Wednesday, April 20, 2011

गोपाल
-सारिका राईर्-
बल्लबल्ल स्नातक उत्तीर्ण गरेर गोपाल नोकरीको पछि लागेको चार वर्ष बितिसक्दा पनि कुनै नोकरी हात पार्नसकेको छैन। दुइजना बहिनी र तीनजना भाइ पढ्‌दैछन्‌। खेताला-पात गरेरै भए पनि काइँला काकाले धन्न अहिलेसम्म छः जनाको परिवारलाई भोकै बनाएका छैनन्‌। "क' सम्म लेख्न नजान्ने बूढाले छोरा-छोरीलाई त पढाउँदैछन्‌। ठूली छोरीले पनि यसपालि त "बीए' पास गर्छे भनेर गाउँमा धाक पिटेर हिँड्‌छन्‌ उनी। कान्छो छोरो भर्खरै तीनमा पढ्‌दैछ।
"ए...गोपाल, भोलि माथि बडाको दाउरा काट्‌ने भन्दै थियो, सघाइ दे है...। एकजना पठाइ दे है काइँला भन्दै थियो।'
बेलुकीपख कहॉंबाट हो थाकेर लखतरान भएको गोपाल घरमा पसेको मात्रै थियो। पस्नै नपाई पिताको आदेश भयो। उसले केही भनेन। चुपचाप कोठामा पसेर चौकीमा थ्याच्च बस्यो।
बिहान अबेर उठेको गोपाल आमाले बनाइदिएको चिया र खाजा खाएपछि उकालो लाग्यो बिक्रम बडाकोतिर। माथि पुग्दा गाउँका अरू युवाहरू अघि नै थुप्रिएका रहेछन्‌। दिनभरि लगाएर युवाहरूले बिक्रम बडाको बर्खे दाउरा काटेर थुपारेपछि बडाले बेलुका सबैले खाना खाएर मात्र जाने है केटा हो...! भनेपछि हतार गर्नेहरूले पनि उम्कनै पाएनन्‌।
बिक्रम बडा भनेपछि सबैले इज्जत गर्छन्‌। गाउँ-घरको दुःख-सुखमा सधैं अघि बड्‌ने बडा गाउँको मुखिया भने पनि हुन्छ, मण्डल भने पनिहुन्छ। मुखिया, मण्डल जसै भने पनि साह्रो-गाह्रोमा चलाउन दिएको रुपियॉं-पैसाको एकै पैसा ब्याज कहिल्यै लिँदैनन्‌। धर्म-कर्ममा ध्यान दिने मान्छे अरूको एकै पैसा पनि तलमाथि नहोस्‌ नै भन्छन्‌। पूर्व पञ्चायत भएकोले सायद गाउँ-घरमा कसलाई के समस्या छ उनलाई राम्ररी थाहा छ। गाउँका प्रत्येक घरको अवस्था थाहा छ बडालाई।
सबैले खाना खाइसकेपछि आ- आफ्नो घरतिर लागे। गोपाल र विनोद विक्रम बडाको गफमा भुलिए।
"ए गोपाल..!' बडा बोल्दै थिए, अस्तिदेखि तॅंलाई एउटा सल्लाह दिउँ भन्छु मौकै मिल्दैन। म पनि बिनाबित्थामा व्यस्त हुन्छु, तॅं पनि घरि कता घरि कता दगुरिरहन्छस्‌।
"कस्तो सल्लाह बडा भन्नुहोस्‌ न' गोपाल बोल्छ।
बडा बोल्दै थिए, विनोद पनि सुन है मेरो कुरा। तिमीहरू यत्रो पढेको मान्छे, मेरो कुरा मान्छौ भने यसो आफ्नो खुट्टामा उभिने चेष्टा गर।
"त्यही त बडा...!' बोल्यो बीचैमा विनोद, खै यत्रो भइसक्यो नोकरीको पछि लागेको। कहिले कसको पछाडि, कहिले कसको पछाडि गर्दा-गर्दा अब त दिक्क पनि लाग्न थालिसक्यो। एमएले साबले पनि पोहोरदेखि नै एउटा काममा लगाइदिउँला भन्नुभएको थियो, कुरै मात्र...। बाह्रपल्ट भन्दा धेरै भइसक्यो धाएको।
"होइन नि केटा हो, अब कुरा एसो नि..,' बडा बोल्दै थिए। अब समय कहॉंदेखि कहॉं पुगिसक्यो। हाम्रो समयमा गाउँमा पॉंच पढेर बसेको थाहा पायो भने सरकारले जबर्जस्ती लान्थ्यो। मान्छे नोकरीको पछि होइन नोकरी उल्टै मान्छेको पछि लागेर आउँथ्यो। नोकरी गर्दिनॅं भन्दासम्म धर नपाइने। अब त्यो समय कहॉं रह्यो र? हुन पनि त गाउँमा जताततै पढे-लेखेकाहरू छन्‌। तिमीहरू जस्तै पढेकाहरू वर्षैपछि हजार-हजार निस्कन्छन्‌, होइन र?
