Friday, April 22, 2011

थमन नौबागका दुइ कृति संक्षिप्त अध्ययन -अर्जुन राई

थमन नौबागका दुइ कृति संक्षिप्त अध्ययन -अर्जुन राई
परिचयः
सिक्किमेली नेपाली साहित्य जगतमा कथा र नाटक दुवै विधामा उत्तीकै सफलता प्राप्त गरी ख्याति कमाउने साहित्यकारहरूकोलहरमा थमन नौबागको नाम पनि टिप्न सकिन्छ। भन्नै हो भने नाटक क्षेत्रमा यहॉं थोरै मात्र कलम चलाइएका छन्‌ अथवा यसो भनौं कलमकारहरूको सङ्‌ख्या नै थोरै भेटिन्छ। त्यहि थोरै सङ्‌ख्यभित्र परेको नाउ हो थमन नौबाग। 31 अगष्ट 1958 आरिटार पूर्व सिक्किम निवासी माता श्रीमती शारदा नौबाग अनि पिता स्व. रविलाल नौबागको कोखबाट जन्म लिएका थमन नौबाग सिक्किम सरकारको प्रहरी बिभागमा कार्यरत छन्‌। साहित्य र संस्कृति भनेपछि मरिमेट्‌ने नौबागले 1980 को दशकदेखि नै आफ्नो कलम चलाएको पाइन्छ। उनलाई कथा र नाटक क्षेत्रमा मुख्य रुपले कलम चलाएको पाइन्छ। कथाकार र नाटककार कै रुपमा उनी चिनिन्छन्‌। नौबागले वर्ष 2000 मै "कलङ्क' नाटक सङ्‌ग्रह नेपाली साहित्यलाई चढाइसकेका छन्‌। 2008 पुनः दुइवटा कृति हामीलाई प्राप्त छन्‌ "प्रमाण बिनाको मान्छे' र "विकृतिको अन्त्य'जस्लाई यहॉं संक्षिप्त रुपमा हेरिनेछ।
प्रमाण बिनाको मान्छेः
सहज, सरल र साना-साना विषयहरूलाई पनि चटक्कै टिपेर कथाको विषय-वस्तुमा बुन्ने सिक्किमेली कथाकार थमन नौबागको कथा सङ्‌ग्रह "प्रमाण बिनाको मान्छे' भित्रका कथाहरू पनि उनका अन्य कथा तथा नाटकहरूझैं खुबै सरल र हाम्रै वरिपरिका घटनाहरूझैं लाग्छन्‌।
कथा घटनाहरूको त्यो तारतम्य हो जसले कुनै परिणामसम्म पुऱ्याउँछ भन्छन्‌ अङ्‌ग्रेजी साहित्यकार फास्टर। यता भारतीय साहित्यकारहरूलाई हेर्नुपर्दा भगवती प्रसाद बाजपेयीले कथालाई परिभाषित गर्ने क्रममा यसले जीवनको स्थिति विशेषतया रागात्मकता चित्रण गर्दछ भनेको पाइन्छ। नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाले कथा एउटा सानो किस्सा हो, एउटा सानो झ्याल हो जहॉंबाट संसार चियाउन सकिन्छ भनेका छन्‌। कथालाई परिभाषित गर्नुपर्दा यसरी विद्वानहरूलाई आ-आफ्नै मतमा भेटाउन सकिन्छ। जे होस्‌, कथालाई हामी मनोरञ्जनकै साधनमात्र नमानेर यसमा घटनाहरू पनि पाउन सक्छौं, कथाभित्र कथाकारको कथाकारिता, लेखन कला, भावना र सामाजिक चित्रणका साथमा केही न केही सन्देश पनि टिप्ने गर्छौं, केही न केही शिक्षार्जन पनि गर्छौं। समाजमा भइरहेका विकृति, दुराचार, दुष्पपरिणामलाई निर्मूल पारी एक सभ्य, र शिक्षित तथा विकसित समाज एवं राष्ट्र निर्माणमा टेवा पुऱ्याउन सधैं सहयोग पुऱ्याउने