Thursday, July 4, 2019

सत्तापक्ष र विपक्षको जिम्मेवारी र चुनौतीहरू

प्रजातन्त्रमा जनता नै सर्वोपरि हुन्छन्। सत्ताको वागडोर सम्हाल्ने जिम्मा कुन पार्टीलाई दिने, सत्तामा कसलाई राख्ने त्यसको निर्णय जनतासितै हुन्छ। अतः जनताको निर्णयलाई स्वीकार्नै पर्ने हुन्छ। 23 मई 2019-को दिन सिक्किममा सम्पन्न लोकसभा तथा विधानसभा चुनाउ परिणमा 17 आसनमा जीत निकाल्दै अहिलेसम्म प्रमुख विपक्षी दलको रूपमा बसिरहेको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले सरकार बनाइरहेको छ। जनताले दिएको निर्णयलाई 25 वर्षदेखि सत्ता सम्हाल्दै आएको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-लेसम्म स्वीकारिसकेको छ। सिक्किम क्रान्तिकारी मोर्चाले 17 आसनमा जीत निकाल्दै सरकार बनाउने भए तापनि 15 आसनमा जनताले जिताएको एसडीएफ पार्टी अहिले प्रमुख विपक्षी दलको रूपमा बसेको छ।
आगामी सोमबार 27 मईको दिन एसकेएम विधायकहरूले शपथ ग्रहण गर्नेछन्। एसकेएम सरकारमा मुख्यमन्त्री को हुने भन्ने अहिले नै तय भइनहालेको छैन। मुख्यमन्त्री जो भए पनि एसकेएम सरकारका लागि चुनौतिहरू भने धेरै छन्। 2009-को चुनाउपश्‍चात चौथोपटक सरकार गठन गरिसकेपछि एसडीएफबाटै चुडिएर पीएस गोलेले एसकेएम पार्टी गठन गरेका हुन्। 2014-को चुनाउमा 10 आसनमा जीत निकाल्दै प्रमुख विपक्षी भएर बसेको एसकेएमले त्यही समयदेखि नै जनतालाई विभिन्न वचन र आश्‍वासन दिँदै आइरहेको छ। त्यही वचन र आश्‍वासनसितै परिवर्तनको नारा लिएर जनतासामु आइरहेको थियो एसकेएम। अहिले दुई तिहाई समर्थनको लागि बहूमत जुटाउन नसक्ने भए पनि सत्ता सम्हाल्ने जिम्मेवारी भने जनताले एसकेएमलाई दिइसकेको छ। अब पालो भएको छ एसकेएमले पहिले दिएका वचनहरू पूरा गर्ने। पालो भएको छ जनतालाई दिएको आश्‍वासनहरू पूरा गर्ने। पालो भएको छ सिक्किम र सिक्किमवासीको हितमा काम गर्ने। त्यही आशा साँचेर नै जनताले एसकेएमलाई सत्तामा पुर्याएका हुन्। त्यसैर जनताले परिवर्तन चाहेका हुन्।
अर्कोतिर, 25 वर्षसम्म सत्ता सम्हाल्दै आएको एसडीएफसित प्रशस्तै आनुभव छ। सिक्किमेली राजनीतिमा लामो समयसम्म सत्ता सम्हाल्दै प्राप्त गरेको अनुभवलाई विपक्षीमा बसेर जनताको पक्षमा एसडीएफले सदुपयोग गर्न सक्नुपर्छ। उसो त अझै तीनवटा आसनमा उप-चुनाउ (बाई-इलेक्सन) हुन बाँकी नै छ। यी तीन आसनमा कसले बाजी मार्ने भन्ने अहिले नै तय नभए पनि अहिले सरकारमा एसकेएम पुगिसकेको छ। यद्यपि, एसकेएम सरकारमा जनताको काम सही ढङ्गमा हुने-नहुने भन्ने कुरामा विपक्षीमा रहेको एसडीएफको ठूलो भूमिका रहनेछ। यसका लागि एसडीएफबाट विजयी बनेका विधायकहरूले पार्टीसितै सिक्किमेली जनताको विश्‍वासमा घात पुर्याउनु भएन। जनताले सत्तामा पुर्याउन नसकेका भए पनि दह्रो विपक्षीको रूपमा खडा गरेको छ। यसमा कोही पनि नडगमगाईकन बसेर जनताले गरेको विश्‍वासमा खरो उत्रनु पर्ने हुन्छ।
एसडीएफका विधायकहरूका लागि मुख्य चुनौती भनेको पनि विधानसभामा सिक्किम र सिक्किमवासीको निम्ति इमान्दारितापूर्वक विपक्षीको भूमिका निर्वाह गर्नु हो। यदि विपक्षमा बसेरै जनताको पक्षमा अनि राज्यको सुख, शान्ति र सुरक्षाका लागि काम गर्ने हो भने आफ्नो र पार्टीको गरिमा पनि बाँचिरहला। जनताले विश्‍वास गर्लान्। नभए भोलिदेखि कसैले पनि विश्‍वास गर्नेवाला छैनन्, किन भने अबका जनता सचेत छन्, जागरुक छन् जसको श्रेय पनि निसन्देह एसडीएफको 25 वर्षे सरकारलाई जाँदछ। त्यसैको परिणाम पनि हो यसपटक जनताले दिएको चुनाउ परिणाम। त्यसैले पनि यसलाई सबैले स्वीकार गरिसकेको छ। अब हेर्नुछ, सत्तारुढ एसकेएमले आफ्नो वचनलाई कतिसम्म पूरा गर्दै लाने हो अनि विपक्षमा रहेर एसडीएफले आफ्नो भूमिका कसरी निर्वाह गर्नै अघि बढ्ने हो। अहिले एसकेएम र एसडीएफ दुवैसितै जनताले आशा गरेका छन् दुवै पक्षले आफ्नो जिम्मेवारीहरू पूरा गर्दै लानेछन् अनि चुनौतीहरूमा खरो उत्रँदै बढ्नेछन्।

No comments:

Post a Comment