Friday, April 22, 2011

इतिहास बोक्न सफल मिथिला चित्रकला

इतिहास बोक्न सफल
मिथिला चित्रकला बचाउने प्रयासमा झा सम्पति
अर्जुन राई
भारतीय चित्रकलाको इतिहासमा एक ऐतिहासिक तथा प्रमुख चित्रकला हो मिथिला चित्रकला। मिथिला चित्र आज भारतमा मात्रै सिमित नरहेर विश्व प्रसिद्ध बन्न गएको बताउछन्‌ बिहार राज्यको मधुबनी जिल्ला निवासी मिथिला चित्रकार विश्वनाथ झा अनि उनकी श्रीमती कामिनी झा। यी दुइ झा दम्पतिले यसघरि आफ्नी पॉंच वर्षीय छोरीको साथमा गान्तोकको लालबजार कञ्चनजङ्घा सपिङ कम्पेल्कमा चलिरहेको गान्धी शिल्प मेलामा मिथिला चित्रकै स्टल राखेका छन्। आफ्ना पॉंच पुस्तादेखि यही चित्रकलालाई नै व्यवसायको रूपमा अप्नाउँदै आएका झाका अहिले 8 सदस्यीय परिवार रहेको बताउँदै सबै सदस्यले यही व्यवसाय अप्नाएर जीविका चलाई रहेको दुई दम्पति बताउँछन्। उनीहरूले राखेको यहॉंको स्टलमा पॉंच रुपियॉंदेखि 16 हजार रुपियॉंसम्मको मिथिला चित्र उपलब्ध छन्। आफ्नी आमा आशादेवी झा यसै चित्रकारिताको निम्ति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत भइसकेको विश्वनाथ झाले बताएका छन्।
मिथिला चित्रको यदि ऐतिहासिक पक्ष हेर्नु हो भने भारतीय संस्कार तथा भूभागको इतिहाससित सम्बन्धित पाइन्छ। मिथिला शब्द सुन्ने बित्तिकै रामायणका मुख्य पात्र जनक दलारी, सीता अनि रामको चरित्रको स्मरण हुन्छ। सीता यसै क्षेत्रकी सुपुत्री हुन्‌ अनि उनैको अर्को नाम हो मिथिला। अहिले नेपालसॅंगको बिहारको सीमा क्षेत्र तथा भूभाग मिथिला क्षेत्रको नामद्वारा चिनिन्छ। यहॉंका मानिसहरूको अढाइ हजार वर्षभन्दा पनि पुरानो आफ्नो भाषा अनि पहिचान छ। यहॉंका महिलाहरूले आफ्नो त्यस समृद्ध परम्परालाई बचाई राखेका छन्‌ जो कला, संस्कार अनि आतिथ्य सत्कारको विषयमा एक मिसाइल सरह रहेको छ। यहॉंका महिलाहरूले आगामी पिँढीलाई यही परम्परा सिकाउने छन्।
मिथिला पेण्टिङ पनि त्यही परम्पराको एक अङ्ग हो जो एकदेखि अर्को पिँढीसम्म हस्तान्तरित हुँदै अहिलेसम्म चली आइरहेको छ अनि आफैलाई लोककलाद्वारा उठाएर एक सम्पूर्ण कलाको रूपमा विश्व मानचित्रमा स्थापित गरिसकेको छ। मिथिलाको विविध संस्कारहरू, अनुष्ठानहरू, चाड-पर्वहरूमा नियमित रूपले यस कलाको प्रयोग हुँदै आएको छ। यस कलाको विषयमा वैदिक कर्मकाण्ड, धर्म, तन्त्र अनि रामायण, महाभारतको प्रशस्त प्रभाव रहेको पाइन्छ। यी चित्रहरू अनुष्ठान एवं चाड-पर्वको समयमा भूइँ साथै पर्खालहरूमा बनाइन्थ्यो भन्ने धेरैको भनाई छ। यसमध्ये अरिपन कमलदह अनि कोहबर प्रमुख रूपले बनाइन्थ्यो। कोहबर विशेष गरी नव दम्पत्तिहरूका लागि बनाइन्छ। कलाकारहरू अनुसार यसमा सम्पूर्ण ब्रह्माण्डको चित्रण हुँदछ जसमा सूर्य, चन्द्र, नौग्रह, जलचर, नभचर वनस्पति, प्रकृति तथा पञ्चतत्व आदि प्रमुख छन्। कोहबरमा