Wednesday, April 27, 2011

रामबहादुरको हत्या अर्जुन राई

रामबहादुरको हत्या
अर्जुन राई
हेलो...। हेलो...। अँ... बोल्दैछु। को रमेश? रमेश हो। ए भनन। अँ...अँ...। हन के भन्छ? हो र? मैले त सुनेकै छुइन त। कहिले? ए... भर्खरै! कहॉं? ल...ल म आइहालें।
"उफ...! वाक्क लागिसक्यो यो समाजसॅंग पनि। राई बूढा आफै गन्गनिन्छन्‌। आफ्नो नाउँ उनको दिपक। तर कमैले दिपक बाबु भनी सम्बोधन गर्छन्‌‌‌। नभए धेरैले दिपक बाबुलाई राई बूढा भनेरै चिन्दछन्‌।
गाउँमा भर्खरैमात्र हत्या भएछ रामबहादुरको। रामहादुर झण्डै झण्डै उनकै दौंतरी। गाउँका एक वरिष्ठ, एक बयोवृद्ध व्यक्ति। पल्टनमा सॅंगै काम गरेका भन्थे दुवैले। सॅंगै रिटायर आएका'रे, गाउँकाहरू भन्छन्‌। तर हामीलाई थाहा छैन। हिजाज गाउँ घरबाट पल्टन जान छाडिसकेका छन्‌। शहर पस्न चाहन्छन्‌‌‌ बरू।
समाजमा रामबहादुरको कत्रो इज्जत छ, सम्मान छ। सबैले आदर गर्छन्‌‌‌ तर कसले किन हत्या गऱ्यो? कसले हत्या गर्नसक्छ उनको? मनमा यस्तै-यस्तै प्रश्नहरू खेलाउँदै हतार-हतार घरबाट बाहिर निस्कन्छन्‌। प्रायः सॉंझपख कमै मात्र बाहिर निस्कन्छन्‌ दिपक बाबु। निस्कॅंदा पनि हातमा लौरो चाहिन्छ, बाटोमा सहारा बुढो शरीरलाई। आँखाले कति ठाउँमा साथ दिँदैन।
बूढाहरूलाई झण्डै झण्डै पन्ध्र-बीस मिनट लाग्छ माथिल्लो गाउँ पुग्न। दम्साइलो उकालो छ। एउटा हातमा लौरो अर्को हातमा टर्चलाइट। मनमनै डराउँछन्‌ दिपक बाबु, यो अँध्यारोमा कतै मलाई पनि पछाडिबाट...। हुन पनि हिजोआज शहर बजारमा बरू त्यति डर नहोला त भन्न सकिन्न तर गाउँ घरमा त केही भन्नै सकिन्न।
रात परेपछि वरिपरि हिँडडुल गर्नु डरसरी हुन्छ। कहॉं कतिबेला, कसले, कसरी आक्रमण गर्छ थाहा पाइँदैन हिजोआज। भर्खरैमात्र त बीरे सरको हत्या गरिएको। बीरे एक आदर्श शिक्षक। नानीहरूको भविष्यसॅंग सधै चिन्तित रहने, देश निर्माणकै कुराहरू गरेर समय काट्‌ने। समाजलाई नै आदर्शताको बाटोमा डोहाऱ्याउने। उनले पढाएका विद्यार्थीहरू आज शहरमा ठूल्ठूला अधिकारी भएका छन्‌। सबैलाई गुण लगाएका थिए बीरे सरले। त्यस्ता भलाद्‌मीलाई कसले हत्या गरिदिए। थाहा भएन तर उनको मृत्युमा सबै चिन्तित बने। सबैले शोक मनाए। पाठशाला पनि एकदिन बन्द गरियो। सङघ संस्थाले कति दिनसम्म सभा डाक्यो, कति दिनसम्म यसको विरोध पनि जनायो। पुलिसले पनि हत्याराको खोजी नगरेको होइन।