बडाले दुवैलाई प्रश्नसूचक नजरले हेरे। बडाले अझ भन्दै थिए अनि सरकारले पनि कसरी काम देवोस्‌ त! यसो सोच्दा पनि त ठीकै हो, सबैलाई सरकारले काम दिएर सक्दैन। त्यसैले एमएले साबलाई पनि दोष्याउने ठाउँ चाहिँ मैले त देखिनॅं। बरू हामीले अब स्वरोजगारी बन्ने उपायहरू खोज्नुपर्छ।
"त्यही त बडा..!' गोपाल बोल्यो, "अब दुइ-चार पैसा कमाएर यसो व्यापारतिर पो लागौं कि भन्दैछु। फेरि केको पो व्यापार गर्नु होला र?'
गोपालले सुझाउको अपेक्षा राखेको बडाले बुझेपछि भने, "म त्यही त भन्न खोजिरहेछु अघिदेखि। तिमीहरू पढे-लेखेकएका छौ। बाउ-आमाले बिस्तारै कमाइ गर्न छाड्‌दै गइरहेछन्‌, दिनदिनै बल-तागत घट्‌दै गइरहेछ। तिमीहरू भने सरकारी नोकरीको पछि लागेर नै बूढो हुने छॉंट म देख्दैछु...। यता बारी भने बॉंझै छ।
त्यही त बडा...! गोपालले सहमति दियो। बडाले बिस्तारै भन्दै थिए, मेरो सल्लाह मान्छौ भने गाउँमा पैसा कमाउने प्रशस्तै उपायहरू छन्‌। अनि मैले देखेको सबैभन्दा सजिलो उपाय हो जैविक साग-सब्जी र पुष्प खेती।
"बडा यसको लागि त सरकारले पनि त सहयोग दिन्छ नि, होइन?' विनोदले प्रश्न राख्यो।
"काम गर्नचाहनेको लागि सरकारले सहयोगै-सहयोग दिन्छ नि, आफू अगाडि बढ्‌नु त पऱ्यो', बडा बोल्दै थिए- "खेतीपाती गर्न चाहनेहरूलाई सरकारले बीउ-बिजन दिन्छ, मल दिन्छ, साग सब्जी कसरी रोप्नुपर्ने त्यो पनि सिकाउँछ। त्यतिमात्र कहॉं हो र, अहिले त तिमीहरूले नै देखिरहेको छौ ग्रीन हाउससम्म बनाइदिँदैछसरकारले नै। अझै भएन शिक्षित बेरोजगार युवाहरूलाई लाख रुपियॉंसम्मको ऋण पनि दिन्छ।'
विनोद र गोपालले बडाको कुरा ध्यान दिएर सुनिरहेका थिए। बडा अझै बोल्दै थिए- "अब साग-सब्जी उमार्न, फलाउन कुनै मौसम पर्खिनु पर्दैन। बेमौसमी साग सब्जी निकाल्न सकिन्छ। फेरि त्यो सबै बजारै पुऱ्याउनुपर्ने समस्या पनि छैन सिम्फेडद्वारा सरकारले नै किनिहाल्छ। अब के खोज्नु र, लु भन त..!'
बेलुका धेरै बेरसम्म बडासॅंग कुरा गरेपछि गोपाल र विनोद आ-आफ्नो घरतिर लागे।
भोलिपल्ट बिहानै उठेर निकैबेर घोरियो गोपाल।
"आज यसलाई के भयो बिहानै, किन घोरिएको यसरी? कता के काम होला जस्तो छ भनेको होइन, जाने कि नजाने?' एक्कासी आमाको प्रश्नले गोपाललाई तन्द्राबाट फर्कायो।
"आ...जति गरेपनि त्यति नै रहेछ, आशै मात्र! जॉंदिन हौ।' अल्छी गर्दै बोल्यो गोपाल।
"अब नगएर के चॉंहि गर्छस्‌ त? कतै भइहाल्छ कि!' आमाले फेरि प्रश्न गरिन्‌।
"तपाईं गएर पञ्चायतसित यसो बुझ्नुहोस्‌ न, बरू जैविक साग-सब्जीको खेती पो गर्नुपऱ्योभन्दैछु...।' गोपालले भन्यो।
उसको कुरा सुनेर आमा छक्क परिन्‌। हुन पनि गोपालको मुखबाट यस्तो कुरा पहिलोपल्ट निस्किएको हो। गोपालका कुराले आमालाई खुशी बनायो। भोलिपल्टै आमा-छोरा दुवै पञ्चायतकोमा गएर जैविक खेती अनि ग्रीनहाउसलगायत सम्पूर्ण सरकारी सुविधाहरूको जानकारी लिए। पञ्चायतले पनि खुशी हुँदै आफूले सुझाउका साथै सक्दो सहयोग पनि दिने आश्वासन दिए।
एक हप्तापछि नै पञ्चायतले खबर पठाएछ, गोपालको नाममा आफै गएर ग्रीनहाउस मिलाइदिएको रहेछ। काइला काकाले गोपाललाई सुनाए- ए गोपाल, पञ्चायतले बोलाइपठाएको छ है तॅंलाई! ग्रीनहाउस कि केको कुरा गर्दै थियो।
नोकरीको पछि लागेर इण्टर-भ्यूमा बस्दा-बस्दा दिक्क भएको गोपालले यसपालि भने आफू सफल भएको अनुभव गऱ्यो। उ तुरून्तै पञ्चायतकोतिर दगुऱ्यो।
त्यसपछि भने गोपाल कुनै पनि नोकरीको लागि इण्टर-भ्यूमा बसेन। कृषि उत्पादनमा नै लगनशील भएर काम गर्नथाल्यो। साथीहरूले नयॉं-नयॉं भ्याकेन्सी खोलिएको खबर पनि दिएकै हो। तर उसले चासो देखाएन। साथीहरू "यत्रो पढेर पनि अब तॅं चाहिँ कॉंटा-कोदालोमै भुलिरहने होला' भनेर कराए पनि, तर उसले कसैको कुरामा ध्यान दिएन।
एक वर्षभित्रमै गोपालले प्रशस्तै साग-सब्जी फलाएर बेच्न थाल्यो। यो वर्ष दिनमा उसले झण्डै पचास हजार रुपियॉं जतिको त बिक्री गरिसकेको थियो। "भर्खर सिकिँदैछ, अबको एक-दुइ वर्षमा चाहिँ राम्रो हुनेरहेछ।' गोपालले भन्ने गरेको छ।
गाउँमा भर्खरैमात्र खण्ड प्रशासनिक केन्द्र बनिएको छ। त्यसैको छेउमा ग्रामीण बिक्री केन्द्र बनाइदिएको छ सरकारले। गोपालले पनिएउटा कोठा लिएको छ। कहिले आफै बस्छ, कहिले भाइ-बहिनीलाई राख्छ त कहिले आमले पालो दिन्छिन्‌। धेरथोर गाउँमै बिक्री भइहाल्छ, नभए सिम्फेडका मानिसहरूले बारीबाटै उठाइदिन्छन्‌। कुनै सुर्ता नै छैन।
गाउँकाहरू पहिले हरियो साग-सब्जीको लागि बजार पुग्थे, अहिले सबै गाउँमै पाइहाल्छ। जॉंगर चलाए हुँदोरहेछ त भन्न थालेका छन्‌ गाउँकाहरू।
गाउँमा पेवाको चलन अझै गइहालेको छैन। गोपालले पैसा कमाएको देखेर भाइ-बहिनीहरू पनि खुब चासो देखाएर पेवा गर्नसिकेका छन्‌। आफ्नो पढाइको खर्चबाहेक साथीहरूसित कहिलेकहीं घुम्नजाने खर्च पनि पेवा साग-सब्जीबाट निकाल्न थालेका छन्‌। छोरा-छोरीको यस्तो व्यवहारले काइँला काका-काकी पनि खुशी देखिन्छन्‌ हिजोआज।
गोपालकै दोकान छेउको कोठामा विनोदले पनि विभिन्न प्रजातिका अर्किड, लिलियम, गुलाब, जरबेरा आदि फूलहरू राखेका छन्‌। उसले उत्पादन गरेको फूल आज राज्य बाहिरसम्म माग हुनथालेको छ।
गोपाल र विनोदलाई आज कुनै नोकरीको खॉंचो परेको छैन। दुवैले सरकारी सहयोगमा खेती विषय धेरै तालिम प्राप्त गरिसकेका छन्‌। राज्य बाहिरका कृषि अनुसन्धान केन्द्रहरूको अध्ययन-भ्रमण गरेर धेरै कृषि ज्ञान पनि पाएका छन्‌। पहिला उनीहरूलाई "यत्रो पढेर पनि अब तॅं चाहिँ कॉंटा-कोदालोमै भुलिरहने होला' भन्नेहरू आजभोलि गोपाल र विनोदलाई भेट्‌दा खिस्स हॉंस्छन्‌ मात्रै। गाउँका भाइ-बहिनीहरूले पनि गोपाल र विनोदको सिको गर्नथालेका छन्‌।
बेला-मौकामा विक्रम बडा आफै सब्जी किन्न भनेर आउँछन्‌। गोपालले पैसा थाप्न नमान्दा पनि थाप्नैपर्छ। अन्त्यमा सिँबी, मूला केही न केही थपिदिन्छ गोपालले।
अब त गोपालले साग-सब्जीको खेतीमात्र होइन चार माउ गाई पनि पालेको छ। बारीको कामदेखि गाई-वस्तु स्याहार्न नभ्याएकोले तीनजना मान्छे पनि राखेको छ। दूध, घीउ, छुर्पीबाट पनि आयस्रोत उत्तिकै राम्रो हुन्छ।
कुरा काट्‌नेहरू अझै पनि "खेती नै गर्नु हो भने त किन पो पढ्‌नु पऱ्यो र, बाउ-बाजेको पालादेखि गरिआएकै हो...!' भन्ने गर्छन्‌। तर गोपालले सुनेर पनि नसुनेझैं गरिदिन्छ। कोही हितैषीहरूले "तिमीलाई त यसो पो भन्दै थियो फलानाले...' भनेर सुनाइहाले उ भन्थ्यो -भन्नेहरू भन्दै गर्छन्‌। नराम्रो कुरापट्टि ध्यानै दिनुहुँदैन। बाउ-बाजेको पालादेखि नै खेती गरिआएको पक्का हो, तर कतिको सफलता पाइरहेका थिए भन्ने कुरामा पनि विचार पुऱ्याउनुपर्छ हामीले। खेती गर्नु भनेर मात्र हुँदैन। नयॉं-नयॉं वैज्ञानिक तथा तक्निकीय ढङ्गमा उब्जनी लगाउन सक्नुपर्छ अनि त्यसका लागि हामीलाई शिक्षाको आवश्यक पर्छ। शिक्षाले मात्र मान्छे ठूलो भइँदैन, शिक्षित व्यक्तिले खेती गर्नुहुँदैन भन्ने कहीं छैन। देश-विदेशमा आज खेती गर्नलाई पनि के-कस्ता पद्धतिहरू अप्नाइरहेका छन्‌ भन्ने कुराको जानकारी लिनु र त्यसलाई हामीले पनि व्यवहारमा उतार्न सक्नुपर्छ। उ भन्छ, कामले मान्छेलाई कहिल्यै पनि सानो बनाउँदैन। संसारमा परिश्रम गर्ने व्यक्ति मात्र सफल बनेका छन्‌।
सॉंच्चै आज गोपाल पनि आफ्नो जॉंगर र परिश्रमकै कारण एक सफल कृषक बनेको छ। गोपाल एक कृषकभन्दा माथि केही होइन तर कुनै सरकारी नोकरी गर्नेभन्दा पछि परेको छैन, सायद उसको स्तर अलिकति माथि नै छ। गाउँमा उसको छुट्टै परिचय छ।
आजभोलि उ गाउँमा पढेर बसेका युवाहरूलाई पनि भन्ने गरेको छ "नोकरीको पछाडि लागेर समय फाल्नु भन्दा समयमै कृषि उत्पादतिरै लागिहाल। नोकरीमा पनि त आखिर पछि पेन्शन त पाउने होइन नै। बरू अहिलेदेखि नै एक-दुइपैसा कमाउनुतिर लागेकै राम्रो। नोकरी नै गर्ने मन भए र पाइहाले ठीकै छ। गोपाल अझ भन्छ, तर मलाई चाहिँ सरकारी नोकरीभन्दा कृषि उत्पाद नै ठीक छ। यहॉं कसैको डर पनि छैन, न त कुनै हतारै छ! कसैको गाली खानु पनि परेन, अफिस ढिलो भयो भनेर "ट्राफिक जाम' को बहना बनाउनु पनि परेन। फेरि न कहिले चार बज्छ भन्ने हतार, न त कहिले एक तारिक आउँछ भन्ने नै सुर्ता? काम गऱ्यो आफ्नै खुशीले, गरेन आफ्नै। त्यसैले म त बरू खेती नै गर्छु' भन्छ गोपाल सबैलाई।
गोपालले ठीकै गरेछ, मलाई पनि आजभोलि यस्तै लाग्न थालेको छअनि युवाहरूलाई कृषि उत्पादनमै लाग्ने सुझाउ दिनथालेको छु।
* * * * *

No comments:

Post a Comment