प्रयुक्त प्रतीकहरूको आ-आफ्नै अर्थ छन्। जस्तै सूर्य र चन्द्रमा दीर्घ जीवन, बॉंच वंश वृद्धि, कमल नारीको कोमलता, मैना प्रेमको, कछुवा-मिलन, माछा-उर्वरता, हात्ती-घोडा ऐश्वर्य अनि पंक्षी शान्तिका प्रतीक हुन्। स्मरणीय, कलाकारले प्राकृतिक वंश अनि सामग्रीहरूको नै प्रयोग गरेको पाइन्छ। जस्तै, राति फूलहरूको, गेरूआ पलाशको, पहेंलो हर्दीको, हरियो झारपातको अनि कालो लालटिनको मुसो तथा धिप्री बत्तीको धुवा अथवा कोइलाको रङ्ग। कलाकारहरूको भनाई अनुसार हामी सबैले सबैथोक प्रकृतिबाटै लिन्छौं अनि प्रकृतिलाई नै फर्काउँछौं।
नेपाल-भारत (बिहार) को सीमाक्षेत्रमा पर्ने मिथिला क्षेत्रका महिलाहरूले हजारौं वर्षदेखि यस कलाको प्रयोग गर्दै आइरहेको थाहा लागेको छ। यद्यपि, यस कलाको परिचय विश्वमा 30 देखि 35 वर्ष अघि मात्र भएको सर्वमान्य छ। यी महिलाहरूको यो महान्ता नै हो भन्न सकिन्छ, कारण उनीहरूले यस कलालाई आफ्नो सम्पत्ति तथा जातीय पौराणिक कला नमानेर कला र कलाकारको ख्यातिको साथै शीर्ष कलाकारहरूले आफ्नो शैली विकसित गर्ने दाबी गर्दै आ-आफ्नो छुट्टै परिचय बनाएका छन्। मिथिला चित्रकलाको विकास यात्र अति रोचक छ। यस कला र कलाकारसॅंग विश्वलाई परिचय गराउने पहिलो विदेशी थिए विलियम अनि आर्चर। यी दुवै ब्रिटिश नोकर नोकरशाह थिए, जसलाई अङ्‌ग्रेजी हुकुमतको समयमा मधुबनी जिल्लाको जिम्मेवारी सुम्पिइएको थियो। उनीहरूले कागजमा बनाइएका केही चित्र त्यस ठाउँदेखि एकत्र गरी लण्डनस्थित इण्डिया रेकर्ड कार्यालयमा पठाइदिएका थिए जो अहिले ब्रिटिश लाइब्रेरीको प्रमुख अङ्ग भएको छ।
मिथिला चित्रको परिचय विश्वको बाकी भागमा अत्यन्त विषय परिस्थितिमा आएर भयो। वर्ष 1965 -मा परेको खडेरी तथा सुख्खापनाले मधुबनी जिल्लासहित पूरै मिथिला क्षेत्रलाई पूर्णरूपले प्रभाव पारेको थियो। सुख्खापना तथा खडेरीले गर्दा सृजित भुकमारीको सङ्कटबाट बॉंच्ने उपाय खोज्न भारत सरकारले आफ्ना दुत भाष्कर कुलकर्णीलाई त्यहॉं पठाए। त्यहॉं लोककला धेरै समृद्ध भएको देखेपछि उनले त्यहॉंका महिला कलाकारहरूलाई मिथिला चित्र कागजमा बनाएर व्यवसायिक बिक्रीको लागि प्रेरित गरे। तत्कालीन केन्द्रिय मन्त्री ललित नारायण मिश्रले यस प्रक्रियालाई निरन्तरता दिनलाई सक्दो प्रयास गरे। त्यसै समयदेखि यो चित्र त्यहॉंका सयौं परिवारकोलागि मुख्य आयश्रोत बनिआयो। त्यसपछि राय सरकार अनि भारतको सहायताद्वारा यसले ठूलो बजार पाउन सक्यो अनि भयो यसको व्यवसायीकरण। समयसॅंगै यस कलाले भूइँबाट पर्खाल र पर्खालबाट उठेर क्यानभासको सहाराद्वारा सात समुद्र पारिसम्मको यात्रा गरेको पाइन्छ।
यसरी यो कला आज विश्वभरिनै फैलिएको छ। यस विधाका धेरै कलाकारले लोक कलालाई एक सम्पूर्ण कलाको दर्जा तथा महत्व दिँदै सफलताको शिखरसम्म पुऱ्याएका छन्‌। त्यस्ता कलाकारहरूमध्ये गङ्गादेवी, सीतादेवी, जगदम्बा देवी, गोदावरी दत्त, महासुन्दरी देवी, शशिकला देवी, कर्पूरी देवी, शान्ति देवी आदि प्रमुख रहेका छन्‌। उनीहरूमध्ये उत्कृष्टताको लागि गङ्गा देवी, सीता देवी अनि जगदम्बा देवीलाई भारत सरकारले पद्मश्री पुरस्काद्वारा सम्मानित पनि गरिसकेको थाहा पाइन्छ भने विश्वनाथ झा अनुसार आशादेवी झा पनि राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत भइसकेकी छन्। आशा देवीले मिथिला चित्रलाई अझैसम्म व्यवसायको रूपमा अप्नाउँदै आइरहेकी छन् भने दुःखको कुरा गङ्गा, सीता र जगदम्बा अब यस संसारमा छैन। गङ्गा देवी माथि त ज्योतीन्द्र जैनले Ganga Devi Traditional and Expression in MITHILA Painting नामक पुस्तक नै लेखेका छन्। स्मरणीय, उपर्युक्त कलाकारहरूले अमेरिका सहित अन्य धेरै देशको भ्रमण पनि गरिसकेका छन्। यी मध्ये कतिजनासित त शिक्षाको नामै मात्र छ।
कतिपय कलाकारले विलिन स्वरमा स्वीकार्दै भनेका छन्‌, कलाको व्यवसायीकरण क्रममा यसको सम्मानमा कमी आएको छ। आर्थिक सङ्कटको कारण परिवारका सबै सदस्य यसै व्यवसायमा लागि परेका छन्‌। यहॉंसम्म कि, पुरुषहरूले पनि हल गोरूसम्म बेचेर यसै व्यवसायलाई अप्नाएका छन्। फलस्वरूप मानिसहरूले यहॉंको कला-कृतिलाई भारीकोभारी हिसाबमा उठाएर देशका विभिन्न शहरमा पुऱ्याइरहेका छन्। ती मध्ये एउटा शहर हो दिल्ली शहरको "दिल्ली हाट'। कतिपय कलाकारले त पैसा-रुपियॉं कमाउनलाई कलाको नाममा अश्लील कलाकृति पनि बनाउन लागेका छन्। यस बाहेक जीवन शैली अनि विचारमा आइरहेको परिवर्तनका कारण नयॉं पिँढीले यसमा धेरै प्रकारको प्रयोग शुरु गरेका छन्। उदाहरणस्वरूप, प्राकृतिक रङ्गहरूको ठाउँमा रासायनिक रङ्गहरू प्रयोगमा ल्याउन थालेका छन्‌। मूल रूपमा पहिला यस कलाको दुइवटा विधा रहेको पाइन्छ। एउटा लाइट पेण्टिङ अनि अर्को पूर्ण पेण्टिङ अथवा भरिएको। पहिलो विधामा बाहिरी रेखा कोरेर पूर्ण चित्र तयार गरिन्छ भने दोस्रोमा रङ्गहरूले भरेर आकृतिलाई आकार तथा रूप दिइन्छ।
शुरुमा काशस्य अनि ब्राह्मण महिलाहरूले मात्रै यस चित्रको चित्रकारिता गर्थे जसको यहॉं जन्मदेखि लिएर मृत्यसम्म मनुष्यको 16 संस्कार बाहेक चाड, पर्वहरूमा अनिवार्य रूपमा चित्रकारी गरिन्थ्यो। पछि यसलाई जब पूर्ण कलाको दर्जा प्राप्त भयो अनि यसले विदेशसम्म ठाउँ बनायो। त्यसपछि पछौटे जातिका मानिसहरूले पनि यसमा हात लगाउन थाले, जसलाई हरिजन चित्रकला, गोदाना चित्रकला आदिको नाम दिइएको पाइन्छ। यसको फलस्वरूप यस पारम्परिक धरोहरको मूल स्वरूप बिलुप्तिन थाल्यो। यद्यपि, शीर्ष स्थानका केही कलाकारहरूको भनाईअनुसार उनीहरू अझै पनि आफ्नो शर्तमा काम गर्छन्‌ अनि कलाको प्रतिष्ठा बचाईं राख्नलाई सक्दो उपाय गर्नेछन्।

-गान्तोक, 25 मार्च, 2009.

No comments:

Post a Comment