
रात 11 बजीसम्म काम गरेको थकान शरीर। प्यारो कान्छी निद्राले निक्कै च्यापेछ। भाइ जगनको फोन आउँदा बिहान पनि निक्कै छिप्पी सकेको थियो। पल्लो कोठामा भाइ सुदर्शन आफ्नै कान्छी निद्रासित निमग्न थियो। फोन बजेपछि उठाएर आउँदैछु भनेर मुख खोलेपछि मात्र मुख धुन लागेँ। निक्कै हतारका साथ सानो ब्यागमा तातो फेर्ने लुगाहरू खाँद-खुँद पारेर एक काँधमा झुण्ड्याएर बाहिर निस्केँ। उकालो नाक ठोकिने सिँडी फोक्सोले हावा तान्लाजस्तो भएपनि पाइलाहरू निक्कै स्पिड चलाएँ। एउटा ट्याक्सी रोकेर गान्तोकको एमजी मार्गतिर हानिएँ। देउराली पुग्दा कवि प्रवीण दाजुको अर्को कल बज्यो। उठाएर केही बात भएपछि एउटा गाड़ीको नेतृत्व मैंले गर्नुपर्ने बुझें। अरूहरू निक्कै अघि पुगी सकेका थिएँ। सायद उनीहरूको निम्ति यसचोटि म वेटिङ फर गोदोद् भएँ। एउटा गाड़ी हिँड़ी सकेको थियो। तीनवाट गाड़ी बजारमा थिए। बजार पुगेपछि सबै मिलाएर हिँड़ियो। डिस्ट्रिक्ट कोर्टको बाटो भएर टाशी भ्यू पोइन्टमा भेट्ने सबैको सहमति भयो। सबै गाड़ीहरू माथिल्लो बाटो बोझोघारी भएर गए, तर किन हाम्रो चाहिँ तल्लो बाटो गएको अझै बुझ्न सकेको छुइन। डिस्ट्रिक्ट कोर्ट के पुगेको थियो जाम लागेकोले फेरि फर्किएर उल्टा गुड़ाई हुनपर्यो बोझोघारीकै बाटो भएर।
बिहानीको टाशी भ्यू पोइन्ट निक्कै रोमाञ्चित थियो। केही खाने सूर। बोझोघारी फाटकबाट कवि गोपाल ढकाल अनि कवि, सम्पादक एवं राजनीतिज्ञ डीएन नेपाल पनि हाम्रो गाड़ीमा पसे। टाशी भ्यू पोइन्टमा सबै कवि साथीहरूसित भेट भयो। दार्जीलिङबाट आएका पूर्व परिचित कवि कमल भट्टराईसित केही क्षण भलाकुसारी गरें। कति चिनेका अनि कति टाशी भ्यू पोइन्टले देखेको नयाँ बिहानी जस्ता नयाँ अनुहारहरू, हल्लाहरू, खित्काहरू, औपचारिकताहरू, यस्तै-यस्तै हुँदै गर्दा मेरो खाजा आयो। तर्लङ्ग झोल भएको मटर र आलु मिसिएको सब्जीसित पुरी चबाउन थालेँ। गोपाललाई आँखाको ईशाराले नेपालको वीरगञ्ज यात्राको स्मरण गराएँ। शायद अमीर भण्डारी भए पनि उस्तै गर्थे होला। खाइसकेर सबैजना आ-आफ्नो गाड़ीमा बस्न थाले। गोपाल भाइ अनि म वाश रूम गएर फर्किएपछि दोकानबाट दुईवटा कोक किन्यौं। यति भएपछि गाड़ीमा गएर हामी पनि चुपचाप बस्यौं। हाम्रो गाड़ीमा कवि गोपाल ढकाल, कवि जगन दाहाल, आर.जे प्रबल, गोल्डन टिप्सका दुई अकवि मित्र र म थियौं। सबै गाड़ीहरू क्रमैले अघि बढ्न थाले। टाशी भ्यू पोइन्टको छातीमा सुतेको कालो अलकत्रे मार्गलाई चिर्दै हाम्रो गाड़ी पनि अघि बढ्न थाल्यो।
