सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज दोस्रो तथा अन्तिम चरणमा आगामी विधानसभा चुनाउका लागि रहेका 14 समष्टि र एकमात्र लोकसभाका उम्मेद्वारको नाम घोषणा गरेको छ। एसडीएफसितै अन्य विपक्षी पार्टीहरूले पनि आ-आफ्नो उम्मेद्वारहरूको नाम चरणवद्ध गरेर घोषणा गरिरहेको छ। यद्यपि, सबैको ध्यान एसडीएफमाथि नै रहेको छ। एसडीएफले आज दोस्रो चरण टिकट वितरण गर्नसितै अहिलेसम्म पार्टी समर्थक हौं भनेर चिच्याइरहनेहरू पार्टीप्रति को-को कति इमान्दार थिए, कति समर्पित थिए भन्ने स्पष्ट भएको छ। गत 15 मार्चको दिन 18 वटा समष्टिका लागि उम्मेद्वारहरूको नाम घोषित भइसके पनि रहेका 14 वटा समष्टिमा कस्ता उम्मेद्वारहरू आउने र कस-कसले टिकट पाउने हुन् भन्ने पक्ष-विपक्ष दुवैतिरका लागि चासोको विषय रहेको थियो।
25 वर्ष सत्तामा रहेको एसडीएफ पार्टीको निम्ति केवल 32 आसनमा उम्मेद्वार कस-कसलाई बनाउने, यो आफै चुनौतिपूर्ण विषय थियो। किनभने पाँचपल्टसम्म सरकार बनाइसकेको पार्टी राज्यको सबैभन्दा ठूलो पार्टी त हो नै, यसको साथमा सम्पूर्ण सिक्किमवासीले विश्वास गरेको पार्टी पनि हो। त्यसैले सम्पूर्ण सिक्किमेली जनमानसको मन जित्न सफल बनिसकेको पार्टीबाट उम्मेद्वारीता दिन चाहने धेरै हुन्छन्। यद्यपि, एसडीएफ अध्यक्ष पवन चामलिङले जसरी टिकट वितरण गरेका छन् त्यसले राजनीति क्षेत्रमा उनको परिपक्वतालाई स्पष्ट झल्काएको छ। 1973 देखि राजनीति क्षेत्रमा प्रवेश गरेर 20 वर्षको अनुभवपछि 1993-मा स्वयं पार्टी गठन गर्दै 1994-मा पहिलोपल्ट सरकार गठन गर्न सफल बनेका उनीसित पाँचपल्टसम्म निरन्तर सरकार स्थापनासितै पार्टी र सरकार सञ्चालनको राम्रो अनुभव छ।
एसडीएफले यसपाली टिकट वितरण गरिसक्दा सम्पूर्ण पार्टी कार्यकर्ताहरूको लागि ‘लेशन’ दिएको छ। आफूस्वार्थी र चौकीको लागि अबको राजनीति हुनेछैन भन्ने सिको एसडीएफ पार्टीको टिकट वितरणले स्पष्ट पारेको छ। राजनीतिक केवल राजनीति होइन, गाउँ-समाजको विकासको लागि गरिनुपर्छ। समाज र राज्यको विकासको लागि हुनुपर्छ। राजनीतिलाई समाजसेवाको असल माध्यम हो भन्ने कुरालाई व्यवहारिक रूपमा उतार्नुपर्छ भन्ने पनि सिकाएको छ।
एसडीएफको टिकट वितरणले अर्को के स्पष्ट पारेको छ भने राजनीतिज्ञहरूले मञ्चमा भन्दा धेरै मैदानमा उत्रेर काम गर्नु जरुरी छ। नेताले जनताको हरेक मर्म, पीडा, अवस्था बुझेको हुनुपर्छ। उसैले मात्र समाजहितमा काम गर्न सक्छन्, समाजको विकास गर्न सक्छन्। एसडीएफले यसपाली त्यस्तै नेतृत्वकर्ताहरूलाई सिक्किमको विकासका लागि मैदानमा उतारेको छ। गाउँमा जन्मेर, हुर्केर गाउँको दुःख-पीडा र व्यथा बुझेकाहरूलाई नै धेरै एसडीएफले चुनावी मैदानमा उतार्नु भनेको सिक्किमको भविष्य अझ उज्यालो बनाउँने पहल हो। सिक्किमलाई विकासको गोरेटोमा डोहोर्याउनु हो। यसका साथै एसडीएफले युवाहरूलाई पनि मैदानमा उतारिरहेको छ। यसले अर्को के स्पष्ट हुन्छ भने एसडीएफले सिक्किमको भविष्य युवाहरूको हातमा हस्तान्तरण गर्ने अभ्यास पनि शुरू गरिसकेको छ।
अर्कोतिर, एसडीएफले दोस्रो चरणको टिकट वितरण गरिसक्दा वातावरण केही अशान्त देखिएको थियो। पार्टीले लिएको निर्णयको विरोध गर्नेहरू पनि अग्रसर देखिए। यद्यपि, पार्टी हाइकमानले लिएको निर्णयको विरुद्धमा आवाज उठाउनु भनेको पार्टीको सिद्धान्तविरुद्ध जानु हो। अर्को कुरा, पार्टीले लिएको निर्णको विरुद्धमा जानेहरू पार्टीप्रति इमान्दान नरहेको पनि स्पष्ट हुन्छ। पार्टीप्रति इमान्दार नरहनु भनेको सिक्किम र सिक्किमवासीको साँचो र इमान्दार सेवक नरहेको बपुझाउँछ। यसबाट उनीहरू मौकावादी र आफूस्वार्थी रहेर राजनीति गरिरहेका थिए भन्नु बुझाउँछ। त्यसैले कुनै पनि पार्टीका कार्यकर्ता र समर्थकहरू जबसम्म त्यो पार्टीप्रति इमान्दार रहँदैन त्यसले केवल पार्टीलाई मात्र नोकसान पुर्याउँदैन, तर उनीहरूमाथि विश्वास गर्नेहरूको आस्था-भरोसा पनि टुट्नेहुन्छ। यसबाट राजनीतिज्ञहरूसित राज्य निर्माण र राज्यको उज्ज्वल भविष्यको सपना देख्ने जनसाधारणलाई ठूलो घात हुनसक्छ। त्यसो हुनु भनेको राज्यमा अशान्ति, असुरक्षा सिर्जना हुनुसितै विकासको गतिमा बाधा पनि पुग्नेहुन्छ। यस्ता अवसरवादी राजनीतिज्ञहरूसित समाज पनि जोगिनुपर्ने हुन्छ।-22.3.2019
No comments:
Post a Comment