ज्ञानका कुराहरू सिक्छौं-भेट्‌छौं। भनिन्छ, साहित्य समाजको दर्पण हो। उसो भए त "कथा' पनि साहित्यभित्रै पर्ने अथवा साहित्यका विभिन्न विधाभित्र पर्ने भएकोले कथाले राम्रा-नराम्रा दुवै कुरालाई उद्धृत गर्ने भयो। तर यतिबेला हामीले कथाबाट सधैं नराम्रा कुराको परिणाम नराम्रै र राम्रा कुराको परिणाम फलदायकै हुन्छ भन्ने कुरा कथाभित्रबाट खुट्याउन सक्नुपर्छ।
"यो समाज त्यही समाज हो जुन समाजमा आफ्नो वरिपरि तल... देखि माथि अनि दायॉंदेखि बॉंयासम्मको जग्गा जमीन मेरो भन्न पाउँथे,' भन्थे हाम्रा बाजेबोज्यूले। तर आज त्यही समाजमा कति परिवर्तन आएको छ, कति सॉंगुरिएको छ? त्यो त हामी स्वयंले देखिरहेका छौं अनि आजको यही समाजमा भइरहेका क्रिया-कलाप, घटना दुर्घटनालाई चित्रित गर्दै कथाकार थमन नौबाग अहिले उभिसकेका छन्‌ कथा सङ्‌ग्रह प्रमाण बिनाको मान्छे हात-हातमा थमाएर।
नाटककारका रूपमा प्रसिद्धि कमाइसकेका थमन नौबागद्वारा प्रकाशित नाटक सङ्‌ग्रह "विकृतिको अन्त्य' हिजैमात्र भने हुन्छ हामीले पाएको। यसरी एकै वर्षभित्र दुइ भिन्ना-भिन्नै विधाका दुइ ठूल-ठूला कृति समाजलाई थमाउनु जोसुकैको लागि सम्भव छैन। सॉंच्चै भाषा साहित्यप्रति आन्तरिक मायाको आवश्यकता पर्छ, भावनाको भण्डार र कलाकारिताको खॉंचो पर्छ। त्यसै त साहित्य कहॉं जन्मिन्छ र?
कथाकार नौबागभित्र पनि यी सम्पूर्ण आवश्यक कुराहरू लुकेका छन्‌, जो यसरी हामीले कृतिगत एक मूर्त रूपमा पाउनसकेका छौं।
उनको नाटक सङ्‌ग्रह "विकृतिको अन्त्य' ले जसरी समाजमा भइरहेका विकृतिलाई निर्मूल पार्ने प्रयास गरेकोे छ, सॉंच्चै उनको कथा सङ्‌ग्रह "प्रमाण बिनाको मान्छे' भित्रका कथाहरूमा आफ्नो गाउँ, समाज, देशभित्रै भइरहेका कुकार्यप्रति कथाकारको मन जलेको छ। कथाकारलाई हरेक कथामा गरीब, निमुखा, असहायप्रति दुखेको छ।
हामी जहॉं, जुन समाजमा बस्छौं आज आफ्ना पिता पुर्खादेखिको आफ्नै माटोमा, आफ्नै देशमा बसिआएका भए पनि हामीले समाजलाई प्रमाण दिनसक्नुपर्छ, म यो देशको नागरिक हुँ, यही देशको रैथाने हुँ। मेरो बाउ-बाजे यही जन्मे यहीं मरेका हुन्‌, म पनि यहीं जन्में अनि मलाई कसैले प्रवासी भन्न सक्दैन भन्न हामी सक्दैनौं। यही कुरालाई औंल्याएका छन्‌, श्री नौबागले सङ्‌ग्रहकै प्रतिनिधि तथा पहिलो कथा "प्रमाण बिनाको मान्छे' मा। यसै कथामार्फत कथाकारले आजको समाजमा बॉंच्नका निम्ति शिक्षाको आवश्यकता कति छ? अशिक्षितहरू आजको शिक्षित भनाउँदा व्याभिचार समाजबाट कसरी उभिन्छन्‌। यदि वैध रूपमा रहे पनि कानूनले उसलाई बचाउनसम्म पछि सर्न बाध्य रहने यसै कथाका पात्र "बूढा' र "अधिकारी' बीचको वार्ताले छर्लङ्ग पारेको छ।
