नेपाली समालोचना र समालोचनाको चरण
-अर्जुन राई
कुनै वस्तुलाई त्यसको चारैतिरबाट हेरेर त्यसको गुणदोष छुट्याउने काम भन्ने अर्थ बुझाउने "समालोचना' शब्द संस्कृतबाट आएर नेपालीमा प्रचलित भएको तत्सम वर्गको शब्द हो। यो शब्द पचवटा शब्दांशहरू हुने सम्+आ+लोच्+अन्+आ। यस शब्दको व्युत्पतिगत अर्थ हुन् सम्यक प्रकारले सबैतिरबाट हेर्ने काम।
जहिलेदेखि यस जगतमा मानिसको विकास हुँदैआएको छ, केही न केही कार्य अवश्य गर्दै आइरहेकै छन्। त्यही कार्य तथा यस जीवन जगतका वस्तुको गुण दोष देखाउने र छुट्याउने काम पनि भइरहेछ। जब कुनै कार्य हुन्छ त्यसको मूल्याङ्कन पनि अवश्य हुन्छ। अत: समालोचनाले त्यही राम्रो नराम्रो पक्षलाई केलाउने कार्य गरेको बुझिन्छ। नेपाली साहित्यका समालोचक र समालोचनामा नरेन्द्रराज प्रसाई लेख्छन्- यस जीवन जगतका हरेक कुराको समालोचना गर्नसकिने भए पनि साहित्यिक कृति र कृतिकार गुणदोषको व्याख्या विवेचना र मूल्याङ्कन गर्ने विशेष किसिमको विधालाई नै समालोचना शब्दले बुझाउने गरेको छ।
"समीक्षा' विवेचना, आलोचना, मूल्याङ्कन, पर्यालोचना जस्ता शब्दहरू पनि पर्यायवाचिक रूपमा प्रयोगमा यदाकदा आएको भेटिने भए पनि समालोचना शब्द नै बढी प्रसिद्ध रहेको छ, जसले साहित्यका वस्तुपक्ष र रूपको विवेचना र मूल्याङ्कन गर्ने अनि साहित्यकारका सफलता र विफलता तथा वैदिकतालाई केलाउँछ। नेपाली समालोचना साहित्यका रामकृष्ण शर्माको "योगदान' नामक कृतिको आधारमा डा. शान्ति छेत्रीको शब्दमा भन्नु पर्दा - "लेखक र पाठकको बौद्धिक जमातको सक्रिय परिणाम नै समालोचना साहित्यको निर्माण हो।'
नेपाली साहित्यका माध्यमिक काल वि. सं. 1940-74 -मा आएर मात्र नेपाली समालोचनाका विकासक्रमको थालनी वि. सं. 1948 -मा दरबार हाई स्कूलमा कक्षा दशमा अध्ययनरत मोतीराम भट्टद्वारा लिखित भानुभक्तसम्बन्धी जीवनी पुस्तकबाट भएको थाहा लाग्छ। मोतीराम भट्टको त्यही जीवनीदेखि नै नेपाली साहित्यका समालोचनाको प्रारम्भिक प्रयास प्रकट भएको बताउँछन् नरेन्द्रराज प्रसाईं।
"कवि भानुभक्त आचार्यको जीवन चरित्र' नामक मोतीराम भट्टद्वारा लिखित एवं प्रकाशित कृतिबाट द्वार खोलिएको समालोचनाले वि. सं. 1948 देखि थालेको विकासक्रमको यात्रामा आजसम्म (वि. सं. 2063 सम्म) 116 वर्ष पूरा गरिसकेको भए पनि नेपाली साहित्यको विचारमध्ये सबैभन्दा कान्छो विधा मानिन्छ समालोचनालाई।
नेपाली समालोचना साहित्यको विकासक्रमका चरण विभाजन, नेपाली साहित्यको काल विभाजनमा मतैक्य नदेखिएझैं नभए तापनि केही मत भिन्न त रहेकै देखिन्छ। तथापि, समालोचनालाई चार चरणमा विभाजन गरेको पाइन्छ जो निम्नानुसार छ :-
