Friday, April 22, 2011

कवि भवानीको "क्रन्दन' छोटो परिचय -अर्जुन राई

कवि भवानीको "क्रन्दन' छोटो परिचय -अर्जुन राई
वर्तमान सिक्किमेली नेपाली साहित्य जगतमा एक चीर परिचित कविको नाम हो भवानी घिमिरे "सिक्किमे'। कवि सिक्किमेलाई हामी अझ छन्दोबद्ध कविको रूपमा राम्ररी चिन्दछौं। हाम्रा अर्का छन्दोबद्ध कवि चक्रपाणि भट्टराईपछि साहित्यले केही आशा सॉंच्न सकिने कवि हुन्‌, कवि भवानी घिमिरे "सिक्किमे'-ज्यू।
उनै कवि सिक्किमेज्यू भर्खरै हामीमाझ आएका छन्‌ आफ्नो दोस्रो छन्दोबद्ध कविता सङ्‌ग्रह "क्रन्दन' बोकेर। हामीसॅंग त्यसै पनि छन्दोबद्ध कविको अनिकालै छ भन्नमा त्यति दुइमत नहोला, तथापि औंलामा राख्न सकिने मात्रै भए पनि माथिल्ला तहका कविहरू हामीसॅंग छन्‌। यतिमै हामी गौरवान्वित छौं, खुशी छौं। प्रायः गोष्ठीतिर शार्दूलविक्रीडित, शिखरणी छन्दमा कविता वाचन गर्ने कविलाई उनका कवितामा नै पाउँछौं। एक विम्ब बनेर कवितामै बसेको पाउँछौं। अर्थात्‌ उनको "क्रन्दन'-लाई सर्सती हेर्दा कवि स्वयं एउटा मञ्चमा उभिएर कविता वाचन गरिरहेझैं लाग्छ।
कूल 40 वटा कवितामध्ये यस कन्द्रनभित्र 24 वटा शार्दूलविक्रीडित छन्दमा रहेका छन्‌ भने पञ्चचामर छन्द र भूजङ्गप्रयात छन्दमा 4-4 वटा, मन्दक्रान्ता छन्द र शिखरिणी छन्दमा 3-3 वटा अनि चौपाई पदाकुल छन्द र वसन्ततिलका छन्दमा एक एकवटा कविता रहेका छन्‌।
यसरी कुनै छन्दमा कविको कलम सफल भेटिन्छ। यसैले यस सङ्कलनका कविताहरू हेर्दा कविवरमा प्रतिभाको ओइरो पाइन्छ...। प्रत्येक छन्द खेलाउने कविहरूझैं कवि घिमिरेमा पनि कविताको भित्री (क्यानभास) संस्कृति नै रहेको छ।
कवि सिक्किमे स्वयं भन्छन्‌ -"एक्काइसौं शताब्दीको सुपर तथा स्वचालित कम्प्यूटरको जमानामा पनि गॉंस, बास र कपासकै निम्ति सङ्‌घर्ष गर्नु/गर्दैछु भन्नु सायद समय सापेक्षित नभइदेला, तर यथार्थ पन्साउन सकिँदैन। क्रन्दनभित्रका कविताहरू मैले कतै टाढाबाट पैंचो मागेर/खोजेर/खोसेर ल्याएको हुँइन, न त कुनै कल्पना र भावनाको उडानमा उडेर रचेको हुँ यदि यिनीहरूको गौंडो/स्रोत पैल्याउनु हो भने हाम्रो घर आँगन, गाउँ आदितिर देखिएका र सुनिरहेका दैनिक गतिविधि/घटनाको ओइरो हो।'
