दै नयाँ-पुराना जिल्लासितै सबै विकास बोर्डहरूलाई पनि एउटै मञ्चमा उभ्याउनु र सामुहिक आवाज बुलन्द गर्नसके कसो होला? यो काम कोबाट कहिलेदेखि सम्भव हुनसक्ला? यो पनि अझै प्रतीक्षित नै छ।-10.02.2017

राजनीति र युवा

सत्तारुढ एसडीएफ पार्टीले स्थापनाको रजत जयन्तीको तयारीलाई अघि बढाइरहेको छ। एसडीएफ पार्टी स्थापना भएको अर्को वर्ष सिक्किमेली जनताले एसडीएफलाई राज्यको बागडोर सुम्पिएका थिए। अहिले 25 वर्षको सफल यात्रासहित पार्टीले रजत जयन्ती पालन गरिरहेछ। यसबीचमा 2014-मा पनि सानो समूहबीच सत्ता परिवर्तनको हल्ला चर्किएकै हो। अहिले त्यही समूहले त्यही कुरा दोहोर्याउँदैछ। त्यो समूहको इतिवृत्त जनताले बुझिसकेका छन्। त्यो समूहमा रहेकाहरूले कस्तो परिवर्तनको कुरा गरेका हुन् भन्ने कुरा अहिलेसम्म पनि स्पष्ट भइसकेको छैन। सत्तारुढ एसडीएफको भन्दा असल नीति, सिद्धान्त र कार्यक्रमहरू लिएर कुनै राजनैतिक दल आउन नसकेको विषयमा पनि जनता अवगत नै छन्। हामी नीतिको कुरा गरिबस्छौं झुण्ड-झुण्डमा, सिद्धान्तका कुरा गरिरहेका हुन्छौं सभा-भाषणहरूमा। समाजको सेवा गर्ने अनि समाजको विकासमा टेवा पुर्याउने प्रभावकारी र सबैभन्दा सरल माध्यम राजनीतिलाई स्वीकारिएको छ। समाजको सेवा त्यतिबेलामात्र सम्भव बन्नसक्छ, जतिबेला स्वयंलाई पूर्णरूपमा व्यक्तिगत लालच र स्वार्थदेखि माथि उठेर काम गर्नसक्छौं।
सत्तारुढ एसडीएफले जहिलेेदेखि राज्यको बागडोर सम्हाल्दै आइरहेको छ, यस अवधि धेरै नेता र पार्टीहरू नआएका होइनन्। तर एसडीएफ पार्टीको नीति र सिद्धान्तअघि अन्य पार्टी टिक्न सकेनन्। नीति र सिद्धान्तकै विरोधमा नीति र सिद्धान्त नै लिएर जनतामा आएको संखघोष गर्नेहरूले आफैले लिएर आएको नीति र सिद्धान्त कतिसम्म बुझेर आएका हुन्छन् वा आएका थिए? त्यो उनीहरूको अस्थायित्वले पनि प्रष्ट पारिहाल्ने कुरा हो। त्यसैले अहिले जुन हल्ला चलिरहेको छ व्यवस्थाको खोजी र सत्ता परिवर्तनको त्यो पनि संकास्पदनै लाग्छ। किनभने कुनै कुराको विरोध गर्नु मात्रै कुनै पनि पार्टीको उद्देश्य हुनु हुँदैन। विरोध हुनुपर्छ त्यो नीति-सिद्धान्तको जसले समाजलाई नोकसान पुर्याइरहेछ, विरोध हुनुपर्छ त्यो व्यवस्थाको जसले समाजलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ। कुनै पनि कुराको विरोध गर्नुपर्छ तर समाजहीतको पक्षमा। समाज विकासको पक्षमा। त्यसैले मुख्यमन्त्री पवन चामलिङ सधैँ भन्ने गर्छन्- यहाँ परिवर्तन आउनुपर्छ, सकारात्मक परिवर्तन।
वर्तमान सिक्किममा अर्को ठूलो समस्या अघि आइरहेको छ मध्यस्थकर्ताको, जसले समाजको दुईवटा वर्गलाई जोडेर समृद्ध समाज निर्माणमा ठूलो भूमिका निर्वाह गर्न सक्छन्। अहिले तर त्यसको ठीक विपरीत भइरहेको छ। देशको मेरुदण्ड मानिन्छ युवाहरूलाई। देशका कर्णधार हुन् युवा, जसको हातमा देशको भविष्य हुन्छ। तर, युवाहरू दिग्भ्रमित हुनबाट जोगाइनु नेतृत्वकर्ताहरूको जिम्मेवारी हुन्छ। अहिले तर त्यही युवावर्ग कुन बाटो हिँडिरहेछन् र किन? भन्ने बुझ्नुपर्ने अवस्था छ।
अघि भनियो, राजनीति समाजसेवाको सबैभन्दा प्रभावकारी र सरल माध्यम भनेर। यदि राजनीतिलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाइए त्यसले समाजलाई विकास होइन पतनतिर घोक्र्याउने निश्‍चित छ। अर्को कुरा समाजका हरेक कुरालाई राजनैतिक दृष्टिले हेरिनु पनि सधैँ सही ठहर हुँदैन। कुनै पनि पार्टी स्थापनासितै उसको आफ्नै नीति-सिद्धान्त हुन्छ, समाजको पक्षमा। राजनैतिक दृष्टिले समाजलाई यहाँ तीन वर्गमा विभाजित गरिनु हो भने तल्लो (आम जनता तथा युवावर्ग), मध्यस्तकर्ता (जो दुवै वर्गसित सम्पर्कमा छ) अनि माथिल्लो (वरिष्ठ कार्यकर्ता, नेता, विधायक, मन्त्री आदि) पाइन्छ। कुनै पनि पार्टीमा यी तीन वर्गका कार्यकर्ताले पार्टीको नीति-सिद्धान्तसितै आफ्नो जिम्मेवारी के हो भन्ने बुझेर त्यसलाई व्यवहारमा उतार्नसके स्वतः समाजको विकास भएर जान्छ। तर, यही कुरा यहाँ ठूलो समस्या भइरहेको अवस्था छ।
विशेषगरि युवावर्ग तथा आम मानिसहरूले बोलेको कुरा 50 प्रतिशत माथिल्लो तहसम्म पुग्ने गर्छ भने माथिल्लो तहबाट आएको कुरा पनि 50 प्रतिशतमात्रै उनीहरूसम्म आइपुग्छ।  दुवै पक्षको रहल कुराले यहाँ मध्यस्तकर्ताको भकारी भर्ने काम भइरहेको छ। भात पकाउने काम भइरहेको छ। उनीहरूबाट जिम्मेवारी वहन नभएपछि समाज बिथोलिने देखिन्छ। कुनै पनि राजनैतिक दलले समाज वा राज्यको विकास चाहन्छ भने यहाँ तल्लो तह र माथिल्लो तहबीचको संवादलाई भाग लगाउनुबाट जोगाइनुपर्छ। नभए कस्तै नीति-सिद्धान्त भए पनि समाजलाई त्यसले सकारात्मक प्रभाव पार्न नसक्ला। अहिले देखिँदै गरेको ठूलो समस्या भनेको पनि यही हो। यसले समाजलाई सिर्जनात्मकताबाट विमुख पार्ने देखिन्छ भने युवाहरूले यी कुराहरूबाट पार लाग्न सक्नुपर्ने हुन्छ।-03.02.17

