शिवकुमार राई कृत "फ्रण्टियर' भित्रका
कथाहरूमा शहरप्रतिको दृष्टिकोण -अर्जुन राई
कथा साहित्यमा कथाकार शिवकुमार राईको प्रवेश
भारतीय नेपाली कथालाई परिचित गराउने पादरी गङ्गाप्रसाद प्रधानको "गोर्खा खबर' 1909 देखि शुरु भएको पाइन्छ। त्यही गोर्खा संसार 1926 -मा प्रथम मौलिक कथाको प्रकाशन भयो रूपनारायण सिंहको अन्नपूर्ण। आधुनिक नेपाली कथा साहित्यको उत्थान काल 1934-मा काठमाडौंबाट "शारदा' पत्रिकाको प्रकाशनलाई मानिन्छ भने दार्जीलिङको आधुनिक कथाका सूत्रपात गराउने श्रेय 1940-देखि प्रकाशित खोजीलाई दिइन्छ। शिवकुमार राईको कथायात्रा यही शारदाबाट 1944 देखि शुरु भएको पाइन्छ। शारदाको सङ्ख्या 3-4 तथा वर्ष 10-मा पहिलो कथा "प्रकृति पुत्री' प्रकाशित भएपछि अन्य कथाहरू शारदा, उदय, युगवाणी साहित्यस्रोत आदिमा प्रकाशित हुँदै गए। ती प्रकाशित 11 वटा कथाको सॅंगालो प्रकाशित हुन्छ 1951 मा "फ्रण्टियर'।
शहरप्रतिको कथाकार (कथाभित्र)-को दृष्टिकोण
शिवकुमार राई मूलतः सामाजिक कथाकार हुन्। उनका कथाहरूमा विशेषतः नेपाली ग्राम्य जीवनकै चित्रण र वर्णन बढी पाइन्छ। उनका कथाहरूमा शहरीया जीवनशैलीको उति चित्रण पाइँदैन। "फ्रण्टियर' सङ्ग्रहकै सन्दर्भमा हेर्दा "प्रकृति पुत्री' की चम्पा, "माछाको मोल', "रने', स्मृति चिन्हकी "शोभा', "मानिस' की सानी, चामे, "टीका' का धनवीर, लालवीर आदि पात्र-पात्रामा साथै घटना वातावरण पनि ग्राम्य जीवनबाटै टिपिएका पाइन्छन्। यसै सन्दर्भमा डा. इन्द्रबहादुर राईले भनेका छन्, "नेपाली जातीय जीवन गाउँ-बस्तीमै बस्छ, बजारतिर कैले-कैले आउला तर फर्किहाल्छ। यो बोध पाउँछौं उहॉंको नेपाली सामाजिक कथाभित्रका विवरणहरूमा...!'
प्रस्तुत सङ्ग्रहको वक्तव्यमा कथाकार शिवकुमार राई स्वयंले भनेका छन्, "कथाको पृष्ठभूमि कथाका नायक-नायिका खोज्न हामीले हालको परिस्थितिमा धेरै टाढा जानुपर्दैन। खरले छाएको थेप्चे घरभित्र, खेतको कान्लाको छहारीमुन्तिर, तिरतिरे धाराको खेतको वा चप्लेँटी ढुङ्गामाथि, झण्डा डॉंडाको देउराली पल्लोपट्टि औ न्याउली वनको खोलाभित्र हाम्रै नायक-नायिकाहरू लुकी बसेका छन्। साहित्य देवीको मन्दिरमा चढाउने नेपाली फूल पनि हामीसित प्रशस्त छन्। कुटो, कोदालो, खुर्पा, हॅंसियाले पर्वत, पहाड, पहराको चेपचाप कोट्याएर मखमली, बाबरी, मगरकॉंपेका फूलहरू प्रशस्तै पाउँछौं।'
यहॉंबाट पनि कथाकार शिवकुमार राईको झुकाउ शहरभन्दा गाउँप्रति धेरै ढल्किएको देखिन्छ। डा. जीवन नाम्दुङद्वारा सम्पादित "समकालीन नेपाली समालोचना' -को पृष्ठ 41 मा कविता लामाको भनाइ यस्तो छ, उनका कथामा दार्जीलिङ र खरसाङका मानिसहरूको रहन-सहनको विषय चित्रित भएको पाइन्छ। आफ्ना समकालीन कथाकार इन्द्र सुन्दास जस्तै उनी पनि सामाजिक यथार्थवादी कथाकार हुन्।