त्यसअघि पनि यस्ता घटनाहरू नघटेका होइनन्‌। युवा सङ्गठनहरूले प्रत्येकपल्ट नै विरोध नजनाएको पनि होइन। हत्याराको खोजी नगरिएको पनि होइन तर हात रित्तै। शोकाकूल परिवारले दुइ-चार रुपियॉं पाए सङ्‌घ संस्थाबाट, माथिबाट पनि सहयोग नपाएको भने होइन। ठूल्ठूला मानिसहरू पनि आएका थिए। हामी हत्यारालाई खोजी निकाल्ने छौं अनि दण्ड दिने नै छौं, चाहे उ जोसुकै किन नहोस्‌ भनी आश्वासन पनि दिँदै थिए। तर आश्वासन त्यतिमै सीमित रह्यो। त्यहॉंदेखि उत्ता कहॉंसम्म पाइला चालियो, सुनिएन। सङ्‌घ संस्थाहरू पनि दुइ-चार दिन उफ्रिए कराए, विरोध जनाए। अचम्म, गाउँ घरमा भएको घटना समाचार पत्रिकाहरूको "लीड न्यूज' भयो। टीभीमा सुनाइयो। तर हत्यारा समातिएन। समयसितै सबैले बिर्सिए। रामबहादुरको घरमा दिपक बाबु बल्लबल्ल पुगे। भर्खरै घरमा ल्याइएको रहेछ मृतकको शव। घरभरि रुवावासी थियो। एक- दुइ बूढा घाइँघुइँ बोल्दैथिए, "अब समय सकिएकै रहेछ। कस्तो अचम्म।'
तै त.... अघि बेलुकापख त हो, मेरोमा गफ लडाइवरी फर्किएका थिए बूढा। कसलाई थाहा यस्तो हुन्छ भनेर।'
"खै अब त गाउँमा यताउता हिँड्‌नु पनि डरसरी भइसक्यो। हन समय कहॉं पुग्यो हौ जेठा?
"सॉंची सुन्नु भो...। त्यो पारि खोलाघरे कान्छा, कान्छाको छोरा पनि मरे छ नि..?
"हन कुन चाहिँ छोरा?
"त्यै क्या त ...। पोहोर साल नोकरी पाएर शहरतिरै लागेको थियो नि, भर्खरै बिवाह पनि गरेथ्यो।'
"ए...। त्यो सानो चाहिँ?'
"हो नि! बिचरालाई बेलुका घर फर्किंदै थिएछ कता हो गाडीले हिर्काइदिएछ। अस्पताल पनि पुऱ्याउनै पाएनछ नि। म त जान पनि पाइन। हिजैमात्र सुनें। डाइवरलाई चाहिँ थानामा हुलेको थिएछ। मालिकचाहिँ आएर छुटाएछ भनेको सुनेको थिएँ। यस्तै के-के कुराहरू हुँदै थियो। दिपक बाबु सुनेर पनि नसुनी सरासरी भित्रै पसे।
"अब रोएर केही पाइने होइन। जो भयो भइसक्यो। नरोउ भाउजु अब।' रामबहादुरकी श्रीमतीलाई सम्झाउँदै थिए दिपकले।
यो त अत्यचारै भइसक्यो गाउँमा। यसको पत्तो लगाउनैपर्छ। यस्तै हो भने त गाउँ नै सकिनेरहेछ। पछाडिबाट एकजना बोल्दै थिए।
भोलिपल्ट सबै काज-किरिया सकिएपछि गाउँका युवाहरू भेला भए, सङ्‌घ संस्थाका सदस्यहरू भेला भए। अन्य धेरैको समूहलाई सम्बोधन गर्दै दिपक बाबुकै छेउमा बसेका एकजनाले उभिएर भने- "आज हामी सबै दुखी छौं कि हामीले हाम्रो समाजका एक धरोहरलाई गुमाएका छौं। यस विषयलाई लिएर हामी चुपचाप बस्यौं भने यस्तो घटना अझै हुँदैन भन्न सकिँदैन। त्यसैले यसको छानबिन हामीले गर्नुपर्छ, यसको खोजी गर्नुपर्छ...। आज हामी यसै कुरामा छलफल गर्नेछौं।
यसैले यो सभा डाकिएको हो। आजको यो सभा शुरु गर्न प्रथममा म आफ्नो कुरा राखिदिनुहुन भनी दिपक बाबुलाई अनुरोध गर्दछु। सबै मौन थिए। दिपक जुरूक्क उठेर वरिपरि सबैलाई एकपटक राम्ररी केही भन्नलाई हेर्दै थिए...।
***********

No comments:

Post a Comment