Friday, February 3, 2017

नियारा सुब्बा ः चलचित्र जगतमा चम्किलो तारा

कला, गीत-संगीत तथा सिनेजगतमा सिक्किम अहिले निक्कै माथि उक्लिरहेको छ। उसो त सिक्किमलाई अन्य राष्ट्र वा मुम्बई, दिल्लीजस्ता अन्य राज्यहरूसित तुलना गर्न नसकिएला। तर, चाहे नाट्य क्षेत्र होस या चलचित्र या फेरि टीभी सिरियल, सबै क्षेत्रमा सिक्किमले धेरै उन्नति गरिरहेको छ। यसको ऐतिहासिक पृष्ठ कति लामो छ त? यो अध्ययनको विषय हो। तर, गीत-संगीत, खेल-कुद, कला सबै क्षेत्रमा सिक्किमले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरू जन्माइरहेको छ। अघिल्लो समयमा सिक्किमेली प्रतिभाहरू थोरै देखिनु स्वभाविक भएपनि वर्तमानमा युवा समूहले हरेक क्षेत्रमा प्रतिस्पर्द्धात्मक बनेर गीत-संगीत, चलचित्र-नाटक वा सिरियल, अभियन, निर्देश अथवा निर्माता जस्तो गहन जिम्मेवारी मै पनि अघि बढिरहेको पाउन सकिन्छ। हरेक क्षेत्रमा सिक्किमेली युवाहरू अहिले खुबै सक्रिय पाउन सकिन्छ।
नियारा सुब्बा एउटा त्यस्तै सिक्किमेली युवा प्रतिभाको नाम हो, जसले कला र कलाकारिताप्रति स्वयंलाई समर्पित गर्दै अघि बढिरहेकी छन्। नाटक, चलचित्र अथवा टीभी सिरियलहरूमा अभिनयसितै निर्देशनमा सक्रिय बनिरहेकी उनी स्क्रिप्ट राइटर पनि हुन्। लेखन, निर्देशन र अभिनय तीनैविधामा सफलताको निक्कै सिँडी उक्लिरहेकी छन् नियारा। हालमा सपरिवार विकासक्षेत्र, गान्तोक बसोबासो गर्दै आएकी नियायाको जन्म पश्‍चिम सिक्किमको थिङ्लिङ-2, खेचिपेरी निवासी माता श्रीमती शान्ति राई र पिता श्री सुकवीर सुब्बाको कोखबाट माइली सुपुत्रीको रूपमा भएको हो। उनले ‘पब्लिक एड्मिनिस्ट्रेशन’-मा स्नातकोत्तर गरेकी हुन्। यसअघि पश्‍चिम सिक्किमको पेलिङ स्कूलबाट उनले 2009-मा उच्चमाध्यमिक उतीर्ण गरेपछि तादोङ सरकारी महाविद्यालयबाट 2012-मा स्नातक गरेकी हुन्। त्यसपछि मेघालयको महात्मा गान्धी युनिभर्सिटीबाट स्नातकोत्तर पूरा गरेकी हुन्।
नियारालाई अभिनय जगतमा सानैदेखिको रूची थियो। त्यसैले उनी भन्छिन्- “म सानै हुँदादेखि नै घर-परिवार कला-अभिनयसित संलग्न रहन्थे। घरमा माहोल त्यस्तै थियो। पापाको पनि खुब रूची थियो कला क्षेत्रमा। पापाले नै नेपालबाट शुटिङको निम्ति आउने कलाकारहरूलाई घरैमा लिएर आउनुहुन्थ्यो। त्यसबेला मौसम इमबुङ् (वर्तमानमा हङ्कङ निवासी, सापोहाङ भनेर परिचित) सँग भेट भएको थियो पछिबाट पश्‍चिम सिक्किम निवासी विनय मुरिङ्लासँग पनि भेट भयो। त्यही समयदेखि नै सुटिङहरू हेर्न पाइन्थ्यो। त्यहीँबाट नै म धेरै प्रेरित थिएँ।’’ तर नियारालाई लाग्थ्यो “चलचित्र, शुटिङ, अभिनय सबै अर्कै दुनियाँ हो।’’ त्यसैले उनी भन्छिन्- “त्यो बेला यस क्षेत्रमा प्रवेश गर्छु भन्ने सोचाइ नै थिएन। यो दुनियाँ नै अर्कै हो जस्तो लाग्थ्यो, पुग्नै सकिन्न जस्तो लाग्थ्यो।’’ यद्यपि, उनले नवौं श्रोणीमा अध्ययनरत हुँदा जुनियर आर्टिस्टको रूपमा प्रवेश गरिन् यस क्षेत्रमा। पहिलोपल्ट ‘सुयाश प्रोडटक्शन’-को ब्यानरमा उनले ‘साइड डान्सर’-को रूपमा काम गर्ने अवसर पाएकी थिइन्। नेपाली चलचित्र जगतका सुप्रसिद्ध नायक भुवन केसीले एकपल्ट एउटा अन्तर्वार्तामा भनेका थिए- “शुरूमा ठूलाठूला क्यामरा देख्दा क्यामराको अघि आउन डर लाग्थ्यो...।’’ ठीक त्यस्तै नियारा भन्छिन्- “पर्दाअघि आउन एकप्रकारको डर लाग्थ्यो।’’ उनी भन्छिन्- “यस्तो पनि होइन कि इच्छा नै नहोस्। इच्छा त हुन्थ्यो।’’ तर अहिले उनी पर्दापछि अनि धेरैवटा नाटक, धारावाहिक र चलचित्रकै माध्यमद्वारा दर्शकहरूसामु अथवा पर्दाअघि पनि देखापरिसकेकी छन्।
राष्ट्रिय टेलिभिजन दूरदर्शनद्वारा निर्मित धारावाहिक ‘यात्रा उज्यालोको’-मा उनले 13 एपिशोड अन्य धारावाहिकमा पनि अभिनय गरिसकेकी छन्। यसमा उनले एसिस्टेण्ड डाइरेक्टरको कार्यभार पनि सम्हालेकी छन्। यसरी नै दार्जीलिङबाट ‘रेड टोमेटो प्रोडक्शन’-द्वारा निर्मित ‘फ्रेण्डस्’ फिचरफिल्ममा पनि अभिनयसितै एसिस्टेण्ट डाइरेक्टरको काम गरिसकेकी छन् भने सिक्किमबाट धेरैवटा प्राइवेट तथा सरकारी विज्ञापनहरूमा पनि सहायक निर्देशकको काम गरिसकेकी छन् उनी। यसबाहेक ‘फायर ब्रिगेट’-को एक्टमा अघिबाटै काम गरिसकेकी नियाराले एउटा बेङ्गाली फिल्मको पनि प्रोडक्शन डिपार्टमा रहेर काम गरिसकेकी छन्। नियारीले हेमन्त गिरीद्वारा लिखित-निर्देशित नाटक ‘काश’ र ‘परित्याग’-मा पनि सहायक निर्देशको रूपमा काम गरिसकेकी छन् भने ‘अरुण प्रभात’ च्यानलको निम्ति पनि काम गरिसकेकी छन्।  नियारा भन्छिन्, “आमा पनि नृत्य र गायन दुवैमा चासो राख्नुहुन्छ। त्यसैले उहाँको इच्छा चाहना जे भने पनि छोरीहरूले पनि कलाको क्षेत्रमा अघि बढुन् र सफल रहुन् भन्ने चाहनुहुन्थ्यो पहिल्यैदेखि। भन्नु नै हो भने हाम्रो प्रेरणाको स्रोत नै आमा हुनुहुन्छ। आमाबाटै प्रेरित भएर नाना पनि संगीत क्षेत्रमा लागि परिरहनुभएको छ, संगीत विषय नै अध्ययन गरिरहनु भएको छ।’’ नियारा अझ भन्छिन्- “पापा कलालाई माया गर्नुहुने मान्छे। उहाँले आफ्नो संस्कार-संस्कृतिबारे धेरैवटा पुस्तकहरू पनि लेख्नु भएको छ।’’ आफ्नी आमाबाट धेरै प्रेरित नियारा लेखनकार्यसितै चलचित्रहरूसित पनि संलग्न रहेका पिताबाट पनि प्रेरित देखिन्छ। त्यही समयदेखि उनले फिल्महरूको शुटिङहरू हेर्ने अवसर पाएकी थिइन्। शुटिङको सन्दर्भमा विशेष ‘बसन्त ऋतु’ र ‘मासिनी’-ले धेरै प्रभावित बनेकी थिइन् उनी। विद्यार्थी जीवन मै धेरैवटा नाटकहरूबाट अभिनय शुरू गरेकी उनले पछि आएर यी सबै कुरालाई बिर्सिदिइन् अनि आफ्नो पढाईप्रति ध्यान दिइन्। कलेजसम्मको अध्ययनपछि फेरि त्यही बिर्सिसकेको क्षेत्रमा प्रवेश गरिन् नियाराले।
मेघालय गएर ‘पब्लिक एड्मिनिस्ट्रेशन’ विषयमा स्नातकोत्तर गरेकी उनलाई ‘आफ्नो शिक्षा र व्यवसायमा कतै तालमेल नमिलेको हो कि जस्तो लाग्छ नि...!’ भन्ने जिज्ञासा राख्दा उनी भन्छिन्- “म अभिनयसितै सहायक निर्देशको रूपमा पनि काम गरिरहेकी छु, सिखिरहेकी छु। यो क्षेत्रमा विभिन्न परिवार, विभिन्न प्रकारका आर्टिस्टहरू हुन्छन्। विशेष गरी शुटिङ कुनै पनि समयमा हुनसक्छ। स्टोरीअनुसार कहिले एकाबिहानै, कहिले दिउँसो, कहिले बेलुकी त कहिले रातको दृष्य चाहिएको हुन्छ। त्यसैले शुटिङको समयमा आर्टिस्टहरूलाई सम्हाल्नु, उनीहरूको सुरक्षा गर्नु, उनीहरूको स्वास्थ्य, खानपान, खुशी, रुची सबै कुराको ध्यान राख्नुपर्ने हुन्छ। यसका साथै स्क्रिप्टमा पनि ध्यान दिनुपर्ने हुन्छ। त्यसैले पनि मेरो पढाई अहिले आएर काम लागेको छजस्तो लाग्छ।’’ व्यवसाय र शिक्षासम्बन्धि उनी अझ भन्छिन्- “मेरो शिक्षा पब्लिक एड्मिनिस्ट्रेशन अर्थात जनप्रशासन अनि व्यवसाय चाहिँ कलासित सम्बन्धित्। निश्‍चय मेल नखाएको हुनसक्छ। तर व्यवसायिक शिक्षा व्यवहारिकरूपमा लिइरहेकी छु। मैले जे-जति जानेकी छु अर्थात सिकिरहेकी छु त्यो कुनै शितल छतमुनि बसेर सिकिरहेकी छुइन, घाम-पानी केही नभनी सिकिरहेकी छु।’’
नियाराले अहिलेसम्म सरकारी नोकरीको निम्ति कहिल्यै कुनै इण्टरभ्यूसम्म दिइनन्। दिनु चाहिनन्। उनको विचार नै छ छुट्टै किसिमको। असाधारण भन्न नसकिएका, तर साधारण नारी, साधारण युवाहरूको भन्दा भिन्दै। उनी भन्छिन्- “सानैदेखि केही नयाँ गरौं भन्ने सोच थियो। केटीहरूले घरदेखि बाहिर केही गर्नै सक्दैन भन्ने समाजको धारणा छ। घरबाहिर केटीहरू ‘शेफ’ छैनन् भन्ने एउटा गलत सोच, धारण अझै पनि पाइन्छ।’’ अनि फेरि मतिर हेर्दै प्रश्‍न गर्छिन्- “तपाईं पनि विचार गर्नुहोस त! घरभित्र चाहिँ सुरक्षित छन् त? बाउ, काका, मामा आदिबाट नारीहरू पीडित बनिरहेका घटनाहरू किन प्रकाशमा आइरहन्छ त घरिघरि?’’ नियाराको विश्‍वास छ समाजमा राम्रो-नराम्रो भन्ने कुरा व्यक्तिविशेषमाथि भर पर्ने कुरा हो अनि सबैभन्दा पहिला आफूमा भर पर्ने कुरा हो। उनी भन्छिन्- “यहाँ सबै राम्रै-राम्रो छ भन्ने होइन अनि सबै नराम्रो छ भन्ने पनि छैन। तर, आफूले आफैलाई कसरी प्रस्तुत गरिन्छ, कसरी प्रेजेण्ट गरिन्छ? त्यसमा पनि डिपेण्ड गर्छ। राम्रो र नराम्रो दुवै हरेक क्षेत्रमा हुन्छ।’’
कुराकानीको शिलशिलामा उनले धेरैलाई तीतो लागेको हुनसक्ने सत्यबारे बताउँछिन्- “अझै चलचित्र उद्योगमा त सफलता प्राप्त गर्नेहरूले धेरै आलोचनाहरूको पनि सामना गर्नुपर्ने हुन्छ। विशेषगरि नारीमाथि धेरै आरोपहरू लाग्नेगर्छन्। नराम्रा कुराहरूले ग्रसित विचार भएकाहरूको कमी छैन समाजमा। तर एकजना कोही पनि कलाकारले कति संघर्ष गरेको हुन्छ, त्यो देख्दैन उसले। छोरालाई परदेश पठाउँदा सम्मानसाथ पठाइने गरिन्छ, तर त्यही समाजमा छोरीलाई संघार काट्दा हजार प्रश्‍न आउनसक्छन्। छोराले परदेशबाट रुपियाँ ल्याउँदा खुशी र छोरीले ल्याउँदा प्रश्‍न हुनसक्छ।’’ शिक्षार्जनले मात्र समाजमा परिवर्तन आउँदैन। नियारा भन्छिन्- “छोरा र छोरीबीच अझै पनि भिन्नता छ, चाहे त्यो परिवार जति नै शिक्षित किन नहोस्। त्यसैले अब एउटा यस्तो समाज तयार गर्नुछ कि छोरी जन्मिँदा कसैले अनुहार नखुम्चाओस्। यो काम छोरीहरूबाटै हुनुपर्छ, छोरी भएरै गर्नुपर्छ।’’

“अभिनय र निर्देशनको कार्यभार लिएर अग्रसर हुनुहुन्छ। कठिनाईहरू अथवा भनौ चुनौतिहरू के-कस्तो सामना गर्नुपरिरहेको छ? केही अनुभव राखिदिनुहुन्छ?’’ भन्ने मेरो प्रश्‍नको जवाब उनी भन्छिन्- “भनिन्छ ‘हेल्थ इज वेल्थ’, तर शुटिङमा कोहीबेला के हुन्छ भने कहिले रातको शीन चाहिन्छ, कहिले दिनको। कोहीबेला दिनमा अथवा 24 घण्टामा एकघण्टामात्रै सुतेर पनि काम गर्नुपर्ने हुन्छ। खानु, बस्नु, सुत्नु केहीको समय मिल्दैन। यस्तो स्थितिमा सबै आर्टिस्ट एकै हुँदैनन्। आर्टिस्टलाई फकाउनुपर्ने हुन्छ। म प्रायः पर्दापछि बसेरै काम गर्छु। पर्दापछि बसेर काम गर्नु पनि सजिलो नहुँदोरहेछ।’’ यतिबेला नियारा होइन नियाराको आफ्नो अनुभव बोलीरहेकी छ, जो उनले देखेकी हुन्, झेलेकी हुन् र अनुभव गरेकी हुन्। उनी भन्दैहुन्छे- “समस्या त धेरैप्रकारका हुन्छन्। हामी फिल्मलाई एउटा पूजा सम्झेर काम गर्छौं। ‘फिल्म सेट’ हाम्रो निम्ति मन्दिर हो।’’ उनका कुराहरू म ध्यानपूर्वक सुन्दै लेख्ने प्रयासमा छु। उनी अझै भनिरहेकी छे- “तर अर्को पक्षमा हाम्रो परिवार हुन्छ। कतिपय स्थितिमा कलाकारलाई तयार गर्दा, सेट तयार गर्दा हामी भावुक हुन्छौं, त्यहाँ हाम्रो सेक्रिफाइज हुन्छ। दशैं, तिहार, बिहा-बटुलजस्तो महत्वपूर्ण र अनमोल क्षणहरूमा परिवारलाई दिने समय यता दिइरहेका हुन्छौं। परिवारलाई समय दिन सकिरहेका हुँदैनौं। फिल्म बनिसकेपछि राम्रो, सजिलो कामजस्तो देखिन्छ। फिल्म हेरेर हामी रमाउँछौं। तर पर्दापछि रहेर फिल्मसित संलग्न सबैले कति कठिनाई, चुनौतिहरू, समस्याहरूको सामना गर्नुपरेको हुन्छ, त्यो कसैले कल्पनासम्म गरेका हुँदैनन्। आफू कुन स्थितिबाट पार गरिरहेका हुन्छौं भन्नेकुरा आफैलाई मात्र थाहा हुन्छ।’’ सायद कुनै चलचित्र वा कुनै धारावाहिक या फेरि कुनै नाटकको कथासित यथार्थ जीवनकथालाई तुलना गरिरहेकी छन् यतिबेला उनी। त्यसैले त कुराकानीको क्रममा उनी कहिले उत्साहित त कहिले उदास, भावुक देखिन्छिन्। म नियाराका कुराहरू सक्दो कुनै पनि नछोडिउन् भनेर सबै टिप्ने धेयमा छु। त्यसैले उनको मुहारमा देखिने भावभन्दा आवाजमा धेरै केन्द्रित छु। ‘हामी सँगै बसेर कुरा गरिरहेका छौं भन्ने नियारालाई लाग्नुपर्छ’ भन्ने मैले बिर्सिएको छुइन, त्यसैले घरिघरिमात्रै भए पनि उनलाई हेरिरहेको हुन्छु। उनी भन्दैहुन्छे- “समुद्र हेर्दा शान्त देखिन्छ। त्यहाँको हलचल माछालाई थाहा हुन्छ, बाहिरबाट थाहा हुन्न।’’ यतिबेला लाग्छ मलाई कि उमेरलेभन्दा नियारालाई अनुभवले निक्कै निखारेको हुनुपर्छ।
म जान्न जाहन्छु नियाराबाट “समस्या, कठिनाई, चुनौतिहरूको कुरा गर्‍यौं हामीले, सुखका या खुशीका पक्षहरू पनि त होलान् नि..!’’ यतिबेला उनी अघिको सामुद्रिक गहिराईबाट फुत्त बाहिरिएर झट्ट भन्छिन्- “मनबाट चाहेको कुरा गर्न पाइरहेकी छु। त्योभन्दा सुखको, त्योभन्दा खुशीको कुरा अरु के हुनसक्ला र! आफ्नो प्रोफेशनसित म सेटिस्फाइड छु।’’ उनी थप बताउँछिन्- “अर्को कुरा, एउटै पनि ‘शट’ चाहेको जस्तो भइदियो भने यत्ति खुशी लाग्छ कि त्यसलाई कुनै कुरासित तुलना गर्नै मिल्दैन, सकिन्न।’’