डा. शान्ति छेत्रीले आफ्नो ग्रन्थ "नेपाली समालोचना साहित्यमा रामकृष्ण शर्माको योगदान' -मा समालोचनाको विकासक्रमलाई चार चरणमा यसरी विभाजन गरेको पाइन्छ -
(क) पहिलो चरण सं 1948 देखि 1998 सम्म
(ख) दोस्रो चरण सं 1999 देखि 2007 सम्म
(ग) तेस्रो चरण सं 2008 देखि 2019 सम्म र
(घ) चौथो चरण सं 2020 देखि हालसम्म।
यसरी डा. शान्ति छेत्रीअनुसार विभाजित चार चरणमा हामी ढुक्कै बस्न पनि सक्दैनौं। त्यसर्थ अर्कोतिर नरेन्द्रराज प्रसाईलाई सं 2000 मा प्रकाशित आफ्नो ग्रन्थ "नेपाली साहित्यका समालोचक र समालोचना'-मा हेर्दा डा. शान्ति छेत्रीसॅंग मतैक्य देखिँदैन। श्री प्रसाईंअनुसार विभाजित चार चरण यस प्रकार छ -
(क) पहिलो चरण वि. सं. 1948 देखि 1998 सम्म
(ख) दोस्रो चरण 1999 देखि 2005 सम्म
(ग) तेस्रो चरण वि. सं. 2006 देखि 2024 सम्म र
(घ) चौथो चरण वि. सं. 2025 देखि हालसम्म।
समालोचनाको चरण विभाजनमा डा. शान्ति छेत्री र नरेन्द्रराज प्रसाईलाई पहिलो चरणमा मात्रै एकमत पाइन्छ। यता नरेन्द्रराज प्रसाईको सोही ग्रन्थको भूमिकामा महादेव अवस्थीलाई पनि श्री प्रसाईंसॅंग नै मत भिन्नमा रहेको भेटिन्छ।
महादेव अवस्थी अनुसार विभाजित समालोचनाको विकासक्रम चरण यस प्रकार पाइन्छ -
(क) प्रथम चरण वि. सं. 1948 देखि 1998 सम्म
(ख) दोस्रो चरण वि. सं. 1999 देखि 2005 सम्म
(ग) तेस्रो चरण वि. सं. 2006 देखि 2022 सम्म र
(घ) चौथो चरण 2023 देखि हालसम्म।
यसरी भिन्न भिन्नै विद्वानहरूका भिन्न भिन्नै चरण विभाजित मत पाइए तापिन समालोचनाको विकासक्रमको आरम्भ गर्न मोतीराम भट्टबाट भएको कुरा नकार्न कसैले सकेको पाइएको छैन। तथापि समालोचनाको विकासक्रमलाई सबैले नै चारै चरणमा नै विभाजन गरेको भए तापनि यसको ठोस प्रमाणिक निष्कर्षमा पुग्नलाई भने अझ खोज तथा अनुसन्धानको विषय नै रहेको छ। ऐलेलाई भने नरेन्द्रराज प्रसाईको सहजताको लागि यसरी हेर्न सकिन्छ।
(क) प्रथम चरण वि. सं. 1948 देखि 1998 सम्म
(ख) दोस्रो चरण वि. सं. 1999 देखि 2005 सम्म
(ग) तेस्रो चरण वि. सं. 2006 देखि 2024 सम्म
(घ) चौथो चरण वि. सं. 2025 देखि हालसम्म।
नेपाली समालोचनाको प्रथम चरण (वि. सं. 1948-1998)
