किरॉंत राई र साकेवा पर्व
-अर्जुन राई
"किरॉंत राई जातिको यदाकदा पाइने इतिहासअनुसार किरॉंतीहरू 3000 वर्षभन्दा पुराना जाति हुन्।' 21 जनवरी, 2005-को दिन सिक्किमको राजधानी गान्तोकस्थित होटल रेन्दबूमा आयोजित दुइ दिनव्यापी "अन्तरराष्ट्रिय किरॉंत सम्मेलन जातीय एकता र आपसी सम्पर्क'-लाई सम्बोधन गर्ने क्रममा "नेपाल किरॉंत केन्द्र समिति'-का महासचिव राजबहादुर राईले भनेका थिए। यद्यपि, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य बुलु मुकारुङसितको साक्षात्कारमा उनले भनेका थिए- "थेलेदोङ' (राईहरूको मितिथिति) को आधारमा किरॉंतीहरू 5000 वर्षअघिका जाति हुन् र यलम्बर राजाकै कुरा गर्दा पनि यो कुरा प्रष्ट हुनसक्छ। यसभन्दा अझ अघिदेखि कै अथवा पुरानो जाति पनि हुनसक्छ। विश्वका धेरै देशहरूमा किरॉंत राई समुदाय पाइने भए तापनि यस जातिको मूल थलो नेपाल अधिराज्य हो भन्ने धेरै इतिहासकारको मत रहेको छ। किरॉंत ऐतिहासिक दर्पणअनुसार हरि चोङवाङ (सेनछेनहाङ) को भनाई यस्तो छ, वर्तमान नेपालमा आदिमकालदेखि बसोबासो गरिआउने प्रमुख जातिहरू नै किरॉंत भनी इतिहासले साबित गरिसकेको छ। नेपाली बृहत् शब्दकोशले भनेको छ, पूर्वी नेपालमा पर्ने माझ किरात तथा पल्लो किरॉंतका नामले प्रसिद्ध एक प्रदेशमा बसोबासो गर्ने प्राचीन एक जाति राई-लिम्बू अर्थात् प्राचीन नेपालमा शासन गर्ने एक राजवंश हुन् किरॉंत राई जाति। हिन्दू धर्मग्रन्थअन्तर्गत वेद, उपनिषद् तथा महाभारत कालमा उल्लेखित हिमवर्त खण्डमा शिकारबाट जीविका चलाउने, आदिम पहाडी जनजाति, जसमा भील्ल यक्ष किन्नर, गन्धर्व इत्यादि भन्ने उल्लेख्य रहेको इतिहासकारहरूले बताएका छन्। यता सिरिया सूर्याको आधारमा किरॉंतलाई असूर पनि भनिन्छ। इतिहासले मानव जातिलाई चार वर्गमा विभाजित गरेको पाइन्छ। अफ्रिकन (निग्रो जाति ककेसियन (आँख कुइरो र अन्य) मङ्गोलाइट (आँखा चिम्से, रातो-पिरो देखिने) र आर्यन। तीमध्ये मङ्गोलाइटमा पर्ने एक जाति हुन् किरॉंत राईहरू।मानव जातिको सृष्टिपछि बिस्तारै सभ्यताको विकास हुँदैआएको पाइन्छ। खाद्य पूरा गर्नको निम्ति खेती गर्नथाले। तत्पश्चात खेती तथा अन्नबाली, फसल सप्रियोस् भन्ने सोच राख्दै भूमिपूजा गर्नथाले किरॉंत जातिहरूले। त्यही भूमिपूजालाई नै "साकेवा' भनिएको मानिन्छ। यस विषयमा किरॉंत जातिको साकेवा र खेतीपातीको सम्बन्ध रहेको तापामा र सियामा (दिदी-बहिनी) ले तान बुन्थे भन्ने इतिहासमा पाइन्छ, जसका आमा बाउ थिएनन्। भाइ हेचाकुपा मात्र थिए। हेचाकुपा दिनभरि शिकार खेल्ने र दिदीहरू तान बुन्थे र खेती गर्थे। एकदिन भाइ हरायो। तर ढुकुर मारेको बेला भेटाए। ढुकुरको मासु उनीहरूले खाए तर ढुकुरले खाएको मकै, जौं, कोदो इत्यादि भएको गॉंड फालेको हुनाले त्यसबाट उब्जनी भयो भन्ने लोककथा छ। त्यसपछि मात्र साकेवा पर्व (पूजा) गर्न अर्थात् मनाउन थालेको अनुमान लगाइएको छ। यद्यपि साकेवाको शाब्दिक अर्थ हुन्छ- सा भन्नाले मासु, के भन्नाले ढोल (पूजामा चलाइने) र वा भन्नाले (पानी)।सबै जातिको आ-आफ्नै भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज, पर्व-परम्परा आदि हुन्छन्। यही नै मानव जातिको परिचायक अनि सिङ्गो राष्ट्रकै सभ्यता तथा सम्पत्ति पनि मान्न सकिएला। त्यस्तै "साकेवा' किरॉंत राईहरूको पर्वका साथै एउटा संस्कृति, एउटा परिचायक पनि हो, जसलाई पौराणिक कालदेखि नै मानिल्याएको बुढापाकाहरूको भनाइ छ। यसरी साकेवा पर्वलाई प्रत्येक वर्ष मनाउने अर्थात् मनाउँदै आएको हामीसमक्ष प्रत्यक्ष छॅंदैछ। अघि भनेझैं यो पूजा गर्दा भूमिपूजा अर्थात् नायुमा (नाग)-को पूजा गर्नु पनि हो, जसले गर्दा अन्न-बालीमा बढोत्तरी हुन्छ अथवा सप्रिन्छभन्ने लोकविश्वास रहेको छ।सिक्किममा पनि यो पूजा धेरै अघिदेखि प्रत्येक वर्ष (नेपाली नयॉं वर्ष) वैशाखी पूर्णिमाको दिनदेखि पञ्चमीसम्म गरिन्छ। परम्परागत हेर्नु होभने यो पूजा दुइपल्ट गरिन्छ। पहिलो हो "उँभौली' जसलाई नयॉं वर्षलाई अभिवादन चढाउने र वर्षको उब्जनी राम्रो होस् भन्नाखातिर वैशाखी पर्वको रुपमा अथवा वैशाखमा गरिन्छ भने अर्को "उँधौली' जो मङ्गसिरमा गरिन्छ। यतिबेला अन्नबाली तथा फसल उठाएर वर्षभरि भएको अन्न उपार्जनमा सह रहोस् भनी मुन्धुमसहित उही नायुमाको पूजा अर्चना गरिन्छ।साकेवा मनाउँदा कुनै एउटा घर-परिवारले मात्र नमनाएर यसलाई सामाजिक रूपमा सबै भेला भई प्रत्येक वर्ष एउटै ठाउँमा मनाउने गरिआएको छ। मुख्य कुरा के हो भने यतिबेला राई जातिमात्र नभएर सबै जातिका मानिसहरू भेला भएका हुन्छन्। यसको अर्थ हो मानव एकता तथा मैत्रीभावको विकास गर्नु। यतिबेला विधिपूर्वक पूजा-पाठका साथमा धार्मिक नृत्य (साकेवा शिली) पनि प्रस्तुत गरिन्छ अथवा नाचिन्छ। यो चलन नेपालतिर विशेष रूपले पाउन सकिन्छ। साकेवा नृत्य अर्थात् साकेवा शिली गर्दा अथवा नाच्दा आ-आफ्नो गाउँ-टोलबाट झुुण्ड-झुण्ड भई झ्याम्टा, ढोल बजाउँदै चामर (चौरीको पुच्छर) हल्लाउँदै खुर्मी (काट्ने सानो हॅंसिया जस्तै) खेलाउँदै सामूहिक नृत्य गरिन्छ। यो पनि एउटा ऐतिहासिक तथा पैराणिक परम्परा नै हो।साकेवा नेपालका विभिन्न उपत्यकादेखि सिक्किम, दार्जीलिङ, आसाम, हङकङ, दुबई, मलेशियातिर पनि भव्यताका साथ मनाउने गरिएको थाहा लागेको छ। सिक्किमका विशेषगरि पश्चिमेली क्षेत्रहरूमा साकोवा पर्व धुमधामले मनाउँने गरेको पाइन्छ। राज्यको पूर्व जिल्लामा पनि साकेवा पर्व पहिलेदेखि नै मनाउँदै आउने गरेको भए पनि 1990-को दशक यता किरॉंत राईहरू आफ्नो संस्कृति-परम्पराको संरक्षणमा गम्भीर देखिन्छन्। सिक्किममा अखिल किरॉंत राई सङ्गठन (एकेआरएस) नामक सङ्गठन नै खोलिएको छ। यस सङ्गठनका शाखाहरू जिल्ला स्तरीय तथा खण्ड स्तरीय रुपमा चारै जिल्लामा सक्रीय रुपमा कार्यरत छन्। उदाहरणस्वरुप राङ्का, लुम्से, तादोङ् आदि। किरॉंतीहरूको मौलिक परम्पराको रूपमा रहेको साकेवाको साकेला, तोषी, तोस, सकिला आदि पर्यावाचिक शब्दहरू पनि पाइन्छन्। साकेवा पूजा गरेपछि उपस्थित जनमाझ वाचिपा बॉंडिन्छ। अन्य भाषामा सायद यसको अर्थ लाग्दैन तर किरॉंती जातिको यो शब्दले जातीय चिन्हारीका साथै खाद्य परम्परा बोकेको हुन्छ। वाचिपालाई शाब्दिक अर्थमा यसरी हेरिएको पाइन्छ वा अर्थात् कुखुरा अनि चिपा अर्थात् तीतो। यहॉंबाट सिधैं अर्थ लाग्छ, वाचिपा कुखुराको मासुबाट बनाइन्छ। कुखुरा (विशेष गरी भाले) काटेर यसलाई पोलिन्छ। अघि नै वाचिपा कुखुराको मासुबाट बनाइने कुरा बताइएको भए पनि वास्तवमा कुखुराको डढेको प्वॉंख (जो तीतो हुन्छ), मासु अनि त्यसमा भात पनि मिलाएर एक प्रकारको खाद्य परिकार बनाइन्छ। डढेको प्वॉंखको धूलोले गर्दा यो तीतो-तीतो भए पनि पिरो र नुनिलो तथा मरमसला (विशेष गरी अदुवा)-ले गर्दा यसको स्वाद खुबै मीठो हुन्छ। प्रसादको रूपमा बॉंडिने यो वाचिपा आजभोलि जातीय भोजको रूपमा होटलतिर पनि राखिएको पाइन्छ।यसरी किरॉंत राई जातिको विश्वमा नै छुटै परिचय छ। आफ्नै रीतिरिवाज छ, आफ्नै संस्कृति छ, जसलाई हामीले बॅंचाउनुपर्छ।किरॉंत राई र साकेवा पर्व विषयमा यतिकुरा पर्याप्त हुँदैनन्। त्यसै पनि यो छोटो लेखमा धेरै कुराहरू समावेश गर्नसकिन्न। प्रत्येक विषयको गहिराइसम्म पुग्नुपर्दा ग्रन्थ नै बन्ने हुन्छ। अर्कोतिर यी विषयहरूलाई केलाउन अझ धेरै खोजी गर्न बॉंकी नै रहेको देखिन्छ। यो अझै अनुसन्धानको विषय नै रहेको छ। यो त एउटा सङ्क्षिप्त जानकारीमात्रै हो।*****
समय दैनिक 27.05.२००८
समय दैनिक 27.05.२००८
No comments:
Post a Comment