त्रिफलाद्वारा बैरागी काइँलालाई पहिलो मोतीराम भट्ट साहित्य पुरस्कार
-अर्जुन राई
कविता लेख्ने मान्छे होइन अथवा कविता मान्छेले लेख्दैनन्। मैले लेखेको भन्नु भूल हो। समाजको ज्ञान, संसारको ज्ञान मान्छेभित्र हुन्छ अनि त्यो ज्ञानले मात्र लेखिन्छ जो कवि व्यक्तिमा भएको कविता शक्तिले लेखाउँछ, ज्ञानले लेखाउँछ। उक्त मन्तव्य साहित्यकार डा. इन्द्र बहादुर राईले राखेका हुन्। त्रिफला राष्ट्रिय पुस्ताकलय, धुलाबारी झापा नेपालद्वारा 14 सितम्बर 2010 को दिन् आयोजित पुस्तकालय दिवस तथा 145औं मोती जयन्तीको अवसरमा सम्पन्न वृहत साहित्यिक समरोहमा उनका समकालीन तथा तेस्रो आयामका (आयामेली आन्दोलनका) सम-प्रवर्तक तिलविक्रम नेम्बाङ (बैरागी काइँला)-लाई पहिलो मोतीराम भट्ट साहित्य पुरस्कार दिँदै काइँलाका कवि व्यक्तित्वको चर्चा गरिरहेका थिए।
पुरस्कृत भन्ने शब्द अलि सानो भयो, सम्मानित भनौं तिलविक्रम नेम्बाङज्यूसित धेरै पछि भेट्न पाउँदा धेरै खुशी लागेको छ। काइँलालाई एक अशल कवि व्यक्तित्व बताउँदै राईले भने बैरागी काइँलालाई नेपाली साहित्यमा उच्च कोटीका कवि हुन् भनेर सबैतिर मान्यता छ। कतिले बैरागी काइँलाको कवित्वमा आलोचना गरेको सुन्छु तर त्यो भ्रम मात्र हो। बैरागी काइँला आयामिक लेखक भएर कवि भएका हुनभन्नु भूल हो। आयामिक लेखकको त "लेबल' मात्र लागेको हो। काइँला कवि भएरै कवि भएका हुन्। राईले इश्वर बल्लभ पनि आयामिक लेखक भएर होइन कवि भएरै कवि भएका हुन् भनी बताए।
काइँलाका कवित्व विषय बोल्दै इन्द्रबहादुर राईले भने, उनका कविताहरू अघिका दिनहरूमा जुन कोटीका लेखिन्थे अहिले पनि उस्तै नै लेखिन्छन्। अघिका दिनहरूमा जुन कवित्व जोश, जॉंगर र स्तर थियो त्यो अहिले पनि उस्तै छ। पहिला जुन स्तरमा लेखिएका थिए काइँलाका कविता अहिले पनि त्यहि स्तरमा लेखिदै छन्। उनको कविता शक्ति घटेन, धटेको छैन। अहिलेको आधुनिक परम्परामा लेखिने कविताहरू कै हारमा छन् उनका कविताहरू। उनका कविता शक्ति यथावत रहनुका कारणहरू प्रयास गरेको बताउँदै राईले युरोपबाट आएको संरचनावादले उनका कवित्वलाई स्तरीय बनाई राखेको पनि बताए। कवि काइँलामा कविता ज्ञानको संरचना जो अघि थियो त्यो अझै पनि रहेको बताउँदै समय अमुसार अथवा समयको माग अनुसार लेखिनु पर्ने पनि उनले बताए।
समयले मागेको लेख्नु पर्छ भन्ने कुरामा पहिले हामी भिन्नै अर्थ लगाउँथ्यौं भन्दै समयसितै परिपक्क भएर गएको अनि हामीले यो समयबाटै सिक्नु पर्ने रहेछ भन्ने बुझेको उनले बताए।
राईले अझ भने, यो संसार धेरै पक्ष विषय मिलिएर बनिएको हुन्छ। त्यसैले यो समाजमा बॉंच्नु पर्छ भने हामी मल्टी डाइमेन्सनल बन्नु पर्छ, बहू पक्षीय बन्नु पर्छ। हाम्रो जीवनमा धर्म, अर्थ, काम र मोक्ष चारै कुराको आवश्यक पर्छ। त्यसैले हामीले बहूपक्षीय बन्नु पर्छ। तर हाम्रो समाजको अवस्थाले हामीलाई बहूपक्षीय बन्न दिँदैन। एकातिर हामी बहूपक्षीय बन्नु पर्ने समाजको माग रहेको छ अर्कोतिर यहि समाजले हामीलाई कुच्याएर राखेकोछ, एकपक्षीय बन्न बाध्य गराइरहेको छ। यद्यपि, समाजको अवस्थाले हामीलाई एकपक्षीय बन्न बाध्य बनाए पनि हामी ज्ञानको तहमा त बहूपक्षीय बन्न सक्छौं।