संवत 1948-सालदेखि 1998 सम्मको काललाई समालोचनाको पहिलो चरण मानिएको छ। यस चरणका पहिलो समालोचक मोतीराम भट्ट हुन्। आफ्नो परम्पराको विकासक्रमका प्राच्य र प्रतिप्राच्यको प्रथम सङ्गम बनेका मोतीरामले "जनता नै देश हो, जनताको जीवन नै साहित्यको मूल हो' भन्ने कुरालाई बुझेर भानुभक्तको जीवन चरित्र लेखेका हुनाले उनलाई प्रथम समालोचक मानिएको कुरा डा. शान्ति छेत्रीको मत रहेको पाइन्छ। वि. सं. 1923 -मा जन्मेका भट्ट सानै उमेरदेखि तीव्र बुद्धिका थिए अनि स्वदेशप्रेमी थिए। भट्ट नेपाली साहित्यको एउटा प्रवर्तक हुन्, पथदर्शक हुन्। उनले नेपाली साहित्य जगतमा थोरै समयमा धेरै काम गरे अर्थात् सेवा पुऱ्याएर अद्वितीय योगदान दिएका छन्। वि. सं. 1953 -मा अल्पायुमै यस संसारबाट दिवंगत भएका मोतीराम भट्ट नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा थिए, जसले "मोतीराम युग' स्थापित गरिदिए। भट्टले नेपाली साहित्य जगतमा करीब 15 वर्ष काम गरे अनि यस अवधिमा 25 वटा जति कृति जन्माए। तीमध्ये -
1. मनोदवेगप्रवाह (कविता संग्रह 1942 तिर)
2. गजेन्द्रमोक्ष (काव्य 1944 तिर)
3. शकुन्तला (नाटक 1944 तिर)
4. सङ्गीत चन्द्रोदय (केही गजल 1944 तिर) इत्यादि।
बहुप्रतिभाशाली मोतीराम भट्ट जीवनीकार, समालोचक, अन्वेषक, कवि, गजलकार, गायक, नाटककार, निर्देशक, सम्पादक आदिका रूपमा चिनिन्छन्।
प्रथम चरण अर्का सशक्त व्यक्तित्व हुन् सूर्यविक्रम ज्ञवाली। संवत 1955 जेठ 29 गते काशीमा पिता तिलविक्रम र माता पार्वती देवी ज्ञवालीका कोखमा एउटै सुपुत्रको रूपमा जन्मेका सूर्यविक्रम ज्ञवाली नेपाली समालोचनाको पहिलो चरणका एक प्रभाववादी समालोचक थिए। यी सानैदेखि नेपाली भाषा, साहित्य र इतिहास भनेपछि मरिमेट्थे। बनारसमा शिक्षा दिक्षामा हुर्केका ज्ञवालीले त्यह करीब 16 वर्षको हुँदा "गोर्खाली' (सन् 1915 मा) र "जन्मभूमि' (1922 मा) दुइ पत्रिकाको सम्पादन गरे। पछि दार्जीलिङमा धरणीधर कोइराला र पारसमणि प्रधानसॅंग भेट भयो र यी तीनजनाले सुधपा जस्ता गहकिलो संस्थाको स्थापना गरेका थिए। सूर्यविक्रम ज्ञवालीको नेपाली समालोचना, जीवनी, निबन्ध, इतिहास र संस्कृतिका क्षेत्रमा अत्यन्तै ठूलो लगानी छ। साहित्यका विभिन्न विधाहरूमा असिम योगदान पुऱ्याउने ज्ञवाली वि. सं. 2004 मङसिर 16 गते काठमाडौंमा स्वर्गीय भएर गए।
यसरीनै समालोचनाको पहिलो चरणका समालोचकहरू हुन् रामणि आ. दी. (वि. सं. 1939-2028)। उनी नेपाली समालोचनाको पहिला चरणका एक उल्लेखनीय प्रतिभा हुन्। पूर्वीय कविता सिद्धान्तबाट प्रभावित भइ लेखेको उनको "कविता रीति' लेख वि. सं. 1965 मा "माधवी' -मा आफ्नै सम्पादनमा निस्केको थियो। वास्तवमा भन्नु पर्दा नरेन्द्रराज प्रसाईको शब्दमा यसो भन्न सकिन्छ - "यस कालमा समालोचनाको प्रारम्भ मात्रै भयोभन्दा अनुपयुक्त हुँदैन। यस चरणमा प्राय: जीवनीपरक समीक्षा बढ़ी देखिए।'
नेपाली समालोचनाको दोस्रो वि. सं. 1999-2005