नारीले संसारमा गर्ननसक्ने केही छैन भन्नेकुरामा नियारालाई पूर्ण विश्‍वास छ। त्यसको निम्ति नारी स्वयं उठ्न जरुरी हुन्छ भन्नेकुरामा विश्‍वास राख्छिन् उनी। त्यसैले भन्छिन्- “नारीहरूले पढे-लेखेको छु भनेर घरको काम गर्नुहुन्न भन्ने होइन। हामी नारीले एकै समयमा घरको चुल्हा-चौकादेखि घरबाहिर देश वा संसार पनि टलाउन सक्छौं। तर, हामीलाई अवसर हुँदैन। समाजको डरले बाँधेर राखेको छ। भारले थिचिरहेको छ। कर्तव्यहरूले बाँधिरहेको हुन्छ। यी सबै कुराहरूलाई नारी र पुरुष दुवैले किन बराबरी वहन गर्दैनन्?’’ उनी उल्टै प्रश्‍न गर्छिन् मलाई। सायद समाजलाई। सायद परम्परा/संस्कारलाई। उनी नारीले स्वयंलाई सम्हालेर राख्नु अझै पनि कठिन रहेको बताउँछिन्। अझै पनि नारीहरू नराम्रो सोच र अन्यायको शिकार बन्नुपर्ने अवस्था रहेको उनको भनाइबाट बुझिन्छ। उनी भन्छिन्- “अहिले पनि पढे-लेखेकै भएर पनि अन्याय सहनुपर्ने बाध्यता छ कतिपय नारीहरूसित। नारी-पुरुषमाझ समानता आइसकेको कुरा गर्छौं हामी, तर व्यवहारिकरूपमा पूर्णरूपमा समानता आएको छैन।’’ आप्नो हक, आफ्नो अधिकारको निम्ति नारीहरू आफै पनि उठ्नुपर्ने नियाराको विचार यस्तो छ- “वर्तमानमा पनि नारीहरू बलात्कृत छन्, कुटपिट भइरहेकै छ, अन्याय-अच्याचार भइरहेकै छ। शिक्षित छन्, तर नारीहरू अझै पनि सबै जागरुक छैनन्। उठ्नुपर्छ। आँट आफै गर्नुपर्छ। आँट भन्नेकुरा अरुले दिएर हुँदैन।’’
नियारा भन्छिन्- “स्वयं नारी भएकोले म पनि पहिले-पहिले केही गर्न सक्दिनजस्तो लाग्थ्यो। त्यसैले उठ्न धेरै लाग्यो। बाहिर निस्कनुपर्दोरहेछ। मलाई पनि बाहिर निस्केपछि धेरैकुराको अनुभव भइरहेछ। समाज आफूले सोचेजस्तो नहुँदोरहेछ।’’ उनी अझ भन्छिन्- “बीचमा पढाई पनि छोडेको थिएँ। अब केही गर्न नसक्नेरहेछुजस्तो लाग्थ्यो। अघि प्रेरणाको स्रोतको कुरामा उमैले आमाको कुर गरेकी थिएँ। मैले स्कूल ठोडेकी समय आमाले नै फेरि स्कूल पढ्न धेरै प्ररेत गर्नुभएको थियो। अहिले आफ्नो जिन्दगीलाई राम्ररी अघि बढाउनसक्छु भन्ने विश्‍वास छ। त्योबेला फेरि स्कूल नपढेकी भए आज म जो छु त्यो हुनेथिइन। त्यसैले मेरो प्रेरणाको मूल स्रोत म आमालाई मान्दछु।’’ नारीशक्तिको एउटा राम्रो उदाहरण दिँदै नियारा भन्छिन्- “कस्तुरीले आफैमा भएको विन्दाको सुगन्ध आफै खोज्दै हिँड्छ। नारी पनि त्यस्तै हो।’’ आफ्नो आत्मविश्‍वासप्रति उनी आफै भन्छिन्- “सानैहुँदादेखि सबैले भन्नेगर्थे- ‘यू आर डिफरेन्ट, ठूलो भएर केही गर्छौं।’ त्यसको शुरूआत चाहिँ भयोजस्तो लाग्छ।’’
सिक्किमबाट पनि राम्रो चलचित्रहरू बन्न थालिसकेको कुरालाई स्वीकार गर्दै उनी भन्छिन्- “सिक्किममा पनि फिल्म इण्डस्ट्री ल्याउन सकिए राम्रो। यहाँबाट पनि राम्रा फिल्महरू बनिरहेका छन्। समाजमा भएका कुराहरूलाई फिल्मको माध्यमबाट देखाउन सकिन्छ। कति लुकेर बसेका कलाकारहरूलाई पनि बाहिर ल्याउन सकिन्छ। कलाप्रदर्शनको अवसर हुनेछ। पुराना कुराहरू, पुराना घटनाहरूलाई देखाउन सकिन्छ। धेरैको निम्ति प्रेरणाको स्रोत बन्नसक्छ।’’ 
नियाराले यसबाहेक पनि रेडियोमार्फत लिम्बू भाषामा गीतहरू गाएकी छन्, सांस्कृतिक कार्यक्रमहरू गरेकी छन्। गायन, लेखन, अभिनयसितै निर्देशनको क्षेत्रमा एक उदाउँदो प्रतिभा नियारा सुब्बा अहिले आफ्नो एउटा ‘शर्ट फिल्म’-मा व्यस्त छिन्। कोलकाता प्रोडक्शनद्वारा निर्माण भइरहेको यस फिल्ममा उनी लाइन प्रोड्युसरका साथै कलाकारको रूपमा पनि काम गरिरहेकी छन्। यसका साथै भर्खरैमात्र नियाराले सिक्किमको लागि एउटा ऐतिहासिक मान्नसकिने काम गरेकी छन्। उनी आफ्नो व्यवसायप्रति जति लगनशील छिन् उत्तिनै आफ्नो भाषा-संस्कृति संरक्षणप्रति पनि सचेत देखिन्छिन्। उनी भन्छिन्- “हाम्रो पहिचान हाम्रा भाषा, हाम्रो संस्कार-संस्कृति र हाम्रो परम्पराहरूसितै बाँचेको हुन्छ। त्यसैले यी कुराहरूको संरक्षण-संवर्द्धनमा हामी नै लाग्नुपर्छ। आफ्नो कुरालाई आज आफैले जोगाएनौं भने भोलि के हुन्छ? त्यो हामी शिक्षित युवाहरूले आजै सोच्न सक्नुपर्छ।’’ उनले यसैको उदाहरण प्रस्तुत गर्दै ‘चासोक तोङ्नाम’ पर्व सफलतापूर्वक आयोजन गरेकी थिइन्। लिम्बू जातिको संस्कृतिको जगेर्नाको निम्ति ऐतिहासिक मान्न सकिने यो पर्व वा ‘इभेण्ट’ गत 16 देखि 18 दिसम्बर 2016 सम्म आयोजन गरिएको थियो। इभेण्ट अर्गनाइजर नियारा सुब्बाद्वारा पूर्व सिक्किमको रानीपुलनजिक सरमसा खेतमा आयोजित यस पर्वमा सिक्किमलगायत दार्जीलिङ, कालेबुङसाथै नेपालबाट पनि चलचित्र जगतका कलाकार-निर्देशकहरू अनि आम मानिसहरूको उपस्थिति रहेको थियो।
आफ्नो व्यवसायबाहेक उनको रुचीको विषय हो समाजसेवा। स्वयंलाई समाजसेविकाको रूपमा चिनाउन उनी धेरै रुचाउँछिन्। चलचित्र उद्योगमा प्रवेशगर्नअघि उनी महाविद्यालयतहको अध्ययन पूरा गर्नेबित्तिकै रानीपुल नजिकस्थित ईश्‍वरम्बा वृद्ध आश्रममा कार्यालय प्रभारीको प्रवेश गर्दै काम गरेकी थिइन्। यद्यपि, कतिपय कारणवश उनले त्यो आश्रम छोड्नुपरे पनि अहिलेसम्म राम्रो सम्बन्ध रहेको उनी बताउँछिन्। “भविश्यमा आफ्नै एउटा राम्रो वृद्धाश्रम खोल्ने सपना छ’’ भन्ने नियारा समाज, राज्य र राष्ट्रको निम्ति गौरव बनुन्। अशेष शुभकामा।
(समय दैनि, शनिबार, 4 फरवरी, 2017)

संगीत नै मेरो संसार हो ः गायक गणेष राणा

भारतीय नेपाली गीत-संगीतको जब पनि सन्दर्भ उठ्छ तब पश्‍चिम बंगालको दार्जीलिङको नाम लिइएन भने अधुरो-अपुरो रहनसक्छ। नेपाली गीत-संगीतलाई दार्जीलिङ पहाडले धेरै योगदान पुर्‍याएको छ। जसरी भारतीय नेपाली साहित्यमा दार्जीलिङको योगदान छ, संगीत जगतमा पनि उस्तै योगदान पाउन सकिन्छ। गायिका एवं संगीतकारहरू शान्ति ठटाल, अम्बर गुरुङ, सुरेश कुमार,अजनीश राई, उदय सोताङ, गायिका मनिला सोताङ, गायिका कुन्ति मोक्तान, संगीतकार शिलाबहादुर मोक्तान, गीतकार जश योञ्जन प्यासी, लोकगायिका हिरादेवी वाइबा, गीतकार कालुसिंह रनपहेंली जस्ता लब्धप्रतिष्ठित नामहरू धेरै छन्। वर्तमानमा जार्दीलिङ जिल्लाअन्तर्गत मिरिक सौरेनीबाट गीत-संगीतमा डुब्न चाहँदै मौलाउँदै गरेको यस्तै एउटा नाम हो गणेश राणा। मिरिक सौरेनीमा पिता रंगलाल राणा अनि माता नर्माया राणाको कोखमा जन्म लिएका हुन् गणेश राणाले। दुई दाजु र 6 जना दिदीहरूपछि कान्छो गणेश राणाका दुई दिदीहरू भने बितिसकेका छन्। गायक राणा हाल देशको राजधानी नयाँ दिल्लीमा रक्षा मन्त्रालयमा कार्यरत छन्।
गणेश राणासित मेरो धेरैअघि फेसबुकमार्फत भेट भएको थियो। म साहित्यमा रुची राख्ने, उनी गीत-संगीतमा गुनगुनाइरहने। साहित्य र संगीत दुई भिन्नाभिन्नै विषय-क्षेत्र भए पनि कहिँ-कतै अन्तरसम्बन्ध हुनुपर्छ। त्यसैले त उहाँको फ्रेन रिक्वेस्टलाई मैले स्वीकार गरेपछि उनले मलाई भनेका थिए, ‘तपाईं साहित्यमा रुची राक्नुहुँदो रहेछ, म संगीतमा। कतै न कतै हाम्रो विचार मिल्नसक्छ भन्ने सम्झेर रिक्वेस्ट पठाएको थिएँ। एक्सेप करिदिनुभयो, धन्यवाद। हामी उमेरले साना-ठूला हौंला, तर तपाईंलाई ‘साथी’ सम्बोधन नै गर्छु म।’ त्यसपछिदेखि हामीमाझ सधैँ हामीले बुझेको, हामीले जानेको साहित्य र संगीत कै कुराहरू हुने गरेको छ। कहिले उनी आफ्नै शब्दमा संगीत भरेर गुनगुनाएर सुनाउँछन्, कहिले मलाई गीत लेख्ने प्रेरणा दिन्छन् अनि त्यसलाई संगीतवद्ध गरेर सुनाउठन्। फेरि ‘कस्तो भयो?’ भनेर सुझाउ माग्छन्। 
मानिसहरू अल्सी लागेको समय, काम नभएको समयमा कतै घुमेर, साथीहरूसँग रमाइलो गर्नेगर्छन्। तर उनी एकलै कोठामा गिटारका स्ट्रिङहरूसितै मस्त बन्न रुचाउँछन्। भन्नेगर्छन्, ‘साथी, मलाई घुम्नु, मुभी हेर्नुभन्दा गीतहरू गुनगुनाउनु मै रमाइलो लाग्छ। मेरो निम्ति संगीत नै मेरो संसार हो।’
सौरेनी मेची प्राइमेरी स्कूलबाट आफ्नो शैक्षिक यात्रा शुरू गर्ने उनले विद्यार्थी कालमै 1980-81 तिर संगीत जगतमा प्रवेश गरेका हुन्। ‘तपाईंलाई सुरेशकुमारबाट धेरै प्रभावित लाग्छ, गीत-संगीतमा प्रेरणा को-कोबाट पाउनुभएको हो?’ भन्ने प्रश्‍नमा उनी भन्छन्, ‘तपाईंले राम्रो अनुमान लगाउनु भयो। नेपाली संगीत जगतका चर्चित गायत सुरेशकुमार मेरा गुरुवर हुनुहुन्छ। मैले उहाँबाट नै प्रेरणा पाएको हुँ। उहाँका गीतहरूबाट धेरै प्रभावित छु। म उहाँलाई गुरुवर भनेर नै सम्बोधन गर्नेगर्छु।’
उनको पुर्ख्यौली थलो मिरिक, दार्जीलिङ। व्यवसायिकरूपले दिल्लीमा रहेका उनलाई ‘दिल्ली कसरी पुग्नुभयो?’ भन्ने मेरो प्रश्‍नमा भन्छन्, ‘म दिल्ली कसरी आएँ, यो एउटा पीडादायक कहानी छ। 1986-मा पहाडमा गोर्खाल्याण्ड डरलाग्दो आन्दोलन चल्दैथियो। त्यसबेला मेरी आमा खुब डराउनु भएको थियो। किनभने त्यो समय सीआरपीको धेरै अत्यचार थियो गाउँमा। त्यसैले आमाले मलाई दिल्लीमा माइला दाजुकोमा पठाउनु भएको थियो। त्यसपछि दिल्लीमै डिफेन्स मिनिस्ट्री (रक्षा मन्त्रालय)-मा प्रवेश गरे। झण्डै 22 वर्षदेखि अहिलेसम्म यसैमा कार्यरत छु।’
नोकरीबाट निकालेको फुर्सदको क्षणलाई गायकीमा खर्चिने उनले विद्यार्थीकालदेखि नै संगीतमा लागि परेका भए पनि गीत रेकर्ड गराउन भने निक्कै लामो समय लगाएको पाइन्छ। कुनै एल्बम निकाल्नुभन्दा धेरै स्टेज प्रोग्रामहरूमै आफूलाई व्यस्त राखे उनले। लोकप्रिय गायक एवं उनको श्रद्धा, गुरुवर सुरेशकुमारको शब्द-संगीतमा पहिलो गीत रेकर्ड गराएका थिए, जसको म्युजिक एरेञ्जर हुन् विनय सेवा। ‘गीति एल्बम निकाल्नुभएको छैन। सोच्दै नसोच्नु भएको कि अरु नै केही?’ भन्ने मेरो जिज्ञासा उनी यसो भन्छन्, ‘एल्बम निकालेको छुइन, कारण म बेसीजस्तो स्टेज प्रोग्रामहरूमै ब्यस्त रहन्छु। भनौं नै भने एल्बम निकाल्न मोटै रकम लाग्नेहुन्छ। त्यही भएर पनि अहिलेसम्म निकालिएन। त्यसैले पनि स्टेज कार्यक्रमहरूमै सीमित बनियो। अहिले जमर्को गरिरहेको छु।’
कुराकानीको क्रममा ‘मलाई स्टेज कार्यक्रमहरू गर्नु धेरै मनपर्छ’ उनी भन्छन्, ‘कारण म स्टेजमा दर्शकहरूलाई मनोरञ्जन गराउने मनोसायले नै आफ्नो गीतको चयन गर्नेगर्छु।’ स्टेज पर्फमेन्सको कुरा गर्दा उनलाई प्रफुल्लित पाउन सकिन्छ भन्ने उनको कुराले पनि बुझाउँछ। उनी भन्छन्, ‘स्टेज प्रोग्राम गर्दा मलाई भित्रैबाट आनन्द आउँँछ।’ स्टेज प्रोग्रामहरूको सम्झना गर्दा उनी 1987 सम्म पुग्छन् र भन्छन्, ‘1987-मा आसाममा कार्यक्रम गरेका थियौं। त्यो कार्यक्रम आसामका बाड् पीडितहरूका निम्ति आसामकै कलाकारहरूसित मिलेर कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रममा आफ्ना गीतहरू प्रस्तुत गर्ने अवसर प्राप्त भएको थियो। त्यो कार्यक्रम मेरो निम्ति सँधै स्मरणीय छ, किनभने त्यहाँ मैले गजल सम्राट गुलाम अलीले गाउनुभएको ‘गाजलु ती ठूला ठूला आँखा, तीर बनी बसे यो दिलैमा...’ प्रस्तुत गरेको थिएँ।’
यसरी नै उनी गएको वर्ष मात्रै दिल्लीमा सम्पन्न कार्यक्रमलाई पनि सम्झना गर्छन्। उनी भन्छन्, ‘दिल्लीमा सम्पन्न सो कार्यक्रम योग गुरु रामदेवजीले आयोजन गर्नुभएको थियो। सिक्किमका दुई गायिका रेमन्ती राई र निकिता सिञ्चुरीसँगै सांगीतिक प्रस्तुति दिएको सो कार्यक्रम मेरो निम्ति यादगार बनेको छ’ उनी भन्छन्, ‘मैले नाम बिर्सिएँ तर कार्यक्रममा सिक्किमका मुख्यमन्त्री पवन चामलिङका छोरा मुख्य अतिथि हुनुहुन्थ्यो।’
गीत-संगीतमा रहेको उनको रुचीलाई उनलाई पारिवारिक पक्षबाट भने विशेष उनकी काइली दिदीले धेरै सहयोग गरेकी उनी बताउँछन्। ‘एल्बमको जमर्कोको कुरा गर्नुहुँदैथियो, संगीत क्षेत्रमा आगामी योजना के छ त?’ भन्ने मेरो प्रश्‍नको जवाबमा उनी भन्छन्, ‘अहिले एउटा भिडियो एल्बमको तयारीमा छु। मेरा श्रोता तथा दर्शकहरूले चाँडै नै ‘निर्मोही’ भिडियो एल्बम पाउनुहुनेछ। आगामी योजना भने पनि जो भने पनि अहिले त्यसैको तयारीमा छु। आगामी योजनाभन्दा पनि अहिले यही काममा लागिपरेको छु।’
आफ्नो सिर्जना, आफ्नो रचना सबैलाई उत्तिकै प्यारो लाग्नेहुन्छ। तरैपनि कुनै एउटालाई सम्झनुपरे उनी भन्छन्, ‘मलाई मन पर्ने गीतहरूमध्ये एउटा हो गएको वर्ष मात्रै रेकर्डिङ भएको तिम्रो माया नपाउने ठाउँमा म अब बस्दिन, जान्छु कतै अन्तैतिर यो गाउँमा म अब बस्दिन...। उनको मनको तहबाटै छुने यो गीतका शब्दकार हुन उनकै आदरणीय गुरुवर सुरेशकुमार। गायक सुरेशकुमारबाहेक थुप्देन भोटिया, महेश सेवा, सोनु राई, डोमा शेर्पा, कर्ण दास उनका मनपर्दा गायकहरू हुन्। यद्यपि, ‘अहिलेका गीतहरू पहिलेका झैं हुँदैनन् जो बजारमा आउँछ, हिट हुन्छ र फेरि हराइहाल्छ’ भन्ने कुरामा उनी कुनै प्रकारको टिप्पणी गर्न नचाहे पनि ‘सबैको आफ्नो-आफ्नै विचार, आफ्नो-आफ्नै कला हुन्छ’ भन्छन्।
आफ्ना श्रोताहरूका लागि उनी भन्छन्, ‘म यति भन्न चाहन्छु कि हामी गीताङ्गेहरूलाई तपाईंहरूको माया, उत्साहको धेरै खाँचो हुन्छ। सानो होस या ठूलो, स्पूर्ण गोर्खे कलाकारहरूलाई हिम्मत अनि सहायता  दिने काम गरिदिनुहोला। आजसम्म मैले कतिपय कारण आफ्नो एउटा नीजि एल्बम निकाल्न अथवा आफ्नो कलालाई पूर्ण रूप दिन पाएको छुइन। तर म चाहन्छु हाम्रा आउने साना-साना भाइ-बहिनीहरूले तपाईंहरूको माया, सहाता, साथ, उत्साह, प्रेरणा सबै पाउन्।-‘अर्जुन यावा’
(समय दैनिक, शनिबार 21 जनवरी, 2017)