राईले आाफ्नो सम्बोधनमा अझ भन्दै थिए, संसारमा सब चीजमा बिविधता छ। हामीले बहूपक्षीय साहित्य लेख्नु पर्छ। त्यसको निम्ति हामीले शहनशील बन्नु पर्छ अनि मात्र हाम्रो साहित्य पनि बहूपक्षीय हुन्छ। साहित्यमा बहूपक्षीय ल्याउनलाई हामीमा पहूपक्षीय ज्ञान हुनु आवश्यक छ। ज्ञान भन्ने कुरा एक दिशाबाट हेरेर हुँदैन। उदाहरण स्वरुप एकापटिबाट एउटा डाडालाई हेर्दा चरा जस्तो देखिन्छ, ठीकै हो। फेरि अर्को पटिबाट हेर्दा त्यहि डाडॉंलाई गाडीजस्तो देखिन्छ, त्यो पनि ठीकै हो। त्यसैले पूर्वबाट हेर्दा चराजस्तो देखिएको डाडॉंलाई पश्चिमबाट गाडी जस्तो देखिने कुरा स्वीकार गर्नु पर्छ। आफुले देखेको कुरा मात्र ठीक हो भन्ने होइन। राईले कवि काइँलाको कवित्वमा मानिसहरूको गरेको आलोचना विषय बोलिरहेका थिए। उनी भन्दै थिए, आफुले चरा जस्तो देखेको डाडॉंलाई अर्काले किन गाडी जस्तो देखे त्यसको कारण पत्तो लगाउँनु पर्छ। त्यस्तै साहित्यमा मैले हिडेकै बाटो हिड्नु पर्छ भन्नु भूल हो। त्यो एक पक्षीय मात्र हुन्छ। हामीमा शहनशीलता हुनु पर्छ, आफु मात्र ठीक हो भन्नु भ्रम हो।
हामी धेरै कुरा गर्छौं, कति कुरा मीठा-रसिला हुन्छन्। तर लेख्ने मान्छेहरू भेला भएकोमा लेख्ने विषयमै कुरा गर्नु पर्छ, साहित्यकारहरूले सिद्धान्त कै कुरा गरेको असल हुन्छ, नभए कार्यक्रम पूरा हुन्छ जस्तो लाग्दैन भन्दै डा. इन्द्रबहादुर राईले साहित्य सिद्धान्तका थप कुराहरू राखेका थिए। उनले भन्दै थिए, हाम्रो साहित्य एक पक्षीय हुनु हुदैन, बहूपक्षीय हुनु पर्छ। त्यसैले हामी सिद्धान्तवादी भएर मात्र पनि हुँदैन। अब यहॉं आएर हामीले आफुले देखेका कुरा मैले किन यस्तो देखे भनेर अथवा किन त्यस्तो बुझे अनि अरुले किन मैले देखेको जस्तो देखेन? त्यसको कारण खोज्नु पर्ने हुन्छ। कारण नबुझी आफु सहि भन्नु अथवा ठीक भन्नु भूल हो, एउटा भ्रम मात्र हो।
आइन्स्टाइनको "माइन्स एण्ड लजिक' ले पनि यहि कुरा बताएको अवगत गराउँदै त्यसको कारण खोज्नु पर्ने बताए। आफुले देखेको, बुझेको तथा हिडेको नै अरुले पनि पछ्याउनु पर्छ भन्न मिल्दैन। आफुमात्र ठीक हुँ भन्नु भूल हो। दुवै आफ्नो-आफ्नो ठाउँमा सहि हुन पनि सकिन्छ। त्यसैले मैले एउटा देखेको कुरालाई अरुले किन अर्कै देख्यो भन्ने कुराको कारण खोज्नु आवश्यक छ भन्ने बुझेको बताउँदै त्यो कारण "ज्ञान मिमांसा' रहेको बताए।
त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी झापा नेपालद्वारा स्थापित पहिलो मोतीराम भट्ट साहित्य पुरस्कारले सम्मानित साहित्यकार बैरागी काइँलाले पनि आफ्नो मन्तव्य राखेका थिए। आफ्नो सम्बोधनमा उनले भने, धेरै वर्ष अघि एक-दुइवटा पुस्तक तान्द्राङ-तुन्द्रुङ झुण्ड्याएर शुरु गरेको पुस्तकालयले आज राष्ट्रिय रुप लिइसकेछ थाहै नपाई। "त्रिफला' के अर्थमा नाम राखिएको हो त्यो थाहा छैन तर आफ्नै गाउँघरमा यतिठूलो पुस्तकालय खोलिएकोमा अति हर्ष लागेको छ। त्रिफला भनेर एउटा औषधिको नामजस्तो लाग्छ, उनले भने। हालमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति रहेका काइलाले भने, जे भए पनि यो पुस्तकालयले नेपाली साहित्यको क्षेत्रमा समाजलाई सानोतिनो औषधि कै काम गर्छ जस्तो मलाई लागेको छ भनी बताए। उनले अझ भने, आफुले त साहित्यमा त्यस्तो केहि गरेजस्तो लाग्दैन, तर पनि पहिलो मोतीराम भट्ट साहित्य पुरस्कारको निम्ति मलाई चयन गरेकोमा अति खुशी छ। आज पुरस्कृत हुँदा जति खुशी लागेको छ त्यो भन्दा बडी आईबी (इन्द्रबहादुर) दाइसित भेट्न पाएकोमा खुशी लागेको छ। त्रिफला पुस्तकालयले आज यो अवसर दिएको छ। "मातेको मान्छेको भाषण मध्यरात पछिको सडकसित' कविताका स्रष्टा कवि काइँलाले पुस्तकालयले आफुलाई सम्झेकोमा आभार प्रकट पनि गरेका थिए। उनले साहित्य र साहित्यकार विषय बोल्दै भने, लेख्न थालेको मान्छेले अर्काको कुभलो कम्ति चिताउँछ। भलो काममा उत्प्रेरित गर्छ। त्यसरी नै आज त्रिफला राष्ट्रिय पुस्तकालयले साहित्यिक कार्यक्रम आयोजन गरेकोमा हामीले प्रशंसा गर्नु पर्छ। यसता कार्यक्रमहरूले मान्छेलाई अशल मार्गमा दोहोऱ्याउँछ, समाजलाई विकृतिबाट जोगाउँछ।
47-वर्ष अघि दार्जीलिङबाट साहित्यकार इन्द्रबहादुर राई र ईश्वर बल्लभका साथमा नेपाली साहित्यमा आयामेली आन्दोलन शुरु गर्ने एक प्रवर्तकका रुपमा परिचित काइँलालाई मुख्य अतिथिका रुपमा उपस्थित राई स्वयंले टोपी र दोसल्ला ओढाएर सम्मान जनाएका थिए भने उनलाई नगत 30 हजार रुपियॉं र ताम्र पत्र पनि प्रदान गरिएको थियो। यद्यपि, पुस्तकालयको निम्ति अहिलेसम्म केहि गर्न नसकेका काइँलाले उक्त पुरस्कार राशी त्रिफला राष्ट्रिय पुस्तकालयलाई नै सहयोग तथा अनुदान राशी स्वरुप चढाए। स्मरनीय, पुस्तकालयले यो पुरस्कार प्रत्येक 2 वर्षमा एक जना साहित्यकारलाई दिने छ अनि यसको निम्ति पूर्ण रुपले नेपाली साहित्यसितै जुडेका साहित्यकार हुनु पर्नेछ।
पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फलाहारीले स्थानीय समाजसेवी छत्रबहादुर बस्नेतद्वारा प्राप्त राशी पॉंच लाख रुपियाको अक्षयकोषबाट यो पुरस्कार शुरु गरिएको बतोका छन्। यद्यपि केहि वर्ष अघि छेत्रीको स्वर्गवास भएको पनि उनले बताए।
लीला अनमोलद्वारा सञ्चालित उक्त कार्यक्रममा भारत तथा नेपालका बिभिन्न भेकबाट साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा उपस्थित नेपाली साहित्य परिषद,सिक्किमका पूर्व अध्यक्ष प्रद्युम्न श्रेष्ठले पनि सिक्किमलाई प्रतिनिधित्व गर्दै आफ्नो मन्तव्य राखेका थिए। श्रेष्ठले आफ्नो सम्बोधनमा पुस्तकालयद्वारा यस प्रकारको कार्यक्रम आयोजन गरेकोमा खुशी व्यक्त गर्दै पहिलो मोतीराम भट्ट साहित्य पुरस्कारले सम्मानित कवि बैरागी काइँलालाई बधाई दिए। श्रेष्ठका साथमा सिक्किमबाट कवि अमर बानियॉं "लोहोरो', चक्रपाणि भट्टराई, टीका ढुङ्गेल र अर्जुन चामलिङ "यावा'को पनि उपस्थिति रहेको थियो। यस अवसरमा कार्यक्रमका मुख्य अतिथि, सभाध्यक्ष तथा सम्मानित व्यक्तित्व काइँला लगायत विशिष्ठ अतिथि कृष्ण भूषण वलको बाहुलीबाट गोविन्द तिम्सिनाको आस्थाबिनाका यात्राहरू (उपन्यास), ऋषि राईको मनका तरङ्गहरू कविता सागरमा (कविता सङ्ग्रह), चक्रपाणि भट्टराईको लालुपाते (महाकाव्य), टीका ढुङ्गेलको समीक्षा कुञ्ज (समीक्षा सङ्ग्रह)आदि पुस्तकहरू विमोचन गरिएको थियो। कार्यक्रममा उपस्थित वरीष्ठ साहित्यकारहरूलाई "कदर पत्र' तथा "मायाको चिनो' स्वरुप भेट चढाइएको थियो भने साहित्यकारहरूलाई पनि "मायाको चिनो' भेट गरिएको थियो। सरीनै पुस्तकालय दिवस तथा 145 औं मोती जयन्तीको अवसरमा अघिबाटै राखिएको गजल प्रतियोगितामा प्रहिलो, दोस्रो र तेस्रो हुने क्रमैले अम्बिका कडरिया, उब्तव ओझा र प्रकाश किरणलाई पनि अतिथिगणको बाहुलीबाट पुरस्कार बितरण गरिएको थियो।
Wednesday, April 20, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment