देशभरि नै अहिले चुनाउको हलचल चलिरहेको छ। देशमा हुने आम चुनाउ 2019-को पहिलो चरणअन्तर्गत सिक्किम विधानसभा र एकमात्र लोकसभा चुनाउ आगामी 11 अप्रेलको दिन हुने भएको छ। चुनाउका समय विभिन्न राजनीतिक पार्टीहरूबीच हिलो छेपाई हुनु, एकार्काबीच आरोप-प्रत्यारोप लगाउनु जस्ता खेलहरू हुनेगर्छन्। यस्ता कुराहरूले जहिल्यै पनि वातावरण हिंसात्मक बनाउने हुन्छ। जबजब चुनाउ नजिकिँदै आउँछ, तबतब राज्यमा हिंसात्मक घटनाहरू हुने गर्छन्। सिक्किम पनि चुनाउ नजिकिनसँगै राजनैतिक चलखेलहरू हुने कुरादेखि अछुतो छैन। नाराबाजी, विरोध, र्याली, प्रदर्शन, मागहरूले तीव्रता पाउने गर्छन्। सिक्किमको सन्दर्भमा पनि यस्ता घटनाहरू नयाँ विषय होइनन्। बितेको हप्ता र महिना दिनभित्रै भएका घटनाहरूलाई पनि हेर्ने हो भने यी कुराहरूको उदाहरण प्रशस्तै पाइन्छन्। केही दिन अघिसम्म विपक्षीहरूद्वारा सत्तारुढपक्षमाथि विभिन्न आरोप-प्रत्यारोप लगाउने, सरकारले गरिरहेको कार्यहरूप्रति असन्तुष्टि र विरोध, साना-साना कुराहरूलाई उठान गरेर विरोध प्रदर्शन गर्ने, नाराबाजी र र्यालीहरू निकालिने जस्ता घटनाहरू चारैतिर भइरहेका थिए। यहाँसम्म की वाहनहरू जलाउनेसस्मका दुःखदायी घटनाहरू भइरहेका थिए। आगामी 11 अप्रेलमा मतदान भइरहेको छ। नजिकिँदो मतदानसितै राज्यमा अहिले वातावरण पनि शान्तमय बनिरहेको छ। यसको लागि पहिलो श्रेय जाँदछ राज्यको प्रशासनित पक्षलाई, सरकारलाई।
प्रत्येक पाँच-पाँच वर्षमा चुनाउँ आउँछ। प्रजातान्त्रिक प्रणालीको यो एउटा प्रक्रिया हो की जनताले आफूले चाहेजस्तै सरकार बनाउन सक्छन्। कुनै पनि पार्टीलाई सत्तामा पुर्याउन सक्छन्। कुनै पनि पार्टीको सरकार बनाउन सक्छन् अनि कसैलाई विधायक, मन्त्री र मुख्यमन्त्री बनाउन सक्छन्। राज्य र देशको नेतृत्वकर्ता चयन गर्नसक्छन्। त्यही प्रक्रियालाई शान्तमय ढङ्गले सुचारू गराउन प्रशासनसितै राजनीतिक पार्टी र नेताहरूको पनि उत्तिकै दायित्व हुन्छ। चाहे कुनै पनि पार्टी किन नहोस, यो कुरालाई ध्यानमा राख्नु उत्तिकै जिम्मावारी बन्दछ। प्रशासनिक पक्षको लागि यो एउटा कडा चुनौति हो। यद्यपि, अहिले राज्यमा शान्त वातावरण कायम राख्न राज्यको प्रशासनिक पक्ष सफल रहेको देखिन्छ।
मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा एसडीएफ सरकारको पहलमा अहिले सिक्किम विश्वमै परिचित बनिरहेको छ। सिक्किमलाई विश्वले नै शान्तिप्रिय, सुरक्षित र विकसित राज्यका रूपमा हेरिरहेको छ। विश्वसामु सिक्किम र सिक्किमेको छुट्टै पहिचान बनिरहेको छ। तर, जबजब चुनाउ आउँछ तबतब माथि उल्लेख गरिएअनुसार राज्यमा अप्रिय घटनाहरू हुनु, वाहनहरू जलाइनु, टोड्फोड् हुनु भनेको समाजमा अशान्ति ल्याउनु हो। राज्य अशान्त बन्नु हो। राज्यको एकतालाई विश्रृङ्खल गराउनु हो। राज्यवासी असुरक्षित बन्नु हो। यदि चुनाउको मुखमा आएर यस्ता घटनाहरू हुन्छन् भने त्यसको सिधा प्रभाव जनतामाथि पर्दछ। राज्य र देशलाई पर्दछ। त्यसैले देश र विश्वासामु राज्य र राज्यवासीको छवी धमिल्याउनु पनि हो। कुनै पनि पार्टीले सत्तामा पुग्नका लागि राज्य वा समाजलाई अशान्त बनाउनु कति जनहितमा हुन्छ? त्यो पनि आजको शिक्षित समाजले सोच्नुपर्ने हुन्छ।
राजनीतिलाई समाजसेवाको सबैभन्दा महत्वपूर्ण माध्यम अनि राजनैतिक संस्थालाई सबैभन्दा सही माध्यम पनि मानिन्छ। समाजसेवाले समाजमा अशान्ति, दंगा-फसाद, असुरक्षाको महशुस गराउँदैन, समाजमा हिंसाह फैल्याउँदैन। समाजलाई सुखी, शान्ति, सुरक्षित राख्ने अनि समृद्धितर्फ बढाउने हुन्छ। यद्यपि, राज्यमा वर्तमानमा भइरहेका घटनाहरू समाजविरोधी छन्। समाजको हितविरुद्धमा छन्। त्यसैले राज्यमा सञ्चालित प्रत्येक राजनैतिक पार्टीहरूले यस्ता कुराहरूको विरोध गर्नुपर्छ। राजनीतिलाई हिंसात्मक बनाउनु हुँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने हुन्छ। यदि त्यसो गर्न नसकेको खण्डमा आम नागरिकले राजनीतिलाई गलत परिषाभामा बुझ्नसक्छन्। गलत अर्थ लगाउन सक्छन्। त्यसैले चुनाउका समय राजनीति हिंसात्मक नबनोस। अहिले कायम राज्यको शान्ति श्रृङ्खला भङ्ग नगरौं, सुखी र सुरक्षित वातावरणलाई कसैले नधमिल्याउँ, नबिगारौं। राज्यको शान्ति कामय रहोस, कायम राखौं।-05.04.2019
No comments:
Post a Comment