Tuesday, January 31, 2017

भारतीय मुद्रण पत्रकारिताको 237 वर्ष

समाजको विकासमा समाचार-पत्रको ठूलो भूमिका रहन्छ। समाजमा के राम्रो र के नराम्रो कार्य भइरहेका छन् भन्ने कुराको त्यही समाजसित सिधा सम्पर्कमा रहेर सम्प्रेषण गर्ने माध्यम अहिले अनेक छन्, जस्तै समाचार-पत्र, रेडियो, टेलिभिजन, इण्टरनेट वा सामाजिक सञ्जालका अनेक माध्यमहरू। एकअर्थमा समाचार सम्प्रेषणलाई समाजको ऐनासरह हेर्न सकिन्छ। माथि उल्लेखित समाचार सम्प्रेषणका अनेक माध्यम भए तापनि समाचार-पत्र वा मुद्रण पत्रकारिताको छुट्टै महत्त्व छ। त्यसैले लगभग अढाईसय वर्ष इतिहाससितै अघि बढिरहेको भारतीय समाचार-पत्रको अस्तित्व संकटमा परेको छैन।
समाचार-पत्रको ऐतिहासिक पक्षलाई हेरिनु हो भने विश्‍वमा पत्रकारिताका आरम्भ ईस्वीपूर्व 131-मा रोमबाट भएको पाइन्छ, जहाँबाट पहिलो दैनिक समाचार-पत्र निस्किन थालेको थियो। यता भारतमा भने विश्‍वमा पहिलो दैनिक पत्रिका शुरू भएको 1645 वर्षको प्रतीक्षा गर्नुपर्ने हुन्छ। अथवा भारतमा पहिलो समाचार-पत्र 1774-मा आएर मात्रै प्रकाशित भएको थियो। यद्यपि, त्यसको 100 वर्षअघि 1674-मा छापाको पहिलो मशिन आइपुगेको हो।
माथि भनिएझैं समाचार वा समाचार-पत्रलाई समाजको ऐनाको रूपमा हेरिनु हो भने त्यहाँ स्वायत्ततासितै विचार सम्प्रेषणमा स्वतन्त्रताको पनि आवश्यकता पर्दछ। यद्यपि, भारतमा यतिबेलासम्म यस्तो परिवेश आएकै थिएन, किनभने 1774-मा पहिलोपल्ट प्रकाशित समाचार-पत्र ईस्ट इण्डिया कम्पनीका भूतपूर्व अधिकारी विलेम बाल्टसले प्रकाशन गर्दथे। त्यसबेला अंग्रेजी भाषामा निस्किने समाचार-पत्रपछि 29 जनवरी 1780-देखि कोलकाताबाट ‘बंगाल गजेट’ निस्कन थाल्यो, जसलाई ‘हिकीज गजट’ पनि भन्ने गरिएको थियो। 237 वर्षअघि 1780-देखि निस्किएको जेम्स ओगस्टस हिकीको यही समाचार-पत्रलाई स्वतन्त्ररूपले विचार व्यक्त गरिएको पहिलो पत्रिका स्वीकार गरिएको छ।
हिकीलाई भारतका प्रथम पत्रकार मानिन्छ, जसले प्रेस स्वतन्त्रताको लागि ब्रिटिश सरकारसित लडेका थिए। हिकीले कुनै डर-त्रासबिना समाचार-पत्रको माध्यमद्वारा भ्रष्टाचार र ब्रिटिश शासनको आलोचना गर्दथे, जसका कारण हिकीलाई देश छोड्ने फरमानसम्म जारी गरिएको थियो। 23 मार्च 1782-देखि भने उक्त समाचार-पत्रको प्रकाशन बन्द भएको थियो। यसरी भारतमा मुद्रित पत्रकारितासितै स्वतन्त्र समाचार सम्प्रेषण शुरू गर्ने श्रेय पनि हिकीलाई नै जाँदछ भने वर्तमानमा भारतीय पत्रकारितालाई पूर्ण स्वतन्त्र पाउनसकिने कुरा सर्वविदित छ, चाहे मुद्रण पत्रकारिता होस्, चाहे टीभी समाचार या फेरि सामाजिक सञ्जालकै कुरा किन नहोस्।
सिक्किमको सन्दर्भमा हेरिनु हो भने मुद्रण समाचारको स्वतन्त्ररूप पुरानो भएको छैन। भर्खरै चार दशक पूरा गर्दै गरेको सिक्किमले अहिले सुख, शान्ति, सुरक्षित परिवेशमा प्रवेश गरिसकेको छ। यसको निम्ति वर्तमान एसडीएफ सरकारलाई श्रेय जाँदछ। किनकि, एसडीएफ सरकार आउनअघि राज्यमा त्यस्तो परिवेश नै थिएन जहाँ कुनै पनि पत्र-पत्रिकाले  स्वतन्त्ररूपमा लेख्नसक्ने अवस्था होस्। अघि भनियो कि समाजको विकासमा समाचार-पत्रहरूको ठूलो भूमिका रहन्छ। यद्यपि, त्यही समाजले पत्रकारिताको निम्ति स्वतन्त्र परिवेशको स्थापना गर्नुपर्ने हुन्छ। जबसम्म समाचार तथा सञ्चार माध्यमलाई स्वतन्त्र राखिन्न तबसम्म समाजको विकासमा पनि आँच आउने हुन्छ। यस कुरालाई राम्ररी मनन गरिसकेका मुख्यमन्त्री पवन चामलिङले अढाई दशकभन्दा अघि नै राज्यमा एउटा क्रान्ति शुरू गरेका थिए। फलस्वरूप, सिक्किममा वर्तमान परिवेशको स्थापना भएको हो, जसको चर्चा-परिचर्चा देश र विदेशसम्म भइरहेको छ।
उसो त देशका अन्य राज्यहरूसित सिक्किमलाई तुलना गर्न सकिन्न। यद्यपि, एसडीएफ सरकार आउनअघि केही साप्ताहिक समाचार-पत्रहरू मात्रै प्रकाशित हुने राज्यमा अहिले हिन्दी, नेपाली, अंग्रेजी आदि 80 अधिक साप्ताहिकसितै लगभग बाह्रवटा दैनिक समाचार-पत्रहरू प्रकाशनमा आइरहेका छन्। राज्यमा रोजगारको राम्रो माध्यम बन्ने दिशातिर अग्रसर सिक्किमको मुद्रण पत्रकारिताले जुन परिवेशसितै उडान भरिरहेको अवस्था छ, त्यसले राज्यको विकासमा पनि टेवा पुर्‍याइरहेको कुरामा दुईमत नहोला। यसको श्रेय एसडीएफ सरकारलाई जाँदछ। सिक्किमेली पत्रकारिताको क्षेत्रलाई अझै फराकिलो बनाउन हामीले अझ धेरै कसरत गर्नुपर्ने देखिएको छ।-27.01.2017

फेरि विकास अर्को बोर्ड!