टिस्टाको काँधमा उभिएको मगन बजारलाई चिरेर अलिक पर पुगेर हामी अडियौं। एउटा कोक सकिसकेको थियो। एउटा अझै बाँकी। त्यहाँ एक-अर्कालाई पर्खियौं। केही फोटोहरू सम्झनको निम्ति खिच्यौं। होइन, अहिले मान्छेलाई फोटो छ भने मात्र सम्झाना आउँछ। प्रश्नहरू थिए मनमा मगनको चिसो बिहानी जस्तै। पुनः सबै भेला भयौं। गाड़ीहरूले हामीलाई बोकेर चुङ्थाङको लक्ष्य लिएर हिँड्यो। मगन पुगेपछि किन हो कुनी गजलकार जीविका खतिवड़ा अनि उनकी भदैनी रेनुका खतिवड़ा हाम्रो गाड़ीमा आउने भए अनि हाम्रो गाड़ीबाट गोल्डन टिप्सका मित्रहरू अर्को गाड़ीमा जाने भए। जीविका दिदी हाम्रो गाड़ीमा आएपछि ओठमा औपचारिकताहरू र मस्तिस्कमा संस्कारहरू कुदे। अघिसम्मको जुन अनियन्त्रित संवादहरू थिए, जुन खित्का अनि कुटिल वाक्यहरू थिए, सबैमा हड्ताल लाग्यो। एक प्रकारले हाम्रो गाड़ी संस्कारित बन्यो। विस्तारी हाम्रो गाड़ीलाई आदर्शले थिच्यो। जुन प्रकारले प्रकृतिसित रमाएर उन्मातमा फुलेको फूल राम्रो लाग्छ कहीँ कतै कृत्रिम रङहरू पोतिएको आभाष हामीमा नभएको होइन्। आर्दश अनि नियन्त्रित संवादहरूलाई घिस्याएर हाम्रो गाड़ीले मगनबाट टुङ-नागा हुँदै चुङ्थाङको बाटो समाति सकेको थियो।
कवि एवं कथाकार युवा बराल ‘अनन्त’-ले चुङ्थाङमा पर्खिरहेका थिए। उहाँ यो कार्यक्रमको मूल संयोजकका रूपमा रहेका छन्। प्रायः सबै प्रबन्ध अनि यात्राको खाका उहाँकै अवधारणा मानेको छ चिया कविता समूहले। चुङ्थाङ मात्र पुग्नु पर्ने भएकाले यात्राको गतिमा उति हतार थिएन। बस्ने व्यवस्था अनन्तज्यूले नै गर्नु भएको छ। चुङ्थाङदेखि राज्यको कानून व्यवस्था उति प्रभावकारी बन्दैन। त्यहाँको सामाजिक संरचना अनि सञ्चालन व्यवस्था भिन्नै प्रकारको छ। यी क्षेत्रहरूमा घुम्न अथवा प्रवेश गर्नको निम्ति ‘स्पिशेल पास’ बनाउनु पर्ने हुन्छ। जसको औपचारिकता पूरा भइसकेको छ। दिनको 4 बजीतिर हामी चुङ्थाङमा पुग्यौं। सबैजना गुरुद्वारामा भेला भएर को कहाँ बस्ने प्रबन्ध मिलाउन थाल्यौं। युवा दाजुले जोरले खट्नु हुँदैछ, सबैलाई सुविधा दिन अनि सबैमा सेवा पुर्याउन। सबैको बस्ने प्रबन्ध भइसकेपछि म, जगन अनि गोपाल होटलतिर लाग्यौं। अघिबाटै एचएम दाजु र खगेन्द्र दाजु गएर आफ्नौ संसार बनाउँदै रहेछन्। त्यो संसार निर्माण गर्ने प्रक्रियामा हामी पनि सामेल भयौं। साँझमा परिचय साट्ने, चुङ्थाङका कविहरूसित मिलेर कवि गोष्टी गर्ने कार्यक्रम पनि छ। त्यसमा जानको निम्ति संसार निर्माण गर्ने प्रक्रियालाई केही थाँतीमा राख्यौं।