यसरी शिवकुमार राईका कथाहरू पात्र-पात्राको दृष्टिले मात्र नभएर कुटो, कोदालो, खुर्पा, हॅंसिया, बारीका कान्ला, चप्लेंटी ढुङ्गा आदि शब्दहरूले ग्राम्य मात्र नभएर नेपाली समाज तथा नेपाली जीवनको पनि इङ्गित गरेको अर्थात् त्यसप्रति ढल्किएको देखिन्छ। "तिरतिरे धाराको चप्लेंटी ढुङ्गामाथि, झण्डी डॉंडाको देउराली पल्लोपट्टि कलकले खोलाभित्र हाम्रा नायक-नायिकाहरू लुकिबसेका छन्, खोजी निकाल्ने काम लेख लेखिकाको हो'- राईको यस उक्तिबाट भाषामा पनि ग्राम्य जनजीवनको प्रतिध्वनित हुन्छ।
यद्यपि, उनको कथा सङ्ग्रह फ्रण्टियरका कथाहरूमा शहरीया पात्रहरूको पनि अभाव भने रहेको छैन। "स्मृति चिन्ह' कथाको "म' पात्र, "प्रकृति पुत्री' कथामा "पाहुना', माछाको मोल कथाकी पसल्नी "फ्रण्टियर' कथामा "शलिमा', "याकुब', "नूर आलम' कथामा मलिका - लैला रोशनआरा, अब्दुल्ला, "दिल्लीको सुर्मावाला' कथाका सुरमावालाले शहरीया जीवनको उदाहरण दिएका छन्। उनका यस सङ्ग्रहभित्रका प्रायः कथाहरूमा शहरप्रतिको वितृष्णा, शहरप्रतिको उत्सुकता, शहरको चित्रण तथा शहर र गाउँको तुलनाहरू पनि प्रशस्तै भेटिन्छन्।
फ्रण्टियरभित्रको पहिलो कथा प्रकृति पुत्रीकी चम्पाले पाठकलाई देवकोटाको चारू र वर्डस्वर्थको लुसीको सम्झना गराउँछ। प्रकृतिको काखमा चम्पाको ग्राम्य जीवन शान्त र सुखी थियो। नेपाली समाजमा पश्चिमबाट तथा कथित आएको सभ्यता जस्तै चम्पाको जीवनमा पनि शहरबाट एकजना नौलो युवक आउँछ। प्राकृतिक चरित्रकी चम्पाको अबोधपनामा युवक लोभिन्छ। चम्पालाई फकाउँछ - "चम्पा के तिमीलाई शहर हेर्न मन लाग्दैन?'
कस्तो शहर?
शहरमा जे भने पनि हेर्न पाइन्छ, जे भने पनि खान पाइन्छ इन्द्रकै स्वर्ग भने पनि हुन्छ।
यहॉं चम्पाले शहरप्रतिको उत्सुकता दर्शाएकी छन्। तर फेरि प्रश्न गर्छिन्, यहॉं जस्तो खोला भीर, जङ्गल छ के?
शहरमा कहॉं जङ्गल खोज्छौ? युवकले भन्छ।
उहुँ उसो भए मलाई जाती लाग्दैन। हाम्रै ठाउँ जाती लाग्छ। सानीले भन्छे। यहॉंबाट शहर र गाउँको तुलना, शहरप्रतिको वितृष्णा, गाउँको प्राकृतिकतामा आकर्षित कथाकारले झल्काएका छन्।
अन्त्यमा युवकले सानीलाई फकाएर शहर पुऱ्याउँछ, भगाएर अनि चम्पाले भोग्न परेको कष्ट र पश्चतापको तातो आँसुले उसको जीवन विफल तुल्याउँछ। यसका साथै गाउँले परिवेश तथा वातावरणमा जस्तो प्राकृतिक सौन्दर्य पाइन्छ, जुन आनन्द भेटिन्छ अर्थात् ग्रामीण जीवनमा जुन सुख-शान्तिको अनुभव लिन पाइन्छ त्यो सबै शहरीया जीवनमा पाइँदैन भन्ने कुरालाई खुबै राम्ररी प्रस्तुत गर्दै शहरप्रतिको कथाकारको दृष्टिकोण निम्न वाक्यहरूले स्पष्ट पारेको पाइन्छ।