हाम्रै आँखाअघि छरिरहेका घटनाहरू, जो यथार्थ छन्‌, हाम्रैअघि भने यसलाई समय सापेक्षित होइन पनि कसरी भनिहाल्नु र जो दिन प्रतिदिन हरेकले देखिरहेका छन्‌, भोगिरहेका छन्‌, अनुभव गरिरहेका छन्‌। त्यसैले कविको भनाइको यथार्थलाई पन्साउन सकिँदैन ठीकै लाग्छ। माथि उद्धृत गरिएको कविको भनाइ यदि यिनीहरूको गौंडो/स्रोत पैल्याउनु हो भने...'-बाट कवि कथाकार शिवकुमार राईझैं ग्रामीण परिवेशमा रम्न चाहेको प्रष्टै बुझिन्छ। उनको यस क्रन्दन कविता सङ्‌ग्रहभित्र आजको समाजले भोगिरहेको समस्या, देश र राष्ट्रकै समस्या, समाजका विकृति आदि विषयका कवितामा पाइन्छ हेरौं एउटा उदाहरण -
कतै रक्तको गन्ध दुर्गन्ध छायो
कतै हाड-कङ्‌कालको रास लाग्यो
कतै लाश पर्लक्क आधा सडेको
कतै ज्यानको भीख माग्दै गरेको। (त्रासदी)
यसरी कवि आजको त्रासमय समाजमा पीडित रहेका छन्‌ भने समाजका युवाप्रति आशा गर्छन्‌। यसरी नै समाज सुधारको उदाहरण हेरौं -
म हेर्दैछु यी कोपिला त्रासदीमा
झुलेका नयॉं पुष्प यी आँकुरामा
छ सन्तोषको दीर्घ आशा अपार
निशाबन्ध यी विश्वका कर्णधार। (त्रासदी)
आशै आशामा बसेर कवि थाक्छन्‌ अनि प्रश्न गर्न बाध्य बन्छन्‌-
निरालब्ब हे कोपिला पालुवा हो,
तिमी त्रासदी मुक्त कैले हुने हो?
तिमीभित्रको अग्नि जल्दैन कैले?
निशाबाट उन्मुक्ति मिल्दैन कैले?
अन्त्यमा आएर कवि समाजलाई झकझकाउन आफै अघि सर्छन्‌ यसरी -
म विद्रोह बोल्दैछु सङ्‌घर्ष ब्यूँझ
म सन्देह लेख्दैछु निष्कर्ष खोज
त्यसैले तिमी जाग मान्छेहरू हो
उज्यालो नखस्दै यहॉं के हुने हो।
कविका हरेक कविता नै नेपालीपनाले भिजेका छन्‌, अर्थात्‌‌‌ यसो हो भने उनलाई जातित्वको माया छ कतै प्रकृतिको गुण गाउँछन्‌ कतै वीरताको गाथा, कतै वर्तमान समाजमा देखिएका फेशन र आतङ्कबाट त्रसित छन्‌ त कतै क्रान्तिको बिगुल फुक्छन्‌ भने कतै जातीयताको सिँढीदेखि माथि चढेर मानवताको परिचय दिँदै र स्वावलम्बी हुनुमा गर्व गर्छन्‌ कवि यसरी -
म जातीयताभित्र गुम्सिन्न कैले,
निराधार क्वैमाथि गर्जन्न कैले
न आक्रोशले क्वै अबोला डराएँ
सधैं स्वावलम्बी हुनैमा रमाएँ। (चिनारी)
क्रन्दनको पहिलो कवितामा दिवङ्गत भएका आफ्ना पितालाई स्मरण गर्छन्‌ कवि-
कोठामा हिज अस्तिसम्म कविता शास्रोक्त पढ्‌दै थियौ
श्रीनारायणको कथा र महिमा लीला सुनाका थियौ।
गीता, वेद, पुराण शास्त्र सबको गर्थ्यौ सधैं वर्णन,
झुक्याएर गयौ अनन्त पथमा कसको परीक्षा लिन।
आफ्ना पिताबाटै यसरी कविता गर्न कवि प्रेरित रहेको पनि यहॉं बुझिन्छ भने आफ्नो माटो र जनापूर्तिको निम्ति हामीले नै पौरखले भर्नुपर्ने आह्वान गर्छन्‌ कवि यसरी-