परिचयहरू साटा-साट भइरहेको छ। दुई-चारजना चुङ्थाङका कविहरूका कविता सुन्यौ। खुब राम्रा कविता। उत्तरको सौन्दर्यझै सौन्दर्य भएका कविता, कही जीवनको सौन्दर्य, कहीँ समाजको सैन्दर्य भने कहीँ मनको सौन्दर्य। यस्ता तमाम सौन्दर्यहरूले बुनिएका कविताहरू सुन्ने क्रममा दार्जीलिङबाट आएका कविद्वय विनीता छेत्री अनि कमल भट्टराईले पनि कविता सुनाए। सिक्किमका कविहरू क्रमैले गोपाल ढकाल, जगन दाहाल, प्रवीण खालिङ, जीविका खतिवड़ा अनि म स्वयंले पनि एक-एकवटा कविता सुनाएका थियौं। यसैबीच कवि विनीता छेत्री अनि जगन दाहालमाझ कविताको विषयवस्तुमाथि केही तर्क पनि भएको थियो। अर्कातिर, यही क्रममा खाना पनि खाइसकेका थियौं। खाना खान बसेका के थियौं बिजुलीले चटक देखायो। केही देशी पर्यटक अनि केही हाम्रै मित्रहरू खाना खाने स्थानबाट उठेर भाग्न खोजे। गुरुद्वाराबाट दिएको सानो रुमालले टाउको छोपेका थियौं भने भान्सेले रोटी दिँदै आउँदा थाल अथवा प्लेट नथापेर हात थाप्नुपर्ने नियमलाई पालन गर्यौं। सिक धर्मावलम्बीहरूको मान्यताअनुसार कसैले केही दिँदैछ भने हात नै थाप्नु पर्ने हुन्छ होला, त्यही अनुरूप यो क्रमपनि सकियो। मज्जाले साधा दाल-भात अनि रोटी खाएर त्यहाँबाट निस्कियौं। बिहान 3 बजी नै चुङ्थाङलाई छोडेर गुरुदोङ्मारको यात्रा तय गर्नु थियो यसैले बेलुका छिट्टै सुत्ने सल्लाह भए तापनि कवि गोपाल अनि जगन भाइसितको गफ अनि छेड़-छाड़ले 12 त नाघि सकेको थियो। जबरजस्ती सुतेको के थियौं मोबाएलमा मसिन भाले बासी हाल्यो। उठ्यौं जसो-तसो अनि मुख-सुख धोएर तयार भयौं।
बिहनीको भुकभुकेमा चुङ्थाङलाई छोड़ेर गुरुदोङमारको निम्ति प्रस्थान गर्यौं। बिहानीको चिसोले निक्कै मज्जाले शरीरलाई स्पर्श गरिरहेको थियो। तर त्यो चिसो पनि आनन्दमय थियो। सबै हिजो आएकै गाड़ीमा बसेका थियौं। चाहँदा-चाहँदै पनि अर्को गाड़ीमा जान सकिएन। मन भएर पनि मनलाई टाल्न नसकेको अवस्था अनुभूत भइरहेको थियो। अनि आजसम्म त्यस्तै छ। बिस्तारै गाड़ीले अँध्यारोको पर्दा ओडेर निर्वस्त्र सुतेको सडकलाई चिर्दै अघि बढ़िरहेको थियो। कवि गोपाल, जगन अनि म आफै मगन थियौं। केही शरीरमा ऊर्जा नभएजस्तो, कतै टाउको दुखी रहेको जस्तो, यस्तै के-के अनुभूति अनि अफ्ठ्याराहरूलाई लिएर गाड़ीमा फेरि म निदाएछु। छेउमा भएका कवि गोपालले ‘हऊ उठौं’ भन्दा पो आँखा उघारेँ। बाहिर त उज्यालो खसिसकेछ। निक्कै समय पनि बितेछ। यतिखेर हामी थाङ्गुको आगानमा पोखिएका थियौं। थाङ्गुमा चिया-खाजा खाने प्रबन्ध गरिएको थियो। सबै नतङ्ग्रिएको पाड़ोजस्तो भएर आ-आफ्नो गाड़ीबाट उत्रियौं। ‘आइय्या...’ भन्दै सबैले आङ तन्कायौं। अनि एउटा दोकानभित्र पसेर चियाको ‘अर्डर’ दिएर त्यही दोकानको चुल्हामा घ्याक पसार्यौं। तातो चिया बनिन्दै थियो। खाजा पनि खाने सल्लाह भएपछि सुक्खा रोटी बनाउने कुरामा सहमत भयौं। भाइ जगनले आफै रोटी बनाउन अनि पोल्न थाल्यो। कति राम्रो दोकाने दिदी आफ्नो चुल्हामा मज्जाले अरूले बनाउँदा सहयोग दिने साथै चाहिने सर-सामाग्रीहरू ल्याइदिने, खुब फर्स्याइली। सबैले आ-आफनो जिउलाई तातो अनि अघाको बनाएर पुनः यात्रामा सामेल भयौं।
बिस्तारै हरिया डाँड़ाहरूलाई पछि पार्दै अघि बढिरह्यौं। हरिया पनि सेता पहाड़ अनि हिमालीय श्रृङ्खलाहरूलाई क्रमैले पछि पार्दै हाम्रो यात्रा अघि बढ़िरहेको छ। ठाउँ-ठाउँमा गुराँसले मुस्कुराएर स्वागत गरिरहेको थियो भने कति ठाउँमा प्रिमुला लाजले भुइँभरि पोखिएकी थिई। स्थान र परिवेशअनुसार फूलहरूको अर्थ र महत्व पनि फरक बन्दै जाँदोरहेछ जीवनमा। ठाउँ-ठाउँ हिउँजस्तै जमिएको अनि ठाउँ-ठाउँमा उत्ताउलो भएर प्रकृतिसित रोमान्स गर्दै बग्ने एउटा खोलाको किनार-किनारै हामी हिँडिरहेका थियौं। अन्तिम सीमा सुरक्षा बलको चेकपोष्टमा पुगेर कफी पिउने साथीहरूले मन बनाए। म र गोपाल भाइ गाड़ीको पछिल्लो सिटमा भएको हुनाले निस्कीन अल्छी भन्दा पनि चिसोको पीर लाग्यो। भाइ जगनले हामीलाई त्यहीँ कफी ल्याइदियो। तातो कफी पिउनुको आनन्द पनि यहाँ फरक थियो। सबैले कफी पिइसकेपछि फेरि हाम्रो यात्रा अघि बढ्यो। बिस्तारै अघिका हरिया अनि हिउँले ढाकेका सेता पहाड़ अनि हिमालहरू क्रमैले हराउँदै गए। हामी बिस्तारै चिसो मरुभूमीमा प्रवेश गरिसकेका थियौं।
चिसो मरुभूमीमा अर्कै आनन्द अनुभूत भयो। यता हेर्यो यतै राम्रो उता हेर्यो उता राम्रो। फोटो पनि कता कताको खिच्नु दोधार। प्रकृतिको सुन्दरताको साँचो अनुभूत भइरहेको अवस्थामा फोटो-सोटो खिचेनौं हामीले। तर, जीविका दिदी अनि उनकी भदैनीले भीडियो गरिरहेका थिए। दुईजनाले छेउ-छेउबाट यता र उताको भीडियो लिँदा बीचको जगन भाइलाई के भइरहेको थियो, गोपाल अनि मलाई कुरा काट्न मज्जा आएको थियो। अघिल्लो सिटबाट आर.