नेपाली समालोचनाको दोस्रो चरण वि. सं. 1999 देखि वि. सं. 2005 सम्मको अवधिलाई भनिएको छ। यस कालका आधिकारिक समालोचनाका रूपमा रामकृष्ण शर्मालाई चिनिन्छ। उनले वैज्ञानिक रूपमा तुलनात्मक दृष्टिकोण अँगाली यस कालको नेपाली समालोचना विधालाई अगाड़ि बढ़ाएका छन्।
रामकृष्ण शर्माको जन्म वि. स. 1978 -मा बर्माको मचीना शहरमा भएको थियो। बर्मामा जन्मे पनि शर्माको वाल्यवस्था भारतमा बित्यो। भारतको दार्जीलिङस्थित कालिम्बोङलाई आफ्नो कर्म थलो बनाए। सवंत 1999 ता "शारदा' मा "अंग्रेजी साहित्यको प्रभाव' लेख पहिलोपल्ट प्रथम लेखस्वरूप छापिएको बढ़ी झुकाव राख्ने शर्माको लेखकीय व्यक्तित्वलाई मुख्यता तीन धारामा विभाजित गर्न सकिन्छ।
1. समालोचकीय व्यक्तित्व
2. काव्यात्मक व्यक्तित्व र
3. निबन्धात्मक व्यक्तित्व
उनी लेखक, कवि मात्र नभएर समालोचक तथा कुशल सम्पादकका रूपमा पनि चिनिन्छन्।
रामकृष्ण शर्माको प्रकाशित ग्रन्थको केही नमूनाहरू यस प्रकार छन् - सप्त शारदीय (2024), दस गोर्खा (2026), टेबल गफ नौ बैठक (2028), भावालु मेरो मन (2031) इत्यादि। नेपाली साहित्यमा मरिमेट्ने शर्मा नेपाली समालोचनालाई सगरमाथामा पुऱ्याउने यात्रामा अघि बढ़दा बढ़दै 2043 मा स्वर्गीय भए। उनको परिचय दिन परे समालोचक नरेन्द्रराज प्रसाई यसो भन्छन् - "नेपाली साहित्यका समालोचक र समालोचना'मा छोटकरीमा भन्ने हो भने उनी नेपाली समालोचनाका शंकराचार्य मानिन्छन्।
रामकृष्ण शर्मापछि दोस्रो चरणका अर्का समालोचनक हुन् रत्नध्वज जोशी। रामकृष्ण शर्माले नेपाली समालोचनालाई उपलब्धिको शिखरमा उभ्याएका थिए भने रत्नध्वज जोशीको प्रवेशपछि त्यसको छन्द र अलङ्कारको विवरण केलाइयो। त्यसै गरी बाबुराम आचार्य देखा परे, जसले पुराना नेपाली कविताको कालक्रमिक अध्ययन गर्दै समालोचनाको मूल्याङ्कन गरेका थिए। श्री आचार्य स्वयं स्रष्टा थिए। उनलाई नेपाली समालोचनाको प्रथण ऐतिहासिक समालोचक पनि मानिन्छ। सं. 1944 चैतमा काठमाडौंको गौचरमा जन्मेका आचार्यका बाबु धर्मदत्त उपाध्याय एक अध्यापक थिए। बाबुराम आचार्यले धेरै कृति जन्माए, साहित्य लेखे जसमध्ये "पुराना कवि र कविता' (2003) उनको गहिरो अनुसन्धानको परिणाम मान्न सकिन्छ। त्यसरीनै "हाम्रो नेपाल' (2012) र अन्य धेरै रचनाहरू पाइन्छ। आफ्नो कार्यमा जुट्ता-जुट्तै बाबुराम आचार्य 2029 सालमा स्वर्गीय भए। वास्तवमा बाबुराम आचार्यको नेपालमा जति देन छ त्यो प्राय: इतिहासमा नै छ अर्थात् "इतिहास निर्माणका लागि उनी एउटा सिङ्गो संस्था नै हुन्' भन्ने राय विद्वानहरूको छ।