पहाडमा विकास बोर्डको राजनीतिले पहाडबासीलाई सधैँ अल्मलाउने क्रम जारी छ। वास्तवमा अल्मलाउने कि अल्मलिने कार्य भइरहेको छ? बुझ्नुपर्ने हो, किनभने पाहडबासीहरूमा मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडको विकासलाई केन्द्र गरेर विभिन्न जात-जातिको विकास बोर्ड दिएर पहाडको ध्यानाकर्षण गराउने काम गर्दै आइरहेकी छन्। यद्यपि, विकास बोर्ड थाप्ने र नथाप्ने भन्ने विषयलाई लिएर प्रत्येक जात-जातिमाझ विवाद शुरूदेखि नै भइरहेको हो। विकास बोर्डलाई लिएर जसले बोर्डको समर्थन गर्दैछ उनीहरू तृणमूल समर्थक भन्ने आरोप-प्रत्यारोप चलिरहेको छ।
अर्कोतिर, अहिले माकपाले नगरपालिकाले जनतालाई वचन दिएर पनि कुनै काम गरेको छैन भन्ने आरोप लगाउँदै आरोप झुटो भए मुद्दा लगाउँदा हुने बताइरहेको छ। फोहोर-मैला प्रबन्धनलाई लिएर एकातिर लापाही भएको र महकुमा अधिकारीले पनि गैरजिम्मेवारीपूर्ण वयान दिइरहेको आरोप लगाइरहेको छ भने अर्कोतिर गोर्खा जनमुक्ति मोर्चाले घरिघरि गोर्खाल्याण्ड आन्दोलनको कुरामा पहाडलाई भुलाउन बिर्सिएको छैन। आज शुक्रबार पनि यहि कुरा लिएर युवा मोर्चाले चर्को आवाजमा गोर्खाल्याण्ड अभियान अझै जारी रहेको बताएको छ। यस सन्दर्भमा देशका विभिन्न संसदीय क्षेत्रबाट निर्वाचित बनेका सांसदहरूलाई गोर्खाल्याण्ड राज्य गठनको लागि सहयोग प्रदान गरिदिने अनि गोर्खाल्याण्डको औचित्य के हो भन्नेबारे बुझाउन युवा मोर्चा सफल बनिरहेको दाबी गरिरहेको छ, जब कि गोजमुमो केन्द्रिय समितिलगायत विमल गुरुङ स्वयंले केन्द्रिय मन्त्रीहरूलाई अघिबाटै भेट्न घरिघरि दिल्ली नगएका होइनन्।
अर्कोतिर, पहाडमा घरिघरि समस्या बनेर देखा पर्ने चिटफण्डले राजनैतिकरूपधारण गर्नेगरेको देखिन्छ। यसमा राज्यका ठूला नेताहरूसम्म मुछिएको घटना विदितै छ। शुक्रबार पुनः चिटफण्डको विरोधमा आवाज उठेको छ। अघिबाटै पीडितहरूले आफ्नो अघिकारको निम्ति कलकत्ता, दिल्ली नजाने बताउँदै चिटफण्ड कम्पनीहरू जुन माध्यामद्वारा पहाडमा भित्रियो त्यहीँबाट पीडित जनताको जिम्मेवारी लिइनुपर्ने हिल इनभेस्टर्स एण्ड एजेण्ट सेक्यूरिटी वेल्फेयर एसोसिएशनको भनाइ छ।
ठीक यहिबेला युवा मोर्चाले गोर्खाल्याण्डको कुरा गरिरहेको भए पनि जीटीएको सहयोगमा देशको रेलवे मन्त्रालयले शीघ्रै सिक्किमसम्म रेल पुर्‍याउने कुरा गरिरहेको छ। यसको निम्ति जीटीए क्षेत्रका केही भाग भएर रेल लाइन बिछ्याउनुपर्ने भएकोले रेलमन्त्री सुरेश प्रभाकर प्रभुले यसको लागि जीटीएसमक्ष सहयोग गर्ने अपील गरेका छन्। यस अवसरमा जीटीएका मुख्य कार्यपाल एवं गोजमुमो प्रमुख विमल गुरूङ स्वयं प्रत्यक्षदर्शी थिए।
कहिले विकास बोर्ड, कहिले छुट्टै राज्य गोर्खाल्याण्ड, कहिले छैटौं अनुसूचिको मुद्दाहरूमाझ अल्मलिएको पहाडबासीमाझ केहीदिनअघि मात्रै ख्रिष्टीय समुदायमाझ पनि विकास बोर्डलाई लिएर फाटो आएको थियो। ख्रिष्टीय समुदायको समस्या समाधान हुन नपाई फेरि आज शुक्रबार खस विकास बोर्ड गठन भएको दावी गरिँदैछ। धेरैवटा जातीय बोर्डहरूको गठनपछि खस विकास बोर्डलाई पनि राज्य सरकारले स्वीकृति दिएको खस हितकारी सम्मेलनले दावी छ। मुख्यमन्त्री कार्यालयबाट खस विकास बोर्ड गठन भएको कुरा तृणमूल कङ्ग्रेत नेता बिन्नी शर्मामार्फत थाहा लागेको प्रस्तावित अध्यक्ष राजान भेटवालले सार्वजनिक गरिसकेका छन्। वर्ष 2015 देखि नै बोर्ड गठनको पहल भइरहेको भए पनि के यसलाई पहाडका सम्पूर्ण खसजातिले स्वीकार गर्ला? यो पनि चाँडै खुलस्त भइहाल्नेछ।  जे भए पनि पहाड सधैँ आशैआशामाझ अल्झिरहेको अवस्थामा छ। पहाडमा सधैँ नेता अघिअघि जनता पछिपछि रहेको अवस्थामा दोष कसको हो? खुट्याउनुपर्ने विषय बनिरहेको छ-20.01.2017

माघे संक्रान्तिको महत्व

परिवर्तनशील प्रकृतिमा न्यानो-जाडो र घाम-पानीजस्ता परिवर्तनहरू दिन र रातजस्तै निरन्तर भइरहन्छन्। कुनै पनि परिवर्तनले नराम्रो प्रभाव तथा खराब परिणाम नल्याओस्, राम्रो गरोस भनी सनातन धर्मले यो शरीरलाई हृष्टपुष्ट र क्रियाशील राख्ने अनेक प्रकारका खाद्यान्नहरू खानै पर्ने हाम्रो संस्कार नै बनाएको छ। यस्ता चार्डपर्व र संस्कृतिले हामी निक्कै धनी छौं। त्यसैले त भौतिक जगतका धनीहरू, आविष्कारक, वैज्ञानिकहरू हाम्रो देश-समाजमा आई कठिन बाटोमा समेत सकी-नसकी हिँडेर विश्‍वकै आदिम मानव सभ्यताका अवशेषका रूपमा यहाँ बाँची रहेका हाम्रा मौलिक संस्कारहरू हेर्ने गर्छन् र सधैँ सिक्न अत्यन्त लालायित हुन्छन्। वर्षा ऋतुमा क्वाँति खानु, शरद ऋतुको दशैंमा मासुका अनेकन् परिकार खानु, तिहारमा रोटी, फलफूल खानु र शिशिर ऋतुमा घ्यू-चाकु-तरुल खानु सनातन हिन्दू संस्कारको अति उच्च प्रविधि हो, वैज्ञानिक विशेषता हो। शिशिर ऋतुमा प्रवेश गरिने घ्यू-चाकु पर्वलाई माघ 01 गते वा मकर/माघे संक्रान्ति भनिन्छ। यो दिन आगो ताप्ने दिन पनि हो। माघे संक्रान्तिको दिन नयाँ मकलमा आगो सल्काएर दान गर्ने परम्परा छ।
चान्द्र मासको माघशुक्ल प्रतिपदाको राति नै नित्यपूजा ग्रहण गरी भोलिपल्ट बिहानै घाम ताप्नु वा शिव भगवानको स्मरण गरी पूजा गर्ने परम्परा छ। साथै माघे संक्रान्तिले र बैशाख 01 गतेले हाम्रो समाजमा मान्यता प्राप्त संवदको सम्बन्ध पनि स्पष्ट गरिरहेको छ।
हाम्रो समाजमा माघ-मकर संक्रान्तिमा प्रायःजसो घर-वन तरूल खाने, नजिकैको नदीमा गई त्यसलाई गङ्गा स्मरण गरी मकर स्नान गर्ने र दिनभरि रमाईलो गर्ने परम्परा चली आएको छ। नेपाली समाजकै कतिपय उप-समाजमा यस दिनदेखी नयाँ खेतीको अन्न खान शुरू गर्ने परम्परा पनि व्याप्त छ। यस दिन मेला घुम्न जाने परम्परा पनि हाम्रो समाजमा प्रचलित छ। वर्षका 12 संक्रान्ति मध्ये माघे र वैशाखे संक्रान्तिको ठूलो महत्व रहिआएको हुनाले यसरी  संक्रान्ति पर्वहरू मान्नुको अर्थ पनि यही संस्कृति जोगाउनु हो।
यद्यपि, हिजो-आज संक्रान्तिको नाममा मेला आयोजन गरी कतिपय अचाहिँदो क्रियाकलाप गरिने, मद-मदिरा सेवन गर्ने, जुवा-तास खेल्ने जस्ता कार्यले कयौं विकृतिलाई जन्म दिने काम गरिरहेको छ। विशेषतः युवा पुस्ताले माघे संक्रान्तिको आडमा अप्नाउने विकृतिले आजका दिनमा माघे मेलाको स्वरूप नै बदलीदिएको छ। यो परम्परागत चाढको नाममा गरिने मदपान र जुवातास खेलिनुने निरन्तर यो पवित्र पर्वमा विकृतिले प्रवेश गरिरहेको महसुस गर्न सकिन्छ। 
माघे संक्रान्तिको अवसरमा हाम्रै राज्य सिक्किममा पनि थुप्रै स्थानमा मेला आयोजन गरिन्छन्। सिक्किमको सन्दर्भमा कुरा गर्नु हो भने माघे मेलालाई माघे संक्रान्तिको पर्यायका रूपमा पनि लिने गरिन्छ। आफ्नो संस्कृति-परम्परादेखि निरन्तर टाडिँदै गएको आजको युवा पुस्तालाई आफ्नै परम्परासँग चिन्हित गराउनका निम्ति माघे  मेलाको भव्य आयोजन् आवश्यक पनि छन्। तर मेलाको नाममा संस्कृतिलाई धमिल्याउने कार्य भने गरिनु हुन्न।
यस्ता कयौं रिति-रिवाज छन्, जसले हाम्रो समाजलाई विश्‍वमै धनि बनाइदिएको छ। तर तक्निकी र आधुनिकताको शिखर चडिरहेको आजको परिवर्तनशील समाजबाट यस्ता रिति-रिवाज निरन्तर लोपोन्मुख हुँदै गइरहेका छन्। अतः आजैदेखि यसको संरक्षणमा लाग्नु, अध्ययनमा लाग्नु, यसको सम्बर्धनतिर प्रयासरत रहनु आजको आवश्यकता हो। अझ युवा पुस्ताको ठूलो जिम्मेवारी हुन्छ।

पालो पञ्चायत र नगरपालिकाको

कहिले गोर्खाल्याण्ड अनि कहिले विकास, कहिले जीटीए त कहिले जिल्लाको मुद्दा वरिपरि घुमिरहने दार्जीलिङ पहाडको राजनीति फेरि अहिले तात्तिरहेको छ। राजनीति सधैँ समाजमुखी हुनुपर्छ, जनताको निम्ति विकासकै लागि हुनुपर्छ भन्ने धेरैको मत रहेपनि दार्जीलिङको सन्दर्भमा भने विकास र चिन्हारीको लडाईं आ-आफ्नै स्थानमा यथावत छ। यति भएरै पनि कहिलेकाहिँ पहाडको राजनीति मूल मुद्धादेखि भावभङ्गी भएको पाइन्छ। यस्तो अहिले पहाडमा पञ्चायत र नगरपालिका चुनाउको चहल-पहल भइरहेको छ। तर, पहाडमा अहिले चाहे गोजमुमो (गोर्खा जनमुक्ति मोर्चा) होस या जाप (जन आन्दोलन पार्टी) अथवा तृणमुल कांग्रेस नै होस अथवा गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा) कसैले पनि छुट्टै राज्य गोर्खाल्याण्ड अथवा राज्यको विकासको मुद्दा उठाउने काम गरेको छैन। अहिले मुद्धा बनिरहेको छ- नगरपालिकाको पुरानो बोर्डको असफलता, शहरको मैला व्यवस्थापन, नगरपालिकामा शिक्षकहरूको स्थायीकरण।
नगरपालिका बोर्डको मियाद भर्खरै सकिएको छ। मियाद सकिनेबित्तिकै जीटीएले नगरपालिका चुनाउ यथाशीघ्र गराउने माग गर्दै राज्य चुनाउ आयोगलाई पत्राचार गरिसकेको छ। अर्कोतिर राज्य सरकारले पहाडमा दुईस्तरीय ग्राम पञ्चायत चुनाउ गराउने दिशामा पहल गरिरहेको छ।  पहिले तीनस्तरीय हुनुपर्छ भन्ने गोजमुमो पनि दुइस्तरीय चुनाउ लड्न तयार भइसकेको छ। पहाडमा राजनैतिक माहोल तात्तिनुको अर्को मुख्य कारण अहिले यसलाई पनि देखिएको छ।
सँधै गोर्खाल्याण्ड वा विकासको मुद्दा लिएर अग्रसर रहने गोजमुमो यसघडी ग्राम पञ्चायत चुनाउलाई भन्दा धेर नगरपालिकालाई प्राथमिकता दिइरहेको छ। जीटीएका उप-प्रमुख कर्णल रमेश आलेले पहाडमा नगरपालिका चुनाउको माग गर्दै राज्य चुनाउ आयोगलाई पत्राचार गरिसकेका छन्। त्यसैले गोजमुमो पञ्चायत चुनाउमा भन्दा धेरै नगरपालिका चुनाउकेन्द्रित रहेको स्पष्ट हुन्छ।
चुनावी प्रक्रिया शुरू नभई राजनैतिक पार्टीहरूमाझ आरोप-प्रत्यारोप शुरू भइसकेको छ। यस्तोमा जाप प्रमुखले नगरपालिकाको पुरानो बोर्ड जनताको काम गर्न असफल रहेको बताइरहेको छ भने नगरपालिकाको पुरानो बोर्डले मैलाको समस्या समाधान गरेको दावी गरे पनि बोर्डको मियाद सकिएको हप्तादिनभित्रै भालुखोपका युवाहरूले मैलाको मुद्दा उठान गरेर नगरपालिकाको दावीलाई विफल रहेको खुलस्त पारिसकेका छन्। अर्कोतिर, कालेबुङ नगरपालिकामा 28 जना शिक्षकहरूलाई 14 वर्षभन्दा अघिदेखि स्थायी गर्न नसकेको अर्को आरोप छ। विपक्षीहरूको भनाई छ, नगरपालिकाले जबसम्म सरकारको पैसा बाँडेर खाने काम मात्र गर्छ तबसम्म नगरवासीको विकास गर्न सक्दैन। यदि त्यसो हो भने पहाडको विकासलाई नै मूल मुद्दा बनाउँदै आइरहेको तृणमुल कांग्रेसको अघिल्लो कदम के हुने हो अनि आगामी चुनाउमा उसको मुद्दा पनि के हुने हो भन्ने प्रस्न उठ्नसक्छ। यता जीटीए उपप्रमुख कर्णल रमेश आलेले नगरपालिका चुनाउका निम्ति चुनाउ आयोगलाई पत्राचार गरिनुका कारणबारे प्रस्ट्यशाउँदै लामो समयसम्म चुनाउ नगराउँदा जनता आफ्नो अधिकारदेखि वञ्चित हुने बताएका छन्। यद्यपि, नगरपालिका चुनाउलाई लिएर सरकारले के चाहन्छ त्यसबारे भने अझै प्रष्ट हुनसकेको छैन।
अर्कोतिर, पुरानो बोर्डले विभिन्न बाधाहरू हुँदाहुँदै पनि सफलतापूर्वक काम गरेको दावी गर्दै आज पनि मोर्चासँग जनताको साथ रहेको मोर्चाको दावी छ भने जीटीएमाथि राज्य सरकारको हस्तक्षेप रहेको आरोप अहिले पहाडको अर्को मुद्दा बनिरहेको छ। यद्यपि, अहिलेसम्म यो स्पष्ट छैन कि जनताले चुनाउमा मतदान के को लागि गर्नुपर्ने हो, छुट्टै राज्यको निम्ति, विकासको निम्ति कि मताधिकार कै प्रयोगको लागि मात्र? कि त बोर्ड, विकास, फोहोर-मैला प्रबन्धनको लडाईं कै लागि मात्रै?-06.01.2017