जे. प्रबलले पनि गोपाल र मलाई साथ दिनु हुन्थ्यो। यस्तै रमाइला अनि कुरा काट्दा काट्दै गाड़ी गुरुदोङमार झीलको डिलमा पुगेर अड़ियो। केही क्षण हामी सबै गाड़ीभित्रै बस्यौं। केही क्षणमा निस्किएर झीलको दर्शन गर्यौ। श्रद्धा गर्यौं। नमन गर्यौं। देशी तथा विदेशी पर्यटकहरूको घुइँचो लागेको यो स्थान साँच्चै घरतीको स्वर्ग नै लाग्यो। अक्सिजनको कमी भएकोले सास फेर्न कठिनाई भइरहेको भएपनि कार्यक्रम गर्ने स्थान तयार गर्यौं। साथीहरू कता-कता फोटो खिच्न लागे, रहेकाले तयार गरेर कविता भन्ने शुरु गर्यौं। जोर-जोरले हावा चलिरहेको हुनाले फ्ल्याक्स ब्यानर मिलाउन भने गाह्रो भयो अनि हामीले हातले नै पक्रिएर अरूले कविता भन्ने व्यवस्था गर्यौं। यहाँ कवि दीपा राई, कमल भट्टराई, विनीता छेत्री, गोपाल ढकाल, म, जगन र अन्य केही कविहरूले मात्र कविता वाचन गर्यौं। किन भने कविताभन्दा निक्कै बोल्नुपर्ने अनि जोर दिनुपर्ने भएकोले अक्सिजन कम्ती भएको कारण अलिक तल झरेर अन्यले कविता भन्ने सल्लाह भयो। यसैबीच जीविका खतिवड़ा दिदीलाई साह्रो बनाएको रहेछ। उहाँ गाड़ीमा विश्राम गरिरहनुभएको थियो। यति गरेपछि सबै फर्कियौं। निक्कै तल झरेपछि एक ठाउँ पाइक परेको स्थानमा ढुङ्गामा ब्यानर टाँगेर फेरि अघि छोड़िएका कविहरूको कविता सुन्न पलैंटी कसेर बस्यौं। यहाँको कार्यक्रम सकिएपछि लाचेनमा दिउँसोको खाने प्रबन्ध भएकाले फर्किनतिर लाग्यौं।
जुहारी नेपालीहरूको साङ्गीतिक रोमान्स गर्ने एउटा माध्यम हो। फ्रकिन्दा कवि गोपाल ढकाल अनि म भएर कवि भाइ जगन दाहाल अनि रेनुका खतिवडालाई नायक नायिका बनाएर निक्कै जुवारी हाँक्यौं। जुवारीमा केही रमाइला अनि केही उत्ताउला शब्द अनि हरफहरूले नायक-नायिकाको अन्तर-कुन्तरलाई के असर गर्यो तर हामीलाई भने गाउनमा अर्कै मज्जा आएको थियो। लगभग दुई घण्टाको यात्रा जुवारीले कटायो। थाङ्गु आइपुग्दा जीविका दिदीलाई टाउको दुखेर निक्कै हैरान बनाएको थियो। यतिकै यात्रा अघि बढ़िरह्यो। हामीले सोच्यौं लाचेन पुगेर खाना खाएपछि ठिक हुन्छ। तर त्यसो भएन। यात्रा जारी छ। चुङ्थाङ आइपुग्दा थाम्न सक्नु भएन। केही बान्ता भएपछि दबाई-पानी दियौं। केही रमाईलो अनि केही खल्लो अनुभूत गर्दै टाशी भ्यू पोइन्टमा गोपाल झर्दा केही खल्लो भयो। जीवनमा यात्राले नयाँ केही न केही दिन्छ। केही नभए पनि एउटा रमाईले क्षण दिन्छ। शायाद त्यो यात्राको सम्झाना सबै कवि मित्रहरूमा आजीवन रहनेछ। अनुभव रहनेछ।
-(सोरेङ, पश्चिम सिक्किम)