चम्पालाई शहर आएदेखि घरभित्रै कुरेर बस्नु परेको छ। बाटा धूलाले ढाकिएका छन्, दिन रात मोटर र गाडीहरूको तॉंत चलिरहेछ, चोथाले स्वाभावकी स्त्रीहरूले मुख छिचरो गरेर एकार्कालाई गाली दिइरहेछन्। शान्ति कहीं छैन। जुन दिन चम्पाले घर छोडेकी थिई त्यसै दिन चम्पाले शान्तिको शवलाई दफन गरेर बाटो लागेकी थिई। शिवकुमार राईको साहित्यिक सिद्धान्त अर्थात् कथाका कथावस्तु पूर्वीय बस्ती हुँदी नै छन् पश्चिमी शहरतिर पुगेका छैनन् उनका कथाका विषय वस्तुहरू।
यसरी नै "स्मृति चिन्ह'-मा कथाकार प्रथम पुरुष "म' पात्राको रूपमा रहेर ग्राम्य र शहरीय जीवनलाई तुलनात्मक दृष्टिले हेर्दै शहरप्रतिको दृष्टिकोणलाई खुबै कलात्मक ढङ्गमा प्रस्तुत गरेका छन्। उनी यसरी लेख्छन् - "म शहरीया ईवन र ग्राम्य जीवनको पहेली हल गर्नमा तल्लीन थिएँ। मेरो मन शहरका विशाल अट्टालिका, ठूला-ठूला सडक, बढे-बढे कारखाना चहार्न पुग्थ्यो। मन कारखानाको चीमनीबाट निस्केको धूवॉंको मुश्लोसित भित्र पस्न पुग्दा निस्सासिन्थ्यो, विशाल अट्टालिका मुखमा गएर छोप्न खोज्थ्यो। धूलाले भरिएका सडकहरू, मानिसको घुइँचो, मोटर-रेल र अरू गाडीहरूको आवाज चोर-दुष्ट र पाखण्डीहरूको अड्डा औ ती इँट र चूनले बनिएका रङ महलहरू इत्यादिको थुप्रो हो शहर।'
उनी ग्राम्य जीवन शान्त औ स्वतन्त्र देख्छन्। शहरको रङ्गीचङ्गीदेखि दूर छल-छाम, राग-द्वेषदेखि टाढा ग्राम्य जीवन छ सुखमय र शान्तिमय। कथाकार लेख्छन् - ""स्वतन्त्र वायुमा पालिएका हली-कोदाले दाजु-भाइ औ तिनीहरूका हृष्टपुष्ट नानीहरू प्रकृतिको तालीममा बढेका, बाहिर बाख्राका पाठा सॅंगसॅंगै उफ्रन्छन्, खेल्छन्। म प्रकृतिको मुटुभित्र चालै नपाई सुटुक्क पस्न लागिरहेथें। शहर मेरो निम्ति मैलो, धमिलो टाढा हुनलाग्यो।' यसरी कथाकार राईले एकातिर ग्राम्य जीवनलाई सरल, प्राकृतिक, उन्मुक्त, उदार, निश्चल तथा पवित्र स्वभाव भएको देखाएका छन् भने अर्कोतिर शहरीया जीवनलाई कृतिम, कप्टी तथा धूर्त स्वभावको देखाएका छन्। शहरका मानिसहरूको ढोङ्गी तथा बोक्रेपनाको परिचय स्मृति चिन्ह कथाकी पात्रा बूढीले भनेको यस वाक्यबाट पाउन सकिन्छ "तिमीहरू शहरका मानिस केही चीज लिएर हिँड्न लाज मान्छौ। समयमा यस्तै दुःख पाइन्छ।'
"माछाको मोल' को मुख्य पात्र रनेले गाउँबाट शहरमा माछा लगेर बेच्छ। माछाको मोल आठ आना शेर। सॉंझमा फर्किंदा एउटी पसल्नी स्वास्नी मानिसको दोकानमा पस्छ। सेल, आलुको तरकारी, चिया आदि राखिदिएर सोध्छिन् - "माछा पनि दिउँ कि?'
कसरी? रनेले सोध्छ।
उत्तरमा "दुइआना गोटा।' ती स्वास्नी मानिसको यस्तो उत्तरले रने अत्तालिन्छ। त्यो स्वास्नी मानिसले फेरि भन्छे - हैन, यही माछा त हुटेलमा पुग्नसाथ आठ आना टुक्रा भइहाल्छ, दुइआना कसरी बेसी भयो र?