चुनाउ र चपेटमा गोजमुमो

गोर्खाल्याण्डको मुख्य मुद्दा लिएर 2007-मा स्थापित गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले अक्टोबर 2017-मा पार्टी स्थापनाको 10 वर्ष पूरा गर्नेछ। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई नै मुख्य मुद्दा बनाएर अस्तित्वमा आएको गोजमुमोले आफ्नो अन्तिम लक्ष्य भनेको नै गोर्ख्याल्याण्ड भन्दै आएको हो। अहिले पनि भनिरहेकै छ। यद्यपि, आफ्नो लक्ष्यसम्म पुग्ने सिँडी भनेर 2011-मा गोजमुमोले केन्द्र र राज्यसरकारसित त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्दै गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिस्ट्रेशन (जीटीए) थापेको थियो। आफ्नो लक्ष्यसम्म पुग्नलाई पहिले स्वयं दह्रो बन्नुपर्छ, त्यसको निम्ति पहाडको विकास आवश्यक छ भन्ने गोजमुमोक मान्यता थियो।
आफ्नो लक्ष्य र उद्देश्यमा गोजमुमो कति स्पष्ट छ अनि कतिसम्म इमान्दार छ भन्ने विषयलाई लिएर गोजमुमोले घरिघरि संघर्ष गरिरहेको छ। गोजमुमो साथै जीटीए चीफ विमल गुरुङको टोलीले गोर्खाल्याण्डको मुद्दालाई लिएर घरिघरि केन्द्रिय मन्त्रीहरूसित भेट गरिरहेकै भए पनि जीटीए अध्यक्ष प्रदीप प्रधान राज्यको सत्तारुढ तृणमूल कांग्रेसमा सामेल भएपछि अहिले पहाडको राजनीतिमा निकै हलचल मच्चिरहेको छ। खासगरी 29 दिसम्बरको दिन जीटीएसभाको अपरझट सभा डाकिएको थियो, जुन सभाले जीटीएसभाका उपाध्यक्ष लोप्साङ योल्मोलाई अध्यक्ष र रवीन्द्र लामालाई उपाध्यक्ष बनाएपछि पहाडको राजनैतिक चलखेल चलमलाएको हो। अहिले जीटीएसभाको यस निर्णयलाई प्रदीप प्रधानले हाँस्यस्पद मात्रै नबताएर यसको कुनै महत्व नरहेको दावीसम्म गरिरहेका छन्।
अर्कोतिर, गोर्खाल्याण्डको मुद्दालाई संसदमा यदि कुनै पनि केन्द्रिय पार्टीले उठाउन सक्छ र गोर्खाहरूको भावनालाई बुझ्नसक्छ भने भाजपाले मात्र बुझ्नेछ भनेर गोजमुमोले अहिलेसम्म भाजपालाई समर्थन जनाउँदै आएको छ। यहाँसम्म कि दार्जीलिङ संसदीय क्षेत्रलाई प्रतिनिधित्व गर्दै भाजपा नेतालाई सांसद पनि बनाएकै हो। चुनाउँका समय प्रधानमन्त्रीले ‘गोर्खाहरूको दुःख मेरो पनि दुःख’ भनिदिएपछि पहाडवासीलाई भाजपामाथि जुन विश्‍वास थियो त्यो दोब्बर भएको संसदमा भाजपा नेता एसएस अहालुवालिया पुग्नुबाट पनि स्पष्टै हुन्छ। विगतवर्ष मात्रै संसदसभामा अहालुवालियाले पनि चुनाउमा उनले दिएको वचन पूरा नगरेका होइनन्। यद्यपि, सयवर्ष पुरानो गोर्खाल्याण्डको मुद्दा त्यति सहजै पार नलाग्ने पहाडले पनि नबुझेको भने पक्कै होइन।
अहिले पहाडमा चर्चा चलिरहेको छ पञ्चायत चुनाउको कुरा। एकातिर दागोपापपछि जीटीए सञ्चालनमा छ। त्यसैले पहाडमा दुईस्तरीय होइन तीनस्तरीय चुनाउ हुनुपर्छ भन्ने माग गरिरहेको भए पनि गोजमुमोले  संविधान संशोधन नगरि यो सम्भव नरहने भएकाले अहिले दुईस्तरीय नै भए पनि चुनाउ लड्न तयार रहेको गोजमुमोले स्पष्ट पारिसकेको छ। यतिबेला आएर राज्य भाजपाले फेरि ‘भाजपाको अजेण्डामा गोर्खाल्याण्डको मुद्दा छँदैछैन’ भनेर गोर्खालाई रणभुल्लमा पारिदिएको छ। यद्यपि, उसले आगामी चुनाउ भने गोजमुमोकै आडमा लड्ने सपना साँचेकै छ। यस्तोमा अब गोजमुमोले के गर्ने हो?
एकातिर जीटीएसभाका अध्यक्षलाई लिएर पहाडमा माहोल चर्काउने काम भइरहेको छ भने अर्कोतिर गोर्खाल्याण्डको मुद्दा, भाजपाको अजेण्डा अनि आगामी पञ्चायत चुनाउको मुद्दा छँदैछ। गोर्खाल्याण्ड राज्य भाजपाको एजेण्डामा छैन भने अहिलेसम्म गोजमुमोलाई विश्‍वास गरेर भाजपालाई जिताउँदै आएका पहाडवासी जनताको निर्णय के हुनसक्छ? त्यो आगामी दिनले नै स्पष्ट पार्नेछ। अहिलेभने यत्ति स्पष्ट छ कि जतिजति चुनाउ नजिकिँदैछ, त्यति नै गोजमुमो कठिनाइहरूको सामना गर्दै अघि बढिरहनुपर्नेछ। गोजमुमोले गोर्खाल्याण्ड हाम्रो अन्तिम लक्ष्य हो भनिरहेकै छ। यद्यपि, ‘बङ्ग भङ्ग होबेना’ भन्ने राज्यको सत्तारुढ तृणमूल कांग्रेसले विकासलाई प्राथमिकता दिइरहेको छ, ठीक त्यस्तै भाजपाले भनिहालेको नभए पनि भाजपाले विकासलाई नै प्राथमिकता दिएर कार्य गर्ने प्रदेश भाजपाका अध्यक्ष दिलीप घोषले स्पष्ट पारिसकेका छन्। यस्तोमा गोजमुमोले गोर्खाल्याण्डको औचित्य बुझाउँदै आगामी मार्च महीनादेखि दिल्लीका सम्पूर्ण राजनैतिक पार्टीहरूका सांसदहरूसित भेट गर्ने बनाएको योजनाको परिणाम के होला त? चुनाउसितै अहिले यस्तै चपेटमा छ गोजमुमो।-30 दिसम्बर 2016

Friday, January 27, 2017

श्रोताहरूको मन-मनमा बस्न सफल सोताङद्वयसँग केहीक्षण

सिक्किम सफलताको सिँढीतर्फ अग्रसर - उदय-मनिला

अर्जुन ‘यावा’