नेपाली समालोचनाको क्षेत्रमा भगमग्दुर टेवा दिने अन्य समालोचकहरू धेरै नै देखिन्छन्। यो दोस्रो चरणमा जसमध्ये केही समालोचकहरू यस प्रकार छन् - हृदयचन्द्र सिंह प्रधान, यदुनाथ खनाल, माधवलाल कर्माचार्य, लक्ष्मी प्रसाद देवकोटा इत्यादि।
नेपाली समालोचनाको तेस्रो चरण विं. सं. 2006-2024
नेपाली समालोचनाको तेस्रो चरण 2006 देखि 2024 सम्म मानिएको छ। यस कालको नेतृत्व दिने प्रमुख समालोचकहरू हुन् बालचन्द्र शर्मा, इश्वर बराल। यी दुवै समीक्षकहरूले अन्वेषणमा आधारित समालोचमा जोड़ दिएका थिए। यस चरणका दुइ समालोचनामा समीक्षत्मक ढचा बेा बेै भए तापनि निर्णायात्मक समीक्षामा उनीहरूले ख्याति बटुलेका थिए।
यी दुइ समालोचकपछि पनि तेस्रो चरणमा थुप्रै समालोचकहरूको अमूल्य योगदान रहेको पाइन्छ जस्तै राजेश्वर देवकोटा, कमल दीक्षित, राजनारायण प्रधान, यज्ञराज सत्याल, भाइचन्द्र प्रधान, बालकृष्ण पोख्रेल, कृष्णचन्द्रसिंह प्रधान, तारा शर्मा, केशव प्रसाद उपाध्याय आदि जस्ता प्रगतिशील समालोचकहरू पनि यसै चरणमा हस्ताक्षरित पाइन्छ।
नेपाली समालोचनामा तेस्रो चरणका समालोचक इश्वर बरालको जन्म संवत 1980-सालको कार्तिक 9 गते सिराह जिल्लाको बस्तीपुर गाउँमा भएको थियो। स्व. बरालको वास्तविक नाउँ लीलानटेश्वर बराल हो। उनको प्रकाशित कृतिहरू 15 वटा छन् ती मध्ये मुख्य कथाकारहरूका कथाहरूको संग्रह झ्यालबाट 2006, आधनिक कविताहरूको संगालो हिमालचुली 2012, मोहन कोइरालाका कविता 2030, पारिजातका कविता 2030 इत्यादि छन्। स्व. बरालले पच दशकभन्दा बढ़ी समय नेपाली भाषा साहित्य संस्कृति इतिहास राजनीतिज्ञ विषयमा अधिक लेख नेपाली, अंग्रेजी र हिन्दी भाषामा लेखेका छन्। अंग्रेजी साहित्यमा एमे तथा पृथ्वीनारायण शाहका दिव्य उपगेसमा संवत 2021 मा बेलायतबाट पीएचडीसम्म गरेका बरालले आफ्नो साहित्यिक यात्रा कविताबाट गरेको थाहा लागेको विद्वानहरूको भनाइ छ। स्व. बरालको साहित्यिक योगदानबारे भन्नुपर्दा उनको एक्लो प्रयासले नेपाल राजकीय प्रज्ञाप्रिष्ठानलाई पनि उछिने र साझा प्रकाशनलाई पनि जिते भन्छन् नरेन्द्रराज प्रसाई। वास्तवमा भन्नु परे उनी नेपाली वाङ्मय संसारका एक श्रद्वेय आदरणीय र अमर विभूति बने।
यस चरणको अर्को समालोचक हुन् कृष्ण चन्द्रसिंह प्रधान। उनको जन्मको नाउँ गोविन्दप्रसाद प्रधान थियो। श्री प्रधानले जन्मले नेपाली साहित्यको समालोचना र निबन्ध विधा धेरै धनी भएको पाउँछौं। वि. सं. 1982 -मा जन्मेका श्री प्रधानले स्कूल गएर विद्या हासिल गर्न सकेनन्। पारिवारिक समस्याको कारण तथापि स्वध्ययन र मेहनत तथा लगनशिलताको कारण विद्यालयमात्र नभएर कलेजसम्म प्राध्यापन पनि गर्न सक्षम भए। उनको कृतिहरू "भञ्ज्यानिरै' (2008 कविता संग्रह) बाट शुरू भएको थाहा पाइन्छ। उनको एउटा उच्चस्तरीय समालोचनात्मक ग्रन्थ हो साझा समालोचना जो 2005 सालमा प्रकाशित भएको थियो।
नेपाली समालोचनाको चौथो चरण वि. सं. 2025 देखि हालसम्म
नेपाली समालोचना साहित्यको चौथो तथा हालसम्मको अन्तिम चरण 2025 देखि हालसम्मलाई भनिन्छ। यस चरणमा समालोचना विद्याको अत्याधिक विकास भएको छ साथै प्रभाववादी वैज्ञानिक र नौलो परम्परा कायम भएको पनि पाइन्छ। यस चरणमा आएर कृतिको संरचनालाई विशेष महत्व दिँदै तुलनात्मक समीक्षाको दिशालाई फराकिलो पनि भएको अर्थात् पारिएको पाइन्छ। चौथो चरणको समालोचना विशेष गरेर 2025 सालदेखि वस्तुगत रूपमा अगाड़ि बढ़ेको देखिन्छ। यसै चरणले नेपाली समालोचनालाई निक्कै गहन आजस्वी र जिम्मेवार बनाएको छ। विधाले विधागत संकलनको रूपमा साझा समालोचना पाएको छ।
चौथो चरणका प्रसिद्ध भएका समालोचकहरू हुन् - इन्द्रबहादुर राई, गोविन्द भट्ट, ठाकुर पराजुली, मोहनराज शर्मा, वासुदेव त्रिपाठी, घट्टराज भट्टराई, दयाराम श्रेष्ठ आदि।
वर्तमान नेपाली साहित्यका एक महारथी डा. इन्द्रबहादुर राई, दार्जीलिङको बालसनमा वि. सं. 1984 माघ 17 गते पिता रणवीर राई तथा माता हस्तमाया राईका जेष्ठ सुपुत्रका रूपमा जन्मेका थिए। उनको समालोचनाको पहिलो संग्रह हो "टिपेको टिप्पणीहरू' (1966 ई)। यसरी नै नेपाली उपन्यासका इत्यादि गरेर जम्मा सातवटा समालोचना ग्रन्थहरू प्रकाशित छन् भने "आज रमिता छ' उपन्यास, "विपना कतिपय' (2018), "कथास्था' (1972) र "कठपुतलीको मन' (1989) तीन कथासंग्रह प्रकाशित छन्। यीबाहेक उनको निबन्ध संग्रह पनि प्रकाशित छ "सामाजिक पहाड़ र खोला'।
इन्द्रबहादुर राईले नेपाली भाषालाई भारतको संवैधानिक भाषामा घोषणा गराउन शुरुदेखि घुँड़ो र मुन्टो गरेर आन्दोलन चलाएका थिए। श्री राई नै तेस्रो आयामेली आन्दोलनको नेत्रित्य गरेका थिए, जसमा श्री राईका साथ ईश्वर बल्लभ र बैरागी काइँला पनि थिए। यतिमात्र होइन साहित्यमा लिलालेखनको प्रवेशद्वार पनि उनैले खोलेका थिए। यसरी नेपाली साहित्यकै आद्वितीय साधक इन्द्रबहादुर राई नेपाली समालोचनाको चौथो चरणको र कहिले नअस्ताउने एक व्यक्तित्व मान्न सकिन्छ। उनको विषयमा त यह जति लेखेनी थोरै नै हुन्छ। यसरी नेपाली साहित्यका सबैभन्दा कान्छो विधा समालोचनाले वि. सं. 1948 देखि मात्र आरम्भ भएर छोटो अवधिमा आशातीत विकास गरेको पाइन्छ।
(हाम्रो प्रजाशक्ति-2005)
*
No comments:
Post a Comment