हाम्रो समाजमा विशेष गरी अहिले देखा परेको समस्या हो ड्रग्स तथा नशालु पदार्थको ओसार-पसार, जसले हाम्रो समाज आतङ्कित छ। यस घटनाले पनि हुनसक्छ कथाकार स्वयं एक पुलिस अधिकारी भएकाले धेरै पीडित छन्‌। यस्ता कुराले कथाकारको मन धेरै पोलेको छ। यतिमात्र होइन यस्ता समाजमा हाम्रा चेली बेटीलाई बॉंच्नसम्म नदिनेहरू पनि विशेष शहर बजारमा धेरै छन्‌। यद्यपि, यदि समाजमा असल विचार र असल भावना भएकाहरूको पनि अनिकाल छैन भन्ने सन्देश पाउँछौं कथा "मितबाबुको संरक्षाणमा' भित्र।
हाम्रो जाति सधैं परोपकारी हुन्छ। अरूको दुखमा आफूलाई सहभागी गराउँछन्‌। अरूको दुखमा आफूलाई सहभागी गराउँछन्‌। अरूको ज्यान बचाउन आफ्नै ज्यान दिन पनि पछि सर्दैन। हामी आफै गरीब भए पनि मनका गरीब छैनौं। हाम्रो यही मनले यो समाजको उन्नति चाहन्छ यो समाजलाई जोगाउन चाहन्छ। यही कुरालाई "रगतको मूल्य' कथामा मन्त्रीकी धनी छोरी गौरी, एक गरीब परिवारको छोरी गोविन्द, उनको पिता र मन्त्रीबीचको व्यवहारद्वारा कथाकारले देखाएको पाइन्छ भने "संसार सानो र गोलो छ' भन्ने उक्ति पनि कथामा चरितार्थ छ। भनिन्छ, आफू भलो त जगत भलो। कथाका नायक गोविन्दका पिताले करीब 15 वर्षअघि गरेको रक्तदानले गर्दा आम मानिसमाथि अञ्जानैमा दुर्व्यवहार गरिरहेका गौरीका पिताको मनमा परिवर्तन ल्याउँछ, विचारमा सुधार ल्याउँछ कथा रगतको मूल्यमा। यस कथाबाट कथाकार नौबागले जातीय एकताको सुधार गर्नु पर्ने आवश्यक बोध गराउदै जातपातको भेदभावलाई निर्मूल पार्नु पनर्ने सन्देश दिन चाहेको पनि बुझिन्छ। यसरी समाज निर्माणमा दोहोऱ्याउन चाहेको भेट्‌छौं कथाकार नौबागलाई हामी। जसरी कथाकार शिवकुमार राईले ग्राम्य जीवनको चित्रण गरेको पाइन्छ, त्यसरी नै नौबागका कथाहरूमा गरीब निमुखालाई मूल नायकका रूपमा टिपिएको पाइन्छ। समग्रमा कथा वस्तु, विषयक्रम, कथाका उद्देश्यहरूको आधारमा कथाकारलाई सफल देखिन्छ। समाजमा व्याप्त विसङ्गतिको विरोध र समाजको समग्र विकास अनि सामाजिक समान्ता ल्याउनु नै कथाकार नौबागको कथागत विशेषता हुन्‌ भन्न सकिन्छ।

विकृतिको अन्त्यः
जातापातको भेद मेटाउँ,
विग्रह आपसमा नर्फिजाउँ।
गर प्यार एकार्कासॅंग,
गर सत्कार एकार्कासॅंग।
प्रेमले सबैलाई गला लगाउँ,
जातपातको भेद हटाउ।
यस गीतद्वारा सामाजिक जातपातको भेदभाव र विसङ्गतिको विरोधमा उठ्‌ने तथा त्यसको विनाशको लागि जागरूक गराउन चाहेको प्रस्टै बुझिन्छ। 1913 -देखि 1930 -बीचमा लेडेनलाको अध्यक्षतामा रहेको हि एण्ड चि (अर्थात्‌ हिमालयन एण्ड चिल्ड्रेन्स) एम्यूजमेण्ड एसोसिएशनका कतिपय नाटकहरूमा हुने गीतहरूमध्ये माथि उद्धृताङ्‌श पनि एउटा हो। डा. इन्द्रबहादुर राईअनुसार 1928 -मा नै हि एण्ड चिका नाटकहरूमा पाइने गीतहरूमध्ये यो पनि एउटा हो, जसले विशेष जातीय भेदभावलाई हटाउने आह्वान गरेको छ।
यस्तो भेदभाव अझै पनि हाम्रो गाउँ-घरतिर बॉंचेकै छ। एक्काइसौं शताब्दीमा आइपुगेर पनि आज हामी एक सूत्रमा बॉंधिनसकेका छैनौं। त्यसैले आज हाम्रो समाजले त्यस्ता विकृति र विसङ्गति तथा भेदभावको प्रथालाई निर्मूल पार्दै सामाजिक जनचेतना ल्याउनुपर्छ। यसै कार्यमा साहित्यिक कलमको सहारामा अघि बढ्‌ने एक सिक्किमेली नेपाली साहित्य क्षेत्रको नाटक विधाका एक सुपरिचित हस्तीको नाम हो थमन नौबाग। श्री नौबागद्वारा लिखित धेरै एकाङ्की-पूर्णाङ्की पढिसकेका छौं, सडक नाटकहरू हेरिसकेका छौं अनि सिङ्गो नाटक सङ्‌ग्रह "कलङ्क' वर्ष 2000 -मा नै पाइसकेका छौं। नाटककार नौबाग आज पुनः हामीमाझ उभिएका छन्‌ अर्को नाटक सङ्‌ग्रह "विकृतिको अन्त्य'-को माध्यमद्वारा। यस नाटक सङ्‌ग्रहभित्र जम्मा 29 वटा नाटक परेका छन्‌, जसमा पूर्णाङ्की-एकाङ्की, सडक एवं बाल-एकाङ्की परेका छन्‌। यस सङ्‌ग्रहलाई तीन खण्डमा विभाजित गरिएको छ भने प्रथम खण्डमा नौवटा पूर्णाङ्की, खण्ड दुइमा चारवटा बाल एकाङ्की अनि खण्ड तीनमा 16 वटा एकाङ्की समावेश भएको पाइयो। माथि उल्लेख गरिएका कुराहरूले पनि नाटककार थमन नौबागको नाट्यकारिताको परिचय दिनसक्ला अर्थात यसो भनौं, उनको नाट्यकारिताको सफलताको अनुमान हामी सहजै लगाउन सक्छौं। समस्त कला प्रकारहरूको उपयोग गरी लौकिक कार्य व्यापारलाई अभिनयका माध्यमबाट रङ्गमञ्चमा दृश्यात्मक रूपमा प्रस्तुत गर्ने रचना भएकाले समस्त काव्य विधाहरूमा नाटकलाई श्रेष्ठ रहेको र विश्वकै प्रत्येक देश र समाजमा यो लोकप्रिय रहेको स्वीकारेका छन्‌ डा. केशवप्रसाद उपाध्यायले। यद्यपि, आज हाम्रो समाजमा नाटक लेखन तथा मञ्चनमा व्यापकता नपाइएको अनुभव हाम्रो समाजले गरेको जस्तो लाग्छ, जो दुखको विषय हो। सिक्किमेली साहित्यकारहरूको मात्रै कुरा गर्नुपर्दा नाटक विधालाई समाइराख्नेहरूको नाम औंलामा पनि गन्न सायदै पाइएला। यस्तो स्थितिमा हामीले श्री नौबागको नाम नलिइ नहुने हुन्छ।
पूर्वीय तथा पश्चिमी दुवैतिरका नाटकहरूको यदि अध्ययन गर्नु हो भने धार्मिक अनुष्ठान तथा लोक जीवनसित सम्बन्धित विषयहरू विशेष गरी नृत्य तथा गीतबाट विकसित भएको पाइन्छ। श्री नौबागका नाटकहरूले पनि सामाजिक विषय-वस्तुहरूबाटै उठेर आएको पाइन्छ। सामाजिक अन्धविश्वास, भूत-प्रेत, धनी-गरीबको भेदभाव अर्थात्‌ सम्पन्नता-विपन्नता, अन्याय-अत्याचार, शोषण-दमन इत्यादि विषयहरूलाई टिपेर नाटककारले रचना सिर्जना गरेका छन्‌।