‘सङ्गीत सुन्नलाई सजिलो हुन्छ तर बुझ्नु गाह्रो हुन्छ। सङ्गीतको गहिराइमा पस्नु साह्रो हुन्छ तर पनि सङ्गीत एउटा नभइ नहुने चीज हो। यो त्यस्तो चीज हो, जसद्वारा आफैलाई व्यस्त राख्न सकिन्छ।’ यो भनाइ हो नेपाली सङ्गीतका प्रसिद्ध गायक उदय सोताङको। 21 मई, 2010 को दिन गान्तोकस्थित एक होटलमा युगल गायक-गायिका अथवा दुइ दम्पती उदय अनि मनिला सोताङसितको कुराकानीको अवसरमा उनले उक्त मन्तव्य व्यक्त गरेका हुन्।
‘कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन’ जस्ता धेरै प्रसिद्ध गीतहरूद्वारा गायक दीप श्रेष्ठले 19 अप्रेलको साँझ तादोङ कलेजको प्रेक्षा गृहमा उपस्थित नेपाली सङ्गीतप्रेमी सम्पूर्ण दर्शक महानुभावको मन जितेको एक महिना नबित्दै त्यही मञ्चबाट श्रोताहरूलाई नाच्नसम्म बाध्य गराए युगल गायक-गायिका उदय अनि मनिला सोताङले। अखिल किराँत राई संघ गान्तोक, पूर्व सिक्किमद्वारा आयोजित ‘उदय अनि मनिला सोताङको साङ्गीतिक यात्रा’ साङ्गीतिक साँझ कार्यक्रममा उपस्थित मानिसको भीडले नेपाली सङ्गीतप्रति मानिसहरूको मोह कतिको रहेछ भन्ने कुरा पनि प्रष्ट पारिदिएको छ। 
तादोङ सरकारी महाविद्यालयको प्रेक्षागृहमा गत 20 र 21 मई 2010-को साँझ आयोजित उक्त साङ्गीतिक कार्यक्रममा सङ्गीत प्रेमीहरूको खचाखच रहेको थियो। सो भीडले गायकद्वयलाई मञ्चमा गाउने जोश बढाइदिएको थियो भने सङ्गीतप्रेमी दर्शकले पनि उत्तिकै मनोरञ्जन उठाएका थिए। सुमधुर स्वरभरि प्रायः हल्का तथा सहज गीतहरू गाएर श्रोता तथा दर्शकको मन जित्न सफल बन्दै आएका युगल उदय अनि मनिलाले यसपटक दर्शकको मनमात्र जितेनन् तर युवा-तन्नेरीलाई मञ्चमै नाच्नसम्म बाध्य गराएको देखियो। आज तिम्रो कुरा चल्यो, छातीभित्र छुरा चल्यो बल्ल बल्ल लाएको पिरती... गीतमा मानिसहरूले मनोरञ्जन लिइरहेका थिए भने दर्शकको तालीको गडगडाहटले अझै उत्साहित गायक उदय मञ्चसम्म पुगेका थिए। त्यसले दर्शकमा अझ अर्कै रौनकता छाएको देखियो।
आफ्नो साङ्गीतिक यात्रामा धेरैको सङ्घर्षपछि सफल्ता पाएका गायकद्वयले विद्यार्थी कालदेखि नै यस क्षेत्रमा प्रवेश गरेको बताउँछन्। सानै उमेरदेखि नै सङ्गीतमा रुचि राखे पनि 1980 को दशकदेखि विशेष रूपले गाउन थालेको उनीहरू बताउँछन्। उदयले गाएका ‘भावनाले मन भरिँदैन...’ तथा अन्य गीतहरू सुनेर पहिलेबाटै मनिला प्रभावित बनिसकेकी थिइन् अनि सङ्गीतद्वारा नै दुवैको भेट पनि भएको थियो। त्यसपछि उदय मनिलाले कालेबुङ, दार्जीलिङ तथा खरसाङका मञ्चहरूमा धेरैपटक सँगै गीतहरू गाउने अवसर पाएका थिए। यही साङ्गीतिक यात्राको अवधिमा दुवैबीच कतिबेला माया बस्यो थाहै पाइएन, माया भन्ने त्यस्तै हुँदोरहेछ भन्छन् उदय-मनिला। गायकद्वयले आफ्नो अस्पष्ट माया-प्रेमलाई 1986-मा वैवाहिक वन्धनमा परिणत गर्दै एकार्कालाई जीवन साथीका रूपमा स्वीकारेको पनि उनीहरू बताउँछन्। त्यस समय हामीबीच जस्तो माया थियो, जस्तो प्रेम थियो त्यस्तै माया, प्रेम अथवा त्यस्तै सम्बन्ध हामीमा छ अहिले पनि, सोताङद्वय भन्छन्। सायद त्यसैले गीतहरूमा पनि यस्तै सन्देश दिनचाहन्छन् उनीहरू। यस्तै सन्देशका साथै गायकद्वयले गीतमार्फत नै दाम्पत्य जीवन कस्तो हुनुपर्छ भन्ने सुझाउ पनि यसरी दिएको पाइन्छ नयाँ गीति एलबम मन्तव्य न्तव्यमा। हेरौं गीतैमा हामी, तिमी मेरो मनको राजा म त तिम्री रानी... दुनियाँले डाहा गर्ने बनाउँ जिन्दगानी। सुखमय घर संसारको हामी कामना गर्छौं, सपना देख्छौं अनि सुझाउ र उपदेशहरू पनि दिन पछि सर्दैनौं। त्यही कुरालाई व्यवहारमा उतार्न हामीलाई नै गाह्रो पर्छ। 
गायक सोताङद्वय यहाँ अरूलाई सुझाउ नदिएर आपस्तमा सल्लाह गर्छन् यसरी, एकै रथका दुइ पाङ्रा हाम्रो जिन्दगानी... तिमी आगो बन्यौ भने म बनुला पानी...। सायद सुझाउ-उपदेशभन्दा यी कुराहरू व्यवहारमा उतार्नु अधिक आवश्यक हुन्छ। गायक उदय जहाँ जान्छन्, मनिलालाईफ साथैमा लिएर जान्छन्। कारणवश एक्लै गएको समय पनि अरूले एक्लै आएकोमा प्रश्‍न गरिहाल्ने अर्थमा मनिला आइन? भनेर सोधी-खोजी गर्नेगरेको उदय बताउँछन्। अतः दुवैले प्रायः काम मिलेर गर्नेगरेको बताउँदै उदय भन्छन्- ‘उसले खाना पकाएर पस्केर दिन्छे, म सङ्गीत पस्केर दिन्छु। यसरी हामी मिलेर अनि बाँडेर काम गर्छौं।’ शुरुका दिनहरूमा दुइ दम्पत्तिले सङ्घर्षका दिनहरू बिताएको बताउँछन्। वैवाहिक जीवनपछि दुवै सङ्गीतकै पछि लगेर काठमाडौंतिर लाग्छन् 1988 तिर। त्यसबेला नेपालको एउटैमात्र रेडियो स्टेशन थियो रेडियो नेपाल नेपाल। अनि त्यहींबाट अडिसन पास गरेर पहिला-पहिला गीतहरू गाउन थालेका दुइ दम्पतिले रेस्टुराँतिर पनि गाउन थालेको उदय-मनिला स्वयं बताउँछन्। उनीहरू भन्छन्- कुनै पनि व्यक्तिले सङ्घर्ष नगरी सफल्ता पाउन सक्दैन। हामी पहिले-पहिले साइकल चलाएर पनि हिँड्यौं। म साइकल चलाउँथे मनिला पछाडि बस्थिन् अनि हामी गाउन जान्थ्यौं, उदय भन्छन्। यतिबेला मनिला सोताङ आफूभित्रबाटै हाँसेको उनको मुहारमा प्रष्टै देखिन्थ्यो। सायद उदयका कुराले मनिलालाई त्यसबेलाको तस्वीर आँखामा ल्याइदिएको हुनुपर्छ।
काठमाडौंमा बिस्तारै प्रतिष्ठित गीत-सङ्गीतकारसित सम्पर्क बढ्दै गयो। त्यसपछि 1989 मा आफ्नो पहिलो युगल गीति एल्बम ‘झझल्को’ निकाल्न सफल बनेका थिए सोताङद्वय। उदयलाई सङ्गीतको क्षेत्रमा पहिलोपल्ट दार्जीलिङमा पेमा लामाले गाउने अवसर दिएका थिए भने नेपालमा पुगेपछि सम्भुजित बास्कोटाले चलचित्रमा पहिलोपल्ट गाउने मौका दिएका थिए। यद्यपि, चलचित्रमा भन्दा एलबममै गाउन अधिक रुचाउँछन् दुवै। यस विषयमा उनीहरू भन्छन्- चलचित्रमा अरूका लागि गाइन्छ अनि एल्बममा आफ्नो लागि। त्यसैले हामी एलबममा गाउँन नै रुचाउँछौं।
1989 मा पहिलो एल्बम ‘झझल्को’ निकाल्न सफल बनेका सोताङ दम्पतिको हातमा अहिलेघरी दर्पण, मुस्कान, कथा, भीडदेखि बाहिर, उपमा, आत्मकथा, मर्म, मन्तव्य र संवाद गरी 10 वटा एल्बम छन् भने दुवैले मन पराएका अथवा छनोट गीतहरूको सँगालो ‘गोल्डन कलेक्शन’ पनि श्रोताहरूमाझ पुर्‍याइसकेका छन्। जम्मा 11 वटा एलबममध्ये ‘मर्म’ सबैभन्दा मन पर्ने एलबम हो दुवैको। मर्म-भित्रका गीतहरू- छिनछिनमै हाँस्न मन लाग्छ.., वारि खोला पारिमा खोला बिचैमा पापी दोभान.., मेरो हाल नसोध्नु म सधैंझैं बेहाल छु, जस्ता लोकप्रिय गीतहरूका साथमा उकाली चढौंला ओराली झरौंला, तिम्रैलागि हो भने ज्यानै दिउँला... गीतले धेरै प्रसिद्धि दिएको छ सोताङद्वयलाई। यद्यपि, मुस्कान एलबमको गीत- ‘माया नमार है माया नमार, जाँदैछौ माया मलाई एक्लो पारेर’ले उदय अनि मनिला सोताङलाई युगल गायकका रूपमा परिचित गराएको उनीहरू बताउँछन्।
1986-मा वैवाहिक वन्धनमा बाँधिएका उदय-मनिलाले आपस्तमा एकार्कालाई जतिको जीवन साथीको रूपमा पाएका छन् त्यतिकै आफ्नो साङ्गीतिक यात्रमा पनि साथ पाएको आभाष गरेकाछन् दुवैले। यसअघि पनि उनीहरूले धेरै गीत नगाएका होइनन् जो दुवैले अघि नै बताइसकेका छन्। सायद त्यसैले हो कि गीतमा पनि दुवै भन्छन्- आधी बाटो हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको लामो यात्रा त्यहींबाट शुरु भयो सानो मोडैमा, सानो सानो मोडैमा... आधी बाटोमा भेटेपछि जिन्दगीको यात्रा शुरु भए पनि एकार्का बिना दुवैको जीवन सायद अधुरै हुन्छअथवा दुवैले आपस्तमा एकार्कालाई त्यति धेरै माया गरेका छन् कि जीवनको हरेक खुशी एकार्काबाटै शुरु हुने बताउँछन्। गीतमा नै दुवैले यहाँ नयाँ एलबम ‘मन्तव्य’ बाट दिनेश अधिकारीका शब्दमा- तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी... तिमीबाट शुरु हुन्छ मेरो खुशी उन्नति... चुङथाङ दार्जीलिङमा जन्मेर नेपाललाई आफ्नो कर्मभूमि बनाउने गायक उदय सोताङले मनिलासित सिक्किमका गीतकारद्वारा रचिएका गीतहरू पनि गाएका छन्। सिक्किममा सङ्गीतको गोरेटो त्यति फराकिलो भइसकेको स्वीकार्न नसकिएला, तर त्यति पछि पनि छैन भन्ने कुरामा कुनै आपत्ति नहोला। उदय-मनिलाले गाएका सिक्किमेली गीतहरूले पनि यहाँको साङ्गीतिक परिचय दिन सक्छ पक्कै। सिक्किमकै सन्दर्भमा उदय भन्छन्, सिक्किममा पनि सङ्गीतको राम्रो भविष्य राम्रो छ। धेरै युवाहरूले रुचि देखाएर अगाडि बढिरहेका छन्। यहाँको वातावरण पनि राम्रो छ, जसले गर्दा सङ्गीतको क्षेत्र फराकिलो बन्नसक्ने देखिन्छ।
यसै सन्दर्भमा कुरा गर्नुपर्दा गीतकार पवन चामलिङ किरणका शब्दहरूमा धेरै गीत गाइसकेका छन् उदय मनिलाले। किरणका शब्द र योगेन्द्र घतानीको सङ्गीत अनि उदय-मनिलाको स्वरमा रहेका गीतहरूमध्ये यो गीत हामी धेरैले सुनेकै हौं- हजार जुनीसम्म खोजिबसें तिमीलाई माया मेरो युग युगसम्म तिमीलाई दिएँ तिमीलाई मिलन कहिले नहुने भो कस्तो माया हो सम्झनासँग बाँच्नुपर्ने कस्तो यो वेदना हो। ‘पवन चामलिङ किरणका गीतहरू सबै मन पर्छन्। मलाई मनपर्ने गीतहरूमा एउटा यो पनि हो’उदय भन्छन्। उनका गीतहरू सबै उस्तै राम्रा-राम्रा छन्, मर्मस्पर्शी छन्। त्यसैको एक उदाहरण मान्न सकिन्छ माथि उद्घृत गीतलाई। गीति एल्बम उपमा भित्र परेको किरणको यस गीतबाहेक गीतकार विनोद प्रधान ‘सोरकी’ का शब्दमा रहेको गीत पनि उस्तै मर्म स्पर्शी छ। हेरौं उनैको शब्दमा गीतकार सोरकीलाई एक पंक्तिमा यहाँ- कहाँ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊँ... छाती खोली देखाऊँ कि मुटुभित्रै लुकाऊँ... दुखाइको सीमा हुँदैन जहाँ मिचेनी सञ्चो हुँदैन। यो गीत सुन्दा जति मीठो लाग्छ गीतकारको जीवन व्यथाले गीतको अर्थ अझै खोलिदिन्छ अनि गीत अझ मीठो लाग्छ, मर्माहित लाग्छ। ‘दुखाइको सीमा हुँदैन जहाँ मिचेनी सञ्चो हुँदैन।’अर्थ त्यसपछि मात्रै बुझिन्छ सायद।
20 मई, 2010-को कार्यक्रममा उदय सोताङले भनेका कुरा यहाँ राख्न चाहन्छु, पहिला गीतको शब्द मैले पाएको थिएँ, मन पनि परेको थियो। अनि त्यलाई कम्पोज गरिरहेको थिएँ। तर पछि जब उहाँको अवस्थाबारे थाहा पाएँ म साह्रै मर्माहित बनेको थिएँ। त्यसबेला उहाँ क्यान्सरले पीडित हुनुहुन्थ्यो रहेछ। त्यतिबेला मात्र मलाई थाहा भयो यो गीत उहाँले हृदयको अन्तर तहबाट लेख्नुभएको रहेछ। यो गीत त्यसै लेखिएको होइन। तर मलाई एउटै दुःख छ, उहाँले लेख्नु भएको गीत आफैले सुन्न पाउनु भएन। जतिबेला सिक्किमेली शब्दकारद्वारा लेखिएका गीतहरूको सङ्गालो गीति एल्बम ‘उपमा ा’ को विमोचन भइरहेको थियो अनि त्यही एल्बमभित्र परेको गीतकार विनोद प्रधानको गीत कहाँ-कहाँ दुख्छ प्रिय तिमीलाई के बताउँ गीत ठूलो-ठूलो आवाजमा डङ्डङ् बजिरहेको थियो, ठीक त्यही समय सोरकीको घरबाट ‘लाश’ निस्किरहेको थियो।
त्यतिबेला उदयलाई पनि कहाँ-कहाँ दुखेको थियो त्यो त स्वयंलाई थाहा होला तर यस कुराले हामीलाई पनि अलिकति त पक्कै दुखेको हुनुपर्छ। तर उदयले भने मुटुभित्रै लुकाएर नराखी हामीसित साँझा गरेका थिए 20 मईको दिन। राजनीतिदेखि अलग्गै बस्न रुचाउने सोताङद्वय कुनै ‘चेरिटी शो’ अथवा कसैको सहयोगको लागि गाउन परे अनि शान्तिको लागि गाउन परे कुनै पनि समय तत्पर रहेको उदयले बताएका थिए। ‘रियोलिटी शो’ विषय राखिएको प्रश्‍नमा उनी भन्छन्- यसबाट लुकेर बसेका कलाकारले निस्कने अवसर पाउँछन्, उनीहरूले एउटा मञ्चको अवसर पाउँछन्। त्यसैले राम्रो लाग्छ।
सङ्गीत क्षेत्रमा रहेका नवोदित कलाकारलाई सन्देश दिँदै उनी भन्छन्, सङ्गीतलाई अप्नाएर युवा भाइ बहिनीले आफूलाई व्यस्त राख्न सक्छन्। सङ्गीतलाई अप्नाएर नराम्रा कुराहरूलाई त्याग्न सकिन्छतर सङ्गीतलाई अप्नाउनेहरूले सफलताका लागि अल्छी गर्नुभएन। नेपाली गीत-सङ्गीतकारहरूले अझै पनि नेपालतिर फर्केर हेर्नुपर्ने बताउँदै यहाँ मीडियाको अथवा प्रचार प्रसारको कमी रहेको बताउँछन्। उदय भन्छन्-पहिलेभन्दा सिक्किम मीडियामा धेरै विकसित भएको छ, यहाँ आफ्ना समाचार पत्रपि त्रकाहरू छन्। 2005 मा आउँदा यहाँ मीडियाको जस्तो स्थिति थियो आज त्यसभन्दा धेरै विकसित भएको छ। तर अझै पनि इलेक्ट्रोनिक मीडियाको कुरा गर्नुपर्दा एउटैमात्र च्यानल छ भने दार्जीलिङमा त्यति पनि छैन। तर काठमाडौंमा व्यापक प्रचार प्रसार हुन्छ अनि सङ्गीतको क्षेत्र पनि त्यहाँ फराकिलो छ।
2001-मा पहिलोपल्ट दक्षिण सिक्किम नाम्चीमा आफ्नो साङ्गीतिक प्रस्तुतिका लागि आएका सोताङद्वय अखिल किरात संघ सिक्किमको कलेज एकाइद्वारा तादोङ कलेजको प्रेक्षागृहमा आयोजित साङ्गीतिक कार्यक्रममा आफ्ना दर्शक तथा श्रोताहरूको मन जित्न सफल रहेका थिए। त्यही मञ्चमा त्यतिकै धेरै श्रोता तथा दर्शकको माया र साथ पाएकोमा खुशी व्यक्त गर्दै सिक्किमको वातावरण, यहाँको शान्ति, सुरक्षा र प्राकृतिक सुन्दरताको खुलेर प्रशंसा गर्छिन् मनिला सोताङ। विद्यार्थीकालदेखि नै सङ्गीतमा रुचि राखेर यसै क्षेत्रलाई आफ्नो व्यवसाय बनाएका सोताङद्वयका एक छोरा र एक छोरीमध्ये छोरी श्रेया सोताङको पनि सङ्गीतप्रति उस्तै झुकाउ रहेको छ। 20-21 मई, 2010 को दिन आफ्ना माता पितासित एउटै मञ्चमा श्रोताहरूको मन जित्न सफल 22 वर्षीया श्रेयाले आफ्नो एकल गीति एल्बम निकालिसकेकी छन् भने चारवटा जति पुरस्कार पनि प्राप्त गरिसकेकी छन्।
(चक्रब्यूह, वर्ष 11, अङ्क 16, 31 मई-5 जून 2010-मा प्रकाशित)