यसरी गाउँबाट शहरसम्म पुग्दाको माछाको मोलमा आएको भिन्नताबाट कथाकार राईले गाउँलेहरूको दुःख-कष्टले शहरीयाहरूले कसरी फाइदा उठाउँछन्। अर्थात् कसरी ठग्छन् भन्ने कुरालाई सहज ढङ्गले देखाएका छन्। जति सोझा, सरल र निमुखा हुन्छन् गाउँले त्यति नै बाठा, चनाखा र चाप्लुइँयुक्त हुन्छन् शहरीयाहरू भन्ने यस कथाका "रने' र पसल्नी स्वास्नी मानिस अर्थात् युवतीको वार्तालापबाटै दर्शाएको पनि पाइन्छ।
"मानिस' कथामा शिवकुमार राईले हाम्रो समाजमा अझै पनि पाइने जातीयताको भेदभावलाई राम्ररी केलाएर देखाउन सफल रहेका छन्। यस कथाकी पात्रा "सानी' बाहुनकी छोरी अनि चामे तल्लो जातको छोरो। आपस्तमा प्रेम गरेर पनि विवाह गर्न समाजले छेकाबार लाउँदा अन्त्यमा भगाएर मधेश लान्छ चामेले सानीलाई। ग्राम्य जीवन तथा प्रकृतिमा हुर्केकी सानी मधेश (शहर) -मा स्वस्थ रहन सक्दिन। अर्थात् कथाकारले यहीं पनि गाउँलाई शहरसॅंग तुलना गर्दै शहरको वातावरणको दूषितपनालाई औंल्याएका छन्- "सानीलाई हेऱ्यो एउटा प्रकृतिको सुन्दर फूल...। पहाडको फूल मधेशको हावा लाग्नसाथ ओइलाउन लाग्यो। हावा-पानीकै बिखेद पऱ्यो चामेले बुझ्न सकेन।'
गाउँ-घरमा एकातिर शान्तमय वातावरण, कलकल बग्ने खोला-नाला, पहाड-पर्वतमा मन हर्षित रहन्छ भने ठीक विपरीत हुन्छ शहरमा। कथाकार राईले "नूर आलम' कथामा शहरको भयावह वातावरण, परिवेशलाई यसरी देखाएका छन् - "मानिसहरू तलवार ढाल, कटार लिएर यता-उति दर्गुनलागे। हेर्दा-हेर्दै तलबार म्यानबाट निस्के। सारा दिल्लीका मानिसहरू शत्रुमाथि जाइलागे। रगतको खोलो बग्न लाग्यो।'
यसरी नै "दिल्लीको सुर्मावाली' कथामा गाउँ-घरका सोझा मानिस कसैलाई ठग्न जान्दैनन्। जति नै शिक्षित-चनाखो भए पनि शहरको छक्का-पञ्जा गर्नेहरूबाट कसरी ठगिन्छन् भन्ने साथै शहरमा कस्ता-कस्ता चोर-चण्डालहरू हुन्छन् भन्ने उदाहरणस्वरूप बस यात्रामा घरि-घरि नानाथरिका सरसामान बेच्न आउने र सुरमा लगाइदिने सुर्मावालालाई कथामा उनले देखाएका छन्।
कथाकार राईका पात्र-पात्राहरूले शहर पसेर सधैं यातना पाएका छन्, दुखमात्र पाएका छन्। प्रकृति पुत्रीकी चम्पा, मानिस कथाका चामे, सानी यसका ज्वलन्त उदाहरण हुन्। माछाको मोलकी युवती पात्रा पनि यसबाट अपवाद रहेकी छैनन्। यसरी अध्ययन अनुशीलन गरेर हेर्दा कथाकार राई ग्राम्य जीवनकै पक्षपाती देखिन्छन्। शहरप्रति उनलाई मोह छैन। उनका कथाहरूमा गाउँले जीवन सरल निश्छल-निष्कपट र नैसर्गिकताको पर्यायका रूपमा हेरिएको पाइन्छ भने शहरलाई यसको ठीक विपरीत तत्वहरूको गुँडको रूपमा आतङ्कित - शोषित रहेको पाइन्छ। उनको दृष्टिमा शहर अमानवीय गुण अथवा मानवीय दुर्गणहरूको केन्द्र हो (प्रकृति पुत्रीकी चम्पा र बूढो, स्मृति चिन्हकी शोभा) आदि जम्मै शहरको धूर्तता छुट्याई र दुष्याइँका शिकार भएका सरल निष्कपट सोझा गाउँले पात्र-पात्रा हुन। धूर्त-पाखण्डी शहरीय पात्र-पात्रालाई उनी कुनै नाउँ दिँदैनन्, परिचय दिँदैनन् र त्यसरी तिनलाई बेनाम छोडिदिएर अनुहारविहीन, आफ्नो परिचयविहीन तथा व्यक्तित्वविहीन तुल्याइदिन्छन्।
(सृष्टिः अङ्क-8 वर्ष-8; सन्-2008)
Friday, April 22, 2011
"फ्रण्टियर' भित्रका कथाहरूमा शहरप्रतिको दृष्टिकोण -अर्जुन राई
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment