Friday, April 22, 2011

कथाकार 'आँसु'को 'सेतो गुलाफ'- भित्रका कथाहरू -अर्जुन राई

कथाकार कमला आँसु अनि उनको
"सेतो गुलाफ'- भित्रका कथाहरू
-अर्जुन राई
परिचयः कथाकार कमला आँसु भारतीय नेपाली साहित्यको कथा विधामा एक सशक्त लेखिकाका रूपमा परिचित नामभन्दा अनुचित हुन जॉंदैन जस्तो लाग्छ। आफू विद्यार्थी हुँदा नै सन्‌ 1998 मा तादोङ डॉंडा गाउँस्थित उहॉंको वासस्थानमा मेरो पहिलो भेट भएको थियो दिदी मीनु खड्‌काको माध्यमद्वारा। त्यसपछि प्रायः म पुगिरहन्थे उहॉंलाई भेट्‌न। त्यसै वर्ष हो उहॉंका पति श्री विजय बान्तावाद्वारा सम्पादित पत्रिका, "हिमगिरी' साप्ताहिकमा मेरा दुइ कविता "साथी' र "जीवनमा' पहिलोपल्ट प्रकाशित भएको थियो। उहॉंले मसित सधैं प्रत्येकपल्टको भेटमा राम्रा-राम्रा ज्ञानका कुराहरू गर्नुहुने, साहित्य लेखनप्रति प्रोत्साहन दिइरहनु हुने अनि राम्रा-राम्रा पुस्तकहरू पढ्‌न दिनुहुने। यसभन्दा पनि अझ मलाई "छोरा' सम्बोधन गरी एउटा छुट्टै स्थान दिनुभएको थियो, जसले गर्दा गान्तोक आउँदा एकैक्षण भए पनि पस्न मन लाग्थ्यो मलाई।
1970 मा आठौं श्रेणीकी छात्रा छॅंदा "मेरो नासो' शीर्षक कथाबाट आफ्नो कथायात्रा शुरु गर्नुहुने आँसुसॅंग यतिबेलासम्म 1995 मा प्रकाशित "सेतो गुलाफ' एउटै मात्र कथा सङ्‌ग्रह थियो जसमा 25 वटा कथा सङ्‌कलित छन्‌।
त्यसपछि सन्‌ 1999-मा दोस्रो कथा सङ्ग्रह प्रकाशित भयो "ममताको छालभित्र' अनि लगत्तै 2000 मा तेस्रो कथा सङ्‌ग्रह "आफ्नो माटोको सुगन्ध' प्रकाशित भयो। उहॉंको अन्तिम कथा सङ्‌ग्रह "मीमांसा' प्रकाशित हुनलागेको शुभखबर वर्ष 2005 तिरै होला दिनुभएको थियो। तर समय बिस्तारै लम्बिएर गयो। यसैबीच एकपल्ट म पुगेको बेला अलिकति अस्वास्थ्य रहेको बताउनुभएको थियो। यद्यपि, आफैमा स्वास्थ्य हुँदैआएको बताउनु भएकोले त्यस कुरालाई मैले उति गम्भीरतापूर्वक लिइन पनि सायद। अन्ततः 11 मार्च, 2006-मा यस संसारबाट विदा लिनुभयो कमला आँसुले। उहॉंको मृत्युले नेपाली साहित्य जगतमा अलिकति भए पनि शून्याभाष भयो हामी सबैलाई। त्यसै वर्ष बजारमा आँसुको अर्को कथा सङ्‌ग्रह आयो "मीमांसा'।
भारतीय कथा साहित्यलाई एकैक्षण पर सारेर सिक्किमेली नेपाली कथाको सन्दर्भमा कुरा गर्नुपर्दा कथाकार कमला आँसुले 1947 मा "अपतन' साहित्य परिषदबाट शुरु भएको साहित्येतिहासमा ठूलो योगदान पुऱ्याउनुभएको छ। कथा विधाले अगावै विकास गरिसकेको पाइए तापनि यहॉं सशक्त र लगनशील नारी कलमको अभाव देखिएको समय चार-चारवटा कथा सङ्‌ग्रहका साथमा अनेकन फुटकर लेखद्वारा आफ्नो छुट्टै परिचय बनाउन सफल कथाकार कमला आँसुले सिक्किमेली मात्र नभएर भारतीय नेपाली कथा साहित्यलाई नै समृद्ध बनाउनमा पनि ठूलो योगदान दिनुभएको छ।
नारी, नारी समाज, नारी समस्या, उत्पीडन, अन्याय अत्यचार अनि आदर्श र सङ्‌घर्षको घेरोमा मूकदर्शक भई कथा रचना गर्नुहुने कथाकार कमला आँसुलाई सृजन समय 2009- मा डा. शान्ति छेत्रीले सन्‌ 1980-90 को दशकयता मुखरित नारी कलमहरू कमला खप्तावली, इन्दिरा राई, सुधा राई, वीणाश्री खरेल, भक्ति बस्नेत, मीना छेत्री, वसन्ती शर्मा, डा. पुष्पा शर्मा, गीता निरौला, मीना सुब्बा, दीपा राई आदिलाई एउटै हॉंचमा उभ्याउनु भएको पाइन्छ।
यसरी नै "समकालीन साहित्य लेखनमा सिक्किमेली नारीहरूको सहभागिता' नामक लेखमा बलराम पाण्डे लेख्नुहुन्छ, -"आदर्शका कुरा अनि नारीहरूका जीवनमा हुने समस्या र सङ्‌घर्ष नै यिनका धैरैजसो कथाका विषय हुन्‌, जसलाई सरल भाषामा भनिएको छ। साथै जातीय चिन्हारीको भाव पनि यिनमा पाइन्छ। नारी र समाज यिनका कथाका विषय वस्तु हुन्‌।
कमला आँसुको परिचय दिँदै कवयित्री वीणाश्री खरेल 19 मार्च, 2006 को सुनचरी दैनिकमा प्रकाशित आफ्नो लेखमा यसो भन्नुहुन्छ- कहिल्यै पनि मैले उसलाई आक्रोशित देखिन, त्याग र धैर्यको प्रतिरूप थिइन्‌। उनी नारीहरूको पक्षमा बोल्थिन्‌। नैतिकता र आध्यात्मिक लेखहरूप्रति झुकाउ थियो। खोजपूर्ण लेखहरूले समाजलाई झकझकाइ रहिन्‌। लेखनको निरन्तरता बनाइराख्न सक्षम कमला आँसु बिर्सन नसक्ने अध्याय हुन्‌।
नारी समाजले झेलेकै कुरा एउटी नारीले देखेको, अनुभव गरेको कुरा आदि कथाकार आँसुका प्रत्येक कथामै पाइन्छन्‌। हाम्रो समाजमा हामीले देखेका, हाम्रै चेलीहरूले झेलेका, कुराहरू-समस्याहरू स-साना घरेलू हिंसाका विषयलाई पनि कथाकारले टिपेर अघि बढेको पाउन सकिन्छ। हामीले देखेर पनि ख्यालै नगरेका तर महत्वपूर्ण कुराहरू पनि कथामा उनिएका हुन्छन्‌।
आफ्नो पहिलो कथा सङ्‌ग्रह "सेतो गुलाफ' मा आफ्नो कुरामा आँसु भन्नु हुन्छ- "भावनाको पखेटामा उड्‌नलाई नारीहरूलाई विशाल आकाश अनि त्यस्तै परिवेश चाहिन्छ। यस भनाइबाट कथाकारले आफ्नो कथामा भावनालाई प्रदानता दिएको बुझिए पनि समाजको यथार्थ चित्रण उहॉंका कथाहरूमा पाइन्छ।
"सेतो गुलाफ' कथाबाटै कथा सङ्‌ग्रहको नाम दिएर "सेतो गुलाफ' भनी नारीलाई अङ्‌कित गरिएको भए पनि उहॉंले आफूभित्र रहेको नारी वेदनालाई अझ आमाको वेदना भन्न रूचाउनु हुन्छ। त्यसैमा आफ्नो सफलता पनि ठान्नुहुन्छ,अतः उहॉंका कथाहरूमा पनि नारी जीवनका विभिन्न पाटालाई विषय-वस्तुको रूपमा पाउन सकिन्छ। अझ भनौं, नारी जीवन नै उहॉंका कथा विषय हुन्‌।
उहॉंको अन्तिम कथा सङ्ग्रह "मीमांसा' छोडेर रहल तीनैवटा सङ्‌ग्रह महान नारीहरूका नाममा समर्पित छन्‌। आफ्नी आमा र सासू आमालाई समर्पित पहिलो कथा सङ्‌ग्रह "सेतो गुलाफ' भित्रका कथाहरूमा नयॉं प्रयोग, नयॉं शैली, नयॉं विषयहरू नभेटिए पनि हाम्रै गाउँघरका तथा हाम्रै वरिपरिका घटनालाई टिपेर खुबै सरलतापूर्वक प्रस्तुत गर्न उहॉं सफल रहनुभएको छ। देखिएर पनि अदेखा भएका कुराहरू देखाइएका छन्‌, बुझेर पनि नबुझिएका कुरालाई बुझाइएका छन्‌।
कथाहरूमा कतै शिक्षाको अभावमा नारीहरू पीडित छन्‌ भने कतै शिक्षित हुँदाहुँदै पनि पीडित छन्‌ अनिे कतै शिक्षित हुँदाहुँदै शोषित पनि छन्‌ र कतै छोरीले पनि पढ्‌नुपर्छ भन्ने सुझाउ दिनुभएको छ कथाकारले। प्रायश्चित, पिञ्जराको सुगा, मन अन्धा, बैना आदि कथा यसका नमूना मान्न सकिन्छ।