Monday, January 23, 2017

कुराकानी गायक गणेश राणासित

संगीत नै मेरो संसार हो : गायक गणेष राणा

भारतीय नेपाली गीत-संगीतको जब पनि सन्दर्भ उठ्छ तब पश्‍चिम बंगालको दार्जीलिङको नाम लिइएन भने अधुरो-अपुरो रहनसक्छ। नेपाली गीत-संगीतलाई दार्जीलिङ पहाडले धेरै योगदान पुर्‍याएको छ। जसरी भारतीय नेपाली साहित्यमा दार्जीलिङको योगदान छ, संगीत जगतमा पनि उस्तै योगदान पाउन सकिन्छ। गायिका एवं संगीतकारहरू शान्ति ठटाल, अम्बर गुरुङ, सुरेश कुमार,अजनीश राई, उदय सोताङ, गायिका मनिला सोताङ, गायिका कुन्ति मोक्तान, संगीतकार शिलाबहादुर मोक्तान, गीतकार जश योञ्जन प्यासी, लोकगायिका हिरादेवी वाइबा, गीतकार कालुसिंह रनपहेंली जस्ता लब्धप्रतिष्ठित नामहरू धेरै छन्। वर्तमानमा जार्दीलिङ जिल्लाअन्तर्गत मिरिक सौरेनीबाट गीत-संगीतमा डुब्न चाहँदै मौलाउँदै गरेको यस्तै एउटा नाम हो गणेश राणा। मिरिक सौरेनीमा पिता रंगलाल राणा अनि माता नर्माया राणाको कोखमा जन्म लिएका हुन् गणेश राणाले। दुई दाजु र 6 जना दिदीहरूपछि कान्छो गणेश राणाका दुई दिदीहरू भने बितिसकेका छन्। गायक राणा हाल देशको राजधानी नयाँ दिल्लीमा रक्षा मन्त्रालयमा कार्यरत छन्।
गणेश राणासित मेरो धेरैअघि फेसबुकमार्फत भेट भएको थियो। म साहित्यमा रुची राख्ने, उनी गीत-संगीतमा गुनगुनाइरहने। साहित्य र संगीत दुई भिन्नाभिन्नै विषय-क्षेत्र भए पनि कहिँ-कतै अन्तरसम्बन्ध हुनुपर्छ। त्यसैले त उहाँको फ्रेन रिक्वेस्टलाई मैले स्वीकार गरेपछि उनले मलाई भनेका थिए, ‘तपाईं साहित्यमा रुची राक्नुहुँदो रहेछ, म संगीतमा। कतै न कतै हाम्रो विचार मिल्नसक्छ भन्ने सम्झेर रिक्वेस्ट पठाएको थिएँ। एक्सेप करिदिनुभयो, धन्यवाद। हामी उमेरले साना-ठूला हौंला, तर तपाईंलाई ‘साथी’ सम्बोधन नै गर्छु म।’ त्यसपछिदेखि हामीमाझ सधैँ हामीले बुझेको, हामीले जानेको साहित्य र संगीत कै कुराहरू हुने गरेको छ। कहिले उनी आफ्नै शब्दमा संगीत भरेर गुनगुनाएर सुनाउँछन्, कहिले मलाई गीत लेख्ने प्रेरणा दिन्छन् अनि त्यसलाई संगीतवद्ध गरेर सुनाउठन्। फेरि ‘कस्तो भयो?’ भनेर सुझाउ माग्छन्। 
मानिसहरू अल्सी लागेको समय, काम नभएको समयमा कतै घुमेर, साथीहरूसँग रमाइलो गर्नेगर्छन्। तर उनी एकलै कोठामा गिटारका स्ट्रिङहरूसितै मस्त बन्न रुचाउँछन्। भन्नेगर्छन्, ‘साथी, मलाई घुम्नु, मुभी हेर्नुभन्दा गीतहरू गुनगुनाउनु मै रमाइलो लाग्छ। मेरो निम्ति संगीत नै मेरो संसार हो।’
सौरेनी मेची प्राइमेरी स्कूलबाट आफ्नो शैक्षिक यात्रा शुरू गर्ने उनले विद्यार्थी कालमै 1980-81 तिर संगीत जगतमा प्रवेश गरेका हुन्। ‘तपाईंलाई सुरेशकुमारबाट धेरै प्रभावित लाग्छ, गीत-संगीतमा प्रेरणा को-कोबाट पाउनुभएको हो?’ भन्ने प्रश्‍नमा उनी भन्छन्, ‘तपाईंले राम्रो अनुमान लगाउनु भयो। नेपाली संगीत जगतका चर्चित गायत सुरेशकुमार मेरा गुरुवर हुनुहुन्छ। मैले उहाँबाट नै प्रेरणा पाएको हुँ। उहाँका गीतहरूबाट धेरै प्रभावित छु। म उहाँलाई गुरुवर भनेर नै सम्बोधन गर्नेगर्छु।’
उनको पुर्ख्यौली थलो मिरिक, दार्जीलिङ। व्यवसायिकरूपले दिल्लीमा रहेका उनलाई ‘दिल्ली कसरी पुग्नुभयो?’ भन्ने मेरो प्रश्‍नमा भन्छन्, ‘म दिल्ली कसरी आएँ, यो एउटा पीडादायक कहानी छ। 1986-मा पहाडमा गोर्खाल्याण्ड डरलाग्दो आन्दोलन चल्दैथियो। त्यसबेला मेरी आमा खुब डराउनु भएको थियो। किनभने त्यो समय सीआरपीको धेरै अत्यचार थियो गाउँमा। त्यसैले आमाले मलाई दिल्लीमा माइला दाजुकोमा पठाउनु भएको थियो। त्यसपछि दिल्लीमै डिफेन्स मिनिस्ट्री (रक्षा मन्त्रालय)-मा प्रवेश गरे। झण्डै 22 वर्षदेखि अहिलेसम्म यसैमा कार्यरत छु।’
नोकरीबाट निकालेको फुर्सदको क्षणलाई गायकीमा खर्चिने उनले विद्यार्थीकालदेखि नै संगीतमा लागि परेका भए पनि गीत रेकर्ड गराउन भने निक्कै लामो समय लगाएको पाइन्छ। कुनै एल्बम निकाल्नुभन्दा धेरै स्टेज प्रोग्रामहरूमै आफूलाई व्यस्त राखे उनले। लोकप्रिय गायक एवं उनको श्रद्धा, गुरुवर सुरेशकुमारको शब्द-संगीतमा पहिलो गीत रेकर्ड गराएका थिए, जसको म्युजिक एरेञ्जर हुन् विनय सेवा। ‘गीति एल्बम निकाल्नुभएको छैन। सोच्दै नसोच्नु भएको कि अरु नै केही?’ भन्ने मेरो जिज्ञासा उनी यसो भन्छन्, ‘एल्बम निकालेको छुइन, कारण म बेसीजस्तो स्टेज प्रोग्रामहरूमै ब्यस्त रहन्छु। भनौं नै भने एल्बम निकाल्न मोटै रकम लाग्नेहुन्छ। त्यही भएर पनि अहिलेसम्म निकालिएन। त्यसैले पनि स्टेज कार्यक्रमहरूमै सीमित बनियो। अहिले जमर्को गरिरहेको छु।’
कुराकानीको क्रममा ‘मलाई स्टेज कार्यक्रमहरू गर्नु धेरै मनपर्छ’ उनी भन्छन्, ‘कारण म स्टेजमा दर्शकहरूलाई मनोरञ्जन गराउने मनोसायले नै आफ्नो गीतको चयन गर्नेगर्छु।’ स्टेज पर्फमेन्सको कुरा गर्दा उनलाई प्रफुल्लित पाउन सकिन्छ भन्ने उनको कुराले पनि बुझाउँछ। उनी भन्छन्, ‘स्टेज प्रोग्राम गर्दा मलाई भित्रैबाट आनन्द आउँँछ।’ स्टेज प्रोग्रामहरूको सम्झना गर्दा उनी 1987 सम्म पुग्छन् र भन्छन्, ‘1987-मा आसाममा कार्यक्रम गरेका थियौं। त्यो कार्यक्रम आसामका बाड् पीडितहरूका निम्ति आसामकै कलाकारहरूसित मिलेर कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रममा आफ्ना गीतहरू प्रस्तुत गर्ने अवसर प्राप्त भएको थियो। त्यो कार्यक्रम मेरो निम्ति सँधै स्मरणीय छ, किनभने त्यहाँ मैले गजल सम्राट गुलाम अलीले गाउनुभएको ‘गाजलु ती ठूला ठूला आँखा, तीर बनी बसे यो दिलैमा...’ प्रस्तुत गरेको थिएँ।’
यसरी नै उनी गएको वर्ष मात्रै दिल्लीमा सम्पन्न कार्यक्रमलाई पनि सम्झना गर्छन्। उनी भन्छन्, ‘दिल्लीमा सम्पन्न सो कार्यक्रम योग गुरु रामदेवजीले आयोजन गर्नुभएको थियो। सिक्किमका दुई गायिका रेमन्ती राई र निकिता सिञ्चुरीसँगै सांगीतिक प्रस्तुति दिएको सो कार्यक्रम मेरो निम्ति यादगार बनेको छ’ उनी भन्छन्, ‘मैले नाम बिर्सिएँ तर कार्यक्रममा सिक्किमका मुख्यमन्त्री पवन चामलिङका छोरा मुख्य अतिथि हुनुहुन्थ्यो।’
गीत-संगीतमा रहेको उनको रुचीलाई उनलाई पारिवारिक पक्षबाट भने विशेष उनकी काइली दिदीले धेरै सहयोग गरेकी उनी बताउँछन्। ‘एल्बमको जमर्कोको कुरा गर्नुहुँदैथियो, संगीत क्षेत्रमा आगामी योजना के छ त?’ भन्ने मेरो प्रश्‍नको जवाबमा उनी भन्छन्, ‘अहिले एउटा भिडियो एल्बमको तयारीमा छु। मेरा श्रोता तथा दर्शकहरूले चाँडै नै ‘निर्मोही’ भिडियो एल्बम पाउनुहुनेछ। आगामी योजना भने पनि जो भने पनि अहिले त्यसैको तयारीमा छु। आगामी योजनाभन्दा पनि अहिले यही काममा लागिपरेको छु।’
आफ्नो सिर्जना, आफ्नो रचना सबैलाई उत्तिकै प्यारो लाग्नेहुन्छ। तरैपनि कुनै एउटालाई सम्झनुपरे उनी भन्छन्, ‘मलाई मन पर्ने गीतहरूमध्ये एउटा हो गएको वर्ष मात्रै रेकर्डिङ भएको तिम्रो माया नपाउने ठाउँमा म अब बस्दिन, जान्छु कतै अन्तैतिर यो गाउँमा म अब बस्दिन...। उनको मनको तहबाटै छुने यो गीतका शब्दकार हुन उनकै आदरणीय गुरुवर सुरेशकुमार। गायक सुरेशकुमारबाहेक थुप्देन भोटिया, महेश सेवा, सोनु राई, डोमा शेर्पा, कर्ण दास उनका मनपर्दा गायकहरू हुन्। यद्यपि, ‘अहिलेका गीतहरू पहिलेका झैं हुँदैनन् जो बजारमा आउँछ, हिट हुन्छ र फेरि हराइहाल्छ’ भन्ने कुरामा उनी कुनै प्रकारको टिप्पणी गर्न नचाहे पनि ‘सबैको आफ्नो-आफ्नै विचार, आफ्नो-आफ्नै कला हुन्छ’ भन्छन्।
आफ्ना श्रोताहरूका लागि उनी भन्छन्, ‘म यति भन्न चाहन्छु कि हामी गीताङ्गेहरूलाई तपाईंहरूको माया, उत्साहको धेरै खाँचो हुन्छ। सानो होस या ठूलो, स्पूर्ण गोर्खे कलाकारहरूलाई हिम्मत अनि सहायता  दिने काम गरिदिनुहोला। आजसम्म मैले कतिपय कारण आफ्नो एउटा नीजि एल्बम निकाल्न अथवा आफ्नो कलालाई पूर्ण रूप दिन पाएको छुइन। तर म चाहन्छु हाम्रा आउने साना-साना भाइ-बहिनीहरूले तपाईंहरूको माया, सहाता, साथ, उत्साह, प्रेरणा सबै पाउन्।-अर्जुन यावा
-(21 जनवरी 2017-को समय दैनिकमा प्रकाशित)