Friday, April 22, 2011

वर्तमान नेपाली साहित्यिक पत्र-पत्रिका सम्पादनमा देखिएका समस्याहरू

अर्जुन राई
"वर्तमान नेपाली साहित्य'-को सन्दर्भमा सर्वप्रथम "नेपाली साहित्य'-को कुरा गर्नु यहॉं आवश्यक देखिन्छ। नेपाली साहित्यको ऐतिहासिक पृष्ठभूमिलाई पूर्ण रूपले केलाउन यहॉं सम्भव छैन। अहिलेलाई यति भन्न सकिन्छ, नेपाली भाषाको ऐतिहासिक पक्षलाई हेर्नु हो भने विश्वभाषाका विभिन्न परिवारमध्ये भारोपेली परिवारसम्म पुग्नुपर्ने हुन्छ।
भारोपेली परिवारअन्तर्गत शतम समूहमा पर्ने भारत-इरानेली एउटा हो। त्यसैको एक भाषिका भारतीय आर्यलीअन्तर्गत आर्य भाषाको एक शाखा हो प्राकृत। त्यही प्राकृतमा पर्ने "खस' लाई पश्चिम पहाडी, गडवाली, कुमाउली अथवा नेपाली भनेर छुट्याइएको पाइन्छ। यद्यपि, भारोपेली परिवारको संस्कृत भाषिकाबाट प्राकृत भाषिका हुँदै आज विकसित भएको नेपाली भाषालाई नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहका पालाभन्दा केही पछिदेखि मात्रै "नेपाली' भन्नथालिएको पाइने कुरा डा. तारानाथ शर्माले बताएका छन्‌। यस कुरामा प्रायः भाषाविद्‌ एकमत छन्‌। त्यस अघिसम्म नेपाली भाषालाई गोर्खा भाषा अथवा खस भाषा भनिएको पाइन्छ, जसलाई पर्वते भाषा पनि भनिने गरेको पाइन्छ भन्ने विद्वानहरूको भनाइ छ।
जे होस्‌, नेपाली भाषामा अहिलेसम्म सन्‌ 981-मा प्राप्त राजा दामुपालको शीलालेखलाई प्राचीनतम लिपिबद्ध रूप मानिएको छ अनि नेपाली साहित्यिक इतिहासको पृष्ठभूमि यहींबाट शुरु भएको मानिएको छ। यस कुरालाई हामी अवश्य स्वीकार्छौं नै।
आज नेपाली साहित्यमा अस्तित्ववाद, छायावाद, झर्कोवाद, स्वच्छन्दवाद, प्रगतिवाद, यथार्थवाद, अतियथार्थवाद, नव-आलोचनावाद, तेस्रो आयाम, लीलालेखन, बुट पलिस आदि वाद र आयामले नेपाली साहित्यमा प्रवेश गरेको पाइन्छ। यी आयाम र वादहरूले नेपाली भाषालाई परिस्कृत र परिमार्जित गराएको कुरामा सबैलाई एकमत पाउन सकिन्छ। यी कुराहरूलाई छोडेर यहॉं मैले कुरा गर्नुपर्ने विषय रहेको छ वर्तमान नेपाली साहित्यिक पत्र-पत्रिका सम्पादनमा देखा परेका व्यावहारिक समस्याहरूको।
अब, वर्तमान नेपाली साहित्यिक पत्र-पत्रिका सम्पादनमा देखिएका अथवा देखा परेका व्यावहारिक समस्याहरू भन्दा यहॉं मलाई "व्यावहारिक' शब्दले अलिकति गॉंठो पारेको पक्कै छ। यद्यपि, यो शब्दलाई मैले गौण रूपमा राखेर "समस्याहरू' माथि नै आफैलाई ध्यानकर्षित गराउने प्रयास गरेको छु।
यहॉं आएर म यति भन्न चाहन्छु, मैले आफ्नो नितान्त विचार मात्र पोख्ने प्रयास गरेको छु। अथवा अझ यसो भन्न उचित होला, यस लेखमा म स्वयंले अनुभव गरेका कुराहरू र भोगेका कुराहरू मात्र लेख्ने प्रयास गरेको छु।