पाखा-भित्ता, वन, चहुरमा मित्रता रोप्न जाउँ,
ढुङ्गा, ढिस्का, प्रखर पहरा प्रेरणा सिद्ध पारौं।
पन्ना-पन्ना अजर जगको श्रेष्ठता घोक्न पाउँ।
यो हो हाम्रो जगत मनमा सम्झना लौ उबारौं।
गोर्खाहरूले छुट्टै राज्य पाउनुपर्छ भन्ने गोर्खाल्याण्ड मागको आन्दोलनबाट पनि टाढा भाग्नसकेका छैनन्‌ कवितामा कवि। कर्मको मार्ग रोजे अर्थात्‌ कर्म गरे जीवन अवश्यै सुखमय बन्ला अनि जगमा श्रद्धा पनि पाइएला भन्छन्‌ उनी-
गोर्खाली हो गहक जगमा कर्मको मार्ग रोजौं,
गोर्खालीको परिचय हुने ढिस्कना झट्ट रोजौं।
मौलाएको प्रकृति यिनका काख रम्न जाला,
सोचे जस्तै इजत अनि पो देशमा मिल्न जाला।
प्रत्येक सफलताको पछि विद्याको आवश्यकता पर्छ। विद्या नभई कहीं पनि सफलता पाउन गाह्रै पर्छ। त्यसैले विद्या आर्जन गरी यहॉं पसिना बगाउन सबैले एउटै सङ्‌कल्प गर्नुपर्ने आह्वान गर्छन्‌। कविले सङ्‌ग्रहको अन्त्यमा आएर कविता "सङ्कल्प यौटै होस्‌'-मा हामीलाई यसो भनेका छन्‌ -
विद्याको जलपानबाट सबले मेट्‌ने गरौं तिर्सना,
प्रेमोत्पादन नित्य कर्म बनियोस्‌ यो देशको निम्तिमा।
धर्तीमाथि नयॉं-नयॉं किसिमले सम्पन्नता झल्कियोस्‌,
धर्तीमै पसिना बगाउन सधैं सङ्कल्प यौटै रहोस्‌।
यसरी प्रत्येक कवितामा कविले केही न केही सन्देश दिएको पाइन्छ। उनका कविताहरू त्यसै पनि छन्दमा रहेका हुनाले पढ्‌दा पढिरहुँझैं लाग्छ भने सरल सहज भाषा प्रयोग देखिन्छ, यसैले जनसाधारणले पनि सहजै पचाउने भएकाले यसरी छन्दोबद्ध कविता विलुप्तप्रायः हुँदैगएको समयमा उनको यो योगदानलाई हामीले कदर नगरी हुँदैन। शब्दहरू क्लिष्ट छैनन्‌।
कविता सर्सर्ती पढेपछि दिमाग खियाएर टाउको दुखाई रहनुपर्ने देखिँदैन बुझ्नलाई। तपाईं हाम्रै घर-आँगनमा घटिरहेका घटनालाई कविले विषय वस्तु बनाउन रूचाएका छन्‌। तपाईं हाम्रै प्रतिविम्ब पाउँछौं उनका कविताहरूमा। त्यसैले पनि मीठा छन्‌ उनका कविताहरू। नेपाली जनजिब्रोमा झुण्डिरहने खालका छन्‌ उनका कविताहरू। मैले बुझेकामा कविलाई अन्याय पनि हुनजाला त्यसैले अन्त्यमा कवि चक्रपाणि भट्टराईलाई यहॉं अघि सार्दै कलम रोक्दैछु -
हेरें यी कविता समग्र रसिला चोखा र मीठा पनि
व्याख्या जीवन औ समाज दुइकै सापेक्ष पाएँ अनि।
छोरो हुन्छ त वंश द्वीप बनियोस्‌ ज्ञानी भवानी सरी,
सारा मानवको उपासक बनोस्‌, चाणक्य जस्तो गरी।

***समय दैनिक-2010***

No comments:

Post a Comment