वास्तवमा उनको हिमाली सञ्जीवनी, वासना, दखल, कस्तुरी, तामासा, लठेप्रो छात्र, चेतना, भावना, भरोसा, झगडा जस्ता नाटकहरूको शीर्षकले नै उनका नाटकहरूमा पाइने कथावस्तु, सामाजिकता अर्थात्‌ हाम्रो समाजको वर्णन हामी पाउँछौं। नाटककार आजको परिवेशदेखि पनि वञ्चित रहेका छैनन्‌। अझ यसो भनौं गाउँ-घरतिरै मात्र नअल्झिएर उनी एक फड्‌को हान्दै कम्प्युटर र इण्टरनेटसम्म पुगेका छन्‌। समाजमा तल्लो स्तरका र तल्लो वर्गका मानिसहरू कसरी हेपिन्छन्‌, निम्न तथा उच्चवर्गबीच के-कस्ता भेद पाइन्छन्‌ भन्ने दर्शाउँदै त्यसको निवारणमा साम्यवाद भित्राउन नाटककारले निम्त्याएका छन्‌ "इण्टरनेटका पण्डित' लाई।
"विकृतिको अन्त्य'-भित्र परेका पूर्णाङ्की तथा एकाङ्की नाटकहरूको जति सहज छन्‌, विषय वस्तुहरू त्यति नै सरल रहेको पाइन्छ भाषा प्रयोग, जसले गर्दा पाठकले टाउको दुखाइराख्नुपर्ने कुनै झञ्झट देखिएकै छैन। त्यसै पनि नाटकमा अभिनय-कला मिश्रित हुनाले सरल हुनु आवश्यक अनुभव गरिन्छ। अझै नाटककार नौबागका नाटकहरूमा क्लिष्ट शब्दहरूको प्रयोग नगरी सरल भाषाको प्रयोग भएको हुनाले यस सङ्ग्रहभित्र परेका सबै नाटक बोधगम्य छन्‌। यहि नै उनको नाट्य विशेषता मान्न सकिन्छ।
नेपाली साहित्य परिषद्‌का साहित्य सचिव टी. बी. चन्द्र सुब्बा भन्छन्‌ - "नाट्य-सिर्जनाको अभिन्न अङ्गहरू कथा वस्तु, पात्र-पात्रा संवाद, भाषा-शैली, वातावरण, अन्तर्द्वन्द्व, जीवन दर्शन र कौतुहल इत्यादिको औचित्यपूर्ण प्रयोग साथै ज्ञानबर्द्धक चेतना र उपदेशात्मकता नै श्री नौबागका नाटकीय शिल्प र कलात्मक अभिव्यञ्जना हुन्‌।'
डा. दिवाकर प्रधान भनेका छन्‌ - "विकृतिको अन्त्य भन्नु नै संस्कृतिको उदय हो। सम्यक कृतिका भूषणभूत कृतिलाई संस्कृति भनिन्छ। मानवको प्रकृतिलाई विकृतिबाट बचाएर संस्कृतितिर निर्देशित गर्नु नै नौबागीय नाटकको स्वीकृति हो।'
जन्म र धर्म-कर्म दिने आमा-बाबु अनि पढेर बुझेर नसर्काइ-नतर्काइ क्रिया प्रतिक्रिया गरिदिएर स्वस्थ सुझाउले जॉंगर चलाउन मन भरिदिनेप्रति समर्पित विकृतिको अन्त्यले सॉंच्चै विकृतिहरूको अन्त्य गर्ला, विसङ्गतिलाई निर्मूल पार्ला अहिलेलाई त्यति नै आशा गरौं अनि यस सङ्ग्रहभित्र रहेका सबल सुन्दर र सफलतासॅंगै कमी-कमजोरी कोट्याउने काम गर्न अहिले आवश्यक ठॉंनिन।

* * *

No comments:

Post a Comment