11 अप्रेल 2019-को दिन राज्यमा 17औं लोकसभा र 10औं विधानसभाको 32 वटै आसनका लागि शान्तिपूर्वक मतदान पूरा भएको छ। मतदान हुन केहीदिन अघिसम्म राज्यमा छुटपुट घटनाहरू भइरहे, अशान्ति छाइरहे, झाइ-झगडाहरू भए अनि कुनै राजनैतिक कारणहरू नदेखिए पनि हत्याकाण्ड पनि भएका थिए। देशको सबैभन्दा सुखी, सुरक्षित र शान्ति राज्य मानिएको सिक्किमको निम्ति यो बडो दुखदायी घटना थियो। यद्यपि, 11 अप्रेलको दिन सम्पन्न चुनाउ शान्तिपूर्ण सम्पन्न भयो। राज्यको लगभग 6.5 लाख जनसङ्ख्यामध्ये 4 लाख 32 हजार 306 जना मतदाता रहेका थिए। तीमध्ये 2 लाघ 12 हजार एकजना महिला मतदाता रहेका थिए भने 2 लाख 20 हजार 305 जना पुरुष मतदाताले राज्यभरिका कूल 567 मतदान केन्द्रमा आफ्नो मताधिकारको प्रयोग गर्दै मतदान गरेका थिए। यस वर्ष राज्यको 4 लाख 32 हजार 306 जना मतदातामध्ये 78.19 प्रतिशत मतदाताले मतदान गरेका छन्। उत्तर जिल्लामा सर्वाधिक 81.74, पश्चिममा 81.64, दक्षिणमा 78.07 र पूर्व जिल्लामा 75.60 प्रतिशत मतदान भएको छ।
यसअघि 30 अप्रेल 2014-मा सम्पन्न चुनाउमा 83.3 प्रतिशत मतदान भएको थियो भने त्यसको तुलनामा यो वर्ष अर्थात 11 अप्रेल 2019-मा 4 प्रतिशत मतदान घटेको छ। यस वर्ष लगभग 21.81 प्रतिशत मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गरेनन्। उसो त राज्यमा चुनाउ विभागले ‘सुगम्य चुनाउ’-को नारा नै दिँदै सतप्रतिशत मतदानको लागि मतदाताहरूलाई प्रेरित गरिरहेको थियो। यसरी नै राज्यभरि पूर्ण मतदानको लागि 5 जना अम्बासेडर पनि नियुक्त गरिएका थिए। यति भएरै पनि किन विगत चुनाउको तुलनामा यस वर्षको चुनाउमा मतदान प्रतिशत घट्यो भन्ने प्रश्न आउँछ।
राज्यको बढ्दो मतदाता संख्यासित मतदान प्रतिशममा कमी आउनु भनेको सिधा अर्थमा चुनाउ विभाग तथा चुनाउ आयोगबाट कुनै न कुनै प्रकारको कमी भएको हुनसक्ने स्पष्ट हुन्छ। विभाग वा आयोगले प्रयासै नगरेको भने पक्कै होइन। यद्यपि, यस विषयलाई लिएर यसवर्ष प्रचार-प्रसार तथा विज्ञापनहरू खासै जारी नगरिनुलाई पनि मतदान प्रतिशतमा कमी आउनुको कारणहरूमध्ये एउटा मान्न सकिन्छ। यसले पोलिङ टीमका कतिपय अधिकारीहरूसितै एमसीएमसीको पनि कमजोरी देखाउने हुन्छ। मतदान केन्द्रहरूमा खटिएका कतिपय पोलिङ टीमका सदस्यहरूले मतदाताहरूलाई सही जानकारी नगराइनु अथवा सुरक्षा अधिकारीहरूले ‘अथोरिटी टेलर’ धारकहरूको परिचय-पत्र हेरेर पनि चकित पार्ने प्रश्न गरिनुजस्ता कुराहरूबाट पनि कहिँ न कहिँ विभागीय कमजोरीहरू स्पष्टिन्छ।
अर्कोतिर, राज्यमा यसपटक 107 वर्षीयसम्मका वयोवृद्ध मतदाताको सहभागिताले फेरि सिक्किमेली नागरिक आफ्नो मताधिकारप्रति सजग छन्, जागरुक छन् भन्ने पनि बुझाउँछ। युवा जमातदेखि वृद्धावस्थाका मतदाताहरूसम्मको सक्रिय सहभागिताले सिक्किमेली नागरिक मतदानलाई लिएर सचेत छन् भन्ने स्पष्ट हुन्छ। यति भएरै पनि पुनः माथिको प्रश्न दोहोरिन्छ कि किन पहिलाको तुलनामा यस वर्ष मतदान प्रतिशतमा कमी आएको छ? योसको एउटा प्रसङ्ग माथि उल्लेख गरिसकिएको छ भने चुनाउ विभाग अथवा चुनाउ आयोगसित रहेको कमजोरीको अर्को पनि एउटा पक्ष रहेको देखिन्छ। त्यो के भने, विगत चुनाउका समय जति मतदाता थिए, त्यो सङ्ख्यामा नयाँ मतदाताहरूको सूची निश्चितरूपमा थपिने हुन्छ। त्यसो भएपछि राज्यको कूल मतदाता सङ्ख्यामा पनि वृद्धि आउँछ। तर, अर्कोतिर यो पाँचवर्षको अवधिमा धेरैजनाको देहान्त पनि भएको छ। उनीहरू सबैको भन्न नसकिएला तर, धेरैजना देहान्त भएर गइसकेका भए पनि मतदाता सूचीबाट नाम नहटाइनुले पनि कूल मतदाता सङ्ख्याको बढोत्तरीसितै मतदान प्रतिशमा पनि कमी आउनु स्वभाविक हुन्छ।
अतः यहाँ के भन्न सकिन्छ भने, विभाग अथवा आयोगले मतदाता सूची तयार गर्दा इमान्दारीपूर्वक फिल्ड रिपोर्ट तयार गर्नु आवश्यक हुन्छ। कति नयाँ अथवा युवा मतदाता थपिँदैछन् र कति मतदाताहरूको नाम सूचीबाट हटाइनुपर्ने भन्ने सही तथ्य सङ्ग्रह गर्नु जरुरी हुन्छ। अतः वर्ष 2014-को तुलनामा यो वर्षको मतदान प्रतिशतमा कमी आएकै हो? यसै भनिहाल्न सकिने विषय होइन।
-12.04.2019
No comments:
Post a Comment