Thursday, July 4, 2019

चुनावी रणनीति सबैको चासोको विषय

आगामी 11 अप्रेलको दिन राज्यमा लोकसभा तथा सिक्किम विधानसभा  चुनाउ हुने भएको छ। त्यसैले अहिले राज्यभरि नै चुनावी माहोल छाएको छ। चारैतिर चर्चाको विषय नै चुनाउ बनेको छ। कतिपयको ध्यान विपक्षी पार्टीहरूमा भुल्लिरहेको भए पनि धेरैको निम्ति सत्तारुढ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) केन्द्रविन्दु रहेको छ। सत्तारुढ एसडीएफले चुनाउलाई ध्यानमा राख्दै आज पहिलो चरणमा 18 जना उम्मेदवारको नाम घोषणा गरेको छ। एसडीएफले आफ्नो पहिलो चरणमा पूर्व जिल्लाबाट 4, पश्‍चिम जिल्लाबाट 6, उत्तर जिल्लाबाट एक अनि दक्षिण जिल्लाबाट 7 वटा गरी जम्मा 18 वटा समष्टिबाट उम्मेदवारको नाम घोषणा गरेको छ भने हाम्रो सिक्किम पार्टी (एचएसपी)-ले पनि 6 जना उम्मेदवारको नाम घोषणा गरेको छ। यसका साथै गत 10 मार्चको दिन चुनाउको मिति तय हुनसाथ तात्तिरहेको राज्यको राजनैतिक माहोल अझ रोमाञ्चक बनिरहेको छ। उल्लेखयोग्य विषय त के छ भने अहिलेसम्मका प्रायः जसो चुनाउमा एसडीएफ पार्टीले आफ्ना उम्मेदवारहरूको नाम अन्तिम-अन्तिम चरणमा घोषणा गर्ने गरेको भए पनि यसपाली भने कुनै पनि विपक्षी पार्टीहरूभन्दा अघि नै पहिलो चरणमा 18 जना उम्मेदवारको नाम घोषणा गरेको छ। उसो त उम्मेदवारहरूले आफ्नो नामाङ्कन भर्ने अन्तिम मिति 25 मार्च रहेको छ। अन्तिम मितिको 10 दिन अघि नै एसडीएफले पहिलो चरणमा उम्मेदवारहरूको नाम घोषणा गरेको छ। अर्को कुरा, एसडीएफले चरणवद्ध गरेर पार्टी उम्मेदवारहरूको नाम घोषणा गरेको पनि सम्भवतः यो पहिलोपल्ट हुनसक्छ, जसले धेरैलाई चकित पारेको हुनसक्छ।
अर्को उल्लेख्य विषय के छ भने एसडीएफले पहिलो चरणमा दिएको  18 वटा समष्टिका उम्मेदवारहरूमध्ये चारवटा समष्टिमा महिलाहरूलाई अग्रसर गराइसकिएको छ अनि समग्रमा धेरैजसो समष्टिबाट नयाँ अनुहार देखिएका छन्। सत्तारुढ एसडीएफ पार्टीले दिएको उम्मेदवारहरूलाई हेरेर अहिल राजनैतिक पर्यवेक्षकहरूले यसलाई एसडीएफको सकारात्मक पहल साथै निर्णय मानिरहेका छन्। अर्कोतर्फ पार्टी अध्यक्ष पवन चामलिङको नेतृत्वमा एसडीएफले जहिले पनि सिक्किम र सिक्किमवासीको विकासलाई केन्द्रमा राखेर काम गर्दै आइरहेको छ। सिक्किम विधानसभा तथा लोकसभा चुनाउ 2019-को लागि एसडीएफले जसरी उम्मेदवारहरूलाई अघि सारेको छ, त्यसलाई हेरेर पनि राजनैतिक  विश्‍लेषकहरूले यो चुनाउमा पनि एसडीएफले अनुहार हेरेर होइन काम हेरेर उम्मेदवार चयन गरेको बताइरहेका छन्। उसो त कतिवटा समष्टिमा सतप्रतिशत जनता अथवा पार्टी कार्यकर्ताहरूले उम्मेदवार नरुचाएका हुनसक्छन्। यद्यपि, पार्टीको जुन निर्णय छ त्यो समाजहित र जनहितलाई ध्यानमा राखेको राजनैतिक विश्‍लेषकहरूले स्वीकारिरहेका छन्।
यता, एचएसपीले पूर्व जिल्लाबाट तीनवटा अनि पश्चिम, दक्षिण र उत्तर जिल्लाबाट एक-एकजना उम्मेदवारको नाम घोषणा गरिसकेको छ भने अन्य समष्टिबाट कुनै उम्मेदवार दिन सकिरहेको छैन। यद्यपि, अन्य निर्वाचन क्षेत्रको निम्ति पनि उम्मेदवारको नाम चाँडै नै घोषणा गर्ने पार्टीले बताइरहेको छ। उसले पनि धेरैजसो उम्मेदवारहरू युवा नै रहने बताइरहेको छ। अन्य पार्टीहरूले पनि उम्मेदवारहरूको नाम घोषणा गरिरहेको चर्चा भइरहेको भने भइरहेको छ।
अब हेर्नु छ, 11 अप्रेलको दिन हुने चुनाउलाई कुन पार्टीले कसरी लिने हो अनि कसतो गोटी फ्याक्ने हो सिक्किमेली जमाजमाझ। किनभने सत्तारुढ एसडीएफ पार्टी यसपटक छैटौंपटक चुनावी मैदानमा उत्रिरहेको छ, जोसित राज्य र हरेक राज्यवासीसम्म पुग्नका लागि धेरै अनुभव छ। सिक्किम र सिक्किमवासीको समग्र विकास चाहने एसडीएफले यसपालीको चुनाउलाई सिक्किम बचाउने चुनाउ भन्दै आइरहेको छ भने विपक्षी एसकेएमले परिवर्तनको नारा लगाउँदै आइरहेको छ। अर्कोतिर, नयाँ प्रकारले राजनीति गर्ने छौं भनिरहेको एचएसपीले नयाँ सिक्किमको नारा लगाइरहेको छ। यद्यपि, जनताले नाराबाजीभन्दा पार्टी कति व्यावहारिक छ, त्यो हेर्ने गर्छन्। वचनमात्रै होइन कसले कति काम गर्नसक्छ भन्ने कुरालाई अघिबाटै तौलनसक्ने क्षमता अहिलेका सिक्किमे जनतामा छ। जे होस, पहिलोपल्ट चरणवद्ध ढङ्गमा अनि अन्य पार्टीहरूभन्दा पहिलै उम्मेदवारहरूको नाम घोषणा गरेपछि एसडीएफको चुनावी रणनीति के हो भन्ने पनि सबैको निम्ति अहिले चासोको विषय बनिरहेको छ।-15.03.2019

No comments:

Post a Comment