समाजमा रहेका पारम्परिक विश्वास र जीवन दर्शनका कुराहरू पनि सेतो गुलाफभित्रका कथामा पाइन्छन्‌‌‌, जसले धेरै कमी कमजोरीहरू हुँदाहुँदै पनि कथालाई उच्च स्थानमा राख्न सकिने भएका छन्‌।

* सेतो गुलाफभित्रका कथाहरूः-
पच्चीसवटा कथाहरूको सॅंगालो सेतो गुलाफभित्र समाविष्ट पहिलो कथा हो "प्रायश्चित'।
सासू-बुहारीबीचको झगडाले घर अशान्त हुने कुरा हाम्रो समाजमा नयॉं होइन। भानुभक्तले बधुशिक्षा लेखेर हाम्रो समाजमा सासू-बुहारीको झगडालाई धेरै अघि नै देखाइसकिएको भए पनि कमला आँसुले यहॉं बुहारीलाई सही बाटोमा दोहोऱ्याउनु भएको पाइन्छ। आमाप्रतिको छोराको कर्तव्य र श्रीमतीप्रतिको एक पतिको जिम्मेवारी दुवै राम्ररी बुझेको राकेशले विवाह गरेपछि श्रीमतीले आमा छोरालाई छुट्याएकी छन्‌। तर अन्त्यमा आएर आफै नमरी स्वर्ग देखिँदैन भनेजस्तै रजनी स्वयं जब आमा बन्छिन्‌‌‌ अनि मात्रै पति राकेश र उसका आमाबीचको माया ममतालाई अनुभव गर्छिन्‌। त्यसपछि सासू आमालाई बोलाउँछिन्‌। कथाकार आँसु स्वयं एक नारी भएकीले पनि कथामा नारी हृदयलाई व्यक्त गर्न सफल रहेकी छन्‌। प्रायश्चित कथामा एक विवाहित छोराले रजनी जस्ती श्रीमती र आमालाई एउटै घरमा मिलाएर राख्न गाह्रोपर्ने कुरालाई राम्ररी प्रस्तुत गर्नुभएको छ।
कथामा कोलाहलमय, स्वार्थ र व्यस्त शहरभन्दा गाउँघर नै राम्रो हुन्छ। झोपडी नै किन नहोस्‌, त्यहॉं शान्ति पाइन्छ भन्ने कुरा पनि कथाकारले दर्शाउनु भएको छ यसरी-"अब म तिम्रो ससुराले बनाइराखेको पुरानै घरगाउँ जान्छु यता बजारमा दिक्क लाग्यो।'
हाम्रो समाजमा आमाकोभन्दा उच्च र पवित्र स्थाने लिन न त भगवानले नै सक्छ न त अरू कसैले। भलो गर्न चिताउन नसकूँ, सुखमा राख्न नसकूँ तर आमाको आँसु झारेर सुख पाइँदैन भन्ने मान्यता पनि कथामा पाइन्छ। कुनै आमाले आफ्ना सन्तानलाई श्राप कहिल्यै दिँदैनन्‌ तर आमाको आँसु झार्नु श्रापबाहेक के हुन्छ र भन्दै पाठकसमक्ष एउटा गहकिलो प्रश्न तेर्साउनु भएको छ कथाकारले यसरी-"आमाको आँखाबाट झरेको नुनिलो पानी सन्तानका लागि श्राप सिवाय के हुनसक्छ र?'
* फेरि एउटा नयॉं सालः
हामी प्रत्येक वर्ष नयॉं वर्षलाई स्वागत गर्छौं। नयॉं वर्षसितै नयॉं असल कुरालाई अप्नाउने, आफूमा भएका कुलतहरू त्याग्ने अठोट गर्छौं। कथाकारले यही कुरालाई रोचक ढङ्‌गमा उर्तान सफल हुनुभएको देखिन्छ। कथामा कुनै पात्र-पात्रालाई नउभ्याएर स्वयं एक माध्यम बनेर हामी हिजोको दिनमा जे-जस्तै भए पनि आउने दिनको सफल जीवनका निम्ति योजनाबद्ध रहनुपर्ने उपदेश तथा शिक्षा दिनुभएको पाइन्छ पाठकवर्गलाई। प्रकृतिको सरल वर्णनसितै सरल भाषामा लेखिएको कथा फेरि एउटा नयॉं वर्षलाई एक उपदेशात्मक कथाका रूपमा लिनसकिन्छ।
* छोरीको पत्र परदेशी बाबुलाईः
पारिवारिक तथा घरेलू समस्या एवं आवश्यकतालाई पूरा गर्न हाम्रा कतिपय समाजमा अझै पनि पाइने, पल्टन जानुपर्ने बाध्यता र शिक्षाको अभावमा श्रीमतीले पल्टने पतिलाई पत्र लेख्ने, छिमेकीसित गुहार लिनुपर्ने बाध्यता जस्ता कुराबाट कथाकारले हाम्रै गाउँ-घरको घटनालाई टिपेको सहजै स्वीकार्न सकिन्छ। छोरी पढाए बोक्सी हुन्छ भन्ने उखान अथवा भनाइ त्यति पुरानो होइन हाम्रो समाजमा। छोरालाई काखा छोरीलाई पाखा चलन अझै पनि निमिट्यान्न भइसकेको छैन। कहीं न कहीं, केही न केही कुरामा यस्तो भेदभाव पाउन सक्छौं हामी। हाम्रो परम्परा, रीति-रिवाजले पनि छोरा र छोरीलाई बराबरीको अधिकार दिन अझै त सकिहालेको छैन। यद्यपि, आजको युगमा छोरीले पढ्‌नु आवश्यक छ। छोरी शिक्षित नभएसम्म हाम्रो समाज शिक्षित बन्नसक्दैन भन्ने सन्देश कथाकारले दिनुभएको छ यस कथामा। सन्‌ 1995 मा प्रकाशित कथा सङ्‌ग्रहभित्र समाविष्ट यस कथामा पल्टनबाट मासिक घर खर्च तीन रुपियॉं पठाएकोबाट 1970-80 को दशकअघि नै लेखिएको अनुमान लगाउन सकिन्छ।
* सरी ल मैले चालै पाइनः
शहरको तुलनामा गाउँ धेरै स्वच्छ र निर्मल हुँदछ, जहॉंको स्वच्छ परिवेशमा मान्छेको मनले शान्ति पाउँछ। एकातिर गाउँको सफा हावा अनि हरियालीबीच हाम्रो मन मस्तिष्क पनि स्वच्छ रहन्छ, हाम्रो शरीर स्वच्छ रहन्छ भने अर्कातिर शहरको कोलाहलमय परिवेशमा सधैं दुःख बिमारले सताइरहन्छ। यसरी कथाकारले शहर र गाउँबीचको पार्थक्यलाई कथामा सरलतापूर्वक औंल्याउन सफल देखिन्छ भने शहरको व्यस्ताताले जन्माएको स्वार्थपनाको पनि दह्रिलो प्रकारले व्यङ्‌ग्य कस्नु भएको पाइन्छ। गाउँ घरको स्वच्छ परिवेशमा जन्मिएर हुर्किएकी सन्ध्या आफ्नी आमा बिमार हुँदा उपचार गराउन आफू बसेको शहरमा आउँछिन्‌। सन्ध्याकी आमा आफू बिमार भएर धेरै दिनसम्म अस्पतालमा बस्दा पनि छोरी ज्वाइँका छर छिमेक कोही आउँदैनन्‌। मान्छे मान्छेको भीडमा, बजारमा बस्ने छोरी ज्वाइँका छर छिमेक आफूलाई एकैपल्ट हेर्न नआएको अनि पछि आमा गाउँमै गई ठीक भएर आएपछि धेरै दिन नदेखेकोमा प्रश्न गर्दा मात्रै सरी ल मैले त चालै पाइन भनेर टारी दिएकोबाट शहरको यथार्थ चित्रणसितै कथाकारले शहरमा बसेर स्वार्थी बन्नेहरूप्रति व्यङ्‌ग्य गरेको पनि बुझिन्छ। यस कथाकी नायिका सन्ध्यालाई नेपाली छोरी जस्तै आपद विपदमा पनि नआतिने धीर स्वभावका हुन्छन्‌ भन्ने उदाहरणका रूपमा पनि कथाकारले उभ्याउनु भएको छ। त्यसभन्दा पनि कथामा यसरी हाम्रो जीवनमा दिनदिनै घटिरहने तर साना विषयलाई कथामा प्रस्तुत गर्नु कथाकारको अर्को सफलता मान्न सकिन्छ।
* खुल्ला पत्रभित्र पोखिएका गुनासाहरूः
बाल्यकालदेखि अलिकति माथि उठेपछिको चञ्चले स्वभाव तथा चञ्चले उमेरमा कसैलाई स्वच्छ हृदयले मन पराई चोखो माया गर्दाको माया-प्रेम विछोडिएपछि अथवा तोडिएपछिका कुरालाई कथाकारले मुख्य विषय बनाई कथालाई अघि बढाउनुभएको छ। यद्यपि, मान्छेलाई जति नै रुपियॉं पैसा भए पनि कहिल्यै पुग्दैन अनि गरीबको मन जति चोखो, दयालु हुन्छ र सॉंचो अनि स्वच्छ मनले माया लाउँछ, धनी मानिससित उति नै क्रूर, अन्याय-अत्यचार र लोभ लालचले भरिएको मन हुन्छ भन्ने कुरालाई कथाको "ब्याकबोन' को रूपमा राखिएको छ। विशेष दार्जीलिङ भेकमा देखिएको चिया कमानमा कार्यरत श्रमिकमाथि भएको अन्याय-अत्यचार जस्ता कुराहरू कथामा पाइन्छन्‌। यस्तै, आशाको प्रेमी अविनाश स्वयं एक धनाढ्य खान्दानीको छोरो भए पनि कमानमा रहने गरीब निमुखाप्रति अन्याय अत्याचारी प्रवृत्तिको देखिन्छ।
कथाकार कमला आँसुले यस कथामा पैसा रुपियॉं जति नै किन नहोस्‌ तर पैसा रुपियॉंले मात्र मान्छेको समस्या समाधान हुँदैन अनि महलमा बस्नेभन्दा झोपडीमा बस्ने मानिसहरू पवित्र अनि सरल हृदयी हुन्छन्‌ भन्ने कुरालाई पनि दर्शाउनु भएको पाइन्छ। यद्यपि, कथाको शीर्षकले उति सार्थकता पाएको जस्तो लाग्दैन।
* मन अन्धोः
16 वर्षे जवानीमा प्रायः सबै उत्ताउला स्वभावका हुने र कुनै कुरालाई पनि गहन विचार नगरी निर्णय लिने भए पनि यस कथाकी नायिका कल्पनालाई आफ्नो गरीबी र दुःखका अनुभवहरूले पकाएको छ। एक नोकर्नीको रूपमा काम गर्ने कल्पनामा कता-कता चञ्चलेपन भए पनि अर्को ठाउँमा काम गर्न जाने प्रस्ताव राख्दा मालिकले उसैलाई विवाह गर्ने प्रस्ताव राक्छ तर उसले सरासर अस्वीकार गर्छे।
कथाकार कमला आँसुले कथामा नारीको शारीरिक सुन्दरताको वर्णन यसरी गर्नुभएको छ- साधारण सुती वस्त्रमा सजिएकी कल्पना सॉंच्चै 16 वसन्त चढेकी पातलो जीउ, सङ्‌घर्षका धर्साहरूलाई अझ पातालिएको कसिलो सिकुटे जीउ, छॉंटिएको कम्मर। अनुभव र दुःखहरूले खारिएको उ...़।' एउटी नेपाली नारीलाई उसको सुन्दरता बढाउन नक्कल पारिरहने कुनै आवश्यक पर्दैन। उ त्यसै पनि सुन्दर देखिन्छे। यस्ता कुरालाई पनि कथाकारले खुबै सहज ढङ्‌गमा प्रस्तुत गर्नुभएको पाइन्छ।
पुरुष प्रधान कथामा नारीहरूले झेल्नु परेका समस्या तथा नारीप्रतिको पुरुषको अभद्र दृष्टिकोण आदिलाई पनि कथामा दर्शाइएको छ भने नारी पुरुष बराबरीको यस समाजमा नारीहरूले लाचार बन्नु हुँदैन भन्ने साहस पनि कथाकारले दिनुभएको आभाष हुँदछ।
* आमा आउँदिनन्‌‌‌ः
एउटी आमा र कुसङ्‌गतमा परेेको उसको छोराको कथासितै यस कथामा कथाकारले मातृभूमि आमा र उसका सन्तान कस्तो हुनुपर्छ भन्ने कुरा बुझाउनु चाहनुभएको बुझिन्छ। आफ्नो छोरालाई सबै आमाले आफ्नो ज्यानभन्दा माया गर्छन्‌। तर यदि उसले आमाको मन दुःखाए आमा कठोर बन्न पनि सक्छिन्‌ र आफ्नी आमालाई अथवा मातृभूमिलाई लत्याउँछ भने त्यस्ता सन्तानलाई उसले त्याग्न पनि सक्छे। एक विकसित राष्ट्र निर्माणमा खॉंचो पर्ने सन्तान नै देशद्रोही यदि बन्दछ भने आमाको त्यही कोमल हृदय कठोर बन्न समय लाग्दैन भन्ने कुरा कथाकारले दर्शाउनुभएको छ। यसबाट पनि आफ्नो जन्मभूमि, आफ्नो राष्ट्रप्रति कथाकारलाई कति माया छ भन्ने कुराको अनुमान सहजै लगाउन सकिन्छ।
* सागरभित्रको माछाः
तृतीय दृष्टिबिन्दुमा लेखिएको कथा सागरभित्रको माछा आठौं कथा हो सङ्‌ग्रहभित्रको। कथाकी मुख्य नायिका चम्पाको सानै उमेरमा विवाह भएर भोग्न परेको परिस्थिति एवं समस्यालाई कथामा भेटाइन्छ। विवाहपूर्व एउटी नारीले विवाहपछिको जुन सपना देखेकी हुन्छे जस्तो उत्साह बोकेर जान्छे विवाह भएर, पतिको घर जॉंदा ती सबै चकनाचुर भएका छन्‌ कथामा।
मान्छेको जीवन सङ्‌घर्षै सङ्‌घर्षले भरिएको छ। तर पनि आफ्नो कामसित कोही सन्तुष्ट छैनन्‌। चम्पाको पतिको समस्या कहिल्यै पूरा हुन पाउँदैन। उसले सुखभोग गर्न नपाई, सुख पाउने इच्छा आकाङ्‌क्षा पूरा गर्न नपाई पतिको देहान्त हुन्छ। यस घटनाले अझै चम्पाको जीवन अनि उसका इच्छालाई अधुरै छोडिदिन्छ। जिम्मेवारीले उसलाई एक्कासी अथाह सागरबीच डुबाइदिन्छ।
"त्यस्तो विदा गर्नु धर्म कर्म होइन.. जसको सजाय म एक्लैले यतिका दिनसम्म भोग्दैछु।' छोरी हुर्किएपछि अर्काको घर पठाउनैपर्छ। सधैं घरमा राखे गाउँ समाजमा कुरा काट्‌दछन्‌‌‌ भन्ने धारणा अझै पनि हाम्रो समाजमा छ। तर कथाकारले माथि उद्‌धृत चम्पाको यस भनाइबाट त्यस कुरालाई विरोध जनाउन खोेजेको बुझिन्छ। यदि विवाह भई माइत घरबाट विदा भएर सुखको सपना बोकेकी एउटी नारीले जीवनभरि दुःखमात्र पाउँछे भने यो त धर्म होइन जसले जीवन धर्मलाई दिन्छ। कथाकारले यी कुराहरूलाई खुबै सरल ढङ्‌गमा प्रस्तुत गर्नुभएको छ।
पिता-पूर्खाहरूले जति दुःख सहन सक्थे त्यति अहिलेको युवापिँढीले कदापि सक्दैन। त्यसैले आफ्नै बुहारीलाई हेरेर चम्पा भन्छे--"मैले जस्तो लाखौं समस्याहरू यसले चुपचाप झेल्न सक्छ र ...? छोराछोरी जस्तै होस्‌ तर उनीहरूको खुशीमा नै आमा-बाबु रमाउन सक्छन्‌। कथाकारले यही कुरालाई दर्शाउनुभएको छ। यसरी छोरा-बुहारी निस्कन्छन्‌। छोरा कारमा बसेर आफ्नी पत्नीलाई ढोका खोलिदिन्छ। बुहारी मुसुक्क हॉंस्दै सीटमा थ्याच्च बस्छे। त्यो दृश्य चम्पालाई अति सुन्दर लाग्छ।... आफूले जीवनभरि दुःखको मात्र अनुभव गरेकी चम्पाले छोरा-बुहारीको सुख शान्तिमा आनन्द मान्नु सॉंच्चै स्वाभाविक लाग्छ हामीलाई।
चम्पाकी बुहारी उषा शिक्षित छे तर पनि एउटी नारीमा हुनुपर्ने सम्पूर्ण गुण चम्पाले उसमा पाउँदिन। आफूप्रतिको बुहारीको व्यवाहरमा चम्पा सन्तुष्ट छैन तर पनि चुपचाप बस्छे उ। त्यसैले भन्छे -"तिमी त शिक्षित बुहारी हौ...। ममा अक्षर छैन। अक्षर ज्ञान भए तापनि सहनशीलता गुण हो।' यस भनाइबाट शिक्षित हुनु आवश्यक हुन्छ तर नारीमा नारीत्वको गुण हुनु पनि उत्तिकै आवश्यक छ भन्ने तर्क कथाकारले राख्नुभएको पाइन्छ।
समुद्रको माछासित चम्पालाई तुलना गर्दै कथाकारले समुद्रमा भएको माछाको पौडाइको अन्त्य नभएसरी चम्पाको जीवनको दुःखलाई तुलना गरेर मानव जीवनमा दुःखको अन्त्य कहिल्यै छैन भन्ने सन्देश दिनचाहनु भएको छ। समग्रमा भन्नुपर्दा जीवन सङ्‌घर्षमय छ। एउटापछि अर्को दुःखको सामना गर्दागर्दै जीवन बितेको थाहै पाइँदैन भन्ने कुरालाई यहॉं दर्शाइएको छ।
* आशाको मंगनीः
चियाका पत्तिहरूसितै एउटी नारीले आफ्नो वैंश, रूप-रङ्‌ग र इच्छा, चाहना अनि सपनाहरू टोक्रीमा हालेको एक मार्मिक जीवन चित्र हो कथा "आशाको मंगनी'। चियापत्तिको बोट काट्‌दा खुट्टामा लागेको चोटको बहनामा थलिएपछि त्यत्तिकै मृत्यु हुन्छ। पतिको देहान्तपछि फूलमतिले आफै रगत पसिना गरेर पनि एक्ली छोरी आशालाई सुख दिने सपना देखिरहेको बेला क्याप्टनको घरबाट आशाको मंगनी आउने कुराले आफ्नो सपना पूरा हुँदै गरेको देख्छे।
चियापत्तिका मुनासितै पसिना चुहाउँदै जीवन बिताएकी फूलमतिले चियापति टिपोस्‌ भन्ने चाहॅंदैन थिई। तर जब मंगनीमा छोरीले कमानमा काम गर्नुपर्ने प्रस्ताव आउँछ, फुलमति मूर्छा पर्छे र त्यही मृत्यु हुन्छ। यसरी एकातिर क्याप्टनको घरमा विवाह हुँदा पनि कमानमा नै काम गर्नुपर्ने अनि अर्कोतिर जीवनभरि चियाका पत्तिसितै कमान आफ्नो रूप, रङ्‌ग, वैश भनौं आफ्नो सर्वस्व लुटाउँदा पनि साधारण चोट लाग्दासम्म उपचार नपाउँदा प्राण त्याग्नु परेकोबाट पनि धनीबाट गरीबमाथिको अन्यायलाई कथाकारले देखाउनु सफल रहेको पाइन्छ।
सपना कस्तरी सजाएकी हुन्छे एउटी नारीले जब आफ्नो विवाहको कुरा चल्छ, कथाकारले अति यथार्थिक ढङ्‌गमा प्रस्तुत गर्नुभएको यस कुरालाई यसरी राखिएको छः "... उसको लिपाइमा नयॉं उमङ्‌गहरू लिपिन्छन्‌‌‌। भएभरको जोशले दोहोऱ्याई दोहोऱ्याई लिप्छे, चिल्लाउँछे, सुख्खा, पार्छे, मनभित्र सोच्दै, मंगनीमा आउँनेले हेर्ने बित्तिकै सोच्छन्‌ होला छोरी निकै जॉंगरिली रहिछ।'
नारी हृदयका कुराहरू खुबै सरल ढङ्‌गमा यहॉं प्रस्तुत गरिएको छ। यद्यपि अघिल्लो वाक्य- "तर आमाले भात, तिहुन, अचार बनाउनु त सिकाउनु भएको छैन'- बाट कथामा केही नमिलेको जस्तो लाग्छ। कमानमा काम गरेर जीविका यापान गर्ने घर परिवारकी छोरीले भात-तिहुन, अचार बनाउन नजान्नु अस्वाभाविक लाग्दछ। सायद यसैले सधैं छोरीले सुख पावोस्‌‌‌ भन्ने चाहनुसितै आशालाई एक्ली छोरीको रूपमा देखाउनु भएको पनि हुनसक्छ कथाकारले।
समग्रमा यस कथाले कमानमा कार्यरत निम्न वर्गीय परिवारको प्रतिनिधित्व गर्नका साथै एउटी नारीको पीडा-मर्मलाई राम्ररी चित्रण गरेको पाइन्छ।
* निर्णयः
सेतो गुलाफभित्र रहेको दशौं कथा हो निर्णय। प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको यस कथामा कथाकारले सधैं छोराकै मात्र सपना देख्नेहरूका लागि तीतो यथार्थ अगाडि सारिदिनुभएको छ जो तपाईं हामीले हाम्रै गाउँ समाजमा देख्दै आएका छौं। छोरा र छोरी दुइमा आमाको दुःख पीडा सधैं बुझ्ने छोरी हुन्छे भने छोरा बिग्रल छ यस कथामा। बुहारी पनि उस्तै आउँछे। छोरी पराय घर गइसकेकीले घरमा आमाले सधैं दुःख मात्र पाउँछे। कहिलेकहीं छोरी घर आउँदा आमालाई लुगा धुँदै गरेकी, भुइँ पुछ्‌दै गरेकी, अथवा फेरि कुचो लगाउँदै गरेकी हुन्थी। लुगाहरू पनि मैला र फाटिसकेका। बाहिर कार अनि भित्र आमाको शरीरमा फाटेको लुगा देखाएर कथाकारले आजको शिक्षित समाज कतिसम्म सभ्य छ त भन्ने व्यङ्‌ग्य गर्नु भएको बुझिन्छ। आजको शिक्षित समाजमा पनि एउटी आमाले आफ्नै गर्भमा हुर्काएको छोरा र बुहारीबाट कसरी अवहेलित हुनु परिरहेको छ त्यस कुरालाई कथाकार आँसुले राम्ररी चित्रण गर्नुभएको छ।
अर्कोतिर आमा कति सहनशील हुन्छन्‌, आफ्नो घरको इज्जतका लागि कतिसम्म चिन्तित हुन्छन्‌ भन्ने कुरालाई पनि राम्ररी देखाउनुभएको छ। कथाकार भन्नुहुन्छ, "घरको कुरा परसम्म नपुगोस्‌ यस्तै चाहन्छिन्‌। आफ्नो अधिकार खोसिए पनि स्वर उठाउँदा समस्या अझ बढ्‌ने सोचेर आमा चुप बस्छिन्‌‌‌ अझै।'
आमाहरू "सहनशीलताका साथै कति ठूलो हृदय हुन्छ, जसले आफ्नो सन्तानका हरेक गल्तीलाई सहजै क्षमा दिनसक्छ। उदाहरण स्वरूप हेरौं-"यिनीहरू जो गर्दैछन्‌‌‌ अज्ञानतावश गर्दैछन्‌। जब यिनीहरू यो अवस्थामा पुग्छन्‌‌‌ तब सम्झन्छन्‌।'
यस कथामा पनि एउटी नारीले आफ्नै सन्तानबाट भोग्न परेको अत्यचारलाई चित्रण गरिएको पाइन्छ।
* खोसिएको सिन्दुर पोतेः
यस कथामा कथाकारले नारी अस्मिता, नारीको महानता तथा कमी कमजोरीलाई देखाउँदै दुइ नारीको बेग्ला-बेग्लै समस्या परिस्थिति देखाउने प्रयास गर्नुभएको छ।
खोसिएको सिन्दुर पोते बिनु (म पात्रा) र वीणाबीचको संवादात्मक कथा बनेको छ। "बिनू' एक आदर्श नारी छे जसले आफ्ना पतिले कान्छी विवाह गरे पनि नारीले अर्को पतिसित विवाह नगर्नुमा अथवा एउटै श्रीमानसित बस्नुमा आफ्नो आदर्श रहने, मान-मर्यादा रहने सोच्छन्‌ भने वीणा-बिनुको ठीक विपरीत छे। कथाकारले समाजका एक आदर्श नारीका रूपमा कथाकारले "म' पात्रालाई उभ्याउनु भएको छ भने घरि घरि कान्छी विवाह गरे "मर्दको छोरा' भनिन्छु भन्ने जुन विचार छ पुरुष समाजमा, त्यसको विरोधमा धेरैजनासित विवाह गर्ने वीणालाई उभ्याउनुभएको छ।
नारी जातिलाई उसको मान मर्यादालाई कमजोर बनाइदिन्छ त्यसैले कमजोर तुल्याइदिन्छ। कथाकार आफ्नो विचार यसरी पोख्नुहुन्छ-"चाहे जे नै होस्‌‌‌ पुरुष जाति (लोग्ने) सॅंग हामी टक्कर लिनसक्दैनौं। सक्छौं पनि कसरी।'
फेरि अर्कोतिर नारीले आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने मनोबल थप्नुहुन्छ यसरी-"बिनु तिम्रो काम दाम छ, आफ्नो खुट्टामा उभिएर बॉंच।'
कथामा एकातिर बिन्दुझैं नारी पात्रालाई उभ्याएर पुरुष प्रधान समाजको विरोध गर्नुभएको छ कथाकारले भने अर्कोतिर बिनुलाई उभ्याएर नारी आदर्शतालाई झल्काउनु भएको छ, जसले आफ्ना पतिले सौता भित्र्याउँदा मनको पीर मनैमा गुम्साउन बाध्य छन्‌। न उ अर्को विवाह गर्नसक्छे न त पतिलाई छोडेर कतै जानैसक्छे। त्यसैले यहॉं बिनु भन्छे- "जति पीर मभित्रै छ, म के गर्नु र? दुइचोटि विवाह गर्नसक्दिन, कहीं, जान पनि सक्दिन।'
आफूलाई जस्तै आपद आईपरे पनि, पतिबाट अन्याय भए पनि पतिको सिन्दुर नै उसका लागि सबै थोक भइदिन्छ-"सौताले खोसे पनि सॉंचो सिन्दुर पोते मसॅंगै छ उसको।'
मूलतः कथामा कथाकारले नारीको आदर्शता पतिमाथिको विश्वास, सहनशीलता, धैर्यता आदि नारी सुलभ गुणहरू देखाउँदै नारी कमजोर अवश्य हुन्छे तर सहनशील र धैर्यतामा प्रबल हुन्छ भन्ने देखाउनु भएको छ।
* राखीः
सेतो गुलाफभित्र समावेश गरिएका कथाहरूमध्ये 12 औं कथा राखीमा कथाकार कमला आँसुले नारी जति सरल हुन्छन्‌ त्यति नै कोमल पनि हुन्छन्‌ भन्ने दर्शाउँदै माइती र चेलीबीचको सम्बन्धको महत्वलाई प्रष्टयाउनु भएको छ। यसका साथै हामी आफ्नै जातीय संस्कृति परम्परा, रीति-रिवाज आदि बिर्सिएर सबै अर्काकै सिको गर्नमा रमाउँछौं। यस कुरालाई पनि कथाकारले कसिलो व्यङ्‌ग्य प्रहार गर्नुभएको छ। त्यसैले त कथाकार आँसु भन्नु हुन्छ-"खिचडी जस्तो भइसकेका हामी, राखी मान्नैपर्छ... अरू जातिको परम्परालाई अघि राखेर आफ्नो परम्परालाई हटाउने हामी, हगि धनु बहिनी? दुनियॉं हामीभित्र माइती चेलीको जति प्रगाढ सम्बन्ध झल्किन्छ त्यो राखीले ल्याउन सक्दैन। तर अहिलेको संसारमा राखीलाई धेरैले माइती चेलीको सम्बन्धलाई कसिलो पार्ने बन्धनभन्दा राखी बॉंधिदा पैसा रुपियॉंले त्यो सम्बन्ध किन्नुपर्ने देखिन्छ। त्यही पैसा-रुपियॉंमा इज्जत राख्नुपर्ने र सम्बन्ध बचाउनुपर्ने देखिन्छ। पचास रुपियॉं दिएर राखी बॉंधिदेउ भन्दै म पात्राकोमा आउने राकेशलाई कथामा भित्र्याएर कथाकारले हाम्रो समाजको वर्तमान परिवेशलाई खोतल्नु भएको छ, उदाङ्‌गो पार्नुभएकोे छ। चेली माइतीको चोखो प्रेम पैसा रुपियॉंले किन्न सकिन्न भन्ने धारणा कथाकारले यहॉं खुलस्त रूपमा राख्नुभएको पाइन्छ। आफ्नो सभ्यतालाई लत्याएर पश्चिमेली सभ्यतालाई अप्नाउन हाम्रो समाज अग्रसर भइरहेछ, जसलाई सजिलो मानिरहेका पनि छन्‌‌‌ मानिसहरूले। यसैको उदाहरण दिनलाई कथाकारले धनुलाई उभ्याउनुभएको छ। धनु भन्छे, "दिदी, राखीमा त त्यति झमेला हुँदैन दुतियामा जस्तो।'
वास्तवमा माइती चेलीको चोखो सम्बन्धको महत्व भेटिन्छ यस कथामा। जहॉं मधु, राकेश र म पात्र अलग-अलग तीन पात्रलाई उभ्याएर कथालाई यथार्थ्य रूप दिन सफल हुनुभएको छ।
*बैनाः
सपना देख्नु अथवा सपना सजाउनु त्यस्तो कुनै ठूलो विषय होइन। मान्छे प्रत्येकले चाहन्छ, सुख पाउँ पैसा कमाउँ, समाजमा मान-मर्यादा, यश इज्जत राख्नसकूँ। यस्तै सपना सजाई निश्चित लक्ष्य केही न केही राखेर ठोस काम गर्ने प्रयास गर्छन्‌। तर जब आफूले सोचेको, आफूले देखेको सपना र गरेको कामले आफूलाई सफलताको टाकुरामा पुऱ्याउन सक्दैन, त्यतिबेला भने निश्चय जीवनले अर्कै मोड लिनसक्छ।
बैना, हाम्रो समाजमा यो प्रथा पुरानो हुनुसॅंगै यसको चलन हराएर गइसकेको छ, बिलुप्तिएर गइसकेको छ। न त बैनाको परम्परा बॉंचेको पाइन्छ, न त आमा-बाबुको रोजीमा विवाह गर्ने चलन नै पूर्ण रूपमा बॉंच्नसकेको छ। यद्यपि, विलुप्तिँदै गएको यस चलनलाई बचाउनसॅंगै कथाकारले कलिलै उमेरमा मजदूरी गर्न बाध्य एक गरीब घरकी अबोध नारीको स्वच्छ हृदय अनि चञ्चलेपनासितै उसको सपना र उसको जीवनको यथार्थलाई देखाउनु भएको छ।
गरीब घरकी अशिक्षित सुन्दरीलाई आफ्नो रूपको सुन्दरताप्रति गर्व हुन्छ। उसको सुन्दरतामा सबै लट्ठै पर्छन्‌ आफैलाई विश्वास हुन्छ त्यही सुन्दरताले उसलाई एउटा राम्रो घरसम्म पुऱ्याउछ भनेर। कामको समयमा बैदारले दिएको रुपियॉं बैनाको रूपमा लिएको उसलाई पत्तै हुँदैन। जब सरदारको घरमा काम गर्दा सरदारको छोराले मन पराउँछ। त्यसपछि विवाह गर्ने प्रस्ताव राख्छ, यतिबेला उ लट्‌ठ हुन्छे तर बैदारले बैना दिएको कुरा सुनेपछि विवाह गर्दिन भनिदिँदा सुन्दरी घर पुग्छे अनि उसले आफ्नै आमाको तस्वीर देख्छे। अहिलेसम्म आफ्नो सुन्दरतामा ठूलो सपना सजाएकी सुन्दरी आमाको जवानीको सुन्दरता देखेर दङ्‌ग पर्छे।
यसरी सुन्दरीको सुन्दरतालाई यहॉंसम्म ल्याएर कथाकारले सुन्दरताको सीमा र जीवनको यथार्थलाई दर्शाउनु भएको छ। आफ्नै आमाको रूप देखेपछि सुन्दरताले मात्र जीवनका इच्छा आकाङ्‌क्षा तथा सपना पूरा हुँदैन रहेछ भन्ने ज्ञात हुन्छ। उसलाई वास्तविकता थाहा हुन्छ, सुन्दरता मात्रै सबथोक होइनरहेछ भनेर। अथवा कथाकारले शिक्षाविहीन जीवन सधैं अधुरै रहन्छ भन्ने कुरा कथामा खुबै सफलतापूर्वक देखाउनु भएको छ।
* लक्ष्मी पूजाको रातः
नेपाली जातिको महान पर्व तिहारको लक्ष्मी पूजादेखि शुरु गरिएको यस कथामा हाम्रो संस्कृति, हाम्रो चाड-बाडको महत्वलाईभन्दा अधिक मान्छेको कर्मलाई झल्काउने प्रयास गरिएको छ। कथाका मुख्य पात्र बलदिपले नेपाली समाजको एक युवाको प्रतिनिधित्व गरेको पाइन्छ भने चिरञ्जीलाल सेठजीले एक सम्पन्न तर क्रूर व्यवहार भएको अनेपाली समाजको प्रतिनिधित्व गरेका छन्‌।
भनिन्छ, विष नभएको सॉंप र इख नभएको मान्छे कहिले सफल हुँदैन। यही भनाइ यहॉं चरितार्थ भएको पाइन्छ। बलदिप आफ्नी आमासितै आफू बस्दै गरेको सेठजीको घरबाट निकालिएपछि फौजमा भर्ना भएर आफैलाई एक सफल व्यक्तित्वको रूपमा परिचित गराउन अनि लक्ष्मी पूजाको रात खेदिएको उ त्यही दिन प्रसाद पुऱ्याउने निहुँमा सेठजीको अगाडि उभिएकोबाट यसको पुष्टि भएको पाइन्छ। वस्तुतः कथाकारले यहॉं देखाउन चाहनु भएको मुख्य विषय पनि यही बुझिन्छ।
मान्छे सुसम्पन्न जति नै किन नहोस्‌ तर अन्यायको एउटा सीमा हुन्छ। उसले समाजसित एकदिन त झुक्नैपर्छ भन्ने कुरालाई पनि कथाकारले देखाउनका निम्ति अन्त्यमा सेठजीलाई आफ्नो भूल स्वीकार गर्नलगाउनु भएको छ।
कथामा सेठजीको स्थानमा साहुजीलाई पनि राख्न सकिन्थ्यो, तर साहुजीले लक्ष्मी पूजाको रातमा बलदिप र उनकी आमालाई घरबाट बेघर बनाउन पक्कै सक्ने थिएन होला। कथाकारले सेठजीलाई उभ्याएर कथालाई एक दयनीय स्थितिमा ल्याउनलाई नै यसो गर्नुभएको हो भन्ने पनि बुझिन्छ।
यसरी नै नेपाली विपन्न, कमजोर, दीन पक्कै होला तर त्यति सजिलै हार मान्दैन। यस कुरालाई पनि कथाकारले दर्शाउनु भएको पाइन्छ। मान्छेले सबै कुरा जन्मदेखि नै पाएर आएको हुँदैन तर त्यसका लागि कर्म गर्नुपर्छ। भगवानले त सबैलाई बराबरी दिएको हुन्छ। त्यसलाई ग्रहण कसरी गरिन्छ अथवा कसले कस्तो कर्म गर्छ त्यहीअनुसार फल पाइन्छ। कर्मले नै मानिसको जीवन सफल हुन्छ भन्ने दर्शन पनि दिनुभएको छ। यसरी "मान्छे गरीब हुन्छ आफ्नै कमजोरीले। के धनी लखपतिहरूको हात चारवटा अनि गरीबहरूको दुइवटा हुन्छ र सेठजी?'
यसबाहेक नेपाली समाजले भोग्नु परिरहेका समस्या तथा कान्छा जस्तो हेपाइयुक्त शब्दको सहनलाई पनि कथाकारले यथा़र्थिक ढङ्‌गमा प्रस्तुत गरेको पाइन्छ भने बलदिप जस्तो युवाका रूपमा सबै भइदिए हाम्रो देशको उन्नति भएर जाने सन्देश पनि कथाकारले दिनुभएको छ।
*लालुपातेः
"कसरी छत्तीस लागें' कविता पढेको भर्खरै जस्तो लाग्छ नवौं श्रेणीमा। यस कवितामा मान्छेको जीवन कसरी थाहै नपाई बितेर जान्छ अथवा हाम्रो समय बितेको हामीलाई थाहै हुँदैन भन्ने कुरा दर्शाइएको छ। ठीक त्यही कुरालाई कथाकार आँसुले लालुपातेमा दर्शाउन चाहनु भएको छ। बाल्यावस्था तथा युवा अवस्थामा पौष माघको ठिहीले कुनै प्रभाव नपार्ने मान्छेको, यौनावस्थालाई लालुपाते फूलको यौवनसित तुलना गर्दै मानव जीवन एक लालुपाते फूलसरह रहेको कथाकारले देखाउनु भएको छ।
मङ्‌गसिर महिनामा राताम्मै फुल्ने लालुपातेसित मान्छेको जवानीलाई जोड्‌दै जसरी पौष माघमा चिसो ठिहीसितै लालुपातेको यौवन ढल्किएर जान्छ, उसै गरी मान्छेको उमेर पनि ढल्किँदै गएपछि उमेरमा अनुभव नगरेको चिसोले सताउँछ।
कथामा चिसो ठिहीको अनुभवसितै कथाकारले समय बितेको अनि समयसितै यौवन ढल्केको आभास गराउनुभएको छ।
*पगलीः
शिलङदेखि गान्तोकसम्मको भौगोलिकतामा फैलिएको कथा पगलीमा पनि आमा आउँदिनन्‌, सागरभित्रको माछा, आशाको मङ्‌गनी आदि कथाका नारी पात्राहरूझैं पीडित नारीकै कथा व्यथा पोखिएको पाइन्छ। यद्यपि, यहॉं कुनै महलभित्रको कथा छैन, कमानमा देखिएको अन्याय, थिचो-मिचो पनि छैन। हाम्रै आँखाले देखिएको विशेष गान्तोक बजारको गल्लीतिर, गान्धी मार्गको तल्लो छेउ माथिल्लो छेउ हस्पिटल डॉंडादेखि कहिले लाल बजार हुँदै त कहिले देउरालीतिर एक-दुइ वर्ष अघिसम्म यस्ता पात्राहरू हामीले नदेखेका होइनौं।
लैनसिंह बाङदेलको "लङ्‌गडाको साथी'-को लङ्‌गा दार्जीलिङ बजारमा वास्तवमै थियो भनेर डा. इन्द्रबहादुर राईले भन्नुभएको छ। त्यस लङ्‌गडालाई हामीले नदेखे पनि आँसुको कथा "पगली' की मुख्य पात्राझैं यथार्थमै पगली भएर भौंतारिएको पगली हामीले देखेको हुनाले कथाकार आँसुले आफ्नै आँखाले देखेको यथार्थलाई अनुभव गरी यो कथा लेखेको हुनसक्ने अनुमान लगाउन सकिन्छ।
पतिलाई कुनै सन्तान दिननसकेकाले अवहेलित साथै पतिले सौता हालेपछि गान्तोक आइपुगेकी दीपा गान्तोकमा पनि सातजना नानी हुँदा-हुँदै अर्की विवाह गरेको भाउज्यूकै मुखबाट सुनेपछि यो पीडा सहन नसकेर उ पगली बन्छे।
पुरुषप्रधान समाजमा कहीं न कहीं अझै पनि नारीमाथि पुरुषद्वारा अन्याय अत्यचार भइरहेकै छ भन्ने यस कथामा पाइन्छ। यसका साथै दीपाको दाजुले अर्को विवाह गर्नुको कारण उसकी पत्नी अनपढ बताउनुबाट कथाकारले नारी शिक्षाको पनि बोध गराउँदै समाजमा नारीले पुरुषसित कॉंधमा कॉंध मिलाएर बॉंच्नु हो भने पहिला त शिक्षित हुनुपर्छ भन्ने सन्देश पनि दिनचाहनु भएको छ।
*कान्छी ल्याउनदिन पनिः
कथाकार कमला आँसुको सेतो गुलाफभित्र परेका कथाहरूमध्ये कान्छी ल्याउँदिन पनि एउटै मात्र कथा हो जसको मुख्य पात्र विक्रमले पत्नी वियोगमा रहेर पनि जीवन यापन गर्दै आफ्नो छोरालाई डाक्टरसम्म बनाउन तर अर्की विवाह गर्ने कहिल्यै सोच्दैन। अरूले कर लगाउँदासम्म ध्यान दिँदैन। विक्रमलाई थाहा छ पत्नीको देहान्तपछि कान्छी विवाह गरेर धेरैका सौतेला सन्तानको हेला भएको छ हाम्रो समाजमा। त्यसैले उ कान्छी विवाह गर्न मान्दैन। उसलाई कान्छी भित्र्याउने रहरभन्दा आफ्नो सन्तानको उज्जवल भविष्यको चिन्ता छ। पत्नीले एकपाखे छोडी राखे पनि आफ्नो सन्तानलाई हुर्काउनु, बढाउनु, उचित शिक्षा प्रदान गर्नु अनि आफ्नो सबै जिम्मेवारी पूरा गर्नुमा कुनै त्रुटि राख्दैन विक्रमले। त्यसैले त उसको साथीले पनि उसलाई एक सफल व्यक्तित्व ठहऱ्याउँछ।
वास्तवमा कथाकार आँसुले यहॉं हाम्रो समाजका लोग्ने मान्छेले पत्नीको देहान्तपछि कान्छी भित्र्याउने परम्परालाई खुबै नम्र स्वभावमा विरोध जनाउनु भएको छ। आजको समाजलाई विक्रम जस्तै पिताको आवश्यकता छ जसले गर्दा तल्लो घर र पल्लो घरको गोठाला गरिरहनु पर्नेछैन, न त समाजमा व्याभिचार भएकाहरूको जन्म नै हुन्छ।
*विधवाः
कान्छी ल्याउदिन पनिको पात्र विक्रम र विधुवा कथाकी मुख्य पात्रा "म' बीचको एउटै वेदना छ। विक्रम पत्नी वियोगमा परेको छ भने "म' पति वियोगमा। तर भिन्नता आकाश र पातालको पाइन्छ। विक्रम पत्नी वियोगमा परे पनि छोरालाई डाक्टरसम्म बनाउन सफल छ भने "म' त्यही छोरा छोरीको छाक टार्ने समस्याले थकित। बस नारी र पुरुषबीच रहेको भिन्नता अथवा समाजले हेर्ने दृष्टिलाई कथाकारले यी दुई कथामा अत्यन्त सरल ढङ्‌गमा दर्शाउनु भएको छ। त्यही नारी एउटी आमा हुन्‌ भने त्यही नारी विधवी भएपछि हाम्रो समाजले कसरी हेर्छ त्यसलाई सङ्‌केत गर्दै यहॉं एक विधवी नारीको मार्मिक कथा चित्रण पाइन्छ।
मुखमा राम-राम बगलीमा छुराको व्यवहार गर्नेहरू हाम्रा समाजमा कति छन्‌ कति, जसले विधवीकी "म' लाई जस्तै निराशाको शिकारसम्म बनाइदिन्छ। प्राणी जातिमा सर्वज्ञानी मान्छे भएर मान्छेकै पीडा नबुझ्नु, भएन अझै यातना थप्नु कतिसम्म विडम्बनाको कुरा हो? कथाकारले यही कुरालाई यस कथामा प्रष्ट्याउनु भएको छ।
* प्रतीक्षाः
यस कथामा आशा र सुवोधको दाम्पत्य सुखमय जीवनको चित्रण पाइन्छ। पहिला एकार्कालाई आफूले सोचेजस्तो, चाहेजस्तो नपाए पनि अन्त्यमा दाम्पत्य जीवनको सुख आशाले भेटेपछि कथा सकिन्छ।
चञ्चले स्वभावकी आशा आफ्नो पति त्यस्तै मिजासको होस्‌ भन्ने चाहन्छे तर सुधो-सोझो सुवोध दिनभरिको आफ्नो कामको व्यस्तता र थकाइले हैरान भए पनि बुझिदिने प्रयास गर्छ। आफ्नो रीसलाई दबाउँछ। तर आशा ठीक विपरीत छे। पतिको व्यस्ततामा उ सन्तुष्ट छैन। आशा चाहन्छे पतिले उस्लाई समय निकालेर घुमाउन लैजावोस्‌, रमाइलो गरोस्‌, तर त्यो सबै पतिबाट उसले पाउँदिन।
जब आशाकी दिदी घरैमा आएर छुटानाम हुने कुरा सुनाउँछे। आफूले सोचे जस्तै भेनाको स्वभाव हुँदा-हुँदै पनि दिदीको कुरा सुनेर आशा छक्क पर्छे। त्यसपछि मात्रै दाम्पत्य जीवन अथवा पति-पत्नीबीचको सम्बन्ध कस्तो हुनुपर्ने उसले बुझ्छे। पतिको खुशी नै पत्नीको र पत्नीको खुशी नै पतिको खुशी हो। आपस्तमा बुझाबुझ हुनु आवश्यक छ भन्ने सफल दाम्पत्य जीवनको सुझाउ कथाकारले यस कथामा दिनुभएको बुझिन्छ। एउटा घरमा सधैं सुख, शान्ति खुशीको सबैलाई प्रतीक्षा हुन्छ। यही नै देखिन्छ पाइन्छ यस कथामा।
*सेतो गुलाफः
समाजमा भौतिक सुख एकातिर छ भने आत्मिक सुखको पनि आफ्नै स्थान छ। पैसा-रुपियॉं र धन सम्पत्तिको थाकमा रमाउने एक समूह छ भने आत्मविश्वास, आत्मसन्तुष्टिमा रम्न चाहनेहरूको समूह पनि एकातिर छ। कथाका प्रमुख पात्र आलोक अनि उसकी प्रेमिका अनिताले यही दुइ समूहको नेतृत्व गरेका छन्‌ भने सुशील नम्र स्वभावकी निशालाई असिनाको चोट सहन नसक्ने सेतो गुलाफसित तुलना गरिएको छ। कथाकी मुख्य नायिका पनि निशालाई सेतो रङ्‌गकै गुलाफसित तुलना गरिनुमा पनि निशाको चरित्र, निशाको भावना, उसको व्यवहार र कोमल हृदयलाई कथाकार कमला आँशुले दर्शाउन चाहनु भएको बुझिन्छ। कथामा आलोक आफ्नी पत्नीलाई घरमा राखेर प्रेमिका अनितासित होटलको विदेशी मदिरासितै रङ्‌गीन माहोलमा भुलिन्छ भने यता निशा आफ्नो पति आलोकको विश्वासमा पतिभक्त भई बॉंचेकी छ।
आलोकले मनोरञ्जनका लागि अनितासित नक्कली प्रेम गरे पनि पैसा, रुपियॉं, मारुति, फ्ल्याट सबै पाइसेककी अनिताले भने जन्मदिनको उपहारमा हीराको हार माग्नुसितै माया गर्ने हो भने विवाह गर्नु, घरमा मेमसाहब बनाइराख्नु भन्ने प्रस्ताव राखेबाट उसले सॉंचो प्रेम गरेको बुझिन्छ। एकातिर हाम्रो समाजमा निशाझैं सुशिल, कोमल र पतिभक्त नारी छन्‌ भने अर्कातिर त्यही नारीको घर बिगार्ने नारीको पनि कमी छैन।
त्यस्तै नारीको प्रतिनिधित्व गरेकी छ अनिताले। आफ्नो स्वार्थका लागि आफूजस्तै नारीको घर बिगार्नमा केही जस्तो मान्दैनन्‌ हाम्रा समाजका अनिताहरू। तर पुरुष सबै एकै स्वभावका हुँदैनन्‌। आफ्नो परिवार आफ्नो सम्पूर्ण बिर्सिएर पराय स्त्रीको प्रेमजालमा भुलिए पनि अन्त्यमा आएर आलोकले आफ्नो भूल स्वीकारेकोबाट पति पत्नीबीचको चोखो माया र पति पत्नीको सम्बन्ध त्यति फ्यातुलो पनि हुँदैन भन्ने कथाकारले देखाउनु भएको छ। त्यसैले त निशाको अगाडि आलोकले आफ्नो भूल स्वीकार्दै भन्छ- "अब मलाई यो सेतो गुलाफ स्वीकारेर जस्तो सजाय दिन्छौ, त्यो मेरो जिन्दगी हो...।'
कथामा पत्नीको सॉंचो मायाले अरूको हुनबाट पतिलाई बॅंचाएको छ। अरूले खोस्न सकेको छैन। वास्तवमा निशा अनिता र आलोकबीचको घटना हाम्रो समाजमा देख्न पाइरहेको घटना हो। एउटा यथार्थ धरातलमा उभिएका कथामध्ये सेतो गुलाफ कथा सङ्‌ग्रहभित्र परेको यो शीर्षक कथालाई एक मान्न सकिन्छ।
* जिन्दगीः सडक र झोपडीः
प्रस्तुत कथामा मान्छेले सुख-शान्ति पाउनलाई धनी, खानदानी हुनुपर्छ भन्ने छैन भन्ने देखाइएको छ अथवा सम्पन्न व्यक्ति जो महलमा बस्छन्‌ उनीहरू सबै सुख शान्तिमा बॉंचेका हुन्छन्‌‌‌ भन्ने केही छैन। तर एउटा झोपडीमा बस्नेहरू खुशी हुनसक्छन्‌, सुख शान्तिमा बॉंचेका हुन्छन्‌।
एक निम्न परिवार जो सडकमा काम गरेर जीविका चलाउने एक श्रमजीवी परिवारको जीवन्त कथालाई यहॉं उतारिएको छ। मान्छेको सुख पाउने सपनाले जति नै अग्लोमा पुऱ्याए पनि अन्त्यमा आफ्नै वास्तविकतामा फर्किनु पर्ने यथार्थ र सन्तोष गर्नेहरू नै सुखी हुनसक्छन्‌ भन्ने सत्य यस कथामा उजागर भएको पाइन्छ।
सडकमा काम गरेर कहिल्यै सुख नपाएका धने र धनमाया बिल्डिङको काममा सुख पाउने आशाले धनमायाले करमा दुवै दम्पत्ति ठूला साहेबको बिल्डिङ बनाउने काममा जान्छन्‌। आफैलाई सभ्य ठान्छे विशेष धनमायाले। तर जब मेम साहबबाट अपमानित हुनका साथै मालिकले पुलिस लगाएर निकाल्ने धम्की दिन्छ त्यसपछि कथाले वास्ताविकताको मोड लिएको छ। धने दम्पति सडकको काम गर्ने डेरामा फेरि फर्किएर जान्छन्‌। यता मेम साहब त्यति ठूलो महलमा बस्ने भए पनि सधैं एक्लै रात काट्‌नु परेको छ। धन सम्पत्ति, घरमा नोकर चाकर सबै छन्‌ तर पनि मनमा शान्ति किहिल्यै पाएकी छैन उसले।
कथाकार कमला आँशुले कथामा धने दम्पतिको कारूणिक पक्षलाई समातेर कथा रचना गर्नुभएको भए पनि वास्तविक सुख कहॉं पाइन्छ त भन्ने कुरालाई दर्शाउन चाहनु भएको छ यहॉं। कथाकार भन्नुहुन्छ- ती हतभागीहरू अलकत्रसरिका हातले अलकत्रैसरिको बिँडी र कटुवाको सर्को तान्दै एका-अर्कामा खुशी बॉंड्‌छन्‌।
अर्कोतिर मान्छे जन्मनु र मर्नु त भाग्यमा लेखिएकै हुन्छ। अजम्बरी कोही छैन। जन्मपछि मर्नै पर्छ भन्ने दर्शन कथामा पाइन्छ। धने भन्छः "जीउ त केही होइन, तिमी खुशी भए भइगयो नि, एकदिन त मर्नै पर्छ।'
सडक खन्ने काम गर्दा गर्दा बिल्डिङको काम गर्नगएको धनेले बिल्डिङको एकैचोटि राम्रो फिनिसिङ दिएको कुरा भने अलिकति मेल नखाने देखिनाले कथाकारले कथामा एउटा पक्षलाई समाउन खोज्दा अर्को पक्ष छोडिएको देखिन्छ। यद्यपि, यस्ता स-साना कुराहरूले कथालाई उति असुहाउँदिलो पारेको भने झट्ट थाहा पाइँदैन पनि। समग्रमा कथा असल र सन्देशमूलक पाइन्छ।
जीवन धान्नलाई परिश्रम गर्नै पर्छ, परिश्रम बिनाको जीवन कहिल्यै सफल हुँदैन भन्ने सन्देश पनि कथाकारले यहॉं दिनुभएको छ। यसरी नै उहॉंले कथामा हाम्रो समाजलाई तीव्र व्यङ्‌ग्य पनि गर्नु भएको छ "खान-दानीहरू जिन्दगीमा लाखौं अभिनय गर्छन्‌, रुन्छन्‌, हॉंस्छन्‌, मर्छन्‌, बॉंच्छन्‌। बिल्डिङभित्र उनीहरू प्रेम होइन आत्माको व्यापार गर्छन्‌।'
महलको ठीक विपरीत झोपडीमा स्वच्छ प्रेम देख्नु हुन्छ कथाकार। त्यसैले त भन्नुहुन्छ- "झोपडीमा आत्माको सङ्‌गम हुन्छ। बिल्डिङ गरीबको खुन पसिनाले निर्माण भएको हुन्छ, तर डेरा त माया र विश्वासले मात्र बनेको हुन्छ। यद्यपि, रोजी रोटीको समस्यामा जीवन कसरी यहॉं बितिरहेको छ भन्ने कुरा थाहै हुँदैन हामीलाई। त्यसैले त कथाकार आँशु भन्नुहुन्छ- धूवॉंको असर होइन, रोजी रोटीको समस्या परेको छ।.. घामको प्रचण्ड तापमा अलकत्रको धूवॉं दन्दनी दन्किरहेको आगोको लप्काभित्र तिनीहरूको जिन्दगी चिप्लिरहेको छ। अर्कोतिर समस्या जस्तै किन नहोस्‌, सपना त सबैले सजाएकै हुन्छन्‌। यसैर कथाकार भन्नुहुन्छ-धनमाया भविष्यको मीठो कल्पनामा बेल्चाले अलकत्र र गिटी कुटिरहेकी हुन्छे।
* पिञ्जराको सुखः
अपाङ्‌ग पतिकी एक शिक्षित पत्नीको सङ्‌घर्ष र उसले झेल्न परेको पारिवारिक यातनालाई यहॉं देखाइको छ। कथाकी नायिका मेनुका एक शिक्षित नारी शिक्षित पत्नी, आमा र बुहारी भएर पनि पतिको शङ्‌काको शिकार बन्नुपरेको छ। गाडी दुर्घटनामा परी अपाङ्‌ग बनेका पति अनि सासू आमा र नानीहरूको हेर्चाहसितै अफिसको काम सम्हाल्न व्यस्त मेनुकाले सासू आमाबाट पनि विभिन्न लाञ्छना सहनु परेको छ। यसरी विभिन्न समस्यामा थुनिएकी मेनुकाको सुख पनि एउटा पिञ्जराभित्रै थुनिएसरह छ यस कथामा।
यति हुँदा-हुँदै पनि मेनुकाका पिता आएर घर लान खोज्दा जान नमान्नुबाट एउटी विवाहित नारीका निम्ति उसको पतिको घर नै आफ्नो हुन्छ। त्यहॉंदेखि अन्त जाने आफ्नो घर हुँदैन। पतिको घरै सर्वस्व हो। चाहे पति जस्तै होस्‌ उ नै आफ्नो हो भन्ने कथाकारले देखाउनु भएको छ।
कथामा मेनुकाकी सासू आमालाई उभ्याएर समाजमा रहेको अन्धविश्वासलाई मान्नेको प्रतिनिधित्व गराउनु भएको छ कथाकारले। अन्य कथाहरूझैं पिञ्जराको सुख कथा पनि सहज छ, सरल छ। बुझ्नलाई टाउको दुखाइ छैन। आम पाठकका निम्ति पनि कथा ज्ञानवर्द्धक साथै दृश्यात्मक छ जसले मनोरञ्जन पनि दिनसक्छ।
*घरः
मानवता र आफ्नोपन अनि आफन्तको आदर सम्मान, इज्जत गाउँघरमै हुन्छ तर शहरीयाहरू निष्ठुरी हुन्छन्‌ भन्ने सन्देश यस कथामा पाइन्छ। कथाका मूल पात्र सन्तवीरले आफ्नै सन्तान अथवा छोरा बुहारीबाट अवहेलित हुनुपरेको तथा दुःख पाएको कुरा कथामा पाइन्छ।
एक वृद्धको मार्मिक कथा हाम्रो गाउँ समाजमा भएकै कथा मान्न सकिन्छ। घर शब्दले हामी साधारणत एक सुख सम्पन्न परिवारले भरिएको घर भन्ने बुझ्छौं। यद्यपि, यस कथामा त्यसो नभएर एक दुःखदायक घटना, एक मार्मिक घटना पाउँछौं।
आफ्नो छोरासित मन नपरी नपरी भए पनि शहर पसेका सन्तवीर शहरमा पुगेपछि बिस्तारै तिरस्कृत हुनुपरेको, घरको सर सौदा सकिँदा आफै जानुपर्ने, कुकुरलाई घुमाउनु लानदेखि बुहारी घरमा नहुँदा छोरालाई खान पकाइदिनु जस्ता घटनाले पीडित भएपछि पुनः उ गाउँ फर्किन्छ। यसरी सन्तवीर शहरको वातावरणभन्दा गाउँमै रमाउन चाहन्छ। यहॉंबाट शहरभन्दा गाउँ-घरकै वातावरण असल हुन्छ भन्ने कथाकार कमलाको सन्देश यहॉं पाउन सकिन्छ भने मान्छेको मर्म, पिताको महत्व नबुझ्ने शहरवासी एउटा कुकुरलाई मान्छेलाई भन्दा माया गरी आधुनिकताको परिचय दिन खोजेको कुरामा व्यङ्‌ग्य कस्न पनि कथाकार पछि सर्नु भएको छैन।
*छोरीः
छोरी, यस कथामा कथाकार कमला आँशुले समाजमा पुरुषसरह छोरी पनि जिम्मेवार र दायित्वशील हुनुपर्छ, छोरीले पनि पढ्‌नु पर्छ, हाम्रो समाजमा नारी शिक्षाको अति आवश्यक छ भन्ने सन्देश दिनचाहनु भएको छ। छोरी अर्काको भित्ता टाल्ने जात भनेर हेपिँदै आएका नारीले पनि आफ्नो खुट्टामा उभिन सक्नुपर्छ भन्ने सन्देश यहॉं पाइन्छ।
आफ्नो भाइले जस्तो घरमा माया पाउन नसकेकी कौशी रात भरि-भरि धिब्री बालेर पढ्‌दा पिताले गाली गरे पनि पछि उ एक सफल नारी बन्छे। यसरी सङ्‌घर्ष र लगनशीलताको कारण अन्त्यमा स्वालम्बी बन्न सफल कौशीको कथाबाट नारीले पनि सङ्‌घर्ष गरे आफ्नो जीवन सफल बनाउन सक्छन्‌ भन्ने कथाकारको विश्वास कथामा पाइन्छ। मूलतः कथामा नारी शिक्षाको आवश्यकता नै कथाकारको उद्देश्य यहॉं पाइन्छ।
* ढल्दै गइरहेको सॉंझः
यो सङ्‌ग्रहको अन्तिम कथा हो। मान्छेको समय सधैं एकैनासको रहॅंदैन। कहिले घरभरि रहेका आफन्तहरूको लागि चौबीसै घण्टा व्यस्त रहनुपर्छ भने कहिले शून्यताको अनुभव गर्दै मृत्युको पर्खाइमा पनि बॉंच्नु पर्छ। यस कथामा पनि मनकलाको त्यस्तै स्थिति त्यस्तै छ। जन्मिँदा एक्लै र मर्दा पनि एक्लै हुनुपर्ने मान्छे जीवनकालमा एक्लै रहन सक्दैन। मान्छे स्वभावले नै सामाजिक हुन्छ। उसलाई बॉंच्नको निम्ति कसैको साथ कसैको सहाराको खॉंचो पर्छ। यही कुरालाई कथाकारले दर्शाउनु भएको छ।
यसबाहेक कथामा कथाकारले शहरमा बसेर हामीले बिजुली बत्तीको खपतमा पनि सचेत रहनुपर्छ भन्ने सचेतनाको सन्देश दिनुभएको छ भने मानवताका कुराहरू पनि प्रशस्तै भेटिन्छन्‌। कथाकार कमला आँशुका सबै कथा सरल र सहज भाषा शैलीमा लेखिएका भए पनि कटुवा, सर्को जस्तो आफ्नै शब्दहरूको साथमा फिनिसिङ डेली, लभ, डिजाइन, सेटल आदि अङ्‌ग्रेजी शब्दको प्रयोग यततत्र पाइन्छन्‌। तर पनि ती शब्दहरूको प्रयोगले कथालाई मिठास भर्नका साथै समाजको स्थितिलाई जस्ताको तस्तै उतार्नमा सहयोग पुऱ्याएको अनुभव हुन्छ।
कतिपय कथामा "काश' शब्दको अनावश्यक प्रयोग भएको पनि पाइन्छ। उदाहरणार्थ
-काश मेनुकालाई यस्ता मन्द पवनको स्पर्शले चुमिरहन्छ।
-काश मेनुकाको त्यो रमाइलो क्षण र जिन्दगीका खुशीहरू त्यो तीखो कॉंडा जस्तो विधाताले खोसिदियो...।
-काश आज उ बोजुको काखमा दगुरेर उसको खुशीको वर्णन पनि गर्न सक्दिन। आदि। सेतो गुलाफ पहिलो कथा सङ्‌ग्रह भएकोले यसभित्रका कथाहरूमा यस्ता स-साना कुराहरू भेटिनु उत्ति अस्वभाविक पनि होइन जस्तो लाग्छ।

No comments:

Post a Comment