अहिले हामी त्यसै पनि नेपाली साहित्यको विषयमा छौं र यहॉं प्रश्न आउँछ, पत्र-पत्रिका सम्पादनमा देखा परेका व्यावहारिक समस्याको। यी समस्याहरू के-के हुन्‌ त? अथवा के-के छन्‌ त? मैले यी कुराहरूलाई निम्न प्रकारले हेर्ने प्रयास गरेको छु।
यहॉं अन्य भाषा छोडेर नेपाली भाषाको सम्बन्धमा उठान गर्दा प्रायः विद्वानहरू एकमत कहीं पनि पाइँदैनन्‌ अथवा भाषिक एकरूपता देखिन्न, जसले पत्र-पत्रिका सम्पादनमा समस्या उत्पन्न गर्ने देखिन्छ। "भाषिक एकरूपता' भन्नाले विशेषत: "शुद्धता' को कुरा उठ्‌छ। ठूला-लेखक तथा विद्वानहरू यहॉं आ-आफ्नो अडानमा रहेका पाइन्छ। सानो उदाहरण - "एस्तो' अथवा "यस्तो',"एसो' अथवा "यसो'। यस्ता धेरै शब्दहरू छन्‌ जस्मा विद्वान -साहित्यकार आ-आफ्नै अडानमा रहेर यस्ता शब्दहरूको प्रयोग गरिरहेका छन्‌। अथवा यी शब्दहरूलाई पनि एकथरिले एउटालाई मान्छन्‌ अर्को थरिकाले मान्दैनन्‌ र अर्का थरिकाले एउटालाई स्वीकार्छन्‌ तर अर्कोलाई स्वीकारेका छैनन्‌। यस्ता साना-साना शब्दहरूमा विद्वान-साहित्यकारहरू विभाजित छन्‌। यो समस्या उस्तो ठूलो नहोला तर एउटा छापाखाना जान तयारी भइसकेको गतिलो लेखहरूको सॅंगालो मान्नसकिने एउटा पत्रिकाको डीटीपी तयार भएर पनि यस्तै समस्याका कारण प्रकाशित हुननपाएको अथवा नसकेको जानकारी पाइएको छ।
यसरी शुद्धा-शुद्धीको विषयमा वैभिन्नता नयॉं कुरा होइन, जसमा इन्द्रबहादुर राईले पनि भाषा शुद्ध कहॉंको भन्ने प्रश्न उठाएर सबैलाई चित्तबुझ्दो उत्तर पनि दिइसक्नुभएको छ, हामीलाई ज्ञात भएकै कुरा हो। यद्यपि, अझैसम्म हामी यस्ता समस्याबाट उन्मुक्त हुनसकेका छौं जस्तो लाग्दैन।
अर्को समस्या जो हामी सबैले अनुभव गरिरहेको विषय, आर्थिक समस्या। अथवा प्रकाशकको कमी। एकजना सम्पादक मात्रैले कुनै एउटा पत्रिका सम्पादन गरेर प्रकाशित गरी पाठकको हातमा थमाउन कठिनै पर्ने कुरा हो। त्यसैले सम्पादक प्रकाशकको खोजीमा लागिपर्दा अथवा एकजना लेखक प्रकाशकसम्म पुग्दा लेखक-सम्पादक कतै कतै ओझेलमा पर्नेगरेको पनि पाइन्छ। यहॉं भन्न खोजिएको के हो भने "प्रकाशक' पनि साहित्य तथा समाज पक्षीय हुन आवश्यक छ तर प्राय: त्यस्तो देखिँदैन। आज एक सम्पादकले पत्रिका प्रकाशनार्थ प्रकाशक खोज्दै कुनै ठेकादार अथवा कोही आर्थिक सम्पन्न व्यक्तिसम्म पुग्नुपर्ने अनि उसका अनावश्यक कुराहरू सुनेर कोरिदिनुपर्ने र नचाहेर पनि लेखिदिनुपर्ने बाध्यताहरू लछेप्रै छन्‌। यी कुराहरू पनि सायद मेरो विचारमा पत्र-पत्रिकाको सम्पादनमा एउटा समस्या बन्नसक्छ कारण यहॉं लेख्न नचाहेका कुरा पनि लेख्नुपरेको हन्छ। यद्यपि, प्रकाशन पक्षले सधैं लेखकलाई नै ध्यानमा राखोवोस्‌ भन्न चाहिँ सकिन्न तर दुवै पक्ष साहित्य र समाजको पक्षमा बलियो हुन आवश्यक छ।
अर्को कुरा हामीसित पुस्तक, पत्र-पत्रिका किनेर पढ्‌ने बानी बसाल्नु आवश्यक देखिन्छ। यस लेखको शुरुमै भनियो, नेपाली साहित्यको लिखित रूप 981-मै पाइसकिएको हो। त्यस हिसाबले हाम्रो साहित्य लेखिन थालेको हजार वर्ष नाघिसकेछ। तर अझै पनि हामी भने कम्प्लिमेण्ट्री दिने अथवा पाउने आशामा बॉंचिरहेकै छौं। कम्प्लिमेण्ट्री अथवा सित्थैंमा लिने र दिने प्रथामा हाम्रो साहित्य कहिलेसम्म बॉंच्ने? हामीसित त्यस्ता व्यक्तित्व कमै छन्‌, जसले कुनै पत्रिका, कुनै पुस्तक किनेर पढ्‌न चाहन्छन्‌। मलाई लाग्छ, यस्ता प्रवृत्तिले पनि हाम्रो पत्र-पत्रिकालाई उज्यालोतिर डोहोऱ्याउन सक्दैन। यसैले हामीले पत्र-पत्रिकादि किनेर पढ्‌ने परम्परा नै बसाल्न जरुरी छ। यसो गर्नाले सम्पादकहरूले थोरै नै भए पनि प्रोत्साहन पाउन सक्लान्‌ कि भन्ने मेरो झिनो आशा।
यहॉं आएर अर्को पनि समस्या उत्पन्न हुनसक्ने देखिन्छ। लेखक हामी नै अनि पाठक पनि हामी नै। त्यसैले एउटा पत्रिकामा आफ्नो रचना छापिएको अथवा दिएकोमा त्यसको पारिश्रमिक पाउनु त होइन उल्टै किनेर पढ्‌नु? भन्ने प्रश्न आउन सक्छ। अर्कोतिर हाम्रो साहित्य, हाम्रै पत्र-पत्रिकालाई हामीले सहयोग नगरे अरू कसले गर्ने त भन्ने प्रश्न पनि आउँछ। यता अझसम्म सम्पादकहरू आफैमा निर्भर बन्नसकेको पनि पाइँदैन। त्यसैले पत्र-पत्रिका अथवा पुस्तक हामीले किनेर पढौं, किनेर पढ्‌ने परम्परा बसाऔं भन्ने कुरामा आफू अघिका लेखक-पाठक तथा विद्वानले विचार-विमर्श गरिदिए असल होला नभए दुइ हजार वर्ष लामो नेपाली साहित्यको इतिहासमा अझै सङ्‌कट थपिन सक्दैन भन्न सकिँदैन। दुइ हजार वर्ष लामो नेपाली साहित्यको इतिहासको प्रश्नमा एउटा कुरा थप्न मन लाग्यो, साहित्यकार विजय कुमार सुब्बासितको भेटमा उहॉं सधैं भन्नुहुन्छ- "हाम्रा पत्र-पत्रिका दश वर्ष पहिला पनि एक हजार प्रति प्रकाशित हुन्थे र अहिले आएर पनि एकै हजार।' सायद यस कुराले पनि हामी अथवा हाम्रो साहित्य कति विकसित भइरहेछ भन्ने बुझाउँछ।
यसरी नै हामीले सम्पादक हुने रहर त्याग्नुपर्छ। सम्पादक हुने "रहर'-को कुरा उठेको छ। साधारणत: यसलाई दुइ भागमा अथवा दुइ समूहमा विभाजित गरेर हेर्ने प्रयास गरिएको छ। पहिलोः लेखक-कविका रचनालाई सङ्‌कलित गरी एउटा "पत्रिका' को माध्यमद्वारा उनीहरूलाई प्रोत्साहन दिने र साहित्य वा समाजमा केही काम गरौं भन्ने विचार सोचको रहर। यसलाई हामी बहुउद्देश्यीयको रूपमा लिन पनि सक्छौं। अर्को, पत्र-पत्रिका सम्पादन-प्रकाशनलाई आफ्नो आयस्रोतको रूपमा अथवा व्यवसायको रूपमा मात्र अप्नाएको पनि पाइन्छ, जसलाई व्यक्तिगत उद्देश्य अथवा निजी स्वार्थका रूपमा लिनसकिन्छ। सम्पादक बन्ने यी दुइ प्रकारका रहरमध्ये पछिल्लो रहरले पनि हाम्रो साहित्यलाई फ्यातुलो बनाउने सम्भावना देखिन्छ। कारण, उसलाई साहित्यको सेवा पुऱ्याउनु अथवा एउटा पत्रिकाबाट एकैजनालाई भए पनि राम्रो कुरा दिनुभन्दा धेरै त्यहॉंबाट आफ्नो आयस्रोत बढाउनतिर लोभ हुन्छ अनि निजी स्वार्थले साहित्य वा समाजको सेवा हुनसक्दैन।
अब यहॉं पत्र-पत्रिकाको सम्पादनमा देखिएका समस्याभित्र पर्छ वा पर्दैन? जसै भए पनि राम्रा-राम्रा नवोदित लेखकको मान्यता नरहेको अनि केवल नामकै आधारमा मात्रै पनि हामी लेख-रचनालाई तौलिने गर्छौं। यसो गर्दा "रचना' लाई न्याय हुननसक्ने देखिन्छ। यी कुराहरू भारतीय स्तरमै हेर्दा पनि मान्यता प्राप्त संघ-संस्थानहरू पनि व्याप्त रहेको देखिन्छ।
अर्को कुरा कसैलाई व्यक्तिगत रूपमा भन्न चाहेको होइन तर म स्वयंले अनुभव गरेको तीतो अनुभव राख्न चाहॅंदैछु। हामी जस्ता नवयुवा जो सम्पादनको क्षेत्रमा रहर गरेर निस्कन चाहेका छौं (यहॉं रहरको कुरा अघि पनि राखि सकिएको छ) अनि पत्र-पत्रिका प्रकाशन गर्ने जमर्को गरिरहेका छौं, समाजका विद्वत समूहले यसलाई कस्तो रूपमा लिने भन्ने प्रश्न उठ्‌न सक्छ कारण अघि नै भनियो र फेरि भन्न चाहन्छु यसलाई व्यक्तिगत रूपमा हेरिएको छैन। तर यो अनुभव गरिएको विषय हो कि साना-साना पत्रिकामा आफ्नो रचना छापिए धेरैजना आफ्नो स्तर घट्‌ने वा ओजन तल झर्ने सम्झन्छन्‌। कुनै पत्रिकालाई रचना दिनअघि कुन अङ्क हो, पहिलाका अङ्कहरू कतिको ओजनदार छन्‌? जस्ता प्रश्नहरू थुप्रिने गरेको उदाहरण प्रशस्तै छन्‌। तर आफ्नो एउटै रचनाले पनि युवा लेखक-सम्पादकलाई अलिकति भए पनि प्रेरणा मिल्छ भन्ने विचार धेरैमा पाइन्न। अब यहॉं प्रश्न के उठ्‌छ भने आफ्ना अग्रजबाटै युवाहरूले प्रेरणा नपाए हाम्रो साहित्यको भविष्य कस्तो होला? हामीले विचार्न आवश्यक देखिन्छ।
यसै सन्दर्भमा सम्पर्कको अभाव पनि देखिन्छ। पूर्वबाट प्रकाशित पत्रिकामा पश्चिमका साहित्यकारका रचना अनि पश्चिमबाट प्रकाशित पत्रिकामा पूर्वका साहित्यकारका चनाहरू कमै समावेश भएका देखिन्छन्‌। यतिसम्म, कहॉंबाट कहिले कुन-कुन पत्रिका प्रकाशित भइरहेछ हामीलाई त्यसको जानकारीसम्म छैन। हामीसित जसरी गान्तोकमा नेपाली साहित्य परिषद्‌ छ त्यसरी चारै जिल्लामा सम्पर्कको सरल माध्यम छैन अनि एउटा रचनाका लागि एक ठाउँबाट अर्को ठाउँ तीन-चारपल्ट पुग्नु एक सम्पादकका निम्ति सजिलो कुरा पक्का होइन।
यही कुरा एकपल्ट (वर्ष 2008-09 मा हुनुपर्छ) नेपालका साहित्यकारहरूआएका बेला यही मञ्चमा उठाइएको थियो, सायद त्यतिमै सीमित रह्यो। केही दिन अघिमात्र ललितकला अकादमीका सम्पादक तथा समालोचक डा. ज्योति जोशीले चित्रकला कार्यशालाको समापन समारोहको अवसरमा स्थानीय कवि-कवयित्रीद्वारा पठित कविता सुनेपछि अझै धेरैले कविता वाचन गर्नुपर्ने थियो भनेका थिए। तर त्यस्ता राम्रा-राम्रा कवि-कवयित्री तथा लेखक सबैसित सम्पर्क गर्न नै कहॉं सकिन्छ र? यो कुरा आएको हो सम्पर्कको अभावको विषयमा। यस्तै सम्पर्ककै अभावमा राम्रा-राम्रा कवि-कवयित्री तथा लेखकहरू बाहिर आउन पाएका हुँदैनन्‌।
हाम्रो साहित्यमा देखिएको अर्को समस्या हो नारी कलममा पुरुष वर्गीय विरोध। यस लेखमा लेखक स्वयं पुरुष भएको नातामा यो विषय उठेको होइन तर नारी सिर्जित साहित्य पुरुष वर्गीय होइन पुरुष व्यवस्थाको विरोधमा लेखिए असल जस्तो लाग्छ मलाई तर त्यस्तो भएको पाइँदैन।
अर्कोतिर नारी लेखिका माथिको आरोप होइन तर विवाहपूर्व नारी सिर्जनामा जुन प्रकारको जोश-जॉंगरिलो रूपमा सक्रिय देखिन्छ, विवाहपछि त्यति नै निष्क्रिय हुँदै जाने गरेको देखिएको छ। अथवा नारीहरू विवाहपछि साहित्य सिर्जनामा पलायन हुँदैगइरहेका छन्‌। यसलाई पनि हाम्रो साहित्यिक जगतको उचित सङ्‌केत मान्न सकिन्न जस्तो मलाई लाग्छ।
त्यस्तै सिक्किमकै सन्दर्भमा कुरा गर्नुपर्दा यहॉं बाल साहित्यको पनि विकास हुनसकेको देखिँदैन। सिक्किमेली नेपाली साहित्यको इतिहासलाई केलाउँदै अपतन साहित्यसम्म पुग्दा पनि 60 वर्ष नाघिसकेको छ। तर, अहिलेसम्म यहॉंबाट बाल साहित्यमा भने जस्तो कलम चलेको पाइँदैन। बाल दर्पण एउटै मासिक बाल पत्रिका नियमित रूपमा प्रकाशित पाइन्छ भने बाल साहित्य सन्दर्भका अन्य पुस्तकहरू कमै छन्‌। बाल साहित्यमा ठूला लेखकको कलम जति थोरै चलेको छ, बाल प्रतिभाहरूका रचनालाई प्रकाशित गरी उनीहरूलाई प्रोत्साहन दिने काम पनि उतिकै कम देखिन्छ।
अर्को समस्या देखिन आएको छ यहॉं, त्यो हो ठूलाले सानालाई मान्यता नदिनु। ठूलाहरूको रचना-कृति सानाले पढ्‌नु आवश्यक छ, यो पक्का हो। कारण त्यहॉंबाट केही बुझिन्छ, केही जानिन्छ निश्चय। तर सानाहरूका रचना सबै त भन्न नमिल्ला तर धेरैजसो पढिँदैन। यहॉं रचनालाई रचनाकारको "नाम' कै आधारमा स्थान दिइने कुरा अघि नै भनिसकियो। तर नेपाली साहित्यमा पनि धेरै अघि नै आइसकेको न्यू-क्रिटिसिज्म अथवा नव-आलोचनावादको आधारमा हेरिनु हो भने नवोदित कलमद्वारा सिर्जित रचना पनि उतिकै उत्कृष्ट रहेको पाउन सकिन्छ। तर त्यस्ता धेरै रचना अथवा रचकारलाई कति ठाउँ न्यायसङ्‌गत नभएको पनि पाइन्छ। सम्पादनको क्रममा देखिएका समस्यामध्ये यसलाई पनि टिप्न सकिन्छ, जहॉं सम्पादकले पनि ध्यान दिनुपर्छ,जस्तो लाग्छ मलाई। अर्को कुरा नवोदितवर्गका रचनाहरू के-कस्ता छन्‌ भन्ने कुराको सुझाउसम्म पाउनसके असल होला कि जस्तो लाग्छ।
लेखकमा एउटा पत्रिकामा मेरो नाम, मेरो रचना कुन पृष्ठमा परेको छ भन्ने प्रवृत्तिले उत्तिकै स्थान लिएको धेरै ठाउँ भेटिएको छ। यस्ता प्रवृत्तिहरू पनि हामीले हटाउनु नै उचित होला।
अब यहॉं धेरैले अनुभव गरेको समस्या हो पाठकको अभाव अनि यसको कारण हामीमध्ये धेरैले स्वीकारेको विषय हो समाचार माध्यमको द्रूत विकास। यही विषय सायद सम्पादकको निम्ति चुनौती भएको छ भने यहॉं एउटा प्रश्न उठ्‌न सक्छ -के हामीले समयानुरूप साहित्यिक खुराक पस्कन सकेका छौं के त?

चक्रव्यूहः24-30मई 2010

No comments:

Post a Comment