Tuesday, April 19, 2011

समय
== अर्जुन चामलिङ "यावा"
धेरै दिनपछि आज गान्तोक आइपुगेको छु म। सचिवालय पुगेर झरें। एमजी मार्गमा बसेर रमिता हेरिबस्न मन लाग्यो। रमिता नै भनौं मानिसहरूको ओहोर-दोहोर अनि व्यस्तता। हामी गाउँ-घरको उकाली ओह्रालीमा भुलिनेहरू, घरिघरि गान्तोक आउ-जाउ गर्नेहरूको मुखबाट मात्र गान्तोक शहरको सुन्दरताका कुराहरू सुन्न पाइन्छ। हेर्न त कहिलेकाहीं मात्र आइपुगिन्छ। त्यही कहिलेकहींको एउटा दिन आज पनि भएको छ। माथिबाट झर्दा स्टार सिनेमा हल छेउ हुँदैआएको, औधी रमाइलो लाग्यो। सॉंच्चै रमाइलो भएछ गान्तोक शहर। स्टार सिनेमा हल अगाडिदेखि टाइटनिक पार्कसम्म नै भुइँमा टायल्स लगाइएको देखें। टाइटनिक पार्कमा पनि टायल्स लगाइएको रहेछ, कत्ति रमाइलो। महात्मा गान्घीको मूर्ति वरिपरि पनि राम्रा-राम्रा फूलहरू रहेछन्‌, माझमा पानीको फोहरामा देशी विदेशी पर्यटक फोटो खिँचाउनमा तल्लीन छन्‌। चारैतिर मानिसहरू व्यस्त देखिन्छन्‌। आ-आफ्नो धुनमा कहॉं र किन हो कुन्नि त्यसरी दगुरिरहेका छन्‌? एकप्रकार आनन्द लाग्दोरहेछ, लागिरहेछ रमिता हेर्न। काशः यस्तै खुशी हाम्रो गाउँ-घरमा पनि भइदिए! हाम्रो गाउँ-घरमा कहॉं यस्तो हुन्छ र! एका बिहानै घॉंस काट्‌नु जानुपर्छ। पानी-झरी भन्नसम्म पाइएन। चिसो ठिही होस्‌ कि टण्टलापुर घाम, घॉंस दाउरामा जानैपऱ्यो, बारीको कामम गर्नैपऱ्यो। भोक-तिर्खा केही भन्न पाइँदैन। तर पनि एक प्रकारको रमाइलो हुन्छ गाउँमा। यहॉं त यतिबिध्न मान्छेहरू छन्‌ तर सबै आ-आफ्नै व्यस्ततामा छन्‌ सबै।
यतिबेला म यहॉं राखिएको आराम कुर्सीमा बसेर रमिता हेरिबसेको छु। अचानक बिहान घरबाट निस्कॅंदाको कुरा झल्यॉंस्स सम्झनामा आयो।
घरबाट निस्केको मात्र थिएँ, खोला पारिबाट गाडी आउँदै गरेको देखें। घर माथिको सडकमा आइपुग्दा झण्डै दश मिनट त लाग्छ नै। पक्कै पनि गान्तोक गएको हुनुपर्छ, सम्झेर सामान्यभन्दा अलिकति तीव्र गतिमा उक्कालो लागें। गान्तोक आउने गाडी हाम्रो गाउँबाट त्यति नपाइने हुनाले त्यो गाडी भेट्‌नैपर्ने थियो मैले।
सडक पुग्न पॉंच-छ कदम मात्रै थियो, गाडीले छोडिहाल्यो मलाई। लाग्यो, पल्लो गोलाई घुमेर आउँदा त माथिल्लो सडकमा पक्कै पनि भेट्‌छु। स्वॉं -स्वॉं तानिरहेेको स्वास रोकेर फेरि अझै उक्कालो लागें।
पेशाले शिक्षक मान्छे म। अलिअलि हिँड्‌ने बानी त छॅंदैछ। तर त्यसरी दौडिने बानी विद्यार्थी जीवनसितै छोडिसकेको थिएँ। यसै त विद्यार्थी जीवनमा पनि धेरजसो समय पढाइमा नै बित्थ्यो। सधैं क्लासमा प्रथम आउने होडको दौडबाजीमा कहॉं त्यस्तो ध्यान दिन पनि सकियो र! एक असल डक्टर बन्ने लक्ष्य राखेर कलेजसम्मको अध्ययन पूरा गरें। सपना तर कहॉं सबै पूरा हुँदारहेछन्‌ र? म डाक्टर त बन्न सकिन, तर एक असल शिक्षक हुनसकें। त्योभन्दा पनि ठूलो कुरा आफै पढेको सकूलमा आफैलाई पढाउने शिक्षकहरूसॅंगै नानीहरूलाई पढाउन पुगेको छु। म त डक्टर भइन तर गाउँका नानीहरूलाई बनाउने सपना मभित्र बसेको छ।
उक्कालो स्वॉं-स्वॉं स्वास फेर्दै दगुर्दा गाडी नभेटे पनि अन्तिम आशा थियो अर्को गोलाइमा घुमेर आउँदा त पक्कै भेट्‌छु भन्ने। सॉंच्चै गाडी-भन्दा तीस सेकेण्ड जति छिट्टै पुगें।
"अरे जीवन साथी! कता हिँड्‌नु भयो?' विनोद रहेछ। गाडी रोकेर प्रश्न गऱ्यो, मैले पनि चाहेको त्यही थिएँ। हो, त्यही विनोद सानोमा मसितै पढेको त हो। सम्झॅंदा पनि आङ सिरिङ्‌ग हुन्छ। साह्रै बद्‌माश थियो। क्लास क्याप्टन बनाउनु भएको थियो राधिका गुरुमाले। निहुँ केही चाहिँदैनथ्यो उसलाई साथीहरूको पिटाइ गर्न।
"बजार हिँडेको। तलैदेखि तपाईंको गाडी देखेर दगुरेको झण्डै भेटिएन। फेरि अरू गाडी आज पाइन्छ जस्तो छैन। तपाईं गान्तोकतिरै जानुहुँदैछ भने मलाई पनि लिफ्ट दिनुहुन्छ कि भनेर नि...।' मैले एकै स्वासमा भनिदिएँ। मनमा कता-कता अप्ठ्यारो लागिरहेको पनि थियो, तर उपाय केही नै थिएन।
"अरे, बस्नोस्‌ न। म गान्तोक नै गएको। पार्टी अफिसमा यूथ मिटिङ छ, त्यसैले जॉंदैछु।'
म गाडीमा पसें। यतिबिला पो थाहा पाएँ, अघि उक्कालो दौडाइको बेला झण्डै कुलोमा पसिएको थिइयो। देब्रे खुट्टामा पेण्ट त हिलोले सप्पै बिगारेछ। फेरि सडक बीचको खाल्डोको पानी जुत्ताभित्र पनि पसेछ, थाहै पाइएन। जे होस्‌ गाडी पाएकोमा ढुक्कै भएँ कम्सेकम आजको काम त हुनेभयो। बाटो राम्रो नभए पनि स्कर्पियोमा चढ्‌नु आरामै हुँदोरहेछ। तीन घण्टा नभई मलाई गान्तोक उतारिदियो उसले। यतिबेलासम्म अघिको पेण्टमा लागेको हिलो सुकिसकेछ, रुमाल निकालेर पुछें अनि आफ्नो कामतिर लागें। उ भन्दै थियो, भरे अलिक ढिलो हुन्छ होला तर पनि जानुभन्दा अगाडी एकपल्ट फोन गर्नुहोस्‌ ल। मिलेछ भने सॅंगै जाऊँ न।
यो एमजी मार्गमा आएर नबसेको सॉंच्चै धेरै भएछ। पहिला आउँदा त नारायणदाससम्म मात्रै टायल्स लगाइएको थियो, हेर अहिले पल्लो छेउसम्म नै पुऱ्याएको रहेछ। सरकारले सिक्किमलाई स्वीजरल्याण्ड बनाउँछु भन्थ्यो, सॉंच्चै कति रमाइलो भएछ। हाम्रो गॉंउ-घरमा पनि यस्तै रमाइलो भइदिए! हाम्रो स्कूल जाने बाटो त झन्‌ कहिल्यै राम्रो भएन। पोहोर बल्ल-बल्ल बनाएको पनि सबै भलले बगाइदियो। तर गाउँको त के कुरा पनि गर्नु र गान्तोककै पनि त सडकहरू सबै खाल्डै-खाल्डा भइसकेको रहेछ। यो भल-बाढी त गाउँमा मात्रै पो सम्झेको, शहरमा पनि त्यही त रहेछ।
"अरे जीवन साथी, के सोचिरहनु भएको?' के-के सोचिरहेको थिएँ, उही विनोद आइपुगेछ।
"जाऊँ कफी पिउन।' मैले पहिलो प्रश्नको जवाफ दिएकै थिइन, कफी पिउने प्रस्ताव आयो। अस्वीकार कसरी गर्ने र मैले? सिधै अर्थडक्समा पुगेर कफीसितै पर्क-चाउमिन पनि मगायो उसैले।
म मनमनै सोचिरहेथें आठौं श्रेणीमा तीनपल्ट फेल भएर पढ्‌न नपाउँदा हेडसरसित झगडा गरेर निस्किएको मान्छेको रवाफ आज यस्तो छ। गाउँ घरमा सबैले इज्जत तै गर्छ। गाडीमा गाडी, बिल्डिङमा बिल्डिङ, पैसा-रुपियॉंमा त्यतिकै सम्पन्न।
कफी र चाउमिन सिध्याएर हामी झऱ्यौं एमजी मार्गमै।
"कति काम छ तपाईंको?' सोध्यो उसैले।
"छैन, सकियो अघि नै।' छोटो उत्तर दिएँ।
"मेरो पनि काम केही छैन! उसो भए जाऊँ होइन?'
"जाऊँ।' मैले भने, अनि उसको पछि लागें। एमजी मार्ग सिधै तेर्सिएर नारायणदास पुग्यौं अनि ठाडो लाइन ओह्रालो लाग्यौं। डेञ्जोङ सिनेमा छेउबाट अघि बढ्यौं। यहॉं अहिले पुरानो लालबजार छैन। त्यहॉं कञ्चनजङ्‌घा शपिङ कम्प्लेक्स छ। कञ्चनजङ्‌घा शपिङ कम्प्लेक्सको भुइँतलामा राखिएको उसको गाडीमा हामी दुवै पस्यौं।
यहॉं पनि पार्किङको समस्या भएकोले ट्याक्सी चालक सङ्‌गठनले केही दिनअघि मात्रै त हो यहॉं निजी वाहन नराखिदिइयोस्‌ भनेर सरकारसित माग राखेको समाचार पत्रमा पढेको थिएँ।
यतिबेला म मनमनै सोचिरहेको थिएँ, पढेरै मात्र जीवनमा कहॉं सफल भइँदो रहेछ र! नभए बिहानै त्यसरी किन दौडिनुपर्ने थियो। गान्तोक आउँदैपछि यसरी उकालो कुद्‌नुपर्ने थिएन। खै त मैले पढेको, के भयो र? मनमनै आफैसित प्रश्न गरें।
दुइ वर्षपछिको कुरा, म नानीहरूलाई ट्यूशन पढाउनमा व्यस्त थिएँ। पारिबाट एक हुल युवाहरू कराउँदै आइरहेका थिए।
हाम्रो नेता जिन्दाबाद- जिन्दाबाद, जिन्दाबाद!
विनोद तिमी नडराउ-नडराउ, नडराउ!
गरीबको नेता आयो है-आयो है, आयो है!
आज खै कुन चाहिँ पार्टीको टिकट बॉंड्‌ने भन्दै थियो, सायद विनोदले पनि पाएछ। युवाहरूले लगाएको नाराबाट प्रष्टै बुझिँदै थियो।
युवा समूह नारा लगाउँदै मेरै घरमा आइपुगेछ। अगाडि-अगाडि विनोद, पछि पछि समर्थकहरू रहेछन्‌। म दैलोमा निस्केको मात्र थिएँ, हातमा खदा लिएर "लहै साथी! तपाइँहरूको साथ चाहिएको छ। सहयोग गर्नुपर्छ है।' भन्दै आइपुगेछउही विनोद साथी। हुलबाट एकजना अगाडि निस्किएर बोल्न थाल्यो, प्रकाश भाइ रहेछ। भन्दै थियो, "लु है जीवन दाज्यू! यसपालि हामीले राम्रो नेता पाएका छौं, ढलफल हुनुभएन है। विनोद सरलाई सघाउनुपर्छ है।'
हिजो अस्तिसम्म "त्यो विनोद' भन्नेले आज "विनोद सर' भनेको सुन्दा छक्कै परें म। तर केही पनि भनिन।
रात-दिन विनोद सरको घरमा युवाहरूको धुइरो लागेको छ भन्ने खबर सबैले ल्याउँछन्‌। नयॉं किनेको स्कर्पियोमा गान्तोकबाट चामल, सब्जी, मासु, रम, बियर ओसार्न फुर्सद छैन भन्दै थियो हिजो परको धनवीरले। प्रेमराजले पनि यसपालि त विनोद सरले जित्ने नै रहेछ भन्दै थियो। आफूलाई भने नानीहरूलाई पढाउनबाट फुर्सदै छैन।
"जिन्दाबाद-जिन्दाबाद'-को नारा लगाएको झण्डै एक महिना दिन भएजस्तो लाग्छ, चुनाउ पनि सकियो। चुनाउसितै विनोद सरको ढिकुटी पनि रित्तियो। तर यो कुरा विनोद सरबाहेक अरूलाई सायद थाहा छैन। नयॉं स्कर्पियो पनि गाउँको हिलो र खाल्डा-खुल्डी भएको बाटोमा चलाउँदा-चलाउँदा ग्यारेज पुऱ्याएको छ भन्ने सुनेको थिएँ। जग्गा-जमीन पनि सबै चुनाउले नै खाइदियो, दुइ वर्षअघि बनाएको घर र बाउ-बाजेले बनाइराखेको पुरानो घरबारी छोडेर सबै सकियो भन्दै थिए गाउँकाहरू। तर पनि ढुक्कै छ विनोद सर दुइ-चार वर्षमा फर्काइहाल्छु भन्ने सोचेर सायद।
आज र भोलि भन्दा-भन्दै चुनाउ परिणाम पनि आयो। विनोद सर बेलुका कतिबेला घर आइपुग्यो सायद कसैले थाहा पाएनन्‌ गाउँमा। मैले पनि थाहै पाइन, सोधखोज पनि गरिन। दिउँसो स्कूल जानु-आउनु, बिहान-बेलुका नानीहरूलाई ट्यूशन पढाउनुको व्यस्तताले कहिल्यै फुर्सद पाइँदैन। पढाउन भ्याउँदिन भन्दासम्म अभिभावकहरू घरैमा आएर पढाइदिनैपर्छ भन्छन्‌। सक्दिन भन्दा पनि गाउँबाट अब यी केटाकेटीहरू कहॉं जावोस्‌ त भन्छन्‌। आफूलाई भने खानेसम्म फुर्सद छैन, तर पनि पढाउनै पऱ्यो। गाउँकाहरू मात्र नभएर कहॉं-कहॉंकाहरू पनि आउँछन्‌। फेरि सबैको मायै लाग्छ। आफुले पढाएका नानीहरू कहॉं-कहॉं पुगे, के-के भइसके, तर आफू भने जहींकोे तहीं। तरै पनि खुशी लाग्छ।
झण्डै एक वर्षपछि बाल-दिवसको अवसरमा पारिपट्टिको एउटा निजी पाठशालामा जॉंदै थिएँ। भ्याइ नभ्याइ भए पनि जानैपर्ने। हेड सरले आफै घरमा आएर कसै गरी भए पनि आउनुपर्छ भनेका थिए। ऊ पनि मेरै विद्यार्थी। बाटोमा जॉंदै थिएँ, उही विनोद सर भेटाएँ, मेरो पुरानो साथी।
"अरे! धेरैपछि भेट भइयो, कता हिँड्‌नु भयो साथी?' प्रश्न गऱ्यो उसैले।
"पर भिजन एकाडमीसम्म जॉंदैछु, तपाईं नि?' जवाफसॅंगै प्रश्न राखें।
"सानो काम थियोत्यसैले पल्लो गाउँसम्म जॉंदैछु। ल त साथी गएँ है' भन्दै अघि बढ्यो पनि। पर... सम्म हेरिपठाएँ, बिचरा निक्कै कमजोर भएछ।
त्यसपछि भने धेरै भइसक्यो भेट भएको छैन, खबर पनि केही छैन। सायद कतैतिर व्यस्त होला।
आजभोलि हाम्रो गाउँ यस्तै भएको छ, कसैलाई कसैको खबरै हुदैन। सबैलाई आ-आफ्नो व्यस्तता छ। गाउँको कुरा गाउँमै थाहा हुँदैन, बरू शहरतिर पुगिहालियो भने चिनेकाहरूले सुनाउँछन्‌। सायद समयले सबैलाई ब्यस्त बनाएको छ।
*****

No comments:

Post a Comment