Thursday, July 4, 2019

ब्ल्याक होलको तस्वीर अन्तरीक्ष विज्ञानको सफलता

अहिले ब्ल्याक होलको तस्वीर निकालिएको कुराले विज्ञान जगतमा निक्कै चर्चा पाएको छ। ब्ल्याक होललाई धेरै शक्तिशाली गुरुत्त्वाकर्षण क्षेत्र भएको खगोलीय शक्ति मानिएको छ। यसको तान्ने क्षमताले केही पनि बाँच्न सक्दैन भन्ने विज्ञानले प्रमाणित गरिसकेको हो। ब्ल्याक होलको चारैतिर एउटा सीमा हुन्छ। त्यो सीमालाई इभेन्ट होराइजन भनिन्छ। त्यसमा वस्तु झर्न त सक्छ तर फिर्ता आउन सक्दैन। यसैले यसलाई ब्ल्याक होल भनिएको हो। यसले आफू माथि पर्ने सबै प्रकाशलाई अवशोषित गरेर त्यसको सट्टामा केही परावर्तित गर्दैन। ब्ल्याक होल अत्यन्त घनत्व भएको पिण्ड हो। यसको गुरुत्त्वाकर्षणबाट प्रकाशको किरणलाई समेत बाँच्न सम्भव नरहेको वैज्ञानिकहरू बताउँछन्।
अन्तरीक्ष वैज्ञानिकहरूले पहिलोपटक ‘ब्ल्याक होल’-को तस्वीर सार्वजनिक गरेको भर्खरै प्रकाशमा आएको हो। इभेन्ट होराइजन टेलिस्कोप (ईएचटी) परियोजनामा सामेल वैज्ञानिकहरूले विश्‍वभरिका 6 वटा दूरबिनको उपयोग गर्दै यो तस्वीर निकालेको बताइएको छ। यसलाई अन्तरीक्ष विज्ञानमै ठूलो फड्को मानिएको छ। विश्वका 6 ठाउँमा पत्रकार सम्मेलन गरेर ब्ल्याक होलको वास्तविक तस्वीर सार्वजनिक गरिएको कुरा 12 मई 2019-को दिन प्रकाशमा आएको हो। यसअघि फिल्म, तस्वीरलगायत सार्वजनिक ब्ल्याक होलको तस्वीर काल्पनिक थियो।
आकाशगंगा ‘एम 87’-मा 5 करोड 50 लाख प्रकाशवर्ष टाढा रहेको यो ‘ब्ल्याक होल’-को तस्वीरमा ग्यास र प्लाज्माको सुन्तला रङको प्रकाश निस्किरहेको देखिएको छ। ब्रह्माण्डको दूरीमा भने करिब 5 करोड 50 लाख प्रकाशवर्षको दूरीलाई अति कम मान्ने गरिन्छ। सूर्यको प्रकाश पृथ्वीसम्म पुग्न करीब साढे 8 मिनेट लाग्छ। प्रकाश एक वर्षमा जति टाढासम्म पुग्छ त्यसलाई एक प्रकाश वर्ष भनिन्छ।
‘यो तस्वीरमा कैद भएको प्रकाश 5 करोड 50 लाख प्रकाशवर्ष अगाडिको हो’, नेपाली भौतिकशास्त्री एवं ब्ल्याक होलमै विद्यावारिधि गरेका प्राध्यापक डा. उदयराज खनालले ‘त्यो बेलाको प्रकाश भर्खर आइपुगेको हो’ भन्ने बताएका छन्। वैज्ञानिकहरूले ब्ल्याक होलको तस्वीर कैद गर्नु असम्भव ठानिरहेका थिए। ब्ल्याक होलको तस्वीर खिच्नु शुरुवात मात्र भएको र अब यसको डाइनामिक्स, विकासक्रम आदिको अध्ययन गर्न उपयोगी हुने बताइएको छ। यद्यपि, यसमा सफलता पाउन निकै समय लाग्न सक्ने बताइएको छ। यसलाई आइन्स्टाइनको समीकरणअनुसार नै रहेको मानिएको छ। तर यो कुरा थाहा पाउन सय वर्ष लागेको पनि बताइएको छ।
ब्ल्याक होलको तस्वीर खिच्न म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, अमेरिका र म्याक्स प्लैक इन्स्टिच्युट, जर्मनीको अगुवाइमा खगोल वैज्ञानिकहरूले विश्‍वभर फैलिएको रेडियो टेलिस्कोपको एउटा नेटवर्क बनाएका थिए। यसैलाई इभेन्ट होराइजन टेलिस्कोप परियोजना भनिन्छ। अमेरिकाको हवाई तथा एरिजोना, स्पेन, मेक्सिको, चिली र दक्षिण ध्रुवमा रहेको टेलिस्कोपलाई जोडेर एउटा ठूलो टेलिस्कोप बनाइएको हो। यसै टेलिस्कोपको सहयोगमा वैज्ञानिकहरूले आकाशगंगाको केन्द्रमा स्थित ‘मेसियर 87’ ब्ल्याक होलको अध्ययन गरेका हुन्।-17.05.2019

No comments:

Post a Comment